बालाजु बाइपास, तरकारी बजार, माछापोखरी; यी तीन नामले चिनिन्छ यो एउटै ठाउँ।
गोंगबुको नयाँ बसपार्कसँगै जोडिएको छ। यो ठाउँमा राति दुई बजे नै चहलपहल सुरू हुन्छ। तरकारी बेच्ने व्यापारी र किन्ने ग्राहकको भिड लाग्छ।
काठमाडौं महानगरले बिहान सात बजेसम्म सडकको लगभग आधा भागमा साना व्यापारीहरूलाई तरकारी बेच्न दिन्छ। यही समयमा मजस्ता हजारौं ग्राहक अन्यत्रभन्दा केही सस्तोमा तरकारी किन्ने अपेक्षाले यो ठाउँमा आउँछन्।
यो ठाउँका केही खराब पक्ष पनि रहेछन्। त्यसको एउटा भुक्तभोगी म पनि हुँ। करिब एक वर्षअघि हरिबोधनी एकादशीको दिन थियो। तुलनात्मक रूपमा केही सस्तो र ताजा तरकारी लिने लोभमा म त्यहाँ पुगेको थिएँ।
सडकमा छरिएका तरकारी पसलहरू रिङरोड नजिकैबाट सुरू भएर माथिको बालाजु चोकसम्मै पुग्छन्। सबै खाले तरकारी एकै ठाउँमा नपाइने भएकाले ग्राहकहरू आफूलाई मनपर्ने र बजेट सुहाउँदो तरकारी खोज्दै तलदेखि माथिसम्म र माथिदेखि तलसम्म हिँडिरहन्छन्।
त्यस दिन मैले पनि त्यसै गरेको थिएँ। बसपार्कबाट नुवाकोट, रसुवा वा गल्छीसम्म जाने गाडी पनि यही रूटमा गुड्छन्। रातिदेखि नै मान्छेको चहलपहल हुन्छ। लश्करै बसेका तरकारी पसलका कारणले बाटो साँघुरो भएको हुन्छ। त्यही बाटोमा दोहोरीलत्ता भएर गाडी गुड्छन्।
यात्रुबाहक बसहरूले यात्रु चढाउने र ओराल्ने काम गर्छन्। यस कारणले मान्छेको भिड भइरहनु यो ठाउँको खास विशेषता हो।
म भिड अलिक कम भएको माथिल्लो बजारमा केही तरकारी किनेर तल आउँदै थिएँ। स्थायी तरकारी बजार छिर्ने गेटमा अत्यधिक भिड थियो। त्यहीँनेर एउटा बसले यात्रु चढाउँदै थियो। बाटोमा मान्छे छिर्ने ठाउँ नै थिएन।
म मुस्किलले अघि बढ्दै थिएँ। सामान्य अवस्थामा म आफ्नो वालेट जिन्स पाइन्टको खल्तीमा राख्छु। मैले पातलो ज्याकेट लगाएको थिएँ। त्यस बेला तरकारी किन्ने क्रममा वालेट (पर्स) झिक्ने र राख्ने गर्न असजिलो भएकाले ज्याकेटको साइडको खल्तीमा राखेको थिएँ।
मान्छेको भिड छिचोल्ने क्रममा मेरो खल्तीबाट वालेट झिकिएको चाल पाएँ, पछाडि फर्केर हेरेँ तर त्यो घुइँचोमा वालेट कसले झिक्यो भन्ने भेउ पाउन सकिनँ।
वालेटमा करिब तीन हजार रूपैयाँ थियो। आजकाल मोबाइल फोन र वालेटमा मान्छेको संसार अटेको हुन्छ। मलाई पैसा गुमेकोमा धेरै चिन्ता भएन तर वालेट गुमेकोमा छटपटिएँ।
वालेटमा बैंकको डेबिट कार्ड, प्यान कार्ड, सवारी चालक अनुमतिपत्र, तीन वटा एयरलाइन्सका कार्ड थिए। सामान्यतया वालेटमा नबोकिने मतदाता परिचयपत्र समेत थियो।
यी सबै एकैपटक गुम्दा मैले खेप्नुपर्ने हैरानीको कल्पना भयो। वालेटमा भएको पैसा चाहिएन, ती कार्ड फिर्ता पाए हुन्थ्यो भन्ने ठानेँ। तुरून्तै नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर आफ्नो समस्या सुनाएँ।
प्रहरीको सय नम्बरमा फोन गर्दा राम्रो सेवा र सल्लाह पाइने रहेछ भन्ने पनि त्यसै दिन थाहा पाएँ। कन्ट्रोल रूमका प्रहरीले त्यही तरकारी बजारको गस्तीमा रहेका प्रहरी इन्चार्जको फोन नम्बर दिए।
फोन गरेँ, ती इन्चार्ज मेरै अगाडि उभिएका रहेछन्। उनलाई भेट्दा हराएका अत्यावश्यक सामान पाउने आशा पलायो। उनले सबै कुरा सुने अनि नजिकै रहेको बालाजु प्रहरी चौकीमा गएर निवेदन दर्ता गर्न सल्लाह दिए।
म स्कुटरमा थिएँ। तुरून्तै प्रहरी चौकीमा पुगेँ। चौकीभित्र केही मोटरसाइकल राखिएका थिए। मैले पनि स्कुटर त्यहीँ लैजान खोजेँ तर गेटमा बसेकी प्रहरीले मलाई रोकिन्। रोकेको मात्रै भए हुन्थ्यो, हप्काउने शैलीमा कडा व्यवहार गरिन्। बाहिर कतै पार्क गरेर आउन आदेश दिइन्।
स्कुटर केही पर पार्क गरेँ, तरकारीको झोला सँगै लिएर गएँ तर त्यो पनि भित्र लैजान दिइनन्। निकै आग्रह गरेपछि गेटकै एक छेउमा राख्न दिइन्।
प्रहरीको काउन्टरमा पुगेर मैले निवेदन लेख्न खोजेँ तर कागज र कलम पाइनँ। त्यहाँ बसेका प्रहरीले बाहिर स्टेसनरी पसलमा किनेर निवदेन लेख्न आदेश दिए।
पाकेट मारिएर बेखर्ची भएको थिएँ, एउटा निवेदन लेख्ने एक पन्ना कागज र एउटा कलम पनि प्रहरी कार्यालयमा नपाएपछि म अप्ठ्यारोमा परेँ।
खल्ती छामछुम गरेँ, सर्टको अगाडिको खल्तीमा पचास रूपैयाँ रहेछ, तरकारी किन्दा फिर्ता आएको पैसा खल्तीमा राखेको थिएँ होला।
एउटा डटपेन र दुई पाना सादा कागज किनेँ। प्रहरीले भने अनुसार सबै विवरण समावेश गरेर निवेदन लेखेँ।
निवदेन लिएर काउन्टरमा गएँ, औपचारिक रूपमा दर्ता हुन्छ होला भन्ने सोचेको थिएँ तर त्यसो भएन। त्यो निवेदन सादा पोसाकमा रहेका एक प्रहरीलाई दिन अह्राइयो।
ती प्रहरी चौकीभित्रको साँघुरो गल्लीमा भेटिए, निवेदनको कागज उनलाई दिएँ। उनले कागज समाए तर कुनै प्रतिक्रिया जनाएनन्, केही बोलेनन्।
यस्तो व्यवहारबाट म निराश भएँ। मेरो सामान फिर्ता हुने छैन भन्ने निष्कर्षमा पुगेँ।
आफ्नो डेबिट कार्ड हराएको सूचना एसएमएसमार्फत बैंकलाई दिए। कार्ड ब्लक भएको सूचना छिनभरमै आयो। बैंकको रकम सुरक्षित भयो भनेर ढुक्क भएँ।
हराएको सामान पाए हुन्थ्यो भन्ने लागेकै थियो। त्यसै कारण प्रहरी चौकीमा पुगेको थिएँ। त्यसपछिको घटनाक्रम बेहोर्दै जाँदा हिन्दी क्राइम सिरियलका दृश्यहरू सम्झिएँ।
मलाई मेरो वालेट एउटा व्यक्तिले मात्र नभई गिरोहले नै खल्तीबाट निकालेको थियो भन्ने पक्का थियो। पकेट मार्ने व्यक्ति आँखा झिमिककै पलमा हराएका थिए।
यस्तो गिरोहमा धेरै सदस्य हुन्छन्। तीमध्ये कुनै न कुनै व्यक्ति प्रहरी फन्दामा परेको हुन्छ। त्यसैमार्फत प्रहरीले गिरोहको विस्तृत विवरण राखेको हुन्छ। प्रहरीले चाहने हो भने पहिले समातिएका व्यक्तिलाई नियन्त्रणमा लिएर घटना भएको क्षेत्रमा कोको थिए भनेर सोधपुछ गर्न र त्यसैका आधारमा अन्यलाई पक्रिन पनि सक्ला!
यसरी पटके चोर वा पकेटमाराले चोरेको सामान बरामद हुने बलियो सम्भावना रहन्छ। यस्तै प्रक्रियाबाट मेरो सामान फिर्ता आउला भन्ने अशा थियो। त्यही आशाले क्राइम सिरियलका दृश्यहरू सम्झनामा आएका थिए।
आखिर सिरियल त सिरियल नै हुन्छ। वास्तविक घटनाबाट प्रेरित भएर दृश्यहरू बनाइने भए पनि मनोरञ्जनका लागि नाटकीय बनाउँदा वास्तविक जीवनमा मेल नखाने हुन सक्छ।
मेरो घटना वास्तविक थियो तर जीवनसँग मेल खाएन। मेरोजस्तो घटना धेरैलाई भएको होला। हराएको सामान फिर्ता पाउन सजिलो हुँदैन। मैले पनि पाइनँ।
प्रहरीको सय नम्बरको सेवा र तरकारी बजारबाट मलाई चौकी पठाउने गस्ती टोलीलाई धन्यवाद।
***
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्