भनिन्छ प्रेमले न रूप हेर्छ, न रंग, न जात, न उमेर। तर अहिलेको प्रेमले एउटा कुरा भने पक्का हेर्छ— भिजा। आजको पुस्तामा विदेश जाने सपना जीवनको लक्ष्यजस्तै बनेको छ। +२ सकेपछि कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही क्यानडाको तयारीमा लाग्छन्। अहिले त्यस्ता युवाहरू कम भेटिन्छन् जो देशमै बसेर पढ्न र केही गर्न चाहन्छन्।
सबैलाई विदेशको पढाइ, जागिर र सेटलमेन्टको लोभ लागेको छ। यही दौडधुपमा धेरैको प्रेम पनि कहिलेकाहीँ बिचमै टुटेर जान्छ। म पनि त्यही कथा भोग्नेमध्ये एक हुँ।
मेरो र उनको भेट सोसल मिडियामार्फत भएको थियो। सुरुमा सामान्य हाई र हेल्लोबाट सुरु भएको कुरा बिस्तारै गहिरिँदै गयो। हामीबिच हरेक दिन कुरा हुन्थ्यो। हाम्रो दिनको सुरु पनि एक-अर्कालाई सम्झेर हुन्थ्यो र अन्त्य पनि। उनको बोल्ने ढङ्ग, हाँसो, सरल स्वभाव र सादगीमा मलाई आकर्षण महसुस भएको थियो।
थोरै समयमा पनि म उनलाई निकै नजिकको महसुस गर्न थालेको थिएँ। हामी दुवै पढाइमा व्यस्त थियौँ तर समय निकालेर कुरा गर्ने बानी पर्न थाल्यो। ती रातभरिको कुराकानी, अनगिन्ती हाँसो र साना गुनासाहरूले हाम्रो सम्बन्धलाई निकै बलियो बनाइरहेको थियो। तर उनको सपना फरक थियो। उनी सधैँ विदेश जान चाहन्थिन्। उनी भन्थिन्, ‘म विदेश गएर राम्रो पढाइ गर्न चाहन्छु, आफ्नो परिवारको लागि केही गर्न चाहन्छु।’
म उनको सपना बुझ्थेँ किनकि हरेक मान्छेको सपना र लक्ष्य फरक फरक हुन्छ। म उनको साथमा खुसी थिएँ तर मनको एउटा कुनामा डर पनि थियो, उनी विदेश गएपछि के हाम्रो सम्बन्ध उस्तै रहला? त्यही डर पछि गएर साँचो साबित भयो। उनी अस्ट्रेलियाको प्रोसेसमा लागिन्। कन्सल्टेन्सी , आइइएलटिएस क्लास, डकुमेन्ट तयारी सबै कुरा छिटो अगाडि बढ्दै थियो। म भने अझै आफ्नो भविष्यको दिशामा अनिश्चित थिएँ।
त्यो बिचमा हाम्रो कुरा पनि कम हुन थाल्यो। पहिलेको उत्साह हराउँदै गयो अनि हरेक कुरा अब पढाइ र भविष्य वरिपरि मात्र सीमित हुन थाल्यो। ३ महिनापछि एक दिन उनले मलाई म्यासेज गरिन्, ‘मेरो भिजा त रिजेक्ट भयो तर हाम्रो घरमा बिहेको कुरा चलेको छ।’
म एकछिन अचम्म परेँ। सोधेँ, ‘कसको बिहेको कुरा चलेको?’
उनले शान्त स्वरमा भनिन्, ‘बाबाले मेरो लागि एउटा केटा हेर्नु भएको छ, ऊ अस्ट्रेलियामा छ र राम्रो काम गर्छ रे अनि कमाई पनि राम्रै छ अरे।’
त्यो वाक्य सुन्दा मेरो शरीर निसास्सिएर गयो। म केही क्षण मौन बसेँ। ती शब्दहरूले मेरो हृदयमा चोट पुर्याए। मैले उनलाई सोधेँ, ‘के हाम्रो सम्बन्धले अब केही अर्थ राख्दैन?’
तर उनको उत्तर छोटो थियो, ‘परिवारको कुरालाई म नाइँ भन्न सक्दिनँ।’
त्यो सुन्दा म केही बोल्न सकिनँ। केही समयपछि उनको बिहे भयो र उनी आफ्नो सपनाको देश अस्ट्रेलिया लागिन्।
अस्ट्रेलिया अहिले धेरै युवाको सपना बनेको छ। त्यहाँ पढाइ, काम र स्थायी बसोबासका अवसरहरू प्रशस्त छन्। बाहिरबाट हेर्दा अस्ट्रेलिया चम्किलो देखिन्छ तर त्यही देशले कति प्रेमकथाहरू अधूरा बनाइदिएको छ। कहिलेकाहीँ लाग्छ अस्ट्रेलिया अब केवल ‘सपनाको देश’ होइन, ‘बिछोडको देश’ पनि बनेको छ।
हाम्रो समाजमा विवाह वा सम्बन्धका मापदण्ड पनि बदलिँदै गएका छन्। पहिले बिहे गर्दा केटाको स्वभाव, शिक्षा र परिवारको पृष्ठभूमि हेर्थे तर अहिले केटा कुन देशमा छ? केटासँग कुन देशको पिआर छ? भन्ने प्रश्नहरूले पहिलो प्राथमिकता पाउँछन्।
उनको बिहेको खबरपछि म लामो समयसम्म असमञ्जसमा रहेँ। म रिसाएको पनि थिएँ, दुःखी पनि। कहिलेकाहीँ लाग्थ्यो उनले धोका दिइन्, कहिलेकाहीँ लाग्थ्यो उनी पनि बाध्य थिइन्। म उनलाई सम्झेर कहिले मुस्कुराउँथेँ, कहिले आँसु आउँथ्यो। त्यो एकोहोरोपनले मलाई भित्रभित्रै तड्पाइरहेको थियो।
मैले आफैँलाई सम्झाएँ, सायद म पनि अब आफ्नो भविष्यको बाटोमा ध्यान दिनुपर्छ। सायद विदेश गएर मात्रै होइन, देशमै बसेर पनि केही गर्न सकिन्छ। म अब आफ्नै भविष्यको लागि सोच्न थालेँ। तर यति गहिरो सम्बन्ध टुटेपछि उठ्न सजिलो थिएन। म उनलाई भुल्न प्रयास गर्थेँ तर उनको हाँसो, उनका शब्दहरू, हामीले सँगै बनाएका साना-साना योजना सँगै बिताएका पलहरू भुल्न सजिलो थिएन ।
समय बित्दै गयो। उनी अस्ट्रेलिया गइन् अनि म पनि आफ्नो जीवनमा अघि बढ्ने प्रयास गर्न लागेँ। पहिले हरेक बिहान उनको म्यासेज पर्खिन्थेँ, अहिले मेरो ध्यान आफ्नै काम र पढाइमा छ। उनी अहिले विवाह गरेर खुसी छन् भन्ने सुनेँ। सुरुमा त्यो सुन्दा मन भारी भयो तर बिस्तारै म बुझ्न थालेँ, उनको खुसीमै मेरो खुसी छ।
प्रेम कहिलेकाहीँ जीवनभर सँगै रहनु होइन, कसैको खुसीमा सन्तोष मान्न सक्नु पनि हो। देशभित्र अहिले एउटा ठुलो मानसिकता पलाएको छ; सबैलाई लाग्छ देशमा केही हुँदैन, विदेश गएपछि मात्रै जीवन बन्छ। तर सबै कुरा विदेशमै सम्भव छैन। विदेशमा पैसा हुन्छ तर घरको माया हुँदैन। विदेशमा कामको अवसर हुन्छ तर साथ र सान्त्वना हुँदैन। अस्ट्रेलियाको जीवन बाहिरबाट आकर्षक लाग्छ तर भित्र धेरै संघर्ष र एक्लोपन हुन्छ।
सायद म र उनी जस्ता धेरै छन् जसको प्रेम भिजा प्रोसेसकै बिचमा टुट्छ। नयाँ पुस्ताको प्रेम व्यावहारिक र लक्ष्यमुखी हुँदै गएको छ। अहिलेका सम्बन्धहरू भावनामा होइन, भविष्यको सम्भावनामा टिकेका छन्।
केटा कुन देशमा छ?
केटासँग पिआर छ कि नाइँ?
सेटल भएको छ?
यी प्रश्नहरूले केटा कस्तो मान्छे हो? भन्ने प्रश्नभन्दा बढी मूल्य पाएका छन्। सायद हामीले प्रेमको साँचो अर्थ बिर्सिँदै गएका छौँ। पहिले प्रेममा त्याग र सच्चाइ थियो, आज प्रेममा सुविधा र स्ट्याटस खोजिन्छ। पहिले प्रेममा विश्वास थियो, आज बाहिरी चमक खोजिन्छ। तर म अझै पनि विश्वास गर्छु साँचो प्रेम अस्तित्वमा छ, बस अहिलेको भीड र प्राथमिकतामाझ हराइरहेको छ।
अस्ट्रेलियाको भिजा नलागेर मेरो प्रेम छुट्यो। तर त्यो बिछोडले मलाई धेरै कुरा सिकायो। मैले बुझेँ, मान्छे गए पनि सम्झना रहन्छ। प्रेम टुटे पनि माया मर्दैन। कहिलेकाहीँ टुटेका सम्बन्धहरूले नै हाम्रो भविष्यको बाटो देखाउँछ। मैले अहिले आफ्नो बाटो रोजेको छु। अब म आफ्नै सपनाका लागि काम गर्छु र आफ्नो पहिचान बनाउन चाहन्छु। तिम्रो जीवन सधैँ खुसी र सफल बनोस् शुभकामना।