नेपालको इतिहासमा मध्यकालीन समयलाई सांस्कृतिक समृद्धिको 'स्वर्ण युग' मानिन्छ। यही समय स्वनिग: (काठमाडौं उपत्यका) मा मल्लहरूले विभिन्न प्रकारका 'तान्त्रिक' नाचको सुरूआत गरे।
तीमध्ये एक बोदेमा मनाइने नीलबाराही गण नाच हो। बोलीचाली स्थानीय भाषामा यसलाई 'द्य:' प्याखँ' वा 'नीलबाराही गं प्याखँ' पनि भन्ने गरेको पाइन्छ।
क्वाति पुन्हि अर्थात् जनै पूर्णिमादेखि नेवा: परम्परामा गुन्हि पुन्हि आरम्भ हुन्छ। यसै अवसरमा मध्यपुर थिमीमा नीलबाराही नाच, महाकाली नाच र भैल: प्याखँ लगायतका विभिन्न सांस्कृतिक नाच हुन्छन्। यी नाच अँध्यारो आकाशमुनि रातदिन मनाइन्छ, जहाँ मानिसहरूको आस्था, भक्ति र अध्यात्म मिसिएको पाइन्छ।
स्वनिग:मा चार बाराही विराजमान छन् — स्वेतबाराही, नीलबाराही, धुमबाराही र बज्रबाराही। यसमध्ये नीलबाराही मध्यपुरको उत्तर–पूर्वमा अवस्थित छ। नीलबाराही देवीको प्रारूप र निर्देशनमा यो नाच विधिवत् सुरू भएको जनविश्वास छ।
किम्बदन्ती अनुसार सधैंजसो आफ्नो खेतमा काम गरिरहेका धों श्रेष्ठ थरका एक किसानलाई नीलबाराही देवीले हरिणका रूपमा प्रकट भएर अपहरण गर्छिन् र नजिकै घना जंगलमा रहेको गंख्योचा: भन्ने ठाउँमा लगेर तान्त्रिक नाच सिकाउँछिन्।
चार दिन नाच सिकाएपछि देवीले ती किसानलाई भन्छिन्, 'बोदे नगरमा गएर नाचको गण खडा गरी नाच सुरू गर्नू।'
यो परम्परा प्राचीन लिच्छवि युग, अर्थात् एक हजार वर्षभन्दा अगाडिदेखि नै चल्दै आएको विश्वास गरिन्छ। नाचसम्बन्धी पहिलो अभिलेख भने विक्रम सम्बत् १५७० (नेपाल सम्बत् ६३३) मा पाइन्छ, जब राजा सुवर्ण मल्लले सुख्खाग्रस्त भक्तपुरमा नवदुर्गा नाचको सुरूआत गरे। उनले थिमीमा लायकु भैलः र बोदेमा नीलबाराही नाच पनि आयोजना गरेका थिए।
पछि विक्रम सम्बत् १७४४ मा राजा भूपतिन्द्र मल्लले 'छाती कठी', राजदण्ड र नाचका लागि जग्गा प्रदान गरे। उक्त राजदण्ड अहिले पनि सुरक्षित छ र त्यसमा मिति लेखिएको छ।
कतिपयले भन्ने गर्छन् — यो नाच प्राचीन युद्धमा विजयपछिको शान्तिपूर्ण उत्सव हो। स्थानीय लोककथा अनुसार त्यति बेला तीन नाचहरू प्रदर्शन भएका थिए। नगदेशमा महाकाली नाचले युद्धको तयारीलाई दर्शाएको थियो भने भक्तपुरको नवदुर्गा नाचले युद्धलाई प्रतिनिधित्व गर्थ्यो। त्यस्तै, बोदेको नीलबाराही नाचले विजयको उत्सव झल्काउँथ्यो।
सुलोचना चित्रकारद्वारा प्रकाशित 'बोडेस्थित मातृका पीठहरूका सांस्कृतिक अध्ययन' मा उल्लेख भए अनुसार उपत्यकामा प्रचलित अन्य 'गं प्याखँ' हरूमा भैरव तथा अष्टमातृकाको प्रमुख भूमिका देखिन्छ। बोदेस्थित उपत्यकाका चार महालक्ष्मीमध्ये एक देवी महालक्ष्मी भने उग्र स्वरूपको भएकाले यिनलाई नाचमा समावेश गरेको देखिँदैन।
चिलाख रिसर्च सेन्टरद्वारा प्रकाशित 'बोडेको ऐतिहासिक नीलबाराही गणनाच' किताब अनुसार नाचमा रहेका बाराही, कुमारी र गणेशले उपत्यकाका चार बाराही, चार कुमारी र चार गणेशको प्रतिनिधित्व गर्छन्। तर यसलाई पुष्टि गर्ने आधार छैन।

नाचको संरचना
यस नाचमा विभिन्न देवी–देवता; जस्तै भैरव (१), बाराही (४), कुमारी (४), सिंह (४), द्वारपाल (२) र गणेश (४) गरी १९ जनाको सहभागिता हुन्छ।
व्यक्ति विशेष देवीदेवताका रूपमा उपस्थित हुने हरेकको आफ्नै वेशभूषा, गरगहना र मुखौटा (जसलाई स्थानीय भाषामा ख्वा:पा भनिन्छ) हुन्छ। तान्त्रिक नाच भएकाले नृत्यगणमा रहने सबैले एक खालको अनुशासित अभ्यास गर्नुपर्छ। नाच अवधिमा खान नहुने, बोल्न नहुने, बस्न नहुने जस्ता कठोर नियम पालना गर्नुपर्ने हुन्छ। साथै, नाच अवधिभर घरका सदस्यहरूले पनि केही खान हुदैन। नाच खांसी त्वा: (टोल) मा आइसकेपछि मात्र घरमा चुह्लो बाल्न मिल्ने परम्परा छ।
यो नाचमा दोस्रो बाराहीका रूपमा नाच्ने ७४ वर्षीय प्रेमचन्द्र अदुवा गणका प्रमुख पात्र हुन्।
उनका अनुसार नाचको शक्ति भनेकै यो अवधिभर पालना गर्नुपर्ने नियम नै हो। नाचको समय तीन दिनसम्म हरेक दिन १२ घन्टा नाच्नुपर्छ। यसलाई तन्त्रसँग जोडेर हेरिन्छ।
'तान्त्रिक भए पनि देवताहरूको उपस्थितिका हिसाबले यसलाई धार्मिक पनि मान्न सकिन्छ,' उनले भने, 'देश र जनताको कल्याणका लागि यो जात्रा सेवाभावले सञ्चालित छ।'
चाखलाग्दो कुरा के छ भने, ख्वा:पा (मुखौटा) लगाइसकेपछि देवीदेवताहरूमा एक किसिमको दैविक शक्ति प्रकट हुन्छ। यो निरन्तरको धार्मिक अनुष्ठान र तान्त्रिक पूजनको उपज हो। देवता हुनेहरूले लगाउने ख्वा:पा वर्षौंसम्म प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, नवदुर्गा नाचको ख्वा:पा प्रत्येक वर्ष नयाँ प्रतिस्थापन गर्ने र विसर्जन गर्ने प्रक्रियाबाट गुज्रिन्छ।
नवदुर्गा नाचको ख्वा:पा बनाउने भक्तपुरको चित्रकार परिवारले नै नीलबाराही नाचको पनि बनाउँछ। तथापि ख्वा:पा बनाउने क्रममा बोदेबाट खाली खुट्टा हिँडेर, कसैले नदेख्ने गरी सेतो कपडाले छोपेर ल्याउनुपर्ने व्यवस्था छ। देवता हुनेहरूले नयाँ ख्वा:पा प्रयोगमा ल्याएपछि पुरानो आफ्नै ढुकुटी (पूजा गर्ने कोठा) मा संरक्षित गरेर पूजा गरेर राखेका हुन्छन्।
यसमा १९ देवताहरू रहेका भए पनि संरक्षकका रूपमा तीन देवताहरू प्राथमिक छन् — भैरव, दोस्रो बाराही र अन्तिम गणेश।
'संरक्षकका रूपमा रहने तीन पात्र एकै परिवारको हुनुपर्ने व्यवस्था छ,' अदुवाले भने, 'समाजमा कुनै प्रकारको विकृति, व्यवहारमा गाह्रोसाह्रो वा तलमाथि हुने अवस्थामा अन्य देवताहरू उपस्थित हुन नसक्ने सम्भावनालाई हेरेर तीन जना मात्र राखेर भए पनि जात्रा सञ्चालन गर्न यस्तो प्रबन्ध गरिएको हो।'

नाच सिकाउने र प्रारम्भ हुने स्थानलाई 'अखाः' वा 'द्यःछें (देवताको घर)' भनिन्छ। यो एउटा सानो चोकजस्तै हुन्छ, जहाँबाट नृत्यगणले ख्वा:पा लगाएर जात्रा सुरू गर्छन्। समाप्त पनि यही स्थानमा गरिन्छ। अखा:भित्र 'नासःकुथि' हुन्छ, जहाँ नाच अवधिभर देवताहरूका ख्वा:पा राखिन्छन्।
उक्त नासःकुथिमा संरक्षकका रूपमा भैरव बन्नेले दिनमा दुईपटक बिहान र बेलुका पूजा गर्छन्। भैरव बन्ने व्यक्ति बोदे देश छाडेर अन्यत्र बस्न जान नहुने विश्वास गरिन्छ।
हरेक देवतासँग 'ज्वकालु' अर्थात् सहयोगी हुन्छन्। नाच अवधिभर उक्त ज्वकालुले नृत्यगणलाई आवश्यक सहयोग गर्न सक्छन्। केही समय आराम गर्नुपरे नृत्यगण ज्वकालुको काखमा बस्छन्। त्यस्तै, देवगणको हातखुट्टा मालिस गर्दिनुका साथै इसाराका आधारमा देवगणलाई सहज वातावरण प्रदान गर्ने काम पनि ज्वकालुले गर्छन्।
यो नाचका केही संरचनागत नियम छन्। नाच पितृवंशीय संस्कारमा आधारित छ, जसमा नृत्यगण रहेको परिवारका सदस्यहरूमा बुबा-छोरा वा परिवारका अन्य कुनै पुरूष सदस्यले यसलाई निरन्तरता दिनुपर्छ। कुनै देवता बन्ने व्यक्तिको देहावसान भएको खण्डमा परिवारका एक सदस्यले तिनको स्थान लिनुपर्छ।
अदुवाका अनुसार यो सामूहिक भावनामा केन्द्रित रहेर आफू र देशको कल्याणका लागि सञ्चालन हुँदै आएको जात्रा हो।
अहिले मानिसहरू देवता बन्न हिच्किचाउने समस्याले नाचमा सहभागी हुन निकै आग्रह गर्नुपर्ने अवस्था रहेको स्थानीय सजीव था श्रेष्ठ बताउँछन्। यसले यो परम्परा लामो समय टिकाइराख्न गाह्रो हुने हो कि भन्ने चिन्ता पनि रहेको उनको भनाइ छ।
हालको देवगणले २०१५ सालदेखि यो नाचलाई निरन्तरता दिँदै आएको छ। तीमध्ये अधिकांश ७० र ८० वर्ष भइसकेका छन्। देवगण परिवर्तनलाई 'द्यःगं हिलेगु' भनिन्छ। यो एक पृथक प्रक्रिया हो, जहाँ सबै सदस्यको नयाँ नियुक्ति हुन्छ। पहिले पनि कयौं देवगण समूह परिवर्तित भएर आइसकेको छ।
पूर्ण समूह परिवर्तन हुने बेला दैविक शक्तिको उपस्थिति रहने जनविश्वास छ। त्यति बेला देवीदेवता मात्र नभएर गुरूहरू, वाद्यवाधक र ज्वकालुहरू समेतको नयाँ टोली बन्छ। हरेक नयाँ बन्ने देवगणको आफ्नै अखा: हुने व्यवस्था छ, जसमा भैरव, बाराही र गणेशको परिवार एउटै हुनुपर्छ।
'पहिले पहिले ३५-४० वर्षमा देवगण परिवर्तन हुने अवस्था थियो,' अदुवाले भने, 'अहिले ६७ वर्ष पुग्दा पनि परिवर्तनको छाँटकाँट देखिएको छैन।'

जात्रा क्रम
गाईजात्रा आउनु चार दिनअघिबाट नाच सुरू हुन्छ। साउन शुक्ल द्वादशीदेखि पूर्णिमासम्म देवताहरूको प्रतिनिधित्व गर्ने नृत्यगण 'प्याखँ स्यनेगु' अर्थात् 'नाच सिकाउने' प्रक्रियामा सहभागी हुन्छन्। हरेक साँझ चार दिनसम्म नृत्य सिकाइन्छ, जसमा नाचका संरक्षकका रूपमा भैरव, बाराही र गणेशको उपस्थिति अनिवार्य हुन्छ।
नाच भने भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म नचाइन्छ। नाचको पहिलो दिन मध्यरातबाट सुरू हुन्छ। देवगणसहित सम्पूर्ण सहभागीहरू अखाःमा भेला हुन्छन्। देवीदेवताहरू आ–आफ्नै पोसाक र गरगहनामा सजिएर खाली खुट्टा अखाःमा प्रवेश गर्छन्। त्यसलगत्तै उनीहरूले मुखमा पानी छर्किन्छन्, अनि उनीहरूको मौन रहनुपर्ने संस्कार सुरू हुन्छ।
संगीतको पहिलो तालसँगै उनीहरू अखाःबाट बिस्तारै बाहिर निस्कन्छन्, अनि सुरू हुन्छ जात्रा।
नृत्यगणमा १९ देवीदेवता, ज्वकालु, गुरूहरू सहित बाजा बजाउने, मुहाली बजाउने, धा:बाजा, कोता:, भुछ्या, प्वंगा बजाउने, सुकुन्दा बोक्ने गरी करिब ७०–८० जनाको पूर्ण सहभागितामा नाच प्रदर्शन हुन्छ।
हरेक देवताहरूको 'सुकुन्दा' हुन्छ र त्यसलाई नाच निकालेदेखि अन्तिमसम्म ज्वलन्त राख्नुपर्छ। बत्ती निभ्यो भने देवताहरूलाई गाह्रो भएर असहज स्थिति सिर्जना हुने विश्वास छ। विगतमा बिरामी भएका उदाहरण पनि छन्।
'गुरूहरूको अतिगोप्य मन्त्रहरू लिखित रूपमा छन्। कुनै विघ्नबाधा आएको खण्डमा ती मन्त्र पाठ गरेर निवारण गर्ने गरिन्छ,' अदुवाले भने।
नाचको एउटा अनुक्रमित पदानुक्रम छ। पहिला ध्वज, तरबार र ढाल (सँय्), चिलाख (बत्ती), राजदण्ड, त्यसपछि नृत्यगणमध्ये पहिलो भैरव, त्यसपछि बाराही, कुमारी, सिंह, द्वारपाल, गणेश हुँदै वाद्यवाधक समूहहरू हुन्छन्।
द्यःछेंबाट निस्किएको नाच लाछि त्वा:, लायकु, विष्णुघाट, भाँगु, खाँसी हुँदै पुन: लाछी फर्केर अ:खामा प्रवेश गर्छ। नाचमा चार प्रकारका ताल बजाइन्छन् — न्ह्याखिं ताल, द्यःताल, लिसा: न्ह्यसा: ताल र सिंह तिं न्वइगु ताल।
यी सांगीतिक धुनमा नृत्यगणहरू विभिन्न शैलीमा नाच्ने गर्छन्। प्रमुख आकर्षण भने सिंह उफ्रिने नाच हो, जहाँ चारै जना सिंह संगीतमय तालमा उफ्रन्छन्।
नाच अवधिमा स्थानीय बासिन्दा र आफन्तहरूबाट पूजासहित प्रसाद दिने परम्परा छ। नाचका सम्पूर्ण सदस्यले स्थानीयले आफुखुसी चढाएको प्रसाद ग्रहण गर्छन्।
बोदेका बासिन्दाको उत्साह र समर्पण नै यो प्राचीन परम्परा संरक्षण गर्ने प्रमुख कारण हो, जसले यो अनुष्ठान पाँच शताब्दीयता आजसम्म जारी छ। दर्शकहरूका लागि यो हाम्रो संस्कृतिको अद्वितीय प्रस्तुति हो भने नृत्यगणहरूका लागि यो जीवनभरको प्रतिबद्धता हो।

यो नाच निरन्तरताको जिम्मेवारी देवगणहरूको काँधमा छ। उनीहरूको व्यक्तिगत प्रयासबाट नै यो नाच आजसम्म जारी रहेको हो। यसमा बोदेका बासिन्दाको उत्साह र समर्पण एउटा महत्त्वपूर्ण कडी हो, जसले यो परम्परा धानेको छ।
यसको आर्थिक भार पनि व्यक्तिगत रूपमै वहन गरिँदै आएको छ। पहिले जग्गाको आयस्ता थियो, तर अहिले त्यसले नपुगेर जग्गा बेचेर पैसा बैंकमा राखी व्यवहार चलिरहेको छ। अदुवाका अनुसार देवता हुनेहरूको ५०–६० हजार रूपैयाँ खर्च हुन्छ भने अरू सदस्यको पनि त्यही हाराहारी खर्च हुन्छ।
बोदेका ८ नम्बर वडाध्यक्ष रमेश थापा श्रेष्ठले हालसालै नगरपालिकामार्फत दुई लाख रूपैयाँ सहयोग दिइएको बताए।
'यो रकम नाच सञ्चालन गर्न साह्रै अपुग भए पनि यसले जात्रालाई प्रोत्साहन भने पक्कै गर्छ,' उनले भने।
यसमा सजीव थप्छन्, 'यस्तो नाचलाई भविष्यसम्म टिकाउन नगरपालिकासँगै प्रदेश सरकार र संघीय सरकारले पनि सहयोगका लागि विचार गर्नुपर्ने देखिन्छ।'
यसरी नीलबाराही गण नाच बोदे समुदायको सांस्कृतिक पहिचान, धार्मिक आस्था र सामूहिक प्रतिबद्धताको जीवित प्रतीक हो। यो तान्त्रिक नाच पुस्तौंदेखि अनुशासन, समर्पण र विश्वासका आधारमा निरन्तर चलिरहेको छ।
आर्थिक, सामाजिक र पुस्तान्तरणका चुनौतीबीच पनि यो परम्पराले निरन्तरता पाइरहनुमा समुदायको अदम्य इच्छाशक्तिको हात छ। यसलाई भविष्यसम्म सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।
यसपालि यो नाच मंगलबारदेखि बिहीबारसम्म हुँदैछ।
सबै तस्बिर: सौरभ थापा श्रेष्ठ
***












