साउन र भदौको सुरुवातसँगै मेरो मनमा एउटा छुट्टै उल्लास हुन्थ्यो— तीजको। नेपालमा हुँदा यो पर्वले एउटा छट्टै रङ्गिन परिवेश ल्याउँथ्यो। साउनको हरियाली, भिजेका बाटा र रातो–हरियो लुगा लगाएका दिदीबहिनीको भीडले दृश्य नै अर्कै हुन्थ्यो।
परदेशमा बसेको ३ वर्ष भइसक्यो तर तीज भने सधैँजस्तै मनमा नयाँ उत्साह र पुराना सम्झनाका साथ आउँछ। यहाँ व्यस्तता छ, जीवनको गति छ, समयसँग दौड छ तर मनले तीजका ती स्नेही क्षणहरू भुल्दैन। बेलायतको व्यस्त र शान्त जीवनको बिचमा जहाँ तीज आउँदा त्यो रमाइलो त झल्को मात्र बनेर आउँछ, तर मनको कुनामा गहिरो असर छाडेर जान्छ।
साउन–भदौको तीजको रमझम
नेपालमा साउन लाग्दै गर्दा घर–आँगनमा चिरबिर हुन थाल्थ्यो। गहना किन्ने, लुगा, चुरा, पोते किन्ने। कपडा र चुरा पोतेका पसलमा झिलिमिली, दिदी–बहिनीहरू मिलेर लुगा छान्ने अनि तीजका भाका गाउने— यी सबै गतिविधिले माहौल नै अर्कै बनाउँथ्यो। साउने सोमबारका व्रत, पूजा पसलमा पूजा सामग्री किन्नेको घुइँचो, हरियो, रातो, पहेँला चुरा र पोते, रातो सारीमा सिँगारिएको अनुहार अनि सुगन्धित मेहेन्दीले रङ्गिएको हात— यी सबै दृश्य अहिले मनमा झलझली घुमिरहन्छन्।
भदौको सुरुवातसँगै तीजको तयारी झनै चुलिन्थ्यो। ‘तीजको दर’खाने दिन त बडो रमाइलो—चेलीबेटी भेला भएर स्वादिला परिकार, ठट्टा, हाँसो अनि मिलेर गाइने गीतले जीवनमै छुट्टै ऊर्जा ल्याउँथ्यो। अहिले ती परिकार सम्झँदा जिब्रो रसाउँछ तर त्यो स्वाद अब सम्झनाको मात्रै मिठास बनेर बाँकी छ।
सानैदेखि देख्दै आएको बुबाको आँगनमा रमाइरहेको तीज अहिले पनि झलझली याद आउँछ। माइतीको आँगन, दिदीबहिनीको काख, साथीहरूबिचको हाँसो र नाच अहिले परदेशी जीवनमा सम्झनाको भारी बनेर आउँछ।
तीजको दरको मिठास र सम्झना
म सानैदेखि तीजको रौनकमा रमाउँथेँ। अझ भन्नुपर्दा तीजका मौलिक भाकामा मादलको तालमा ताल मिलाएर नाच्न खुबै मन पर्ने। बाबाको घर र मावली घरमा चेलीबेटीको भेटघाट, आत्मीयता अनि दुःखसुखको साटासाट गर्ने त्यो जमघट अब परदेशमा बस्दा केवल ‘कहिल्यै नफर्किने’ पुराना दिनजस्तै लाग्छ।
माइतीको आँगन, मामाघरको दर, साथीहरूको हुल, शिव मन्दिरको पूजा अनि मादलको तालमा गुन्जिने भाका— यी सब कुराहरू मेरो तीजको पहिचान थिए। परदेशमा अहिले तीज आउँछ, म रातो सारी लगाउँछु, तीज गीत बज्छ, साथीहरूसँगै फोटो खिचिन्छ तर त्यो आत्मीयता, त्यो भित्रदेखि निस्किने रमाइलो भने हराएझैँ लाग्छ।
तीज भन्नासाथ दर छुटाउनै सकिन्न। मगमग बास्ना आउने घ्यू हाली बनाइएको दरभात, आलु बोडी, कर्कलो, तामाको तरकारी र काँक्राको अचार यी त्यति बेला सबैका घरमा पाक्ने साझा परिकार जस्तै भएता पनि तीजको माहौलमा यी परिकारका स्वाद बेग्लै मीठा लाग्छन्। दर खाने दिन त हाम्रो लागि सधैँ विशेष हुन्थ्यो। आ-आफ्नो घरबाट आउने दिदीबहिनी, फुपू-चेलीहरू, आपसी स्नेह, घरभित्रको घुइँचो, पकवानको मीठो वासना, माइतमा र मावलीमा बनाउने त्यो विशेष खानाको स्वाद अहिले परदेशमा आएर अझ मीठो सम्झनामा बदलिएको छ।
परदेशी तीज: व्यस्तताबिचको उत्सव
बेलायतको व्यस्त जीवनशैलीमा चाडपर्व मिलाउन सजिलो छैन। यहाँको जीवनको शैली एकदम फरक छ। सबै जना आफ्नो काममा व्यस्त, समयको मूल्य अमूल्य र सार्वजनिक चाडपर्वको छुट समेत सीमित। यहाँ न त सार्वजनिक बिदा, न बुबाको आँगन, न साथीहरूको चहलपहल। तर पनि हामीजस्ता परदेशी चेलीहरूले आफ्नो संस्कार बचाइराख्न हरदम प्रयास गरिरहेका छौँ।
अहिले बेलायतको व्यस्त जीवनमा यो सबै खोज्दा केवल सम्झना मात्र बाँकी छ। बच्चै देखिको त्यो भावनात्मक सम्बन्धले गर्दा कामबाट छुट्टी बसेरै भए पनि सानो जमघट, दरको सानो थाली, मीठा परिकार, रातो साडी, चुरापोते, मेहेन्दी, टीका अनि मादल नभए पनि मोबाइल र टिभीमा बज्ने तीज गीत, भान्सामा पकाइने आफ्नै हातको दर र नेपाली दिदीबहिनीको हाँसोले व्यस्त जीवनमै पनि चाडबाडको मिठास जोगाइराख्ने प्रयास गरिरहेका छौँ।
फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा राखिने फोटाहरू, सामूहिक नृत्य भिडियोहरू अनि एकआपसमा पठाइने तीज शुभकामनाले परदेशी जीवनलाई तीजको मिठासमा भिजाउने गर्छ। तर यति हुँदाहुँदै पनि परिवार, साथीभाइ र गाउँघरको अभाव भने हरपल महसुस हुन्छ। माइती, मावली घरको रमाइलो, दिदीबहिनीको हाँसो, साथीहरूको हुल अनि माइतीको आँगनमा गुन्जिने तीजका गीत अहिले सपनामै मात्र देखिन्छ।
धेरै समय त मायालु अनुहारहरू सम्झेर मन थाम्नु पर्छ। मनको कुनामा लाग्दछ कि यो तीजको माहौलमा कता भए पनि मेरा आफन्तजन मलाई उत्तिकै सम्झिरहनु भएको हुन्छ। मीठो दर, भित्री भान्साको गफ र बाबुआमाले बडो माया गरेर भेला गराइदिने त्यो पर्वको मिठास— यी सबै कुरा अहिले सम्झनामा बाँकी छन्।
माइती र मामाघरको झल्को
तीज केवल व्रत र पूजाको पर्व होइन, यो त चेलीहरूलाई आफ्नो माइती, मामाघर र आफन्तसँगको सम्बन्ध झल्काउने पर्व हो। परदेशमा हुँदा माइतीको याद अझै बल्झिन्छ। मामाघरको तीज त अझ रमाइलो हुन्थ्यो। मामा–माइजूको माया, आफन्तसँग बसेर दर खाँदै गफ र मामाघरको आँगनमा गुन्जिने ती मौलिक तीज गीत, त्यो मादलको ताल, भजन वा नृत्य अहिले झलझली सम्झिँदा परदेशको कोठा झनै सुनसान लाग्छ।
तीजका दिनमा खुलामञ्चको चउरमा अनि हरेक चोक चोकमा हुने रमाइलो, तीजमा साथ दिने मेरा साथीहरू अहिले पनि सम्झना बनिरहे। रमाइला गफहरू, गज्जबका फोटोहरू, कहिल्यै हेरेर नअघाइने ती नाचहरू— यी सबै सम्झँदा मन झन् चञ्चल हुन्छ।
आज ती साथीहरू नेपालमा छन्, म यहाँ छु तर हाम्रो सम्बन्ध समय र दूरीले पक्कै कमजोर बनेको छैन। तीज अब मेरो लागि केवल चाड होइन, भावनाको पुल हो— जो मलाई नेपालसँग, आफ्नो परिवारसँग, आफ्नै संस्कारसँग जोडेर राख्छ। परदेशमा तीजको रमाइलो कम हुन सक्छ तर त्यसको महत्त्व, माया र सम्झना झन् गहिरो हुन्छ।
परदेशमा बसेर चाडपर्व मनाउनु सजिलो छैन तर मनमा संस्कार बोकेको मान्छेले जहाँ भए पनि त्यसको मूल्य बुझ्छ। तीज मेरो संस्कार हो, आत्मीयता हो, पहिचान हो। अब तीज आए पनि घर फर्कन सक्दिनँ। यहाँ बसेर आमा–बुबा, दिदी–बहिनी, साथीहरू सबैलाई सम्झेर सार्वजनिक छुट नभए पनि मनमा चाडपर्व छ भन्ने प्रमाण दिन आफूलाई तयार राख्छु।
म सधैँ चाहन्छु— तीजको दिन उनीहरू सबै खुसी रहुन्, एक अर्कामा माया बाँडुन् र सधैँ सुरक्षित रहुन्। म टाढा भए पनि माया र शुभकामना यहीँबाट पठाइरहेकी छु। सबैलाई हरितालिका तीजको धेरै धेरै शुभकामना।