आजभोलि शान्ति म्यामको दैनिकी पहिले जस्तो छैन। दिन कटाउन गाह्रो हुन्छ। सात साइकल किमोलाई थेगेर भर्खर भर्खर तङ्ग्रिँदै गरेको शरीरले बिहानको समय बिस्तारै हल्का व्यायाम गर्छु भन्दा पनि त्यति जाँगर दिँदैन, कमजोरी र थाकेको महसुस हुन्छ। तैपनि जबरजस्ती यो शरीरलाई सामान्य अवस्थामा फर्काउनु छ।
म पहिलेको जस्तै बन्नु छ भन्ने आँट लिएर सकेसम्म वहाँ हल्का व्यायामबाटै दैनिकी सुरु गर्नुहुन्छ। पाठेघरको क्यान्सरसँगको युद्धमा शरीरलाई चाहिने पोषक तत्त्व पर्याप्त भए, अझै बलियो गरी रोगसँग लड्थेँ भन्दै गर्दा रुटिन औषधीहरूको साइडइफेक्टले खानेकुरा मुखमै नहाल्नु जस्तो अमन हुन्छर। तर वहाँ यसलाई पराजित गरेरै छाड्छु भनेर बरु समय लिएर बिस्तारै बिस्तारै आफूले खानुपर्ने जति खानेकुरा चाहिँ खानुहुन्छ।
यो युद्धका शान्ति म्यामका सहयोद्धा हुनुहुन्छ, वहाँका जीवनसाथी गोविन्द छन्त्याल। जसले करिब एक वर्षयता आफ्नो दिनभरको काम नै शान्ति म्यामको स्याहारसुसारलाई बनाउनुभएको छ।
छोरीलाई विद्यालयको लागि तयार गरेर पठाउने, परिवारका लागि खाना बनाउने, सबै जनासँगै बसेर खाने, त्यसपछि हतार हतार काठमाडौँको बसुन्धरा घरबाट कीर्तिपुरको ल्याबोरेटोरी स्कुलको जागिर भ्याउनु, विद्यालय सकिएपछि घर आएर सधैँझैँ बेलुकाको खानाको सुरसार गर्नु, वहाँको दैनिकी थियो। दिन बितेको पत्तै हुँदैनथ्यो।
जीवनको झन्डै तीस वर्ष शान्ति म्यामले शिक्षण पेसामा बिताउनु भएको छ। त्यसका साथै रंगमञ्चमा रुचि भएका कारण नेपाल भाषाका नाटकहरू खेल्ने र नेवारी टेलिचलचित्रहरूमा पनि वहाँको अभिनय देख्न सकिन्छ। श्रीमान् अभियन्ता भएका कारण प्रायः आफ्नै काममा व्यस्त र बाहिरकै काममा रहनुहुन्थ्यो। त्यसैले पनि शान्ति म्यामको जिन्दगी कामकाजी महिला, आमा र श्रीमतीको भूमिकासँगै घर गृहस्थीमा राम्ररी नै बितिरहेको थियो।
उमेरले तीन दशक काटेपछि सुरु गरेको अन्तरजातीय वैवाहिक जीवन र जीवनसाथीसँगको सहयात्राको रथ बल्ल त गुड्न थाल्दै थियो, जीवनमा अँध्यारोले त्यति ठाउँ पाएका थिएनन्। जुनेली बनेर उज्यालिँदै गरेको जीवनमा गत वर्षको दसैँ अगाडिको एउटा खबरले भने औँसीको रात ल्याउन खोजे जस्तै गर्यो। चल्दै गरेको त्यो रथको एउटा पाङ्ग्रामुनि ठेस लागेर रोकिएझैँ भयो।
शान्ति म्यामलाई दुई तीन वर्ष अघि देखिनै बेलाबेला प्रेसर बढ्ने, श्वास फेर्न गाह्रो हुने समस्या भइरहन्थ्यो। मेनुपज (महिनावारी रोकिने समय) का कारणले होला भनेर अस्पताल जाने तत्कालका लागि औषधी लिएर खाने र नियमित जीवनमा फर्किने क्रम केही समय चल्यो। स्त्रीरोग विशेषज्ञसँगको परामर्शमा वहाँको पाठेघरमा मासु पलाएको थाहा भयो। मासु ज्यादै सानो भएकोले चिन्ता लिन नपर्ने भनेर चिकित्सकले औषधी दिनुभयो। तर वहाँलाई भने आफ्नी आमालाई पनि स्तन क्यान्सर भएका कारण कता कता भित्री मनमा शंका र डर भने थियो। यो कुरा शान्ति म्यामले चिकित्सकलाई पनि सुनाउनुभएको थियो।
एक वर्षपछिको फलोअप परीक्षणमा पनि मासुको डल्लो बढेको देखियो। तर त्यो बेला पनि चिकित्सकले तपाईँलाई गाह्रो नभएकोले केही गर्नुपर्दैन भनेर औषधी दिएर पठाउनुभयो। नेपालका प्रायः अस्पतालमा पुग्ने बिरामीले चिकित्सकहरूबाट यस्तै खालको प्रक्रिया दोहोर्याएको पाउँछन्। जसले एकातिर बिरामीलाई सास्ती दिइरहेको हुन्छ भने अर्कोतर्फ रोगको पहिचानको प्रक्रियालाई लम्ब्याउँछ।
सधैँ बिहानको समय हल्का व्यायाम गर्ने वहाँले एक दिन व्यायामको क्रममा बायाँ खुट्टाको कापमा असहज महसुस गर्नुभयो। सुरुमा केही नहोला भनेर छोडिदिनुभयो, पन्ध्र दिन जति बितिसकेपछि कडा (साह्रो) ठाउँमा बस्दा प्रजनन अङ्ग वरपर अलिअलि असहज र हल्का दुखेको महसुस गर्नुभयो। एक दिन व्यायामकै क्रममा सोही ठाउँमा गाँठो रहेको थाहा पाउनुभयो र तत्काल अस्पताल पुग्नुभयो। चिकित्सकले इन्फेक्सनले होला भनेर एन्टिबायोटिक दिनुभयो।
एक सातासम्म औषधी खादा पनि गाँठो र त्यसको दुखाइ कम नभएपछि वहाँ फेरि अस्पताल पुग्नुभयो। अनि मात्र चिकित्सकले मासु जाँच गर्न सुझाव दिनुभयो। गत वर्षको दसैँताका सुरुमा एफएनएसी जाँच र त्यसपछि गरिएको बायोप्सीमा शान्ति उहाँलाई पाठेघरको क्यान्सर प्रमाणित भयो।
रिपोर्ट लिएर फर्किनस भएका श्रीमान् घर पस्ने बित्तिकै शान्ति म्यामकै काखमा भक्कानिएर रुनुभयो। रिपोर्टमा देखिएको कुरा सुनाउनुभयो। जीवनमा बज्रपात परेको भनेर यस्तै क्षणलाई भनिन्छ सायद, अत्यन्तै गाह्रो र सहनै नसकिने। एक सातासम्म पनि वहाँहरूलाई त्यो कागजको टुक्राले लिएर आएको सन्देश स्विकार्न कठिन भयो। त्यो बेला शान्ति म्यामले नै श्रीमानलाई सम्झाउनुभयो। एक जना चिनेका चिकित्सकसँग मनोपरामर्श लिएपछि बल्ल वहाँहरूले उपचारको प्रक्रिया बुझ्न थाल्नुभयो।
अमेरिका बस्ने नेपाली चिकित्सकसँगको सल्लाह बमोजिम केही परीक्षणहरू गराएपछि शान्ति म्यामलाई तुरुन्त किमो चलाउनुपर्ने देखियो। सुरुमा सल्लाह गरेका सबैले भारत गएर उपचार गराउन सुझाव नदिएको हैन तर नेपाली मध्यम वर्गीय परिवारमा यस्तो खालको रोगको उपचार लामो हुने भएकाले आर्थिक पाटोले अहम् भूमिका खेल्छ। वहाँहरूको पनि त्यस्तै भयो सुरुमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार लिने निधो गर्नुभयो।
टिचिङ अस्पतालको उपचार, संघर्षको अर्को पहाड बन्यो। अन्कोलोजी विभागका जम्मा १२ वटा बेड त्यसमा पनि बिरामीको चाप। प्रजनन अङ्ग नजिकै भर्खरै गरेको शल्यक्रियाले बस्नै असहज भइरहेका बेला उहाँले डेढ घण्टा कुर्सीमै बसेर पहिलो किमो लिनुभयो। बल्लतल्ल पाएको बेडमा बसेर किमो लिँदै गर्दा आफूभन्दा पाका उमेरका अरू बिरामीहरू कुर्सीमै बसेर किमो लिँदै गरेको देख्नुहुन्थ्यो, जसले उहाँको मनमा अरू पीडा थपिदिन्थ्यो।
टिचिङ अस्पतालमा खोजेको समयमा बेड नपाउने, ह्विल चेयर नपाउने र बिरामी मान्छे बिहानै उठेर लाइन बस्न जानुपर्ने जस्ता अरू समस्याहरू पनि थिए। रोगले थिलथिलो बनाएको शरीर र कमजोर मानसिकताका बाबजुद सरकारी अस्पतालमा केही सहुलियत होला भनेर उपचारका लागि पुग्नुभएकी शान्ति म्यामका लागि आवश्यक किमो अस्पतालमा निःशुल्क पाइएन। सरकारले गरिब तथा विपन्न बिरामीहरूका लागि दिएको एक लाख रुपैयाँको अनुदान रकमबाट त्यहाँ किमो किन्न पाउनुभएन, बाहिरको फार्मेसीमा आफ्नै पैसा खर्च गरेर किन्नुपर्यो। त्यसपछि दोस्रो किमोसम्म टिचिङमा लिनुभएकी वहाँले तेस्रो चाहिँ प्राइभेट अस्पतालमा लिनुभयो।
आफूलाई क्यान्सर रोग लागेको स्विकार्न वहाँ स्वयंलाई जति गाह्रो भएको थियो, त्योभन्दा बढी गाह्रो छोरीलाई यो खबर थाहा नदिने काममा भयो। सकेसम्म लुकाउनुभयो। तर चिकित्सक, आफन्त र साथीभाइसँग फोनमा गरिएका कुराकानी, विभिन्न रिपोर्टहरू समेत पढ्न जान्ने उमेरकी छोरीलाई थाहा नदिएर धेरै दिन लुकाउन सक्नुभएन। छोरीले आमाको रोगबारे थाहा पाएपछि उल्टै आमालाई सम्झाउन थालिन। त्यसो भन्दै गर्दा शान्ति म्याम हामीसँग भक्कानिनुभयो।
उपचारको क्रममा काठमाडौँमै पनि विभिन्न अस्पतालको दौडधुप थियो। पछि शल्यक्रियाका वहाँहरूले भारत जाने निधो गर्नुभयो। अब छोरीको हेरचाह र पढाइको समस्या भयो। काठमाडौँको असन माइती भए पनि छोरीको स्कुल गोंगबु भएका कारण उनको हेरचाहका लागि वहाँले बागलुङमा रहनुभएकी सासूलाई सहयोग माग्नुभयो।
त्यसपछिको उपचार शल्यक्रिया भएकोले गत वर्षको माघमा वहाँहरू भारत जानुभयो। सासू आउनुभयो, यता छोरीको पढाइ निरन्तर चल्यो, उता शान्ति म्यामको उपचार।
भारतमा उपचारका क्रममा डेढ महिना उतै बस्नुपर्यो। उपचारको सुरुवाती दिनहरूमा भारतमा केही अलमल भयो। तर सानैमा शान्ति म्यामले पढाउनु भएकी एक जना विद्यार्थी जो भारतमै बस्नुहुन्छ (रोहिनी) को सहयोगमा वहाँको उपचार र भारतको बसाइँ सहज भयो। शरीरमा देखिएका विभिन्न लक्षणका कारण शल्यक्रिया पश्चात् डिस्चार्ज भएको दुई/चार दिनमै फेरि भर्ना हुनुभयो। अर्को साइकल किमो त्यही बसेर लिनुभयो र त्यसपछि नेपाल फर्किनुभयो।
दुई महिनाअघि फलोअपमा जाँदा वहाँको रिपोट राम्रो देखिएको छ। अब छ महिनामा फलोअप आउन भनेर चिकित्सकले भनेका छन्। क्यान्सर रोगको उपचारको प्रक्रिया नै लामो हुने गर्छ। अहिले पनि शान्ति म्याम तेस्रो चरणको उपचार मेन्टिनेन्स र टार्गेटेड थेरापी नेपालमै गराउँदै हुनुहुन्छ। यो प्रक्रिया दुई/तीन वर्ष यसै गरी चलिरहन्छ।
क्यान्सरसँगको यो लडाइँमा शान्ति म्यामलाई जीवन साथीको साथ, हेरचाह, माया र आफन्तको सहयोगले बल दियो। सबैभन्दा ठुलो कुरा छोरीको अनुहारमा उहाँ आफ्नो भोलिको जीवनको आसा बचाएर राख्नुहुन्छ। वहाँलाई लाग्छ मैले मेरी छोरी, श्रीमान्, परिवार, साथीभाइ, आफन्त र वरिपरि रहेकाहरू जसले मलाई मेरो जीवनको महत्त्व बुझाइरहेका छन्, वहाँहरूलाई पनि निराश बनाउनु हुँदैन। त्यसैले मैले यो रोगसँग बहादुरीका साथ लड्नु पर्छ र फेरि उठ्नु पर्छ।
हाम्रो समाजमा आज हामीले कतिपयलाई देखेका छौ, जसको अप्ठ्यारो अवस्थामा आफन्तले साथ छोडेर हिँडेका छन्। यो मामलामा शान्ति म्याम आफूलाई भाग्यमानी ठान्नुहुन्छ, जसलाई सबैको साथ र माया छ।
रोगले कुनै समूह, वर्ग र समुदाय हेर्दैन। यो जोसुकैलाई जुनसुकै बेला पनि लाग्न सक्छ। जीवन मरणशील छ, यो यथार्थ हो। तर आफ्नै अगाडि मृत्युलाई हेर्दै उसैलाई च्यालेन्ज गर्दै बाँच्नु वा बाँच्ने साहस जुटाउनु चानचुने कुरा होइन। आज संसारमा कति धेरै मानिसहरू छन् जो क्यान्सर रोग लागेर पनि जुध्दै, लड्दै, फेरि उठ्दै समाजलाई डोर्याइरहेका छन्। जीवनको तीन दशक एउटा चेतनशील र शिक्षित नागरिक बनाउन खर्चिनुभएकी शान्ति म्यामलाई भोलि फेरि स्वस्थ भएर आफूजस्तै क्यान्सर रोगीहरूको क्षेत्रमा काम गर्न मन छ। त्यसैले त आज हिम्मतका साथ यो रोगलाई जितेरै छाड्ने प्रण गर्नुभएको छ, जसमा वहाँ सफल हुनुहुनेछ।
आफ्नो देशमा खोजेजस्तो, भनेजस्तो स्वास्थ्य सेवा नपाएर विदेशमा गएर उपचार गराउनुपर्दा वहाँको मन पटक पटक दुख्यो। संसारमा भएका यत्रा परिवर्तनहरू देखेका हाम्रा नेताहरूले स्वास्थ्य क्षेत्रमा सामान्य भन्दा सामान्य सुविधा र जनतालाई राहत हुने व्यवस्था किन गर्न सकेनन् भन्ने प्रश्न मनमा आइरहन्छ।
एउटा नागरिकले भोगेको यो कष्टमा, यो पीडामा सरकार कहाँ थियो र कहाँ छ? वहाँलाई थाहा छैन। भारतको अस्पतालको सुविधा र सेवा प्रवाह देख्दा भने वहाँलाई नेपालको सरकारी अस्पतालले दिइरहेको सेवालाई गिज्याइरहे झैँ लाग्यो।
सहरमा बसेको, शिक्षित, छिमेकी देशसम्म पुगेर उपचार गराउन सक्ने क्षमता राख्ने एउटा परिवारको कथा हो, यो। नेपालमा क्यान्सर रोगबारे थाहा भएका र वहाँहरूको जस्तै क्षमता राख्ने नागरिक कति होलान्? कति होलान् त्यस्ता, जसले अस्पतालको उपचारसम्ममा पनि पहुँच राख्न सक्दैनन्, त्यसको हिसाब कोसँग होला?
शान्ति म्यामको उपचारका लागि नेपाल र भारतका अस्पताल गरेर हालसम्म २६ लाख रुपैयाँ खर्च भइसकेको छ। उपचारका लागि सुरुमा १६ लाख साथीभाइ, आफन्त चिनेजानेकाहरूले सहयोग गर्नुभयो। त्यसपछि हाल वहाँहरूले अनलाइन चन्दा संकलन गर्ने प्लेटफर्म ‘गो फण्ड मी’ मा सहयोगका लागि अपिल पनि गर्नुभएको छ।
(लेखक नेपाल अर्बुद रोग निवारण संस्थासँग आबद्ध हुनुहुन्छ।)