साँझमा मेरी पत्नी सपनाले एकै सासमा भनिन्, 'भोलि त पौसे औंसी हो, सोमबार पनि परेको छ। बिहानै उठेर नबोली नुहाउने, दक्षिणतिर फर्केर ३६ अञ्जुली जल दिने, बाआमाको सम्झना गर्ने, देउताभन्दा पितृ ठूला भन्छन्, पितृसित आशीर्वाद माग्नुपर्छ, कुरा बुझ्या हो नि!'
सपनाको कुराले मलाई स्वर्गवासी आमाको सम्झना भयो। आमाको मुहार मेरासामु उपस्थित भयो। आमा स्वर्गमा हुनुहोला, उहाँको त्यो मुहार उस्तै छ कि अर्कै भयो होला!
अहो! हाम्री आमा कति नम्र हुनुहुन्थ्यो! उहाँ रिसाएको कहिल्यै देखिनँ। मुहार सधैं हँसिलो, जूनजस्ती शीतल हुनुहुन्थ्यो।
त्यस्ती आमाको छोरो म किन घामजस्तो पोल्ने भएको होला! कसैसित केही चित्त बुझेन कि प्याच्चै बोलेर बिझाउने! आफूलाई मनमनै नियालेँ।
आमासँग रूप अलिकति मिले पनि ममा आमाको गुण केही पनि आउन सकेन भन्ने लाग्यो।
म आमासित दस कक्षा पढुन्जेल बस्न पाएँ। त्यसपछि विराटनगरमा डेरा लिएर आइए (हालको ११ र १२ कक्षा) र बिए (स्नातक) पढेँ। त्यसपछि धनकुटा गएर बिएएड (शिक्षाशास्त्रमा स्नातक) पढें।
बिएड पढाइ पूरा हुनासाथ मोरङको इटहरामा रहेको सरस्वती माध्यमिक विद्यालयमा १८ महिना प्रधानाध्यापक भएर काम गरें।
एमए (स्नातकोत्तर) पढ्ने धोको थियो। प्रधानाध्यापक पदबाट राजीनामा गरेर काठमाडौं खाल्डोमा पसेको थिएँ, यतै हराएँ।
काठमाडौं पसेपछि दैनिक छाक टार्न बिहानदेखि रातिसम्म यो शरीर धेरै ठाउँमा बन्धक राख्नुपर्यो। मियाँका दौड मस्जिद तक भनेझैं स्कुल, कलेज, कोचिङ सेन्टर इत्यादि नधाई गर्जो नटर्ने भयो।
दैनिक जीवन चलाउने र छोराछोरी पढाउने अर्जुन दृष्टिमा मेरा धेरै हिउँद–वर्षा राजधानीको कोलाहलमा बिते।
त्यही समयको एक दिन भाइ सागरले इटहरीबाट फोन गरेर खबर गरे– आमालाई तपाईंहरूसित भेट गर्न मन लाग्यो रे, आज साँझ कोशी बसमा चढ्नुभयो, बिहान बस स्टपमा लिन जानू है।
भोलि बिहानै आमा काठमाडौं आइपुग्ने कुराले हामी खुसी भयौं। त्यही खुसीमा अनेक कल्पना भइरह्यो, राति अबेलासम्म निद्रा लागेन। बिहान भुइँमा उज्यालो झर्दा नझर्दै बसपार्क पुगें।
धेरै बेर पर्खिंदा पनि बस आएन। सोधखोज गर्दै जाँदा त्यो बस त बाटामा बिग्रेर यात्रुलाई अर्को बसमा पठाएको भन्ने थाहा भयो।
अहिलेको जस्तो फोनको सुविधा थिएन। अब आमालाई कहाँ भेट्नु!
पूर्वी तराईबाट आउने यात्रु बस रोकिने ठाउँहरूमा पुगेँ, बसपार्कमा यता र उता भौंतारिएँ तर आमा भेटिनुभएन। मेरो ओठतालु सुक्यो। निकै बेरपछि एउटा पसलमा गएर सपनालाई फोन गरेँ।
उनले त 'आमा कोठैमा आइपुग्नुभयो, तपाईं फर्किनू' भनिन्।
त्यस बेला अहिले पुरानो बसपार्क भनिने ठाउँमा नै थियो बसपार्क। आमा त्यहाँ उत्रिनुभएछ र लगनखेल जाने बस कहाँ लाग्छ भनेर सोध्नुभएछ। ट्राफिक प्रहरीले बस चढाइदिएछन्।
लगनखेल पुगेर मच्छिन्द्र क्याम्पस कहाँ छ भनेर सोध्नुभएछ, मानिसहरूले देखाइदिएछन्।
मच्छिन्द्र क्याम्पस पुगेर यो क्याम्पसमा पढाउने लक्ष्मीधर मेरो छोरो हो, ऊ बस्ने घर देख्नुभएको छ कि भनेर सोध्नुभएछ।
क्याम्पसका सहयोगी कर्मचारीले घरमै पुर्याइदिएछन्।
सपनाले फोनमै यति खबर सुनाइन्। म आमासित एकै छिन फोनमा बोलेँ अनि हतारिँदै कोठामा पुगेँ।
आजजस्तो खल्तीखल्तीमा मोबाइल फोन हुँदो हो त मलाई त्यति हैरान हुने थिएन। मेरी बुढी आमा सोधपुछकै भरमा हाम्रो कोठैमा पुग्नुभएको थियो।
म काठमाडौंबाट बाआमा भेट्न वर्षको दुईपटक रात्रिबस चढेर इटहरी पुग्थेँ। कहिलेकाहीँ अरू कुनै कामले पनि पुग्थेँ। म घर पग्दा आमाका आँखामा हर्षको आँसु र ओठमा मातृवात्सल्यको मुस्कान एकसाथ छचल्किन्थ्यो।
त्यस बेलाको दृश्य आज पनि मेरा आँखामा जस्ताको तस्तै छ।
आमा सोध्नुहुन्थ्यो– रातभरि नाइटमा (रात्रि बसमा) आउँदा तँलाई गाह्रो भयो कि? बाटामा के खाइस्? भोकाइस् होला!
त्यो मातृवात्सल्यले मेरा पनि आँखा भरिन्थे, गला अवरूद्ध हुन्थ्यो।
एक छिन रोकिएर भन्थेँ – गाह्रो भएन आमा! सजिलै आएँ, बाटामा खाना पनि मजाले खाएँ।
एकपटक काठमाडौं फर्किने बेला आमाले भन्नुभयो– बाबु! अचेल त दिउँसो पनि काठमाडौं जाने नाइट बस चल्छन् रे, अबदेखि रातिका नाइटमा नचढ्, दिउँसोको नाइट बसमा चढेर आइज।
मैले हाँस्दै भने – हुन्छ आमा! अबदेखि रातिको नाइट चढ्दिनँ, दिउँसोकै नाइटमा चढूँला।
आमालाई नाइट बस भनेको काठमाडौं जाने बस हो भन्ने थाहा थियो, राति चलोस् कि दिउँसो!
हिँड्ने बेलामा 'पुग्ने बित्तिकै फोन गर्नू, तेरो फोन नआएसम्म आधा मन हुन्छ, छटपटी भइरहन्छ' भन्न बिर्सिनु हुन्नथ्यो।
त्यस बेला फोनमा कुरा हुन पनि मौका पर्नुपर्थ्यो। म सकेसम्म भोलि आउँछु भनेर खबर गर्थेँ। आमा बिहान उज्यालो भएदेखि बाटो हेर्नुहुँदो रहेछ। म पुगेपछि खुसीले फुर्किनुहुन्थ्यो।
म काठमाडौं जान हिँड्ने बेला भएपछि आमा अर्को एउटा कुरा पनि भन्न बिर्सिनु हुन्नथ्यो – सबै छोराछोरी नजिकै छन्, यो एउटा चाहिँ उछिट्टिएर कहाँ पुग्यो कहाँ, म मरिहालेँ भने पनि चिसी भइसकेपछि मात्र आउँछ होला।
हामी छोराछोरी साना छँदा दिदीहरूका टाउकामा जुम्रा पर्थे। आमा जुम्रा हिरिदिन खोज्ने, दिदीहरू कपाल छुन नदिने, यस्तो लुकामारी चलिरहन्थ्यो।
दिदीहरूलाई फकाउँदै आमा भन्नुहुन्थ्यो – धेरै जुम्रा पर्यो भने कपाल बाट्दै बाट्दै ऊ त्यो बडहरको रूखका टुप्पामा लगेर तुर्लुंग झुन्ड्याउँछ।
आमाले त्यसो भन्दा जुम्राले दिदीको चुल्ठो बाट्दै बाट्दै घरनजिकै रहेको बडहरको टुप्पामा लगेर झुन्डाएको चित्र मेरो मनमा आउँथ्यो।
हातहातमा मोबाइल फोन आइसकेको थियो। एक दिन दिउँसो दुई बजेतिर भाइ सागरले फोन गरे– दाजु! तपाईं छिट्टै आउनुपर्ने भयो, आमा निकै बिरामी हुनुहुन्छ।
केही नसोधी एकै सासमा भनेँ– म आइहाल्छु, आजैको प्लेनमा।
धेरैतिर प्रयास गरेँ, त्यस दिनलाई प्लेन (हवाईजहाज) को टिकट पाइएन। भोलि बिहानको प्लेनमा जानुभन्दा नाइट बसमा गएँ भने त बिहान उज्यालो नभई घर पुगिहाल्छु भन्ने सोचेँ।
मन अशान्त थियो। बस चढ्नेबित्तिकै भाइलाई फोन गरेँ। उनले आमालाई ठिकै छ, आत्तिनुपर्दैन भनेर सान्त्वना दिए। मन केही शान्त भयो।
गौशालाबाट बस छुट्यो। यात्रीहरू आआफ्ना गफमा मस्त थिए। म चुपचाप थिएँ।
आमाको मुहार सम्झिँदै बाटो काटिरहेँ। त्रिशूली किनार कटेपछि रामनगरमा खाना खान बस रोकियो। सबै यात्री उत्रेर खाना खान गए, म भित्रै बसिरहेँ। बस बाटो लाग्दा रातको दस बजेको थियो।
बस चल्नुअघि भाइलाई फोन गर्न तयार पर्दै थिएँ तर निदाइसक्यो होला भन्ने लाग्यो, फोन गरिनँ।
यात्रुहरू निदाए, मेरा आँखा जोडिएनन्। बरमझिया पुगेपछि गाडी रोकियो। शौचादि कर्म गरेर सिटमा बसेँ। घडी हेरेँ, चार बजेको रहेछ।
भाइलाई फोन गरेँ।
सोधेँ– खबर के छ?
'कहाँ आइपुग्नुभयो?'
'बरमझिया, आमालाई कस्तो छ?'
'आमालाई? अब यहाँ आउनू न।'
'आमालाई चाहिँ कस्तो छ त?'
'दाजु बाटामा हुनुहुन्छ भनेर..., आमा त बेलुकै जानुभयो नि!'
आफूलाई सह्माल्नै सकिनँ, एक्कासि बसभित्रै डाँको छोडिएछ। यात्रुहरू के भयो, के भयो भनेर जिज्ञासु भए तर बोल्न सकिनँ। एक छिनमा डाँको तर रोकियो तर इटहरी पुगुन्जेल घुँक्कघुँक्क भइरह्यो।
रिक्सा चढेर घर पुग्दा आमाको शरीर बाहिर सुताइएको थियो। परिवारजन र आफन्तहरू वरिपरि बसेका थिए। म फेरि भक्कानिएँ। भक्कानिँदै आमाका गोडामा परे, मेरो शिर उठेन, निकैबेर ढोगिरहेँ!
भक्कानिँदै भनेँ – आमा, कति हतार गर्नुभएको, म आइपुगिहालेँ नि! एकपटक मलाई हेर्नु न!
मैले जति ढिपी गरे पनि आमाले हेर्नुभएन।
काकाले मलाई समाएर अलिक पर लैजानुभयो र भन्नुभयो– तँ त पढेलेखेको मान्छे, चित्त बुझाउनुपर्छ, तैंले त अरूलाई सम्झाउनु पो पर्छ त!
कुनै दिनको बोली कुनै दिनको गाली भन्छन्। आखिर आमाले भनेजस्तै भयो। म आमाको शरीर चिसो भएपछि मात्र पुगेँ। सायद नियतिले त्यही रोजेको थियो।
आजकाल घरमा मेरो बाटो कुरेर बस्ने आमा हुनुहुन्न। मेरा दुःखमा आफ्नो आँसु बगाउने आमा पनि हुनुहुन्न। म घर पुग्दा हर्षका आँसु र वात्सल्यका मुस्कान एक साथ छचल्किने आमाको मुहार छैन।
एक रात सपना देखेँ। आमाले स्वर्गबाट झ्यालको पर्दा खोलेर मलाई हेर्दै सोध्नुभयो– अचेल पनि रातिकै नाइट बस चढ्छस् कि दिउँसोको?
मैले भनेँ – आमा! अचेल त दिउँसोको नाइट बस चढ्छु।
यो जुनीमा त मैले आमा देख्न के पाउनु र! देखेँ भने सपनामै हो।
आमाको सम्झना भक्कानो छुट्लाजस्तो भयो। आफूलाई सह्मालेँ।
आमापछि बाको सम्झना भयो। हाम्रा बा प्रगतिशील सोचका हुनुहुन्थ्यो। उहाँ युवा अवस्थामा छँदा बाहुनले हलो जोत्नु हुन्न, जात जान्छ भन्ने धारणा थियो रे।
एक दिन बाले गाउँका केही बाहुन भेला पारेर लौ बाजे जोतौं हलो, हलो नै संसार पाल्छ भन्दै पहिले आफूले जोत्नुभएछ अनि अरू बाहुनलाई पनि पालैपालो जोत्न लगाउनुभएछ।
बा गाउँमा पण्डित–पुरेत हुनुहुन्थ्यो। पण्डित धर्मदत्त भनेर चिनिनुहुन्थ्यो। हलो जोतेपछि गाउँका बासिन्दाले यस्ता बाहुनलाई पुरेत नबनाउने भनेछन्, जजमानले छाडिदिएछन्। धनकुटातिर 'कृषि पण्डित' भनेर उपेक्षा गर्न थालेछन्।
त्यसपछि उहाँले धनकुटाकै भिरगाउँमा एउटा धूले स्कुल खोलेर स्थानीय किरातीका छोराछोरी पढाउन थाल्नुभएछ। उहाँले खोलेको त्यो धूले स्कुल विकास भएर धर्मोदय विद्यालयका नाममा आज पनि चलिरहेको छ।
पहाडमा पेटपालो गर्न दुःख भएपछि बुबा धर्मदत्त र आमा इन्दिरा आफ्ना पाँच जना छोराछोरी लिएर तराई झर्नुभयो। तराईमा बसाइँ सरेपछि बुबाले आफ्नो नाम धरणीधर बनाएर फेरि कर्मकाण्ड पेसा अघि बढाउनुभयो।
थोरै समयमा उहाँको ख्याति बढ्यो। उहाँ व्यासासनमा बसेर पुराण भन्नुहुन्थ्यो। कर्मकाण्ड गरेर प्राप्त भएको सिदा सुकुम्बासी बस्तीका गरिब–दुःखीलाई पनि बाँड्नुहुन्थ्यो।
बुबा भन्नुहुन्थ्यो– छोराछोरीले बाबुआमा जीवितै छँदा सम्मान गरेर खानलाउन दिए, माया गरे पुग्छ; मरेपछि पिण्ड दिनुभन्दा ठूलो पुण्य हुन्छ।
मैले उहाँको भनाइ सधैं स्मरणमा राखेँ।
आज हाम्रा बा हुनुहुन्न, आमा पनि हुनुहुन्न। घरको भित्तामा उहाँहरूको फोटो छ। बिजुलीको उज्यालोमा स्वर्गवासी बाआमाको फोटो निर्निमेष हेरिरहेँ। थाहै नपाई आँखाबाट तप्प अँसु खस्यो।
राति अबेरसम्म निद्रा लागेन।
सपनाले साँझमा सम्झाए अनुसार बिहानै उठेर बाथरूम पसेँ। नबोली नुहाएर आफ्ना स्वर्गवासी आमाबुबा र समस्त पितृको सम्झनामा दक्षिणतिर फर्केर ३६ अञ्जुली पानी दिएँ। समस्त पितृहरूका आत्मामा शान्ति छाओस् भन्ने कामना गरेँ।
पितृहरूसित आशीर्वाद मागेँ।