बाबा हजुरको अथाह माया हुँदाहुँदै पनि लेख्न भने कहाँदेखि सुरू गरौँ जस्तो लाग्छ।
जब म मेरा बाल्यकालका कुराहरू सम्झन सक्ने र बुझ्ने भए त्यतिखेरदेखि नै हजुरसँगका रमाइला र मीठा क्षणहरू आज पनि मानसपटलमा घुमिरहेका छन्।
हजुरकै लागि लेख्न लागेको यो तेस्रो लेख हो तर पनि म भित्रको भावना भने एक प्रतिशत पनि लेख्न सकिएको छैन।
यो अथाह मायाको सागर बढेको बढ्यै छ। हजुरका स-साना कुरा पनि मलाई खास लाग्छन्। यहाँको उपस्थितिले विशेष महत्व राख्छ। हजुरलाई कतै दुख्दा त्यसको दोब्बर दुखाइ मलाई हुने गरेको छ।
हजुरसँगको अति बढी सामिप्यताले होला, हजुरको स्वास्थ्यमा सामान्य गडबडी आउँदा पनि अलि बढी नै छटपटी हुन्छ। अब मेरो सबभन्दा ठूलो प्रार्थना हजुर अनि मम्मीको सुस्वास्थ्य नै हो।
केही दिन अगाडि गएको हजुरको जन्म दिन मनाइरहँदा पनि हजुरको उमेरको गणना गर्न मन लागेन। म जान्ने हुँदा जस्तो रूपमा देखेकी थिएँ, केही शारीरिक बनावट बाहेक सबै जस्ताको तस्तै हुनुहुन्छ।
आज बुवाको मुख हेर्ने दिन अर्थात् कुशेऔँशीका अवसरमा हजुरप्रति स्नेह र सम्मान व्यक्त गर्ने बहानास्वरूप यो आलेख लेख्दै छु। र, यसरी नै वर्षौँ वर्ष हजुरप्रतिका मायाका भावहरू व्यक्त गरिरहन पाऊँ।
कुनै पनि चिज प्राप्त गर्नेभन्दा पनि प्राप्त भएको चिज गुम्छ कि भन्ने ठूलो डर हुँदो रहेछ। म पनि सामान्य मनुष्य हुँ, त्यसैले ममा पनि त्यस्तो भय हुने गर्दछ। सायद सबैलाई यस्तै हुन्छ होला।
म संसारकै भाग्यमानी छोरी हुँ। जसले हजुर जस्तो र शिक्षित सकारात्मक तथा फराकिलो सोच भएको मानिसलाई मैले आफ्नो बाबाका रूपमा पाएँ।
मलाई लाग्छ संसारका सबै छोरीहरूले हजुर जस्तै बाबा पाए भने बाबाकै कारण सदैव हर्षित हुनेछन्। आजसम्म पनि हजुरप्रति मेरो कुनै गुनासो छैन।
हजुरका चार सन्तान, दुई छोरा र दुई छोरी भए पनि कहिल्यै पनि छोरा र छोरीमा फरक गर्नुभएन। मलाई शैक्षिक भ्रमण, वनभोज, साथीहरूसँग घुम्न जानका लागि भाइहरूलाई भन्दा विशेष छुट थियो।
समाजमा छोरा र छोरीमा भेदभाव विद्यमान हुँदा पनि हजुरको त्यो फराकिलो सोचप्रति आज पर्यन्त पनि उच्च सम्मान छ।
मलाई भन्न मन छ, समानताका लागि हजुर पनि समाजको एक उदाहरणीय पात्र हुनुहुन्छ, जसले पाँच दशक अगाडि नै छोराछोरीमा भेदभाव गर्न हुन्न भन्ने उदाहरण व्यवहारतः पुष्टि गर्नुभयो।
यी शब्दहरू लेखिरहँदा मेरा विगतका क्षणहरू पालैपालो मानसपटलमा घुमिरहेका छन्। आफ्नो बलबुताले भ्याएसम्म छोराछोरीका जायज इच्छा र चाहना पूरा गर्न तत्पर रहने बानी हजुरको अहिले पनि उत्तिकै जुझारू छ।
घर नजिकै स्नातकोत्तर पढाइ हुने कलेज हुँदाहुँदै पनि पाल्पाबाट कोशौँ टाढाको केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढ्ने चाहनालाई सहजै स्वीकारी मलाई काठमाडौँ पठाउनुभयो। त्यो मेरो अपेक्षाभन्दा माथिको प्राप्ति थियो, किनकी त्यतिबेला परिस्थिति सहज थिएन।
हजुर आफ्नो शिक्षण पेशाका लागि घरभन्दा बाहिर रहनुपथ्र्यो, जहाँ अस्पतालको राम्रो सुविधा थिएन। हजुर पटकपटकको माइनर मेजर हृदयघातको बिरामी, दर्जनभन्दा बढी ट्याब्लेट औषधि त दैनिक सेवन गर्नुपथ्र्यो। खानपान लगायतका कुरामा ख्याल राख्नुपर्ने। मम्मीले घर, साना भाइहरू र बुढा हजुरबुबा एवं हजुरआमाको हेरचाह गर्नुपर्ने अवस्था थियो। त्यस्तो अप्ठ्यारो परिस्थितिका बाबजुद पनि मलाई मेरो चाहना पूरा गर्नुभयो। म पाल्पा घर नजिकैको कलेजमा नै पढेको भए त म भाइहरू र हजुरबुवा आमाको ख्याल राख्दै पढ्न सक्थेँ नि! मम्मी हजुरको ख्याल गर्न हजुरसँगै जान पाउनुहुन्थ्यो। तर हजुरले छोरीको चाहनालाई पूरा गर्दिनुभयो।
बुबाआमा नै संसारको सबैभन्दा निःस्वार्थ सम्बन्ध हो, जसले कुनै स्वार्थ र अपेक्षाबीना नै आफ्ना सन्तानलाई चोखो प्रेम गर्छ। सधैं आफ्नो सन्तानको खुसी र प्रगति चाहन्छ। हजुर पनि हाम्रो त्यस्तै बाबा हुनुहुन्छ, सधैं आफ्ना सन्तानको खुसी र प्रगति चाहने।

हजुरका आँखा सदैव हाम्रो प्रगति र खुसी देख्न आतुर छन्। पेशाले शिक्षक भएर होला, छोराछोरी सधैं बिहानै उठेर पढून् भन्ने हजुरको चाहना हुन्थ्यो। हजुरको त्यो आशय मैले स्नातकोत्तर पढ्दासम्म पनि यथावत् नै पाउँथेँ। सधैं बिहान ४ बजे नै फोन गर्नुहुन्थ्यो, उठेर पढ भन्नुहुन्थ्यो, मैले अलार्म लगाइरहनु पर्दैनथ्यो। कहिलेकाहीँ त उठेर पढेँ पनि तर कहिलेकाहीँ भने उठिसके जस्तोगरी फोन उठाएर पढ्दै छु भनेर झुट बोलेर फोन राखेर फेरि सुत्थेँ। कहिलेकाहँ त अल्छी पनि लाग्थ्यो नि। तर हजुरलाई दैनिक चार बजे नै कसरी निन्द्रा खुल्दो हो मलाई अचम्म लाग्थ्यो। तर छोराछोरीका प्रगति हेर्न व्यग्र प्रतिक्षारत आँखा, बाबाको मन अनि घर देखि टाढाको एक्लो बसाइ निन्द्रा पनि कसरी लागोस्!
काठमाडौंमा पढ्न डेरामा बस्दा कहिलेकाहीँ पैसा सकिन्थ्यो, भन्न अप्ठ्यारो लाग्थ्यो। दुई तीन दिन त खल्ती रित्तै पनि हिँडे होला। मलाई थाहा थियो र बुझेकी पनि थिएँ। एक जनाको कमाइ, हजुरको जिम्मेवारी र शिक्षकहरूको चौमासिक आउने तलबले चार महिना धान्नुपर्ने बाध्यता। तर, पनि माग्नु त पथ्र्यो। हिम्मत जुटाएर ड्याडी पैसा सकिएको थियो भन्दा मैले बैंकमा हाल्दिसकेको छु त लिन गएकी छैनौ भन्नुहुन्थ्यो। मलाई अचम्म लाग्थ्यो, गुल्मीको विकट गाउँमा बसेर काठमाडौँको खर्च अनुमान लगाउनुहुन्थ्यो र, आफूले पठाएको पैसाले कति दिन पुग्छ भनेर अनुमान लगाउनुहुन्थ्यो। मैले भन्नुभन्दा अगाडि नै पैसा खातामा आइसकेको हुन्थ्यो। मेरो पढाइसँगै डेराको बसाइ, दुई भाइको पढाइ, हजुरबाआमाको जिम्मेवारी रहँदा रहँदै पनि मलाई कहिल्यै अभाव महशुुस गर्न परेन। सधैं खानपिनमा ध्यान दिन र आफूलाई कन्फिडेन्स हुने लुगा लगाउन सुझाइरहनुहुन्थ्यो। पहिरनकै कारण आत्मविश्वासमा कमी आउन हुन्न भन्ने सोच थियो। सोहीअनुसार नै आफूलाई सधैं सफा र समय सुहाउँदो राख्ने मेरो कोसिस रहन्थ्यो।
मैले जान्दादेखि नै चाँदीजस्तै फूलेका कपाल, प्राय: सेतो र क्रिम रङका लुगा चट्ट आइरन गरेर लगाउन मन पराउने, जुत्ता पनि टिलिक्क टल्काउने र मिलाएर कपडा लगाउने हजुरको व्यक्तित्व मलाई अहिले पनि असाध्यै मन पर्छ। अरूले पनि हजुरको व्यक्तित्वको प्रशंसा गर्थे। हजुरका हरेक कुरा मलाई उदाहरणीय लाग्छन्।
आजभोलि मेरो दैनिकीमा पनि हरेक दिनजसो हजुरको प्रसंग आएकै हुन्छ। मलाई जोसुकै वा जस्तोसुकै अरू छोरामान्छे भन्दा हजुर स्मार्ट अनि खास लाग्छ। राम्रो र आदर्श व्यक्तित्व लाग्छ। मलाई त हजुर सुपरहिरो भन्दा माथिको पनि केही हुन्छ भने हो त्यस्तै लाग्छ।
सामान्य र गम्भीर गरी पटक पटकका हृदयघातका कारण गरिएको त्यो मेजर शल्यक्रिया पश्चात गलेको शरीरले पनि सन्तानको मायामा एक इन्च कमी गर्नुभएको छैन। हजुरको क्रियाशीलतामा कमी आएको छैन। व्यक्तित्वमा ह्रास आएको मैले देखेकी छैन। हजुर आफैँ भन्नुहुन्छ, यो त मेरो नाफाको जिन्दगी हो। हो, पक्कै पनि हामीहरूलाई त्यस्तै महसुस हुन्छ। मलाई पनि लाग्छ, हाम्रो बाबाको यो पुनर्जन्म हो। यति हुँदाहुँदै पनि हजुरको आँट र साहसमा कुनै कमी आएको छैन।
मलाई याद छ, पाल्पा हजुरको पछाडि स्कुटरमा बसेर बजार जाँदै गर्दा भन्नुभएको थियो –तिमीले स्कुटर किन नसिकेको? मेरो उत्तर सामान्य थियो, काठमाडौंको व्यस्त सडक, दैनिकजसो हुने दुर्घटना त्यसैको डरले। तर हजुरले मलाई त्यही व्यस्त सडक, अफिस आवरको जामका बीच पछाडि बसालेर मलाई अफिससम्म पुर्याउनुभयो। म कति खुसी थिएँ, हजुरको त्यो आँट साहस र निडरपन देखेर। जबकी हजुरले पनि पहिला कहिल्यै काठमाडौंको व्यस्त सडक र भीडमा स्कुटर चलाउनु भएको थिएन।
हजुर अहिले विशेष कारणले अमेरिकामा हुनुहुन्छ। यताबाट जानेहरू प्रायः केही समय बस्दा देखि नै आत्तिनुहुन्छ र बस्नेदिन नै छोट्याएर फर्किनुहुन्छ। तर हजुर हरेक परिस्थ्तिमा रम्न र जम्न सक्ने भएर त्यहाँको बेग्लै संसार र त्यहाँको वातावरणमा रमाइरहनुभएको छ। बुढ्यौलीको कारण हो वा के हो अचेल अलि बढी भावुक हुनुभए जस्तो लाग्छ। तर हाम्रो समाज पुरूषले सहजै भावना पोख्न, रून र भावुक हुनु हुँदैन भन्ने सामाजिक नजिर खडा गरेको छ। त्यसैले त विज्ञानले पुष्टि गरेको छ, हृदयघातको सम्भावना महिलाको तुलनामा पुरूषमा बढी हुन्छ भनेर।
ड्याडी दिन त म के नै सक्छु र अझै पनि हजुरले नै दिँदै हुनुन्छ। तर मैले हजुरलाई गर्ने मायामा कुनै कमी आउने छैन। मेरा कारणले हर्षका आँसु आउने परिस्थिति जुट्न सक्ला नसक्ला तर दुखले आँसु झर्न कदापि दिने छैन।