‘ल यो पालि कहाँ जाने भन त?’
शारदीय ऋतुको आगमनसँगै चोक, गल्ली र चिया पसलमा घुमघामको कुरा नहुने त कुरै भएन। दसैँ नजिकिँदै थियो, यो वर्ष चाडपर्वलाई मौसमले साथ नदिने भयो। दसैँमा पानी पर्ने भयो रे ‘अविरल झरी।’ लौजा! अब के गर्ने? हामी पनि त ट्रेकिङ जाने कुरामा थियौँ।
प्राइभेट जागिर, कलेजको लन्ठ्याइँ, सन्तान चाडपर्वमा घरमै बसून् भन्ने बा-आमाको अभिलाषा, प्रियसीको गनगन, सबैलाई मिलाएर घुम्ने समय मिलाउनु पनि गाह्रो हुने रहेछ। फेरि सबै मिलिसक्दा जाने साथी नमिल्ने। सदाझैँ म्यासेन्जरको ट्रेकिङ ग्रुपमा हामी पाँच जना थियौँ तर जाने दुई जना भयौँ। खयर, हामी दुईको ट्रेकिङ सपना पनि दसैँको झरीले बगायो।
अविरल झरीले विध्वंस गर्यो। करिब ५२ जनाले ज्यान गुमाए। दसैँ फिक्का भयो।
समयसँगै सबै ठिक हुँदै जान्छ। जसले आफ्नो गुमाए, उनीहरूका लागि सबै ठिक हुन लामो समय अवश्य नै लाग्छ तर हामी जसले वर्षाको विध्वंसलाई समाचारमा सुन्यौँ र पत्रिकामा पढ्यौँ, शारदीय घाम र मीठो बतासले पीडा चाँडै पखाल्यो।
जीवन सामान्य बन्दै गयो। ओसिएका चाहना फेरि जुरमुराउन थाले। चोक, गल्ली र चिया पसल फेरि घुमफिरका कुराले गुन्जिन थाले।
‘अब त पानी पर्दैन, मौसम लास्टै क्लियर हुन्छ, घुम्न त जानै पर्छ।’
हामीमा पनि घुम्न जाने चाहना जुरमुरायो। पाँच जनाबाट सुरु भएको सल्लाह दुई जनामा सीमित भयो। खयर, हामी ट्रेकिङ जाने भयौँ।
ट्रेकिङ (पदयात्रा) आजकाल निकै चलनचल्तीको नाम हो। कोही आफ्नो साहसको परीक्षण गर्न, कोही प्रकृतिसँग रम्न, कोही फेसबुकमा फोटो राख्न, त कोही इन्स्टाग्राममा रिल्स बनाउन त, कोही टिकटकको भ्यूज बढाउन, ट्रेकिङ धेरै युवाको रोजाइमा पर्छ आजकाल।
हरियो जङ्गलको छायामुनि सेतो झरनाको छङछङ, चराहरूको चिरबिर। आहा! हिँड्न पनि कति मज्जा हुँदो होला है?
नयाँ मान्छे, नयाँ संस्कृति, फरक खानेकुरा, फरक लवज, पृथक रहनसहन। ओहो! धेरै कुरा अनुभव गर्न पाइन्छ ट्रेकिङमा।
हामी कल्पनामै रमेर मक्ख थियौँ। झन् माथि सेतो हिमालका बिचमा उभिएर चारैतिर हिमालको दृश्य, बिहानको प्रहरमा घामको पहिलो झुल्काले हिमालको टुप्पोमा हान्दाको त्यो सुन जस्तै चम्कने हिमाल, चिसो मीठो बतास। आहा! सायद स्वर्ग त्यसैलाई भन्छन् होला। ट्रेकिङका दिनहरू जति नजिकिँदै थिए, हामी त्यति रोमान्चित हुँदै थियौँ।
‘ट्रेकिङमा के-के लाने?’ बडो गाह्रो छ। चाहिने नचाहिने धेरै कुरा जोड्ने बानी लागेका हामी, जीवन चलाउन दुई थान कपडा, एक जोर जुत्ता, अलिकति खानेकुरा र आवश्यक औषधी भए पुग्ने रहेछ। असरल्ल जमिनमा छरिएका सामानले भन्दै थिएँ- ‘यति भए चल्छ।’
बिहान सात बजेको टिकट थियो। सधैँ घडीको सुईले आठ हानेपछि आमाको गनगनले उठ्ने हामी पाँच बजे नै उठेर तयार भयौँ। घरबाट पठाओ बुक गरी समय अघि नै बसपार्क पुग्यौँ।
बसपार्क वरिपरिको परिदृश्य बडो रोचक थियो। चिया पसलबाट चियाको बास्नासँगै चुरोटको धुवाँ र राजनीतिक गफ उड्दै हावामा विलिन हुँदै थियो। कोही चाड मनाउन गाउँ जाँदै थिए, कोही आफन्तकोमा, कोही घुम्न निस्केका थिए। बसको सहचालक छतमा सामान मिलाउँदै थिए, कोही टिकट काट्दै थिए, कोही सिट खोज्दै थिए। हँसिलो र खुसी अनुहारले बसपार्क भित्रको कोलाहलमा कान्ति छरेको थियो।
झुण्ड-झुण्डमा ठिटाठिटीहरू पनि थिए। ठुलो ट्रेकिङ ब्याग, हातमा लौरो, आँखामा चस्मा, टाउकोमा क्याप अनि गोडामा दमदार बुट, घुम्न निस्केका युवायुवतीको झुण्डले माहोललाई झन् रोमान्चित बनाएको थियो।
अल्हारे उमेर, मुढे बल, हावादारी कुरा, ठट्टा-मजाक, आत्मविश्वास यही त हो जिन्दगानी भनेको। उमेरले झन्डै चार दशक काटेका झ्यालमा बसेका दाइहरूले भन्दै थिए, ‘हामी पनि त यस्तै थियौँ।’
बसले लामो हर्न मार्यो। सबै हतार-हतार बस चढ्न लागे। कोही भनेको सिट नदिएको भन्दै बसको सहचालकसँग झगडा गर्न लागे त कोही भाडा बढी भयो भन्दै थिए। कसैको सिट बाँगिएको थियो आदि इत्यादि। जे होस् बस समयमै हिँड्यो।
यात्रा लामो थियो। चालकले सकी-नसकी अर्को गाडीलाई उछिन्थ्यो तर जति गाडीलाई उछिन्ने पनि एक न एक गाडी ऊभन्दा अगाडि रहन्थ्यो नै। कहिलेकाहीँ अर्को गाडीले उछिन्थ्यो, चालक रिसाउथ्यो र आफ्नो मनलाई शान्त पार्न भन्थ्यो- ‘जति छिटो गए पनि पुग्ने त त्यही हो।’
बसको यात्रा पनि जिन्दगी जस्तै रहेछ।
बस भित्रको माहोलमा बडो विविधता थियो। कोही आफ्नो मोबाइलमा गीत सुन्दै थिए, कोही झ्यालबाट बाहिर हेर्दै टोलाउँदै थिए, कोही अन्जान मान्छेसँग परिचय गर्न खोज्दै थिए। एक हुल ठिटाहरू ठिटीहरूलाई आँखा लगाउँदै थिए। ठिटीहरू पनि रिसाएजस्तो गरी मक्ख पर्दै थिए। केटाहरू जिस्काउने तरिकाले गीत गाउँदै थिए- ‘घर कता हो बहिनीको... मलाई साह्रै मन पऱ्यो।’
केटीहरू लाजले लेपिएर मुसुमुसु हाँस्दै कर्किएको आँखाले हेर्दै थिए। जे होस् यात्रा रोमान्टिक थियो।
बसको अन्तिम बिन्दु आइपुग्यो। सबै यात्रु आफ्नो झोला र सरसामान सहित ओर्लिए। भोलिबाट हिँड्नु छ। केही दिनको लगातार चढाइपछि हामी हाम्रो गन्तव्यमा पुग्छौँ। हामी उत्साहित थियौँ।
बिहानीको नास्ता खाएर हामीले हाम्रो यात्रा सुरु गर्यौँ। विभिन्न उमेर समूहका मान्छे पदयात्रामा हामीसँग थिए। सबैमा छुट्टै खुसी र ऊर्जा थियो। सबैजना ठट्टा-मजाक गर्दै आफ्ना पुराना घुमफिरका कुरा साट्दै उकालो चढ्न थाले।
कोही प्रकृतिलाई क्यामेरामा कैद गर्न लागे, कोही सेल्फी खिच्न, कोही गीत गाउन त कोही टिकटक बनाउन। पदयात्राका सुरुका पाइला बहुत फुर्तिला र जोसिला थिए।
जति उकालो चढ्दै गयो, जुत्ता विस्तारै भारी लाग्दै थियो। गोडाहरू लर्बराउन सुरु गरिसकेका थिए। अनि ब्याग भारी लाग्दै थियो। फोटो खिच्ने उत्साह पनि विस्तारै मर्दै मर्दै थियो। न्यानो घाम चर्को लाग्न थालिसकेको छ। उकालो देख्दा पनि रिस उठ्न थालेको छ। कहिले पुगिएला जस्तो भएको छ।
‘दाइ अब कति समय लाग्ला?’
फर्किँदै गरेका मानिसहरूले उत्तर दिन्थे, ‘यसरी हिँड्नु भयो भने अब दुई घण्टा।’
अझै दुई घण्टा! मेरो थाकेको दिमागले भन्थ्यो।
पसिनाले जीउ निथ्रुक्क भिजेको छ। गोडा फतक्क गलेको छ। हातहरू काँप्न सुरु गरिसकेका छन्। तर पनि अझै हिँड्नु छ। हिँड्नुको विकल्प छैन, ट्रेकिङमा मनले मनलाई सम्झाउँछु। केही फुर्तिला ठिटाहरू गफ लगाउँदै बडो उत्साहले लम्किँदै थिए, भन्दै थिए कि यति जाबो उकालो त चढिहालिन्छ नि, कोही थाकेको छैन मलाई।
कोही साह्रै गलेका छन्। एक पाइला पनि बडो मुस्किलले सार्दै छन्। कोही आफ्नै साथीसँग रिसाउँदै छन्, ‘मैले नजाऊ भनेको तैँले गर्दा त हो नि।’ कोही हिँड्न नसक्नेलाई प्रोत्साहन गर्दै छन्। माहोल हेर्दा लाग्दै थियो हिँड्न गाह्रो रहेछ।
कम उचाइमा बसोबास गर्ने हामी, लेकतिरको पातलो हावा फोक्सोले बडो जोड-जोडले लामो-लामो गरी सास तान्दै थियो। हामीभन्दा बढी हाम्रो फोक्सो थाकेको छ। साँच्चै नै पदयात्रा कठिन र साहसिक यात्रा रहेछ।
सूर्यले पश्चिमको डाँडाबाट बिदा लिसकेको थियो। हाम्रो यात्रा सकिएको थिएन। अन्जान ठाउँ, अप्ठ्यारो बाटो, अँध्यारो रात। ओहो! मनले हरेस खायो, किन आएँछु यो दुःख खेप्नलाई? बल्लबल्ल परको डाँडामा बत्ती बलेको देखियो। मनमा हल्का आशा पलायो। अब धेरै छैन।
लजको माहोल हेर्न लायकको थियो। सबै थाकेका छन्। अनुहार गलेको छ। कोही औषधी खोज्दै छन्, कोही गोडामा मलम लगाउँदै छन्। बसेकाहरू उठ्न सकेका छैनन्, उठेकाहरू बस्न सकेका छैनन्। ‘अइया अइया’ को आवाजले हल गुन्जिएको छ। कोही दिउँसोको हिँडाइको कथा सुनाउँदै छन्, कोही भोलिको हिँडाइको दिन सम्झिँदै चिन्तित छन्। थकित माहोलले हललाई तताएको छ।
चिसो मौसम, थाकेको शरीर अनि तातो भात। आहा! त्योभन्दा मीठो के हुन सक्ला र? बाफ उड्दै गरेको भातको छेउमै सागको तरकारी र मुलाको अचार अनि कचौरामा सिमीको दाल। आहा! कति मीठो। पेट टन्न भयो अनि लागियो ओछ्यानतिर।
ठुलो हलमा लहरै राखिएका चार खुट्टे खाट। खाटमा ओछ्याइएको पातलो डस्ना, सफा मिलाएको तन्ना अनि एउटा सिरक र एउटा सिरानी।
जाडो थेग्ने बिछ्यौना नभए पनि हाम्रो थकाइ चाहिँ पक्कै थेग्न सक्छ। ‘अलिकति छाड न ओहो! कति तानेको’ भन्दै जाडो मौसममा कुक्रुक्क परेर सुतियो। जाडोभन्दा गहिरो हाम्रो थकाइ थियो, सायद हामी चाँडै निदायौँ।
बिहानीको पहर चिसो सिरेटोले ओछ्यानमै स्वागत गर्यो। आँखा साविकभन्दा अलि चाँडै खुले। आफूले आफ्नो शरीरलाई महसुस गरेँ। जीउ दुखेको छ, गोडाहरू बाउँडिएका छन्। सकी-नसकी गोडा खोच्याउँदै कोठा बाहिर निस्किएँ।
ओहो! के हो यस्तो? म अवाक् भएँ। सपनामै छु कि भन्ने भ्रम भयो। आफूले आफूलाई चलाएँ, होइन रहेछ, साँचो रहेछ।
चारैतिर सेता चाँदी जस्ता हिमाल। विशाल काला शिलाहरूमा टाँसिएका हिउँका सेता थुप्राहरू कुनै महान् कलाकारले क्यानभासमा कोरेको अलौकिक चित्र जस्तै। आहा! कस्तो राम्रो, कस्तो सुन्दर, कस्तो भव्य। आँखाका कोस हल्का भए, मन शान्त भयो, दिमाग एक क्षणको लागि खाली भयो र भरियो मात्र सौन्दर्य।
कुनै कुरा यति सुन्दर कसरी हुन सक्दछ। यति विशाल भैकन पनि यति सौम्य कसरी हुन सक्दछ। हिमालको अटलता किताबमा पढेका हामी त्यो हिमाललाई यति नजिकबाट हेर्दा, त्यो अटलताको भाव बुझे झैँ भयो।
कुनै कुरा यति कसरी हुन सक्दछ? जति हेर्दा पनि नथाकिने के रहस्य लुकेको छ हिमालमा?
मन शीतल भयो। एक निमेषलाई वरपर हेर्छु, सबै मौन छन्, सबैका आँखा तेजिला छन्। कोहीका आँखाबाट भावनाका आँसु बगेका छन्। सबै आफ्नै भावमा छन्। सबै सन्तुष्ट छन्, सबै खुसी छन्।
निलो आकाश मुनिको सेतो हिमालमा सूर्यको पहिलो चुम्बन। आहा! कस्तो मोहक! न पुरै पहेँलो, न पुरै रातो, न पुरै सुनौलो, कस्तो कस्तो! शब्द भित्र अट्नै नसक्ने सुन्दर। आँखाले निदाए पनि दिमाग नभरिने सुन्दर।
यही मोहक दृश्यलाई हेरेर कोही चिच्याउँदै छन्, कोही उफ्रँदै छन्, कोही नाच्दै छन्, कोही गाउँदै छन्। सबै आफ्नो-आफ्नो धुनमा छन्, सबै खुसी छन्। खोइ कहाँ गयो त्यो हिजोको दुखाइ? कहाँ हरायो त्यो सहनै नसक्ने घुँडाका पीडाहरू? श्वास फेर्न नसक्ने गरी फुलेका दमहरू कता हराए? हिजो हिँड्दाको रिस र ग्लानी कसरी मेटिए?
यो सबैको एउटै उत्तर थियो, प्रकृतिमा पग्लिए सबै कुराहरू। यात्राको दुःख पग्लियो, शरीरको पीडा पग्लियो, मनको वेदना पग्लियो, सांसारिक जीवनका विभिन्न आयामहरू पग्लिए। मनमा जमेर बसेको मैलाहरू पग्लिए। प्रकृतिको विराट स्वरूपले ‘म’ शब्दको घमण्ड पग्लियो। प्रकृतिमा साँच्चै ठुलो शक्ति हुने रहेछ। सबैलाई गलाउने शक्ति, सबैलाई उठाउने शक्ति।
सबै कुरा पग्लिएपछि मान्छे हल्का हुन्छ। जिन्दगीको बोझले गाह्रो भएको मान्छे हल्का हुन पदयात्रा जान्छ। भौतिक सुखले दिन नसकेको आनन्द प्रकृतिले दिन्छ, यही बुझेर मान्छे बारम्बार ट्रेकिङ जान्छ। पदयात्राले मान्छेको शारीरिक र मानसिक अवस्थालाई स्वस्थ बनाउँछ नै, साथै यसले मानिसलाई आफ्नो धरातल देखाउँछ। आफ्ना लागि आफैँ गर्नु पर्छ भन्ने पाठ सिकाउँछ। जीवन जिउने कला सिकाउँदछ। नयाँ कला, संस्कृति, भाषा र मानवता सिकाउँछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा ट्रेकिङले वास्तविक सुख सिकाउँछ। शारीरिक विलासिताभन्दा ठुलो मानसिक सन्तुष्टि हो भन्ने सिकाउँछ। पदयात्रा घुमाइ मात्र होइन, सिकाइ पनि हो। तसर्थ जीवनमा कहिलेकाहीँ असजिलो हुनु जरुरी छ। पहाड बोलाइरहेको छ, हिमाल पर्खिरहेको छ र तपाईंको मन शान्तिको खोजीमा छ। त्यसैले, झोला उठाउनुस्, जुत्ता कस्नुस् र निस्कनुहोस्।