प्रिय बा,
म धेरै समयदेखि तपाईंलाई मनका कुरा भन्न चाहन्थेँ। तर शब्दमा उतार्ने हिम्मत पाएको थिइनँ।
आज, कुशे औंसी नजिकिँदै गर्दा, मलाई लाग्यो योभन्दा उत्तम अवसर अरू हुनै सक्दैन।
बा, तपाईं मेरो जीवनको सबभन्दा नजिकको, दृढ र अविचल साथ दिने व्यक्तित्व हुनुहुन्छ।
म सानो छँदा पहिलो पटक 'बा' शब्द उच्चारण गर्दा मेरो जीवनको पहिलो विजय थियो। त्यो बेला मलाई बुझ्ने चेत थिएन, तर अब बुझ्छु 'बा' भन्नु केवल सम्बोधन मात्र होइन रहेछ, यो त जीवनकै आधार रहेछ। त्यही दिनदेखि आजसम्म, मेरो आँखामा बा उस्तै हुनुहुन्छ—नथाक्ने, अनि हरेक कठिनाइलाई मुस्कुराउँदै सहने व्यक्तित्व।
मलाई संसारले प्रायः 'बा को छोरा' भनेर चिन्छ। यो परिचय मेरो लागि गर्व हो। किनकि बा मेरो मात्र जन्मदाता होइनन्, उहाँ मेरो जीवनलाई दिशा दिने दीपक पनि हुनुहुन्छ। म कुनै दृढ, इमानदार र परिश्रमी व्यक्तित्वको सन्तान हुँ। तपाईं समाजमा केवल आफ्ना छोराछोरीका लागि मात्र होइन, अरूका लागि पनि आदर्श हुनुहुन्छ। तपाईंको सत्य र इमानको छवि नै मेरो पहिचान हो।
मैले कहिल्यै उहाँलाई रोएको देखिनँ। तर आमा भन्छिन् 'तिमी जन्मिँदा बा खुसीले रुनुभएको थियो।'
त्यो खुसीको आँसु उहाँको जीवनकै महान् क्षण थियो। त्यसपछि, चाहे दुःख आए वा पीडा, उहाँले आँसु छोपिरहनुभयो। म मनमनै सोचिरहन्छु 'बालाई कहिल्यै दु:ख हुन्न र ?' तर अब बुझ्छु , उहाँको मौनतामै थुप्रै पीडा लुकेका हुन्छन्।
बा हाम्रो परिवारको ढाल हो। बिहान सबेरै उठेर काममा निस्कने, बेलुकी थकाइलाई लुकाएर हामीसँग हाँस्ने उहाँकै बानी हो। उहाँलाई देख्दा कहिल्यै थकित महसुस हुँदैन। तर उहाँको चाउरिएका अनुहार र खस्रो हातहरूले धेरै कुरा बताउँछन्। जीवनका हरेक संघर्ष उहाँले चुपचाप सहनुभएको छ। तपाईंको खस्रो हात र चाउरिएका अनुहारले हजारौँ कथा सुनाउँछन्।
तपाईंले आफ्नो सपना थामेर हाम्रो भविष्यको लागि बाटो बनाइदिनुभयो। तपाईंले आफूलाई थकाइले थिचेर पनि परिवारलाई सुखद जीवन दिनुभयो। तर तपाईंले कहिल्यै गुनासो गर्नुभएन। संसारले तपाईंलाई सधैं मौन योद्धा भनेर बुझ्नुपर्ने हो।
तपाईं मेरो लागि मात्र पिता होइन, जीवनका गुरू पनि हुनुहुन्छ। अनुशासन तपाईंले देखाउनुभयो। बिहान सबेरै उठ्ने बानी, समयको मूल्य बुझ्ने शिक्षा, अनि हरेक कामलाई पूर्ण समर्पणसाथ गर्ने दृढता। त्याग तपाईंको मौन जीवनमै प्रस्ट देखिन्छ। आफै थाकेर पनि हामीलाई प्राथमिकता दिनुहुन्छ। आफ्ना चाहनाहरू दबाएर, हाम्रो खुसीलाई अगाडि राख्नुहुन्छ। धैर्य तपाईंको अनुहारमै प्रकट हुन्छ। दुःख आए पनि मुस्कुराउने कला तपाईंले सिकाउनुभयो। माया तपाईंले शब्दले होइन, व्यवहारले दिनुभयो।
न्यानो मुस्कानमा, मौन संरक्षणमा, अनि हाम्रो लागि दिनरात नथाकी खटिनुमा। आदर्श तपाईंको इमानदारी हो, जसलाई मैले जीवनको दिशा बनाएको छु। यी सबै पाठहरू कुनै पाठ्यपुस्तकमा पाइन्नन् बा। यी त केवल तपाईंको जीवन हेर्दा मात्र सिकिन्छन्। तपाईंको हरेक कदम, हरेक मौन त्याग, हरेक मुस्कान नै मेरो लागि एउटा विद्यालय हो।
यसैबीच, अब कुशे औंसी आउँदै छ। यो दिनमा छोराछोरीहरूले बाबुलाई सम्झने, पूजा गर्ने अनि सम्मान गर्ने चलन छ। यो दिन केवल परम्परा मात्र होइन, सारा सन्तानको भावनाको दिन हो। बाप्रतिको आदर, माया र कृतज्ञता प्रकट गर्ने अवसर। सन्तानका लागि सबभन्दा ठूलो धर्म भनेकै बाआमालाई जीवित हुँदा सम्मान गर्नु, उहाँलाई गर्व दिलाउनु हो। मृत्युपछि गरिएको श्रद्धाभन्दा हजार गुणा मूल्यवान् हुन्छ जीवित हुँदा दिइएको मायाले।
म सोचिरहेछु, कुशे औंसीको दिन मैले बासँग के भन्न सकूँ? शब्द कम पर्छन्, तर मनमा धेरै कुरा छन्। म भन्न चाहन्छु 'बा, तपाईं मेरो जीवनको आधार हुनुहुन्छ। तपाईंको अनुशासनले मलाई बाटो देखाएको छ। तपाईंको त्याग र ममताले मलाई उचालिएको छ। तपाईं बिना मेरो अस्तित्व नै अधुरो छ।'
कहिलेकाहीँ लाग्छ, बालाई मैले पर्याप्त धन्यवाद भन्न सकिनँ। उहाँको त्याग, पसिना र मेहनतका अगाडि मेरो योगदान शून्य जस्तै छ। तर कुशे औंसी जस्तो अवसरले फेरि सम्झाउँछ बालाई सम्झनु, सम्मान गर्नु, अनि उहाँलाई गर्वको अनुभूति दिलाउनु नै सन्तानको सबभन्दा ठूलो धर्म हो।
बा, तपाईं मेरो लागि मात्र बा होइन, प्रेरणाको स्रोत, जीवनको पाठशाला र अनुशासनको स्तम्भ हुनुहुन्छ। तपाईंले देखाउनुभएको बाटो पछ्याउँदै म अघि बढ्नेछु। मेरो प्रत्येक सफलता तपाईंको नाममा समर्पित हुनेछ। तपाईंले देखाउनुभएको बाटो पछ्याउँदै म अघि बढ्नेछु।
तपाईंले बगाउनुभएको पसिना र त्याग व्यर्थ हुन दिने छैन।
बा, तपाईं केवल मेरो पिता मात्र होइन, तपाईं मेरो जीवनको दीपक हुनुहुन्छ। तपाईंको छायामा म सुरक्षित छु। तपाईंको हाँसोमा म खुसी भेट्छु। तपाईंको मौनतामा म धैर्य भेट्छु। मलाई थाहा छ। तपाईंले आफ्ना शब्दभन्दा धेरै कर्मले मलाई सिकाउनुभएको छ।
यस कुशे औंसीमा, म यही भन्न चाहन्छु। 'बा, तपाईं मेरो लागि संसारकै महान् व्यक्तित्व हुनुहुन्छ। तपाईंको त्याग र ममताको ऋण म कहिल्यै तिर्न सक्दिनँ। तर तपाईंलाई गर्व गर्ने जीवन बाँच्नेछु।' यस कुशे औंसीमा म केवल एउटा वाचा गर्न चाहन्छु—'बा, तपाईंलाई गर्व गर्ने छोरा बन्छु।'