गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बैठक यही जुलाई २८–३० जर्मनीमा सम्पन्न भएको थियो। सो समयमा एउटा प्रस्ताव पेश गरियो ‘भिजन २०२० एण्ड वियोण्ड’ भन्ने। हतासरमा आएको यो प्रस्तावलाई पूर्वनेतृत्वकर्ताहरुले शंकैशंकाले हेर्न पुगे।
वर्तमान नेतृत्वकर्ताहरु भने आफैंमा अलमलमा रहे। गैर आवासीय नेपाली संघको आउने अक्टोबर १४–१६ मा हुनगइरहेको आठौं ग्लोबल सम्मेलनमा नेतृत्वको होडबाजी त एकातिर छ भने अर्कोतिर बर्तमान अध्यक्ष शेष घले स्वयंको प्रतिष्ठाको विषय बनेको यो प्रस्तावलाई प्रमुख मुद्दा बनाइने चर्चा छ।
१० दफाको यो प्रस्ताव गैर आवासीय नेपाली संघको ७७ देशमा रहेको समन्वय समितिमा छलफलका गराउन पर्दथ्यो। अंग्रेजी भाषामा लेखिएको यो प्रस्तावलाई नेपालीमा उल्था गरी प्रत्येक देशका एनआरएनवालाहरुलासँग राय सुझाव लिएर अन्तर्राष्ट्रिय समन्वय समितिमा छलफल गराएर मात्र यस्ता सम्मेलनहरुमा पेश गर्नुपर्दथ्यो। त्यसो नगरिएको हुनाले अधिकाँशले यसको भाषा नबुझ्दा यो शंकामा परिणत हुनपुगेको हो। सम्मेलनमा कम्प्यूटरबाट प्रोजेक्टर लगाएर छिटोछिटो देखाइएको र पूर्वजानकारीबीना अकस्मात यो प्रस्ताव आएकोले ‘हतास’ मानिएको हो।
हुनत वर्तमान अध्यक्षले अमेरिकाको न्यूजर्सीमा गत वर्ष अगष्ट २६–२९ सम्म चलेको नवौं गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनताका प्रस्तावमा सैद्धान्तिक सहमति भै सकेको भनिएको छ तर त्यही सम्मेलनमा भाग लिएका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले नकार्दै ‘कुरा केवल उठेको मात्र हो तर पेश, र पास केही भएको होइन’ भन्दै आएका छन्। अधिकांसलाई थाहै नभएको यसका बुँदाहरु सरसर्ती हेर्दा राम्रा र उत्कृष्ट भने लाग्न सक्छन्। प्रत्येक बुँदालाई केलाएर हेर्यो भने बोराभित्रको आलु सग्लै भेटिन्छ तर आलु कुहाउनका लागि एउटै काफी हुन्छ।
यस भिजन २०२० मा पनि यही कुरा छ। हुनत स्वयम् घलेले भर्खरै मात्र एउटा फोरममा भने ‘संस्था व्यक्तिको वरिपरी घुमेको कारण यो मार्गचित्र ल्याइएको’ दाबी गरेका छन्। तर को ब्यक्ति वरिपरी कसरी घुम्यो उनले त्यो खुलाएका छैनन्। एक अनलाईनमा उनले भने–‘भिजन २०२० कार्यान्वयन नगरे सिमित व्यक्तिको इसारमा चल्नुपर्ने विडम्बनापूर्ण स्थिति आउने’ बताए। दुर्भाग्यपूर्ण उनको यो भनाई र उनले ल्याउन लागेको भिजन २०२० भने मेल खाँदैन। भिजन २०२० को बुँदा ७ को ३ ले धेरै कुरा स्पष्ट पार्दछ। त्यहाँ लेखिएको छ ‘प्रसिडेन्ट अफ काउन्सिल कि फंक्सनरी, अदर काउन्सिल मेम्बरर्स जस्ट सर्पोट एण्ड कम्पीलीमेन्ट’। यही कुराले धेरै कुरा स्पष्ट पार्दछ कि ब्यक्ति संस्था वरिपरी घुमेको हो कि घुमाउन खोजिएको हो भन्ने?
सबै नेपालीको छाता संगठन बनाउने, सामुहिक नेतृत्वको विकास गर्ने र एकल नेतृत्व स्थापित नगराउने भन्ने जुन अभिप्राय पुर्व नेतृत्वमा थियो त्यसलाई तिलान्जली दिएर अध्यक्ष शक्तिशाली बनाउने उदेश्यले ल्याएको भिजन २०२० भित्र अरुपनि रहस्यमय कुराहरु भेटिन्छन्। तर यस प्रस्तावमा सबै नराम्रा पक्ष भने छैनन्। यतिराम्रो प्रस्ताव थियो भने यसलाई आन्तरिक छलफलमा ल्याएर मात्र पेश गर्नुपर्दथ्यो भन्ने राय सबैको छ।
महत्वपूर्ण कुरा ‘भिजन २०२० एण्ड वियोण्ड’ को नाम दिइएको यो प्रस्ताव आफैंमा नराम्रो भने होइन यसका केही बुँदाहरु परिमार्जन गरेर लागु गर्दा फरक पर्ने होइन तर यसको तयारी सन् २०१५ बाट भएको देखिन्छ। करिब दुई वर्षका बिचमा संघको क्षेत्रीय बैठकहरुमा पूर्ण छलफल गराएर मात्र अन्य सम्मेलनमा प्रवेश गराएको भए उचित हुने कुरा विज्ञहरु बताउँछन्।
ओसियाना, मध्यपुर्व र युरोपका बैठकहरुमा यसले छलफल नै पाएन। ‘पुरानो ढंगले संस्था नचल्नु’ भन्नेबाट नयाँ ढंगले चल्ने आधारहरुमा पुराना कमि कमजोरीलाई पनि केलाउनु उपयुक्त हुन्छ।
संस्थाभन्दा बाहिरका विज्ञहरुद्वारा बनाइएको प्रस्तावका बुँदाहरुमा जस्तो निर्देशन दिइएको छ त्यही अनुरुप आएको हो। तर संस्थासँग सम्बन्धित विज्ञहरुको कमि छैन जो लामो समयसम्म संस्थामा रहेर अहिले महामहिम राजदूत भएका भीम उदास, बरिष्ठ कानुनविद विश्वकान्त मैनाली र कुलचन्द्र गौतमजस्ता हस्तिहरुले पहिल्यै पनि संस्थाको लागि एउटा कार्यदिशा बनाइसकेका छन् त्यसको खोजविन हुन जरुरी छ।
संघले बनाइएका विभिन्न टास्क फोर्समध्ये मुख्य मानिएको विधान संशोधन र नीति कार्यक्रम समिति पनि छलफल भएको पाइएको छैन। अझ रहस्यमय यस कारण हुन्छ कि यसलाई ‘कन्फिडिन्सियल’ भनेर लेखिएको छ। छलफलको विषय बनाउनु पर्ने कुरालाई किन गोप्य राखियो भन्ने जिज्ञाशा उठ्नु स्वभाविक हो। त्यसैले यो प्रस्तावलाई व्यापक अध्ययन गरेर नेपालीमा परिमार्जित गरी छलफल गरेर मात्र आठौं महाधिवेशनमा प्रवेश गर्नु उचित हो। किनकी विदेशीइएका करिब ५० लाख नेपालीहरुको आस्था र भावना जोडिएको यो संघ एकल व्यक्तिको हठ र चाहनाबाट निर्देशित भएमा भविष्यमा संघप्रति आस्था घट्नसक्ने छ।
शेष घलेको करिब चार वर्षे नेतृत्वमा धेरै राम्रा योजनाहरु अघि सारिएका भने पक्कै हुन। सानातिना देखि वाढीपीडित राहतलगायत धेरै कामहरु भएका छन। यसमध्ये मुख्य एनआरएन भवन र लाप्राक बस्ति योजना हुन्। तर उनले ल्याएको यो भिजन २०२० नाम दिइएको प्रस्तावका कारण घलेको छविमा छायाँ पर्नसक्ने तर्फ उहाँ सचेत हुन जरुरी छ।