विदेशमा स्थायी रूपमा बसोबास गरिरहेका हरेक सन्तानहरूमा आफ्ना जन्मदिने बुवा-आमालाई मिल्ने भए सदाका लागि आफूहरूसँगै बस्ने गरी वा यदि त्यो सम्भव नभए कमसेकम एकपटक घुमाउनकै लागि भए पनि आफ्नो कर्मभूमिमा पाइला टेकाऊँ र आफ्ना उहाँहरूसँगै पारिवारिक समय बिताऊँ भन्ने चाहना हुन्छ। यो हरेक प्रवासी सन्तानहरूको साझा सपना हो भन्दा पनि सायद अत्युक्ति नहोला।
युरोप पाइला टेकेको करिब एक दशक पुग्नै लाग्दा हाम्रा बा-आमालाई कसरी एक पटक विदेश देखाउने होला भन्ने सोचले अन्तर्मनको एउटा कुनामा स्थान बनाइरहेकै हुन्थ्यो। परदेशमा सँगै बसेका धेरै साथीभाइहरूले आफ्ना मातापिता बोलाएको देख्दा, आफूभन्दा पछाडि विदेश आएका साथीभाइहरूले अझै दुई-दुई पटक आफ्ना बुवा-आमा विदेश ल्याएको देख्दा हामीलाई पनि आफ्ना बुवाआमालाई उमेर रहँदै र स्वास्थ्य अवस्थाले साथ दिने बेलामै बोलाएर घुमाउन पाए, आफूले कर्म गरेको माटो देखाउन पाए अनि नातिनातिना जन्मे हुर्केको घर, तिनले पढ्ने स्कुल अनि खेल्ने पार्क देखाउन पाए भन्ने सोचले मनमा कताकता हलचल पैदा गरिराखेको अनुभूति भइरहन्थ्यो।
उता बा-आमालाई पनि आफ्ना सन्तानले कहिले विदेश घुमाउन बोलाउलान् भन्ने लाग्थ्यो होला। सायद गाउँलेहरू पनि सोध्दा हुन्, ‘तिमीहरूका छोराछोरीहरूले कहिले विदेश घुम्न बोलाउँछन् त?’ भनेर।
अर्कोतर्फ सिङ्गो गाउँ नै विदेश गएका बेला कोही छिमेकीका सन्तानले आफ्ना बा-आमा जापान, अस्ट्रेलिया, अमेरिका त कोही आफन्तहरू सन्तानले बोलाएर क्यानडा, अस्ट्रेलिया तथा युरोप पुगेको देख्दा हाम्रा बा-आमालाई पनि आफ्ना सन्तानहरूले जति सक्दो चाँडै विदेश बोलाइदिउन् भन्ने मनमा लाग्नु पनि स्वाभाविक नै थियो।
बेल्जियम सरकारले आप्रवासी र आप्रवासीका परिवारको पुनर्मिलन प्रक्रियामा बारम्बार गरिरहने फेरबदलका कारण अहिलेको नियमअनुसार एक जना सामान्य सिपको कामदारद्वारा दुई जना (बा-आमा) लाई घुम्न बोलाउन चाहिने न्यूनतम आम्दानीको सीमा धेरै जनाको हकमा नपुग हुन सक्ने स्थिति छ। त्यसकारण मेरो ज्वाइँ र मैले बेल्जियमका दुई वटा फरक नगरपालिकाहरूबाट बा-आमालाई छुट्टाछुट्टै बोलाउने प्रक्रिया गरेका थियौँ।
लामो कसरत र योजनापश्चात् बा-आमालाई बेल्जियम घुम्न निमन्त्रणा गर्न मिल्ने स्पोन्सरसिप पत्र हातमा पर्यो। त्यसपश्चात् भिएफएस मार्फत् लामो र झन्झटिलो प्रक्रिया पूरा गरिसकेपछि बा-आमाको बेल्जियमको भिसा प्राप्त भयो र बा-आमा सेप्टेम्बर बाह्र तारिकमा नेपालबाट बेल्जियमतर्फ प्रस्थान गर्नु भयो।
बा-आमा विदेश ल्याइसकेपछि उहाँहरूलाई जति सक्दो धेरै घुमाऊँ भन्ने हरेकको चाहना हुन्छ। के थाहा अब फेरि हाम्रो भेट कहिले र कुन अवस्थामा हुनेछ, अहिले सँगै त्यो पनि विदेशमा भएको बेला समयको भरपुर उपयोग गर्दै बढीभन्दा बढी कसरी घुम्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित थियो। घर नजिकका बिहीबारे, शुक्रबारे, आइतबारे हाटबजार घुमाउनेदेखि लिएर गाई फार्म, स्याउ फार्म, नास्पातीदेखि ओखरका फार्म घुमाउने र चखाउने हाम्रो योजना सफल पनि भयो। साना नेपाली, इन्डियन, अफ्रिकनका पसलदेखि बेल्जियमकै नाम चलेका ठुला-ठुला सुपरमार्केट पनि घुमाउने काम सम्पन्न गरियो।
बा-आमालाई जाडो नै भए पनि मिले समुद्र स्नान गराउने, त्यो सम्भव नभए एक पटक भए पनि समुद्रको तट टेकाउनु पर्छ भन्ने हाम्रो योजना थियो। त्यसैअनुरूप हामीले बेल्जियमको ओस्टन्डे भन्ने सहरमा रहेको सामुद्रिक तट जाने निधो गर्यौँ। सौभाग्य भनौँ समुद्र स्नान गर्न जाडो भए पनि खुलेर घाम लागेका कारण बा-आमालाई त्यहाँ करिब एक घण्टा बिताउने र सामान्य अनुभव बटुल्ने अवसर मिल्यो।
ओस्टन्डेको समुद्रीतट घुमघाम सकेपछि हामी लाग्यौँ बेल्जियमको प्रसिद्ध पर्यटकीय सहर ब्रुजतर्फ। ब्रुजको ट्रेन स्टेसनमा पुग्ने बेलासम्म हाम्रा साना बाबुनानीहरू निदाइसकेका थिए। घुम्न कता-कता जाने र कति बेला फर्कने निश्चित नभएकोले हामीले बच्चा राख्ने स्ट्रोलर लगेका थिएनौँ। अब अगाडि बढ्ने कि घर फर्कने भन्ने प्रश्न उठेपछि हाम्रा बा-आमा बरु सबै मिलेर पालोपालो बोकौँ तर नफर्कौँ भन्ने पक्षमा पुग्नु भयो।
वृद्ध अवस्थाको शरीर, यात्राले थाकेको जीउ अनि निदाएका पन्ध्र किलो आसपास तौल भएका दुई जना नातिनातिना बोकेर अगाडि बढ्न खोज्नुको कारण अझै धेरै घुमौँ भन्नु भन्दा पनि विदेशमा जन्मिएका नातिनातिना अनि उमेरको यो उत्तरार्धमा अहिले नबोके कहिले बोक्ने? न आफूहरू फेरि तुरुन्तै विदेश आउलान् भन्ने आशा छ न त नातिनातिना तुरुन्तै नेपाल आउलान् भन्ने छ, त्यो अवस्थामा आफूहरू हजुरबा/आमा हुनुको कर्तव्यबोध र नातिनातिना खेलाउने रहर पनि प्रमुख कारण थियो होला सायद।
बच्चाहरू रुँदा होस् या झिँझिएर दुख दिँदा हामी रिसाउने गर्थ्यौँ, गाली गर्थ्यौँ तर बा-आमालाई सामान्य लाग्थ्यो। उनीहरूलाई स्कुल पुर्याउन होस् वा पार्क लैजान होस् या रोएको बेला बोकेर घर वरपर डुलाउन होस्, उहाँहरूलाई गाह्रो लाग्दैनथ्यो। सायद मनमनै आफूहरू फर्किने दिन र हामीहरूसँग बिताउन पाउने समयको हिसाब दौडन्थ्यो। फर्कने दिन निश्चित थियो तर फेरि कहिले र कसरी कती समयको लागि भेट होला त्यो पुरै अनिश्चित थियो। सायद त्यो कुराले मन अमिलो पार्दो हो।
उमेर बढ्दो छ, बुढ्यौली चढ्दो छ। शरीरमा विभिन्न रोग र कमजोरीले गाँज्न थालेका छन्। चाहे खान लाउन होस, चाहे खाएको पचाउन होस्, चाहे जोडका तोड घुम्न होस्, गाह्रो हुन थालेको छ। एक दिन घुम्दैमा जीउ दुख्न थालेको छ। बा-आमालाई बिस्तारै वृद्ध अवस्थाले गाँज्न थालेछ भन्ने भेउ पाउन अब गाह्रो छैन। उहाँहरू वृद्ध र कमजोर हुँदै गरेको हेर्दा सन्तानलाई कत्ति पनि आनन्द लाग्दो रहेनछ। तर पनि उहाँहरूलाई सकी नसकी छोराछोरीसँग घुम्न मन छ, नातिनातिनासँग रमाउन मन छ। सायद परिवार, जिन्दगी अनि माया ममता र आफ्नोपन भनेकै यही होला।
हाम्रा मात्रै बा-आमा होइन, अरू साथीभाइका बा-आमा आउँदा पनि भेटघाट अनि भलाकुसारी हुने गर्दछ। सबै जना नेपालबाट आउने बा-आमाहरूको एउटै चाहना र भनाइ हुने गर्दछ, ‘बाबुनानी हो, उमेर छउन्जेल एतै बस, कमाऊ रमाऊ तर केही पैसा जम्मा पारेर अन्तमा नेपाल नै फर्केर आऊ है।’
हाम्रा बा-आमा पनि त्यसै भन्नु हुन्छ, ‘यी नातिनातिना हुर्काई बढाई पढेर आफ्नै खुट्टामा उभिन सक्ने भएपछि आफ्नै माटोमा फर्किनु पर्छ, नेपालमा हाम्रो घर छ, गाउँ छ, आफन्त छन्, पुर्खाले आर्जेको सम्पत्ति छ। हामीसँग सबथोक छ तर यो बिरानो मुलुकमा हाम्रो केही पनि छैन, कोही पनि छैन, अहिले तिमीहरू उमेर छँदा चर्नको लागि यहाँसम्म आएका छौ, साँझ पर्नेबेला आफ्नै गुँडमा फर्किनु पर्छ।’
दुई महिना अगाडि नेपालको चर्चित लोक पप ब्याण्ड नेपथ्यले युरोप टुर अन्तर्गत युरोपका विभिन्न देशका विभिन्न सहरहरूमा आफ्नो साङ्गितिक प्रस्तुति दिएका थिए। त्यसै क्रममा बेल्जियमको एन्टवेर्प स्थित एइडी स्टुडियोमा भएको कार्यक्रममा उक्त ब्याण्डमा मेन भोकलिस्ट अमृत गुरुङ्गले भनेका थिए, ‘जो जहाँ रहे पनि जीवनको अन्तिम श्वास फेर्न हिमालयको काखमै आउनु होला, नेपाल, नेपाली र आफ्नो भाषा अनि संस्कृति लाई कहिल्यै नभुल्नु होला।’
उनको कुरा सुन्दा धेरै नेपाली मन बोकेका श्रोता दर्शकहरूका आँखा रसाएका थिए अनि धेरै जनाले मनमनै सोचे पनि होलान् कि जीवनको अन्तिम घडीमा होइन, केही गर्ने जोश जाँगर र पाखुरीमा बल हुँदै नेपाल फर्किनुपर्छ।
प्रायः युरोप अमेरिकामा पुगेकाहरू नेपालमा कमसेकम पनि मध्यम वर्गीय परिवारबाट हुने गर्दछन्। धेरै जनाको नेपालमै बसेको भए पनि वा अझै नेपाल फर्किए पनि केही गरेर खान सक्ने, सानोतिनो पेसा व्यवसाय गर्न सक्ने आर्थिक हैसियत पनि छ र पनि कुन मनोविज्ञानले गर्दा सन्तान विदेश जान चाहने अनि अभिभावक पनि आफ्ना सन्तान विदेश अझ नागरिकता अनि पिआर पाउने र उतै पलायन हुन सक्ने युरोप अमेरिकामा पठाउन चाहन्छन् बुझ्नै गाह्रो छ।
हरेक बा-आमालाई आफ्ना सन्तान आफैँसँग बसुन् नभए पनि अन्तिम अवस्थामा आफूहरू अशक्त हुँदा वा हस्पिटलको शय्यामा पुग्दा आफ्ना सन्तान आफ्नै आँखा वरिपरि होउन् भन्ने लाग्ने गर्दछ। तर के थाहा, विदेशी नागरिकता वा पिआर बोकेका सन्तान आफ्ना बा-आमाका अन्तिम अवस्थामा साथ दिन पुग्न सक्लान् नसक्लान्, बा-आमाको अन्तिम श्वास देख्न कति जना पुग्लान् वा अचानक निधन भइहालेछ भने पनि काजकिरियामा कुन रूपमा सहभागी हुन पुग्लान्, ती सबै अन्योलका विषय हुन्। सुन्दा कतिलाई यो कुरा नराम्रो लाग्ला, मन नपर्ला तर निर्मम भएर सोच्ने हो भने तितो सत्य यही हो।
युवा पलायन हुनुमा देशको व्यथिति र फोहोरी राजनीति मात्र होइन, हाम्रो सोच्ने तरिका र समाजमा स्थापित मान्यताहरू जिम्मेवार छन्। कसैको छोराछोरी स्वदेशमै बस्छु, सानोतिनो व्यवसाय गर्छु वा नोकरी गर्छु र सुखदुःख आफ्नै परिवारसँग बिताउँछु भन्ने चाहना राख्दछ भने पनि उसको वरपरको समाज वा परिवारबाटै विदेश जान दबाब सिर्जना गर्ने कार्य हुन्छ, यहाँसम्म कि चाहे ठुला व्यापारिक घराना हुन् वा सरकारी कर्मचारी, चाहे ठुला मन्त्री हुन् चाहे सामान्य कार्यकर्ता, देश बन्छ वा देशमा पनि सुखशान्ति पूर्वक बाँच्न सकिन्छ भन्ने कसैलाई पनि विश्वास नभएको हो कि भन्ने भान हुन्छ।
बा-आमा विदेश बोलायो, केही समय घर भरिभरि लाग्छ। कहिलेकाहीँ आफू नेपालमै छु कि जस्तो लाग्छ। चाडपर्व आउँदा अत्यन्तै खुसीको माहौल बन्छ तर जब उहाँहरू फर्किने दिन नजिकै आउन थाल्दछ अनि मन भारी हुन्छ, भएको सारा खुसी अचानक बालुवाको घरसरी भत्किन पुग्दछन्। त्यो बेला सन्तानलाई भन्दा बा-आमालाई बढी पीडा हुँदो रहेछ।
सन्तानहरू सोच्ने गर्छन्, ‘हामी विदेश आयौँ, कागज बन्यो, कमाइ राम्रै छ, सबै सुखसुबिधा भोग्न पाइएकै छ, साह्रै पछुतो छैन।’ तर बा-आमाले भने आफ्ना सन्तान र नातिनातिना विदेशमै छोडेर जानु पर्ने हुन्छ। आत्मबलका कारण भनौँ या मनोवैज्ञानिक कारणले, बा-आमालाई त्यसको असर बढी पर्ने गर्दछ। जब बा-आमा आफ्ना सन्तान भेट्न विदेश आउँदछन्, उहाँहरूलाई आफ्ना सन्तानको जीवन निकै कष्टकर लाग्ने गर्दछ।
नेपालमा हुँदा ढलेको सिन्को नभाँचेका अनि कुनै दिन पनि तातो पानी समेत तताउन नलगाएका आफ्ना सन्तानहरू विदेशी भूमिमा बिहानै उठेर काममा गएको र राति अबेर फर्केको, दुई तीन दिनलाई पुग्ने खाना पकाएर फ्रिजमा राखेको, कामबाट आएर चिसो खाना खाएको, समयमा नसुतेको, समयमा नउठेको र त्यो भागदौडपूर्ण जिन्दगी देख्दा धेरै बा-आमाको मन कुँडिदो रहेछ।
बा-आमालाई विदेश आएर अग्ला घर, चिल्ला बाटा, चुच्चे रेल अनि समुद्रका किनार र भौतिक उन्नति देख्दा केही हप्तासम्म त क्षणिक आनन्दको अनुभूति हुन सक्ला तर दुई/तीन महिना बिताएर विदेशको व्यस्त जीवन, भागदौड र मेसिनरी जिन्दगी आफ्नै आँखाले देखेपछि र आफ्नै मनले महसुस गरेपछि पक्कै पनि लाग्न सक्छ, हामीले हाम्रा सन्तान भौतिक सुखको खोजीमा विदेश पठाएर कतै गल्ती त गरिएन? कता हामीले आफ्ना सन्तानलाई सदाका लागि गुमाउन त पुगेनौँ? तर त्यो बेलासम्म धेरै ढिला भइसकेको हुन्छ। त्यती बेला न त सन्तान स्वदेश फिर्ता हुन सक्छन्, न त अभिभावक नै फिर्ता आऊ भन्न सक्छन्।
बा-आमाको छोटो विदेश घुमाइमा आफूले सक्ने जति त गरियो नै तर पनि विदेशमा काम गर्नैपर्ने बाध्यता र साना बच्चाहरू भएपछि ठ्याक्कै सोचे जस्तो सबै कुरा चाहेर पनि गर्न सकिँदो रहेनछ। हामीलाई लागेको थियो बा-आमासँग जति समय बिताउनु अहिले नै हो, भोलि के थाहा के हुन्छ भनेर। बा-आमालाई पनि त्यस्तै लागेको थियो होला सायद। बाको मन त दरो हुन्छ तर आमाका आँखामा त्यस्तै भाव बेलाबेला आँसु बनेर झल्किरहन्थे।
बा-आमा बिदा हुने अन्तिम दिन नातिनातिना स्कुल जाने बेलाको माहोलमा अत्यन्तै दु:खद अनुभूति गरियो। बा-आमालाई पेटभरि धोको पुग्ने गरेर नातिनातिना हेर्न मन थियो तर नातिनातिना आज हाम्रा हजुरबा/आमा नेपाल जाँदै हुनुहुन्छ भनेर बुझ्न सक्दैनथे।
बाको एउटै भनाइ थियो, ‘यी नातिनातिना हुर्केर बाटो लागिसकेपछि नेपालमा आफ्नो थातथलो सम्हाल्न आउनु है।’ तर मलाई राम्ररी थाहा छ, नातिनातिना आफ्नो खुट्टामा उभिने बन्न अझै कमसेकम १८/२० वर्ष लाग्ने छ, त्यति बेलासम्म न नेपालमा बा-आमा रहने निश्चित छ, न आफ्नो उमेरका दौँतरीहरू बाँकी रहनेछन्। न त नेपालको समाज मैले ३० वर्ष अगाडि छोडेको जस्तो रहनेछ।
बा-आमालाई बिदाइको अन्तिम हात हल्लाउँदै गर्दा उहाँहरूसँग सिधा नजर जुधाएर कुरा गर्ने हिम्मत पनि आएन। बा-आमासँगको बिछोड र फेरि कहिले भेट होला भन्ने चिन्ताले कता-कता अन्तर्मनमा घोची मात्र रह्यो।
त्यो बेला मनमा एउटै मात्र सोच आयो- सदाको लागि नेपाल फर्केर केही गरौँ भन्ने सोच त कति छ कति तर पनि बा जवानी खर्चेर बनाएको कागज, जोडेको सम्पत्ति अनि दुःखले हुर्काएका फूल जस्ता आफ्ना सन्तान यो परदेशी भूमिमा चट्टै छोडेर बुढेसकालमै भए पनि खै कसरी पो मातृभूमि फिर्न सम्भव होला र? त्यसैले मलाई माफ गरिदिनुस् बा! सायद म नेपाल नफर्किन पनि सक्छु।