‘मेरो नाम चन्द्र ढुंगाना हो। र, म नक्कली भुटानी शरणार्थी होइन।’
उनले आफ्नो परिचय दिँदा नाम र थर भन्नु जति स्वाभाविक थियो, आफ्नो नामसँग ‘सक्कली भुटानी शरणार्थी’ को ट्याग झुन्ड्याउनु पनि अहिलेको सन्दर्भमा हामीलाई उत्तिकै स्वाभाविक लाग्यो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं ठगी गर्ने धन्दा सार्वजनिक भएपछि चन्द्रजस्ता सक्कली शरणार्थीको पहिचान संकटमा छ।
चन्द्र ढुंगाना झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्छन् — डी२/१५९ नम्बरको झुपडीमा।
छयालीस वर्षीय ढुंगानाका साथमा सत्र वर्षीय छोराबाहेक अरू कोही छैन। आमासहित परिवारका अधिकांश सदस्य अमेरिका उडेको धेरै वर्ष भइसक्यो। यी बाबुछोराको नाम भने अझै शरणार्थी सूचीमा छैन।
सन् २००६, २००८ र २०१२ मा शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) ले भुटानी शरणार्थीहरूको प्रमाणीकरण गरेको थियो। तीनैचोटि चन्द्र शिविरमा नभएका बेला पर्यो। उनी काम गर्न भारत गएका थिए। बाबु नभएपछि बालखा छोरा सूर्य ढुंगानाको नाम पनि सूचीमा समेटिएन।
दर्ता हुन छुटपुट शरणार्थी गणना गर्ने भन्दै २०१९ मा युएनएचसिआर र शरणार्थी समन्वय इकाई (आरसियू) को संयुक्त टोली फेरि फोटो खिच्न र अन्तर्वार्ता लिन शिविरमा आयो।
चन्द्रले त्यो मौका चुकाएनन्।
उनले छोरासहित गएर दुवैको नाम टिपाए, फोटो खिचाए र अन्तर्वार्ता पनि दिए।
जति बेला सूची बन्यो, चन्द्रको खुसीको सीमा थिएन। अहिले उनी निराश छन्, किनभने उनको नाम परेको सूची नै विवादमा परेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहले छुट गणनाको उक्त सूचीमा नक्कली नाम घुसाएको सार्वजनिक भएपछि सबैलाई शंकाको आँखाले हेर्न थालिएको छ।
‘हामी त नक्कली नोटको मुठाभित्र परेको असली नोट पो भयौं हौ,’ चन्द्रले भने, ‘मुठा नै नक्कली भएपछि असली नोट कल्ले चिन्ने! नक्कलीहरूको घानमा हाम्रो असली कुरा कल्ले पत्याइदिने!’
भुटानी शरणार्थीहरूको यो कथा शृंखला चन्द्र ढुंगानाबाट सुरू हुनु पछिल्लो घटनाक्रमले ल्याएको एउटा संयोग हो।
हामी तीन वर्षभन्दा बढी समयदेखि यो कथा शृंखलामा काम गर्दै थियौं। भुटानमा नेपालीहरूको प्रवेश कसरी भयो, कहिलेबाट भयो र कसरी उनीहरू आफ्नो देशबाट लखेटिएर शरणार्थी बने भन्नेबारे हामी खोजी गर्दै थियौं।
भुटानले ‘सुखी र खुसी’ राष्ट्रका रूपमा जुन अन्तर्राष्ट्रिय छवि बनाएको छ, हामी त्यो छविका पछाडि लुकेको भुटानी नेपालीहरूको आँशु र पीडा उधिन्न चाहन्थ्यौं। भुटानी नेपालीहरूमाथि गरिएको जातीय सफायाको कथा सुनाउन चाहन्थ्यौं।
हाम्रो यो कथा शृंखला त्यो कालखण्डबाट सुरू हुन्छ, जति बेला भुटान भन्ने देश अस्तित्वमै थिएन।
जुन भूमिलाई हामी अहिले भुटान भनेर चिन्छौं, त्यसलाई तिब्बतीहरूले ‘ल्हो मोन’ नाम दिएका थिए। तिब्बती भाषामा ल्हो मोनको अर्थ दक्षिणको औल प्रदेश भन्ने बुझिन्छ। नेपालीहरू ‘भोटान्त’ भन्थे।
सत्रौं शताब्दीको मध्यमा तत्कालीन भोटान्त उर्फ ल्हो मोनमा एउटा यस्तो व्यक्तिको प्रवेश हुन्छ, जसले यो भूमिलाई देश बनाए। जसले साना साना सामन्त र सम्प्रदायलाई जोडे। जसले धर्ममा आधारित शासन पद्धति बाँधे र ल्हो मोनलाई ‘डुग् युल’ अर्थात् ड्रयागन देशको नयाँ परिचय दिए।
ती व्यक्ति हुन्, भुटानका पहिलो धर्मराजा ङवाङ नमग्याल।
ङवाङ नमग्यालको इतिहास आफैंमा किम्बदन्तीजस्तो छ। भुटान प्रवेश गर्नुअघि उनी तिब्बतको रालुङ गुम्बामा भिक्षु थिए। उनी आफूलाई डुग्–प सम्प्रदायका धर्मगुरू पेमा कार्पोका अवतार मान्थे र रालुङ गुम्बाको उत्तराधिकारी आफूले पाउनुपर्ने दाबी गर्थे। तिब्बतको चङ प्रान्तका शासकहरू भने उनको समर्थनमा थिएनन्। तिनै शासकसँगको रस्साकस्सीले आखिरमा उनी रालुङ गुम्बामा टिक्न सकेनन्।
इतिहासको संयोग पनि कस्तो! तिब्बतबाट शरणार्थीका रूपमा भुटान प्रवेश गरेका उनै ङवाङ नमग्यालले निर्माण गरेको राज्यबाट करिब चार सय वर्षपछि नेपाली मूलका भुटानीहरूलाई त्यसरी नै लखेटियो, जसरी नमग्याललाई लखेटिएको थियो।
एउटा शरणार्थीले बसालेको देशबाट सवा लाख भुटानी नेपालीहरूले शरणार्थी बनेर निस्कनुपर्यो!
यो शृंखलामा हामी तपाईंहरूलाई त्यो कालखण्डमा पनि लैजाने छौं, जब नेपालीहरूले पहिलोपटक भुटान प्रवेश गरे।
आजभन्दा चौध सय वर्षअघि, सातौं शताब्दीमा, तिब्बतमा एक सम्राट थिए, स्रङ–चङ–गम्पो। उनले नेपालका लिच्छवि राजा उदयदेवकी छोरी भृकुटीसँग विवाह गरेका थिए। तिब्बती जनश्रुतिअनुसार राजकुमारी भृकुटीले दाइजोका रूपमा अक्षोभ्य, मैत्रेय र ताराका मूर्तिहरू लगेकी थिइन्। भृकुटीसँगै काठमाडौंका केही कालिगढ पनि तिब्बत पुगेका थिए। पछि स्रङ–चङ–गम्पो बौद्ध धर्मको प्रचारप्रसारमा लागे। उनले भुटान गएर बौद्ध गुम्बाहरू निर्माण गरे। ती बौद्ध गुम्बा तिनै नेपाली कालिगढले बनाएको मानिन्छ, जो भृकुटीसँग तिब्बत गएका थिए। त्यति बेला भुटान पुगेका नेपाली कालिगढमध्ये कोही उतै बसे भन्ने भनाइ छ।
त्यसपछि प्रवेश हुन्छ, तान्त्रिक धर्मगुरू पद्मसम्भवको। आठौं शताब्दीमा गुरू पद्मसम्भवले भुटानका विभिन्न प्रान्त भ्रमण गरी तान्त्रिक शिक्षा दिएका थिए। उनलाई आज पनि भुटानका बौद्ध सम्प्रदायले ‘गुरू रिन्पोछे’ का रूपमा आराध्य मान्छन्। यी धर्मगुरू कुनै बेला काठमाडौंको फर्पिङ आएर तपस्या गरेको र यहाँबाट तिब्बत हुँदै भुटान पुगेको भनाइ छ। त्यति बेला केही नेपाली अनुयायी पनि उनको पछि लागेर भुटान पुगेको र उतै बसेको मानिन्छ।
स्रङ–चङ–गम्पो र पद्मसम्भवको समयकालमा भुटान पुगेका नेपाली को हुन् भन्ने हामीलाई थाहा छैन। यी दुवै घटना ऐतिहासिक अभिलेखबाट प्रमाणित हुँदैनन्।
ऐतिहासिक अभिलेखहरूले प्रमाणित गर्ने नेपालीहरूको भुटान प्रवेशको कथा भने चार सय वर्षअघिबाट सुरू हुन्छ।
त्यति बेला भुटानलाई नयाँ थितिमा बाँधेर व्यवस्थित राज्य निर्माण गर्ने अभियानमा लागेका धर्मराजा ङवाङ नमग्यालले गोरखा र काठमाडौं उपत्यकाका मल्लराज्यहरूसँग दौत्य सम्बन्ध गाँसेका थिए। उनी गोरखामा राजा राम शाहले बसालेको शासन पद्धतिबाट प्रभावित थिए भने काठमाडौं उपत्यकाका बौद्ध मठ–मन्दिरहरूले उनमा ठूलो छाप छाडेको थियो। उनी तिब्बतको रालुङ गुम्बा त्यागेर शरणार्थीका रूपमा भुटान जानुअघि काठमाडौंको स्वयम्भु आएको र केही समय यहीँ बसेर बौद्ध शिक्षा ग्रहण गरेको इतिहास छ।
गोरखा र भुटानलाई धार्मिक सम्बन्धको सेतुले पनि जोडेको थियो। गोर्खाली राजाहरू दाजुभाइको झगडाले गृहकलह मच्चिँदा होस् वा गद्दीका उत्तराधिकारी जन्मिन नसक्दा, भुटानी लामा डाकेर तान्त्रिक अनुष्ठानहरू गराउँथे। राजा राम शाहले त्यस्तै अनुष्ठान गराएपछि नै तीन जना राजकुमार जन्मेको भनाइ छ। तिनैमध्ये डम्बर शाह पछि गोरखाका राजा भए। नरभूपाल शाहले पनि भुटानी लामा डाकेर तान्त्रिक अनुष्ठान गराएपछि पृथ्वीनारायण शाहको जन्म भएको कथा सुनिन्छ।
यही दौत्य सम्बन्धका कारण भुटानी धर्मराजा नमग्यालले आफ्नो शासनकालमा दुईचोटि गोरखा र काठमाडौं उपत्यका भ्रमण गरेका थिए। ती दुवै भ्रमण बेला उनले ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी चारै वर्णका व्यक्ति ठूलो संख्यामा भुटान लगे। काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल र पाटनका राजा सिद्धिनरसिंह मल्लले पनि मूर्तिकार, शिल्पकार, चित्रकार लगायतका नेवार शिल्पीहरूलाई नमग्यालसँगै भुटान पठाएको इतिहास छ।
ऐतिहासिक अभिलेखमा दर्ज भएको आधारमा भन्दा नेपालीहरूले भुटान प्रवेश गरेको पहिलो चरण त्यही हो।
के ती नेपालीहरूलाई इतिहासले चिन्छ? के तिनको नाम इतिहासमा दर्ज छ?
हामी यो कथा शृंखलामा तपाईंहरूलाई ती व्यक्तिहरूसँग परिचय गराउने छौं, जो आजभन्दा चार सय वर्षअघि गोरखाका राजा राम शाह र भुटानका धर्मराजा ङवाङ नमग्यालले गाँसेको सम्बन्धको सेतु चढेर भुटान पुगे। आज जो शरणार्थी बनेका छन्, तीमध्ये कोही तिनै गोर्खालीका पुस्ता पनि हुन सक्छन्!
इतिहास हेर्ने हो भने तत्कालीन गोरखा राज्य र भुटानले बाँधेको दौत्य सम्बन्ध समयक्रममा झन् झन् कसिलो हुँदै गएको देखिन्छ। यसले नेपालबाट भुटान जाने क्रम लामो समय चलिरह्यो। भुटान दरबारले ती नेपालीलाई दक्षिणी भूभागको घना जंगल फाँडेर आबाद गर्न छुट्टयाइदिएको थियो। उनीहरूले त्यहाँ खेतीपाती गरे। व्यापार–व्यवसाय गरे। मानव पर्खाल बनेर दक्षिणी सीमाको रक्षा पनि गरे।
त्यो समय नेपालीहरूको भुटान बसाइ कस्तो थियो? राज्यले उनीहरूको बन्दोबस्त कसरी गरेको थियो? हामी यसबारे तपाईंहरूलाई विस्तारपूर्वक बताउने छौं।
नेपाल र भुटानको राजनीतिक सम्बन्ध कति गाढा थियो भने, वाङचुक वंशका पहिलो राजा उगेन वाङचुकले सत्ता हातमा लिँदा पनि नेपालले साथ दियो। उगेन वाङचुकले भुटानका अन्य प्रान्तीय शासकहरूमाथि आधिपत्य जमाउँदै आफूलाई राजा घोषणा गरेका थिए। योसँगै भुटानमा पहिलोपटक वंश परम्परामा आधारित राजतन्त्रको सुरूआत भएको थियो।
उगेन वाङचुकलाई भुटानी राजाका रूपमा स्वीकार गर्न चन्द्रशमशेर राणाले अंग्रेजहरूलाई मनाएको इतिहास छ। चन्द्रशमशेरले उगेनसँग मित लगाएका थिए। त्यही मितेरी साइनोका कारण उनले अंग्रेज सरकारका लर्ड मिन्टोसँग उगेनको भेट गराए। दुई देशको आपसी सम्बन्धका यस्ता थुप्रै ऐतिहासिक घटना हामीले यो शृंखलामा समेटेका छौं।
भुटानी नेपालीहरूमा केही यस्ता व्यक्तिको नाम पनि आउँछ, जसलाई भुटानका शासकहरूले पत्याएका थिए र दक्षिण भेगको बन्दोबस्त मिलाउने अधिकार सुम्पेका थिए। गर्जमान गुरूङ तिनैमध्ये एक हुन्। भुटानी नेपालीहरूमा उनको हैसियत ‘राजा’ बराबर थियो। उनले एकदिन भुटान दरबार गएर आफूलाई ‘तीन सरकार’ अर्थात् प्रधानमन्त्री बनाउन आग्रह गरे। यसबाट भुटान दरबार झस्कियो र षड्यन्त्रपूर्वक उनको हत्या गरियो। उनै गर्जमान गुरूङको उदय र अन्तको वृत्तान्त पनि हामी तपाईंहरूलाई सुनाउने छौं।
सन् १९५० दशकमा जब भारत अंग्रेज साम्राज्यबाट मुक्त भयो र नेपालले राणा शासन फालेर प्रजातन्त्र ल्यायो, त्यही बेला भुटानमा पनि प्रजातान्त्रिक आन्दोलन चर्किएको थियो। भुटानको आन्दोलनमा साथ दिन गिरिजाप्रसाद कोइराला स्वयं त्यहाँ पुगेर भुटानी नेपालीहरूलाई संगठित गरेका थिए। भुटानको त्यो आन्दोलन कसरी सुरू भयो? कसरी अन्त्य भयो? आन्दोलन दबाउन तत्कालीन भुटानी राजा जिग्मे दोर्जी वाङचुकले कस्तो रणनीति अपनाए? हामी यसबारे पनि सविस्तार वर्णन गर्नेछौं।
सँगसँगै, उक्त प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका भुटानका पहिलो सहिद महसुर क्षत्रीको कथा पनि तपाईंहरूलाई सुनाउने छौं।
पहिलो प्रजातान्त्रिक आन्दोलनपछि राजा जिग्मे दोर्जी वाङचुकले भुटानी नेपालीहरूलाई दुइटा महत्वपूर्ण राजनीतिक अधिकार दिएका थिए — पहिलो, उनीहरूलाई नागरिकता प्रदान गरे र दोस्रो, राष्ट्रिय सभामा नेपालीहरूको सहभागिता सुनिश्चित गराए। यस मानेमा जिग्मे दोर्जीको शासनकाल भुटानी नेपालीहरूको निम्ति सुखद समय थियो।
त्यो सुखद समयमा ब्रेक लगाइदिए, उनकै छोरा जिग्मे सिंघे वाङचुकले।
जिग्मे सिंघे वाङचुकको शासनकालमा त्यस्ता धेरै कानुन खारेज वा संशोधन गरिए, जुन उनका बुवाले भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा जोड्ने उद्देश्यले ल्याएका थिए। उनले नेपालीभाषीहरूमाथि भेदभावपूर्ण कानुन लागू गरे। उनीहरूको नागरिकताको हक खोसे। जमिनको हक खोसे। भाषा र संस्कृतिको हक खोसे। र, आखिरमा भुटान छाडेर शरणार्थी जीवन बिताउन बाध्य पारे।
भुटानी नेपालीहरूलाई शरणार्थी बन्न बाध्य पार्ने ती विभेदपूर्ण कानुनहरू कस्ता थिए? कसरी उनीहरूलाई नागरिकबाट अनागरिक बनाइयो? र, कसरी देश छाडेर शरणार्थी बन्न बाध्य पारियो? यसबारे पनि हामी यो कथा शृंखलामा विस्तृत चर्चा गर्ने छौं।
भुटानको चार सय वर्षको इतिहास झल्काउने यो शृंखला हामीले गैरआख्यान न्यारेटिभ शैलीमा लेखेका छौं। यसमा उल्लिखित घटनाक्रमहरू हामीले ऐतिहासिक अभिलेख, टिपोट र किताबहरूबाट लिएका हौं। कतिपय घटना यस विषयमा शोध गरेका इतिहासकार र भुटानी शरणार्थीहरूले सुनाएका छन्। ती ऐतिहासिक घटनाक्रमलाई सहज ढंगले प्रस्तुत गर्न हामीले ठाउँठाउँमा आख्यानको प्रयोग गरेका छौं। आख्यानले इतिहास नधमिलियोस् र इतिहासमा पर्दा नचढाओस् भन्नेमा हामी सजग छौं। त्यसैले त्यस्तो ठाउँमा मात्र आख्यान शैली अपनाएका छौं, जहाँ गैरआख्यानलाई सजीव र रसिलो ढंगले चित्रण गर्न मद्दत पुग्छ। तपाईंहरूले यो शृंखला पढ्ने क्रममै कुन खण्ड आख्यान हो र कुन गैरआख्यान हो भन्ने सजिलै छुट्टयाउन सक्नुहुनेछ।
हामीले कथा शृंखलालाई विभिन्न अध्यायमा बाँडेका छौं। भोलिबाट हरेक शुक्रबार दुई वा दुईभन्दा बढी अध्याय प्रकाशित गर्दै जाने छौं। हरेक अंक लगभग दस हजार शब्दको हुनेछ। यो पूरै शृंखला करिब ८० हजार शब्दको हुनेछ।
भुटानको कथा शृंखला लेख्ने क्रममा हामीले भुटानी शरणार्थीहरूका नेता टेकनाथ रिजाल, डा. भम्पा राई लगायतलाई कयौंपटक भेट्यौं। घन्टौं घन्टा उनीहरूसँग कुराकानी गर्यौं। डा. राईको अहिले निधन भइसकेको छ। टेकनाथ रिजाल भने नक्कली शरणार्थी प्रकरणमा मुछिएर प्रहरी हिरासतमा छन्।
हामीले बेलडाँगी शिविरमा दुईचोटि स्थलगत भ्रमण गरी त्यहाँ बसोबास गरिरहेका भुटानी शरणार्थीहरूसँग भेटघाट गर्यौं। उनीहरूले भुटानमा भोग्नुपरेको अन्याय र त्यहाँबाट लखेटिँदाको पीडा हामीलाई सुनाएका थिए। नेपाल आएर शरणार्थी जीवन बिताउँदा भोग्नुपरेको कष्ट हामीसँग बाँडेका थिए। उनीहरूको पन्ध्र घन्टाभन्दा लामो कुराकानी हामीले रेकर्ड गरेका छौं। ती अनुभव र भोगाइका कथा शृंखलामा समेट्दै जाने छौं।
त्यस्तै, भुटानका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका भुटानी नेपालीको परिवारसँग हामीले कुराकानी गरेका छौं। उनीहरू अहिले पनि आफ्नो परिवारको सदस्य भेट्न निकै दुःख गरेर भुटान जान्छन्। कहिले भेट्न पाउँछन्, कहिले यसै फर्कन्छन्। उनीहरूको कथा हामी तपाईंहरूलाई सुनाउने छौं।
तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका गएर बसोबास गरिरहेका भुटानी नेपालीको अनुभव पनि हामीले सुनेका छौं। उनीहरूले भुटानबाट नेपाल हुँदै अमेरिकासम्म तय गरेको यात्राको कथा हाम्रो यो शृंखलामा आउनेछ।
भुटानको इतिहास र नेपाल–भुटान सम्बन्धका आयामहरू उधिन्न इतिहासकार रमेश ढुंगेलले हामीलाई निकै मद्दत गरे। तिब्बती भाषा, भोट सभ्यता र बौद्ध धर्म–संस्कृतिसँग सम्बन्धित ऐतिहासिक अनुसन्धानमा संलग्न ढुंगेलसँग हामीले तीनचोटिको बसाइमा चार घन्टाभन्दा बढी कुरा गरेका छौं। उनले लेखेको किताब ‘नेपाल भुटान ऐतिहासिक सम्बन्ध र जोङ्–सार–पा एवं ल्हो–छाम्–पा समुदाय’ ले हामीलाई यो शृंखला तयार पार्न निकै सहयोग पुर्यायो। हामीले यहाँ उल्लेख गरेका धेरै घटनाक्रम यही किताबमा आधारित छ।
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले लेखेको ‘अनबिकमिङ सिटिजन्स’ र डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनको ‘भुटानः अ मुभमेन्ट इन एक्जाइल’ लाई पनि हामीले स्रोत सामग्रीका रूपमा प्रयोग गरेका छौं।
भुटानको ऐतिहासिक घटनाक्रमदेखि त्यहाँका नेपालीको बसाइ र बन्दोबस्ती बुझ्न हामीलाई माइकल हटको किताब सहयोगी बन्यो। त्यस्तै, पहिलो चरणको प्रजातान्त्रिक आन्दोलन र त्यसपछिका घटनाक्रम उधिन्न ढकाल र स्ट्रनको किताबले मद्दत गर्यो। ढकाल स्वयं भुटानी शरणार्थी हुन्। उनले लामो समय शरणार्थीहरूको अधिकारको पक्षमा वकालत गरे।
यसरी हामीले भुटानको चार सय वर्षको इतिहास खोजिरहँदा, केलाइरहँदा नक्कली शरणार्थी प्रकरण बाहिर आयो। केही उच्च तहका राजनीतिक नेता र प्रशासकहरू मुछिए। तीमध्ये ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
यो नयाँ घटनाक्रमले हाम्रो कथा शृंखलामा नयाँ अध्याय थपियो — चन्द्र ढुंगानाको अध्याय।
चन्द्रसँग हाम्रो सम्पर्क दिलबहादुर महत उर्फ दिल भुटानीले गराएका हुन्।
बेलडाँगी शरणार्थी शिविरमा बस्ने महतलाई हामीले तीन वर्षअघि पहिलोपटक भेटेका थियौं र लामो कुरा गरेका थियौं। नक्कली शरणार्थी प्रकरण बाहिर आएपछि हामीले उनीसँग फेरि कुरा गर्यौं।
यो छानबिनले नक्कली शरणार्थी बनाउने गिरोहको पर्दाफास भए पनि त्यही घानमा सक्कली शरणार्थीहरूको पहिचान गुम्ने अवस्था आएको उनले दुखेसो पोखे।
‘जो नक्कली हो, उसको त पैसा मात्र डुब्यो। तर जो सक्कली शरणार्थी हो, उसको त पहिचान नै डुब्ला भन्ने पिर छ,’ उनले भने, ‘पहिले विभिन्न कारणले शरणार्थी सूचीमा दर्ता हुन छुटेकाहरूलाई त झन् ठूलो समस्या पर्ला!’
‘ती छुटेका सक्कली शरणार्थीले बल्लतल्ल नाम दर्ता गराएर परिचयपत्र पाउँदै थिए। अब त्यो आश मर्दैछ।’
उनले अर्को समस्या पनि सुनाए, जुन सबै भुटानी शरणार्थीले भोग्नुपर्ने हुनसक्छ।
‘भुटानले शरणार्थी शिविरमा बसिरहेकाहरू भुटानी नागरिक होइनन् भन्ने आरोप लगायो। हामीले सधैं त्यसको प्रतिवाद गर्यौं। यो प्रकरणले भुटान सरकारको आरोपमा बल पुर्याउने छ,’ उनले भने।
यसले भुटानी शरणार्थीहरूको स्वदेश फिर्ती अभियान कमजोर होला कि भन्ने पनि उनलाई डर छ।
भुटानले सन् १९९० बाट एक लाख २० हजारभन्दा बढी नेपालीभाषीलाई देशबाट लखेटेको थियो। उनीहरू झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी भएर बसे। तीमध्ये एक लाख १३ हजार तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया र केही युरोपेली मुलुक गएका छन्। अहिले यहाँ छ हजारभन्दा बढी शरणार्थी बाँकी छन्। तीमध्ये कतिपय शरणार्थी स्वदेश फिर्तीको निम्ति आन्दोलनरत छन्। उनीहरू अमेरिका, युरोप नगएर भुटान नै फर्किन चाहन्छन्। तिनैमध्ये दिल महत एक हुन्। स्वदेश फिर्तीको विकल्प कुरेर बसेका शरणार्थीको आन्दोलनलाई यो प्रकरणले ठूलो घाटा पारेको उनको भनाइ छ।
यति हुँदाहुँदै भुटानी शरणार्थीहरूको मुद्दाले फेरि एकचोटि चर्चा पाएकोमा उनी खुसी छन्। यही कडी समातेर बाँकी रहेका सक्कली शरणार्थीको मुद्दा फेरि उजागर हुन सक्ने उनी बताउँछन्।
‘नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायले शिविरमा बचेका भुटानी शरणार्थीलाई नयाँ ढंगले पुनः मूल्यांकन गरेर इच्छाअनुसार बाँच्ने हक सुनिश्चित गरोस्,’ उनले भने, ‘अब पनि यो मुद्दाको समाधान खोजिएन भने शरणार्थीका नाममा भ्रष्टाचार गर्ने गिरोह फेरि फेरि पनि सल्बलाइरहने छ।’
पौने घन्टा टेलिफोन कुराकानीको आखिरीमा दिल महतले चन्द्र ढुंगानाको प्रसंग झिके र भने, ‘उनी नक्कलीहरूको भीडमा असली पीडामा परेका सक्कली शरणार्थी हुन्।’
चन्द्र ढुंगाना आजभन्दा तीस वर्षअघि सन् १९९२ मा भुटानको चिराङस्थित ललेनी गाउँबाट शरणार्थीका रूपमा नेपाल छिरेका हुन्।
त्यति बेला उनी १६ वर्षका थिए।
उनको बुवाको भुटानमै निधन भइसकेको थियो। उनी बूढी आमा, १२ र ५ वर्षका दुई जना भाइ र १० र ७ वर्षका दुई जना बहिनीलाई लिएर नेपाल आएका थिए।
भुटानबाट लखेटिँदाको घटना उनलाई धमिलो–धमिलो याद छ।
‘गाउँमा घमासान द्वन्द्व उठ्यो,’ चन्द्रले धमिला यादहरू समेट्दै आफ्नो कथा विस्तार लगाए, ‘त्यति बेला भुटानमा नेपालीहरूलाई दौरा–सुरूवाल फालेर बख्खु लगाउन अनिवार्य गरिएको थियो। नेपाली भाषा पढ्न दिइएन। नेपाली भाषा पढाएको भन्दै केही स्कुलका शिक्षकलाई कारबाही पनि गरियो।’
‘हामी नेपालीभाषीहरू ज्यादातर हिन्दु धर्म मान्ने थियौं,’ उनले अगाडि भने, ‘हामीलाई दसैं–तिहारजस्ता चाडपर्व मनाउन दिइँदैन रे भन्ने हल्ला फैलियो। हामीले आफ्नो रीतिअनुसार बिहे–ब्रतबन्ध पनि गर्न पाउँदैनौं रे भन्ने सुन्यौं। त्योभन्दा डरलाग्दो त, भुटानी सेनाले हाम्रा छोरीचेलीमाथि नराम्रो नजर लगायो। हामीलाई आफ्नो इज्जत र ज्यान जोगाउनै मुश्किल पर्न थाल्यो।’
यही डरले नेपालीभाषी परिवारहरू कमिलाको ताँतीझैं एकपछि अर्को लश्कर लागेर गाउँ छाडेर हिँड्न थाले, चन्द्रले भने, ‘भुटानमै बसेर मर्नुभन्दा त बरू अन्त गए जसरी पनि बाँचिएला भन्ने भयो।’
चन्द्रको परिवार नेपाल छिरेपछि केही समय माईखोला किनारमा आफन्तहरूको झुपडीमा बस्यो। चार महिनापछि उनीहरू बेलडाँगी शिविरमा सरे।
तीस वर्षअघि बेलडाँगी शिविर आएर पनि चन्द्रले ‘शरणार्थी कार्ड’ चाहिँ किन बनाउन पाएनन् त?
‘खप्पर बलियो नभएर,’ उनले भने, ‘परिवारको जेठो छोरा भएकाले भाइबहिनीको जिम्मा मेरै थाप्लोमा थियो। काम गर्न शिविरबाहिर गइरहन्थेँ। धेरैजसो त भारतै जान्थेँ। त्यसबीच तीन–तीनचोटि शरणार्थी कार्ड बाँडिएछ। परिवारका अरू सबैले पाए, म चाहिँ छुटेको छुट्यै भएँ।’
पहिलो र दोस्रो शरणार्थी प्रमाणीकरण हुँदा उनी भारतको गुजरातमा सुरक्षा गार्डको काम गर्दै थिए। भारतमै छँदा उनलाई कलेजो रोगले थला पार्यो। यता शिविरमा प्रमाणीकरण गरिँदैछ भन्ने थाहा पाएर पनि रोगका कारण फर्कन सकेनन्।
पछि आउँदा प्रमाणीकरण सकिइसकेको थियो। उनी केही वर्ष नेपालमै बसे। शिविरबाहिरकी केटीसँग विवाह गरे र आफू पनि शिविरबाहिरै बस्न थाले। तर उनको घरजम जमेन। उनीहरू अलग्गिए।
यसबीच भारतको कोइला खानीमा काम गर्न गएका उनका माइला भाइ उतै लापता भए। धेरै समय खबर नआएपछि चन्द्र भाइलाई खोज्न भारत गए। आफूले थाहा पाएका खानीहरूमा भौंतारिए। केही समय उतै काम गरे। यसपालि उनले आफ्नो छोरा सूर्यलाई पनि सँगै लगेका थिए। त्यति बेला सूर्य जम्मा तीन वर्षका थिए।
यही बेला शिविरमा तेस्रो चरणको प्रमाणीकरण भयो। पहिले छुटेकी आमाले नाम दर्ता गराइन् र अमेरिका गइन्। चन्द्र र उनीसँगै गएका तीन वर्षीय छोराको नाम यसपालि पनि शरणार्थी सूचीमा परेन।
‘आमासँगै छोडेर गएको भए कम्तिमा छोराको नाम सूचीमा सामेल हुन्थ्यो!’ चन्द्रले थकथकी माने, ‘भाग्यले साथ दिएको भए हजुरआमा, काका र फुपूहरूसँगै अमेरिका उडिसक्थ्यो कि!’
‘कहिलेकाहीँ यस्तो लाग्छ, मेरो अभागी खप्परको अंश अलिअलि त्यसमा पनि सरेछ,’ उनले भने।
भारततिरै बेपत्ता भएका माइला भाइलाई छाड्ने हो भने चन्द्रको परिवारमा उनी र उनका छोरा मात्र शिविरमा छन्। पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका गएका उनका कान्छा भाइ पेन्सिलभेनिया राज्यमा छन्। कान्छी बहिनीको बसाइ पनि त्यहीँ छ। आमा भाइ र बहिनीसँग आलोपालो बस्छिन्।
‘तपाईंको अर्को बहिनी पनि छ होइन?’
‘उसले यतै बिहे गरी,’ चन्द्रको स्वरमा थोरै खुसी चम्किएको सुनियो, ‘इटहरीमा छ। अहिले नेपालमा मेरो आफ्नो भन्नु उही मात्र हो। कहिले भान्जाभान्जी लिएर यतै आउँछे, कहिले म भेट्न जान्छु।’
‘मनको भकारीमा लाख दुःख भरिए पनि त्यसलाई खुसी देखेर खुसी लाग्छ। खुसी हुन अर्थोक के चाहिँदो रहेछ र!’ उनले भने।
परिवारका सबै सदस्य अमेरिका र अस्ट्रेलिया पुगेर आफू यहाँ छोरासँग ‘टुहुरो जिन्दगी’ बिताइरहेका चन्द्रको जीवनमा त्यति बेला खुसीको असली झिल्का छुटेको थियो, जब उनी र उनका छोराको नाम शरणार्थीहरूको छुट गणना सूचीमा पर्यो।
नाम त पर्यो, तर शरणार्थी कार्ड चाहिँ यसपालि पनि पाउन सकेनन्।
अब त त्यो सूचीमै गोलमाल गरेर नक्कली शरणार्थी घुसाइएको कुरा उठेपछि चन्द्र फेरि निराश भएका छन्। यसपालि फेरि उनलाई आफ्नो ‘खप्पर’ कमजोर भएको महसुस हुँदैछ।
चन्द्र अहिले सानोतिनो मजदुरी गरेर आफ्नो र छोराको जीविका चलाउँदै छन्। दुई–चारवटा बाख्रा पनि पालेका छन्। यसबाहेक विदेशमा रहेका आफन्तहरूले बेलाबेला सहयोग गर्छन्।
‘मेरो त आधी जिन्दगी यसरी नै बितिहाल्यो, तर यो सब लफडाले छोराको जिन्दगी बर्बाद हुने भयो,’ चन्द्रले दुःखमनाउ गरे, ‘कार्ड नभएसम्म शरणार्थीको पहिचान पाइँदैन। बैंक खाता खोल्न मिल्दैन। कुनै राम्रो जागिर खाऊँ वा व्यवसाय गरूँ भने पनि कार्ड नभई हुन्न।’
सूर्य अहिले कक्षा ११ को अन्तिम परीक्षा दिँदै छन्। उनी दमकको हिमाली उच्च माध्यमिक विद्यालयमा पढ्छन्। अहिलेसम्म स्कुलमा शरणार्थी कार्ड बुझाउनुपरेको छैन। पछि स्नातक पढ्न अप्ठ्यारो होला कि भन्ने चन्द्रलाई चिन्ता छ।
डेढ घन्टा लामो कुराकानी क्रममा आफ्नो भोगाइदेखि मनको भकारीमा थुप्रिएका लाख दुःख बिसाएका चन्द्र ढुंगानाले आखिरीमा हामीसँग अनुनय नै गरे, ‘नक्कली शरणार्थीहरूको जगजगीमा हामी सक्कली शरणार्थीहरूको कथा सबैलाई सुनाइदिनू है सर। हाम्रो पहिचानमा शंका गर्नेहरूको आँखा खुल्थ्यो कि!’
हुन पनि सक्कली र नक्कलीको मिसमासमा प्रायः सक्कलीहरू नै बढी पीडित हुन्छन्। नक्कली त आफैं नक्कली भइगए, केही बेर हुडदंग मच्चाउँछन्, हराएर गइहाल्छन्।
यहाँ पनि दोषीमाथि कारबाही भएपछि नक्कली शरणार्थीहरू यसै नामेट हुने भइहाले। त्यसपछि बाँकी रहन्छन् सक्कली। तर त्यति बेलासम्म उनीहरूको पहिचानमाथि गम्भीर संकट आइसकेको हुनसक्छ। कसैले ‘म भुटानी शरणार्थी हुँ’ भनेर परिचय दिँदा ‘सक्कली कि नक्कली?’ भनेर हाँसो गर्ने र हिनताबोध गराउने प्रवृत्ति देखिनसक्छ।
जातीय सफायाको उद्देश्यले आफ्नै नेपालीभाषी नागरिकलाई गलहत्याएर सीमा कटाउने र उनीहरू पुर्खौं पुर्खादेखि बस्दै आएका भुटानी नागरिक हुन् भनी इन्कार गर्ने भुटान सरकारले पनि भोलि यही प्रकरणको हवाला दिँदै आफ्नो भनाइ पुष्टि भएको दाबी गर्न सक्छ।
त्यो अवस्थामा साम्प्रदायिक हिंसा खेपेर तीस वर्षभन्दा बढी समयदेखि शरणार्थी जीवन जिउन बाध्य पारिएका सक्कली भुटानी शरणार्थीहरूको कथा ओझेल पर्नेछ।
भुटान सरकारले हरेक वर्ष सार्वजनिक गर्ने ‘खुसी मापक’ परिसूचक हेरेर अन्तर्राष्ट्रिय समुदाय, खासगरी पश्चिमा मुलुकहरू यसै पनि दंग छन्। सन् नब्बे दशकको सुरूमा भुटानमा भएका मानवअधिकार हननका घटनाको सम्झना उनीहरू कमै गर्छन्। भुटानबाट खेदिएका नेपालीभाषी शरणार्थीहरूको कथाले अन्तर्राष्ट्रिय वृत्तमा कमै चर्चा पाउँछ। मानवअधिकार हनन् र शरणार्थीहरूको कथालाई अचेल भुटानका पर्यटकीय विवरणहरूले प्रतिस्थापन गर्न थालेका छन्।
त्यही भएर आज पनि भुटानले अन्तर्राष्ट्रिय समुदायलाई गुमराहमा पारेर राजनीतिक आस्थाका सयौं बन्दीलाई विभिन्न जेलमा अमानवीय ढंगले राखेको घटना अन्तर्राष्ट्रिय समाचारको विषय बन्दैन। बरू त्यसको सट्टा भुटानको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आयमा भएको प्रगति, त्यहाँका राजारानीका किस्सा र भुटानको कथित ‘खुसी मापक’ परिसूचकलाई विज्ञापन शैलीमा प्रचार गरिन्छ।
यसले भुटानमा भएको मानवअधिकार हनन् र जातीय सफायाको घटना बिर्सेर भोलि त्यही न्यारेटिभ स्थापित हुन बेर छैन, जुन न्यारेटिभ बनाउन भुटान सरकार लागिपरेको छ।
यो अवस्थामा आफ्नै भूमिबाट खेदिएका ती सवा लाख सक्कली भुटानी शरणार्थीहरूको कथा बिलाएर जानेछ।
हाम्रो यो कथा शृंखलाको उद्देश्य भुटानी शरणार्थीहरूको भोगाइ र नेपालीभाषी भुटानी समुदायको इतिहासलाई विस्मृतिमा जान नदिनु हो।
ताकि, कुनै पनि भुटानी शरणार्थीले आफ्नो परिचय दिँदा भन्नु नपरोस् —
‘मेरो नाम चन्द्र ढुंगाना हो। र, म नक्कली भुटानी शरणार्थी होइन।’
भोलि कथा शृंखलाको पहिलो अंकमा हामी त्यो ऐतिहासिक कालखण्डबारे चर्चा गर्नेछौं, जुन कालखण्डसँग भुटानी शरणार्थीहरूको कडी जोडिएको छ।
चन्द्र ढुंगाना, दिल महतजस्ता भुटानी शरणार्थीहरू, जो आफ्नो भूमिबाट खेदिएर विभिन्न मुलुकमा आश्रित हुन बाध्य छन्, उनीहरूको नियति आजभन्दा चार सय वर्षअघि गोरखा दरबारमा कोरिएको थियो, जति बेला गोरखामा राम शाह राजा थिए।
त्यति बेला गोरखाकी रानीले एउटा यस्तो सपना देखिन्, जसले उनलाई भुटानी धर्मराजा ङवाङ नमग्यालसँग जोड्यो।
के हो त्यो सपना?
कसरी गाँसियो भुटान र गोरखाको सम्बन्ध?
अनि कसरी सुरू भयो नेपालीहरूको भुटान प्रवेशको कथा?
(आवरण तस्बिर: चन्द्र ढुंगाना र उनका छोरा सूर्य)