काठमाडौँमा आजकल जुत्ता-चप्पल सिलाउनेहरू पनि सडक पेटीमा भेटिँदैनन्। सायद नगरपालिकाको कडाइले हो या खाली ठाउँ नभएर हो। कति दिनसम्म झोलामा फाटेको जुत्ता-चप्पल बोकेर हिँडेको पनि छु। सायद म जानेतिर उनीहरू नभएको, उनीहरू भएतिर म नगएर पनि हुनसक्छ। अथवा जुत्ता-चप्पल सस्तो भएर पनि नयाँ नै किनेर लगाएकोले होला जुत्ता-चप्पल सिलाउन जहाँतहीँ कुद्नुपर्छ।
केही दिन अगाडिको कुरा हो जब म र मेरी धर्मपत्नी उनको फाटेको जुत्ता बनाउन जुत्ता पसल गएका थियौँ। हाम्रो जुत्ता बनाउन्जेल हामी त्यो जुत्ता बनाउने भाइसँग बसिबियाँलो कुरा गर्दैरह्यौँ। उहाँको कुरा सुन्दा यहाँ मुलुकमा सिपकर्मीलाई पनि बाँच्न साँच्चै गाह्रो रहेछ भन्ने हामीलाई लाग्यो।
उहाँको कथा सुन्दा आम नेपालीको जस्तो थियो। उहाँ रुपन्देहीबाट काठमाडौँ आएको धेरै वर्ष भए पनि जुत्ता पसल गरेको जम्मा ५ वर्ष लागेछ। उहाँको शब्दमा भन्दा यो जुत्ता पसलमा लगानी धेरै छ।
म आफू एकताका उद्यमी कसरी बन्ने विषय पढाउने टोपलेको मान्छे के कम, ‘आफ्नै सिप भएपछि त व्यवसाय ढुक्क चल्छ, कसैको भर पर्न परेन, लगानी पनि खासै लगानी पर्दैन’ भन्ने तर्क राखेँ।
उहाँले त्यो कुरालाई खण्डन गर्दे भन्दै हुनुहुन्थ्यो, ‘कहाँ त्यस्तो हुने? यो जुत्ता पसलभन्दा त बरु सडकमा जुत्ता बनाए बढी कमाइन्थ्यो। यहाँ त जुत्ताको साइज-साइजको नापअनुसारको कागजमा डिजाइन बनाउनुपर्छ। त्यो हामीलाई आउँदैन। त्यो डिजाइन किन्न सबैभन्दा महँगो पर्छ।’
‘त्यो डिजाइन इन्डियामा सिक्नुभएन त?’ भन्दा ‘सिकिएन गाह्रो छ त्यो काम। जुत्ताको लागि चाहिने कच्चा पदार्थ यही होलसेलबाट लिने गरेको’ बताउनुभयो।
‘यो पसल गर्न त कम्तीमा नि १० लाख लगानी चाहिन्छ,’ उहाँ भन्दै हुनुहुन्थ्यो।
‘तपाईंको आय कति छ त? कति फाइदा हुन्छ?’ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘१५ हजार पसलको बहाल, कोठा बहाल ५ हजार, चियापानी १० हजार, बिहान बेलुकी खाना राशन अर्को १०हजार, लगानीको व्याज ऋण काढेको सयकडा दुई रुपैयाँको दरले अर्को १० हजार, करिब ५०हजार त उठाउनै पर्छ। त्यसमाथिको पैसा मात्र बल्ल नाफा हो।’
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘२८ वर्ष लागियो, बिहे भएको छैन। यसो पसल मात्र हेर्ने भए पनि हुन्थ्यो। पैसा कमाएर बिहे गर्छु भनेको बिहे नहुने भयो, बुढो भइसकियो।’
‘हामी पाल्पाको मान्छे त्यहाँ त शीतल र कन्चन छ, तराई झरियो अहिले पाकेको छ। केही समय इन्डियामा पनि गएर काम गरियो, पोखरा-बागलुङ जतासुकै कता-कता गएर काम गरियो। अहिले यहाँ पसल गरेको ५ वर्ष भयो। पत्याउनुहुन्छ? यो पसल सुरु गर्दा मसँग ५०० रुपैयाँ मात्र थियो। दुई/चार जोर जुत्ता राखेको थिएँ अनि जुत्ता सिलाउने गर्दथेँ। अरूको अर्डर ल्याएर बनाउँथेँ। त्यसबाट पैसा आउँथ्यो। यसरी दुःख गरेर पसल खोलेको हुँ। मैले पसल गर्न दुई रुपैयाँ व्याजमा पैसा लिएर काम गरेको, जुत्ता डिजाइन किन्न पर्यो, डाई, फर्मा किन्न पर्यो। लगानी त राम्रै पर्छ। जुत्ता पसल धेरै छन्, प्रतिस्पर्धा छ यहाँ। यही जुत्ता पसल बुटवलमा गरेको भए राम्रो कमाइन्थ्यो। यहाँ त बिक्री छ तर नाफा कम छ।
कोही कोही मान्छे त जुत्ता नफुकाली सिधै यो जुत्ता सिलाइदेऊ न भाइ भन्दै आउँछन्, रिस पनि उठ्छ। रिसाउन भएन। सोच्छु, हतार भएर होला। चुपचाप सिलाउँछु। बिहानदेखि साँझसम्म खट्नु पर्छ। एकछिन बाहिर पसल छाडेर जान मिल्दैन। यस्तै छ पसलेको पीडा,’ उहाँ बताउनुहुन्छ।
अमेरिकी लेखक एसडी गोर्डनका अनुसार ‘जुत्ताले तीन वर्गका मानिस बुझाउँछ; एक थरी बाबुको जुत्ता लगाउँछन्, बाबुकै निर्णयमा चल्दछन्। अर्को थरी भिडबाट अनायास निर्णय गर्छन्, एक थरी आफ्नो जुत्ता आफै रोजाइमा बनाएर लगाउँछन्।’
जुत्ताले पनि मानिसको व्यक्तित्व जनाउँछ। हामी स्कुल पढ्दा छाता जुत्ताको धोको राजा प्रताप मल्लको रहेको पढेका थियौँ। छाता जुत्तालाई सत्तासँग पनि जोडिन्छ। जुत्ताको महत्त्व धेरै छ।
विश्व प्रसिद्ध जुत्ता कम्पनी एडिडास र पुमा दाजुभाइ एडी र रुडीले खोलेका थिए। सस्तो सिप खोजेर अमेरिकी जुत्ता कम्पनी नाइकी एसियामा उत्पादन हुन्छ। हामीकहाँ कुनै बेला सरकारी जुत्ता कम्पनी पनि थियो। माओवादी द्वन्द्वको बेला गोल्डस्टार जुत्ताले मार्केट लियो, अहिले उत्कृष्ट ब्रान्ड बनेको छ।
जुत्ता नभई नहुने बस्तुमा पर्छ। भनिन्छ, सेना प्रहरीमा बुट जुत्तामा पालिस लगाएर यस्तो टल्काउँछन् कि जुत्तामा हेर्दा अनुहार देखिन्छ जस्तो लाग्छ। जुत्ताले व्यक्तित्व दर्साउँछ पनि।
यहाँ उद्यम, तालिम, स्टार्टअप, युवा स्वरोजगार घरेलु शिल्पकला आदि छन् तर यस्ता सिपकर्मीलाई चाहिने स्वाभाविक पुँजी र नियमसंगत व्याजमा दिने संस्था आवश्यक छ। ‘कर्तुम अकर्तुम अन्यथा कर्तुम’ हुनुपर्ने नभएको र नहुनु पर्ने भइराखेको छ। असली सेवा आवश्यक पर्नेले सेवा नपाएको र सेवा नपाउनु पर्नेले सेवा पाइरहेको अवस्था छ।
अन्त्यमा सिपकर्मीलाई सम्मान गरौँ, मद्दत गरौँ, सहुलियत दिऊ, देश उत्थान गरौँ। वाक कलाबाट हैन, कर्मशील सिप र हातबाट देशमा समृद्धि आउँछ।