हातमा केही औषधीहरू बोकेर हतार-हतारमा ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा जानलाई लिफ्टमा चढेँ। लिफ्ट खाली थियो। लिफ्टमा एक नम्बर प्रेस गरेको भए पनि लिफ्ट सिधै चारमा गएर खुल्यो। सायद लिफ्टको सेटिङ त्यसरी नै मिलाइएको रहेछ।
चारबाट एकजना व्यक्ति भित्र आउनुभयो र ग्राउन्ड फ्लोर प्रेस गर्नुभयो। मैले त्यति उहाँतिर ध्यान दिइनँ। मेरो आँखाबाट अनवरत रूपले आँसु झरिरहेको हुनाले म अर्को दिशामा फर्किएर उभिएकी थिएँ। जसै गरे पनि आँसु नरोकिएपछि मैले बेलाबेलामा माथितिर हेरेर रोक्ने कोसिस गर्थेँ र बेलाबेलामा उहाँलाई थाहा नहुने गरी औँलाले पुछ्थेँ।
यत्तिकैमा उहाँले सोधिहाल्नु भयो, ‘दिदी किन रोइरहनु भएको छ? केही समस्या भयो कि कोही धेरै बिरामी हुनुभयो?’
दिदी सुन्नबित्तिकै भाइ जस्तो लागेर उहाँतिर हेरेँ र टाउको हल्लाएँ ‘छैन’।
लिफ्ट फेरि ग्राउन्ड फ्लोरमा आएर खुल्यो, त्यहाँबाट निस्केर म हिँडेर सिँढीबाट फर्स्ट फ्लोरमा गएँ। म मेरो ७ दिनदेखि आइसियूमा अचेत अवस्थामा भेन्टिलेटरको सहायताले सास फेरिरहेको हजुरबुबाको लागि बाहिर कुरिरहेकी थिएँ। साँच्चिकै मेरो लागि त्यो सात दिन, त्यो आइसियू बाहिरको बसाइ निकै कष्टकर, निकै भावविह्वल र निकै छेदविभेद थियो।
कहिलेकाहीँ ४/५ घण्टाको फरकमा त्यहाँबाट लासहरू निकालिन्थ्यो, ती लासका आफन्तहरू हामी बसिरहेकै छेउछाउका हुन्थे। आँखै अगाडि ती आफन्तहरूको चित्कार सुन्न पर्थ्यो। कतिलाई सम्हाल्न पऱ्यो, कतिलाई सम्झाउन पर्थ्यो। झन् आफ्नै हजुरबुवाको अवस्था सम्झेर भक्कानिएर आउँथ्यो।
उहाँ लिफ्टमा भेटिएको मान्छे पनि हाम्रै छेउमा बस्नुभएको रहेछ। त्यही दिन उहाँको आमालाई पनि आइसियूमा लिइएको रहेछ। लिफ्टमा भेटिएको हो उहाँ भन्ने त थाहा थियो तर त्यति चासो भएन मलाई, अब त्यो आइसियू अगाडिको विश्राम कक्षमा त्यस्ता सयौँ जना हुनुहुन्थ्यो।
त्यो रात करिब १ बजेतिर एकजना १६ वर्षीय किशोरीको आइसियूमै मृत्यु भएको खबरले उसको आमालाई सम्हाल्न निकै धौ भएको थियो हामीलाई। उहाँको अवस्था देखेर एकैछिनमा हाम्रो अवस्था पनि त्यस्तै हुने त होइन सोचेरै मेरो आँखाहरू भरिए र मन भक्कानिएर उहाँसँगै रोइरहेकी थिएँ। हामी दुई जनालाई नै सम्हाल्नुपर्ने माहोल बनेको थियो।
उहाँको मनमा के खेलिरहेको थियो कुन्नि एकटकले हामीतिर हेरिरहनु भएको थियो। सायद उहाँलाई पनि आफ्नो आमाको याद आइरहेको थियो होला। रातभरि यसरी नै बितेपछि बिहान ५ बजेतिर नै औषधीहरू आइसियूमा पुऱ्याउनुपर्ने भएकोले औषधी किन्न जाँदा फेरि उहाँसँग सिँढीमा भेट भयो।
उहाँले सोध्नुभयो ‘हजुरको को हुनुहुन्छ आइसियूमा?’
मैले भनेँ, ‘हजुरबुवा, अनि हजुरको?’
उहाँले भन्नुभयो, 'आमा।'
यत्तिकैमा उहाँले थपिहाल्नु भयो, ‘हिजो लिफ्टमा भेट भएको बेला हजुरलाई दिदी भनेँ, सरी है! म हजुरभन्दा ठूलै होला।’
मैले कुरा नसकिँदै भनिहालेँ, ‘ओहो! केही भएन, आन्टी भनेको भए नि फरक पर्दैनथ्यो।’
बल्ल उहाँ मुस्कुराउनु भयो। उहाँ मुस्कुराएको देखेर म पनि मुस्कुराएँ तर उहाँको मन भित्रको पीडा एकदमै झल्किरहेको थियो अनुहारमा। म एउटा केटी मान्छे रोएरै पनि कति पीडा पोख्न सक्थेँ, आँसुसँगै भारी मन बिसाउन सक्थेँ। तर उहाँ केटा मान्छे आँसु देखाउन सक्नुभएको थिएन होला, पीडाले भारी-भारी हुनुभएको थियो होला। आफ्नो मान्छेलाई आइसियूको बेडमा छट्पटाइरहेको देख्न सक्ने हिम्मत सायदै कोहीसँग हुन्छ। त्यो हिम्मत न उहाँसँग थियो न मसँग न अरू आइसियूको ढोका बाहिर कुरेर बसेका ती आफ्नाहरूसँग थियो। फरक यत्ति हो, कोहीले पोख्न सकिरहेका थिए त कोही पिल्सिरहेका थिए।
त्यसपछि औषधी किनेर आइसियूमा पठाएपछि बल्ल मलाई रातभरि एकपटक पनि निदाउन नसकेको निद्रा लागेर निदाएछु। बिहान साढे पाँच बजेदेखि करिब आठ बजेसम्म निदाएपछि म ब्युँझिएँ। ब्युँझिएर सदाझैँ ल्याबमा रिपोर्ट ल्याउन जानुपर्थ्यो, गएँ। रिपोर्ट ल्याएर आइसियूको पालेदाइलाई दिएँ। उहाँले रिपोर्ट समाउँदै भन्नुभयो, ‘भर्खर एकजना आमा बित्नुभयो।’
म झसङ्ग भएँ। कतै उहाँकै आमा त होइन? बाहिर आएर उहाँ बसेको ठाउँतिर हेरेँ, उहाँ हुनुहुन्थेन। बितेको त ६ बजेतिर नै रहेछ, बितेको २ घण्टा भइसकेछ, उहाँहरू निस्किसक्नु पनि भएछ। त्यहाँ नजिकै बसेको दिदीलाई मैले सोधेपछि उहाँले भन्नुभयो।
‘बिचरा! त्यो भाइ कति रुनुभयो, एक्लै त्यहीँनिर बसेर, हामीले केही भन्न नि सकेनौँ,’ उहाँ दिदीले थप्नुभयो।
म निशब्द भएँ, भावविह्वल भएँ, मर्माहित भएँ। उहाँ जो भए पनि जहाँ भए पनि ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति दिनुहुनेछ। बस् यत्ति कामना गर्न सकेँ।