करिब सात महिनाअघि मस्तिष्कमा हतारो लिए, त्यो पनि अन्तिम मितिमा, छात्रवृत्तिको फारम भरेकी थिएँ। फारम भर्दा कौतूहल स्वाभाविक थियो। नाम निस्किएला कि ननिस्किएला भन्ने द्विविधाले बास गर्ने नै भयो। निस्किन्छ भन्ने आशले आशाको काम पनि गर्ने नै भयो। संयोगबस् नाम पनि निस्किएछ!
नाम निस्किएको तीन दिनपछि मात्रै थाहा भयो। अन्जान व्यक्तिहरूले यसबारे थाहा दिएँ। उनीहरू पूर्ण र विनिता थिए। उनीहरूले नै मलाई छात्रवृत्तिको नाम निस्किएको र थप शिक्षाको उत्तर उडान, अझ भनौँ न, हिमालपारिको उडानबाट थाहा दिएका थिए। आजभोलि भने उनै अपरिचित अनुहारहरू मेरा प्रिय दोस्त बनेका छन्।
हुन त सबै अनुहार परिचयभन्दा अगाडि अन्जान नै हुन्छन्। अपरिचित आवाजहरू नै परिचित बनेर हृदयको ढुकढुकमा बास गर्ने हुन्। सधैँ म यही मान्यता राख्छु। विश्वको जुनै भूखण्डमा पुगे पनि जीवनका यही मान्यता लागू हुँदा रहेछन्। अहिले म एकान्तमा सोची बस्छु।
गत भदौ २३ गते म मेरो सपनाको उत्तरी यात्रा तय गर्दै थिएँ। देश र साथीभाइ सबैलाई भौतिक रूपमा केही समय छाड्दै अर्को उडान भर्दै थिएँ। स्मृतिका तरङ्गमा साथी–संगाती, इष्टमित्र, नाता र कुटुम्ब थिए। परेलीमा सपना थिए। नयाँ सपना थिए। जुन दिन मेरो पाइलाले नयाँ गन्तव्य तय गर्दै थियो, त्यही दिन नयाँ युवा देशका क्रान्तिको सूत्रपात गर्दै थिए।
क्षितिजको रातो घामजस्तै उनीहरूको अनुहार तेजस्वी थियो। अलौकिक आभायुक्त थियो। परिवर्तनको नयाँ डोरेटो कोर्ने र युवा पुस्ता आफू हिँड्ने त्यो बाटो तय हुँदै थियो। राजनीतिबारे चासो राख्दै गरेका पछिल्ला पुस्ताले सुरु गरेको विद्रोह मेरो चाहनाको एउटा अंग थियो। मेरो कामनाको एउटा अंग थियो।
त्यस दिन देश अरू बेला जस्तो सामान्य थिएन। देशमा परिवर्तनको लागि क्रान्तिको फिलिङ्गो ठाउँ लिँदै थियो। नहोस् पनि किन? देश सिर्फ तीन नेताहरूको हातमा जो थियो। जुन कुराले म मात्र होइन सबै नागरिक वाक्कदिक्क भएका थिए। त्यसैले पनि म आफ्नो उडानकै दिन पनि आन्दोलनमा सहभागी हुने सोचमा थिएँ।
मेरो उडान रात्रिको एघार बजे थियो। त्यसैले म र मेरी बहिनी अर्थात् मामाकी छोरी सृजा बिहान आन्दोलनमा सहभागी हुन जाने सल्लाह गर्दै थियौँ। म सामाजिक सञ्जालमा माइतीघरमा हुँदै गरेको आन्दोलनको लाइभ भिडियो हेर्दै थिएँ।
‘अहो! बिहानै पनि कति धेरै मान्छे जम्मा भएका! दिउँसो अझ धेरै मान्छे भेला हुन्छन्, हामी पनि यो परिवर्तनको साक्षी हुनुपर्छ, एकछिन भए पनि माइतीघर पुगौँ,’ बहिनी र मैले एक आपसमा सल्लाह गरेर निस्किने तयारी गर्यौं।
हाम्रो कुरा सुनेर पछाडिबाट ममीले तत्काल प्रतिवाद गर्नुभयो। उहाँको अनुहारमा गहिरो अवसाद लुकेको थियो। पीडा छचल्किएका होला। बाबुआमाले आफ्ना छोराछोरीका अगाडि कहाँ दुःख देखाउँछन्! कहाँ निराशाको रङ फिँजिन दिन्छन्! उहाँले पनि लुकाउने कोसिस गर्नुभयो होला!
दुई महिनाअघि मात्र छोरालाई बिदा गरेर विदेश पठाउन नपाउँदै छोरी पनि विदेशिन लाग्दा आमाको अनुहार कस्तो हुन्छ होला? मैले कल्पना नै गरेको थिइनँ। त्यस दिन देख्दै थिएँ। मलिन स्वरमा ममीले भन्नुभयो, ‘आज त कतै पनि नजाओ!’ तर युवा न थियौं, हामीले ढिपी कसिरह्यौँ।
त्यस दिन मेरो उडान भएर पनि होला स्नेह स्वरूप मलाई भेट्न घरमा कोही न कोही आइरहनु भएको थियो। माइतीघर निस्किने कोसिस गर्दागर्दै समय घर्किँदै थियो। अचानक सामाजिक सञ्जालमा आन्दोलनमा गोली चल्न थालेको र फोटो पत्रकार दाइहरूलाई गोली लागेको समाचार पढेँ। मन आत्तियो। त्यो समाचार विश्वास गर्न मनले मानेन! कसरी मन मानोस्, आफै पत्रकारिता गरिरहेकी मान्छे, पछिल्लो समय यस्ता खबरहरूले मन आत्तिन थालेको थियो।
उक्त समाचार पढे लगत्तै मैले नेपाल भ्यूजको फोटो पत्रकार सरोज बस्नेत दाइलाई फोन गरेँ। मैले अविश्वास गरेको समाचार सत्य नै भयो। मेरा केही सहकर्मी रक्तमुच्छेल भइसकेछन्। आमा साँच्चै भगवानको प्रतिमूर्ति हुन्, केहीबेर अगाडि ममीले भनेको कुरा सम्झिएँ र आन्दोलनमा भौतिक रुपमा सहभागी नहुने निधो गरेँ।
मेरो उडानको केही दिन अघिदेखि नै घरमा ममीबुबाले जुठो बारीरहनु भएको थियो। त्यसकारण पनि दिदीको घरबाट निस्किने भन्ने सल्लाह अघिल्लो साँझ नै भइसकेको थियो। त्यसैले म भिनाजुसँग दिदीको घरतिर हिँडे। दिदीको घर पुगेर पुनः सामान र कागजपत्र सबै मिलाएपछि हिँड्ने समयको पर्खाइमा थियौँ हामी।
सामाजिक सञ्जालमा आन्दोलनको भिडियो र फोटो हेरेर मन आत्तिँदै थियो। जतिजति समय बित्दै जान्थ्यो, त्यति नै बढी युवाहरूको मृत्युको संख्या थपिँदै जान्थ्यो। म गहिरो निःश्वास छाड्दै जान्थेँ। मृत्यु पनि के भनौँ, त्यो त सरासर राज्यले गरेको नृशंश हत्या हो। आन्दोलनमा प्रत्यक्ष सहभागिता नजनाएर ठिक गरेँ कि बेठिक गरेँ चाहिँ थाहा छैन, तर त्यस दिन भगवानले म स्वयम्लाई नै ठुलो दुर्घटनाबाट बचाए जस्तो लाग्यो। दिन छिप्पिँदै थियो, उता बानेश्वर लगायतका स्थानमा युवाहरूको रगत बगिरहेको थियो र यता मेरो मन रोइरहेको थियो। घर छोड्दै छु भन्ने सम्झेर होइन, देशको अवस्था र नवयुवाहरूको रगत देखेर।
मैले चाहेको हुन्थ्यो भने त्यसदिन म आफ्नो उडान रद्द गर्थेँ। खैर चाहेर मात्र के नै पो हुन्थ्यो र, मान्छेलाई सधैँ अनेकौँ परिबन्धले घेरी नै रहने। बानेश्वर, माइतीघर लगायतका क्षेत्रमा कर्फ्यु जारी भइसकेको थियो। त्यसैले पनि बाटोमा हुन सक्ने सम्भावित जामको आँकलन गर्दै हामी राति ११ बजेको उडान भए पनि ६ नबज्दै घरबाट निस्कियौँ। ममी-बुबाले टीका लगाएर बिदाइ गर्न नपाए पनि दिदी-भिनाजु, दाइ-भाउजूहरूले टीका लगाएर आशीर्वाद दिनुभयो।
अरू बेला खासै जाम नहुने नारायणटारबाट मित्रपार्क निस्किने खोलाको बाटोबाट एयरपोर्ट निस्किन सजिलो होला भनेर हामी त्यतातिर लाग्यौँ। तर उक्त बाटोको मूल सडक मात्र होइन, भित्री बाटोहरू पनि पूरै जाम थिए। त्यसपछि हामी पुनः बौद्ध चाबहिल हुँदै जाम छिचोल्दै विमानस्थलको द्वारभित्र प्रवेश गर्यौँ। घरका स–साना भाइबहिनी मात्र होइन, साथीहरू पनि एयरपोर्टमा मलाई बिदाइ गर्न आउन चाहन्थेँ तर त्यस बेलाको अवस्था बेग्लै भएकाले साथीहरू र घरका भाइबहिनी कोही आउन सकेनन्।
एयरपोर्टमा हामी परिवारका सदस्य थियौँ र मेरो सबैभन्दा नजिककी साथी ममता थिई। ऊ मेरो लागि साथी मात्रै थिइन, मेरो दिदी थिई। त्यस दिन मेरो मन मात्र होइन देश रुँदै थियो। अरू बेला त मान्छेहरू देश छोड्दा भावुक हुन्छन् तर त्यो दिन त देश नै रोएको थियो। उक्त बेलामा विदेशिन कसलाई पो मन हुन्छ र?
त्यस दिन देश छोड्न फिटिक्कै मन थिएन, साँच्चै नै मन थिएन। एक त पहिलोपल्ट घर परिवारबाट छुटिँदै थिएँ, अर्को देशको परिस्थिति नै बेग्लै थियो। आकाशमा क्रान्तिसँगै अनिश्चितताको धुवाँ मडारिएको थियो। घर परिवारसँग टाढिनुभन्दा पनि त्यस बखत देश छोड्न लागेको कारण आँखा रसाए। देशको माया मैले त्यति बेला महसुस गरेँ। पहिलोपल्ट मैले देशमात्र छोडिनँ, देशसँगै धेरै कुराहरू छोडेँ। परिवार छोडेँ, आफन्त छोडेँ, साथीसंगाती छाडेँ, चाडपर्व छाडेँ र सबैभन्दा ठुलो त आमाबुबाको न्यानो काख छाडेँ।
हुन त जम्मा साढे दुई वर्षका लागि हो तर परिवारबाट टाढा हुँदा साढे दुई वर्ष पनि दुई युगभन्दा लामो लाग्दो रहेछ! जीवन आफै यात्रा हो। आफ्नो उज्ज्वल भविष्यको लागि कोही न कोही कतै न कतै गइन्छ। गइरहन्छ। तर देशबाट टाढा भएपछि देश के रहेछ बुझ्दै छु, देशको माया कस्तो हुँदोरहेछ महसुस गर्दैछु।
परिवार र आमाबुबा छोडेपछि मान्छेसँग अमूल्य कुराहरू हुँदा पनि कस्तूरी मृग जस्तै भौतारिँदो रहेछ भन्ने बोध हुँदै छ। पहिलोपल्ट चाडपर्व मनाउन नपाउँदा जिन्दगीको रस कस्तो हुने रहेछ बुझ्दै छु। त्योभन्दा बढ्ता चिन्ता र प्रश्नले मन डसिरहेको छ– देशमा बगेका नवयुवाको रगतले न्याय पाउलान्? ती रगतले देशलाई बाटो देखाउलान्? वर्षौँदेखि टुकुचातुल्य बनिरहेको नेपालको राजनीति सफा होला?