भुटानको ४०० वर्षको कथा– अंक ४
अध्याय दसः भुटानी नेपालीको शान गर्जमान
गायत्री देवीले त्यो दिन सूर्य निलिन्।
त्यो झिसमिसे बिहानको समय थियो। डाँडापारि घाम उदाइसकेको थिएन। आकाशमा उज्यालो भने पोखिइसकेको थियो। आहारा खोज्ने सफरमा निस्किन लागेका पन्छीहरू गुँडमा चिरबिर गर्दै थिए, पखेटा फड्फडाउँदै थिए।
गायत्री देवी सूर्यलाई अर्घ्य दिन पित्तलको सानो करूवामा पानी भरेर घरको आँगनमा उभिएकी थिइन्।
उनी दुई हातले करूवा समातेर पूर्व डाँडातिर यस्तरी नजर सोझ्याएर बसेकी थिइन्, मानौं जसै घामको पहिलो किरण डाँडाको टुप्पोमा पोखिएला, उनी करूवाको पानी तररर खन्याएर घामलाई शीतलता छर्ने सुरमा छिन्।
चराको चिरबिर बाक्लियो। पखेटाको फड्फडाहट मधुर लयमा परिणत भयो।
आकाशको उज्यालोमा गुलाबी धर्साहरू देखिन थाले। कपासझैं उडिरहेका बादलहरू गुलाबी हुँदै गए। नीलो आकाशलाई गुलाबी रङले सर्लक्कै खायो।
त्यही पल, पूर्वी डाँडाको टुप्पोमा चमचम प्रकाश छर्दै रातो घाम झुल्कियो र आकाशलाई राताम्मे पार्यो।
आकाशमा टल्किएको त्यो रातो घाम ठ्याक्कै त्यस्तै देखिएको थियो, जस्तो गायत्री देवीको निधारमा सधैं टल्किने रातो टीका।
उनका दुवै हात पित्तलको करूवा आकाशतिर उठाउँदै अर्घ्य दिन तयार थिए। तर अर्घ्य दिनलाई करूवा अलिकति ढल्काउनुपर्ने हुन्छ, जुन उनले ढल्काएकी थिइनन्।
उनी घामको प्रकाशले वशीभूत भएझैं करूवा हातमा लिएर मूर्तिवत् ठिंग उभिएको उभियै थिइन्।
घामलाई हेरेको हेर्यै थिइन्।
कतै उनलाई आफ्नो निधारको टीका आकाशतिर सरेको आभाष त भएन!
त्यही पल, गायत्री देवीले अर्घ्य दिन ठिक्क पारेको करूवा भुइँमा छाडिन् र पूर्वी डाँडामा टल्किरहेको रातो घामतिर हेर्दै मुख आँ गरिन्।
र त्यही पल, ठ्याक्कै त्यही पल, गायत्री देवीले सूर्य निलिन्।
एकै गाँसमा सुलुत्तै निलिन्!
गायत्री देवी निद्राबाट ब्युँझिइन्।
त्यो रात उनले सपनामा सूर्य निलेकी थिइन्।
एकै गाँसमा सुलुत्तै निलेकी थिइन्।
उनी सकपकाइन्।
उनका हात पेटमा सलबलाए। उनको पेट डल्लो परेर माथि उठेको थियो। कतै यो डल्लो अघि भर्खर सपनामा निलेको सूर्य त होइन!
एकछिन त निद्राको तन्द्रामा गायत्री देवीलाई आफ्नो पेटको डल्लो के हो भन्ने होसै भएन।
अलि पछि उनी झल्याँस्स भइन् — ओहो म त गर्भवती पो छु! त्यो पनि नौ महिना पूरा भइसकेको! जुनसुकै बेला सुत्केरी हुन सक्छु भनेर वैद्यले भनिसके।
उनी पेटको डल्लो सुम्सुम्याउँदै ढुक्क भइन्।
वरिपरि हेरिन्।
झ्यालका कापहरूबाट छिरेको बिहानको मन्द उज्यालोले कोठा मधुर बनाएको थियो। बिहानको मन्द हावाले बोकेर ल्याएको बगैंचाको बासनाले कोठामा महक छरेको थियो। आहारा खोज्न निस्केका चराको मधुर चिरबिरले कोठामा संगीत घोलेको थियो।
गायत्री देवी एक्लै मुसुक्क हाँसिन्।
र, फेरि आफ्नो पेटको डल्लो सुम्सुम्याइन्। हो न हो, उनलाई आफ्नो पेटभित्र सूर्यकै डल्लो छिर्यो कि भन्ने भान भयो!
उनले मनमनै सोचिन् — कतै म सूर्यजत्तिकै तेजिलो पुत्र त जन्माउँदै छैन!
यस्तो सोच मनमा के पलाएको थियो, उनका आँखा पूरै तेजिला भए, अनुहार पूरै लाल भएर आयो।
गायत्रीले छेउमा मस्त निदाइरहेका आफ्ना पति दालचन गुरूङलाई आवाज दिइन्।
नसुनेपछि उनको कुममा बिस्तारै हिर्काइन्।
दालचन चलमलाए।
‘के भो?’ दालचनले सोधे।
गायत्री देवीले एकै सासमा आफ्नो सपना सुनाइन् र भनिन्, ‘मैले राति सपनामा सूर्य निलेँ।’
दालचनको निद्रा पूरै गायब भयो। आँखा पूरै चनाखा भए। जीउ पूरै चंगा भयो।
दालचनले जुरूक्क उठेर झ्यालका खापा उघारे र पूर्व डाँडातिर नजर लगाए।
डाँडामाथि घाम झुल्केको थिएन।
दालचनले गायत्री देवीको हात समातेर उनलाई झ्यालसम्म डोर्याए। र, त्यति बेलासम्म पूर्व डाँडातिर नजर सोझ्याएर बस्न लगाए, जबसम्म त्यहाँ रातो घामको डल्लो झुल्किँदैन।
मानौं, उनी साँच्चै गायत्रीलाई सूर्य निल्न लगाउँदै छन्!
‘तिमीले एकदमै लच्छिनको सपना देख्यौ। त्यसैले जबसम्म घाम देखिँदैन, तिमी आँखा झिमिक्क नगरी पूर्वतिर हेरिराख,’ उनले भने, ‘र, घामको पहिलो किरणलाई प्रणाम गर।’
गायत्रीले त्यसै गरिन्। सकेजति आँखा झिमिक्क नगरी पूर्व डाँडातिर एकोहोरो हेरिरहिन्।
घाम झुल्केर पहिलो किरणलाई प्रणाम गरूञ्जेल उनका आँखा थाकिसकेका थिए।
त्यति बेला पूर्व डाँडामाथि देखिएको घाम ठ्याक्कै त्यस्तै थियो, जस्तो उनले राति सपनामा निलेकी थिइन्।
एकै गाँसमा सुलुत्तै निलेकी थिइन्।
दिउँसो दालचन ज्योतिषकहाँ गए। गायत्रीले देखेको सपनाको वृत्तान्त सुनाए र त्यसको अर्थ के हो भनेर सोधे।
ज्योतिषले कागजमा अनेक धर्साहरू कोर्यो। धर्साहरूका बीचमा अंकहरू छर्यो। ती अंकहरूको जोड, घटाउ र गुणा गर्यो।
र, दालचनतिर हेरेर मुसुक्क हाँस्दै भन्यो, ‘बधाई छ, एकदमै लच्छिनको पुत्रलाभ हुनेछ। पुत्रको भविष्य घामजत्तिकै उज्यालो छ। उसले राजाको सानिध्य पाउनेछ र राजाको शक्ति र अधिकार पनि प्रयोग गर्नेछ।’
दालचनले घर फर्केर यही कुरा गायत्रीलाई सुनाए।
गायत्रीले राजाको शक्ति र अधिकार प्रयोग गर्ने भनेको के हो बुझेकी थिइनन्। तर उनी यति खुसी भइन्, खुसीले उनका गाला राग्गिए।
त्यो दिनभरि आकाश सफा रह्यो। बादलको एक टुक्रा पनि कतै देखिएन। हावा मन्द थियो, न चिसो न तातो।
अपराह्नतिर हावाको वेग तेज हुँदै गयो। आकाशमा विभिन्न आकृति बनाउँदै काला बादलहरू नाच्न थाले। लुकामारी खेल्न दुगुरिरहेका केटाकेटीझैं बादल पनि एकअर्कालाई उछिन्न खोज्दै थिए। बादलभित्र घाम पनि लुकामारी खेल्दै थियो। घरि झुलुक्क देखिन्थ्यो, घरि मिलिक्कै बिलाउँथ्यो।
बिस्तारै ती काला बादलहरू एकै ठाउँ गुजुम्म जम्मा भए। अघिसम्म पातलो बादलको पत्र हेर्दाहेर्दै बाक्लो हुँदै गयो।
त्यो बाक्लो पत्रको बीचबाट देवदूत अवतरित भएझैं बिजुली चम्किन थाल्यो। देवदूतले आफ्नो अस्त्र प्रहार गरेझैं बादल गड्याङगुडुङ गर्यो। र, बिस्तारै पानी छिट्यायो।
मौसमको नाच!
अघिसम्म आकाश खाली थियो। बादल आयो, बिजुली ल्यायो, गडङगडङ गर्जियो। केही बेर घामपानी भयो र सप्तरंगी इन्द्रेणीले आकाश र धर्तीलाई जोड्यो।
कसले भन्छ आकाश र धर्तीको मेल हुँदैन? यस्तो भन्नेलाई क्षितिजतिर हेर्न लगाइदिनू! वा, सप्तरंगी इन्द्रेणी देखाइदिनू, जसले पुल बनेर आकाश र धर्ती जोड्छ!
जसै आकाश र धर्ती जोडियो, जात्रा देखाएको मौसम सफा भयो।
बादलसँग लुकामारी खेलिरहेको सूर्य बिस्तारै पहेँलिँदै पश्चिम डाँडामा अस्तायो।
पश्चिम आकाश पूरै पहेँलपुर भयो।
रातको पहिलो प्रहरसम्म मौसम सामान्य रह्यो। हावा चिसो त थियो, तर त्यो चिसो हावाले फेरि पानी पार्ला भन्ने कसैले सोचेका थिएनन्।
गाउँ मस्त निद्रामा थियो।
दालचन गुरूङ मस्त निद्रामा थिए।
गायत्री देवी मस्त निद्रामा थिइन्।
त्यही पल, गडङगडङ गर्दै आकाश फेरि गड्गडायो। कोठा पूरै उज्यालो हुने गरी झिलिकझिलिक बिजुली चम्कियो। चारचोटि त आकाशै खस्लाजस्तो गर्जन गर्दै चट्याङ पर्यो। त्यसपछि पानी बर्सियो। पहिले तुपतुप, त्यसपछि टपटप, अनि धुमधुम, अनि फेरि झमझम र आखिरमा धडमधडम गर्दै। मानौं, पानीसँगै आकाशबाट चट्टान बर्सिँदैछ।
त्यही पल गायत्री देवीलाई बेथा सुरू भयो।
उनी जोडले चिच्याइन्।
घाँटीका नसाहरूमा टम्म रगत भरिएर आयो। निधारमा चिटचिट छुटेका पसिनाले कपाल लुछुप्पै भिजे। उनका आँखा राता भए। कानका लोती राग्गिन थाले। अनुहार रगत चुहिएलाझैं भयो। पसिनाका छिद्र यस्तरी फुटे, अनुहार तेल दलेजस्तै चिपिच्याल्ल भयो।
उनले आफ्ना दुवै हात दुईतिर फैलाइन्। घरि पलङ अँठ्याएर बल लगाउँथिन्, घरि दुवै हात यस्तरी मुठ्ठी पार्थिन्, आफ्नै नङले हत्केलामा घाउ पर्थे।
उनले आफ्ना दुवै खुट्टा दुईतिर फालिन्। घरि घुँडासम्म माथि उठाउँथिन्, घरि दुवै खुट्टाका बूढी औंला दोब्य्राउँदै बिछ्यौनामाथि यस्तरी बल लगाउँथिन्, बूढीऔंलाका नङले कोतरेर बिछ्यौनामा प्वाल पर्थे।
गायत्री जोडसँग चिच्याएको, ज्यान फालेर चलमलाएको र मुर्छै पर्ने गरी छट्पटाएको आवाजले दालचन निद्राबाट अत्तालिँदै उठिसकेका थिए।
श्रीमतीको हालत देखेर सुत्केरी बेथा सुरू भयो भन्ने उनले बुझिहाले।
तर त्यो मध्यरात, त्यो घनघोर वर्षा र त्यो घनघोर गर्जनबीच सुँडेनीलाई डाक्न जाने कुनै उपाय उनीसँग थिएन।
उनले आफूलाई विवश महसुस गरे। लामो लामो सास फेर्दै मनको उकुसमुकुस फोक्सोदेखि तानेर बाहिर फाल्न थाले। हातका औंलाहरू पिटिपिटी पड्काउन थाले। घरि आफ्नो मुठ्ठी बटारे, घरि ज्यान तन्काए।
श्रीमतीलाई थोरै भए पनि शीतल होला कि भनेर झ्यालका खापा उघारेका थिए, तर बादलको गर्जन यस्तरी कोठाभित्र छिर्यो र चिसो हुन्डरी यस्तरी हुरहुर गर्दै आयो, उनले तुरून्तै खापा बन्द गरिहाले।
के गरूँ, कसो गरूँको बीचमा उनी हुरहुरिँदै भान्सामा गए। चिसो दाउरामा आगो झोसेर स्वाँस्वाँ चुह्लो फुके। जसै चुह्लो बल्यो, डेक्चीमा पानी राखेर तताउन थाले।
पानी तातुञ्जेल चिन्ता र डरले उनको ज्यान आँतसम्मै तात्तिसकेको थियो।
पानीमा भकभक फोका उठ्न थालेपछि दुइटा झुम्रोले तातो डेक्ची उचालेर कोठामा फर्के र श्रीमतीको साडी घुँडासम्म तानेर सेतो कपडा तातो पानीमा चोबल्दै, निचोर्दै उनको पिँडुला पुछ्न थाले।
संसारकै सबभन्दा ठूलो कष्टसँग जुधिरहेकी श्रीमतीलाई भर दिन दालचन सक्दो प्रयास गर्दै थिए।
अलि बेरमा उनी गायत्रीको शिरछेउ टुसुक्क बसे र आफ्ना हातले उनको निधार मुसार्न थाले।
पसिनाले लुछुप्पै भिजेको अनुहार रूमालले सफा गरिदिए।
घाँटी पुछिदिए।
तलमाथि गरिरहेको उनको छातीमाथि हात राखेर त्यसभित्र उम्लिरहेको पीडाजति आफूले सोहोर्ने कोसिस पनि गरे।
र, अन्तिममा टुसुक्क उठेको पेटको डल्लोमाथि हात फेर्दै गायत्रीले निलेको सूर्यलाई सकुशल धर्तीमा फर्काउन बिस्तारै तलतिर घचेट्न थाले।
गायत्रीले पनि जोडसँग बल लगाइन्।
बल लगाउँदा उनको घाँटी, नाडी र पिँडुलाका नसाहरूमा फेरि टम्म रगत भरिए।
उनलाई एक्कासि आफ्नो ज्यानका पूरै हड्डीहरू एकैचोटि कडककडक भाँचिएजस्तो भएर आयो। जीउभरिका नसामा टम्म भरिएको रगत एकाएक ठाउँको ठाउँ टक्क अडिएजस्तो भएर आयो। पेट हुँडलिएर भित्रका आन्द्रा जम्मै चुँडिएजस्तो भएर आयो।
अनि दुई खुट्टाको बीचमा केही च्याप्पिएजस्तो भएर आयो।
शरीर चिरा परेर दुई खुट्टाको बीचबाट केही तत्व बाहिर निस्किरहेझैं भएर आयो।
उनले लामो सास तानिन्।
लामो सास छाडिन्।
सास तानिन्, सास छाडिन्।
फेरि तानिन्, फेरि छाडिन्।
एक्कासि उनको चित्कारले आकाशको गर्जनलाई नै फिक्का पार्यो।
हिजो राति सपनामा गायत्री देवीले निलेको — एकै गाँसमा सुलुत्तै निलेको — सूर्यको डल्लो दालचनको हातमा थियो।
रगतले लुछुप्पै भिजेको — रातो सूर्यको डल्लो।
निख्खर रातो।
त्यही पल, हो ठ्याक्कै त्यही पल, बाहिर पूर्वी पहाडको टुप्पोमा रातो सूर्यको डल्लो टिलिक्क टल्किँदै थियो।
झिसमिसेमै गाउँभरि हल्ला फैलियो। दालचनको घरको आँगनमा गाउँलेहरूको हुजुम जम्मा भयो।
वैद्य गायत्री देवी र नवजात शिशुको नाडी छाम्न आइपुग्यो। सुँडेनी गायत्री देवी र नवजात शिशु स्याहार्न आइपुगी। झाँक्रीहरू भूत, प्रेत, पिशाचले बास गरेको छ कि भनेर तिनलाई पन्छाउन आइपुगे। ज्योतिष नवजात शिशुको जन्मकुण्डली लेख्न आइपुग्यो। शुभचिन्तकहरू शुभकामना दिन आइपुगे। कोही यत्तिकै तमासा हेर्न आइपुगे।
जो–जो जे–जे कामका लागि आइपुगेका थिए, त्यो–त्यो ती–ती काममा लागे।
सिंगो गाउँ मिलेर बच्चा हुर्किन्छ भन्ने भनाइ दालचनको घरमा ठ्याक्कै झल्किँदै थियो।
त्यसपछि ज्योतिषले घरको आँगनमा डल्लो परेर भुइँमा नेपाली कागज फिँजायो। कागजको पत्रमाथि कालो मसीले धर्सा धर्सा कोर्यो। ती धर्सा धर्साहरूका बीचमा अंकहरू छर्यो। ती अंकहरूको जोड, घटाउ र गुणा गर्यो।
र, दालचनतिर हेरेर मुसुक्क हाँस्दै ग्रह–नक्षत्रको दिशा र अवस्थितिसँग मिल्दोजुल्दो नाउँ सुझायो।
ग्रह–नक्षरको दिशा र अवस्थितिसँग मिल्दोजुल्दो त्यो नाउँ के थियो, हामीलाई थाहा छैन। किनभने, दालचनले त्यो नाउँ राख्न अस्वीकार गरे।
ज्योतिष आनाकानी गर्दै थियो, तर दालचन मान्दै मानेनन्।
उनले आफ्नो छोराका लागि नाउँ सोचिसकेका थिए।
त्यही पल सोचिसकेका थिए, जब घनघोर वर्षाबीच, बादलको घनघोर गर्जनबीच रगतले लुछुप्पै भिजेको रातो सूर्यको डल्लो उनले आफ्नो हातमा समातेका थिए।
‘यो बादलको गर्जनबीच जन्मिएको हो, त्यसैले यसको नाउँ पनि बादलझैं गर्जिनुपर्छ,’ अन्कनाइरहेको ज्योतिषतिर हेर्दै दालचनले आफ्नो निर्णय सुनाए —
गर्जमान गुरूङ।
त्यो सन् १८६१ (विक्रम सम्बत् १९१८) को कुनै एक दिन थियो।
दालचनको जन्म पूर्वी नेपालको इलाम जिल्लामा भएको थियो।
आर्थिक अवस्था एकदमै सामान्य थियो। सम्पत्तिका नाउँमा पाखो बारी र एकाध बाख्राबाहेक केही थिएन। त्यसका बाबजुद मिजास शान्त थियो। न कसैलाई हेप्थे, न कसैलाई हाँक दिन्थे। जसलाई जे पर्दा पनि लौरो टेकेर सबभन्दा अगाडि उभिने उनै हुन्थे। जोसँग पनि नम्र भएर बोल्थे। दालचनको बोली मलमलझैं नरम छ भन्ने त गाउँमा कहावत नै थियो।
गायत्री देवी पनि मिजासिली थिइन्। ज्यादातर समय खेतीपाती र घरगृहस्थीमै बित्थ्यो। फुर्सदको समय गाउँभरिको सुखदुःख बाँड्दै हिँड्थिन्। न कसैसँग उँचो बोल्थिन्, न कसैलाई उल्याउँथिन्। जसलाई जे पर्दा पनि लौरो टेकेर सबभन्दा अगाडि उभिने दालचनको आडमा निधारमा रातो टीका टल्किरहने गायत्री हुन्थिन्।
दालचन गुरूङलाई धनको लोभ थिएन, तर जीवन धान्न पुग्ने धन पनि उनीसँग थिएन। आफू, पत्नी र भविष्यमा सन्तान जन्मिए उसको भविष्य सपार्नलाई चाहिने धन पनि उनीसँग थिएन।
त्यो बेला गाउँमा एउटा लहर थियो — खेती गरेर मुखमा माड हाल्न गाह्रो भए, मुग्लान पस्ने।
त्यो लहरले दालचनलाई पनि लपेट्यो।
एकदिन उनले गायत्रीसँग सल्लाह गरे, ‘सबै जना मुग्लान पस्दै छन्, हामी पनि जाने कि!’
गायत्री केही बोलिनन्।
‘खोई यहाँ बसेर त केही उँभो लाग्ला जस्तो छैन,’ दालचनले फेरि सोधे, ‘तँ के सल्लाह दिन्छेस्?’
जवाफमा गायत्रीले यत्ति भनिन्, ‘खोई म के भनुँ, हजुर जे ठिक ठान्नुहुन्छ। बरू एकचोटि ज्योतिष बालाई चिना देखाउनू न, के भन्नुहुन्छ सुनौं।’
‘ठिक भनिस्,’ दालचनले सही थापे, ‘म भोलि नै ज्योतिष बासँग सल्लाह गर्छु।’
दालचन भोलिपल्ट भोरमै ज्योतिष बाको घर पुगे। मैलो र झुत्रो कपडाको टालोभित्र बेरेर राखेको नेपाली कागजमा कोरिएको आफ्नो चिना ज्योतिष बालाई देखाए।
ज्योतिष बाले चिना पल्टाए।
घोरिएर हेरे।
अनि अलि बेरपछि भने, ‘तेरो भविष्य त एकदमै राम्रो छ दालचन। एकदमै उज्यालो छ।’
दालचन दंग परे।
‘त्यो उज्यालो कहिले आउँछ ज्योतिष बा?’ दालचनले सोधे।
‘आउँदैछ, एकदमै नजिक आउँदैछ,’ ज्योतिष बाले भने, ‘तेरो भविष्य तेरो छोराले बोकेर ल्याउँदैछ। सूर्यजत्तिकै तेजिलो तेरो छोराले।’
दालचन झनै दंग परे। यसपालि त मख्ख परेर उनको निधारका छाला नै मुजा परे।
‘तर तैंले एउटा कुरा याद राख्नुपर्छ,’ ज्योतिष बाले दालचनलाई सतर्क गराउँदै भने।
‘के कुरा ज्योतिष बा?’ दालचन जिज्ञासु सुनिए।
‘तेरो भविष्य त उज्ज्वल छ, तर यो ठाउँमा तेरो भविष्य छैन,’ ज्योतिष बाले विस्तार लगाए, ‘यही ठाउँमा बसिरहिस् भने तेरो छोराको भविष्यमा पनि राहु–केतु मडारिने डर छ। राजासँगै दुश्मनी मोल्नुपर्ने पनि हुनसक्ला।’
दालचन तर्से।
माथिल्ला दाँतको लहरले माथिल्लो ओठ टोके र आफ्नो चिना पढिरहेका ज्योतिष बाका कुरा चुपचाप सुनिरहे।
‘तेरो र तेरो परिवारको उज्ज्वल भविष्य यहाँबाट पूर्वी दिशातर्फ पर्खेर बसेको छ। तँ यहाँबाट पूर्व लाग्। कहाँ जा भनेर भन्दिनँ। त्यो तैंले आफैं खोज्नुपर्छ। म यत्ति भन्छु, तँ यहाँबाट गएको गयै गर्। तबसम्म गएको गयै गर्, जबसम्म तेरो मनमा हो यही ठाउँमा मेरो भविष्य उज्ज्वल छ भनेर अन्तरआत्मादेखि आवाज आउँदैन। जब तँ त्यो ठाउँ पुग्छस्, तँलाई स्वतः आभाष हुनेछ, पुग्नुपर्ने ठाउँ यही हो भनेर।’
यति भनेर ज्योतिष बाले दालचनको चिना फिर्ता दिए।
दालचनले एकचोटि चिनालाई ढोगे, अनि पहिलेजस्तै मैलो र झुत्रो कपडाको टालोभित्र बेरे।
त्यसपछि ज्योतिष बालाई धन्यवाद दिँदै घरतिर लम्के।
भोलिपल्ट भोरमै दालचनले सपत्नी गाउँ छाडे।
त्यो सन् १८५३ (विक्रम सम्बत् १९१०) को कुनै एक दिन थियो।
ज्योतिष बाले भनेझैं दालचन आफ्नी पत्नी गायत्री देवी र केही झोलातुम्ला साथमा लिएर इलामबाट पूर्वी दिशातर्फ हिँडेका हिँड्यै गरे।
उनको पहिलो बसाइ भारतको दार्जिलिङमा भयो।
त्यो बेला भारतमा शासन गरिरहेको अंग्रेज सरकारले भर्खर भर्खरै दार्जिलिङलाई आफ्नो ‘हिल स्टेसन’ बनाएर चिया खेती सुरू गरेको थियो। अंग्रेजहरूको स्वामित्वमा ठुल्ठूला चिया बगानहरू खुलेका थिए।
दालचनले तिनैमध्ये एउटा चिया बगानमा केही समय काम गरे। उनकी पत्नी गायत्री देवी पनि बगानको काममा सामेल भइन्। गायत्री डोकोमा चियाका पात टिप्थिन्, दालचन भारी ओसार्थे।
केही महिना उनीहरूले दार्जिलिङमै बिताए।
यसबीच दालचनले बारम्बार आफ्नो अन्तरआत्मालाई सोधे, ‘के म पुग्नुपर्ने ठाउँ यही हो?’
अन्तरआत्माबाट कुनै जवाफ आएन।
एकचोटि सोधे, दुईचोटि सोधे। तीनचोटिसम्म सोध्दा पनि केही जवाफ नआएपछि उनले दार्जिलिङ छाड्ने निधो गरे।
त्यहाँबाट फेरि उनले आफ्नी पत्नी गायत्री देवी, केही झुम्लातुम्ला र दार्जिलिङमा कमाएर जम्मा गरेको थोरै नगद साथमा लिएर पूर्वी दिशाको बाटो समाते।
त्यो सन् १८५५ को कुनै एक दिन थियो।
उनी दार्जिलिङबाट सरासर कालिम्पोङ नजिकको दलपचन्द गाउँ पुगे। त्यहाँ यो दम्पतीले एक जना स्थानीय ब्राह्मणको जग्गामा खेतीपाती गरेर सामान्य जीवन जिउन थाल्यो।
यहाँ दार्जिलिङको जस्तो कमाइ थिएन, तर त्यहाँभन्दा मनको शान्ति थियो।
दार्जिलिङको जस्तो ठूलो बसोबास थिएन, तर त्यहाँभन्दा यहाँ ठूलो मन भएका मान्छे थिए।
दार्जिलिङको जस्तो सुविस्ता पनि थिएन, तर त्यहाँभन्दा यहाँ सन्तोक थियो।
सानो गाउँ भएकाले सबै झुरूप्प बस्थे, सबथोक झुरूप्पै पार लाउँथे। कसैलाई केही भए सब झुरूप्पै भइहाल्थे।
रहँदाबस्दा दालचनले थोरै सम्पत्ति जोडे। पाखोबारी किने। सानो घर बनाए। दुई–चारवटा बाख्रा किने। एउटा गाई पाले। गाईले दिने दूध बेचेर थोरबहुत कमाइ बढ्यो।
दालचनलाई यो ठाउँ फाप्योझैं लाग्दै थियो, तर जब जब उनी अन्तरआत्मालाई ‘के म पुग्नुपर्ने ठाउँ यही हो’ भनेर सोध्थे, अन्तरआत्माबाट कुनै जवाफ आउँदैन थियो।
अन्तरआत्माले कुनै जवाफ दिइरहेको थिएन, दालचन भने बाहिर सबथोक ठिकठाक देखेर अन्तरआत्मालाई दबाएर बसेका थिए।
यसैबीच दलपचन्द आएको छ वर्षपछि उनको पहिलो सन्तान जन्मियो — गर्जमान गुरूङ।
जुन रात गायत्रीले रातो सूर्यको डल्लो एकै गाँसमा सुलुत्तै निलेको सपना देखिन्, त्यसैको अर्को रात घनघोर वर्षा र घनघोर गर्जनबीच उनले गर्जमानलाई जन्म दिएकी थिइन्।
गर्जमान जन्मिँदा सिंगै गाउँ दालचनको आँगनमा झुरूप्प भएको थियो। वैद्य आएको थियो। सुँडेनी आएकी थिई। झाँक्रीहरू आएका थिए। ज्योतिष आएको थियो। शुभचिन्तकहरू पनि आएका थिए। दालचनलाई सबभन्दा खुसी त त्यति बेला लाग्यो, जब उनले गाउँलेहरूको भीडमा सबभन्दा अगाडि तिनै ब्राह्मण परिवारलाई देखे, जसको खेतमा काम गरेर उनले यहाँको बसाइ थालेका थिए।
गर्जमानको जन्मपछि दालचन घनघोरै खुसी भए। छोराको उज्यालो मुहार देख्दा र ज्योतिषको भविष्यवाणी सम्झिँदा त खुसी उनको घाँटीमा हुलुक्कै भएर उम्लिन्थ्यो र आँखाबाट चुहिन्थ्यो।
सबथोक ठिकठाक थियो, तर एउटा कुरा चाहिँ ठिक थिएन।
अन्तरआत्माले अझै पनि कुनै जवाफ दिइरहेको थिएन।
छोरा जन्मिएपछि पनि उनले फरक फरक दिनमा तीनचोटि सोधे, ‘के म पुग्नुपर्ने ठाउँ यही हो?’
सधैंझैं अन्तरआत्मा मौन रह्यो।
त्यसपछि चाहिँ उनले हार खाए।
र, एकदिन फेरि, आठ वर्ष दलपचन्द गाउँमा बिताएपछि, दालचनले आफ्नी पत्नी गायत्री देवी, छोरा गर्जमान र केही झोलातुम्ला साथमा लिएर गाउँ छाडे।
उनले गाउँ छाड्दा सिंगै गाउँ उनको आँगनमा भेला भएको थियो। सबैले कारण सोधे। नजाऊ भनेर कर गरे। तर दालचन अडिएनन्। गाउँ छाड्नुको कारण पनि कसैलाई बताउन सकेनन्।
चुपचाप निस्के।
र, पूर्वतिर लगातार बढेका बढ्यै गरे।
सन् १८६३ जनवरी १२, अर्थात् विक्रम सम्बत् १९१९ माघ १ गते उनी ‘द्वारपानी’ भन्ने गाउँ पुगे।
सुरूमा उनले भारतकै कुनै गाउँ होला भन्ठानेका थिए। पछि सोधखोज गर्दा थाहा भयो, उनी त भुटानको सीमाभित्र प्रवेश गरिसकेका रहेछन्।
त्यहाँ बसोबास एकदमै पातलो थियो। एकदुक्का मात्र घर थिए। त्यो पनि एउटाबाट अर्को घर निकै पर थियो।
बसाइ पातलो भए पनि उनी के कुरामा खुसी भए भने, ती नेपाली थिए। नेपाली भाषा नै बोल्थे।
त्यहाँ दलपचन्दमा जस्तो सुविस्ता थिएन। गाउँलेहरूको आडभर थिएन। खेती गर्ने ठाउँ थिएन।
त्यहाँ घना जंगल थियो। बाँझो भूमि थियो। बाघभालुको डर थियो।
तैपनि त्यो गाउँ पुगेपछि एकाएक दालचनलाई लाग्यो– हो, म पुग्नुपर्ने ठाउँ यही हो। मेरो भविष्य मलाई पर्खिरहेको ठाउँ यही हो!
त्यो उनको अन्तरआत्माको आवाज थियो।
दालचनले भुटानको अत्यन्तै पातलो बस्ती भएको नयाँ गाउँ द्वारपानीमा आफ्नो नयाँ जीविका आरम्भ गरे।
त्यति बेला द्वारपानीभन्दा दक्षिणतर्फ भारतीय सीमामा अंग्रेजहरूको नयाँ चिया बगान खुलेको थियो। दार्जिलिङमा चिया बगानमा काम गरेको अनुभव संगालेका दालचनले यहाँ पनि अवसर देखे।
अवसर देख्नु मात्र के थियो, उनले झटपट त्यो अवसर छोपिहाले।
उनले चिया बगानलाई चाहिने काठ, घाँसदाउरा, बाँस, रबर लगायतका सामग्रीहरू भुटानबाट आपूर्ति गर्न थाले।
गायत्री पनि दार्जिलिङमा जस्तै चिया बगानमा चियाको पात टिप्न थालिन्।
त्यसैबीच एउटा अर्को अवसर दालचनको ढोका ढक्ढक्याउन आइपुग्यो — उनको भेट एक जना भुटानी ‘काजी’ सँग भयो, जो दक्षिणी भूभागका बसोबासीहरूको निम्ति बन्दोबस्त मिलाउन पारोबाट तल झरेका थिए।
भुटानी काजीलाई भेट्नेबित्तिकै दालचनले भने, ‘भारतीय सीमामा खुलेको चिया बगानलाई कृषिजन्य सामग्रीहरूको खाँचो पर्छ। ती सामग्री हामी भुटानबाट आपूर्ति गर्न सक्छौं।’
यो व्यापारसँग जोडिएको आर्थिक सम्भावना बुझाएपछि काजीले अनुमति दिए।
दालचनले जुन काम व्यक्तिगत पहलमा सुरू गरेका थिए, त्यही काम अब भुटानी सरकारको स्वीकृतिमा गर्न थाले। यसबापत् भुटान सरकारलाई कर पनि तिरे।
दालचनलाई पहिलोचोटि आफ्नो अन्तरआत्माको आवाज सही रहेछ भन्ने लाग्यो।
उनी केही समय त्यही काममा लागिरहे।
व्यापार बढ्यो। आम्दानी पनि बढ्यो।
त्यसपछि उनले अर्को योजना बुने — उत्तरी भेगमा बस्ने डुग्–पाहरूका लागि अत्यावश्यक सामग्रीको बजार चलाउने।
उनले फेरि भुटानी काजीसँग अनुमति मागे।
काजी सहमत भए।
यसका लागि उनलाई सामान किन्न, ओसार्न र बेचबिखन गर्न थप जनशक्तिको खाँचो थियो। त्यो जनशक्ति इलामको आफ्नै पुर्ख्यौली गाउँबाट ल्याउन सकिन्छ भन्ने उनले सोचे र काजीसँग प्रस्ताव राखे।
काजीले यसको पनि अनुमति दिए।
उनी त्यसपछि आफ्नो पुर्ख्यौली गाउँ इलाम फर्के। गाउँ छाडेर हिँडेको एक दशक नाघिसकेपछि उनी आफन्तहरूमाझ फर्केका थिए।
उनले गाउँ गएर आफ्ना निकट इष्टमित्र र आफन्तजनलाई भुटानका बारेमा सुनाए। त्यहाँको अवसर देखाए। र, आफ्नो योजना पनि बताए।
गाउँलेहरू उनीसँगै भुटान जान राजी भए।
त्यसपछि दालचनले भुटान फर्केर द्वारपानीमै एक ठाउँ साप्ताहिक हाट सुरू गरे, जुन ठाउँलाई पछि ‘मंगलबारे’ भन्न थालियो।
हरेक साता मंगलबारको दिन मात्र बजार लाग्ने भएकाले त्यसलाई मंगलबारे भनिएको हो।
त्यो हाटमा उनी भारत र नेपालदेखि विभिन्न सामान लगेर हरेक साता बिक्री गर्थे। नुन, तेल, कपडा, कपास, धागो, सुर्ती, काजु, बदाम लगायत सामग्रीको माग अत्यधिक थियो। यस्ता सामान किन्न उत्तरी भुटानबाट डुग्–पाहरू हुल बाँधेर आउँथे।
बिस्तारै यो हाट यति लोकप्रिय हुँदै गयो, यहाँ भारतीय व्यापारीहरू पनि आफ्ना सामान बेच्न आउन थाले।
भारतीय व्यापारी र उत्तरी भुटानीहरू एकअर्काको भाषा बुझ्दैन थिए। उनीहरूको कुराकानी हातको इसाराले हुन्थ्यो।
व्यापार चम्कियो। व्यापारसँगै हाट चम्कियो।
र, हाटसँगै चम्किए दालचन गुरूङ।
भुटानमा उनको धन र शान दुवै बढ्दै गयो।
दालचनलाई दोस्रोचोटि आफ्नो अन्तरआत्माको आवाज सही रहेछ भन्ने लाग्यो।
त्यसैबीच एउटा अर्को अवसर दालचनको ढोका ढक्ढक्याउन आइपुग्यो।
सन् १८६५ मा भुटान र बेलायतीहरूबीच सिन्चुला सन्धि भएपछि भुटानले आफ्नो केही दक्षिणी भूभाग गुमाएको थियो। उक्त सन्धिअनुसार भुटानले आसाम र बंगाल डुवर्स क्षेत्रका दुई हजार सात सय वर्गमाइलभन्दा बढी क्षेत्रफलको भूमि अंग्रेजहरूलाई सुम्पेर त्यसबापत् वार्षिक ५० हजार भारतीय रूपैयाँ क्षतिपूर्ति पाउँथ्यो।
सन्धि हुनुअघिसम्म भुटानले गुमाएको भूमिको प्रशासन २१ जना नेपालीभाषी, सात जना भोटिया र चार जना कोचेमेचे मण्डलहरूले चलाउँदै आएका थिए। भूमि बेलायतको हातमा परेपछि त्यहाँका जनता पनि रोजगारको प्रलोभनमा परेर बेलायततिरै जालान् भन्ने चिन्ता भुटानी धर्मराजालाई भयो। त्यही भएर तत्कालीन धर्मराजाले तोङ्सा प्रान्तका शासक नामगेल वाङचुक नेतृत्वको एउटा टोली दक्षिण भुटान पठाए र सिन्चुला सन्धिपछि बेलायतीहरूको स्वामित्वमा परेको भूभागमा बस्ने नेपालीभाषीहरूलाई भुटानी भूभागतिर सर्न प्रोत्साहित गरे। उक्त टोलीमा दालचन गुरूङ पनि थिए।
उनीहरूले दक्षिण भुटानका नेपालीभाषीहरूलाई राज्यबाट विभिन्न सुविधा दिने आश्वासनसहित भुटानी भूमिमा बसाइ सारे। सिप्सु, साम्ची, दोरखा, सर्भाङ, चिराङ, दागना, कालीखोला, ताला, न्याउली, बकुल्ली, हस्तिनापुर, धनेसे, लामीडाँडा, गोपिनी, बेतिनी, चामकुना, बाँडा, च्याङमारीको चिलाउने डाँडा, जाँगाटार लगायत गाउँमा नेपालीभाषीहरूको बस्ती बढेको त्यही समयतिर हो।
सिन्चुला सन्धिपछि पनि अंग्रेजहरूसँगको सीमा किचलो साम्य नभएपछि भुटानको पारो प्रान्तका शासक (पोनलोप) राजा रिन्पु दक्षिण सीमाको सुरक्षालाई लिएर सतर्क हुन थाले।
दक्षिण सीमामा कुनै पनि बेला बेलायतीहरूले हमला गर्लान् कि भन्ने खतरा थियो। सीमाको सुरक्षा निम्ति उनी केही बन्दोबस्त गर्न चाहन्थे। तर उनीसँग विकल्प थिएन। रैथाने डुग्–पा भुटानीहरू आफ्नो पुर्ख्यौली हिमाली भेग छाडेर दक्षिण झर्न तयार थिएनन्। दक्षिण सीमामा सैन्य फौज तैनाथ गर्ने अवस्थामा पनि उनी थिएनन्।
यस्तोमा के उपाय गर्ने भनेर पारो शासक राजा रिन्पु मात्र होइन, धर्मराजा पनि उत्तिकै चिन्तित थिए।
धर्मराजाले यस सम्बन्धमा आफ्ना निकटहरूसँग निरन्तर बैठक गरे, तर समाधानको बाटो कसैलाई सुझेन।
त्यही उधेडबूनबीच राजा रिन्पुले झट्ट दालचन गुरूङलाई सम्झे, जो दक्षिण भुटानको सीमानजिक द्वारपानीमा आफ्नो व्यापार जमाएर बसेका थिए र राज्यलाई नियमित कर तिरिरहेका थिए।
दालचनलाई हुकुम दियो भने आफ्नो बूताले भ्याएसम्म दक्षिण सीमाको रक्षा इमानदारीपूर्वक गर्छन् भन्नेमा पारोका शासकलाई विश्वास र भर दुवै भयो।
यही सोचेर उनले धर्मराजासँग परामर्श गरे।
धर्मराजाले पारोको प्रस्तावमा सहमतिको मोहर लगाइदिए।
त्यसपछि राजा रिन्पुले दालचनलाई आफ्नो दरबारमा डाके र धर्मराजासँग भएको समझदारी सुनाउँदै भने, ‘धर्मराजा र म स्वयंले तिमीबाट ठूलो अपेक्षा राखेका छौं दालचन। आशा छ, तिमीलाई हाम्रो प्रस्ताव मञ्जुर हुनेछ।’
‘धर्मराजा र महाराज स्वयंले मलाई यो कामको निम्ति चुन्नुभयो, त्यही नै मेरो निम्ति गौरव र सम्मानको कुरा हो,’ यति भनेर दालचनले आफ्नो हात छातीमा राखे र भने, ‘भुटानको आन, बान र शानमा म कुनै कमी आउन दिने छैन। ज्यानमा एक थोपा रगत भइञ्जेल म भुटानको सीमा रक्षा गर्न लडिरहनेछु।’
राजा रिन्पुले प्रसन्न हुँदै भने, ‘मलाई तिमीबाट यही आशा थियो दालचन। अब तिमी जाऊ र कामको तयारीमा जुट।’
यति भनेपछि राजा रिन्पुले तुरून्तै दालचन र उनका छोरा गर्जमान गुरूङका नाममा ‘जमिनदारी पट्टा’ जारी गराए। यो पट्टासँगै दालचनलाई भुटानी धर्मराजाका तर्फबाट ‘सरदार’ पदवीसमेत दिइयो।
यो सन् १८८७ को कुरा हो।
दालचन र गर्जमान गुरूङका नाममा जारी ‘जमिनदारी पट्टा’ मा उल्लेख भएअनुसार ‘पूर्वमा उचुनपातो नदीदेखि पश्चिममा तुर्सा नदीसम्म फैलिएको भूभाग सरदार दालचन गुरूङ र उनका छोरा गर्जमान गुरूङको जिम्मामा सुम्पिने’ राजाको आदेश थियो।
यसरी दालचन र गर्जमानका नाममा उक्त भूभाग सुम्पिनुको अर्थ ‘अबउप्रान्त त्यस भूभागमा अरू कसैले कुनै पनि किसिमको हकदाबी गर्न पाउने छैन’ भनेर पट्टामा भनिएको थियो। उक्त भूभागमा रहेका ‘माछादेखि माटो, काठदेखि ढुंगा, बाँस–चोयादेखि खेत–खलिहान र जंगलदेखि नदीनाला प्रयोगको पूर्ण हक’ दालचन र गर्जमानलाई नै दिइएको थियो। उनीहरूले त्यहाँका सम्पूर्ण स्रोतसाधन प्रयोग गरेबापत् भुटान सरकारलाई कर तिर्नुपर्थ्यो।
यति मात्र होइन, दालचन र गर्जमानका सन्तान–दर–सन्तानले ‘जग्गा भोगचलन गर्नू, आबाद गर्नू, गुलजार राख्नू, कुनै किसिमको क्षति नपुर्याउनू, उजाड नराख्नू, बाँझो नछाड्नू, बस्ती बसाउनू, रस्ती रसाउनू (कुलो–पैनी चलाउनू) र वातावरण हरियाली कायम गर्नू’ भनेर पनि जमिनदारी पट्टामा प्रस्ट भनिएको थियो।
पारोका शासक राजा रिन्पुको हस्ताक्षरसहित जारी भएको पट्टामा ‘यो आदेशविरूद्ध कसैले उजुरबाजुर गर्न पाउने छैन’ भन्ने बेहोरा पनि परेको थियो।
आफू र आफ्ना छोराका नाममा जमिनदारी पट्टा जारी भएको त्यो दिन दालचनलाई तेस्रोचोटि आफ्नो अन्तरआत्माको आवाज सही रहेछ भन्ने लाग्यो।
दालचनगुरूङलाई सधैं लाग्थ्यो — त्यो रात गायत्री देवीले साँच्चिकै सूर्य निलेकी थिइन्।
त्यसैले त, रातो सूर्यको डल्लोजस्तै तेजिलो र प्रकाशवान् छोरा गर्जमानको जन्म भयो — उनी सोच्थे।
छोराको जन्मपछि नै अवसरका ढोका खुल्दै आए, धन जुट्यो, शान र मान दुवै हासिल भयो — उनी सोच्थे — गर्जमान साँच्चिकै लच्छिन लिएर आएको छ, यसको भविष्य घामजत्तिकै उज्यालो होला, राजाको सानिध्य पाउला, राजाको शक्ति र अधिकार पनि प्रयोग गर्ला!
दालचन यही सोचेर दंग पर्थे र मनमनै बुदबुदाउँथे, ‘मैले अन्तरआत्माको आवाज सुनेर ठिक गरेछु।’
हुन पनि गर्जमान उनले सोचेकै बाटोमा लम्किँदै थिए।
धर्मराजा र पारोका राजा रिन्पुबाट आफू र आफ्ना बाबुका नाममा ‘जमिनदारी पट्टा’ पाएपछि त झन् उनलाई शासकीय काममा अगाडि बढ्नबाट कसैले रोक्न सकेन। दालचनले पनि घरव्यवहारदेखि प्रशासकीय कामकाजको सबै जिम्मेवारी उनकै काँधमा सुम्पिसकेका थिए।
त्यति बेला २६ वर्षको भर्भराउँदो उमेरका गर्जमानले पूर्वमा उचुनपातो नदीदेखि पश्चिममा तुर्सा नदीसम्म फैलिएको दक्षिण सीमान्त भूमिमा नेपालीहरूको बसोबासलाई तीव्रता दिन थाले। आफ्ना बाबु दालचनलाई पछ्याउँदै इलामबाट आएका र अरू थुप्रै नेपाली समूह एकत्रित गरेर उनले दक्षिण सीमान्तमा एक किसिमको ‘मानव किल्ला’ नै निर्माण गराए। त्यो मानव किल्लाले राष्ट्रिय सीमा तय गर्यो। अब भुटानी सीमामा घुस्न चाहने विदेशी सेनालाई पहिलेजस्तो निर्जन जंगल र उजाड भूमिमा सुमसुम छिर्ने सहुलियत थिएन। उनीहरूको पहिलो सामना दक्षिण सीमामा तैनाथ नेपाली मूलका भुटानीहरूसँग हुन्थ्यो। र, भुटानमाथि धावा बोल्न सबभन्दा पहिला ती नेपाली भुटानीहरूले खडा गरेको मानव किल्ला भत्काउनुपर्थ्यो।
सीमा सुरक्षा सँगसँगै गर्जमानले नेपाली मूलका भुटानीहरूको आर्थिक गतिविधि बढाउनमा पनि भूमिका खेले। उनकै सक्रियताले दक्षिण भेगका गाउँ–गाउँमा कुखुरापालन, गाईपालन, तरकारी खेती, फलफूल खेती लगायत दुग्धजन्य वस्तुहरूको उत्पादनमा तीव्रता आयो। यसले गाउँलेहरूको आर्थिक हालत मात्र बदलिएन, राज्यको आम्दानी पनि बढ्यो।
राज्यको आम्दानीका लागि निर्यातमा कर उठाउने व्यवस्था पनि उनले सुरू गरे। त्यो समय भुटानबाट निर्यात हुने वस्तुमा काठ, ढुंगा, बालुवा, रिट्ठो, सुनाखरी, अलैंची, आलु, सुन्तला, नासपाती, कागती, तोरी, सल्लाको खोटो लगायत प्रमुख थिए।
यहाँ एउटा समस्या चाहिँ उत्पन्न भयो।
त्यति बेलासम्म भुटानमा नगद कारोबार चलनचल्तीमा आइसकेको थिएन। भुटानको समग्र अर्थतन्त्र नै परम्परागत वस्तु विनिमय प्रणालीमा आधारित थियो। मान्छेहरू धानसँग कुखुरा साट्थे, खसीसँग घीउ। राज्यलाई कर तिर्दा पनि नगद होइन, जिन्सी नै प्रयोग हुन्थ्यो। आफूले उमारेका अन्न र आफूकहाँ भएका कुखुरा, बाख्रा, हाँस, खसीबोका, घीउ लगायतका कृषिजन्य वस्तु नै राज्यलाई कर तिर्नमा प्रयोग गरिन्थ्यो। कर तिर्नमा सबभन्दा बढी प्रयोग हुने जनावर घोडा थियो। घोडाको दाम धेरै हुने भएकाले एउटै घोडा सुम्पेर एकैचोटि धेरै कर चुक्ता गर्न सकिन्थ्यो। घोडाका हकमा राज्यले एउटा नियम पनि बनाएको थियो। भाले घोडा जन्मियो भने त्यसमा स्वतः राज्यको हक लाग्थ्यो। त्यो घोडा पछि राज्यलाई सुम्पिनुपर्छ भन्ने सोचेरै त्यसको स्याहारसुसार गर्नुपर्थ्यो। पोथी घोडी जन्मियो भने चाहिँ सम्बन्धित व्यक्तिकै हुन्थ्यो।
यसरी सिंगो देश नै वस्तु विनिमय प्रणालीमा चलिरहेका बेला दक्षिण भेगका नेपालीहरूसँग भने राज्यले नगदमा कारोबार गर्न थाल्यो। डुग्–पा भुटानीहरूले जिन्सीमा कर तिर्ने छुट पाइरहँदा पनि नेपालीहरूलाई नगदमै कर तिर्न बाध्य पारियो। राज्य आफैं पैसा नभएर अरूसँग हात फैलाउनुपर्ने अवस्थामा नेपालीहरूलाई मात्र नगद कारोबारको बोझ बोकाइनुले उनीहरू आर्थिक कष्टमा थिए। त्यसमाथि अन्नपातदेखि घरगोठ र गाईभैंसीदेखि भेडाबाख्रासम्मको छुट्टाछुट्टै कर तिर्नुपर्थ्यो। करको दर पनि उच्च थियो। यसले नेपालीभाषीहरूको ढाड नै भाँच्यो।
करको विभेदपूर्ण नियमले भुटानी नेपालीहरूलाई त असन्तुष्ट बनाएको थियो, तर त्यसबाट भइरहेको नगद आयले दरबार सन्तुष्ट थियो।
र, सँगसँगै सन्तुष्ट थियो, गर्जमान गुरूङको कामबाट।
दक्षिण भेगमा नेपाली मूलका भुटानीहरूको बसोबास गराएर उनीहरूको बन्दोबस्त मिलाउनदेखि मानव किल्ला बनेर सीमाको पहरेदारी गर्न र आर्थिक गतिविधि बढाउनमा गर्जमानले देखाएको दक्षता र सक्रियताले भुटानका तत्कालीन शासकहरू प्रसन्न थिए। त्यो उनीहरूले सोचेभन्दा ठूलो उपलब्धि थियो। त्यही भएर भुटानका शासकले गर्जमानलाई दक्षिण प्रान्तको जमिनदारीबाट माथिल्लो तहको राजनीतिक ओहोदामा ताने र काजीको पदवी दिए।
यहाँबाट भुटानको राजनीतिमा गर्जमानको अर्को अध्याय सुरू हुन्छ।
उनलाई भुटान दरबारले कूटनीतिक भूमिका दियो र एक कूटनीतिक प्रतिनिधिमण्डलको सदस्य बनाएर नेपाल पठायो। यो उगेन वाङचुकले भुटानको राजगद्दी सम्हाल्नुभन्दा केही समयअघिको कुरा हो — सन् १९०६, अर्थात् विक्रम सम्बत् १९६३ सालको।
त्यति बेला गर्जमान ४५ वर्षका थिए।
उगेन वाङचुकले ‘भुटानको राज्यव्यवस्था आफूले सम्हाल्न लागेको र अबउप्रान्त भुटानमा वंश परम्परामा आधारित वाङचुकहरूको शासन चल्ने’ सूचना दिन वरिष्ठ भुटानी अधिकारीहरूको एक प्रतिनिधिमण्डल काठमाडौं पठाएका थिए। उक्त प्रतिनिधिमण्डलमा काजी गर्जमान गुरूङसहित उर्ग्येन दोर्जी, मण्डल धनवीर बुढा, कीर्तिमान बुढाथोकी र बलबहादुर सहभागी थिए।
उनीहरूले ‘सदियौंदेखि मित्रवत् सम्बन्ध रहेको नेपालले भुटानको यो महत्वपूर्ण राजनीतिक परिवर्तनमा पनि स्वीकृति, सहयोग र समर्थन गरोस्’ भन्ने सदिक्षा तत्कालीन नेपाली शासक चन्द्रशमशेर जंगबहादुर राणासमक्ष सुनाए।
चन्द्रशमशेरले भुटानी प्रतिनिधिमण्डलको प्रस्तावमा नाइँनास्ती गरेनन्।
उनले उगेन वाङचुकलाई भुटानका नयाँ राजा स्वीकार गरेको लालमोहर जारी गरे।
यति मात्र होइन, उगेन वाङचुकलाई भुटानी राजाका रूपमा स्वीकार गर्न अंग्रेजहरूलाई मनाउनमा पनि चन्द्रशमशेरले महत्वपूर्ण भूमिका खेले। उनले अंग्रेज सरकारका लर्ड मिन्टोसँग उगेन वाङचुकको भेटघाटको बन्दोबस्त मिलाइदिएका थिए।
त्यसपछि सन् १९०७ डिसेम्बर १७, अर्थात् विक्रम सम्बत् १९६४ पुस २ गते मंगलबारका दिन पुनाखामा आयोजित भव्य समारोहबीच उगेन वाङचुक भुटानका नयाँ राजा बने।
यसरी भुटानको शासनमा वाङचुक वंशको उदय गराउन भूमिका खेलेका नेपाली मूलका भुटानीहरूमा गर्जमान गुरूङको नाउँ अग्रपंक्तिमै आउँछ।
गर्जमानभन्दा अगाडि उनका बुवा दालचन गुरूङले पनि भुटानी धर्मराजाको कूटनीतिक प्रतिनिधि भएर थोरै समय काम गरेका थिए। नेपालमा जंगबहादुर राणाको शासन हुँदा उनी एउटा कूटनीति प्रतिनिधिमण्डलमा सहभागी भएर काठमाडौं आइपुगेका थिए। गर्जमानले बाबुको यो बिँडो पनि थामे।
दालचनले आफ्नो अन्तरआत्माको आवाज सुनेर ठिक गरेछन्!
उगेन वाङचुक राजा बनेपछि दक्षिण भुटान आबाद गराउने अभियान पहिलेभन्दा धेरै विस्तार भयो।
दक्षिण भुटानको जंगल क्षेत्र फाँडेर सबैतिर नेपाली मूलका भुटानीहरूको बस्ती बसाउन सके त्यसले मुलुकको कृषि उत्पादन र अर्थतन्त्रलाई निकै फाइदा पुग्ने सम्भावना उनले देखे।
यसको कारण के भने — बीसौं शताब्दीको पूर्वार्द्धमा उगेन वाङचुकले गद्दी सम्हाल्ने बेलासम्म आइपुग्दा भुटानमा नेपाली मूलका बासिन्दाको जनसंख्या उल्लेख्य वृद्धि भइसकेको थियो। यसले स्वाभाविक रूपमा रोजगारको अवसर संकुचित हुँदै गएको हुनुपर्छ। उता त्यति बेलासम्म दक्षिण भूभागमा जनसंख्या तुलनात्मक निकै कम थियो। अधिकांश क्षेत्र घना जंगलले ढाकिएकाले बसोबासयोग्य बनिसकेकै थिएन। त्यसमाथि औलोको भय उत्तिकै थियो। नगन्य मात्र आबादी भएको इलाकामा जंगल–पाखा फँडानी गरी बसोबास गराउँदा भुटानको आयस्रोत बढ्न सक्थ्यो। त्योभन्दा ठूलो कुरा त, अन्न उत्पादन बढेर खाद्य सुरक्षाको समस्या नै सम्बोधन हुन सक्थ्यो। राज्य व्यवस्थित हुँदै जान्थ्यो।
यस्तो सोच मनमा आएपछि राजा उगेन वाङचुकले आफ्ना विश्वासपात्र ‘काजी’ गर्जमान गुरूङसँग विमर्श गरे।
गर्जमानले यसै पनि पारो प्रान्तका शासक राजा रिन्पुबाट प्राप्त ‘जमिनदारी पट्टा’ को अधिकार उपयोग गर्दै पूर्वमा उचुनपातो नदीदेखि पश्चिममा तुर्सा नदीसम्म फैलिएको दक्षिण सीमान्त भूमिमा हकभोग गरिरहेकै थिए। त्यहाँ उनले नेपाली मूलका भुटानीहरूको बस्ती बसालेर आर्थिक गतिविधि बढाउनुका साथै मानव किल्ला बनेर सीमाको पहरेदारी पनि गरिरहेकै थिए।
यसैबाट प्रभावित भएर राजा उगेन वाङचुकले दक्षिण भुटानको जंगल क्षेत्र नेपाली मूलका भुटानीहरूलाई आबाद गराउन छुट्टयाइदिए र त्यसको जिम्मेवारी गर्जमान गुरूङलाई नै सुम्पे।
दक्षिण भूभागको जंगल फँडानी गरेर बसालिएको नयाँ इलाकालाई भुटानीहरूले ‘जोङ्सार’ नाम दिए र त्यहाँ बस्ने नेपालीभाषी भुटानीहरूलाई ‘जोङ्सारपा’ भन्न थालियो। पछि यही नाम परिवर्तन हुँदै ‘ल्होछाम्पा’ भनियो।
गर्जमानले आफूलाई प्राप्त यो नयाँ जिम्मेवारी पूरा इमानदारीसाथ निर्वाह गरे।
र, भुटानको मानचित्रमा ‘ल्होछाम्पा’ को नयाँ इतिहास निर्माण गरे।
भुटानी राजनीतिमा गर्जमान गुरूङको उदय सँगसँगै अन्त्यको कथा पनि जोडिएर आउँछ।
यसका लागि सबभन्दा पहिला भुटानका तत्कालीन प्रान्तहरूबीचको राजनीतिक शक्तिसंघर्ष बुझ्नुपर्ने हुन्छ। हामीले यसबारे अघिल्ला अध्यायमै चर्चा गरिसकेका छौं, तर यहाँ गर्जमानको कथा बुझाउन त्यसलाई फेरि दोहोर्याउँदैछौं।
भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले आफ्नै शासनकालमा भुटानलाई तीन प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए — पारो, तोङ्सा र दागा। यी प्रशासनिक क्षेत्रको नेतृत्व गर्ने शासकलाई ‘पोनलोप’ भनिन्थ्यो।
उन्नाइसौं शताब्दीको प्रारम्भमा यी तीन शासकमध्ये पारो र तोङ्साका शासक आ–आफ्नो क्षेत्रमा शक्तिशाली बनेर उदाए। पारो पोनलोप मातहत पश्चिमी भुटान पर्थ्यो। तिब्बतसँगको व्यापार मार्ग यही पोनलोपको नियन्त्रणमा थियो। त्यस्तै, पूर्वी भुटान तोङ्सा पोनलोप मातहत पर्थ्यो।
यी दुई शाक्तिशाली प्रान्तमध्ये तोङ्सामा वाङचुक वंशको शासन थियो। केन्द्रको शासन कमजोर भएको मौका छोपेर वाङचुक वंशले तोङ्सा क्षेत्रमा आफ्नो राजनीतिक एकाधिकार जमाउन थालेका थिए। त्यसैबीच सन् १९०३–०४ तिर भारतमा शासन गरिरहेको बेलायती साम्राज्यले भुटानको बाटो हुँदै तिब्बतमा आफ्नो सेना पठाउन खोज्यो। बेलायतको यो सैन्य अभियानमा वाङचुकहरूले साथ दिए। उनीहरूले आफ्नो तर्फबाट आवश्यक सहयोग पनि बेलायतीहरूलाई उपलब्ध गराए। पारोका शासक (पोनलोप) भने तिब्बतको पक्षमा उभिए। यही मौका छोपेर बेलायतीहरूको समर्थन र सहयोगमा पारोका शासकलाई प्रतिस्थापन गर्न वाङचुक वंश सफल भयो।
यहीँनिर जोडिन्छ, भुटानको राजनीतिमा उदाएका गर्जमान गुरूङको अन्त्यको कथा।
गर्जमान र उनका बुवा दालचनलाई पूर्वमा उचुनपातो नदीदेखि पश्चिममा तुर्सा नदीसम्म फैलिएको दक्षिण सीमान्त भूमि हकभोग गर्ने अधिकारसहित ‘जमिनदारी पट्टा’ जारी गरिएको कुरा हामीले माथि गरिसकेका छौं। त्यही क्रममा हामीले यो पनि भनिसकेका छौं, यी बाबुछोरालाई त्यो भूमि हकभोग गर्ने अधिकार पारोका तत्कालीन शासक राजा रिन्पुले दिएका थिए। यसबाट के बुझिन्छ भने, गर्जमानलाई राजकीय शासन व्यवस्थामा तान्न पारोका शासकको महत्वपूर्ण भूमिका थियो।
तर समयक्रममा गर्जमान तोङ्सा प्रान्तका शासक वाङचुकहरूसँग निकट हुन पुगे।
जब पारोका शासकलाई प्रतिस्थापन गर्दै तोङ्साका उगेन वाङचुकले समस्त भुटान राज्यको शासनसत्ता आफ्नो हातमा लिए र आफूलाई नयाँ राजा घोषित गरे, तब गर्जमान उगेन वाङचुकसँगै मिल्न गए। त्यति बेला उगेन वाङचुकको दूत बनेर उनको गद्दी आरोहणमा नेपालको स्वीकृति, सहयोग र समर्थनको मोहर लिन काठमाडौं गएको टोलीमा गर्जमान पनि सामेल हुनुले यसलाई पुष्टि गर्छ।
यसरी गर्जमानले भुटानको शासनमा वाङचुक वंशको उदय गराउन भूमिका खेलेको पारोका शासकहरूलाई चित्त बुझेन।
आफैंले हुर्काएको, बढाएको र अत्यन्तै विश्वास गरी दक्षिण भूभागमा हकभोग गर्ने अधिकार दिएको गर्जमान वाङचुकहरूतिर लागेकामा पारोका राजा रिन्पु रिसले आगो भए।
यो रिस उनले लामो समय पालेर बसे।
राजाको उत्तराधिकारी भएझैं रिसको पनि उत्तराधिकारी जन्मियो।
यता गर्जमान राजा उगेन वाङचुकको योजनाअनुसार दक्षिण भुटानको जंगल–पाखा फँडानी गरेर आबाद गराउन तल्लीन थिए। त्यो योजना धेरै हदसम्म पूरा भइसकेको थियो।
त्यही बेला उगेन वाङचुकले आफूलाई भुटानको राजसिंहासनमा बसाल्न महत्वपूर्ण भूमिका खेलेको भन्दै काजी उर्ग्येन दोर्जीलाई दक्षिण भुटानको एजेन्ट नियुक्त गरे र पूरा राजकीय सम्मानका साथ भारतको कालिम्पोङमा लगेर राखे। त्यसअघिसम्म उर्ग्येन दोर्जी दक्षिण भुटानको ‘हा’ जिल्लामा बसेर सिक्किम, नेपाल र ब्रिटिस भारतसँग उगेन वाङचुकको मध्यस्थता गराउने काम गर्थे।
दक्षिण भुटानको एजेन्ट नियुक्त भएपछि उर्ग्येन दोर्जीले नेपाल, आसाम, बर्मा, सिक्किम, कालिम्पोङ र दार्जिलिङतिरका नेपालीभाषीलाई ल्याएर दक्षिण भुटानको आबादी बढाउने जिम्मेवारी पाए। त्यहाँको प्रशासनिक काम हेर्ने र कर संकलन गर्ने जिम्मा पनि उनकै थियो। पछि यही काम उर्ग्येन दोर्जीका छोरा सोनाम तोब्गे दोर्जीलाई जिम्मा दिइयो र उनीपछि जेठा छोरा जिग्मे पाल्देन दोर्जीमा सर्यो। जिग्मे पाल्देन दोर्जी सन् १९५३ मा भुटानका प्रधानमन्त्री नियुक्त भएका थिए। सन् १९६४ मा हत्या हुनुअघिसम्म उनी प्रधानमन्त्री नै थिए।
यसरी दक्षिण भुटानको एजेन्ट नियुक्त भएपछि दोर्जी परिवारअन्तर्गत एक जना कमिस्नर, दुई जना डेपुटी कमिस्नर, चौध जना सब–डिभिजनल अफिसर र केही मुख्तियार तथा मण्डलहरू नियुक्त गरिए। कमिस्नरबाहेक अन्य सबै पदाधिकारी नेपाली समुदायकै थिए। यसले दक्षिण भुटानमा उर्ग्येन दोर्जी र उनका छोराहरूको हैसियत ‘मुकुटबिनाको’ राजा बराबर भयो। उनीहरूले कालिम्पोङमै बसेर दक्षिण भुटानमा आफ्नो स्वायत्त शासन चलाउन थाले। यसका लागि सर्भाङमा कमिस्नरको कार्यालय स्थापना गरियो। सन् साठीको दशकसम्म दक्षिण भुटानको मुख्य अड्डा सर्भाङलाई नै मानिन्थ्यो। गर्जमान गुरूङ र उनीजस्ता अन्य जमिनदारहरूले पनि दोर्जी परिवारकै मातहत काम गर्नुपर्ने भयो। दक्षिण भुटानको जंगल फाँडेर नयाँ बस्ती बसाल्ने काम त्यसपछि दोर्जी परिवार मातहतका कमिस्नरहरूबाट हुन थाल्यो। उनीहरूले चिराङ, लामीडाँडा, दागापेला, सिप्सु, साम्ची, सर्भाङ, फुन्सोलिङ, च्याङबारी, भाङटार, गेलेङफुंग, साम्राङ लगायत ठाउँमा थप बस्ती बसाले।
दक्षिण भुटानको शासन व्यवस्थामा आएको यो परिवर्तनपछि गर्जमान गुरूङको राजनीतिक महत्वाकांक्षा चुलियो। उनले दोर्जी परिवारकै बराबरको कुनै महत्वपूर्ण जिम्मेवारी आफूले पाउने अपेक्षा राखे।
गर्जमानले यस्तो अपेक्षा राख्नु अस्वाभाविक पनि थिएन। किनभने, उगेन वाङचुकको गद्दी आरोहणमा गर्जमान र उनका बुवा दालचनको भूमिका पनि कम थिएन।
यही सोचेर एकदिन उनी थिम्पु दरबार गए र राजा उगेन वाङचुकसँग आफूलाई ‘तीन सरकार’ पद दिन आग्रह गरे।
‘तीन सरकार’ भनेको प्रधानमन्त्री सरहको पद हो। नेपालमा त्यति बेला राणा प्रधानमन्त्रीहरूलाई ‘श्री ३’ भनिन्थ्यो। त्यसैको सिको गर्दै गर्जमानले आफू ‘श्री ३’ उर्फ ‘तीन सरकार’ हुन खोजेका थिए।
भुटानी राजाले गर्जमानको यो आग्रहलाई कसरी लिए, त्यो हामीलाई थाहा छैन। गर्जमानको तेज र तीक्ष्णता देखेर उनलाई उक्त पद दिन पनि सक्थे होलान्! तर पारोका तत्कालीन शासक गर्जमानको यस्तो मनसाय थाहा पाएर एकदमै तिल्मिलाए। त्यति बेला पारो प्रान्तका पोनलोप वा शासक छिरिङ पेन्जोर थिए।
कुनै बेला आफ्नो रैती रहेका र आफ्नै पिताले हात समातेर माथि उठाएका गर्जमान एक्कासि शासनसत्ताको उपल्लो ओहोदामा पुग्न आँटेको महसुस गरेर छिरिङ पेन्जोरले षड्यन्त्रको जालो बुने।
पारो दरबारबाट गर्जमानका नाममा निमन्त्रणा आयो।
मित्रवत् रूपमा डाकिएकाले गर्जमानलाई षड्यन्त्रको शंका भएन।
राजा रिन्पुले पालेको रिस छिरिङ पेन्जोरले समेत साँचेर बसेका छन् भन्ने त उनले एक अंश पनि चिताएनन्।
राजाको उत्तराधिकारी भएझैं रिसको पनि उत्तराधिकारी जन्मिन्छ भन्ने उनले हेक्कै राखेनन्।
उनी सरासर छिरिङ राजाको दरबार गए।
उनलाई सम्मानपूर्वक दरबारको बैठक कक्षमा लगियो।
सम्मानपूर्वक आसनमा बसालियो।
त्यसपछि छिरिङ राजाले भने, ‘बधाई छ गर्जमान, तिमी त अब तीन सरकार बन्ने भएछौ। हामी तिमीलाई तीन सरकार मान्न तयार छौं। तिमीले सधैं हाम्रो सहयोग र साथ पाउने छौ। यसमा कुनै दुबिधा नलिनू।’
‘महाराज, मैले दुबिधा मान्नुपर्ने कुनै कारण छैन,’ गर्जमानले विनम्रतापूर्वक भने, ‘मैले आफ्नो अतीत भुलेको छैन। मेरो उत्थानमा पारो पोनलोप राजा रिन्पुको कति ठूलो हात छ भन्ने म जीवनपर्यन्त भुल्न सक्दिनँ महाराज।’
छिरिङ पेन्जोर गमक्क परेर उनको कुरा सुन्दै थिए, सायद उनको पेटमा चाहिँ आगो बल्दै थियो!
गर्जमानले अगाडि भने, ‘धर्मराजा र राजा रिन्पुले बुवा र मलाई विश्वास गरेर जारी गर्नुभएको ‘जमिनदारी पट्टा’ कै बलमा म यहाँसम्म आइपुगेँ। हजुरहरूले मलाई खेलको काइदा सिकाउनुभयो, खेल्न खुला मैदान पनि दिनुभयो। त्यही मैदानमा खेल्दै खेल्दै म यहाँसम्म आइपुगेँ महाराज।’
छिरिङ पेन्जोर ओठमा मुस्कान छर्दै उनको कुरा सुन्दै थिए, सायद उनको मुस्कानभित्र रिसको ज्वालामुखी उम्लिँदै थियो!
गर्जमानले फेरि भने, ‘म आज पनि हजुरको सेवामा तत्पर छु महाराज। सेवकलाई हुकुम मात्र दिनुहोस्।’
छिरिङ पेन्जोरले यसपालि अनुहारमा कुनै प्रतिक्रिया देखाएनन्, सायद गर्जमान अब उनको हुकुमभन्दा धेरै माथिको हैसियतमा पुगिसके भन्ने उनले बुझिसकेका थिए!
उनी जुरूक्क आफ्नो गद्दीबाट उठे। उनीपछि गर्जमान पनि उठे।
छिरिङ पेन्जोर गर्जमानको नजिक गए र उनलाई अँगालो हाल्दै भने, ‘आज मैले तिम्रो सम्मानमा भोजन आयोजना गरेको छु।’
‘हवस् महाराज,’ गर्जमानले भने।
त्यसपछि दुवै भोजन कक्षतिर बढे।
गर्जमान गुरूङ छिरिङ राजासँगै सन्ध्याकालीन राजकीय भोजनमा सामेल भए।
उनका लागि त्यो भोजन कहिल्यै अन्त्य भएन।
उनी त्यसपछि पारो दरबारबाट कहिल्यै बाहिर निस्केनन्।
भनिन्छ, त्यही सन्ध्याकालीन राजकीय भोजनका क्रममा विष खुवाएर गर्जमान गुरूङको हत्या गरियो।
धेरै वर्षअघि ज्योतिषले भनेअनुसार नै गर्जमानले आफ्नो जीवनमा राजाको सानिध्य पाए। राजकीय शक्ति र अधिकार पनि प्रयोग गरे।
तर त्यही राजाको सानिध्य र राजकीय शक्ति र अधिकारले नै उनको ज्यान लिन सक्छ भन्ने अशुभ खबर चाहिँ सायद ज्योतिषले त्यस दिन दालचनलाई सुनाएको थिएन।
यहाँ दालचनको अन्तरआत्माको आवाज सही भयो कि गलत, हँ!
गर्जमान गुरूङको हत्या कहिले भयो भन्ने ठ्याक्कै तिथिमिति हामीलाई थाहा छैन।
कतिले उनको हत्या सन् १९२३ आसपास भएको बताउँछन्। कतिले सन् १९४३ मा भएको पनि भन्छन्।
सन् १८६१ मा जन्मिएका गर्जमानको हत्या १९२३ आसपास भएको मान्ने हो भने उनी लगभग ६२ वर्ष बाँचे। १९४३ तिर मारिएको मान्ने हो भने ८२ वर्ष बाँचे।
हामीलाई दालचन र गर्जमान गुरूङको यो जीवनकथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, स्वर्गीय डा. भम्पा राई र बेलडाँगी शिविरमा भेटेका दर्जनौं शरणार्थीहरूले सुनाएका हुन्।
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा पनि दालचन र गर्जमान गुरूङको जीवनकथा उतारेका छन्। गर्जमानका नाति डिबी गुरूङ, जो नेपालीभाषी भुटानीहरूको राजनीतिक संगठन भुटान स्टेट कंग्रेसका नेता थिए, उनको १६ पृष्ठको अपूर्ण जीवनीलाई माइकलले किताबमा उद्धृत गरेका छन्। हामीले लेखेको जीवनकथा माइकलको किताबमा पनि आधारित छ।
टेकनाथ रिजालले झापाको बिर्तामोडस्थित आफ्नो घरको बैठक कक्षमा बसेर हामीलाई गर्जमानको कथा सुनाउँदै भनेका थिए, ‘भुटान दरबार आफ्ना सन्ततिबाहेक अरू कसैलाई पनि राजनीतिमा उदाएको देखी सहँदैन। ऊ आफ्नो स्वार्थ छउञ्जेल जसलाई पनि प्रयोग गर्छ, माथिल्लो ओहोदामा पनि लग्छ, तर स्वार्थ पूरा भएपछि माखा टिपेर मिल्काएझैं मिल्काउँछ।’
‘गर्जमान गुरूङ पनि तल्लो तहबाट उठेर भुटानी शासनको माथिल्लो तहसम्म पुगे,’ उनले अगाडि भने, ‘जब भुटान दरबारको स्वार्थ पूरा भयो, उनलाई माखो मिल्काएझैं मिल्काइयो, उनको हत्या गरियो।’
रिजालले गर्जमान गुरूङको हत्यामा स्वयं वाङचुक वंशकै षड्यन्त्र हुनसक्ने शंका पनि गरेका छन्।
उगेन वाङचुक राजा भइसकेपछि करिब डेढ दशक गर्जमानले ‘काजी’ का रूपमा दक्षिण भुटानको हकभोग गरिरहे। नेपालीभाषी भुटानीहरूको बाहुल्य रहेको दक्षिण भुटानमा स्वाभाविक रूपले गर्जमान अत्यन्तै शक्तिशाली थिए। त्यहाँ राजाभन्दा उनकै कुरा बढ्ता सुनिन्थ्यो, उनकै सम्मान बढ्ता थियो। उनलाई अंग्रेजहरूले ‘रायबहादुर’ पदवीसमेत दिएको रिजाल बताउँछन्।
अंग्रेज शासकहरूले भुटानको तोङ्सा प्रान्तबाट आउने लुटेराहरूलाई तह लगाउने जिम्मेवारी पनि गर्जमान गुरूङलाई नै दिएका थिए। त्यस्तै, नेपालका प्रधानमन्त्रीहरू जंगबहादुर, वीरशमशेर र चन्द्रशमशेर राणाले उनलाई नेपालीभाषी भुटानीहरूको धर्म रक्षा र जातसँग सम्बन्धित मुद्दा फैसला गर्न सक्ने अधिकारसहितको लालमोहर पनि दिएको रिजालको भनाइ छ।
यसरी भुटानकै हिस्सा रहेको दक्षिण प्रान्तमा आफूभन्दा गर्जमानको बोलबाला चलेको भुटानी राजालाई सह्य भएन, रिजालले भने, ‘त्यसैले जब उनी ‘तीन सरकार’ पद वा अन्य कुनै महत्वपूर्ण भूमिका माग्न दरबार पुगे, त्यसपछि नै उनको हत्या गर्ने षड्यन्त्र सुरू भयो। दक्षिण भुटानको एजेन्ट नियुक्त दोर्जी परिवारले पनि गर्जमानको लोकप्रियता देखेर उनीविरूद्ध राजाको कान भर्न थालेको थियो। यही क्रममा गर्जमानलाई छलपूर्वक पारो दरबार डाकेर विष खुवाएर हत्या गरियो।’
‘गर्जमानलाई ‘तीन सरकार’ पद दिए त नेपालमा राणाहरूले राजवंशलाई खोपीको देउता बनाएर शासन चलाएझैं यहाँ पनि मेरो शासन खर्लप्पै खान्छ भन्ने उगेन वाङचुकलाई डर भयो होला!’ रिजालले भने।
शरणार्थी शिविरका बूढापाका भने गर्जमानको हत्या वाङचुक राजाबाट भएको मान्दैनन्।
पारोका शासकसँग गर्जमानको पुरानो रिसिइबी रहेको र त्यही दुश्मनीको बदला लिन छिरिङ पेन्जोरले पारो दरबारमा डाकेर विष खुवाएर हत्या गरेको उनीहरूको भनाइ छ। माइकल हटले पनि यही कथा किताबमा उल्लेख गरेका छन्।
दुवैथरि भनाइ सही हुन सक्छ — गर्जमानको हत्या वाङचुक राजाबाटै भएको हुनसक्छ! वा, छिरिङ राजाबाट भएको पनि हुनसक्छ!
वा, जसको हातबाट हत्या गराइए पनि त्यसको षड्यन्त्र वाङचुकहरूको दरबारमै बुनिएको थियो कि!
के बेर!
जहाँसम्म हत्या कहिले भएको थियो भन्ने सवाल छ, त्यस सम्बन्धमा माइकल हटले आफ्नो किताबमा अंग्रेज सरकारका तर्फबाट भारतमा खटिएका उच्च सैन्य अधिकारी क्याप्टेन विलियम मोरिसको प्रतिवेदन उद्धृत गरेका छन्। विलियमले सन् १९३३ मा दक्षिण भुटानको सर्वेक्षण गरेका थिए।
‘साम्ची (दक्षिण भुटानको एउटा जिल्ला) मा बसोबास गर्ने पहिलो व्यक्तिहरूमध्ये दालचन गुरूङ एक हुन्। उनी आफ्ना समकक्षीभन्दा तीक्ष्ण र दूरदर्शी थिए। समयक्रममा उनले यो क्षेत्रमा हकभोग गर्न भुटान सरकारबाट अधिकार प्राप्त गरे। अहिले यो ठाउँ नेपाली मूलका भुटानीहरूको बढी बसोबास भएको क्षेत्रमा पर्छ,’ विलियम मोरिसको प्रतिवेदनमा छ।
त्यति बेला विलियमको भेट २५ वर्षीय हेमराज गुरूङसँग भएको थियो, जो दालचनका नाति र गर्जमानका छोरा थिए। गर्जमानका चार सन्तानमध्ये हेमराज जेठा थिए। क्याप्टेन मोरिसले हेमराजलाई भेट्दा नै दक्षिण भुटानको साम्ची जिल्लामा पर्ने जग्गाहरूको स्वामित्व उनको नाममा सरिसकेको थियो। अर्थात्, त्यति बेला गर्जमान जीवित थिएनन्।
‘मोरिसको उक्त सर्वेक्षणलाई आधार मान्दा गर्जमान गुरूङको मृत्यु सन् १९३३ भन्दा अगाडि नै भइसकेको देखिन्छ,’ माइकल लेख्छन्, ‘तर नेपालीभाषी भुटानीहरूमा उनको प्रभाव यति गहिरो थियो, उनीहरूले पछिसम्म पनि दक्षिण भुटानमा आफ्नो अधिकार प्रमाणित गर्न त्यही नामको अस्तित्व बोकेर हिँडिरहे।’
यो क्रम आजसम्म जारी छ।
शिविरमा भेटिएका शरणार्थीहरू गर्जमानको नाम लिँदा गर्व गर्छन् र उनले भुटानमा ‘नेपाली मूलका बासिन्दाको गौरव राखेको’ बताउँछन्।
‘गर्जमानले दक्षिण भुटानलाई आबाद गराउन ठूलो भूमिका खेले। जंगल फाँडेर खेती गराए, बस्ती बसालेर आर्थिक क्रियाकलाप बढाए। भुटानको आर्थिक अवस्था उकासे, दक्षिणी सीमामा भएका हमला रोक्न लडे–भिडे। यी सब काम गरेपछि उनले ‘तीन सरकार’ पदको आकांक्षा राख्नु स्वाभाविक पनि थियो,’ भुटानी शरणार्थी नेता टेकनाथ रिजालले हामीसँग भने, ‘तर भुटान दरबारलाई नेपाली मूलको रैतीले त्यति उच्च ओहोदा मागेको चित्त बुझेन। उनीहरूले त्यसलाई राजद्रोहका रूपमा बुझे।’
‘र, गर्जमानको नाम सधैंका लागि इतिहासबाट मेटाइदिए।’
गर्जमानको नाम इतिहासबाट मेट्नु त एउटा सुरूआत मात्र थियो, दक्षिण भुटानमा बस्ने नेपालीभाषीहरूको नाम नै इतिहासबाट मेट्ने अन्तहिन शृंखलाको।
गर्जमानगुरूङको यो जीवनकथाले दक्षिण भुटानमा उनले कमाएको शानको कथा मात्र भन्दैन।
ज्योतिषले भविष्यवाणी गरेझैं उनको राजासँगको सानिध्य र राजकीय शक्ति र अधिकार प्रयोगको कथा मात्र भन्दैन।
यो गर्जमान गुरूङको उदय र अन्तको कथा मात्र पनि होइन।
यो दक्षिण भुटानको जंगल–पाखा फाँडेर आबादी गरेका लाखौं नेपाली मूलका भुटानीहरूको बसाइको कथा हो।
उनीहरूले दक्षिण भुटानमा कसरी आफ्नो पाखुरीका बलमा थातथलो बसाले, कसरी आफ्नो रीतिथिति चलाए र कसरी आफ्नो संस्कृतिको डोब छाडे भन्ने सम्झनाको कथा हो।
यो दक्षिण भुटानका ‘ल्होछाम्पा’ हरूको इतिहासको कथा हो — जुन इतिहास एक जना गर्जमान गुरूङको अन्त्यले नामेट हुँदैन।
कसरी होस्! यो त दालचन गुरूङको अन्तरआत्माले आवाज दिएको ठाउँ पो हो त!
अध्यायः एघार
भुटानी नेपाली र डुग्–पाको 'नो म्यान्स ल्यान्ड'
भैरूपाका आँखा दिनभरिमा तीनचोटि फर्फराए।
उनी एकाबिहानै घरको आँगनबाट पूर्व फर्केर सूर्य नमस्कार गर्दै थिइन्।
पूर्व डाँडामा सधैंझैं घाम झुल्किएको थियो, तर घामको डल्लो रातो थिएन। आकाशमा मडारिएको गाढा कालो बादलले घामको लाल रङ खर्लप्पै खाइदिएको थियो।
बादलको कालो पर्दा पछाडि छोपिएको फिक्का गुलाबी सूर्य यस्तो प्रतीत हुन्थ्यो, मानौं नवविवाहित दुलही आफ्नो अनुहार देखाउने लाजले घुम्टो ओढेर बसेकी छे।
त्यही बेला, बादलको कालो घुम्टोभित्र छेकिएको फिक्का गुलाबी सूर्य देखेर भैरूपाका आँखा पहिलोचोटि फर्फराए।
त्यसै दिन मध्याह्न उनी भान्साको राखनधरन गर्दै थिइन्।
गाउँका भुराहरू ‘बाघ आयो, बाघ आयो’ भन्दै हुल बाँधेर उनको आँगनमा खैलाबैला गर्न आइपुगे।
भैरूपा हड्बडाउँदै भान्साबाट आँगनमा हाम्फालिन्।
‘खोई कता आयो बाघ?’ प्रश्न सोध्दा उनका आँखा फुस्रा थिए।
भुराहरूले भने, ‘जंगलमा आएछ आमै, हजुरको एउटा बाख्रा पनि लगेछ!’
भैरूपाले अघि बिहान चुह्लो फुक्नुभन्दा अगाडि मात्र गोठमा गएर बाख्राहरूको दाम्लो फुकालेर आएकी थिइन्। र, चर्न छाडिदिएकी थिइन्।
भैरूपा गोठमा भुलुञ्जेल बाख्राहरू त्यहीँ वरिपरि उफ्रिँदै थिए।
उनी गोठबाट फर्केर घर पुग्दा–नपुग्दै ती बाख्राहरू चर्दै चर्दै नजिकै जंगलभित्र छिरे होलान्।
जंगल पातलै थियो। भोकाएको बाघ आहारा पाइन्छ कि भनेर त्यहीँ कुनै झाडीको छेल परेर मौका ढुकी बसेको थियो होला। बाख्राको हुल देख्नेबित्तिकै जिब्रोबाट र्याल काढ्दै बिजुली गतिमा झम्टिन आयो होला।
बाख्राहरू बुर्कुसी मार्दै भागे होलान्।
एकचोटि पनि पछाडि नफर्की दौडिए होलान्।
दौडिएका दौडिए गरे होलान्।
भोकाएको बाघले पनि कुनै हालतमा पछ्याउन छाडेन होला।
अनि, बाख्राको हुलमा सबभन्दा दुर्बल, जसको गति अरूजस्तो तेज थिएन, जो अरूजस्तो बुर्कुसी मार्दै भाग्न सकेन, ऊ च्याप्प बाघको आहारा बन्यो होला।
जसै बाघले त्यो दुर्बल बाख्रालाई आफ्ना धारिला पञ्जाले झम्टियो होला र कोदालोको फालीजस्ता तिखा दाँतहरूले च्याप्प गर्दन निमोठ्यो होला, त्यो बेला अघिदेखि सास थामेर कुदिरहेका अरू बाख्राहरू ठाउँको ठाउँ टक्क अडिए होलान्।
र, बाघको शिकार बनेको आफ्नो साथीलाई टुलुटुलु हेरिरहे होलान्।
बाघको अर्को शिकार सायद म हुन सक्छु भन्ने रत्तिभर ख्याल नगरी!
भुराहरूका कुरा सुन्नेबित्तिकै भैरूपा गोठतिर दौडिइन्। बाख्राहरूको म्याँ म्याँ परैबाट सुनिँदै थियो।
उनले देखिन् — आठवटा बाख्रामध्ये सातवटा मात्र बचेछ। लखतरान, धुलाम्मे। एउटा अलि ख्वाउटे थियो, दौडिन नसक्ने निर्धो थियो। बाघले त्यसैलाई निलेछ।
हो त्यही बेला, बाघको आहारा बनेको त्यो निर्धो, ख्वाउटे, दुर्बल बाख्रा सम्झेर भैरूपाका आँखा दोस्रोचोटि फर्फराए।
त्यसै दिन साँझ भैरूपा पिँढीमा बसेर गाउँको बाटो हेर्दै टोलाइरहेकी थिइन्।
दुई दिनअघि पारो दरबारको निमन्त्रणामा जाँदा उनका श्रीमानले आज अपराह्नसम्म फर्किन्छु भनेका थिए। अपराह्नदेखि नै उनी सशृंगार श्रीमानको पर्खाइमा थिइन्।
समय घर्किँदै जाँदा मनको छट्पटी बढ्न थाल्यो। बिहानदेखि दुईचोटि अपसगुन परेको र दुवैचोटि आँखा फर्फराएकाले पनि उनको बेचैनी बढेको थियो।
बेलाबेला सास घाँटीमा अड्किएजस्तो हुन्थ्यो। लामो लामो साससँगै उनी मनको चैन तान्न खोज्थिन् र खुइय्य सास छाडेर छातीभित्र गुम्सिएको उकुसमुकुस फाल्न खोज्थिन्।
बिस्तारै घाम ढलपल गर्दै पश्चिम डाँडातिर ढल्कियो।
आकाशमा फाट्टफुट्ट छरिएका सेता बादलहरू केशरी हुँदै गए। पश्चिम आकाशमा केशरी रङ छरिँदै गयो। घामको डल्लो बिहानजस्तो फिक्का गुलाबी त होइन, तर गाढा रातो पनि थिएन।
आहाराको खोजीमा निस्केका चराहरू चिरबिर गर्दै, पखेटा फड्फडाउँदै बथान बाँधेर गुँडतिर फर्के।
चर्न गएका वस्तुभाउहरू घाइँघुइँ गर्दै, एकअर्कालाई ठेलठाल पार्दै हुल बाँधेर गोठतिर फर्के।
घ्वाइँ खेल्न गएका भुराभुरी घारघुर गर्दै, एकअर्कालाई उछिनपाछिन पार्दै ढल्की ढल्की घरतिर फर्के।
बजार गएका गाउँले दम्पतीहरू पनि खासखुस गर्दै, एकअर्कासँग मायालु साउती पार्दै मस्की मस्की गाउँतिर फर्के।
तर अठ्चालीस घन्टाअघि पारो गएका भैरूपाका श्रीमान फर्केनन्।
आज अपराह्नै आउँछु भनेर गएका उनी झमक्क साँझ पर्दासम्म पनि फर्केनन्।
यसअघि जहिले जहिले ढिला हुन्थे, तहिले तहिले कसैका मुखबाट सन्देश पठाउँथे। यसपालि त उनको सन्देश पनि आएन, मान्छे पनि फर्केनन्।
हो त्यही बेला, पारो गएका श्रीमान गर्जमान गुरूङ फर्किने बाटोतिर सशृंगार आँखा बिछ्याइरहँदा भैरूपाका आँखा तेस्रोचोटि फर्फराए।
गर्जमान गुरूङ त्यसपछि कहिल्यै फर्केनन्।
पारो दरबार गएका उनी भित्रै अलप भए।
उनलाई दरबारबाहिर भेट्नेहरू धेरै भेटिए, दरबारभित्र भेट्नेहरू कोही भेटिएनन्।
उनी दरबारमा छिरेको सबैले देखे, दरबारबाट निस्केको देख्नेहरू कोही निस्केनन्।
सकुशल देख्नेहरू धेरै देखिए, कुशलमंगल भन्नेहरू कोही देखिएनन्।
भैरूपाले कयौं दिन दरबारको चक्कर काटिन्। सोधखोज गरिन्।
दरबारका भारदारलाई सोधिन्, गाउँका भरियालाई सोधिन्।
दरबारका सिपाहीलाई सोधिन्, गाउँका सिकर्मीलाई सोधिन्।
कर्मचारीलाई सोधिन्, कारिन्दालाई सोधिन्।
पारोका ढुंगा, माटो, पहाड, पर्वत, नदी, खोला सबलाई सोधिन्। आफ्नो गाउँदेखि पारोसम्म जाँदा–आउँदा, आउँदा–जाँदा एक–एकलाई कोट्टयाई कोट्टयाई सोधिन्।
गर्जमानलाई नचिन्ने त्यहाँ कोही थिएनन्, तर गर्जमानलाई चिनाउनेहरू कोही भएनन्।
घाम उदायो, अस्तायो। ताराहरू चम्के, बिलाए। झरीबादल आए, गए। शित पर्यो, तुसारो झर्यो। प्रचण्ड घामले छाला चिरिक्कै पार्यो।
गर्जमान गुरूङ दरबारभित्र हराएका हरायै भए।
बिस्तारै गाइँगुइँ सुनियो — उनलाई त दरबारभित्रै विष खुवाएर हत्या गरियो रे!
हत्यै गरिएको भए पनि भैरूपाले उनको हाल जान्न चाहेकी थिइन्। सास नभए पनि लाश देख्न चाहेकी थिइन्। कम्तिमा उनको अन्त्येष्टि त गर्न पाइयोस् भन्ने चाहेकी थिइन्।
तर लासधरि उनले देख्न पाइनन्।
गर्जमानको लासधरि पारो दरबारभित्रै अलप भयो।
गर्जमानको सास र लास चुपचाप पचाएको भुटान दरबारले इतिहासबाट उनको नामधरि पचाउन कुनै कसर छाडेन।
त्यसैले त, कुनै बेला दक्षिण भुटानको साम्ची गाउँ नजिकै सौरेनी डाँडाको टुप्पोमा ‘बाउन्न झ्याले दरबार’ बनाएर बसेको भनिने गर्जमान गुरूङको प्रभाव र शक्तिबारे नेपाली मूलका भुटानी शरणार्थीहरू जति धेरै बयान गर्छन्, इतिहासकारहरूले भने उनका बारेमा उति नै कम लेखेका छन्। लियो रोसजस्ता हिमाली भेगको इतिहास लेखनमा गहन काम गरेका अमेरिकी इतिहासकारले पनि गर्जमानबारे उल्लेख गरेका छैनन्। अन्य इतिहासकारको किताबमा पनि या त एकदमै कम प्रसंग छ, या छँदै छैन।
गर्जमानको नाम इतिहासबाट गायब पार्नुको कारणबारे हामीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सोधेका थियौं।
जवाफमा उनले भने, ‘जुन दिन गर्जमानले दरबारमा गएर आफ्नो लागि ‘तीन सरकार’ पद वा त्यस्तै कुनै महत्वपूर्ण भूमिका मागे, त्यही दिनबाट उनी भुटानी सत्ताको निम्ति शत्रु भए। दक्षिण भुटानमा गर्जमानको ख्याति दरबारले देखेकै थियो, त्यहाँ उनको सम्मान ‘राजा’ बराबर नै थियो। त्यसमाथि महत्वपूर्ण भूमिका मागेपछि पूरै सत्ता हत्याउन खोजेको हो कि भन्ने दरबारलाई चिसो पस्यो।’
‘जब दरबार कसैको पछाडि लाग्छ, उसको घरबार खोसिन्छ,’ रिजालले अगाडि भने, ‘गर्जमानको हकमा पनि त्यस्तै भयो। घरबार त खोसिएन, उनको इतिहास चाहिँ मेट्न खोजियो।’
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हट पनि भुटानको राजसंस्थाका लागि गर्जमान गुरूङ ‘राजनीतिक रूपले समस्याग्रस्त’ बनेको बताउँछन्। ‘त्यसैले उनीहरूले दक्षिण भुटानका एक प्रभावशाली र शक्तिशाली पात्र गर्जमानको कथा लुकाए र इतिहासकारहरूसमक्ष त्यही विवरण मात्र प्रस्तुत गरे, जुन दुनियाँलाई देखाउन चाहन्थे,’ माइकलले आफ्नो किताबमा लेखेका छन्।
यसरी गर्जमानलाई आफ्नो बाटोबाट र इतिहासको पानाबाट हटाएपछि दरबारले दक्षिण भुटानको जमिनदारी सम्हाल्ने र स्थानीय बसोबासीहरूबाट तिरो उठाएर राज्यकोषमा बुझाउने जिम्मा अरू कसैलाई दियो।
ती व्यक्ति थिए, झुलेन्द्रबहादुर प्रधान।
झुलेन्द्रबहादुर प्रधानलाई सिप्चु काजी भनिन्थ्यो।
कतिले उनलाई न्याहुले नेवार उर्फ न्याहुली बाबु भन्थे।
यो न्याहुले नेवार भन्ने नाउँ योभन्दा अगाडि पनि एकचोटि आइसकेको छ। तपाईंहरूले सम्झिनुभयो!
एकछिन सोच्नुस् त! कुन अध्यायमा, कुन सन्दर्भमा आएको थियो न्याहुले नेवारको नाउँ?
हामी सम्झाउँछौं है!
गोरखाका राजा राम शाह र प्रथम भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालबीच दौत्य सम्बन्ध कायम भएपछि जब भुटान बसाइँ सर्ने परम्परा सुरू भयो, त्यही क्रममा विक्रम सम्बत् १७१७ मा तेस्रो खेपको नेपाली समूह भुटान गएको थियो। त्यो समूहमा पनि सधैंझैं ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी चारै वर्णका नेपाली समावेश थिए। तीमध्ये सोह्र जनाको नाम हामीले अघिल्लो अध्यायमा समावेश गरेका थियौं।
तिनै सोह्र जनामध्ये न्याहुले नेवार एक थिए।
यी न्याहुले नेवार र ती न्याहुले नेवार एकै होइनन्।
अठारौं शताब्दीको पूर्वार्द्धमा नेपालबाट भुटान गएका न्याहुले नेवार र बीसौं शताब्दीको मध्यमा गर्जमान गुरूङको बेपत्तापछि दक्षिण भुटानको जमिनदारी सम्हालेका झुलेन्द्रबहादुर प्रधान उर्फ न्याहुले नेवार एकै हुन सम्भवै छैन।
तर दुई जनाको नाम एउटै हुनुले हामी अनुमान चाहिँ गर्न सक्छौं — कतै अठारौं शताब्दीमा भुटान गएका न्याहुले नेवार यिनै झुलेन्द्रबहादुर प्रधान उर्फ सिप्चु काजीका पुर्खा त होइनन्!
हुन पनि सक्छ!
के बेर!
खैर यो त हाम्रो अनुमान भयो, साँचो कुरा के भने गर्जमानको हत्या गरेर बेपत्ता पारेपछि भुटान दरबारले दक्षिण भेगको एकल जमिनदारी सुम्पेका व्यक्ति झुलेन्द्रबहादुर प्रधान नै थिए।
यो प्रसंग नेपालीभाषी भुटानी शरणार्थीहरूको इतिहासमाथि अध्ययन गरेका डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनको किताब ‘भुटानः अ मुभमेन्ट इन एक्जाइल’ मा उल्लेख छ। दक्षिण भुटानको लामीडाँडा गाउँमा जन्मिएका ढकाल भुटानको विद्वत वर्गमा गनिन्थे। उनी स्वयं पनि शरणार्थी हुन्।
‘त्यो समय दुई जना प्रभावशाली ठेकेदार थिए — गर्जमान गुरूङ र झुलेन्द्रबहादुर प्रधान,’ डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रन आफ्नो किताबमा लेख्छन्, ‘गर्जमानको हत्यापछि झुलेन्द्रले एक्लै दक्षिण सम्हाले।’
‘यी नेपाली मूलका नेवार ठेकेदारले दक्षिण भुटानका बस्तीहरूबाट हरेक साल निश्चित परिमाणको कर उठाएर राज्यलाई बुझाउने एकल जिम्मेवारी पाए,’ उनीहरू अगाडि लेख्छन्, ‘उनी भुटानी मन्त्री ओम प्रधानका बुवासमेत हुन्।’
गर्जमान र झुलेन्द्र एकै समय दक्षिण भुटानका दुई प्रभावशाली जमिनदार वा ठेकेदार थिए भन्ने केही बेलायती अनुसन्धाताको अध्ययनबाट पनि पुष्टि हुन्छ।
बेलायती अनुसन्धाता चार्ल्स बेलले सन् १९०४ मा दक्षिण–पश्चिम भुटानका विभिन्न क्षेत्र भ्रमण गरी त्यहाँ बस्ने नेपाली मूलका भुटानीहरूको लगत संकलन गरेका थिए। त्यस क्षेत्रका जमिनदार वा ठेकेदारमध्ये गर्जमान निकै शक्तिशाली रहेको उनले उल्लेख गरेका छन्। गर्जमानले जमिनदारी सम्हालेको दक्षिण भुटानको साम्ची गाउँमा उनको अधिकारक्षेत्रभित्र हजारवटा घर रहेको चार्ल्स बेलको प्रतिवेदनमा छ।
त्यति बेला एउटा घरको औसत परिवार संख्या दस जना रहेको आँकडा पाइन्छ। यस आधारमा गर्जमानले सम्हालेको जमिनदारी वा हकभोग गरेको क्षेत्रभित्र दस हजार मान्छे बसोबास गर्थे। उनीहरूको खेतीपातीदेखि आर्थिक क्रियाकलापको सम्पूर्ण जिम्मा गर्जमानकै थियो। त्यसबापत उनी जनतासँग कर असुलेर राजालाई बुझाउँथे।
त्यही समय दक्षिण भुटानका अर्का ठेकेदार झुलेन्द्रबहादुर प्रधान उर्फ सिप्चु काजी उर्फ न्याहुले नेवारको अधिकारक्षेत्रभित्र साढे सात सय घर रहेको चार्ल्स बेलको प्रतिवेदनमा छ। यो भनेको सात हजार पाँच सय जना बासिन्दा हो।
प्रतिवेदनमा अर्का दुई जना ठेकेदारको नाम पनि परेको छ — नन्दलाल क्षत्री र लालसिंह गुरूङ। यीमध्ये नन्दलाल त्यति बेलाका अर्का ठूला ठेकेदारका रूपमा देखिन्छन्। किनभने, उनको अधिकार क्षेत्रभित्र रहेको घर संख्या आठ सय छ। लालसिंह मातहत भने एक सय तीस घर मात्र छन्।
यस हिसाबले नन्दलाल गर्जमानपछिका दोस्रा ठूला जमिनदार हुनुपर्छ। तर जमिनदारी ठूलो भए पनि गर्जमानपछिको जिम्मेदारी झुलेन्द्रको हातमा जानुले उनी खासै प्रभावशाली थिएनन् कि भनेर हामी अनुमान लगाउन सक्छौं।
झुलेन्द्रले सन् १९०३ यता आफ्नो अधिकारक्षेत्रभित्रको भूभागमा खेतीपाती लगायतका काम गराउन ठूलो संख्यामा नेपालीहरूको समूह लिएर आएका थिए भन्ने विवरण लियो रोसको किताब ‘द पोलिटिक्स अफ भुटान’ मा छ। यसबाट पनि झुलेन्द्र कति प्रभावशाली थिए भन्ने बुझिन्छ। यही कारणले गर्जमानपछि दक्षिण भुटानको बन्दोबस्त र कर असुलीको जिम्मा उनलाई दिइएको हुन सक्छ।
गर्जमान, झुलेन्द्र, नन्दलाल र लालसिंह गरी कम्तिमा चार जना साना–ठूला ठेकेदार वा जमिनदारहरूको विवरण बेलायती अनुसन्धाताहरूको रिपोर्टमा पर्नुले बीसौं शताब्दीको मध्यसम्म दक्षिण भुटानमा बसेको नेपालीहरूको घना बसाइ झल्काउँछ।
यो अध्यायमा हामी नेपाली मूलका भुटानीहरूको त्यही बसाइ, बसाइको प्रकृति र बन्दोबस्तीबारे चर्चा गर्नेछौं।
भारतस्थित अंग्रेज सरकारको तत्कालीन अभिलेखअनुसार सन् १८८० दशकको सुरूतिरै कम्तिमा दक्षिण भुटानको ‘हा’ जिल्लामा नेपालीहरूको बाक्लै बस्ती बसिसकेको थियो।
त्यसको करिब दुई दशकपछि सन् १९०५ सम्म आइपुग्दा त्यस्ता नेपाली मूलका भुटानीहरूको संख्या पहाडको फेदीतिर उल्लेखनीय रूपमा वृद्धि हुन थाल्यो।
बेलायती अनुसन्धाता चार्ल्स बेलले ‘बीसौं शताब्दीको पूर्वार्द्धसम्म दक्षिण भुटानमा ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको र उनीहरू धेरै अगाडिदेखि यहाँ बस्दै आएको’ लेखेका छन्।
अंग्रेज सरकारका तर्फबाट भारतमा खटिएका उच्च सैन्य अधिकारी क्याप्टेन विलियम मोरिसले सन् १९३३ मा दक्षिण भुटानको सर्वेक्षण गरेका थिए। उनले त्यति बेला लेखेको प्रतिवेदनमा पनि ‘धेरै नेपालीहरू कम्तिमा ७० वर्षअगाडिदेखि बस्दै आएको’ उल्लेख छ।
क्याप्टेन मोरिसको प्रतिवेदन तत्कालीन समयमा भुटानका ल्होछाम्पाहरूको वृत्तान्त बताउने एक महत्वपूर्ण दस्तावेज हो। माइकल हटले आफ्नो किताबमा उक्त प्रतिवेदन उद्धृत गरेका छन्।
क्याप्टेन मोरिस १९३३ को आफ्नो दक्षिण भुटान यात्रा वर्णन गर्दै लेख्छन् —
‘मैले साम्ची र चिराङ जिल्लाका गाउँहरू सबैतिर घुमेँ। यी दुइटा जिल्लामा मात्र नेपाली मूलका भुटानीहरूको संख्या ६० हजारभन्दा कम छैन। तर पूरै दक्षिण भुटानको कुरा गर्ने हो भने यो संख्या अझ धेरै हुन्छ। किनभने, म सिप्सु जिल्ला पुग्न सकिनँ। त्यसैले मेरो गणनामा त्यहाँ बस्ने नेपालीहरूको संख्या परेको छैन।
‘म साम्ची जिल्ला जाँदा त्यहाँका विभिन्न गाउँमा चारदेखि पाँच हजार घर थिए। प्रत्येक घरमा औसत दस जनाको परिवार बस्थ्यो। मलाई गर्जमान गुरूङका छोरा हेमराजले नै साम्ची जिल्ला घुमाएका थिए। उनी त्यहाँका स्थानीय ठेकेदार हुन्। साम्चीका गाउँहरूमा नेपालीको बसोबास एकदमै बाक्लो थियो। उनीहरूका घर झुरूप्प थिए। चिराङमा पनि लगभग पन्ध्र सय घर रहेछन्।
‘म भारतीय सीमाबाट करिब डेढ किलोमिटर दुरीको सर्भाङ बजार पुगेँ। घना जंगल फाँडेर त्यसको बीचमा बजार बसाइएको रहेछ। चिराङ जिल्लाका बासिन्दाहरूका लागि नजिकको सबभन्दा ठूलो बजार नै त्यही थियो। त्यहाँ करिब ४० वटा झुपडी थिए। सबै झुपडीमा विभिन्न खालका खिद्रीमिद्री सामान बेच्ने पसल थिए। पसल चलाउनेहरू जम्मै नेपाली थिए, जो माथि चिराङ र साम्ची गाउँमा बस्थे। उनीहरूको खेतीपाती पनि त्यहीँ थियो।
‘करिब ६० वर्षअघिसम्म (सन् १८७३ सम्म) चिराङ जिल्लाको पहाडको फेदीमा भुटानीहरूकै बसोबास थियो। १९१० तिर उनीहरूले सधैंका लागि यो ठाउँ छाडे र माथि राजधानी आसपास बस्न गए। त्यसपछि बिस्तारै यहाँ नेपालीहरूको बसाइ सुरू भयो। नेपालीहरूलाई चिराङमा बस्न कुनै रोकतोक थिएन। सुरूमा पूर्वी नेपालका राई र लिम्बूहरू आए। उनीहरूले यहाँको जंगल–पाखा फाँडे, निर्जन भूमिलाई बस्नयोग्य बनाए। बिस्तारै ब्राह्मण र क्षत्री समुदायका मान्छेहरू पनि आउन थाले। त्यसपछि यहाँका राम्रा जग्गा ब्राह्मण र क्षत्रीहरूकै हातमा सर्दै गयो।
‘यसबीच जग्गा किनबेचमा नयाँ नियम लागू गरियो। भुटानीहरूको स्वामित्वमा रहेको जग्गा किन्न नपाइने भयो। बेच्दा पनि नेपाली वा भुटानीलाई मात्र बेच्नुपर्ने भयो। जग्गा किन्नेले भुटान सरकारलाई दस प्रतिशत तिरो तिर्नुपर्थ्यो। बेच्नेले पनि गाउँ प्रमुखलाई पाँच प्रतिशत बुझाउनुपर्थ्यो।’
क्याप्टेन मोरिसका अनुसार सुरूका दिनमा दक्षिण भुटानमा बस्ने नेपालीहरू दुई खालका थिए —
एकथरी ती थिए, जसले पूर्वी नेपालबाट आएर यहाँ कुनै एक ठाउँमा स्थायी बसाइ बसालेका थिए।
अर्काथरी ती, जो एक ठाउँबाट अर्को ठाउँ सरिरहन्थे।
मोरिसले भनेका यी दोस्रो थरीका नेपालीहरू कुनै एक ठाउँ आएर त्यहाँको जंगलमा डढेलो लगाउँथे, रूखबिरूवा काट्थे र जंगल सफा गरेर मलिलो माटोमा दुईदेखि तीन वर्ष खेती गर्थे। धान, मकै र जुट उमार्थे। र, जसै त्यहाँको माटो जर्कट्टो हुँदै जान्थ्यो, उनीहरू अर्को ठाउँ सर्थे। त्यहाँ पनि डढेलो लगाउँथे, जंगल सफा गर्थे र मलिलो माटोमा दुईदेखि तीन वर्ष खेती गर्थे। यो सिलसिला चलिरहन्थ्यो। उनीहरूको स्थायी बसाइ हुन्थेन, त्यसैले साना साना कच्ची झुपडी बनाएर बस्थे।
मोरिस अगाडि लेख्छन् —
‘भुटानको उत्तरी र दक्षिणी भेगबीच एउटा अदृश्य सीमारेखा कोरिएको थियो। उत्तरी भेगमा नेपालीहरू खासै बसोबास गर्दैनथे। त्यहाँ डुग्–पा समुदायका रैथाने भुटानीहरूकै बाहुल्य थियो। यसको मतलब नेपालीहरूलाई उत्तरी भेगमा बस्ने अनुमति नै थिएन भन्ने चाहिँ होइन। तर यी दुइटा समुदायबीच सांस्कृतिक रूपले ठूलो भिन्नता थियो, सायद त्यसैले उनीहरू एकअर्कासँग घुलमिल भएनन्।
‘एउटै राज्य भए पनि नेपाली र भुटानी जनसंख्या एकअर्काबाट अलगथलग बस्ने हुँदा नेपाली समुदायले भुटानी समुदायलाई विस्थापित गर्न खोजेको देखिँदैन। यी दुई समुदायको बसोबास थलोका बीचमा ठूलो क्षेत्रफलको भूमि यस्तो थियो, जुन प्राकृतिक रूपले निर्जन र उजाड थियो। यसले उनीहरूलाई भौगोलिक रूपले नै छुट्टयाएको थियो।’
यहाँ मोरिसले साम्ची जिल्लाको उदाहरण दिएका छन् र भनेका छन् —
‘साम्चीको देन्चुका गाउँबाट एक दिन उत्तर हिँडेपछि राप्लिका भन्ने गाउँ पुगिन्छ। त्यहाँभन्दा अगाडि कुनै बस्ती छैन। दुई दिन लगातार हिँड्ने हो भने बल्ल भुटानीहरू बस्ने पहिलो गाउँ आइपुग्छ। यो दुई दिन हिँड्नुपर्ने भूभाग नै नेपाली र भुटानीहरूको भौगोलिक सीमा हो। यस्तै सीमा अरू जिल्लाहरूमा पनि छ। उत्तरी र दक्षिणी भेगको यो निर्जन र उजाड भूमिलाई नेपाली र भुटानीहरू चरन क्षेत्रका रूपमा प्रयोग गर्छन्।
‘यस्तो ठाउँ धेरैजसो एकदमै पहाडी भूभागमा पर्छ र घना जंगलले ढाकिएको छ। यहाँ बसोबास गर्न सहज छैन। यसले उत्तरी र दक्षिणी भेगमा बस्ने भुटानी र नेपाली समुदायलाई ‘नो म्यान्स ल्यान्ड’ का रूपमा छुट्टयाएको छ। त्यसैले दुई समुदायका मान्छेहरू भौगोलिक कारणले नै एकअर्कासँग मिसिन सक्दैनन्।’
जसरी दुइटा राज्यबीच ‘नो म्यान्स ल्यान्ड’ लाई लिएर कहिलेकाहीँ झगडा पर्छ, भुटानी र नेपालीहरूबीच पनि एकअर्काको क्षेत्र मिचेको भन्दै झडप भएका उदाहरण छन्।
यस्तो झडप त्यति बेला हुन्थ्यो, जब गर्मी याममा नेपाली गोठालाहरू वस्तुभाउ चराउँदै उत्तरी भुटान छिर्थे। वा, भुटानीहरू जाडो याममा वस्तुभाउ चराउँदै दक्षिणतिर झर्थे।
माइकल हटले आफ्नो किताबमा सन् १९२५ को एउटा घटना उल्लेख गरेका छन् —
भएछ के भने, सिप्सु जिल्लाका केही नेपालीको समूह डाँडा उक्लिँदै उक्लिँदै उत्तरी भुटानमा प्रवेश गरेछन्। र, त्यहीँ बस्न थालेछन्।
यो थाहा पाएपछि डुग्–पा सम्प्रदायका मान्छे रिसाए। विरोधमा ओर्लिए।
चर्काचर्की भयो। हात हालाहालसम्मको नौबत आयो।
भुटान सरकारले नेपाली किसान र भोटे जमिनदारबीच झगडा मिलाउन केही सरकारी अधिकारीलाई थिम्पुबाट दक्षिणको दागा जिल्ला पठायो। मिलापत्र गराउन आएको टोलीमा एक जना स्थानीय गाउँ प्रमुख र एक जना बहिदार (लेखापाल) समेत सामेल थिए।
टोलीले दुवै पक्ष राखेर सहमति गरायो, जसअनुसार कुनै पनि नेपालीले ‘नो म्यान्स ल्यान्ड’ नाघेर उत्तरमा घरगोठ बनाए वा वस्तुभाउ चराए सय रूपैयाँ जरिवाना तिर्नुपर्ने भयो। त्यस्तै, कुनै डुग्–पा वा भोटेले ‘नो म्यान्स ल्यान्ड’ नाघेर दक्षिणतिर गई नेपालीहरूसँग ‘गोलमाल’ (झगडा) गरेको पाइए उसले पनि सय रूपैयाँ नै जरिवाना तिर्नुपर्ने भयो।
यो सम्झौताले तत्कालीन समयमा नेपाली र भुटानी समुदायले आपसमा वैमनश्य वा ‘गोलमाल’ नहोस् भनेर कस्तो खालको थिति बसालेका थिए भन्ने छर्लंग हुन्छ।
दुवै पक्षलाई एकअर्काको ठाउँ हस्तक्षेप गर्दा सय रूपैयाँ जरिवाना तिराउने नियमले दुवै समुदायबीच कुनै भेद नराखिएको प्रमाण पनि दिन्छ।
कतिपय ठाउँमा नेपाली र भुटानीबीच खेती र चरनको सौहार्द सम्बन्ध गाँसिएका उदाहरणसमेत छन्।
नेपाली किसानहरू हरेक वर्ष जाडो याममा उत्तरतिरबाट आउने भुटानी गोठालाहरूको पर्खाइमा रहन्थे, ताकि उनीहरूका वस्तुभाउ चरून्, खेतमा गोबर गोब्य्राऊन् र माटो उर्वर होस्, माइकल लेख्छन्, ‘यसबाट उत्तरी र दक्षिणी भेगका जनताको आपसी हित पनि सुरक्षित हुन्थ्यो।’
तत्कालीन समयमा नेपाली र भुटानीहरूबीचको सौहार्द सम्बन्ध झल्काउने एउटा प्रमाण भुटानबाट नेपालका श्री ३ जंगबहादुर राणाका नाममा पठाइएको राजकीय पत्र पनि हो।
विक्रम सम्बत् १९२९ (सन् १८७२) को उक्त राजकीय पत्रमा नेपाली र भुटानका डुग्–पाहरू ‘एकै आँतका दाजुभाइजस्तो प्रेम र वात्सल्यका साथ बस्छन्’ भनेर लेखिएको थियो। त्यति बेला नेपालीहरूको दिनानुदिन बढ्दो बसाइका कारण भुटानले नेपाली मूलका निनिराम सिंह र हरि सिंहलाई दोभाषेका रूपमा प्रयोग गर्दै कूटनीतिक काममा संलग्न गराएको थियो। उनीहरू नेपाली मूलका भए पनि दरबारसँग धेरै व्यवहार गर्नुपर्ने हुँदा थिम्पुमै बस्थे।
इतिहासकार रमेश ढुंगेलले आफ्नो किताब ‘नेपाल भुटान ऐतिहासिक सम्बन्ध र जोङ्–सार–पा एवं ल्हो–छाम्–पा समुदाय’ मा उद्धृत गरेको उक्त राजकीय पत्रमा नेपालका राजा तथा श्री ३ जंगबहादुर राणालाई भुटानका दक्षिणी जंगलमा जंगली हात्ती पक्रन आमन्त्रणसमेत गरिएको देखिन्छ। भुटानका जंगलमा हात्ती पक्रिने प्रसंग दक्षिणी भेगमा जंगल–पाखा फँडानी गरी बसोबास गर्न थालेका नेपालीहरूले दिएको सूचनाका आधारमा चलेको हुनसक्छ। जंगल फँडानी गर्ने क्रममा हात्तीले दुःख दिएपछि नेपालीहरूले भुटानी धर्मराजासँग गुहार मागेको र त्यसपछि भुटानी धर्मराजाले नेपालका राजा र जंगबहादुरलाई हात्ती पक्रिन निम्ता गरेका हुन् कि!
त्यही क्रममा भुटान र नेपालबीचको निकट धार्मिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धका कारण नेपालले भुटानी लामा तथा अधिकारीहरूलाई काठमाडौं आउँदा र फर्किँदा विशेष सुविधा र भन्सार छुटको व्यवस्थासमेत गरिदिएको ढुंगेलले उल्लेख गरेका छन्।
भुटानले नेपाललाई पठाएको राजकीय पत्र, क्याप्टेन विलियम मोरिसको प्रतिवेदन र माइकल हटले दिएका दृष्टान्तहरूबाट हामी के नतिजामा पुग्न सक्छौं भने, बीसौं शताब्दीको मध्यसम्म पनि भुटानका डुग्–पा र नेपालीहरू आपसी सहमति र समझदारीका आधारमा एउटै राज्यभित्र दुई इकाईका रूपमा बसोबास गर्थे। उनीहरूलाई बाँध्ने सहमति र समझदारी भनेको कुनै लिखित दस्तावेज थिएन। कहिलेकाहीँ कुनै कारणले झडप पर्दा लिखित सम्झौता भइहाले पनि अक्सर उनीहरूलाई बाँध्ने डोरी परम्परागत थिति नै थियो। सायद त्यो त्यही थिति थियो, जुन गोरखाका राजा राम शाह र प्रथम भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले बसालेका थिए।
त्यति बेला दुई राज्यको आपसी दौत्य सम्बन्धका आधारमा नेपालबाट लगेर बसालिएका र त्यही परम्पराले पछि पछि पनि निरन्तरता पाइरहेकाले भुटानी डुग्–पाहरू र नेपालीहरूबीच कम्तिमा नागरिक स्तरमा कुनै मनोमालिन्य थिएन। उनीहरू अलग थिए, तर एकै थिए। संस्कृति अलग थियो, तर आस्था एउटा थियो।
दुवै समुदायको त्यो आस्था भनेको सायद राजसंस्थाप्रति थियो। डुग्–पाहरू आफ्नो राजसंस्थालाई मान्थे, नेपालीहरू पनि भुटानी राजसंस्थाप्रति वफादार थिए। राजसंस्थाप्रतिको वफादारी नेपाली मूलका भुटानीहरूले सायद आफ्नो पुर्ख्यौली थलोबाटै लिएर गएका थिए। यता नेपालमा राजालाई विष्णुको अवतार मान्ने चलन देखेर–भोगेर गएका उनीहरूले उता भुटानी राजालाई पनि त्यही रूपमा हेर्न थाले।
नेपालीहरूको आस्थाको स्रोत पहिले नेपाली राजा थिए, अब भुटानी राजा भए।
झापाको बेलडाँगी शिविरमा कतिपय शरणार्थीहरूले अहिलेसम्म भुटानी राजाका तस्बिर फ्रेम गरेर राखेका छन्। कृष्णवीर तामाङ तिनैमध्ये एक हुन्। हामीले उनको झुपडीको भित्तामा वाङचुक वंशका पहिलो राजा उगेन वाङचुकदेखि पछिल्लो राजा जिग्मे खेसर नमग्यालसम्मको तस्बिर फ्रेम गरेर झुन्ड्याइएको देख्यौं। वाङचुक वंशका चौथा राजा जिग्मे सिंघे वाङचुकको तस्बिर पनि त्यसमा थियो। यी उनै राजा हुन्, जसले यी नेपालीभाषी भुटानीहरूलाई आफ्नै देशबाट खेदेर शरणार्थी बनाए।
कृष्णवीरले यी राजाका तस्बिरहरूकै लहरमा पहिलो भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल, गुरू पद्मसम्भव र बुद्धका तस्बिरहरू पनि झुन्ड्याएका थिए। सबै तस्बिर रंगीचंगी खादाले सिँगारेका थिए। उनी यी तस्बिरहरूका अगाडि हरेक दिन धूपबत्ती बाल्थे। पूजा गर्थे। हामी उनको शिविरमा पुग्दा पनि धूपबत्ती बालिएकै थियो।
कृष्णवीर भुटानी राजालाई अझै पनि खुब मान्छन्। राजाप्रति उनको मनमा आस्था मरेको छैन। हामीले उनलाई ‘यिनै राजाले खेदेर तपाईंहरू शरणार्थी हुनुभयो, अझै पनि किन आस्था राख्नुहुन्छ?’ भनेर सोधेका थियौं। उनको जवाफ थियो, ‘हामीलाई भुटानबाट निकालेको राजाले होइन नि! उनलाई त अरूले बहकाएका हुन्। वरपरका दरबारियाहरूले प्रभावमा पारेर उक्साएका हुन्।’
‘राजा भनेको त हामीले मान्नुपर्ने संस्था हो। राजा नरहे भुटान कसरी रहन्छ?’ उनले भने, ‘मलाई विश्वास छ, एकदिन राजाको मन फिर्नेछ, उनलाई आफ्नो गल्ती महसुस हुनेछ। त्यो दिन हामीले फेरि भुटान फर्किन पाउने छौं।’
कृष्णवीरको राजसंस्थाप्रति विश्वास अटल थियो। दक्षिण भुटानका नेपालीभाषी ल्होछाम्पाहरूले सुरूदेखि नै राजसंस्थाप्रति देखाएको यही विश्वास र आस्थाको प्रतिफल हो, उनीहरूले बर्सेनि तिर्ने तिरो र दक्षिण भेगमा हुने आर्थिक गतिविधिहरूले भुटानको समस्त अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै गयो।
बीसौं शताब्दीको मध्यसम्म आइपुग्दा भुटान अधिराज्यको वार्षिक राष्ट्रिय आयको २० देखि ३० प्रतिशत हिस्सा नेपाली मूलका नागरिकले आबाद गरेको दक्षिण भुटानले ओगटेको भारतस्थित अंग्रेज सरकारका विभिन्न अभिलेख र प्रतिवेदनमा उल्लेख छ।
यसबीच भुटान सरकारले दक्षिण भेगमा नेपालीहरूको बसाइ, बन्दोबस्त र उनीहरूबाट कर असुलीको निम्ति तीन तहको प्रशासनिक इकाई व्यवस्था गरेको पाइन्छ।
सबभन्दा माथिल्लो तहमा दक्षिण भुटानमा आबादी बढाउने प्रमुख जिम्मेवारी दिइएको ‘हा’ गाउँको दोर्जी परिवार पर्छ।
कालिम्पोङमा बसोबास गर्ने काजी उर्ग्येन दोर्जी र उनका छोरा सोनाम तोब्गे दोर्जीलाई भुटान दरबारले नै दक्षिण भुटानको मामिला हेर्ने जिम्मेवारी तोकेको इतिहासकार रमेश ढुंगेल बताउँछन्। पछि यही जिम्मा सोनाम तोब्गेका जेठा छोरा जिग्मे पाल्देन दोर्जीमा सर्यो। हामीले यसबारे अघिल्लो अध्यायमा चर्चा गरिसकेका छौं।
दोर्जी परिवारलाई दक्षिण भुटान सम्हाल्ने जिम्मेवारीबापत् भुटान दरबारले ‘देप जिम्पोन’ भन्ने पदवी दिएको थियो, ढुंगेल भन्छन्, ‘नेपालीलाई विभिन्न कामका लागि छनौट गरेर भुटान ल्याउने, दक्षिण भुटानमा आबाद गराउने र नेपाली भाषी भुटानहरूको अरू सम्पूर्ण मामिला हेर्ने जिम्मा दोर्जी बाबुछोराको थियो।’
दोर्जी बाबुछोराले दक्षिण भुटानको बसाइ र बन्दोबस्तसँग जोडिएका यी सारा काम आफू मातहतका ठेकेदार वा जमिनदारमार्फत् गराउँथे, जसमध्ये गर्जमान गुरूङ र झुलेन्द्रबहादुर प्रधान प्रभावशाली थिए।
दरबारबाट जिम्मेवारी पाउने दोर्जी परिवार भए पनि खासमा काम गर्ने भनेका जमिनदारहरू नै थिए। उनीहरू बस्ती बसाउन पनि सक्थे, उठिबास लगाउन पनि सक्थे। राज्यका नाममा कर उठाउने उनै थिए, राज्यका नाममा बन्दुक उठाउने पनि उनै थिए। उनीहरू सजाय पनि दिन्थे, स्याब्बासी पनि दिन्थे। त्यसैले स्थानीय जनतामा जमिनदारहरूकै प्रभाव र प्रभुत्व ज्यादा थियो। गर्जमान गुरूङलाई दक्षिण भुटानका नेपालीभाषी जनताले ‘राजा’ सरह मान्नुको कारण यही हो। र, समय क्रममा गर्जमान गुरूङसँग दोर्जी परिवार र स्वयं भुटान दरबार थर्कमान हुनुको कारण पनि यही हो।
जमिनदारपछि तेस्रो तहको प्रशासनिक इकाईमा पर्थे, मण्डलहरू।
हामीलाई बेलडाँगी शिविरमा भेटिएका शरणार्थीले दिएको जानकारीअनुसार मण्डलहरूले कुनै निश्चित गाउँ वा वडाको प्रमुखका रूपमा काम गर्थे। गाउँलेहरूसँग कर उठाउने र स्थानीय स्तरमा कामदार बाँडफाँट गर्ने जिम्मा उनीहरूकै थियो।
गाउँलेहरूसँग नियमित सम्पर्क पनि मण्डलहरूकै हुन्थ्यो। गाउँलेहरू आफूलाई समस्या पर्दा मण्डलकै आँगनमा पुग्थे। गुनासो छ भने मण्डललाई नै सुनाउँथे। ‘यहाँ नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्ष मातहत वडाध्यक्षहरू भएजस्तै भुटानमा प्रत्येक गाउँमा एक जना मण्डल हुन्छ। उसको मातहत ठाउँ ठाउँमा ‘कारबारी’ नियुक्त गरिएको हुन्छ। कारबारीको काम करको हिसाबकिताब गर्ने हुन्थ्यो,’ बेलडाँगी शिविरका भुटानी शरणार्थी कृष्णवीर तामाङले भने, ‘कारबारीभन्दा तल गाउँबूढा राख्ने चलन पनि थियो।’
मण्डललाई जनप्रतिनिधिका रूपमा लिइए पनि ज्यादातर तिनको नियुक्ति गाउँको सम्मानित परिवारबाट गर्ने चलन थियो, बेलडाँगी शिविरका अर्का एक शरणार्थीले हामीसँगको कुराकानीमा भने, ‘राजगद्दीको उत्तराधिकार बाबुबाट छोरामा सरेजस्तै मण्डलको जिम्मेवारी पनि पुस्तौं पुस्तासम्म एउटै परिवारभित्र हस्तान्तरण भइरहन्थ्यो।’
कतिपय यस्ता शरणार्थी पनि हामीले भेट्यौं, जसका बुबा मण्डल थिए। ‘मेरो बुबाले त्यो पद हजुरबुबाबाट विरासतमा पाउनुभएको थियो, उहाँले पनि आफ्नो बुबाबाट पाउनुभएको थियो होला,’ एक शरणार्थीले भने, ‘हाम्रो पुस्तामा आइपुगेपछि देशबाटै भाग्नुपर्ने अवस्था आयो, नभए बुबापछि मण्डल हुने पालो मेरो थियो।’
यस सम्बन्धमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले हामीलाई भनेका थिए, ‘भुटानबाट लखेटिएकाहरूमा त्यति बेला वा पहिले मण्डल रहिसकेकाहरू पनि प्रशस्तै छन्। मण्डल भनेको भुटान सरकारको प्रतिनिधिजस्तै हो। दरबारको आदेशलाई स्थानीय तहमा पालना गराउने काम मण्डलहरूको थियो। स्थानीय जनताको गुनासो सुनेर त्यसलाई गाउँका जमिनदार हुँदै दरबारसम्म पुर्याउने काम पनि मण्डलहरूकै थियो। कर उठाउने पनि मण्डल हुन्थे, जनतालाई सरकारी श्रममा लैजाने पनि मण्डलहरू नै हुन्थे। त्यसैले जो मण्डल थिए, उनीहरूलाई त खाँटी भुटानी नागरिक नै मान्नुपर्यो नि! उनीहरू कसरी भुटानी नागरिक भएनन्? कसरी उनीहरूलाई राज्यले देशनिकाला गर्यो?’
नेपाली मूलका भुटानीलाई ‘मण्डल’ पदमा नियुक्त गर्ने चलन धेरैअघिदेखि चलेको उदाहरण पाइन्छ।
भुटानी धर्मराजाले दालचन गुरूङ र उनका छोरा गर्जमान गुरूङलाई ‘जमिनदारी पट्टा’ दिनुभन्दा सात वर्षअघि सन् १८८० मै नेपाली मूलका दानवीर बुढा मगरलाई वार्षिक मालपोत उठाउने जिम्मेवारीसहित दक्षिण भुटानका नेपालीहरूको बन्दोबस्त निम्ति ‘मण्डल’ पदमा नियुक्त गरेको इतिहासकार ढुंगेलले लेखेका छन्।
यी दानवीर बुढा भुटान दरबारका एकदमै निकट थिए। सन् १८४९ मा भुटान दरबारबाट नेपाल दरबारमा वार्ता निम्ति पठाएको मैत्री टोलीमा पनि उनी सामेल थिए, ढुंगेल लेख्छन्, ‘दानवीरको मण्डल पदमा नियुक्ति दक्षिण भुटानमा नेपालीहरूलाई मात्र बसोबास गराउने, अरूलाई बस्न नदिने र ती नेपाली मूलका भुटानीहरूलाई आवश्यक निर्देशन दिने र सुव्यवस्था कायम गर्ने उद्देश्यले भएको थियो। यसको निम्ति नेपाली मूलका भुटानीहरूकै तर्फबाट भुटान दरबारमा बिन्तीपत्र बुझाइएको थियो भन्ने पनि देखिन्छ।’
बेलायती क्याप्टेन विलियम मोरिसको प्रतिवेदनमा मण्डललाई ‘सरकारी पद’ का रूपमा परिभाषित गरिएको छ। सरकारले नै बकाइदा मण्डल नियुक्त गर्छ भनेर उनले लेखेका छन्।
अमेरिकी अनुसन्धाता लियो रोसले भने यसलाई ‘राजनीतिक पद’ बताएका छन्। उनका अनुसार हरेक घरका मूलीले भोट हालेर आफ्नो गाउँ वा वडाको मण्डल छान्छन्। यस्ता मण्डलको कार्यकाल तीन वर्षको हुन्छ।
मोरिस र रोसको भनाइबाट हामी के अनुमान लगाउन सक्छौं भने, मण्डल पद कुनै बेला जनताबाटै चुनिन्थ्यो। पछि जनताको हक खोसेर राज्यबाटै नियुक्त गर्न थालियो र बिस्तारै पदमा परिवारवाद हाबी हुँदै गयो।
दक्षिण भुटानमा बस्ने नेपालीहरूको बसाइ र बन्दोबस्तीको कुरा गर्दा दुईवटा पक्षमा चर्चा गर्नुपर्ने हुन्छ — भूस्वामित्व र कर।
हामीले बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरूसँग यसबारे कुरा गर्दा एउटा रोचक घटना भयो। उनीहरू आफूलाई चिनाउँदा नाम, उमेर र गाउँ सँगसँगै एउटा नम्बर पनि भन्थे।
म फलानो, मेरो उमेर यति।
मेरो गाउँ फलानो, मेरो नम्बर यति यति।
हामीलाई लाग्यो — नाउँ, उमेर र गाउँ त ठिकै हो, तर किन उनीहरू यो नम्बरलाई यति महत्वसाथ आफ्नो परिचयसँग जोडिरहेका छन्?
यो नम्बरको अर्थ के हो?
र, किन यो भुटानी शरणार्थीहरूको परिचयसँग झुन्डिएको छ?
हाम्रो जिज्ञासा दलबहादुर दर्जीको कुरा सुनेपछि छर्लंग भयो। उनले त्यो नम्बरको नालीबेली सुनाए र कसरी त्यो नम्बर भुटानी नेपालीहरूको भूस्वामित्वसँग जोडिएको छ, त्यो पनि भने।
दलबहादुर दर्जीले सुनाएको भूस्वामित्व नम्बरको कथा अर्को अंकमा।
अर्को अंक अर्को शुक्रबार।
...