नाचगानको सांस्कृतिक राजधानी नगर भक्तपुरको सापारु एक हप्ता गुलजार भएर यो वर्षको लागि बिट मार्यो। भक्तपुरको प्रत्येक गल्ली र चोकहरू हरेक वर्षझैँ सांस्कृतिक नाचगान, बाजागाजा, लोकनृत्य र लोक सङ्गीतमा प्रत्येक गोधुली साँझदेखि मध्य रातसम्म सुमधुर गुन्जिरह्यो।
यहाँको सांस्कृतिक वैभव यति आश्चर्य लाग्दो छ कि भर्खरको चार वर्षीय बालक पनि मस्त कवांचा (मौलिक नाच) नाचिरहेका देखिन्छ भने ६० वर्षीय वयोवृद्ध पनि मस्त मगन भएर पछिमाय (एक प्रकारको मौलिक बाजा) बजाइरहेको देखिन्थे। कलकलाउँदो भर्खरको ४ वर्षीय बाबु नागाचा प्याखं नाचिरहेको देखिन्थ्यो। कलिला बालबालिकाहरू पनि स्वतःस्फूर्त गाइचा र फाकंदली नाचिरहेको देखिन्थे भने बाजेहरू गाइरहेको देखिन्थ्यो।
यतिको तादात्म्य बाँचिरहेको सहर साँच्चै रहरलाग्दो र आकर्षक छ। सापारुको हप्ता दिनसम्मै जय गुरु दत्तात्रयको जात्रा हुँदै आकाशभैरवको जात्रा, बाराहीजात्रा भएर अन्तमा कृष्ण जन्माष्टमीको दिन वाकुपती नारायणको कृष्ण प्रारूप भक्तपुरको प्रदक्षिणा मार्ग चहारेर अर्को वर्षलाई भनी थाती बस्यो।
के झमझम पानीमा पनि सापारुले आरामको श्वास बिसायो होला त? सांस्कृतिक नाचगानले पनि न घाम भने न पानी, न साँझ भने न रात। सांस्कृतिक राजधानी भक्तपुरले झकिझकाउ मुद्रामा मोहक नाचगानको सङ्गीत, लय र गाना बजानामा मस्त मगन भई हप्ता दिनको सापारुको प्राचीनतम महोत्सव स्वरूपमा आफूलाई रुझाएर, सांस्कृतिक वैभवलाई आफू जतिकै माया गर्ने भक्तपुरवासीहरूले अब नयाँ सालमा नयाँ स्वागत गरौँला भन्दै बिदाइको हात हल्लाउँदै बिदा मागेर गयो।
आजभोलिको नयाँ पुस्ताको उर्लँदो सहभागिताले जात्रा मनाउने पुरानो चलनमा एवम् पुरानो धारमा सायद परिवर्तन भइरहेको छ। अझ महिला सहभागिताको कुरा गर्ने हो भने त आजभोलिको सापारुमा घिन्ताङ घिसी खेल्ने महिलाहरूको उपस्थिति ज्यादै बाक्लो देखिन्छ।
लगभग दश वर्ष अगाडिसम्म पनि सापारुको जात्रा पर्व र बाजागाजाहरूमा महिलाहरूको उपस्थिति नगण्य थियो। कुनै समय त अझ महिलाहरूको अवसर यी बाजागाजा र नाचगानमा बन्देज जस्तै थियो। समय फेरियो। आज भक्तपुरको नाचगान, गीत सङ्गीत, जात्रा पर्वहरूमा महिला तथा युवापुस्ताको उल्लेख्य उपस्थितिले खुसी तुल्याएको छ।
महिलाहरू सांस्कृतिक रूपले पनि सशक्त हुँदै गएको अवश्य हो। तर हाम्रो मुख्य प्रश्न चाहिँ के हो भने यी नयाँ पुस्ताले सांस्कृतिक नाचगान र सहभागितामा आफ्नै रहर मात्र पूरा गरे कि सांस्कृतिक सौन्दर्यचेत पनि बोध गरे?
सांस्कृतिक बोधगम्य चिजहरूको व्यावहारिक अनुसरणसँगै त्यसको विचारणीय पक्षहरूको सांस्कृतिक बीजारोपण भइरहेको छ भने यो एकदम गौरवको विषय भएको छ। नभए हुल बाँधेर तीन बित्ता उफ्रिँदैमा सांस्कृतिक सौन्दर्यचेतमा अझै प्रश्न चिन्ह आलो छ। आलाकाचा युवापुस्ताको विचार सांस्कृतिक जागरणको दृष्टिकोणबाट मापन गरी हेरिनु पर्दछ।
लाखौँलाख युवाहरू अवसरको खोजी गर्दै विदेश पलायन भए। देशमा कृषि, उद्योग, व्यापार, व्यवसाय केहीमा पनि आशातीत किरणहरू छन् भन्ने भेउ पाउँदैनन् आजको युवा जमात। उसो भए के चाहिँ बाँकी रह्यो त देशभित्र जसको आशातीत त्यान्द्रोमा झुन्डिएर युवा जमात यही भूमिमा पसिना चुहाउन सक्दछ? आजसम्म बाँचेको कला संस्कृति र चाडपर्व गर्विलो आशाको केन्द्र हो। झिनो आशाको बिउ भएर यही सांस्कृतिक पदचापहरू सुनिन्छन्।
हाम्रो सांस्कृतिक सौन्दर्यचेत के आजको नयाँ पुस्ताले सांस्कृतिक सौन्दर्य बोधमा रूपान्तरण गरे त? जबसम्म सांस्कृतिक सौन्दर्यचेत हाम्रा युवापुस्ताले यसको महत्त्व चेतनाद्वारा सैद्धान्तिक रुझानमा पगाल्न सकिँदैन, तबसम्म जनताको सांस्कृतिक स्तर एक तह माथि उक्लियो भन्न गाह्रो नै छ। हाम्रो जात्रामा लट्ठी लिएर न्वारनदेखिको बल निकाली हो-हल्ला गरेर तीन बिता उफ्रिँदैमा सांस्कृतिक सौन्दर्यचेत भएको मान्न सकिँदैन।
सांस्कृतिक सौन्दर्यचेत भएको आजको नयाँ पुस्ताले यसरी नउफ्रिईकन पनि यस्तो गीत सङ्गीतको सोपानमा मन्त्रमुग्ध भई सांस्कृतिक वैभवको सुन्दरतामा चिन्तन मनन गरी भविष्यको मार्गमा दिशा निर्देश गर्न सक्ने ल्याकत बोक्न सक्दछ। आजको नयाँ दस्ताले सांस्कृतिक सौन्दर्यचेत ग्रहण गर्न नसकिरहेको आभास चाहिँ समस्याको मुख्य जड बनिरहेको पो हो कि?
उसो भए सांस्कृतिक सौन्दर्यचेत नाप्ने ब्यारोमिटर के हो?
कसरी नाप्ने त नयाँ पुस्ताको सांस्कृतिक सौन्दर्य बोध?
यहाँनेर हाम्रो जात्रा पर्वहरूमा एक किसिमको छलफल र सिंहावलोकन आवश्यक छ।
प्रत्येक वर्ष झैँ भक्तपुरको सांस्कृतिक वैभव जगेर्ना गर्न भक्तपुर नगरपालिकाले सांस्कृतिक मूल्याङ्कन गरी यहाँको लोक परम्परा, नाचगान, गीत सङ्गीत र अमूर्त सम्पदा संरक्षणको पाइला चालिरहेको छ। नगरपालिका यो पाइला अत्यन्त सराहनीय रहँदै आएको छ। लगभग लगभग शून्य प्राय हुन आँटिसकेको यस्तो मौलिक सम्पदा जगेर्नाको प्रयासलाई भक्तपुरवासीले सदैव प्रेमभावले माया गरिरहेको छ।
भक्तपुर नगरपालिकाले गरिरहेको यस्तो सगौरव मूर्त अमूर्त सम्पदा जगेर्नाको उल्लेखनीय क्रियाकलापको साक्षी सम्पूर्ण भक्तपुरवासीहरू छँदै छ तर पनि अझ यसलाई परिष्कृत ढङ्गबाट लैजानेतर्फ ध्यानाकर्षण गर्न जरुरी छ।
उसो भए अझै पनि यस्ता सांस्कृतिक धरोहरहरू जगेर्ना गर्न के-के पाइलाहरू चाल्न सकिन्छ त? यसको यावत अवयवहरूमा छलफल र विचार विमर्शबाट हल खोजिनु पर्दछ। हाम्रो लोक गीत, लोकबाजा, लोकसङ्गीत, लोकनाट्य जस्ता लोक संस्कृतिहरूको उत्थान हुन जरुरी रहेको तर्क सचेत हुनुपर्दछ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष झैँ यो वर्ष पनि यहाँको विशेष तीन वटा स्थानहरूमा परम्परागत र आधुनिक नाचगानको मूल्याङ्कन केन्द्र बनाई स्थानीय प्राचीन नाचगानलाई उत्साहित एवं प्रोत्साहित गर्ने काम गर्यो। यस्ता नाचगानको संरक्षण र जगेर्ना हेतु यो वर्ष भक्तपुरको दत्तात्रय क्षेत्र, नासमना क्षेत्र र मूलाछेँ क्षेत्रमा मूल्याङ्कन स्थलहरू रह्यो। यसले समग्र भक्तपुरको कला र संस्कृति संरक्षण एवं जगेर्ना गर्ने हेतु बनेको छ।
यस्तो काम कारबाहीले यहाँको कला संस्कृतिको क्षेत्रमा भइरहेको प्रयासलाई उजागर गरेको छ। यहाँको स्थानीय जनप्रतिनिधिहरू नगरवासीहरूको नजिकको साथी र यहाँको कला संस्कृतिको महत्त्व तथा औचित्यलाई तत् तत् अंगिकर गर्न सकिने भक्तपुर बासीको साझा संस्था भएको नाताले केही सुधार गर्नुपर्ने पक्षहरूमा पनि गहन हुन आवश्यक देखिन्छ।
भक्तपुर जस्तो देशकै नमुना र देशकै लागि एउटा स्थानीय मौलिक विकासको मोडल प्रस्तुत गरिरहेको जनप्रतिनिधि मूलक संस्थाले भक्तपुर बासी पुराना वाद्यवादक नाचगान गुरुहरूको मुटु छाम्ने चेष्टा गर्नु उपयुक्त हुन्छ।
के हाम्रो प्राचीन नाचगानले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक फड्को मार्न सक्यो?
पुरानो परम्परागत लोकनृत्य कति वटा पुनर्जीवित हुन सक्यो?
भएका पुरानो सांस्कृतिक समूहले उचित न्याय पाइरहेको छ कि छैन?
आर्थिक अभाव पो झेलिरहेको छ कि?
पुरानो देवी र भैल प्याखंहरूको जीर्ण पोसाक र मुकुट आर्थिक अवस्थाका कारण फेर्न सके कि सकेनन्?
सम्पूर्ण समुदाय समेट्न सके कि सकेनन्?
त्यहीअनुसार सांस्कृतिक समूहको उत्थान र हौसला प्रदान गर्नेतर्फ सोचनीय हुन परेको छ।
गुलजार भक्तपुरको लोकनृत्य र लोक सङ्गीत यी तीन वटा मूल्याङ्कन स्थलहरूमा मात्रै सङ्कुचित हुन पुगेको महसुस यो वर्ष पनि सम्पूर्ण भक्तपुर बासीहरूले गरे। साथै पुराना वयोवृद्ध गुरुहरू नै आजको समयका उत्कृष्ट मूल्याङ्कन कर्ता भएको, सांस्कृतिक नाचगानको मूल्याङ्कनकर्ता पनि उहाँहरूलाई नै बनाउन सके सुनमा सुगन्ध हुने एवम् यसो भएको खण्डमा मात्र सांस्कृतिक गुरुहरूको सम्मान हुने कुराको चर्चा परिचर्चा यहाँका संस्कृतिप्रेमी भक्तपुर नगरबासीहरूले गरे।
त्यस कारण यस्तो नाचगानमा प्रदक्षिणा मार्ग पुरै नै मूल्याङ्कन स्थल भइदिए अझै यसको गरिमा बढ्थ्यो कि? अरू टोलहरू सुनसान भएर मूल्याङ्कन स्थलमा सांस्कृतिक टोलीहरू कुरेर बस्नुपर्ने अवस्थाले हाम्रो सांस्कृतिक शोभा र न्याय दुवै बढ्न सकेन। हाम्रा वयोवृद्ध संस्कृति प्रेमी बाज्या अजीहरूले आफ्नै टोलमा आफ्नै घर पायक ठाउँहरूमा यस्तो प्राचीन नाचगान हेर्न सक्ने अवस्था सृजना भएको छैन भने यस्तो नाचगानको औचित्य कम्तीमा भक्तपुर जस्तो सांस्कृतिक नगरमा क्षम्य हुन सक्दैन।
के सापारुको एक हप्तालाई भक्तपुर महोत्सवकै रूपमा मनाउने माहौल बनाउनेतर्फ पनि एक छिन विचार गर्न सकिन्छ कि? छलफल र विचार विमर्शबाट केलाएर हेर्नु उपयुक्त हुन सक्दछ। साथसाथै व्यवस्थापकीय कमीकमजोरीहरूलाई अझै आगामी दिनहरूमा सुधार हुने आशा गर्ने ठाउँहरू त छँदै छ।
अब उसो भए हाम्रा प्रयासहरू चोटिलो ढङ्गमा के हुन सक्लान्?
भर्खरै नेपाल सरकार अन्तर्गत संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेवारहरूको विशेष परिकार योमरीलाई अभौतिक सम्पदामा राखिएको समाचार सुन्न पाइयो। यस्ता अमूर्त सम्पदाहरूको खोज, अध्ययन, अनुसन्धान एवम् जगेर्नाको निमित्त सम्पूर्ण सरकारी अङ्गहरू, विश्वविद्यालय र केन्द्रदेखि स्थानीय सरकार लागिपर्नु पर्ने हो तर यो स्थिति शिथिल छ। यस्ता अमूर्त सम्पदाहरू र जात्रा पर्वहरूको विषय समेट्ने हो भने यस्ता धरोहरहरू कति छन् कति।
सापारुमा देखाइने लोकनाट्य, लोकबाजा, लोकगीत सङ्गीतको दस्ताबेज बनाई यसलाई अमूर्त सम्पदाभित्र सूचीकृत गर्न दत्तचित्त भई लागि पर्नु आवश्यक छ। बग्रेल्ती रूपमा नेपालभरि छरपस्टिएका लोक संस्कृतिको अभिलेख, तथ्याङ्क सङ्कलन र दस्ताबेज आजको निम्ति महत्त्वपूर्ण छ।
के काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृत भएजस्तै नेपालको लोक संस्कृति र चाडपर्व विश्व सम्पदा सूचीमा अमूर्त सम्पदा भनी जनाउन सम्भव छ?
के हाम्रा विस्का जात्रा र गाईजात्रा पनि विश्व सम्पदा सुचीमा सूचीकृत हुन सक्छ?
सापारुमा देखाइने भैल प्याखं र देवी प्याखं पनि विश्व सम्पदाभित्र दरिन सम्भव छ?
हाम्रो लोककथा, लोकबाजा, लोकगीत सङ्गीत र लोक नृत्यको आफ्नै शैलीगत विशेषताहरू छन्। त्यही भएर हाम्रो लोकगीत सङ्गीत शास्त्रीय सङ्गीत जस्तै कोरा नियममा बाँधिन जरुरी भएको जस्तो देखिँदैन। यसको स्वतन्त्र उच्छ्वासहरूमा लोकसङ्गीत फल्न र फुल्न पाइरहेको छ। कृषि प्रधान समाजको समग्र किसानी वर्गले साँचेर राखेको अमूर्त सम्पदाहरू बढ्दो सहरीकरण र आधुनिकीकरणसँगै धराशायी भएका छन्। उत्पादनको स्वामित्व समयसँगै फेरिएको छ। मान्छेका प्राथमिकताहरू फेरिए। त्यस कारण यी सम्पदाहरू कति बेलासम्म बाँचिरहने हुन् चिन्तित हुन परेको छ।
भर्खरको जुँगामा रेखी बस्दै गरेका युवा प्रश्न सोध्छन्- यी सम्पदाहरू बचाइराखेर के काम?
प्रश्न सुनेर एक छिन मस्तिष्क दिग्भ्रमित हुँदो छ। ओहो! कति गम्भीर र बोझिलो प्रश्न?
जबसम्म यी सांस्कृतिक धरोहरहरू जीवित रहन्छन् तबसम्म सगौरव नेपाली हुनुमा गर्व रहन्छ भन्ने उत्तरले आजको नवजवानहरू चित्त बुझाउन सक्दैनन्। सांस्कृतिक वैभव, चालचलन रीति थिति, पर्व नासियो भने सम्पूर्ण जाति उपजाति र समुदाय नै लोप हुने खतरा हुन्छ। त्योभन्दा अझै त्यससँग सम्बन्धित इतिहास र अस्तित्व नै नामेट भएर जाने सम्भावना प्रबल छ। त्यसपछि हाम्रो पहिचान के हुन सक्ला? म बाहुन हुँ, म क्षेत्री हुँ, म लिम्बू हुँ, म नेवार हुँ भन्ने गर्विलो चौडा छातीले मात्र अब देशको राष्ट्रियता बोकिरहन सक्दैन।
राजनीतिक र सांस्कृतिक सौन्दर्य चेत पनि उतिकै पेचिलो र धारिलो हुनु जरुरी छ। राजा महाराजा र सामन्तीले यी किसान ज्यापू वर्गले सत्ताको प्रतिरोधलाई परास्त गर्न र सत्ताको विरुद्ध आवाज गुन्जाइस हुन नदिन यी नाचगान र भोजभतेरमा मोहित पारी गुलियो पोटेको विष बनाएको पनि त हुनसक्छ! शासन सत्ता चलाइरहने दाउपेचको माध्यम बनाएको पनि त हुनसक्छ! भौतिकवादी दृष्टिकोणबाट पनि संस्कृतिलाई हेरिन सक्नुपर्छ।
भक्तपुरलाई सांस्कृतिक राजधानी नगर घोषणा गर्ने विषयमा विसं २०५८/२०५९ साल तिरै छलफल तथा कार्यपत्रहरू प्रस्तुत भएको थियो। भक्तपुरका यी प्राचीन नाचगान, कला एवम् संस्कृति विषयक विचार विमर्श भई भक्तपुरलाई सांस्कृतिक राजधानी घोषणा गरी यहाँको कला संस्कृतिको संरक्षण एवम् जगेर्ना गर्नेतर्फ उत्प्रेरित हुने विषयहरू केलाइएको थियो। आज पनि बेला मौकामा यी विषयहरू उठिनै रहेको छ। समयको मागसँगै भक्तपुरलाई नाचगानको राजधानी नगर घोषणा गर्दा उपयुक्त हुने देखिन्छ। यसको लागि फेरि एक चोटि सम्बन्धित निकायबाट दरिलो घचघच्याहट हुनु पर्दछ।
समग्रमा देशकै यस्ता मूर्त अमूर्त सम्पदाको विषयमा नेपाल सरकार, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, गुठी संस्थान, पुरातत्त्व विभाग, विश्वविद्यालय, सरकारी संयन्त्र र सम्पूर्ण नगरपालिकाहरूले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन नगरेसम्म सांस्कृतिक धरोहरहरूको जीवन्त अविच्छिन्न बाँचिरहन आजको आधुनिक समयमा अत्यन्त मुस्किल छ।
देशकै मूर्त अमूर्त सम्पदाहरू उत्थान हुन नपाउँदै लोप हुने अवस्थातर्फ उन्मुख रहेकोप्रति सम्पूर्ण जिम्मेवार निकायले आफ्नो तर्फबाट हल खोज्ने र भएका सांस्कृतिक सम्पदा जगेर्ना गर्नेतर्फ समयमै पाइला चालुन्।
-1756114941.jpg)
-1756114940.jpg)
-1756114940.jpg)
-1756114939.jpg)
-1756114938.jpg)
-1756114938.jpg)