केही हप्तायता, मैले टिकटकमा चराहरूबारे भिडिओ बनाउन थालेको छु। धेरै जनाले रोचक मानेर भिडिओहरू मन पराउनुभएको छ। मलाई रोचक लाग्ने चराको बसाइँसराइबारे पनि मैले एउटा भिडिओ बनाएको थिएँ।
त्यो भिडिओमा कुरा गरेको थिएँ, १३ हजार किलोमिटर निरन्तर उड्ने मलगुझा अर्थात् 'बार टेल्ड गड्विट' चराबारे। त्यसमा धेरै जनाको प्रतिक्रिया आएको थियो।
धेरैको प्रश्न थियो — एक पटक पनि विश्राम नगरी १३ हजार किलोमिटर उड्न सक्ला त?
त्यसपछि मलाई त्योभन्दा धेरै समय उडिरहन सक्ने एउटा चराको भिडिओ बनाउन इच्छा भयो। यो झन् रोचक हुने नै भयो। तर धेरै जनाले भिडिओमै शंका गर्नुभयो, पत्याउन नसकेको भन्ने प्रतिक्रिया आयो।
यस्तो कुरा नपत्याउनु स्वाभाविक हुने नै भयो।
आउनुहोस्, आज त्यही चराको कुरा गरौं जो उडेको उड्यै गर्छ भन्दा पनि फरक पर्दैन।
चरा भनेको धेरै वा थोरै उड्ने नै जीव हो। मेरूदण्ड भएका जीवको वैज्ञानिक वर्गीकरणमा क्रमशः माछा, उभयचर, सरीसृप, चरा र स्तनधारी राखिएका छन्।
यी पाँचमध्ये चरा उड्नकै लागि प्रख्यात छन्। उड्न नसक्ने चरा पनि छन् तर थोरै। सामान्यतया चरा भनेपछि उड्ने प्राणी हो भनेरै बुझ्छौ। तीमध्ये पनि कुनै धेरै उड्ने हुन्छन् त कुनै थोरै। फेजेन्ट परिवारमा पर्ने मुनाल, कालिज, ग्राउज प्रकारका चरा धेरै उड्दैनन्।
हमिङबर्ड्स, गौंथली, बुङ्गेचरा र चिलजस्ता केही चरा निकै लामो समय उड्न सक्छन्।
केही यस्ता चरा हुन्छन् जसको जिन्दगी उडानमै बित्छ भन्दा पनि फरक पर्दैन। यसमा प्रख्यात र रोचक चरा हुन् खैरो गौंथली (कमन स्विफ्ट) र एक प्रकारको फ्यालफ्याले अर्थात् आर्क्टिक टर्न।
पहिले गौंथलीको कुरा गरौं।
हामीले चिनेको गौंथली नामका चरा दुई प्रकारका हुन्छन्। वैज्ञानिक नाम 'स्वालोज' र 'स्विफ्ट' भनिने यी दुई चरा एकदमै भिन्न हुन्छन्।
स्वालोज 'प्यासेरिफर्मिस' अर्डरमा पर्छ। यस अर्डरका चरालाई 'पर्चिङ बर्ड्स' भन्छन्।
संसारमा पाइने १० हजारभन्दा धेरै प्रजातिका चरामध्ये लगभग ६ हजार जति प्रजाति प्यासेरिफर्मिस अर्डरमा पर्छन्। पर्चिङ बर्ड्सको खुट्टामा नंग्राको संरचना कुनै ठाउँमा 'पर्च' गर्न अर्थात् समाएर अडिन सक्ने खालको हुन्छ। यी चरामा तीनवटा नंग्रा अगाडिपट्टि र एउटा नंग्रो पछाडिपट्टि फर्किएका हुन्छन्।
स्विफ्ट प्रजाति 'अपोडिफोर्मेस' भनेर चिनिन्छ। यी चराको खुट्टा नै नभएका हुन् भन्ने मानिन्छ। यसको अर्थ खुट्टा नै हुँदैन भन्ने पनि होइन तर धेरै सानो हुन्छ। यी चरा उडेरै आहारा खोज्ने र खाने हुन्छन्।
स्वालोज र स्विफ्ट दुवै एकदम राम्रो उडान गर्न सक्ने चरा हुन्। यी चरा उड्दा उड्दै कीरा–फट्यांग्रा समाएर खान्छन्। पानी पनि खोला वा तालमाथि उडेरै खान्छन्।
सन् २०१६ मा गरिएको एउटा अध्ययनले स्विफ्टबारे रोचक तथ्य पत्ता लगाएको छ। त्यसबारे मैले टिकटकमा भिडिओ बनाएँ तर धेरै दर्शकले पत्याउनु भएन। 'कमन स्विफ्ट' भनिने खैरो गौंथली १० महिनासम्म भुइँमै कतै नबसी उडेको उड्यै गरेको पाइएको थियो। मैले त्यसैबारे भिडिओ बनाएको थिएँ।
मैले बनाएको खैरो गौंथलीको भिडिओमा प्रतिक्रिया जनाउँदै धेरै जनाले सोध्नुभएको थियो– साँच्चै यो चरा १० महिना उडेको उड्यै गर्न सक्छ?
हो, सक्दो रहेछ।
यो तथ्य चराविज्ञहरूको गहन अध्ययनबाट प्रमाणित भएको छ।
धेरै जनाले अचम्म मानेर सोधेको अर्को प्रश्न हो– यो चरा १० महिनासम्म खाँदै नखाई उड्छ त?
अध्ययनका क्रममा चराको उडानको गति र गतिविधि मापन गर्ने यन्त्र राखिएको थियो। यन्त्रले पखेटा कसरी चलेको छ र उडानको गति कति छ भन्ने मापन गर्थ्यो।
यहाँ मैले बतासी गौंथलीको उदाहरण लिएको छु जो सात महिनासम्म उडेको उड्यै गर्न सक्छ।
तल देखाइएको तस्बिरमा तीन वटा रङको ग्राफ देख्न सक्नुहुन्छ। नीलो रङले दिउँसो र राति भनेर देखाउँछ, निलो माथि हुँदा दिउँसो र तल हुँदा राति।

रातो रङले चराको गतिविधि मापन गर्छ। हरियोले पखेटाको चाल वा हलचल मापन गर्छ, शरीर हल्लिएको छ कि छैन भन्ने देखाउँछ।
अब यो अर्को ग्राफमा देख्न सक्नुहुन्छ, त्यहाँ एउटा कालो तीर (एरो) छ। त्यो तीरभन्दा अगाडि गौंथलीको राति र दिउँसोको भिन्न प्रकारको गतिविधि ठ्याक्कै देख्न सकिन्छ। दिउँसो सक्रिय भएको र राति विश्राम गरेको देखिन्छ।

जब त्यो तीर सुरू हुन्छ (सेप्टेम्बर २२ तारिख), त्यहाँबाट ती चराको सक्रियता दिउँसो र राति उस्तै छ। त्यति बेलाबाट ती चराको बसाइँसराइ सुरू भएको हुन्छ र त्यो निरन्तर चलिरहन्छ, लगभग अप्रिल ८–१५ तारिख सम्म। त्यति बेला चराहरू प्रजनन् गर्ने ठाउँमा पुगिसकेका हुन्छन्। त्यसपछि भने दिउँसो मात्र सक्रिय हुन्छन्।
अब आउँछ यी चरा कसरी सुत्छन् भन्ने कुरा।
अध्ययनमा यी चरा उडानभर भुइँमा आएनन् भन्ने थाहा भयो। पक्कै हो, कुनै पनि जीव वा चरा त्यति लामो समय नसुती बाँच्न सक्दैनन्।
यहाँ अर्को रोचक कुरा छ।
केही प्रजातिका स्तनधारीमा सुत्ने प्रणाली अनौठो प्रकारको हुन्छ। यसमा डल्फिन र ह्वेल पर्छन्।
यो प्रणाली युनिहेमिस्फेरिक स्लो वेभ स्लिप (unihemispheric slow wave sleep) भनिएको छ। यी प्राणी आफ्नो दिमागको एकपट्टिको भाग मात्र सुताउन सक्छन्।
'फ्रिगेट' नामको चरामा गरिएको अध्ययनले ती चराले आफ्नो एकपट्टिको दिमाग सुताएको वा कहिलेकाहीँ केही बेर दुवैपट्टिको दिमाग सुत्ने गरी उड्न सक्ने देखाएको छ।
यी चराहरू उडेका बेला इइजी रेकडर्स (EEG recorders) भनिने इलेक्ट्रोइन्सेलोग्राफी (electroencephalography), एक्सेलेरो मिटर्स (Accelerometers) र जिपिएस (Gps) प्रयोगले अध्ययन गरिएको थियो। यसरी उडानमा हुने निद्रा भने धेरै लामो समयको नहुने कुरा अध्ययनले देखाएको छ। फ्रिगेट उडानका क्रममा ४२ मिनेटसम्म सुतेको पाइएको छ।
गौंथलीमा यस्तो अध्ययन भएको रहेनछ। सायद यी गौंथलीहरू फ्रिगेट जसरी नै सुत्दा हुन्!
खैरो गौंथली मात्र नभएर बतासे गौंथली पनि सात महिनासम्म उडेको उड्यै गरेको पाइएको छ। आगामी दिनमा यी चराको सुत्ने प्रणाली पनि अध्ययन होला।
उड्न प्रख्यात चराको कुरा गर्दा 'आर्क्टिक टर्न' छुटाउन हुँदैन। हामीले फ्यालफ्याले भन्ने गरेको यो चराको बसाइँसराइ निकै असाधारण र रोचक छ। यी चराहरू बसाइँसराइका क्रममा एक वर्षमा ८० हजार किलोमिटरसम्म यात्रा गर्छन्।
आर्क्टिक टर्न अर्थात् फ्यालफ्याले। तस्बिरः जमुनिवा
यी चराले एक वर्षमै दुई पटक गर्मी मौसम देख्छन् तर जाडो मौसम कहिल्यै पनि देख्दैनन्। किनभने, उत्तरी गोलार्द्धको गर्मीमा यी चरा आर्क्टिक क्षेत्रमा प्रजनन् गर्न जान्छन्। उत्तरी भेगमा जाडो महिना आउन लाग्दा दक्षिणतिर बसाइँसराइ गर्छन्। त्यस बेला दक्षिणी गोलार्द्धमा गर्मी भएको हुन्छ।
चराहरू साँच्चै अद्वितीय प्राणी हुन्। चराको रोचक जीवनको कतिपय कुरा विश्वास नै नलाग्ने खालको हुन्छ।
मैले चराबारे पढ्न थालेको धेरै समय भए पनि यस्ता कुराले अचम्मित हुन्छु। यसले पनि चराप्रति आकर्षण बढाउँछ।

(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
एक्सः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)