भुटानको ४०० वर्षको कथाः अंक ८
अध्याय एक्काइसः दस शिरवाला रावण
दिनरात चौबीसै घन्टा पानी परिरहने ‘सराप’ लागेको त्यो घना जंगलमा आकाशै छुँलाझैं गरी माथि–माथि तन्किएका अजंग रूखका अजंग लहराहरूको छेल परेर आमाको काखमा गुटुमुटु निदाइरहेको सात वर्षको बालक दिलुले जसै आँखा खोल्यो, उसको अगाडि दस शिरवाला रावण थिए।
दस शिरवाला रावण आफ्नो स्वर्णमहलको राजसभा कक्षमा सुनको सिंहासनमाथि आसन जमाएर बसेका थिए।
उनले आफ्नो दाहिने गोडा देब्रे गोडामाथि खप्ट्याएका थिए। देब्रे गोडाको पाउमुनि भुइँमा उँधोमुन्टो लम्पसार परेको एउटा मानव आकृतिको मूर्ति थियो। रावणले त्यो मूर्तिको ढाडमा कुल्चेका थिए।
उनका दुवै हात सिंहासनको दायाँबायाँ सजाएर राखिएका मानव खप्परमाथि थिए। उनी आफ्ना दुवै हातका औंलाहरू मानव खप्परको तालुमाथि यस्तरी चलाउँदै थिए, मानौं तबला बजाइरहेका होऊन्! उनले औंला चलाउँदा पटटट पटटट आवाज राजसभा कक्षभरि गुञ्जिन्थ्यो।
त्यो बेला राजसभा कक्षमा रावणका औंला र मानव खप्परको घर्षणबाहेक अरू साइँसुइँ केही सुनिएको थिएन।
अलि बेरमा रावणले देब्रे गोडामाथि खप्ट्याएको दाहिने गोडा तल झारे र देब्रे गोडा दाहिने गोडामाथि खप्ट्याए। दाहिने गोडाको पाउ मानव मूर्तिको ठ्याक्कै शिरमाथि पर्यो।
रावणले यसरी आफ्नो जीउ चलाउँदा दस शिरमा लगाएका दसवटा राजमुकुट थर्रर हल्लिए। बीचको मुख्य शिरमा उनले सुनको राजमुकुट पहिरिएका थिए। दायाँतर्फ क्रमशः हीरा, पन्ना, तामा र पित्तलका राजमुकुट थिए भने बायाँतर्फ चाँदी, मोती, माणिक, काँस र फलामका राजमुकुट थिए। हरेक राजमुकुट अनगिन्ती जवाहरातहरूले झलझलाकार थिए।
रावणले आफ्ना बीसवटा कानमा सुनका कुण्डल धारण गरेका थिए। प्रत्येक कुण्डलमा मान्छेको आँखाको नानीलाई छालाले बेरेर झुन्ड्याइएको थियो। उनी जब–जब आफ्नो जीउ चलाउँथे, दस शिर सँगसँगै बीसवटा कानमा झुन्डिएका कुण्डलहरू राजसभा कक्षको दलिनमा झुन्डिएको झुम्मरजस्तो झुल्न थाल्थे।
रावणले दसवटै शिरमा लामो जगल्टा पालेका थिए। बीचको बाहेक अरू सबै शिरको जगल्टा मान्छेको पेट चिरेर खोतलखातल पारिएको आन्द्राले बाँधिएको थियो। बीचको जगल्टा भने खुल्लै छाडेका थिए। त्यसको रङ अरू जगल्टाजस्तो निख्खर कालो थिएन। उनले त्यसलाई मान्छेको आलो रगतमा चोबलेर गाढा रातो बनाएका थिए। सायद राजसभामा छिर्नुभन्दा अलि अगाडि मात्र उनले आफ्नो जगल्टा मानव रगतमा चोबलेर आएका थिए, किनभने रौंबाट अहिलेसम्म आलो रगत तपतप चुहिँदै नै थियो।
दिलुलाई अचम्म चाहिँ के लाग्यो भने, रावणको शिर जति रौद्र देखिन्थ्यो, उनले लगाएको वस्त्र उति नै रूमानी थियो।
रावणले हातले बुनेको रातो बुट्टेदार कपडाको बख्खु लगाएका थिए, जसलाई ‘घो’ भनिन्छ भन्ने दिलुले स्कुलमै जानेको थियो। बेलाबेला गाउँ निरीक्षण गर्न घोडा चढेर आउने सिपाही र सरकारी कर्मचारीहरूले यस्तै बख्खु लगाएको उसले देखेको थियो। अस्ति शुक्रबार आधा दिनको छुट्टीपछि कक्षाबाट हुर्रर बाहिर निस्किँदा अग्लाअग्ला घोडा चढेर स्कुलभित्र छिरेका मोटामोटा सिपाहीहरूले पनि यस्तै बख्खु लगाएका थिए। ती बख्खु लगाएका सिपाहीहरूले स्कुलका कुर्सी, टेबुल र दराज बाहिर आँगनमा मिल्काएका थिए। किताबहरू भुइँमा डुंगुर लगाएर आगो सल्काएका थिए। दिलुले डाँडाको कुइनेटोमा रहेको पिपलको चौतारीमा उभिएर बख्खु लगाएका सिपाहीहरूको आतंक सब हेरेको थियो। त्यो बेला किताबको अक्षरबाट निस्केको आगोको पिरो धुवाँ बतासले उडाउँदै ल्याउँदा दिलुको आँखाबाट आँशु झरेको थियो। त्यसैको दुई दिनपछि त हो, दिलु आफ्ना आमाबा, ठूलोबा, माइलाबा, काइँलाबा र अरू थुप्रै गाउँलेहरूको पछि लागेर दिनरात चौबीसै घन्टा पानी परिरहने यो जंगलमा बास बस्न आएको।
गाउँको सम्झनाले दिलु झस्कियो र रावणले लगाएको बख्खुतिर आँखा गाढेर हेर्यो।
उसले देख्यो — बख्खु माथि घाँटीमा टम्म कसिएको थियो, तल घुँडामा फुकेको थियो। दुरूस्तै ती सिपाहीहरूले लगाएजस्तै।
उसले देख्यो — घुँडामा फुकेको बख्खुले रावणलाई घरिघरि खुट्टा चलाउन सजिलो भइरहेको थियो। उनी आफ्नो गोडामुनि रहेको मानव मूर्तिलाई आफूखुसी कुल्चिन पाइरहेका थिए। जसरी ती सिपाहीहरूले स्कुलका किताबहरू भुइँमा असरल्ल मिल्काएर गोडाले कुल्चेका थिए।
उसले यो पनि देख्यो — रावणले घुँडासम्म आउने बख्खुको ठ्याक्कै मुनि छालाको कालो बुट जुत्ता लगाएका थिए। घाँटीमा सेतो कपडाको फेटा गुथेका थिए, जसका दुई फेर उनको काँधको दुवैतिर हुँदै छातीसम्मै झुन्डिएका थिए। दुरूस्तै ती सिपाहीहरूले लगाएजस्तै।
कतै यी रावण नै गाउँमा आतंक मच्चाउन आएका सिपाही त होइनन्! सिपाहीका हाकिम पो हुन् कि!
यस्तो सोच मनमा के आएको थियो, दिलुले रावणका दस शिरमा तिनै सिपाहीका अनुहारको झल्को देख्न थाल्यो!
उसले अब आफ्नो नजर रावणमाथि टिकाएर राख्न सकेन।
दस शिरवाला रावणको स्वरूपले एक शिरवाला दिलुको सास हुलुक्कै भएर आयो।
उसले रावणबाट नजर हटाएर वरिपरि हेर्यो।
राजसभा कक्षमा रावणले जस्तै बख्खु लगाएका मान्छे थुप्रै थिए। तिनका दस शिर भने थिएनन्।
उसले आफ्ना आमाबा, ठूलोबा, माइलाबा, काइँलाबा, ठूलीआमा, काइँलीआमा र अरू थुप्रै गाउँलेहरूलाई पनि देख्यो। उसले आफ्ना साथीहरू सीता ढकाल, कृष्णलक्ष्मी हुमागाईं, पार्वती परियार, मनमाया लामा, जुना परियारलाई पनि देख्यो। ती सबैलाई फलामको साङ्लाले बाँधेर राजसभा कक्षको बीचमा अपराधीझैं ठिंग उभ्याइएको थियो।
त्यो भीडमा दिलुको लंगौटिया यार ङवाङ पाल्देन भने थिएन। उसको परिवार थिएन। उसका स्कुलका साथीहरू पेम्बा दोर्जी, छिरिङ वाङ्बो, देचेन वाङ्दी, कर्मा ल्हामो, नोर्बु ल्हादेन थिएनन्। छोइदेन, यांकी, पेमा, शेमयाङ पनि थिएनन्। उनीहरूको परिवारका पनि कोही थिएनन्।
यी सब हेर्दै गर्दा दिलुलाई आफ्नै ज्यान भारी हुन थाल्यो। उसले आफैंलाई हेर्यो। त्यसपछि पो चाल पायो, उसको ज्यान पनि फलामको साङ्लाले टम्म बाँधिएको रहेछ। घाँटीदेखि हात, गोडा, जीउ जम्मै।
दिलुले आफ्नो ज्यान चलाउँदा फलामको साङ्ला छनछन बजेको आवाज राजसभा कक्षभरि गुञ्जियो।
यो आवाज सुनेर मानव खप्परको तालुमाथि आफ्ना दस औंला नचाइरहेका रावणका हातहरू टक्क अडिए। उनले दिलुलाई घुरेर हेरे। यसरी घुरेर हेर्दा रावणका बीसवटा आँखा आगोको लप्का छुटेझैं राताराता देखिएका थिए। उनले आफ्ना दुवै गोडा फाटे। यसरी फाट्दा रावणका गोडाले भुइँमा उँधोमुन्टो लम्पसार मानव मूर्तिको शिर र पुट्ठामाथि बेस्कन कुल्चेका थिए।
दिलु डरले थर्कमान भयो।
उसले आफ्ना दुवै आँखा टम्म चिम्लेर भुइँतिर मुन्टो झुकायो। कानमा रावणको लल्कार गुञ्जिँदै थियो।
‘तिमीहरूलाई यसरी नेल ठोकेर यहाँ किन ल्याइयो थाहा छ?’ रावणले सोधे।
रावणले झैं बख्खु नलगाएका गाउँलेहरू मूर्तिवत् चुपचाप उभिइरहे।
‘तिमीहरू कोही पनि मेरा जनता होइनौ,’ रावण भन्दै थिए, ‘तिमीहरू गैरकानुनी रूपले मेरो देशमा घुसेका अतिक्रमणकारी हौ। त्यसैले तिमीहरूलाई यहाँ बस्ने कुनै हक छैन। म तिमीहरूलाई यो राज्यबाट निष्कासन गर्दैछु।’
रावणले अगाडि भने, ‘अब आइन्दा तिमीहरू यो राज्यको सीमाभित्र देखापर्यौ भने तिमीहरूलाई झुन्ड्याएर मारिनेछ।’
यति भनेर रावणले आफ्ना सिपाहीहरूलाई हुकुम दिए, ‘यी अतिक्रमणकारीहरूलाई दक्षिणी सीमान्तको घनघोर जंगलमा लगेर छाडिदिनू। जसले भाग्न खोज्छ, उसलाई त्यहीँको त्यहीँ तरबारले सेर्नू।’
त्यसपछि रावण आफ्नो सिंहासनबाट उठे र भुइँमा उँधोमुन्टो लम्पसार मानव मूर्तिको शिर कुल्चिँदै एकछिन ठिंग उभिए। आगो ओकलिरहेका बीसवटा राता आँखाले चिल्लीबिल्ली परेका दिलु, उनका आफन्तजन र गाउँलेहरूतिर घुरेर हेरे र दसवटा शिर हावामा झुलाउँदै राजसभा कक्षबाट मिलिक्कै बाहिरिए।
जसै रावण राजसभाबाट बाहिरिए, उनले जस्तै बख्खु लगाएका सिपाहीहरूले दिलु, उनका आफन्तजन र गाउँलेहरूलाई यस्तरी छोपे, जसरी चिलले चल्ला छोप्छ।
राजसभा कक्षमा कोलाहल मच्चियो। केटाकेटी र महिलाहरू क्वाँक्वाँ रून थाले। वृद्धवृद्धाहरू बेहोसझैं भए। युवा केटा र केटीहरूले मुठ्ठी उचाल्दै रावणको विरोध गरे। तर मुखबाट एक शब्द निस्किन नपाउँदै बख्खु लगाएका सिपाहीहरूको बुट उनीहरूको ढाड र पुट्ठामा बज्रियो। विरोधमा उठेका स्वरहरू शान्त पारिए। हावामा लहराएको मुठ्ठी भुइँमा ढलेर मूढाझैं भए।
सिपाहीहरूले सबैलाई तान्दै, घिसार्दै, घचेट्दै, लतार्दै राजसभाबाट बाहिर निकाले।
रावणको स्वर्णमहलको आँगनमा ठूलो हुजुम जम्मा भएको थियो। ती सबै दिलुका गाउँलेहरूलाई देश निकाला गरेको हेर्न आएका थिए। कतिको ओठमा मुस्कान नाच्दै थियो भने कतिका आँखा रसाएका पनि थिए। कति सन्तुष्ट देखिन्थे, कति शोकमा पनि थिए।
सिपाहीको बाहुपासमा बाँधिएर भुइँमा लतारिँदै गरेको दिलुले माटोले लतपत आँखा बल्लतल्ल उघार्यो र ती सबैलाई नियाल्यो।
ती सबैले बख्खु लगाएका थिए।
रावणको स्वर्णमहलको आँगनमा त्यस दिन बख्खु लगाउने र बख्खु नलगाउनेहरूबीच भेदको पर्खाल खडा गरिएको थियो।
दिलुले देख्यो — पर्खालको यतापट्टि ऊ थियो, पर्खालको उतापट्टि उसको लंगौटिया यार ङवाङ पाल्देन थियो।
दिलुले देख्यो — पर्खालको यतापट्टि ऊ थियो, पर्खालको उतापट्टि उसको गाउँ थियो।
दिलुले देख्यो — पर्खालको यतापट्टि ऊ थियो, पर्खालको उतापट्टि दस शिरवाला रावण थियो।
बख्खु नलगाएका गाउँलेहरूको लश्कर अगाडि बढ्यो। सबैले हात–हातमा झोलातुम्ला बोकेका थिए। आमाहरूले आफ्ना नानीबाबुका हात चपक्क समातेका थिए। कतिले काखे नानीहरूलाई छातीमा लपक्क च्यापेका थिए। उनीहरूको रूवाबासी र चित्कारले हावामा विष घोलेको थियो। तर त्यो विषले बख्खु लगाएका सिपाहीहरूलाई कत्ति पनि छोएको थिएन। उनीहरू त अग्लाअग्ला घोडामा चढेर भीडमाथि छालाको कोर्रा बर्साउँदै थिए। जसको ढाडमा छालाको कोर्रा बर्सिन्थ्यो, उसको लुगाको टुक्रा मात्र होइन, मासुको चोक्टा पनि हावामा उछिट्टिन्थ्यो। ढाडमा चोट पारेर जब कोर्रा हावामा लहराउँथ्यो, रगतका छिटाहरूले वरिपरिका मान्छेको मुखधरि भिजाउँथ्यो। त्यो बेला चोट खाने मान्छेको ढाड रगतले लुछुप्पै हुन्थ्यो र ऊ भुइँमा लत्रक्कै पर्थ्यो। तर यसरी लत्रक्कै परे पनि लडिहाल्ने छुट गाउँलेहरूलाई थिएन। जो लड्थ्यो, ऊमाथि छालाको कोर्रा फेरि बर्सिन्थ्यो। लुगाका टुक्रा र मासुका चोक्टाहरू फेरि हावामा उछिट्टिन्थे। यसपालि त रगतको छिटाले हावा मात्र होइन, रगतको धाराले माटो नै भिजाउँथ्यो।
दिलुले आमाको हत्केला बेस्कन अँठ्यायो।
आमाले तानेर दिलुको पाखुरा च्याप्प समातिन् र आफ्ना पाइला छिटो छिटो चाल्न थालिन्। उनलाई सिपाहीको कोर्राले दिलुको कमलो ढाड छ्यालब्याल पार्ला कि भन्ने पिर थियो।
सिपाहीहरूले गाउँलेका पाइला तबसम्म अडिन दिएनन्, जबसम्म उनीहरू रावणले भनेको दक्षिणी सीमान्त जंगलको छेउमा पुगेनन्।
आकाशै छुँलाझैं गरी माथि–माथि तन्किएका अजंग रूखहरूको घना जंगलमा पुगेपछि सिपाहीहरूले सबै गाउँलेलाई जंगलभित्र हुले र आफू बाहिर पहरा दिन थाले।
गाउँलेहरूको लश्कर अँध्यारो जंगलभित्र अलप भयो।
दिलु, उसको पाखुरा समातिरहेकी आमा र झोलातुम्ला बोकेर अघि अघि हिँडिरहेका बा पनि गाउँलेहरूसँगै अँध्यारो जंगलभित्र अलप भए।
त्यही बेला — ठ्याक्कै त्यही बेला — दिलुकी आमा हिँड्दाहिँड्दै टक्क अडिएकी थिइन्।
उनले एकछिन माथि आकाशतिर हेरिन्। एकअर्कासँग घम्साघम्सी गरिरहेका जर्कट्ट परेका लामा–लामा लहराहरूले आकाशै ढाकेको थियो। अजंग रूखका अजंग लहराहरूको माकुरीजालोले सूर्यको प्रकाशधरि छेकेको थियो र पूरै जंगल औंसीको रातझैं कालो थियो।
त्यही बेला — ठ्याक्कै त्यही बेला — दिलुकी आमा फरक्क फर्किन् र भर्खरै आफूलाई निकालिएको रावणको राज्यतिर हेर्दै भनिन्, ‘हामीलाई आफ्नो भूमिबाट अलग्याउने हे रावण, तँलाई हाम्रो भूमिको सराप लाग्नेछ! हामीलाई आफ्नो आकाशबाट अलग्याउने हे रावण, तँलाई हाम्रो आकाशको सराप लाग्नेछ। हामीलाई आफ्नो जलबाट अलग्याउने हे रावण, तँलाई हाम्रो जलको सराप लाग्नेछ! हाम्रो सन्तानलाई उसको भविष्यबाट अलग्याउने हे रावण, तँलाई हाम्रो सन्तानको भविष्यको सराप लाग्नेछ! हामीलाई रूवाई रूवाई आफ्नै देशबाट लखेट्ने हे रावण, तँलाई हाम्रो आँशुको सराप लाग्नेछ!’
त्यही बेला — हो ठ्याक्कै त्यही बेला — त्यो घनघोर जंगलको आकाशमा एक्कासि दिउँसै रात पार्ने गरी कालो बादल उम्लिएर आयो।
रावणको गर्जनधरि निस्तेज पार्ने गरी कालो बादल बेस्कन गड्गडायो।
अँध्यारो जंगलमा प्रकाश छर्ने गरी आकाशमा झिलिकझिलिक बिजुली चम्कियो।
अनि, निमेषभरमा पूरै जंगल निथ्रुक्क भिजाउने गरी घनघोर वर्षा सुरू भयो।
त्यही बेलादेखि — हो ठ्याक्कै त्यही बेलादेखि — त्यो घनघोर जंगलको घनघोर वर्षा थामिएकै छैन। दिनरात चौबीसै घन्टा बर्सिएको बर्सियै छ।
अविरल।
यो ठाउँ आमाको सरापबाट कहिले मुक्त होला हँ?
गाउँलेहरू हिँड्दा हिँड्दै एक्कासि अलप भए।
सुरूमा त दिलुलाई लागेको थियो, जंगलको अँध्यारोले नदेखिएका होलान्। तर होइन रहेछ। उनीहरू बिल्कुलै अलप भएका रहेछन्। किनभने, अविरल झरीले हिलाम्मे माटोमा मान्छेको हुल हिँड्दा जुन लचकलचक आवाज आइरहेको थियो, अहिले त्यो आवाज गुम थियो। पानीले आँखा भिजेर नदेखेको भनुँ भने उसले वरिपरिका रूखहरू त जम्मै देखिरहेकै थियो। ती रूखका लामा–लामा लहराहरू देखिरहेकै थियो। अगाडि सुमसुम हिँडिरहेका आफ्ना बुवालाई देखिरहेकै थियो। छेउमा अघिदेखि पाखुरा समातेर सँगसँगै हिँडिरहेकी आमालाई पनि देखिरहेकै थियो। गाउँलेहरू मात्र त्यहाँ थिएनन्। उनीहरू झरीको पानी माटोमा विलीन भएजस्तै घनघोर जंगलमा विलीन भएका थिए।
दिलुलाई तैपनि चिन्ता थिएन। ऊसँग उसका बुवा थिए, उसकी आमा थिइन्।
उनीहरू अलि अगाडि के बढेका थिए, दिलु झसंग भयो। अगाडि–अगाडि सुमसुम हिँडिरहेका बुवा पनि अब अलप भइसकेका थिए।
दिलुले आत्तिएर आफ्नो दाहिनेतिर हेर्यो। त्यहाँ उनकी आमा पनि थिइनन्।
उसले आफ्नो दाहिने पाखुरा हेर्यो। अघिसम्म आमाले उसको त्यही पाखुरा बेस्कन अँठ्याएकी थिइन्। आमाले अँठ्याएको ठाउँमा पाँच औंलाका डाम थिए। तर त्यो डाम छाड्ने आमा त्यहाँ थिइनन्। आमाले अँठ्याएको ठाउँमा उनको स्पर्सको अनुभूति थियो। तर त्यो स्पर्सको अनुभूति छाड्ने आमा त्यहाँ थिइनन्।
दिलुका आमा र बुवा दुवै अलप भइसकेका थिए।
त्यही बेला दिलुले आफ्नो वरिपरि दसवटा मुर्कुट्टा नाचिरहेको देख्यो। ती सबै दस शिरवाला रावणका मुर्कुट्टा थिए। कुनै पनि मुर्कुट्टामा जगल्टा थिएन। सुन, चाँदी, हीरा, मोती र विभिन्न मणिमाणिक्य जडित राजमुकुटले मात्र मुर्कुट्टाको मुडुलो तालु ढाकेको थियो। मुर्कुट्टाहरू हावामा यताउति नाच्दै अट्टहास गर्दै थिए। मुर्कुट्टाको मुखबाट मानव रगत मिसिएको र्याल चुहिँदै गरेको प्रस्टै देखिन्थ्यो। गाला र ओठहरू पनि रगतले लाल थिए।
दिलुले बुझिहाल्यो — जंगलसम्म पछ्याउँदै पछ्याउँदै आएका दस शिरवाला रावणले उनका आमाबुवा र गाउँलेहरू सबैलाई निलिसकेछन्। बाघले बाख्रा लुछेझैं लुछी लुछी खाएछन्। भीमसेनले दुशासनको छाती चिरेझैं रावणले पनि सबैका छाती चिरेछन् र सोझै मुटुबाट घटघट रगत पिएछन्।
दिलुलाई आफ्नो मुटु ठाउँको ठाउँ टक्क अडिएझैं भयो। सास हुलुक्कै घाँटीको किलकिलेसम्म आइपुग्यो। छातीमा गह्रौं ढुंगाले थिचेजस्तो भयो। शरीरका सारा रक्तनलीहरूमा एक्कासि रगत बग्नै छाड्यो। ऊ डरले कालो–नीलो भयो। हातगोडा फतक्क गले। जीउभरि मसिना काँडा उम्रे र ज्यान लुगलुग काम्न थाल्यो।
दिलुले तुरूक्कै पिसाब फेर्यो।
झरझर झरीले चिसो भएको गोडा तुरतुर पिसाबले तातो भएर आएको उसले महसुस गर्यो।
पिसाबको धार एकदमै तेज थियो। आकाशबाट झरेको अविरल झरीझैं उसको पिसाबको धारा पनि झरेको झर्यै भयो।
यस्तरी झर्यो, दिलु जुन माटोमा टेकेर उभिएको थियो, त्यो माटो नै पाप्रा पाप्रा उप्किँदै लत्तत्त बग्न थाल्यो।
चिसो पानी र तातो पिसाबले गलाएको हिलाम्मे माटोमा दिलुले लुगलुग कामेका आफ्ना गोडाहरू थाम्न सकेन।
ऊ माटोमा चिप्लियो।
जसै दिलु चिप्लियो, भुइँमा पहिरो आएझैं भयो। तहतह माटो एकपछि अर्को बग्दै गयो।
र, माटोसँगै दिलु पनि बग्दै गयो।
उसले रूखका लहराहरू च्याप्प समातेर आफूलाई रोक्न खोज्यो। तर अघिसम्म जर्कट्ट परेका लहराहरू अहिले एक्कासि ज्यान नभएझैं लुला भए। ऊ जुन लहरा समात्थ्यो, त्यही लहरा पिटिक्कै भाँचिएर उसको हातमा आउँथ्यो।
दिलु हातमा रूखका लहरा समातेर माटोसँगै बग्दै गयो।
उसले रूखलाई च्याप्प अँगाल्न खोज्यो। तर अघिसम्म आकाशै ढाक्ने मोटा मोटा रूखहरू अहिले एक्कासि फूलका डाँठझैं पातला भए। ऊ जुन रूख समात्थ्यो, त्यही रूख पिटिक्कै भाँचिएर उसको हातमा आउँथ्यो।
दिलु हातमा रूख समातेर माटोसँगै बग्दै गयो।
ऊ बगिरह्यो।
हिलो माटोसँगै बगेको बग्यै भयो।
त्यही बेला दिलुले परबाट आफ्नी आमा चिच्याउँदै गरेको देख्यो।
‘दिलु! आफ्नो हात दे मलाई!’ दिलुकी आमा छोरालाई बचाउन हात बढाइरहेकी थिइन्।
उसले आफ्नो बुवालाई पनि देख्यो।
‘नडरा बाबु, हामी छौं यहाँ!’ दिलुका बुवा छोरालाई ढाडस दिँदै थिए।
उसले अघि अलप भएका सबै गाउँलेहरूलाई वरिपरि देख्यो। ती सबै रूखका हाँगाहाँगामा बाँदरझैं झुन्डिएका थिए र सबैले दिलुलाई बचाउन आ–आफ्ना हात तेर्स्याइरहेका थिए।
दिलुको हात भने ती कसैका हातसम्म पुग्न सकेन।
एकचोटि आमाले बल्लतल्ल उसको दाहिने पाखुरा च्याप्प अँठ्याएकी थिइन्। तर पानीले लुछुप्पै भिजेको दिलुको पाखुरामा आमाले मुठ्ठी कस्नै भ्याइनन्। जसै उनले पाखुरा समाइन्, मुठ्ठी सुलुत्तै चिप्लियो।
दिलुले आफ्नो पाखुरा हेर्यो। त्यहाँ आमाको पाँच औंलाका डाम थिए। तर त्यो डाम छाड्ने आमा त्यहाँ थिइनन्। त्यहाँ आमाको हातको स्पर्स थियो। तर त्यो हातको स्पर्स छाड्ने आमा त्यहाँ थिइनन्।
आमाको मुठ्ठीबाट फुस्केको दिलु झ्वाम्मै तल खस्यो।
उसलाई आफू अन्धकार रसातलमै पुगेको भान भयो।
ऊ चिच्यायो।
घाँटीको नसा चुँडिने गरी चिच्यायो।
उसको सास फुलेको थियो।
छाती एकदमै छिटो छिटो तलमाथि गर्दै थियो।
उसको मुटुको धड्कन बादल गर्जेझैं बाहिरबाटै सुनिँदै थियो।
उसको घाँटी, नाडी र गोडाका रक्तनलीहरू फुलेका थिए।
उसको जीउबाट चिटचिट पसिना छुट्दै थियो।
‘बाबु दिलु, बाबु, के भो तँलाई?’ आमाको मुठ्ठीबाट फुस्केर झ्वाम्म रसातलतिर झर्दै गरेको दिलुले त्यही बेला झट्ट आमाको स्वर सुन्यो।
आमाको स्वर सुनेर उसलाई थोरै आड पाएझैं भयो।
उसले आफ्ना दुवै आँखा डरले चिम्लेको थियो। आमाको स्वर सुनेपछि आँखा उघार्न खोज्यो। तर के भो के! उसको आँखा उघ्रिँदै उघ्रिएन। जति बल गर्दा पनि टालिएको टालियै भयो।
दिलुलाई सासै अड्किएजस्तो घिटिघिटी भएर आयो।
उसले लामो सास तान्न खोज्यो। तर जति बल गरेर तान्दा पनि सासले उसको छाती भरिँदै भरिएन।
पिसाब तुरूक्कै चुहिने गरी बल गर्दा पनि उसले सास फेर्नै सकेन।
उसलाई आफू रसातलभित्र भासिँदैछु र माथिबाट आकाशले थिच्दैछ भन्ने लाग्यो।
उसले दुवै हात उठाएर आफूलाई थिच्न आएको आकाश घचेट्यो।
बेस्कन घचेट्यो।
तर आकाश यति चौडा थियो, दिलुले जति बल लगाउँदा पनि डेग हल्लिएन।
उसले बल गर्यो, निकै बल गर्यो।
पिसाब तुरूक्कै चुहिने गरी बल गर्यो।
बेस्कन ठेल्यो, निकै ठेल्यो।
पिसाब तुरूक्कै चुहिने गरी ठेल्यो।
अनि, एक्कासि ऊ छ्यांग भयो।
उसलाई थिचेको आकाश फाट्यो।
जसै आकाश फाट्यो, उसका दुवै आँखा पिर्लिक्क उघ्रे। छातीको भित्री तहसम्म हावा भरियो।
उसका आँखा फनफनी घुमे।
उसले देख्यो — आमा आफ्नो भिजेको साडीको फेरले उसको शिर हम्किँदै थिइन् र भन्दै थिइन्, ‘बालु दिलु, के भो तँलाई?’
उसले देख्यो — बुवा उसको गोडा मुसार्दै थिए र भन्दै थिए, ‘ऐँठन पर्यो होला, केही हुन्न, सपना थियो, गइहाल्यो।’
दिलुले गाउँलेहरूलाई पनि देख्यो — उनीहरू सबै रूखका फेद–फेदमा ओत लागेर बसेका थिए। कोही पनि बाँदरझैं हाँगामा झुन्डेका थिएनन्।
दिलु एउटा भयानक सपनाको ऐँठनबाट ब्युँझेको थियो।
र, उसलाई बेपत्ता पिसाब च्यापिरहेको थियो।
आमाको हात समातेर आफूहरू ओत लागेको रूखको फेदमा पिसाब फेर्दै गर्दा दिलुले एउटा अचम्मको चिज देख्यो — उनीहरू जुन रूखको फेदमा बास बसेका थिए, त्यसमा दुइटा अक्षर खोपिएका थिए — ‘व’ र ‘ग’।
अक्षर एकदमै धमिलो थियो। घनघोर जंगलभित्र रातको अँध्यारोमा सुरूमा त उसलाई खुट्टयाउनै गाह्रो पर्यो। जब चिन्यो, ऊ तीनछक खायो।
यो घना जंगलभित्र रूख खोपेर अक्षर कसले लेख्यो होला? जसले लेखेको भए पनि त्यसको अर्थ के होला?
के होला यो ‘व’ र ‘ग’ भनेको?
के यो कसैको नाम हो? वा, कसैको देश?
अक्षरको धमिलोपना हेर्दा उसलाई दसौं वर्षअघि लेखिएजस्तो पनि लाग्यो? तर अहिले त यति घना यो जंगलमा दसौं वर्षअघि को आयो होला? र, उसले कसलाई कुन सन्देश छाड्न अक्षर खोप्यो होला?
दिलुले कहिल्यै थाहा पाएन, चार सय वर्षअघि गोरखाबाट भोटान्त बसाइँ सरेका नेपालीहरूको पहिलो खेपको नेतृत्व गरेका विशन थापा मगरको परिवारले यही रूखको फेदमा भोटान्तको पहिलो रात काटेको थियो। त्यही बेला विशनले आफ्नो कम्मरमा झुन्ड्याएको दापबाट चमचमाउँदो खुकुरी झिकेर टेढेमेढे अक्षर खोपेका थिए।
उनले एउटा त आफ्नै नामको पहिलो अक्षर ‘व’ लेखे, अर्को ‘ग’ लेखे, जुन उनको जन्मभूमि गोरखाको पहिलो अक्षर थियो।
आमाको हात समातेर रूखको फेदमा पिसाब फेर्दै गर्दा दिलुले अर्को अचम्मको दृश्य पनि देख्यो — निकै पर अजंग रूखका अजंग लहराहरूको बीचमा दस शिरवाला रावण अट्टहास गर्दै थिए।
यो दिलुको सपना थिएन।
ऊ पूरा होसहवासमा फर्किसकेको थियो। पेट फुट्लाझैं टनटन्ती पारेको पिसाब फेरेर हल्का भइसकेको थियो। आमाबालाई वरिपरि देखेर उसको डर बिलाइसकेको थियो। रूखमा खोपिएका ‘व’ र ‘ग’ अक्षर देखेर तीनछक पनि खाइसकेको थियो।
ऊ ऐँठनको जकडबाट मुक्त भइसकेको थियो, तर दस शिरवाला रावणले उसलाई छाडेकै थिएन।
बख्खु लगाएका रावण बिपनामा पनि दिलुलाई तर्साउन आएका थिए।
के रावणलाई दिलुको डरको ‘सराप’ लाग्ला?
दिलु सपनाको ऐँठनबाट त मुक्त भयो, तर जुन गाउँ उसले छाडेर आयो, त्यो गाउँ अहिलेसम्म ऐँठनमै छ। त्यहाँको हावापानी अहिलेसम्म ऐँठनमै छ। त्यहाँका बख्खु नलगाउनेहरू अहिलेसम्म ऐँठनमै छन्।
दिलुको गाउँ ऐँठनबाट कहिले मुक्त होला हँ?
अध्याय बाइस
षड्यन्त्रको अन्तिम अस्त्र
दिल भुटानीको गाउँलाई तीन दशकभन्दा बढी समयदेखि ऐँठनमा जकडेको त्यो अन्तिम अस्त्र राजा जिग्मे सिंघे वाङचुकले सन् १९८८ मा चलाएका थिए।
त्यही अस्त्रले भुटानी नेपालीहरूको पुर्खाको सम्झना र इतिहास मेट्यो। सवा लाखभन्दा बढी नेपालीभाषी भुटानीहरूको जीवन छिन्नभिन्न पार्यो।
उनीहरूको भूमि खोस्यो, भविष्य खोस्यो। आशा र सपना खोस्यो।
यहाँबाट सुरू हुन्छ भुटानी नेपालीहरूलाई शरणार्थी बनाउने षड्यन्त्रको मुख्य खेल।
के हो त्यो षड्यन्त्र? कसरी रचियो त्यो षड्यन्त्र? यो अध्यायमा हामी यसैबारे चर्चा गर्नेछौं।
त्योभन्दा अगाडि कुरा गरौं, जुन नागरिकता प्रमाणपत्र खोसेर भुटान सरकारले दक्षिण भुटानी नेपालीहरूलाई शरणार्थी बनाएको थियो, त्यो नागरिकता प्रमाणपत्र उनीहरूले कसरी पाएका थिए?
भुटानमा नागरिकता प्रमाणपत्र वितरणको सिलसिला सन् १९८२ बाट सुरू भएको हो।
त्यसअघि राजा जिग्मे दोर्जी वाङचुकले सन् १९५८ मा ल्याएको नागरिकता कानुनले दक्षिण भुटानका नेपालीसहित सबै भुटानीहरूको नागरिकताको हक सुनिश्चित गरे पनि नागरिकता प्रमाणपत्र भने कसैले पाएका थिएनन्। १९८२ मा आफूले नै राजा जिग्मे सिंघे वाङचुकसमक्ष प्रस्ताव गरेपछि देशव्यापी रूपमा नागरिकता प्रमाणपत्र बाँड्ने अभियान सुरू भएको भुटानी शरणार्थी नेता टेकनाथ रिजाल दाबी गर्छन्।
त्यति बेला रिजालले राजालाई भनेका थिए, ‘महाराज, अब हामीले सबै भुटानीहरूलाई नागरिकता प्रमाणपत्र दिनुपर्छ। उनीहरूलाई यसको खाँचो छ।’
राजाले सोधे, ‘तिमीले किन यसको खाँचो महसुस गर्यौ?’
रिजालले भने, ‘महाराज, नागरिकता प्रमाणपत्रबिना उत्तरी भुटानमा बस्ने डुग्–पाहरूलाई त खासै ठूलो समस्या छैन, तर दक्षिणका भुटानी नेपालीहरूलाई निकै अप्ठ्यारो परेको छ। उनीहरूले आफ्नै देशभित्र आउजाउ गर्न हरेकचोटि स्थानीय प्रशासकबाट पास बनाउनुपर्छ। बाटोमा कतै सुरक्षा जाँच भयो भने डुग्–पाहरूलाई कसैले सोधखोज गर्दैन, तर भुटानी नेपालीहरूले आफूसँग भएको पास नदेखाइ हुन्न। कसैसँग पास छैन भने उसलाई ठाउँको ठाउँ रोकेर फिर्ता पठाइन्छ। म आफैं कतिचोटि पास ल्याउन भुलेर थिम्पु छिर्न पाएको छैन महाराज।’
‘अर्को कारण चाहिँ, नागरिकता प्रमाणपत्र भयो भने सबै जनता आफ्नो देशभित्र ढुक्कसँग बस्न पाउँछन्, काम गर्न पाउँछन्। उनीहरूलाई कसैले रोकतोक गर्दैन,’ उनले भने, ‘अहिले भुटानभित्र विकास निर्माणका काममा बाहिरका मान्छेको आउजाउ बढेको छ। यस्तोमा हामीले को भुटानी हो र को होइन भनेर प्रस्ट छुट्टयाउन पनि आफ्ना नागरिकलाई परिचय खुल्ने कार्ड दिनु राम्रो हुन्छ।’
राजाले रिजालको प्रस्ताव मन पराए।
त्यसपछि गृह मन्त्रालयअन्तर्गतको रजिस्ट्रेसन विभागले १९८१/८२ को जनगणनामा परेका सबै नागरिकलाई उनीहरूको फोटोसहित जिल्ला, गाउँ, घर नम्बर, जग्गाको थ्राम नम्बर, ब्लक नम्बर, बाबुको नाम, नागरिकता नम्बर लगायत विवरण खुलाएर नागरिकता प्रमाणपत्र दिने अभियान सुरू गर्यो।
त्यति बेला करिब ९५ प्रतिशत भुटानीले नागरिकता प्रमाणपत्र पाएको रिजाल बताउँछन्। प्रमाणपत्र नपाउनेमा बिरामी भएका, विदेशमा रहेका, नागरिकता वितरण टोलीले फोटो बिगारिदिएका र केही सुकुम्बासी मात्र थिए। ती पाँच प्रतिशतलाई पनि अरू सरह छिट्टै नागरिकता दिने भनिएको थियो।
तर सन् १९८८ मा एउटा यस्तो घडी आयो, जब भुटानी नेपालीहरूको निम्ति सबै कुरा सधैंका लागि बदलियो।
नागरिकता पाउन बाँकी पाँच प्रतिशतको त कुरै छाडौं, १९८२ यता गृह मन्त्रालयले नै नागरिकता दिएका आधाभन्दा बढी भुटानी नेपालीहरूको नागरिकता पनि खोसियो।
जिग्मे सिंघे वाङचुकले १९८८ को जनगणनाबाट विभेदको यस्तो षड्यन्त्र रचे, जसले भुटानी नेपालीहरूलाई देशै छाड्नुपर्ने अवस्थामा पुर्यायो।
भुटानको जनगणना इतिहास सन् १९६० दशकबाट सुरू भएको पाइन्छ।
तत्कालीन राजा जिग्मे दोर्जी वाङचुकले भारतीय विज्ञहरूको सहयोग र संलग्नतामा सन् १९६४ देखि १९७० सम्म पहिलो देशव्यापी जनगणना गराएका थिए।
भुटानी गृह मन्त्रालयले सुरूमा कुल जनसंख्या १ लाख ३४ हजार ७ सय ७४ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसको केही समयपछि ‘जिल्लागत रूपमा पुनः गणना गर्दा त्रुटि देखिएको’ भन्दै तथ्यांक संशोधन गरियो। संशोधित तथ्यांकमा भुटानको जनसंख्या ९३ हजार ६ सय १४ थियो, जसमध्ये पूर्वी भुटानमा बसोबास गर्नेहरू ५७ प्रतिशत, पश्चिमी भुटानमा २८ प्रतिशत र दक्षिण भुटानका नेपालीभाषीहरूको संख्या १५ प्रतिशत थियो।
त्यति बेला आफ्नो नाममा जमिन पञ्जीकृत नभएका, सुकुम्बासीको प्रमाण नपुगेका, धर्मराजा वा दक्षिण भुटानको अख्तियारी प्राप्त कालिम्पोङ (भारत) बस्ने दोर्जी परिवारको अनुमतिपत्र प्रस्तुत गर्न नसकेकाहरूको नाम मात्र जनगणनामा समावेश गरिएको थिएन। उल्लिखित दस्तावेजमध्ये कुनै एउटा दस्तावेज हुनेको नाम जनगणना सूचीमा समावेश गरिएको र त्यसै आधारमा बर्सेनि अद्यावधिक गरिँदै आएको रिजालले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्। यही जनगणनापछि भुटानले सन् १९७१ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको उनी बताउँछन्।
‘पहिलो जनगणनामा नाम दर्ता भएको परिवारले आफ्नो सदस्य संख्या थपघट भए त्यसबारे स्थानीय प्रशासनमार्फत् गृह मन्त्रालयलाई अनिवार्य जानकारी गराउनुपर्थ्यो। गृह मन्त्रालयले यसै आधारमा हरेक वर्ष जनसंख्या विवरण अद्यावधिक गर्थ्यो,’ रिजालले हामीसँगको कुराकानीमा भने, ‘यो नियम जिग्मे सिंघे वाङचुक राजा भएर आएपछि पनि कायम रह्यो।’
सन् १९८० पछि जनसंख्या विवरण अझ व्यवस्थित बनाउन गृह मन्त्रालयअन्तर्गत रजिस्ट्रेसन विभाग स्थापना गरियो। यही विभागले १९८१/८२ मा आफ्नै संयोजकत्वमा अर्को देशव्यापी जनगणना सम्पन्न गर्यो। यसले मूलतः अघिल्लो जनगणनामा नाम दर्ता भएका परिवारको विवरण अद्यावधिक गरेको थियो।
सन् १९८१/८२ को जनगणना र त्यसै आधारमा नागरिकता प्रमाणपत्र वितरण गर्न थालेको एक दशक नबित्दै १९८८ मा गृह मन्त्रालयले अर्को जनगणना गर्यो।
भुटानी नेपालीहरूले आज जुन नियति भोग्नुपरेको छ, त्यसको प्रस्थानविन्दु यही १९८८ को जनगणना हो, जसलाई राजा जिग्मे सिंघे वाङचुकले १९८५ मा ल्याएको तेस्रो नागरिकता कानुनको पहिलो कार्यान्वयन मानिन्छ।
त्यो समय भुटान सरकारले ज्यालादारी कामदारका रूपमा गैरकानुनी विदेशीहरूको घुसपैठ बढेको आरोप लगाएको थियो। यस्तो घुसपैठ नेपालीभाषीहरूको बाहुल्य रहेको दक्षिण भुटानमा बढी भएको सरकारको भनाइ थियो। यही कारण देखाउँदै दक्षिण भुटानमा काम गर्न आएका विदेशी — खासगरी नेपाली र भारतीय — कामदारहरूलाई रातारात सीमा कटाइयो। नेपाली र भारतीय गरी करिब १५ हजार विदेशी कामदारले भुटान छाड्नुपरेको माइकल हटले आफ्नो किताबमा उल्लेख गरेका छन्।
यही सिलसिलामा सरकारले ‘असली नागरिक पहिचान गर्ने’ भन्दै दक्षिण भुटानलाई मात्र लक्ष्य गरेर १९८८ को जनगणना गरेको थियो।
रिजाल भने सरकारको भनाइसँग सहमत छैनन्।
‘१९८१/८२ को जनगणनाअनुसार भर्खरै मात्र देशभरि नागरिकता प्रमाणपत्र जारी गरिएको थियो। त्यो अवस्थामा दक्षिण भुटानलाई मात्र ‘टार्गेट’ गरेर नयाँ जनगणना गर्नुपर्ने कुनै दरकार थिएन,’ रिजालले हामीसँग भने, ‘गैरकानुनी विदेशी कामदार बढ्यो भनुँ भने तिनलाई पनि ठूलो संख्यामा देशबाट निष्कासन गरिसकिएको थियो। यस्तोमा नयाँ जनगणना गर्नुको उद्देश्य नेपालीभाषीहरूले पाएको नागरिकता खोसेर उनीहरूलाई अनागरिक बनाउनुबाहेक अर्को के हुन सक्छ?’
कल्पना गर्नुहोस् त, भोलि नेपालमा पनि भारतीयहरूको घुसपैठ बढ्यो भन्दै मधेसलाई मात्र ‘टार्गेट’ गरेर जनगणना गरियो भने कस्तो होला?
तिब्बतीहरूको घुसपैठ बढ्यो भन्दै हिमाली भेगमा मात्र जनगणना गरियो भने विभेदपूर्ण मानिएला कि नमानिएला?
दक्षिण भुटानमा पनि जनगणनाका नाममा त्यस्तै विभेद गरियो, रिजालले भने, ‘त्यो हामी ल्होछाम्पा नेपालीहरूलाई भुटानबाट खेद्ने षड्यन्त्रको अन्तिम अस्त्र थियो।’
जनगणना जसरी गरियो, त्यसबाट पनि टेकनाथ रिजालको शंका सही साबित हुन्छ।
त्यो कसरी भने, भुटान सरकारले उक्त जनगणनामा नाम दर्ज हुन केही मापदण्ड तोकेको थियो —
सबभन्दा पहिला त, सन् १९५८ मा जग्गाको कर तिरेको रसिद पेस गर्नुपर्थ्यो। यो भनेको राजा जिग्मे दोर्जी वाङचुकले भुटानको पहिलो नागरिकता कानुन लागू गरेको वर्ष हो।
यो मापदण्डअनुसार रसिद पेस गर्दा उक्त जग्गा सम्बन्धित व्यक्तिको आफ्नै नाममा वा बुवाको नाममा वा हजुरबुवाको नाममा हुनुपर्थ्यो। आफ्नो नामको रसिद छैन भने जसको नाम उल्लेख छ, ऊसँग नाता प्रमाणित गर्नुपर्थ्यो।
अक्सर रसिदमा बुवा वा हजुरबुवाको नाम लेखिएको हुन्थ्यो। यस्तो अवस्थामा गाउँका वयोवृद्धहरू आएर फलानो व्यक्ति फलानाको बुवा वा हजुरबुवा हो भनी प्रमाणित गरिदिनुपर्थ्यो। यसलाई मान्ने कि नमान्ने जनगणनामा संलग्न गणकहरूको तजबिजमा भर पर्थ्यो।
त्यसपछि सम्बन्धित व्यक्तिले आफ्ना आमा र बुवा दुवै भुटानी नागरिक हुन् भनेर पनि प्रमाणित गर्नुपर्थ्यो।
जनगणनामा १९५८ को रसिदलाई यति अनिवार्य गरिएको थियो, कसैले त्योभन्दा अगाडि वा पछाडिको रसिद पेस गर्यो भने त्यसले मान्यता पाउँदैन थियो। जसले अगाडि वा पछाडिको रसिद पेस गर्थ्यो, ऊ १९५८ मा भुटान छाडेर गएको र पछि फेरि फर्केर आएको अनुमान गरिन्थ्यो र उसलाई भुटानको स्थायी बसोबासीको श्रेणीबाट बाहिर राखिन्थ्यो।
कसैले जग्गाको कर तिरेको रसिदको सट्टा जनगणना हुनुभन्दा केही समयअघि मात्र गृह मन्त्रालयले नै प्रमाणित गरेर दिएको नागरिकता देखायो भने त्यसलाई पनि मान्यता दिइँदैन थियो। बरू त्यसरी नागरिकता देखाउँदा खोसिएका उदाहरण थुप्रै छन्। हामीले बेलडाँगी शिविरमा भेटेका टिबी राई यसका भुक्तमानी हुन्। उनका बुवाले त्यति बेला नागरिकता प्रमाणपत्र देखाएका थिए। त्यो प्रमाणपत्र भुटानी अधिकारीहरूले जबर्जस्ती खोसेर लगे। गाउँको मण्डलकहाँ एक महिना धाउँदा पनि फिर्ता गरिएन। आखिरमा उनीहरूलाई देश छाड्न बाध्य पारियो।
‘धेरै भुटानी नेपालीहरूका लागि १९५८ को रसिद पेस गर्नु सजिलो काम थिएन। तीस वर्षअगाडिको रसिद धेरै कमले जतन गरेर राखेका हुन्थे,’ टिबी राईले हामीसँग भने, ‘तपाईं अहिले पनि शरणार्थी शिविरमा रहेका व्यक्तिहरूको चेतना स्तर हेर्नुस्, झन् त्यो बेलाको चेतना स्तर कस्तो थियो होला? त्यस्तो समयमा तीस वर्ष पुरानो मालपोत रसिद माग्यो भने कसले देखाउन सक्थ्यो? कसले राखेको हुन्थ्यो त्यति पुरानो रसिद?’
कल्पना गर्नुहोस् त, भोलि नेपालमा पनि राज्यले जनगणनाका नाममा तीस वर्षअघि तिरेको मालपोत रसिद माग्यो र त्यस्तो रसिद पेस गर्न नसक्नेलाई नेपाली नागरिक स्वीकार गरेन भने कस्तो होला? अझ कुनै खास समुदायसँग मात्र त्यस्तो रसिद माग गरियो भने विभेदपूर्ण मानिएला कि नमानिएला?
दोस्रो मापदण्डमा पर्छ, जन्म प्रमाणपत्र।
जसको जन्म भुटानको अर्को कुनै ठाउँमा भयो र ऊ सन् १९५८ पछि बसाइँ सरेर अहिलेको ठाउँमा आयो, त्यस्तो व्यक्तिले आफ्नो ‘जन्म प्रमाणपत्र’ पेस गर्नुपर्थ्यो। खासगरी अर्को गाउँबाट विवाह गरेर आएका महिलाले आफू भुटानी नागरिक हुँ भनी प्रमाणित गर्न जन्म प्रमाणपत्र देखाउन अनिवार्य थियो।
यसका लागि उनीहरू आफ्नो माइती वा आफू जन्मेको ठाउँमा गएर त्यहाँका प्रमुख जिल्ला अधिकारीसमक्ष भौतिक रूपमा उपस्थित हुनुपर्थ्यो। त्यसपछि जिल्ला प्रशासन समितिले फलानो व्यक्ति यही गाउँमा जन्मेको हो र ऊ बसाइँ सरेर वा विवाह गरेर अहिलेको ठाउँमा गएको हो भन्ने बेहोरा लिखित रूपले प्रमाणित गरेर दिनुपर्थ्यो। प्रशासन समितिमा गाउँका मण्डल, कारबारी (सहायक मण्डल) र गाउँका अन्य वयोवृद्धहरू रहन्थे। यसरी प्रमाणित भएर आएपछि प्रमुख जिल्ला अधिकारीले उक्त व्यक्तिका नाममा जन्म प्रमाणपत्र जारी गरिदिन्थ्यो। त्यही प्रमाणपत्र लिएर ऊ आफ्नो गाउँ फर्किनुपर्थ्यो, अनि गणक टोलीलाई प्रमाणपत्र देखाएपछि बल्ल जनगणनामा नाम सामेल हुन्थ्यो।
विवाह गरेर आएका महिला मात्र होइन, सन् १९५८ पछि बसाइँ सरेर आएका पुरूषले पनि यसरी नै आफू जन्मेको ठाउँमा गएर जन्म प्रमाणपत्र ल्याएपछि मात्र जनगणनामा नाम दर्ज हुने नियम थियो। जनगणनामा खटिने गणकहरूलाई आवश्यक लागेको खण्डमा आमा वा हजुरआमाको पनि जन्म प्रमाणपत्र माग्ने अधिकार थियो। कुनै गणकले आमा वा हजुरआमाको जन्म प्रमाणपत्र मागिहाल्यो भने माथि भनेजस्तै स्वयं माइती गएर प्रमाणपत्र बनाएर ल्याउनुपर्थ्यो।
कल्पना गर्नुहोस् त, तपाईंको खास घर दार्चुला वा दमक हो। तपाईं अहिले बसाइँ सरेर काठमाडौंमा हुनुहुन्छ। भोलि जनगणनाका नाममा राज्यले तपाईंलाई आफ्नो जन्मस्थान गएर जिल्ला प्रशासन कार्यालयबाट जन्म प्रमाणपत्र ल्याऊ, नभए नेपाली नागरिक मानिँदैन भन्यो भने कस्तो होला? तपाईंकी आमा वा हजुरआमालाई समेत उनीहरूको माइती गएर जन्म प्रमाणपत्र ल्याउन अनिवार्य गर्यो भने कस्तो होला? अझ कुनै समुदाय वा क्षेत्रका मान्छेलाई मात्र यस्तो प्रावधान लागू गरियो भने विभेदपूर्ण मानिएला कि नमानिएला?
जहाँसम्म भुटान बाहिरबाट विवाह गरेर आएका महिलाहरूको सवाल छ, उनीहरूले त आफ्नो जन्म प्रमाणपत्र देखाउन सम्भवै थिएन। त्यसैले ती महिलाको नाम सिधै ‘गैरभुटानी’ का रूपमा दर्ता गरिन्थ्यो। यस्तो अवस्थामा ती महिलाका सन्तानले पनि जन्मका आधारमा भुटानी नागरिकता पाउने हक गुमाउँथे। किनभने, सन् १९८५ को नागरिकता कानुनले जन्मका आधारमा भुटानी नागरिक हुन आमा र बुवा दुवै भुटानी हुनुपर्ने व्यवस्था गरेको थियो। भुटानी बाबु र गैरभुटानी आमाबाट जन्मेको सन्तानले नागरिकता प्राप्त गर्न विदेशी सरह याचिका दायर गर्नुपर्थ्यो। कम्तिमा १५ देखि २० वर्ष भुटानमै बसेपछि मात्र ऊ नागरिकता पाउन योग्य हुन्थ्यो।
जन्म प्रमाणपत्रको मापदण्ड कति जटिल र अव्यावहारिक थियो भन्नेबारे डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनले आफ्नो किताबमा उदाहरणसहित चर्चा गरेका छन्।
‘गेलेगफुंग, दागाना, साम्द्रुप लगायत ठाउँमा बसोबास गर्नेहरूलाई जन्म प्रमाणपत्र बनाएर ल्याउन एकदमै गाह्रो थियो,’ उनीहरू लेख्छन्, ‘सरकारले सन् साठी दशकमा बाढीपीडित सुकुम्बासीहरूलाई यी ठाउँमा बसोबास गराएको थियो। उनीहरू धेरै टाढाबाट यहाँ आएका थिए। त्यसैले जन्म प्रमाणपत्र लिन कतिपयले त हप्तौं हिँडेर जानुपर्ने हुन सक्थ्यो, जुन व्यावहारिक थिएन। गए पनि समयमा प्रमाणपत्र लिएर फर्किन भ्याउँदैनथे। त्यस्ता धेरै व्यक्ति जन्म प्रमाणपत्र देखाउन नसकेकैले गैरभुटानी सूचीमा परे।’
जनगणनामा नाम सूचीकृत हुने तेस्रो मापदण्ड थियो– जन्म, विवाह, बसाइ लगायत आधारमा गरिएको वर्गीकरण।
यो जनगणनाले भुटानी नेपालीहरूलाई सात भागमा वर्गीकरण गरेको थियो। हरेक व्यक्तिको नाम ती सातमध्ये कुनै एउटा वर्गमा सामेल गराइन्थ्यो। ती सात वर्ग यस्ता छन् —
एफ १ — असली भुटानी नागरिक
एफ २ — फर्केर आएका आप्रवासी (जो एकचोटि भुटान छाडेर गए र फेरि फर्केर आए)
एफ ३ — जो जनगणनाको समयमा गणकसामु उपस्थित भएनन्
एफ ४ — भुटानी पुरूषसँग विवाह गरेका आएका गैरभुटानी महिला
एफ ५ — भुटानी महिलासँग विवाह गरेर आएका गैरभुटानी पुरूष
एफ ६ — गोद लिइएका केटाकेटी (जसको जिम्मेवारी कानुनी रूपमा स्वीकार गरिएको छ)
एफ ७ — गैरभुटानी (आप्रवासी तथा गैरकानुनी बसोबासी)
यसरी सात भागमा वर्गीकरण गर्दा सन् १९५८ मा जग्गाको कर तिरेको रसिद पेस गर्ने र आमाबुवा दुवै भुटानी नागरिक हुन् भनी प्रमाणित गर्नेहरू ‘एफ १’ वर्गमा परे।
जसले १९५८ भन्दा अगाडिको वा पछाडिको रसिद पेस गरे, तर त्यही सालको रसिद देखाउन सकेनन्, उनीहरूलाई ‘एफ २’ वर्गमा राखियो। त्यस्ता व्यक्ति १९५८ मा भुटान छाडेर गएका र पछि फेरि फर्केर आएका हुनसक्ने सरकारको अनुमान थियो। त्यसैले उनीहरूलाई असली भुटानी नागरिक (एफ १) को सूचीमा राखिएन।
यो जनगणना क्रममा प्रत्येक घरका प्रत्येक सदस्यले व्यक्तिगत रूपमै गणकसामु उपस्थित हुनुपर्ने नियम थियो। बूढाबूढीदेखि भर्खर जन्मेको बच्चालाई समेत गणकले आफ्नै आँखाले देखेको हुनुपर्थ्यो। जो त्यसरी उपस्थित भएनन्, उनीहरू पनि असली भुटान नागरिक हुनबाट वञ्चित भए। उनीहरूलाई ‘एफ ३’ वर्गमा राखियो। जनगणना टोली आएका बेला रोजगार वा अन्य कामले घरबाहिर गएका सदस्यहरू पनि यही वर्गमा परे।
‘एफ ४’ मा त्यस्तो व्यक्तिलाई राखियो, जसको बुवा भुटानी र आमा गैरभुटानी थिए। भन्नुको मतलब, बुवा ‘एफ १’ वर्गमा परेको असली भुटानी नागरिक भए पनि यदि आमा गैरभुटानी थिइन् भने ऊ ‘एफ ४’ वर्गको नागरिक भयो। उसले जन्मका आधारमा भुटानी नागरिकता पाउने भएन। नागरिकता पाउन १५ देखि २० वर्ष भुटानमै बसेर राजासमक्ष याचिका दायर गर्नुपर्ने भयो।
जसको आमा भुटानी र बुवा गैरभुटानी थिए, उसलाई चाहिँ ‘एफ ५’ वर्गमा राखियो। त्यस्तो व्यक्तिलाई भुटानी नागरिक हुन योग्य ठानिएन। उसलाई राज्यले दिने स्वास्थ्य तथा शिक्षाबाट पनि वञ्चित गरिएको माइकल हटले उल्लेख गरेका छन्।
‘एफ ६’ वर्गमा भने त्यस्ता व्यक्ति परे, जसका आमाबुवाको मृत्यु भइसक्यो र जसलाई कुनै अर्को परिवारले कानुनी रूपमा पालनपोषण गरेको थियो। उनीहरू पनि भुटानी नागरिक हुन योग्य ठहरिएनन्।
त्यस्तै, जसले १९५८ मा जग्गाको कर तिरेको रसिद पेस गर्न सकेनन्, उनीहरूलाई ‘एफ ७’ वर्गमा राखेर गैरभुटानी घोषित गरियो। भुटानकै अर्को ठाउँबाट बसाइँ सरेर आएका महिला वा पुरूषका हकमा पनि जसले जन्म प्रमाणपत्र बुझाउन सकेनन्, उनीहरू ‘एफ ७’ वर्गमा परे। बाहिरबाट विवाह गरेर भुटान आएका महिलालाई त यो जनगणनाले सिधै ‘एफ ७’ वर्गमै राख्यो।
जनगणनाको यस्तो वर्गीकरणले एउटै परिवारभित्र कसरी विभाजन ल्यायो भन्ने बुझ्न हामी एउटा उदाहरण लिऔं —
मानौं, १९८८ को जनगणना बेला तपाईं भुटानमा हुनुहुन्थ्यो। तपाईंका बुवाले तीस वर्षअघि तिरेको मालपोतको रसिद गणकहरूसमक्ष पेस गरे। यस आधारमा तपाईंका बुवा ‘एफ १’ वर्गमा परे र असली भुटानी नागरिक भए।
तर तपाईंकी आमाले माइती गएर आफ्नो जन्म प्रमाणपत्र ल्याउन सकिनन्। उनी यही आधारमा ‘एफ ७’ वर्गमा पर्ने भइन्। उनलाई गैरभुटानी सूचीमा राखियो।
बुवा ‘एफ १’ र आमा ‘एफ ७’ वर्गमा परेपछि तपाईं चाहिँ ‘एफ ४’ वर्गमा पर्ने हुनुभयो। तपाईंले अब जन्मका आधारमा भुटानको नागरिकता पाउनुहुन्न। कम्तिमा १५ देखि २० वर्ष भुटानमा बसेपछि तपाईंले राजासमक्ष याचिका दायर गर्नुपर्नेछ।
अब मानौं, तपाईंका ठूलो बुवाले १९५८ मा तिरेको मालपोतको रसिद पेस गर्न सकेनन्। उनले १९६० को रसिद देखाए। उनलाई अब जनगणना टोलीले ‘एफ २’ वर्गमा राख्ने भयो।
यसले कस्तो स्थिति उत्पन्न भयो भने, तपाईंको एउटै परिवारभित्र बुवा ‘एफ १’ मा परे भने आमा ‘एफ ७’।
तपाईं ‘एफ ४’ वर्गमा पर्नुभयो भने तपाईंका ठूलो बुवा ‘एफ २’।
यो अवस्थामा जब सरकारले ‘एफ १’ नागरिकबाहेक बाँकीलाई खोजी खोजी देशबाट निकाल्न थाल्यो, तब तपाईं र तपाईंका समकालीनहरू त शरणार्थी बन्न बाध्य हुनुपर्यो नै, वृद्ध आमाबुवासमेत तपाईं सँगसँगै शरणार्थी बनेर हिँड्नुपर्यो, भलै उनीहरू ‘एफ १’ वर्गका असली भुटानी नागरिक किन नहोऊन्!
यही कारणले ‘एफ १’ सूचीमा परेका असली भुटानी नागरिकहरू समेत शरणार्थी शिविरमा प्रशस्तै भेटिन्छन्।
कल्पना गर्नुहोस् त, भुटानमा जस्तै यहाँ पनि राज्यले तपाईंलाई ‘एफ ४’ र तपाईंकी पत्नीलाई ‘एफ ७’ वर्गमा राख्यो भने कस्तो होला? तपाईंको बुवालाई ‘एफ १’ र आमालाई ‘एफ ७’ वर्गमा राख्यो भने कस्तो होला? त्यसलाई विभेदपूर्ण मानिएला कि नमानिएला?
यस सम्बन्धमा भुटानी शरणार्थी डा. भम्पा राईले हामीसँगको कुराकानीमा भनेका थिए, ‘जनगणनाको उद्देश्य नै भुटानी नेपालीहरूलाई कुनै न कुनै बहानामा गैरभुटानी साबित गरेर देशबाट निष्कासन गर्नु थियो। त्यही भएर नेपाली समुदायलाई सात वर्गमा विभाजन गरियो।’
‘यसरी विभाजन गर्दा अंक १ देखि ७ सम्म मात्र लेखेको भए त भइहाल्थ्यो, किन अंकको अगाडि अंग्रेजी अक्षर ‘एफ’ राख्नुपर्यो?’ उनले अगाडि भने, ‘त्यो ‘एफ’ को अर्थ ‘फरेन’, अर्थात् विदेशी भनेर संकेत गर्न खोजिएको हो। यसले नै नेपाली समुदायप्रति उनीहरूको भेदभावपूर्ण दृष्टिकोण झल्काउँछ। उनीहरूले सुरूमै हामीलाई विदेशी ठाने र त्यसमध्ये को–को भुटानी हुन लायक छन् भनेर जाँच्दै ‘एफ १’ देखि ‘एफ ७’ सम्म वर्गीकरण गरे।’
नेपाल आएर भुटानी शरणार्थीहरूको स्वास्थ्य उपचारमा जीवन समर्पित गरेका डा. राईको अहिले निधन भइसकेको छ।
उनका अनुसार उक्त जनगणनाले सातौं वर्ग (एफ ७) मा परेकाहरू भविष्यमा भुटानी नागरिक हुन सक्छन् कि सक्दैनन् भन्ने प्रस्ट पारेको थिएन। त्यसैले जो–जो सातौं वर्गमा परे, उनीहरू देश छाडेर जानुपर्ने हो कि भनेर सुरूदेखि नै भयभीत थिए।
जनगणनाले सुरूमा धेरै कमलाई मात्र ‘एफ ७’ वर्गमा राखेको थियो। यसले तनाव अलि कमै थियो। तर जति जति गणना अगाडि बढ्दै गयो, धेरैभन्दा धेरै भुटानी नेपालीहरू ‘एफ ७’ वर्गमा पर्दै गए। दक्षिण भुटानभरि आतंक मच्चियो। मान्छेहरू अब के हुने हो भनेर डरले थुरथुर भए, डा. राईले भने, ‘एउटै परिवारभित्र बाबु ‘एफ १’ थियो भने आमा ‘एफ ७’ थिइन्, दाजु ‘एफ ३’ थियो भने भाइ ‘एफ ४’ थियो। को भुटानी, को गैरभुटानी छुट्टयाउनै मुश्किल थियो। भोलि राज्यले फलानो फलानो वर्गको मान्छेलाई भुटानमा बस्न नदिने भन्यो भने पूरै परिवार छिन्नभिन्न होला भनेर हरेक घरका मान्छे डराएर बसेका थिए।’
‘यसो सोच्दा ‘एफ १’ वर्गमा परेकाबाहेक बाँकी सबैलाई देशनिकाला गर्ने भुटानको नियत थियो भन्ने मलाई लाग्छ। अरूलाई निकालेपछि ती ‘एफ १’ हरू स्वतः देश छाडेर गइहाल्छन् भन्ने उसको रणनीति देखिन्छ,’ डा. भम्पा राईले भने।
‘यस्तो नियत नहुँदो हो त नागरिकता कानुनमा कहीँ कतै उल्लेख नभएको वर्गीकरणको प्रावधान एक्कासि कहाँबाट आयो?’ उनले प्रश्न गरे, ‘राम्रो नियतले वर्गीकरण गरेको भए त कानुनमै लेख्थ्यो होला नि! कानुनमा नभएको प्रावधान के सोचेर लागू गरियो? यसले नै भुटानको नियत प्रस्ट पार्दैन र?’
माइकल हट पनि जनगणनाले गरेको वर्गीकरण र विगतमा लागू भएका तीनवटा नागरिकता कानुनबीच कुनै तालमेल नभएको बताउँछन्।
सन् १९५८ मा जिग्मे दोर्जीले ल्याएको पहिलो नागरिकता कानुनमा मात्र होइन, १९७७ र १९८५ मा स्वयं राजा जिग्मे सिंघे वाङचुकले ल्याएका दुईवटा नागरिकता कानुनमा समेत वर्गीकरणको प्रावधान उल्लेख थिएन। कानुनमै नभएको प्रावधान लागू गर्दा जनगणना गर्ने अधिकारीहरूको तजबिजी अधिकार हाबी भएका उदाहरण प्रशस्तै छन्।
ती गणकहरूले जसलाई मन लाग्यो त्यसलाई ‘एफ १’ दिए, चित्त नबुझ्नेलाई ‘एफ ४’ वा गैरभुटानी वर्गमा राखे। कहिले गाउँका मण्डलहरूको सिफारिसलाई मान्यता दिए, कहिले त्यही सिफारिस खारेज गरिदिए। यसले आमभुटानी नेपालीहरूका निम्ति जनगणनाको कार्यान्वयन भुइँचालो आएभन्दा कम आतंकपूर्ण भएन।
‘थुप्रै व्यक्ति यस्ता छन्, जसले १९८८ को जनगणनामा पहिले पाइसकेको नागरिकता पनि गुमाए,’ माइकल लेख्छन्, ‘उनीहरू भुटानी नागरिकबाट एकैचोटि गैरभुटानी भए।’
यति मात्र होइन, जनगणनाको वर्गीकरण स्थायी पनि थिएन। पहिलो गणनामा ‘एफ १’ वर्गमा परेकाहरूलाई अर्कोचोटि कुनै सर्वेक्षणले बिनाकारण ‘एफ ४’ वा अन्य दर्जामा घटुवा गरेको माइकलले उल्लेख गरेका छन्। यस्तो भेदभावपूर्ण प्रावधानविरूद्ध जब भुटानी नेपालीहरू आन्दोलनमा ओर्ले, त्यसपछि त झन् उनीहरूलाई टिक्नै गाह्रो पारियो। आन्दोलन चर्केपछि गाउँका मण्डलहरूले जन्म प्रमाणपत्र दिन आनाकानी गर्न थाले, माइकल लेख्छन्, ‘भुटानी नेपालीहरूको निम्ति नागरिकता प्रमाणपत्र पाउनभन्दा गुमाउन सजिलो हुँदै गयो।’
यसरी १९८८ को जनगणनाले दक्षिण भुटानका नेपालीभाषी समुदायको जीवन दुष्कर बनाए पनि भुटान सरकारले भने वास्तविकता ढाकछोप गरी सधैं त्यसको बचाउ गर्यो।
जनगणनालगत्तै गृह मन्त्रालयले दक्षिण भुटानमा एक लाखभन्दा बढी गैरकानुनी आप्रवासी पहिचान गरिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। माइकल हटले आफ्नो किताबमा उक्त प्रतिवेदन उद्धृत गरेका छन् —
‘जनगणनाबाट दक्षिण भुटानमा बसोबास गरिरहेका गैरकानुनी आप्रवासीहरू उल्लेख्य संख्यामा पहिचान भए। ल्होछाम्पा जनसंख्या पनि अभूतपूर्व रूपमा वृद्धि भएको देखियो। नेपाली आप्रवासीहरूका लागि दक्षिण भुटानको सबभन्दा सजिलो ठाउँ भनेको साम्ची जिल्ला हो, त्यहाँको जनसंख्या पछिल्लो दस वर्षमै दोब्बर वृद्धि भएको पाइएको छ। साम्ची जिल्लामा भर्खरै गरिएको सर्वेक्षणले ४७ हजार २ सय ३५ एकड जमिन गैरकानुनी रूपमा ओगटेको भेटियो। यो भनेको देशको सबभन्दा ठूलो जिल्ला तासिगांगमा जति जग्गा ओगटिएको छ, त्योभन्दा धेरै हो।’
के भुटान सरकारको यस्तो दाबी सही थियो त?
यसमा भुटानी नेपालीहरूको तर्क फरक छ, माइकल लेख्छन्, ‘दक्षिण भुटानका कतिपय जमिनदारले कम कर तिर्नुपरोस् भनेर अघिल्ला सर्वेक्षणमा कम जग्गा देखाएका थिए। यही आधारमा १९८८ को जनगणनाले पहिले घोषणा नगरिएको सबै जग्गा गैरकानुनी रूपमा हडपेको भन्यो।’
भुटानको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा यो पनि भनेको छ —
‘सन् १९५८ मा नागरिकता कानुन लागू भएपछि र १९६१ मा सुरू भएको विकास कार्यक्रमपछि भुटानको आर्थिक समृद्धिबाट लाभ लिन गैरकानुनी नेपाली आप्रवासीहरू लाखौंको संख्यामा दक्षिण भुटान प्रवेश गरे।’
हामीले बेलडाँगी शिविरमा भेटेका शरणार्थीहरू भने भुटान सरकारले भनेजस्तो आप्रवासीहरू गैरकानुनी रूपले छिर्न सम्भवै नभएको बताउँछन्।
‘केही नेपाली वा भारतीय कामदारहरू गैरकानुनी रूपले भुटान आए होलान्, तर त्यो पनि भुटान सरकारले भनेजस्तो लाखौंको संख्यामा हुनै सक्दैन,’ भुटानी शरणार्थी दिल महत (भुटानी) ले हामीसँगको कुराकानीमा भने, ‘भुटानजस्तो कडा नियम–कानुनमा बाँधिएको राज्यमा त्यति ठूलो संख्यामा गैरकानुनी आप्रवासीले प्रवेश पाउनु र राज्यको जानकारीबिना बसोबास गर्नु त सम्भवै थिएन।’
त्यो किन पनि सम्भव थिएन भने, भुटानमा सन् १९८० को दशकसम्म नै एक जिल्लाको मान्छे अर्को जिल्ला जान होस् वा राजधानी थिम्पु आउजाउ गर्न, व्यवसाय सञ्चालन निम्ति ऋण लिन होस् वा बैंक खाता खोल्न; हरेक नागरिकले सब–डिभिजन अफिसरबाट कामको उद्देश्य खुलाएर पटकैपिच्छे अस्थायी अनुमतिपत्र लिनुपर्ने व्यवस्था लागू गरिएको थियो। दक्षिण भुटानी ल्होछाम्पाहरूका लागि त आन्तरिक आवागमनमा झनै बढी कसिकसाउ थियो। उनीहरूले आफ्नो ठाउँ छाडेर अर्को जिल्ला जानुपरे गाउँको मण्डलबाट प्रयोजन खुलाएर अस्थायी पास नबनाई हुन्थेन।
गैरकानुनी विदेशी श्रमिकको मुद्दा उठेपछि दक्षिण भुटानीहरूका लागि यो प्रावधान झनै कडा पारियो। उत्तरी भेगका डुग्–पाहरूलाई भने यो अनिवार्य थिएन। दक्षिण भुटानबाट थिम्पु जाने गाडीमा नेपाली अनुहार देखियो भने बीच बाटोमै ओरालेर केरकार गरिन्थ्यो।
त्यस्तै एउटा घटना दिल महतले हामीलाई सुनाएका थिए।
सन् १९८९, अर्थात् विक्रम सम्बत् २०४६ सालको कुरा हो। साम्ची गाउँका एक जना भुटानी नेपाली शिक्षक सरकारी कामका लागि राजधानी थिम्पु जाँदै थिए। बीच बाटोमा एक ठाउँ प्रहरीको सुरक्षा जाँच चल्दै थियो। दक्षिण भुटानबाट आएका सबै गाडी सुरक्षा जाँच निम्ति रोकिए।
एक हुल प्रहरी बसभित्र छिर्यो। उनीहरूले सबै यात्रुको अनुहार नियाले। लवाइ हेरे। बख्खु लगाएका भुटानीहरूलाई केही सोधेनन्। बख्खु नलगाएका नेपाली अनुहारलाई भने केरकार गर्न थाले।
ती भुटानी नेपाली शिक्षकले बख्खु लगाएका थिएनन्। अनुहार खाँटी नेपाली नै थियो। त्यसैले उनलाई केरकार निम्ति बसबाट ओरालियो र चौकीभित्र लगियो।
‘कहाँ जाने?’ प्रहरीले सोध्यो।
‘थिम्पु,’ उनले जवाफ दिए।
‘के काम छ?’
उनले थिम्पु जानुको प्रयोजन बताए। त्यसपछि प्रहरीले उनीसँग पास माग्यो। ती शिक्षकले यो नियम हटिसक्यो भन्ठानेका थिए। त्यसैले उनले पास बोकेर गएका थिएनन्।
‘गाउँको मण्डलकहाँ गएर पास बनाएर ल्याउनू, अनि मात्र जान पाउँछौ,’ प्रहरीले भन्यो।
उनले निकै बेर प्रहरीसँग कचकच गरिररहे। स्कुलको कामका लागि बेलुकीसम्म थिम्पु नपुगी नहुने कारण पनि खुलाए। तर सुनुवाइ भएन।
बस उनी र बिनापास यात्रा गरिरहेको नेपाली अनुहारका अरू यात्रुलाई बीच बाटोमै छाडेर अघि बढ्यो। त्यहाँ अरू गाडीबाट पनि थुप्रैलाई ओरालिएको थियो। ती सबै नेपालीभाषी थिए। कसैले पनि बख्खु लगाएका थिएनन्।
‘देशभित्रै हिँडडुल गर्दा त त्यस्तो कडाइ हुने ठाउँमा दसौं हजार गैरकानुनी आप्रवासी लुकिछिपी बसे होलान् भनेर कसरी पत्याउनू!’ दिल महतले प्रश्न गरे, ‘लाखौं लाख जनसंख्या भएका ठुल्ठूला सहर भइदिएको भए पनि लुकिछिपी बसे होलान् भन्न सकिन्थ्यो। दस–पन्ध्र हजार जनसंख्या भएका गाउँमा त्यत्रा लाख–लाख मान्छे गैरकानुनी रूपले बसेपछि राज्यले तुरून्तै थाहा पाउँदैन र? के दक्षिण भुटान भनेको राज्यको उपस्थिति नै नभएको ठाउँ हो र?’
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि ‘गैरकानुनी आप्रवासीको विवरण भुटानी नेपालीहरूलाई लखेट्ने उद्देश्यले षड्यन्त्रपूर्वक तयार पारिएको’ बताउँछन्।
‘पहिले जनगणनाको नाटक रचे, त्यसपछि हुँदै नभएको गैरकानुनी आप्रवासीको मिथ्या तथ्यांक निकाले,’ रिजालले भने, ‘अनि त्यही तथ्यांकका आधारमा पहिल्यैदेखि बसिरहेका नेपालीहरूलाई अनागरिक घोषणा गरेर देशबाट लखेटे।’
अब हामी सन् १९८८ को जनगणना कसरी नेपाली समुदायको ‘जातीय सफाया’ गर्न रचिएको षड्यन्त्र थियो भन्नेबारे चर्चा गरौं।
टेकनाथ रिजालले यसका आठ आधार औंल्याएका छन् —
पहिलो आधार, यो जनगणना देशव्यापी थिएन। नेपालीभाषीहरूको बाहुल्य रहेको दक्षिण भुटानी जिल्लाहरूमा मात्र गरिएको थियो।
दोस्रो, विगतमा जस्तो यो जनगणनामा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई सामेल गराइएको थिएन। दक्षिण भुटानलाई राम्ररी चिनेका जिल्लास्तरीय अधिकारी पनि परिचालन गरिएका थिएनन्। गृह मन्त्रालयले राजधानी थिम्पुबाटै अनुभवहीन युवाहरूलाई गणनामा खटाएको थियो। ती युवाहरू जानीजानी नेपाली भाषा नबुझेको अभिनय गर्थे र जोङ्खा भाषामा प्रश्न सोध्थे। यसले जोङ्खा भाषा नबुझ्ने भुटानी नेपालीहरूलाई सही जवाफ दिन गाह्रो पर्यो। जसको जवाफ थोरै पनि तलमाथि भयो, उनीहरूलाई अनागरिक घोषणा गरियो।
तेस्रो, सन् १९६४–७० को पहिलो जनगणनापछि नियमित अद्यावधिक गरिँदै आएको तथ्यांकका आधारमा नागरिकता प्रमाणपत्र पाइसकेका वा नागरिकताको प्रतीक्षामा रहेकाहरूसँग पनि आफू भुटानी भएको पुष्टि गर्न १९५८ मा जग्गाको कर तिरेको रसिद मागियो। धेरैले यस्तो रसिद सुरक्षित राखेका थिएनन्। अर्कातिर पुराना कागजपत्र जति थिए, ती सबै दक्षिण भुटानको सर्भाङस्थित कमिस्नर कार्यालयमा थिए। ल्होछाम्पाहरूका ऐतिहासिक दस्तावेज र उनीहरूले कर तिरेको रसिद त्यही कार्यालयमा सुरक्षित राख्ने चलन थियो।
यहाँ पनि राज्यले कस्तो झेल गर्यो भने, दक्षिण भुटानको कमिस्नर प्रथा खारेज गरेर त्यसको सट्टा जोङ्दा (प्रमुख जिल्ला अधिकारी) प्रणाली लागू गरियो। गृह मन्त्रालयले थिम्पुबाटै पूर्वसैनिक अधिकारीहरूलाई जोङ्दा बनाएर दक्षिण भुटानी जिल्लाहरूमा खटाएको थियो। उनीहरूले पुस्तौं पुस्तादेखि सुरक्षित राखिएका ऐतिहासिक दस्तावेज र ल्होछाम्पाहरूले तिरो तिरेका रसिदहरू सबै सुनियोजित ढंगले नष्ट गरे।
यति मात्र होइन, विगतमा दक्षिण भुटानका नेपाली समुदायबाट कर उठाउन मण्डलहरू नियुक्त गरिएका हुन्थे। भुटानी नेपालीहरूले कर तिरेको विवरण तिनै मण्डलहरूले राख्थे। शिक्षाको कमीका कारण सबै मण्डलले उत्तिकै प्रभावकारी ढंगमा हिसाब राख्न सक्थेनन्। जसले हिसाब राखेका थिए, उनीहरूसँग भएको विवरण पनि समयक्रममा हराएर गयो। यसबाट धेरै भुटानी नेपालीले आफू सन् १९५८ अघिदेखि भुटानमा बस्दै आएको प्रमाण पेस गर्न सकेनन्।
चौथो, जो–जोसँग १९५८ मा जग्गाको कर तिरेको रसिद, रजिस्ट्रेसन लगायतका पुराना कागजपत्र थिए, ती पनि राज्यले पहिले नै छलपूर्वक जफत गरिसकेको थियो। कतिलाई ती कागजपत्रको सट्टा अन्यत्र जमिन दिने प्रलोभन देखाइयो। तर उनीहरूलाई जमिन त दिइएन नै, नागरिक हुने हकसमेत खोसियो।
कतिले भने त्यस्ता कागजपत्र सेनाको जिम्मा लगाए। उनीहरूलाई त्यसबापत् ‘पैसा पनि पाइन्छ र ढुक्कसँग भुटानमा बस्न पनि पाइन्छ’ भनिएको थियो। तर सेनाले झुक्याएर ‘मैले राजीखुसीले आफ्नो जग्गा सरकारलाई बेचेँ र अबउप्रान्त भुटानमा बस्दिनँ’ भन्ने कागजमा हस्ताक्षर गरायो। पछि त्यही कागजका आधारमा उनीहरूलाई भुटानबाट लखेटियो।
पाँचौं, जनगणनामा खटिएका गणकहरूले कुन ठाउँमा कहिले गणना गर्ने भनेर अग्रिम सूचना जारी गरेका थिए। गणना टोली आउँदा प्रत्येक घरधुरीबाट प्रत्येक सदस्यलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरिएको थियो। परिवारका सबै सदस्य एकैचोटि हाजिर हुन व्यावहारिक रूपले सम्भव थिएन। परिवारमा बिरामी, असक्त र सुत्केरी महिलाहरू पनि हुन्थे। उनीहरू कयौं घन्टा हिँडेर भनेको बेला जनगणना टोली आउने ठाउँसम्म पुग्न सक्थेनन्। सेना, प्रहरी वा अन्य सरकारी सेवामा खटिएका कर्मचारीलाई समेत जनगणनामा व्यक्तिगत रूपले उपस्थित हुन अनिवार्य गरिएको थियो। सँगसँगै, उनीहरूलाई कामबाट छुट्टी नदिनू भन्ने थिम्पु प्रशासनको उर्दी पनि थियो।
यसरी परिवारको एक जना सदस्य पनि गणनामा उपस्थित भएन भने पूरै परिवारको नाम दर्ता गर्न अस्वीकार गरिन्थ्यो। उनीहरू सोझै गैरनागरिकको सूचीमा पर्थे।
छैठौं, जनगणना गर्न आएका गणकहरू एकदमै कडा मिजासका थिए। उनीहरू गणनाका लागि असान्दर्भिक प्रश्न पनि गर्थे। जस्तो– कसैको घरमा सानो बच्चा छ भने त्यो बच्चा कहिले जन्म्यो, कहाँ जन्म्यो भनेर मात्र पुग्थेन। उसको बुवाको जन्म कहाँ भयो, आमाको जन्म कहाँ भयो, कसरी बिहे भयो, कहिले बिहे भयो, आमाको माइती फलानो ठाउँमा हो कि होइन भनेर नानावली प्रश्न सोधिन्थ्यो। आफ्नो जवाफ पुष्टि गर्न प्रमाण पनि देखाउनुपर्थ्यो।
कतिपय विवाहित जोडी र उनीहरूको सन्तानलाई सँगै उभ्याएर ‘के यो सन्तान तिमीहरूकै हो?’ भनेर प्रश्न गरिन्थ्यो। जवाफमा ‘हो’ भन्यो भने ‘नानीको अनुहार त बाबुको अनुहारसँग मिल्दैन नि’ भनेर दुर्व्यवहार गरिन्थ्यो।
‘एउटी नारीका लागि गाउँ–समाजका अगाडि यस्तो प्रश्नको जवाफ दिनुपर्दा कति हिनताबोध हुँदो हो!’ रिजालले भने।
सातौं, सन् १९८० दशकभन्दा अगाडि दक्षिण भुटानका कार्यालयहरूमा जे–जति सरकारी दस्तावेज थिए, ती सबै नेपाली भाषामा लेखिएका हुन्थे। कमिस्नर प्रथा खारेज भएसँगै सरकारी कागजपत्रहरू जोङ्खा भाषामा मात्र लेख्न थालियो। जोङ्खा र नेपाली भाषाको उच्चारण फरक भएकाले सन् १९८२ पछि बाँडिएका नागरिकता प्रमाणपत्रमा मान्छेको नाम, बाबुको नाम, गाउँ लगायत विवरणमा व्यापक गल्ती भएका थिए। विवरण गलत हुनुको कारण सरकारी कर्मचारी स्वयं थिए, तर त्यसको भुक्तमानी भुटानी नेपालीहरूले नै हुनुपर्यो। विवरण गलत परेको भन्दै पहिले बाँडिएको नागरिकता फिर्ता लिइयो। उनीहरूलाई गल्ती सच्याएर नयाँ नागरिकता दिने भनिएको थियो, तर कहिल्यै दिइएन।
आठौं, पूर्ववर्ती राजा जिग्मे दोर्जीले प्राकृतिक प्रकोपका कारण आफ्नो पुर्ख्यौली थलोबाट विस्थापित भएका व्यक्तिहरूलाई सुकुम्बासीको संज्ञा दिँदै विभिन्न जिल्लामा बसोबास गराएका थिए। त्यस्ता सुकुम्बासीलाई राज्यले नै जग्गा उपलब्ध गराउने भनिएको थियो। जिग्मे सिंघे वाङचुक राजा भएपछि सन् १९७५–७६ तिर दक्षिण भुटानका विभिन्न जिल्लामा सुकुम्बासीको तथ्यांक पत्ता लगाउन टोली खटाइयो। उक्त टोलीले सुकुम्बासीको लगत संकलन गर्ने क्रममा उनीहरूसँग भएका सबै पुराना कागजपत्र कब्जामा लियो। सुकुम्बासीहरूले पनि नयाँ ठाउँमा जग्गा पाउने आसमा ती कागजपत्र खुरूक्क सरकारी प्रतिनिधिलाई सुम्पे। तर राज्यले उनीहरूसँग छल गर्यो।
त्यो बेला दक्षिण भुटानभरि कुल एक हजार सात सय सुकुम्बासी परिवार थिए। तीमध्ये जम्मा सात सय परिवारलाई सन् १९७८ मा जग्गाको पट्टा वितरण गरियो, जग्गा भने दिइएन। बाँकी एक हजार परिवारले त न राज्यबाट पट्टा पाए, न जग्गा पाए।
सन् १९८८ को जनगणनामा ती एक हजार सात सय सुकुम्बासी परिवार कसैले पनि आफूसँग भएका पुराना कागजपत्र देखाउन सकेनन् र कानुनी रूपमा भुटानी नागरिक साबित भएनन्।
जनगणनामा भएको एउटा दुखद घटना डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनले आफ्नो किताबमा उल्लेख गरेका छन् —
यो घटना बुद्धिमान दर्जीकी श्रीमती सीता दर्जीको हो।
बुद्धिमान भुटानी नागरिक नै हुन्। उनको घर चिराङ जिल्लाको छोखाना ब्लकमा थियो। उनकी श्रीमती सीता भने भुटानबाहिर जन्मेकीले नागरिकता थिएन।
सीताले जनगणना गर्न आएको टोलीलाई यही कुरा सुनाइन्।
गणकहरूले उनलाई भुटानी नागरिक मान्न अस्वीकार गरे र उनको नाम ‘गैरभुटानी’ सूचीमा चढाए।
यसले उनलाई भुटानमा बस्नै नपाइने त होइन भन्ने डर उत्पन्न भयो। आफ्ना श्रीमान र छोराछोरी भुटानमै छाडेर एक्लै निस्कनुपर्ने हो कि भन्ने चिन्ताले सीतालाई यति गाँज्यो, उनले पछि आत्महत्या नै गरिन्।
यो घटनाले दक्षिण भुटानमा निकै ठूलो तरंग ल्यायो।
अध्याय तेइस
राजासँग रिजालको टक्कर
सीता दर्जीको आत्महत्या र जनगणनाका नाममा दसौं हजार भुटानी नेपाली अनागरिक घोषित भएपछि उनीहरू आफ्नो अस्तित्व नै समाप्त हुन लाग्यो भन्दै जनप्रतिनिधिहरूकहाँ धाउन थाले। धेरैले गाउँका मण्डल गुहारे भने कतिपयले राज्यसभा सदस्यदेखि राजकीय सल्लाहकार परिषदका सदस्यहरूकहाँ गुनासो पठाए।
टेकनाथ रिजालकहाँ पनि थुप्रै लिखित र मौखिक उजुरी आए। उजुरी गर्नेमा चिराङ र साम्चीका मण्डलसमेत थिए।
त्यसैबीच एउटा अर्को घटना भयो — राजा जिग्मे सिंघे वाङचुकले दक्षिण भुटानी जनप्रतिनिधिहरूलाई बिनाकारण पदच्यूत गर्न थाले। गेलेङफुंगका राज्यसभा सदस्य हरिप्रसाद अधिकारीलाई निलम्बन गरियो। चिराङका सांसद लोकनाथ बस्नेत विदेशी महिलासँग विवाह गरेको अभियोगमा निलम्बनमा परे। सर्भाङका सांसद नारायण अधिकारीको पनि राज्यसभा सदस्य पद खोसियो। दागापेलाका सांसद केबी चौहानलाई भ्रष्टाचार छानबिनमा सहयोग नगरेको भन्दै ‘बिहान सातदेखि बेलुकी चार बजेसम्म एक महिना ढुंगा बोकाउने’ सजाय सुनाइयो।
रिजालका अनुसार जनप्रतिनिधिहरूलाई धमाधम पदच्यूत गर्नु वा सजाय दिनुका पछाडि राजाको ठूलो चाल लुकेको थियो। उनी यसबाट दक्षिण भुटानीहरूमाथि आतंक सिर्जना गर्न चाहन्थे।
नभन्दै त्यस्तै भयो।
नेपाली मूलका सांसदहरू त सुरक्षित छैनन् भने हामी कसरी सुरक्षित रहौंला भन्ने डरले भुटानी नेपालीहरूमा घर बनायो।
भयको तला थपिँदै गएपछि टेकनाथ रिजालले राजा जिग्मे सिंघेसँग दर्शनभेटको समय मागे।
राजाबाट उनलाई बोलावट आयो।
रिजालले नयाँ जनगणनाबाट भुटानी नेपालीहरूमाझ उत्पन्न अन्यौलबारे राजालाई जानकारी गराए। दक्षिण भुटानका विभिन्न जिल्लाबाट आफूलाई प्राप्त लिखित र मौखिक उजुरीहरू सुनाए।
राजाले चुपचाप उनको कुरा सुने। उनी बेलाबेला मुन्टो हल्लाउँथे र बेलाबेला निकै घत परेजस्तो ‘हुँ’, ‘हुँ’ भन्थे, तर केही जवाफ फर्काउँथेनन्।
जसै रिजालको कुरा टुंगियो, राजाले उनको आँखामा आँखा जुधाउँदै एकोहोरो हेरिरहे।
राजाको आँखामा कुनै भाव थिएन।
रिजालले भने राजासँग आँखा जुधाउन सकेनन्। उनले आफ्ना आँखा झुकाए।
राजा सायद यही क्षणको प्रतीक्षामा थिए, किनभने रिजालको आँखा झुक्नेबित्तिकै राजाले भने, ‘तिम्रो कुरा मैले बुझेँ, अब यी सबै विवरण मकहाँ लिखित रूपमा पेस गर्नू। म हेरेर आवश्यक कारबाही गर्छु।’
राजाबाट यस्तो आदेश भएपछि रिजाल ‘हवस् सरकार’ भन्दै बिदा भए।
दरबारबाट फर्किनासाथ रिजालले भीम सुब्बा, रणबहादुर बस्नेत, साङ्पा तामाङ, हरि क्षत्री, लोकबहादुर गुरूङ, मेघराज गुरूङ, ओम प्रधान लगायत दक्षिण भुटानका जनप्रतिनिधि तथा उच्च ओहोदाका व्यक्तिहरूसँग भेटे र जनगणनापछि उत्पन्न परिस्थितिबारे छलफल गरे।
उनले बंगलादेशका लागि तत्कालीन भुटानी राजदूत डिके क्षत्री र गृह मन्त्रालयका पूर्वनिर्देशक एनबी क्षत्रीसँग पनि परामर्श गरे।
ती सबैले एउटै कुरा भने, ‘राजालाई जनगणनाबाट उत्पन्न परिस्थितिको वास्तविक जानकारी नहुन सक्छ। त्यसैले एउटा लिखित निवेदन चढाउनू नै बेस हुन्छ।’
सबैको रायअनुसार रिजालले आफूलाई प्राप्त उजुरी, गुनासो र दक्षिण भुटानको अवस्थाबारे विस्तृत विवरण समेट्दै राजालाई चढाउने निवेदन तयार पारे।
सन् १९८८ अप्रिल ९ मा रिजाल र राज्यसभाका अर्का सदस्य विद्यापति भण्डारीले उक्त निवेदन राजा जिग्मे सिंघे वाङचुकसमक्ष पेस गरे।
‘जनगणनाले कल्पनै गर्न नसकिने वीभत्स अवस्था सिर्जना भएको छ,’ उनीहरूले निवेदनमा लेखेका थिए, ‘एउटै घरका परिवारमध्ये बाबु स्वदेशी भए आमा विदेशी र आमा स्वदेशी भए बाबु विदेशी हुने अवस्था आएको छ। कतिपय आमाबाबु दुवै स्वदेशी छन्, तर उनका केटाकेटी विदेशी भएका छन्। पुस्तौं पुस्तादेखि आफ्नो देश, आफ्नो माटो र मातृभूमि भनेर भुटानमा बस्दै आएकाहरूले एकाएक अनागरिक हुनुपरेको छ। बाहिरबाट विवाह गरी ल्याइएका महिला त सबै अनागरिक भएका छन्। त्यस्ता कतिपय महिलाले देश छाड्नुभन्दा मर्नु बेस भन्ठानेर आत्महत्या गरेको खबर पनि आएको छ।’
‘मुलुक बर्बाद हुँदैछ। जनता बर्बाद हुँदै छन्। यो बर्बादीको क्रम रोकिएन भने सर्वनाश हुन्छ। त्यसैले हामीले दक्षिण भुटानमा उत्पन्न परिस्थितिबारे मौसुफसमक्ष सम्पूर्ण तथ्य अघि सारेका छौं,’ निवेदनमा लेखिएको थियो।
राजाले निवेदन हातमा लिए, तर पढेनन्।
निवेदनका पानाहरूलाई बेपरवाह टेबलमा फ्यात्त राख्दै उनले भने, ‘विदेशी नागरिकसँग विवाह गरेर आजका दिनसम्म भुटानमा बसोबास गर्दै आएका दम्पतीलाई हामीले विवाह प्रमाणपत्र वितरण गरेका छौं। उनीहरूले त्यही प्रमाणपत्रका आधारमा यहाँ बस्न पाइरहेका छन्। व्यापार, व्यवसाय गर्न पाइरहेका छन्। सरकारी पदमा रहेर काम गर्न पनि पाइरहेका छन्। योभन्दा बढी सुविधा अरू के चाहियो?’
टेकनाथ रिजाल र विद्यापति भण्डारीले जनगणनाबाट उत्पन्न तमाम समस्या निवेदनमा औंल्याएका थिए, तर राजाले गैरभुटानी महिलासँगको विवाहको प्रसंग मात्र समाते। यसबाट उनी गहन छलफल गर्न चाहँदैनन् भन्ने प्रस्ट भइहाल्यो।
राजाले मूल समस्या पन्छाउन खोजेपछि रिजालले प्रतिवाद गरे र भने, ‘सरकार, यो समस्या गैरभुटानी नागरिकसँग विवाह गर्ने व्यक्तिहरूको मात्र होइन। दक्षिण भुटानका नेपालीहरूलाई आफ्नो नागरिकता प्रमाणित गर्न जुन सर्त थोपरिएको छ, त्यो हाम्रो मूल समस्या हो। हामीले आफू भुटानी भएको प्रमाणित गर्न सन् १९५८ मा जग्गाको कर तिरेको रसिद पेस गर्नुपर्ने सर्त राखिएको छ। तीस वर्ष पुरानो जग्गाको रसिद देखाउन जनतालाई हम्मे हम्मे परेको छ। यसले दक्षिण भुटान आतंकित छ सरकार।’
उनले अगाडि भने, ‘जहाँसम्म विदेशी महिलासँग विवाह गर्ने भुटानी पुरूषको सवाल छ, यसको बेग्लै विवरण राख्ने काम हामीले गर्दै आएका छौं। उनीहरूका लागि जे–जस्ता सर्त तोकिएका छन्, त्यसमा छुट्टै बहस हुँदै गर्ला, तर अहिलेलाई १९५८ भन्दा अगाडिदेखि भुटानमा बसेको प्रमाण माग्नु नै हाम्रो मूल समस्या हो। जनगणनाका लागि त्यस्तो अव्यावहारिक सर्त तोकिनु हुन्न भन्ने हामीलाई लाग्छ सरकार।’
राजा जिग्मे सिंघेले त्यसपछि पनि १९५८ को प्रावधानबारे कुरा गर्न चाहेनन्। बरू उनले भारतमा जारी नेपालीभाषीहरूको ‘गोर्खाल्यान्ड’ आन्दोलनको प्रसंग झिके र भने, ‘गोर्खाल्यान्डका आन्दोलनकारीहरू भुटानमा छिरेका छन् भन्ने हल्ला सुनिएको छ। त्यसले हामीलाई समस्या पार्न सक्छ। उनीहरूलाई छानेर भुटानबाट निष्कासन गर्न जनगणना गर्नुपरेको हो भन्ने कुरा तिमीले बुझेका छैनौ र?’
यसको जवाफमा रिजालले भने, ‘महाराज कसले भन्यो गोर्खाल्यान्डका मान्छे छिरेका छन् भनेर? यदि साँच्चै नै गाउँमा गोर्खाल्यान्डको मान्छे घुसेका छन् भने त्यसमा दक्षिण भुटानी जनताको के दोष? कसैको दोष छ भने मेरै छ। सबभन्दा पहिला मलाई जेल हाल्नुपर्छ। अनि को मान्छे गोर्खाल्यान्डको हो र को होइन भन्ने त सजिलै पत्ता लाग्छ नि महाराज। यसका लागि किन जनगणना गर्नुपर्यो र किन दक्षिण भुटानीहरूसँग १९५८ को प्रमाण माग्नुपर्यो?’
‘तिमी विदेशको पैसा खाएर वकालत गर्ने वकिलहरूजस्तो मसँग बहस नगर,’ राजाले झोँक्किँदै भने।
‘बहस गरेको होइन महाराज,’ रिजालले नम्र हुँदै भने, ‘राज्यले यति ठूलो कदम चल्दा मैले दक्षिण भुटानको जनप्रतिनिधिका हैसियतले यति बोल्न त पाउनुपर्छ भनेर बोलेको।’
रिजालको यस्तो कुरा सुनेपछि राजाले भने, ‘ठिक छ। म यस विषयमा परामर्श गरेर निर्णय गरौंला।’
राजाले यति भनेपछि थप कुराकानीको गुञ्जायस रहेन।
रिजाल र भण्डारी दरबारबाट फर्के।
दिन बित्यो, साता बित्यो। दरबारबाट कुनै जवाफ आएन।
यसबीच जनगणना टोलीले भुटानी नेपालीहरूलाई अनागरिक बनाउने क्रम ह्वात्तै बढ्यो। त्योसँगै रिजाल लगायतका जनप्रतिनिधिहरूका घरमा अनागरिक बनाइएका भुटानी नेपालीहरू आफ्नो दुःख सुनाउन आउने क्रम पनि बढ्यो।
एकदिन दरबारका राजकीय सचिव पेमा वाङ्छेनले जोङ्खा भाषामा लेखिएको एउटा पत्र राजकीय सल्लाहकार परिषदका अध्यक्षलाई हस्तान्तरण गरे।
परिषदका अधिकांश दक्षिण भुटानी प्रतिनिधिहरू जोङ्खा अक्षर पढ्न जान्दैनथे। बुम्थाङ जिल्लाका एक जना परिषद सदस्यलाई जोङ्खा भाषा आउँथ्यो। उनले त्यो चिठी पढे।
चिठीमा लेखिएको थियो — ‘सल्लाहकार परिषदका कुनै पनि सदस्यले राजालाई मन नपर्ने कुराको सल्लाह दिने प्रयास नगर्नू। त्यस्तो प्रयास गरेको खण्डमा चौबीस घन्टाभित्र राजधानी छाड्नुपर्नेछ।’
यो चिठी राजकीय सल्लाहकार परिषदका अध्यक्षलाई हस्तान्तरण गरिएको भए पनि खासमा टेकनाथ रिजाल र विद्यापति भण्डारीलाई दरबारका तर्फबाट दिइएको चेतावनी थियो।
‘हामीले जनगणनाको विषयमा धेरै चासो राखेको राजालाई चित्त बुझेको थिएन,’ रिजालले हामीसँगको कुराकानीमा भने, ‘त्यसैले उनले कि चुपचाप बस्नू, नभए राजधानी छाड्न तयार हुनू भनेर हामीलाई अप्रत्यक्ष रूपमा चेतावनी पठाएका थिए।’
रिजाल भने चुप बसेनन्।
उनले दरबारका उच्चपदस्थ अधिकारीहरूसँग सम्पर्क गर्न खोजे। तर कसैले पनि रिजालसँग भेट्न मानेनन्। फोनमा कुरा गर्नधरि चाहेनन्। राजाले सबै अधिकारीलाई रिजालसँग भेट नगर्नू भन्ने आदेश पहिल्यै दिइसकेका रहेछन्। यसका बाबजुद केही अधिकारीसँग कुनै सार्वजनिक समारोहमा जम्काभेट भयो। सुरूमा त उनीहरूले आँखा छले। तर्किन खोजे। तर रिजालले पछि लागेरै भए पनि आफ्नो कुरा राखिछाडे।
ती सबैले जनगणनाका नाममा दक्षिण भुटानमा भइरहेको अन्याय र अत्याचारबारे आफू पूर्णतया अनभिज्ञ रहेको जवाफ दिए। यो विषयमा थप कुराकानी गर्न आफूहरूलाई कुनै अधिकार नभएको पनि बताए।
जो–जोले उनलाई मद्दत गर्न सक्थे, ती सबै आफ्नो हात बाँधिएको छ भन्दै टक्टकिए।
रिजाल धर्मसंकटमा परे।
त्यसपछि उनले फेरि राजासँग दर्शन भेट गरेर उनैसँग गुहार माग्ने कोसिस गरे। तर राजाबाट दर्शन भेटको समय नै प्राप्त भएन।
‘हामी आफ्नो क्षेत्रमा भइरहेको अत्याचार टुलुटुलु हेर्न बाध्य भयौं,’ उनले भने, ‘हामीलाई दरबारले पिँजडाको सुगा बनाएको थियो।’
त्यही बेला जनगणनाबाट उत्पन्न समस्याबारे जनतासँग छलफल गर्ने भन्दै राजा जिग्मे सिंघे वाङचुक दक्षिण भुटानका चिराङ, साम्ची र गेलेगफुंगको भ्रमणमा गए। विगतमा राजा यसरी जिल्ला भ्रमणमा जाँदा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई पनि सामेल गराउने चलन थियो। यसपालि भने दक्षिण भुटानका कुनै पनि जनप्रतिनिधिलाई सामेल गराइएन। चिराङ जिल्लाबाट निर्वाचित राज्यसभा सदस्य टेकनाथ रिजाल पनि राजाको भ्रमण टोलीमा परेनन्। उनीहरू कसैलाई पनि राजा दक्षिण भुटानको भ्रमणमा जाँदै छन् भन्ने औपचारिक जानकारीसम्म दिइएन।
‘हामीलाई सुइँकोसम्म नदिई राजा दक्षिण भुटान भ्रमणमा जानु आफैंमा अर्थपूर्ण थियो। हामी जनप्रतिनिधिहरू भइदिएका भए राजालाई त्यहाँको यथार्थ विवरण दिन सक्थ्यौं। हाम्रो उपस्थितिमा जनता पनि आफ्नो कुरा खुलेर राख्न सक्थे। जिल्ला प्रशासकहरू मात्र अगाडि भएपछि एक त उनीहरूले सबै कुरा खुलस्त राख्ने भएनन्, अर्को जनता पनि राजासामु बोल्न हच्किने भए,’ रिजालले हामीसँग भने, ‘त्यसैले त्यो नाम मात्रको भ्रमण थियो। आफूले गरेको काम सही हो भनेर जनताबाट अनुमोदन गराउने अभीष्टले राजा हामीलाई खबर नगरी त्यहाँ गएका थिए।’
एक सातामा राजाको भ्रमण सकियो।
भ्रमणबाट फर्केको दोस्रो दिन उनले आपतकालीन मन्त्रिपरिषद बैठक डाके।
यो बैठकमा दक्षिण भुटानको समस्याबारे छलफल हुनसक्छ भनेर रिजाल पूर्ण तयारीका साथ गएका थिए। अचम्म के भयो भने, त्यस दिन रिजाललाई मन्त्रिपरिषद बैठकमा छिर्नै दिइएन।
उनी बैठक कक्षमा छिर्न खोज्दै थिए, त्यही बेला राजकीय सल्लाहकार परिषदका अध्यक्ष कुन्जाङ ताङ्बीले भने, ‘रिजाललाई आजको मन्त्रिपरिषद बैठकमा उपस्थित हुन नदिनू भन्ने सरकारको हुकुम छ।’
‘राजाले यसरी मन्त्रिपरिषद बैठकबाटै निकाल्छन् भन्ने त मैले कल्पनासम्म गरेको थिइनँ,’ रिजालले भने, ‘मलाई यसमा ठूलो षड्यन्त्रको आभाष भयो।’
त्यो एकचोटि मात्र होइन, त्यसपछि लगातार दुईचोटि बसेको मन्त्रिपरिषद बैठकमा रिजाललाई सामेल गराइएन। जबकि, बैठकको एजेन्डा जनगणनाले दक्षिण भुटानमा उत्पन्न समस्या नै थियो। दक्षिण भुटानको विषयमा छलफल गर्दा त्यहीँका जनप्रतिनिधि टेकनाथ रिजाललाई सामेल गराउनु र उनको कुरा सुन्नु जरूरी थियो। राजा जिग्मे सिंघेले भने यति औपचारिकता पनि निर्वाह गरेनन्।
रिजाल अनुपस्थित रहेका ती बैठकमा मन्त्रिपरिषद सदस्यका अतिरिक्त राजकीय सल्लाहकार परिषदका सदस्य र न्यायाधीशहरू सामेल थिए। रिजालले पछि बैठकमा सामेल विभिन्न व्यक्तिसँग कुराकानी गरेर के–के विषयमा छलफल भयो र राजाबाट के हुकुम भयो भन्नेबारे जानकारी लिए।
मन्त्रिपरिषद बैठकमा राजाबाट हुकुम भएछ, ‘दक्षिण भुटानमा जारी जनगणनाले त्यहाँका जनता दुःखी छन् भनेर टेकनाथ रिजालले मौखिक र लिखित रूपमा अपिल गरेका थिए। उनको त्यही अपिलपछि मैले सत्यतथ्य बुझ्न दक्षिण भुटानमा एक साताको भ्रमण गरेँ। मैले विभिन्न जिल्लाका जोङ्दाहरू (प्रमुख जिल्ला अधिकारी) सँग कुरा गर्दा टेकनाथले भनेजस्तो कुनै समस्या नभएको र सबै जनता राजीखुसी जनगणनामा सहभागी भइरहेको थाहा भयो।’
‘यसबाट के निष्कर्षमा पुगेँ भने, टेकनाथले सरासर मसँग छल गर्न खोजेका रहेछन्। त्यही भएर मैले टेकनाथलाई मन्त्रिपरिषद बैठकमा उपस्थित हुन निषेध गरेको हुँ। मकहाँ आएर गलत सूचना दिने, भ्रामक अपिल चढाउने र त्यसै आधारमा मलाई दक्षिण भुटान भ्रमण गर्न लगाएर अनाहक दुःख दिने काम टेकनाथबाट भएको छ,’ राजा जिग्मे सिंघेले भने, ‘मेरो विचारमा टेकनाथले जे गरे, त्यो राजद्रोह हो। यसका लागि उनलाई कस्तो सजाय दिन उपयुक्त हुन्छ? यस सम्बन्धमा न्यायाधीशहरूले कानुन बनाउनू र त्यो कानुन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रतिवेदन पेस गर्नू।’
राजाले यसको सम्पूर्ण जिम्मा तत्कालीन उपगृहमन्त्री दागो छिरिङलाई सुम्पेको रिजालले हामीलाई जानकारी दिए।
‘राजा यत्ति आदेश दिएर मन्त्रिपरिषदबाट उठेर हिँडेका थिए रे,’ रिजालले हामीसँग भने, ‘उनी त्यस दिन निकै रिसाएका पनि थिए रे। राजाको त्यस्तो रिस आफूहरूले कहिल्यै नदेखेको बैठकमा सामेल सदस्यहरूले मलाई सुनाएका थिए।’
रिजालले त्यसपछि आफूमाथि हुन लागेको कानुनी कारबाहीबारे परामर्श गर्न उच्च न्यायालयका न्यायाधीश लोकबहादुर गुरूङलाई भेट्न खोजे। कुनै बेला जिल्लाका प्रशासकसमेत रहेका गुरूङ राजाका निकट थिए। उनलाई दक्षिण भुटानको समस्याबारे सब जानकारी थियो। यसअघि राजासमक्ष लिखित अपिल चढाउन सल्लाह दिनेहरूमा उनी पनि एक थिए।
स्थितिले कस्तो कोल्टे फेर्यो भने, विगतमा हरेक कुरामा परामर्श गर्न र सल्लाह दिन तयार हुने लोकबहादुर गुरूङलाई यसपालि रिजालले भेट्नै सकेनन्। टेलिफोनमा कुरा गर्न समेत उनी डराए।
‘मलाई थिम्पु पूरै बिरानो बन्दै गएको आभाष भयो,’ रिजालले भने।
त्यही बेला एउटा खबर हावामा उड्दै उड्दै रिजालको कानसम्म पुग्यो — भुटान सरकार एक लाखभन्दा बढी दक्षिण भुटानी नेपालीहरूलाई देशबाट लखेट्ने योजनामा छ। यसका लागि भारतीय दूतावाससँग पनि उसले अनुमति लिइसकेको छ।
‘मलाई सुरूमा त यो खबर पत्याउनै मुश्किल पर्यो। मैले होइन होला भन्दै टारेँ। जतिसुकै अन्याय गरे पनि पुर्खौं पुर्खादेखि भुटानमा बस्दै आएका आफ्नै जनतालाई राजाले देशनिकाला गर्न सक्दैनन् भन्ने मेरो मनको विश्वास थियो,’ रिजालले भने, ‘तर म गलत साबित भएँ। राजाले मेरो विश्वास चकनाचुर पारे।’
उनी त्यही बेलाको एउटा अर्को घटना सम्झिन्छन्।
जति बेला भारतीय दूतावासको सहमतिमा एक लाखभन्दा बढी भुटानी नेपालीलाई लखेट्ने योजना बुनिँदैछ भन्ने खबर रिजालले सुनेका थिए, त्यही बेला भारतीय दूतावासका तृतीय सचिव आरके वर्माले उनलाई आफ्नै आवासमा रात्रिभोज निम्ति डाकेका थिए।
रिजाल आफूले सुनेको खबर सही हो कि होइन पत्ता लगाउन पनि त्यो रात्रिभोजमा जान चाहन्थे।
विदेशी नियोगले आयोजना गर्ने रात्रिभोजमा जाँदा विदेश मन्त्रालयबाट अनुमति लिनुपर्थ्यो। रिजालले विदेश मन्त्रालयसँग अनुमति मागे। उनलाई ‘एकैछिनमा खबर गर्छु’ भन्ने जवाफ आयो।
राति एघार बजेसम्म उनी अनुमति कुरेर बसिरहे।
साइँसुइँ केही खबर आएन।
उनले भारतीय दूतावासलाई ‘म आउन पाइनँ’ भनेर जानकारी दिन पनि पाएनन्।
‘अहिले सम्झिँदा यस्तो लाग्छ, त्यो रात भारतीय दूतावासले दक्षिण भुटानी नेपालीहरूकै बारेमा छलफल गर्न मलाई डाकेका थिए कि!’ रिजालले भने, ‘यही सुइँको पाएर मलाई त्यहाँ जाने अनुमति नै नदिइएको हो कि!’
यसरी एकातिर रिजाललाई सबैबाट अलग्याएर एक्लो बनाइँदै थियो भने अर्कातिर उनीमाथि छानबिन गर्न समिति पनि गठन गरिएको थियो।
छानबिनकै क्रममा उपगृहमन्त्री दागो छिरिङले एक रात रिजाललाई आफ्नै निवासमा भेट्न डाके।
रातको झन्डै नौ बजेको थियो। दागो छिरिङले रिजाललाई आफ्नो बैठक कोठामा लगे र कुनै भूमिका नबाँधी भने, ‘तपाईंमाथि छानबिन गर्न भनेर राजाबाट मलाई जिम्मेवारी बक्सेको छ। त्यसैले म तपाईंलाई केही प्रश्न सोध्न चाहन्छु।’
‘हुन्छ, सोध्नुस्,’ रिजालले भने।
‘दक्षिण भुटानका सम्बन्धमा तपाईंले भन्न खोजेको के हो?’
जवाफमा रिजालले भने, ‘यो जनगणनाले दक्षिण भुटानका धेरै नागरिकलाई नागरिकताको हकबाट विमुख गर्दैछ। गृह मन्त्रालयले केही वर्षअघि मात्र दिएको नागरिकता प्रमाणपत्र अस्वीकार गरेर सन् १९५८ मा जग्गाको कर तिरेको रसिद माग गरिँदैछ। यसले धेरै भुटानी नेपाली जनता गैरनागरिक हुने सम्भावना बढेको छ। जनगणना टोलीले त्यहाँका जनतासँग एकदमै अपमानजनक व्यवहार गरिरहेका छन्। यस्तो जनगणना तुरून्तै रोकिएन भने दक्षिण भुटानका जनताले साह्रै दुःख पाउने अवस्था म देख्दैछु।’
‘यही कुरा त्यहाँका जनताले त हामीलाई कहिल्यै भनेका छैनन्। त्यहाँका मण्डलहरूले पनि भनेका छैनन्। तपाईं मात्र किन भन्दै हुनुहुन्छ?’
‘किनभने म त्यहाँको जनप्रतिनिधि हुँ। उनीहरू मलाई यस कारण आफ्नो दुःख बाँड्छन्, किनभने म उनीहरूको दुःख बुझ्छु। जहाँसम्म मण्डलहरूको कुरा छ, दक्षिण भुटानका मण्डलहरू पनि यो समस्याबाट मुक्त छैनन्। उनीहरू स्वयं अनागरिक हुने अवस्थामा छन्।’
‘तर यो जनगणना राजाको आदेशअनुसार भएको हो भन्ने तपाईंलाई थाहा छैन? तपाईं राजाको मनसायमै प्रश्न उठाउँदै हुनुहुन्छ नि!’
‘मलाई राजाको मनसायमा कुनै शंका छैन। म स्थानीय जोङ्दा र गृह मन्त्रालयका अधिकारीहरूको मनसायमा पनि शंका गर्दिनँ। तपाईंहरूले राम्रै नियत राखेर दक्षिण भुटानमा जनगणना गराउनुभयो होला। तर स्थानीय जनप्रतिनिधिको नाताले यो जनगणनाबाट जनतालाई कस्तो मर्का परिरहेको छ भन्नेबारे सरकारलाई जानकारी गराउनु मेरो धर्म हो। गाउँलेहरूलाई जनगणनाका नाममा अत्याचार गर्ने, दुःख दिने र उनीहरूले पाइसकेको नागरिकता प्रमाणपत्र खोस्ने पाप हुँदैछ। यस्तो पाप राजाको मर्जीबिनै भइरहेको हो भन्ने म ठान्छु। यसमा तपाईंहरूको पनि मर्जी छैन होला। त्यसैले दक्षिण भुटानमा जे भइरहेको छ, त्यसको सत्यतथ्य राजा र तपाईंहरूलाई अवगत गराउन खोजेको हुँ। सरकार यो समस्याको निकास दिन गम्भीर छ भन्ने मेरो विश्वास छ।’
‘राजा स्वयं दक्षिण भुटानको भ्रमणमा जानुभएको थियो, उहाँलाई कसैले यस्तो कुरा सुनाएनन् नि!’
‘राजाको भ्रमण दलमा हामी दक्षिण भुटानी जनप्रतिनिधिहरूलाई पनि सामेल गराउनुपर्थ्यो। हामी पनि सँगसँगै भएका भए जनताले आफ्नो मर्का खुलस्त राख्न सक्थे। तर महाराजबाट गृह मन्त्रालयका प्रतिनिधि र स्थानीय जोङ्दाहरूलाई मात्र भ्रमणमा सामेल गराइबक्स्यो। जोङ्दाहरूका अगाडि जनताले आफ्ना कुरा राख्न सकेनन् होला। उनीहरू राजाको डरले बोल्न हच्किएका पनि हुन सक्छन्।’
दागो छिरिङले त्यसपछि दक्षिण भुटानबाट बाहिर निस्केर भ्रष्टाचार छानबिन आयोगको प्रसंग झिके।
राजा जिग्मे सिंघेले केही समयअघि मात्र सरकारको उच्च तहमा भइरहेको भ्रष्टाचार छानबिन गर्न टेकनाथ रिजालकै संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए। उक्त छानबिन समितिले जोङ्दा र गृह मन्त्रालयका केही उच्च अधिकारीहरू नै भ्रष्टाचारमा संलग्न रहेको विवरण तथ्य र प्रमाणसहित राजासमक्ष पेस गरेको थियो। यसमा राजाबाट कुनै कारबाही भने भएको थिएन।
रिजालले भने, ‘भ्रष्टाचारमा मुछिएका जोङ्दाहरूलाई कारबाही नहुँदा उनीहरू झन् प्रोत्साहित भइरहेका छन्। मैले भ्रष्टाचार छानबिनमा दोषी पाइएका साना कर्मचारीहरूप्रति राज्यले संयम अपनाउनुपर्छ भनेको थिएँ। यसका बाबजुद उनीहरूलाई जेलमा कोचियो। उनीहरू सानो सजायको भागीदार भएकाले चेतावनी दिने वा जागिरबाट बर्खास्त मात्र गरे पुग्थ्यो। भ्रष्टाचारका मुख्य दोषी भनेका ठूला कर्मचारीहरू हुन्। धेरै सजाय पाउनुपर्ने उनीहरूले नै हो। तर उनीहरू अहिले पनि आफ्नो पदमा बहाल नै छन् र भ्रष्टाचार गर्न थप प्रोत्साहित भएका छन्। यस्तो विभेदले देशलाई बर्बाद पार्छ भन्ने मेरो धारणा हो।’
त्यसपछि दागो छिरिङले सोधे, ‘तपाईंमाथि ल्होछाम्पाहरूको पैतृक जग्गा राज्यले खोसेर अरू समुदायलाई बाँड्न खोज्दैछ भनेर जनता भड्काउन खोजेको आरोप पनि छ नि!’
‘यो मैले त्यसै भनेको होइन। अहिले जनगणनाका नाममा जे भइरहेको छ, त्यसबाट ल्होछाम्पाहरूमाथि राज्यको दृष्टिकोण के हो भन्ने प्रश्न उठेको छ। जसरी उनीहरूको नागरिकता खोसेर गैरभुटानी बनाइँदैछ र जसरी उनीहरूको पैतृक सम्पत्ति हडप्ने काम भइरहेको छ, त्यसबाट यस्तो प्रश्न उठ्नु स्वाभाविक होइन र?’ रिजालले उल्टै प्रतिप्रश्न गरे।
यसमा दागो छिरिङ केही बोलेनन्।
उनले अगाडि सोधे, ‘भुटानी केटासँग विवाह गरेर आएका विदेशी महिलाहरूका बारेमा तपाईं के भन्नुहुन्छ?’
रिजालले जवाफ दिए, ‘मैले यो विषयमा महाराजसमक्ष पनि आफ्नो धारणा राखिसकेको छु। विगतमा सन् १९५८ को नागरिकता कानुनअनुसार भुटानी पुरूषसँग विवाह गर्ने विदेशी महिला यहाँ आएपछि स्वतः भुटानी नागरिक हुन्थे। उनीहरूका सन्तानलाई पनि जन्मसिद्ध नागरिकताको हक प्राप्त थियो। तर सन् १९७७ र १९८५ को कानुनले त्यस्ता महिलालाई गैरभुटानी सूचीमा राख्यो। उनीहरूका सन्तानले पनि विदेशी सरह विभिन्न सर्त पूरा गरेपछि मात्र भुटानी नागरिक हुने प्रावधान कानुनमा थपियो। यसले भुटानी पुरूषसँग विवाह गरेर आउने महिला मात्र होइन, उनीहरूका सन्तानको नागरिकताको हक पनि गुमेको छ भन्ने म ठान्छु।’
‘तर अहिलेलाई मूल समस्या यो होइन। यो विषय बिस्तारै हल हुँदै जाला, यसमा हामी थप छलफल गर्दै जान सक्छौं। मूल समस्या भनेको यो जनगणना हो, जसले भुटानी नेपालीहरूको नागरिकता प्रमाणित गर्न १९५८ भन्दा अगाडिदेखि बसोबास गर्दै आएको प्रमाण पेस गर्नुपर्ने सर्त राखेको छ। यही सर्तका कारण दसौं हजार भुटानी नेपालीको नागरिकता खोसिँदैछ। उनीहरू एकाएक स्वदेशीबाट विदेशी भएका छन्। अहिलेलाई यो समस्या सम्बोधन गर्नु हामी सबैको प्राथमिकता हुनुपर्छ।’
उनले अगाडि भने, ‘तपाईंले भुटानीसँग विवाह गरेर आउने विदेशी महिलाको प्रसंग झिकिहाल्नुभयो, त्यसैले एउटा कुरा थप्न चाहन्छु। हाम्रा कयौं युवा पढ्न विदेश गएका छन्। उनीहरूले उतैकी केटी विवाह गरेर ल्याउन सक्छन्। हाम्रै नागरिकले विवाह गरेर ल्याएकी ती केटीलाई यहाँ आएर बसोबास गर्न थालेपछि हामीले आफ्नो नागरिक किन स्वीकार नगर्ने? विगतमा यसरी विवाह गरेर आएका महिलाहरू कति त आमा भइसके, हजुरआमा भइसके। यो जनगणनाले उनीहरूको नागरिकता पनि खोस्दैछ। यो चाहिँ उनीहरूमाथिको अन्याय नै हो।’
‘ती महिलाहरू विवाह गरेर भुटान आए। यहीँ बसे, यहीँका भए। अब अहिले एकाएक उनीहरूलाई राज्यले गैरभुटानी भनेपछि उनीहरू कहाँ जाने? कहाँ छ उनीहरूको जाने ठाउँ? उनीहरूले आफ्नो श्रीमान र श्रीमानको परिवार मात्र होइन, भुटानलाई नै आफ्नो संसार मानिसके। अब भुटानले गलहत्याएर निकालेपछि उनीहरूको के हाल होला? यस्तो अवस्थामा त्यो सिंगो परिवारकै बिचल्ली भएन र?’
‘कानुन बनाऊ ठिक छ, तर आज बनाएको कानुन त आजबाट पो लागू हुनुपर्छ, पहिलेबाटै कसरी लागू हुनसक्छ? नयाँ कानुन पुराना घटनामा पनि आकर्षित हुन थाल्यो भने त जनतामाथि अन्यायको पराकाष्ठा नै भइहाल्यो नि! नागरिकता कानुनले भुटानीसँग विवाह गरेर आएका गैरभुटानी महिलालाई त्यस्तै अन्याय गरेको छ।’
तीन घन्टाभन्दा लामो चलेको यो सवालजवाफमा दागो छिरिङले रिजालका कुरा रेकर्ड गर्नुका साथै टिपोट पनि लिएका थिए। सवालजवाफ सकिएपछि उनले त्यही टिपोटमा रिजालको दस्तखत मागे। रिजालले टिपोटमा लेखिएका कुरा सर्सर्ती पढे र दस्तखत गरिदिए।
छुट्टिने बेला दागो छिरिङले भने, ‘यो छानबिन जारी रहुञ्जेल तपाईं थिम्पु छाडेर बाहिर नगइदिनुहोला।’
रिजाल ‘हुन्छ’ भनेर बाहिरिए।
उनी निस्कँदा मध्यरात भइसकेको थियो।
थिम्पुको सडक सुनसान थियो। त्यस्तै सुनसान थियो, रिजालको मन।
‘त्यो रात घर फर्किँदै गर्दा मेरो मन काबुबाहिर थियो,’ उनले भने, ‘मलाई भुटानी नेपालीहरूमाथि मडारिएको खतराको आभाष भइसकेको थियो। उनीहरूको बिचल्ली हुने भो भन्ने सोचले नै मलाई व्याकुल बनाएको थियो।’
दागो छिरिङले मध्यरातसम्म बयान लिएको भोलिपल्टै राजा जिग्मे सिंघेले मन्त्रिपरिषद बैठक डाके। रिजालले पछि लोकबहादुर गुरूङमार्फत् उक्त बैठकमा के–के भयो भन्ने जानकारी लिए।
दागो छिरिङले रिजालको बयानसहित आफ्नो छानबिन प्रतिवेदन राजासमक्ष पेस गरेछन्। त्यसपछि एक जना न्यायाधीशले भनेछन्, ‘राजालाई भ्रमपूर्ण सूचना दिने र दक्षिण भुटान पठाएर अनाहक दुःख दिने टेकनाथ रिजाललाई दण्डस्वरूप दुवै खुट्टा फलामे साङ्लाले बाँधेर आजीवन कारावास सजाय सुनाउनुपर्छ।’
‘त्यो दिन पनि राजा एकदमै रिसाएका थिए रे,’ लोकबहादुरको भनाइ उद्धृत गर्दै रिजालले हामीसँग भने।
त्यसको केही दिनपछि रिजाल आफ्ना कान्छा छोरा नृपेन्द्रलाई जँचाउन अस्पताल गएका थिए।
उपचार सकेर बाहिर औषधि किन्दै गर्दा दुई जना प्रहरी उनको नजिक आए।
‘तपाईंलाई मन्त्रीज्यू (दागो छिरिङ) ले प्रहरी कार्यालय लिएर आउनू भन्ने आदेश दिनुभएको छ,’ उनीहरूले भने, ‘तपाई हामीसँग जानुपर्यो।’
‘मसँग अहिले बिरामी छोरा छ,’ रिजालले भने, ‘उसलाई घर पुर्याउने मान्छे अरू कोही छैन। त्यसैले उसलाई घर पुर्याएर म आफैं प्रहरी कार्यालय आउँछु।’
ती प्रहरी अधिकारीले रिजालको कुरा मानेनन्।
भने, ‘तपाईंलाई तुरून्तै ल्याउनू भन्ने आदेश छ। बरू तपाईं छोरालाई पनि आफूसँगै लिएर आउन सक्नुहुन्छ।’
प्रहरीले यति भनेपछि रिजाल आफ्नो छोरासहित उनीहरूको पछि लागे।
प्रहरी कार्यालय पुगेपछि उनले देखे, दागो छिरिङ उनलाई नै कुरेर बसेका रहेछन्।
दागो छिरिङले उनको हातमा एउटा चिठी थमाए।
चिठी जोङ्खा भाषामा लेखिएको थियो। रिजाल जोङ्खा अक्षर पढ्न सक्दैन थिए। दागो छिरिङले त्यहीँका एक जना प्रहरी अधिकारीलाई चिठी पढ्न आदेश दिए।
चिठीमा लेखिएको थियो — ‘टेकनाथ रिजाललाई राजद्रोहको अभियोगमा राज्यसभा र राजकीय सल्लाहकार परिषद सदस्यबाट पदमुक्त गरिएको छ। सरकारबाट अर्को निर्णय नआउञ्जेल उनलाई थुनामा राख्नू। यो राजाको आदेश हो।’
टेकनाथ रिजाल पक्राउ परे।
उनलाई थुनामा राखियो र उनका कान्छा छोरालाई प्रहरीकै गाडीमा घर छाडियो।
जनगणनाका नाममा भुटानी नेपालीहरूलाई गैरनागरिक बनाउने षड्यन्त्रविरूद्ध आवाज उठाउने टेकनाथ रिजाललाई पक्राउ गरेर राजा जिग्मे सिंघे वाङचुकले आफ्नो अभीष्ट छर्लंग पारिसकेका थिए।
उनको नियत प्रस्ट थियो। उनको दिशा प्रस्ट थियो।
र, योसँगै भुटानी नेपालीहरूको नियति प्रस्ट हुँदै थियो। उनीहरूको दशा प्रस्ट हुँदै थियो।
टेकनाथ रिजाललाई थुनामा कसैसँग भेट्न दिइएन। परिवारका सदस्यहरूलाई पनि उनले भेट्न पाएनन्।
रिजाललाई भेट्न आउने शुभेच्छुक साथीभाइलाई पनि गृह मन्त्रालय बोलाएर बयान लिइयो र मानसिक तनाव दिइयो।
‘दागो छिरिङ भने दुईपटक मलाई भेट्न आए र राजाका नाममा माफीनामा लेख्न सुझाव दिए,’ रिजालले भने।
दागो छिरिङको भनाइ थियो, ‘राजाको मर्जीमा सुरू भएको जनगणनामा भाँजो हाल्न खोजेर मबाट गल्ती भयो भनी राजासँग माफी माग्नुस्। अबउप्रान्त जनगणनाको काममा कुनै चासो दिने छैन र दिएँ भने जुनसुकै सजाय भोग्न तयार छु भनेर पनि लेख्नुस्।’
‘तपाईंलाई मेरो सुझाव चित्त बुझ्यो भने तपाईं अहिलेको अहिले नै आफ्नै हातले माफीनामा लेख्न सक्नुहुन्छ,’ दागो छिरिङले भने, ‘म आजै लगेर राजासमक्ष तपाईंको बिन्तीपत्र चढाइदिऊँला।’
रिजालले दागो छिरिङको प्रस्ताव स्वीकार गरेनन्।
उनले भने, ‘मैले माफी माग्नुपर्ने कुनै कारण छैन। जनगणना जसले गराएको भए पनि त्यसबाट दक्षिण भुटानी जनतामाथि अन्याय भइरहेको छ। यो नै साँचो हो। मैले दक्षिण भुटानको जनप्रतिनिधिका हैसियतले साँचो कुरा उठाएको हुँ।’
उनले यो पनि भने, ‘बरू म राजासँग एकचोटि भेट्न चाहन्छु। उहाँले दर्शन भेट दिनुभयो भने म व्यक्तिगत रूपमा भेटेर आफ्नो स्पष्टीकरण पेस गर्नेछु।’
दागो छिरिङ कुनै जवाफ नदिई निस्के।
त्यसपछि न उनी आफू भेट्न आए, न कुनै प्रस्ताव पठाए।
यसरी कसैलाई भेट्न नपाई थुनामा बस्नुपरेपछि रिजालले सोचे — यही पाराले त यिनीहरूले मलाई थुनामै राखेर मार्छन्! यसरी थुनामा बसिरहनुभन्दा बरू म आफैं राजाका नाममा एउटा अपिल लेख्छु। त्यो अपिलले कुनै न कुनै उपाय निस्किन्छ कि!
यही सोचेर रिजालले राजाका नाममा अपिल लेखे र दागो छिरिङमार्फत् राजासमक्ष पेस गरे।
रिजालको अपिल प्राप्त भएपछि राजाले फेरि दरबारमा मन्त्रिपरिषद बैठक डाकेछन् र भनेछन्, ‘टेकनाथ रिजाललाई अहिले जेलमुक्त गरौं। तर जेलमुक्त गरे पनि निरन्तर निगरानी राखौं। ऊ कहाँ जान्छ, को–कोलाई भेट्छ, उसका साथीहरू को–को छन्; यी सबको पल–पलको खबर मलाई चाहिन्छ।’
‘अब पनि ऊ षड्यन्त्र गर्दै हिँड्यो र राजसंस्थाविरूद्ध अनर्गल प्रचारबाजीमा लागिरह्यो भने तुरून्तै पक्राउ गर्नू र आजीवन जेलमा सडाउनू,’ राजाले आदेश दिए।
राजाको यस्तो आदेशपछि टेकनाथ रिजाललाई पक्राउ गरेको चौथो दिन थुनामुक्त गरियो।
उनलाई जोङ्खा भाषामा लेखिएको एउटा पत्रमा हस्ताक्षर गर्न लगाइयो। उक्त पत्र न्यायाधीश लोकबहादुर गुरूङले रिजाललाई पढेर सुनाए, जसमा लेखिएको थियो, ‘टेकनाथ रिजालले आजीवन तीन जनाभन्दा बढी मान्छेसँग एकैचोटि भेट्न र बोल्न पाउने छैन। कुनै दिन यो आदेश उल्लंघन भएको पाए आजीवन कारावास सजाय दिनू। यो राजाको आदेश हो।’
रिजाल थुनाबाट निस्कँदै गर्दा दागो छिरिङले भने, ‘अबउप्रान्त राजालाई भेट्ने कोसिस नगर्नू। आफ्ना नानीहरूलाई पनि सरकारी स्कुलबाट तुरून्तै निकाल्नू। तपाईंका नानीहरूले अब राजाको अनुमतिबिना कुनै पनि सरकारी स्कुलमा पढ्न पाउने छैन।’
रिजाल त्यहाँबाट सिधै आफ्नो डेरामा गए।
त्यहाँ पुगेपछि उनले थाहा पाए, थुनामा छँदा उनको डेरा खानतलासी गरिएको रहेछ। राजालाई देखाउन भनी उनले तयार पारेर राखेका जनगणनासम्बन्धी थुप्रै गोप्य कागजपत्र र दस्तावेजहरू जफत गरिएछन्।
‘थुनाबाट बाहिर आएपछि मैले थुप्रै मान्छेसँग भेट्न खोजेँ। ओम प्रधानसँग भेट्न खोजेँ। राजकीय सल्लाहकार परिषदका सदस्यहरूसँग भेट्न खोजेँ। अरू पनि मेरा पुराना हितैषीहरूलाई सम्पर्क गरेँ,’ रिजालले हामीसँग भने, ‘तर कोही पनि मलाई भेट्न इच्छुक देखिएनन्। सबैको मनस्थिति बुझ्दा पूरै थिम्पु डर, त्रास र भयमा डुबेको देखिन्थ्यो।’
उनलाई अब यसै पनि तीन जनाभन्दा बढी व्यक्तिसँग एकैचोटि नभेट्नू भन्ने राजाज्ञा थियो। राजालाई भेट्ने कोसिस नगर्नू भनेर दागो छिरिङले उर्दी जारी गरिसकेका थिए। अर्कातिर, राज्यसभा र राजकीय सल्लाहकार परिषदबाट पदच्यूत गरिएकाले दक्षिण भुटानको जनप्रतिनिधिको हैसियत पनि उनले गुमाइसकेका थिए।
त्यसपछि रिजाल थिम्पुमा बसिरहन सकेनन्। राजा र उनको सरकारसँग टक्कर लिएर राजधानीमा बसिरहनु उनका लागि जोखिमपूर्ण हुँदै गयो।
उनी थिम्पु छाड्ने टुंगोमा पुगे।
थिम्पु छाड्ने अघिल्लो दिन उनलाई राजपरिवारबाट यस्तो व्यक्तिको फोन आयो, जुन उनले कल्पनासम्म गरेका थिएनन्।
फोन गर्ने राजा जिग्मे सिंघे वाङचुककी ठूली आमा आजी टासी थिइन्।
उनै आजी टासी, जो सन् १९६४ मा दरबारको आन्तरिक शक्ति संघर्षका कारण भुटानबाट भागेर नेपालमा शरण लिन पुगेकी थिइन्।
त्यति बेला राजा जिग्मे दोर्जी वाङचुकले नातामा आफ्नो सालो पर्ने जिग्मे पाल्देन दोर्जीलाई भुटानको पहिलो प्रधानमन्त्री बनाएका थिए। राजाको यो निर्णयबाट उनका सौतेनी भाइ नामगेल वाङचुकको समूह रूष्ट थियो। त्यसैबीच फुन्सोलिङ भ्रमण क्रममा होटलमा बास बस्दा जिग्मे पाल्देनको गोली हानेर हत्या गरियो। जिग्मे पाल्देनको परिवारले उक्त हत्या नामगेल वाङचुकले गराएको भनी सप्रमाण दाबी गर्यो। तर त्यसमा अनुसन्धान वा कारबाही अघि बढेन। त्यसपछि जिग्मे पाल्देनकी बहिनी आजी टासीसहित भाइ लेन्डुप दोर्जी, दक्षिण भुटानका कमिस्नर रिन्जिन लगायत उनका केही सहयोगीहरू नेपालमा शरण लिन पुगे। जिग्मे सिंघे वाङचुक राजा भएपछि उनले आफ्ना मामा लेन्डुप दोर्जी र ठूली आमा आजी टासीसहित नेपाल निर्वासनमा रहेका सबैलाई बिनासर्त भुटान फिर्ता बोलाए।
दरबारको क्रूरता नजिकबाट देखे–भोगेकी आजी टासी टेलिफोन गरेकै दिन झमक्क साँझ परेपछि रिजालको घर पुगिन्।
‘उहाँले म र मेरो परिवारको भविष्यप्रति चिन्ता व्यक्त गर्दै हामीलाई सहानुभूति दिनुभयो। देशको बिग्रिँदो परिस्थिति र विवेक हराउँदै गएको दरबारको अवस्थाप्रति चिन्ता पनि जनाउनुभयो,’ रिजालले आजी टासीसँगको भेटबारे आफ्नो संस्मरणमा लेखेका छन्, ‘नामगेल वाङचुकको षड्यन्त्रबाट विगतमा आफूले नेपालमा शरण लिन बाध्य हुनुपरेको, आफ्ना दाजु जिग्मे पाल्देन दोर्जीको हत्यामा कुनै छानबिन नभएको र अहिलेको समस्या पनि नामगेल वाङचुककै कारण उत्पन्न भएको उहाँको भनाइ थियो।’
आजी टासीसँग भेटेको भोलिपल्ट रिजाल थिम्पुबाट फुन्सोलिङ गए, अनि त्यहाँबाट सपरिवार गेलेङफुंग गए। केही दिन गेलेङफुंगमै बसेर लामीडाँडा जाने उनको योजना थियो।
गेलेङफुंगको घरमा दुई–चार दिन बस्दा उनले के चाल पाए भने, भुटान सरकार उनलाई राजद्रोह वा कुनै फौजदारी अभियोग लगाएर फेरि पक्राउ गर्ने सुरमा छ। यसको निम्ति स्थानीय जोङ्दाहरूको मुखबाट ‘टेकनाथ रिजालले भुटानको राजा हुने षड्यन्त्र रचेको छ, त्यसैले उसबाट होसियार रहनू’ भनेर भ्रम फैलाइएको उनले थाहा पाए।
उनलाई अब भुटानभित्रै खुलेआम आउजाउ गर्न गाह्रो पर्यो। उनी आफ्ना निकट मान्छेहरूसँग भेटघाट गर्न पनि असमर्थ भए।
उनले सोचे — भुटान अब मेरो निम्ति सुरक्षित छँदै छैन। यहाँ रहेर न म दक्षिण भुटानी जनताको हक–अधिकारका लागि लड्न सक्छु, न उनीहरूलाई भेटेर संगठित गर्न सक्छु। मैले एक शब्द बोलेँ भने तुरून्तका तुरून्तै मलाई पक्राउ गरिनेछ। र, यसपटक पक्राउ परेँ भने सायद मेरो पूरा जिन्दगी कारागारमा बित्नेछ।
यही सोचेर रिजालले भुटान छाड्ने निधो गरे।
यस्तो निधो गर्दा उनले आफ्ना कुप्रा हजुरबुवा दिलभद्र रिजाललाई सम्झे, जो आजभन्दा २२४ वर्षअघि सन् १७९९ मा भुटान बसाइँ सरेका थिए।
यो भनेको गोरखाका राजा राम शाह र भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले गाँसेको दौत्य सम्बन्धको सेतु चढेर नेपालीहरूको पहिलो खेप भुटान प्रवेश गरेको १७५ वर्षपछिको कुरा हो। त्यति बेला भुटानमा धर्मराजाहरूकै शासन थियो, वाङचुक वंशको उदय भइसकेको थिएन।
पूर्वी भुटानको तोङ्सा प्रान्तका शासक (पोनलोप) उगेन वाङचुकले सन् १९०७ मा समस्त भुटानमाथि आधिपत्य जमाउँदै आफूलाई राजा घोषणा गरेका हुन्। अर्थात्, रिजालको पुर्खाले बसोबास थालेको १०८ वर्षपछि मात्र भुटानमा वाङचुक वंशको उदय भएको थियो।
रिजालले सम्झे — उनका कुप्रा हजरबुवा दिलभद्र रिजाल नेपालको पाँचथरबाट ब्रिटिस गोर्खा सैनिकमा लाहुरे हुन गएका थिए। त्यसै क्रममा उनी भारतको गढवाल, त्यहाँबाट सिक्किमको नाम्ची र कालिम्पोङ हुँदै भुटानको हा भन्ने ठाउँमा पुगे। केही समय त्यहाँ बिताएपछि चिराङ जिल्लाको लामीडाँडा गएर स्थायी रूपले बसोबास गर्न थाले।
उनले सम्झे — कुप्रा हजुरबुवाले पहिलोपटक छोएको भुटानको माटोलाई कसरी उनका जिजुबुवा कुलानन्द रिजाल, हजुरबुवा रामचन्द्र रिजाल र बुवा दीनानाथ रिजालले आफ्नो पसिनाले सिँचे!
उनले सम्झे — वाङचुक वंशले राजगद्दी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि निधारमा भुटानी माटोको टीका लगाएर बसिरहेका उनी कसरी तिनै वाङचुक राजाका कारण आफ्नो भूमिबाट बेदखल हुँदै छन्!
उनले यो पनि सम्झे — दक्षिण भुटानका धेरै नेपालीको पुर्ख्यौली हाँगो यस्तै वा योभन्दा घना छ। के जिग्मे सिंघे वाङचुकले तिनलाई पनि देश छाडेर हिँड्न बाध्य पार्लान्?
यी सब सम्झेर ल्याउँदा रिजालको शरीरभरिका मांसपेसी बाउँडिए।
मुटु फुट्लाझैं भुलुकभुलुक भयो। छाती उम्लेर घाँटीसम्मै हुलुक्क भएर आयो। जीउ थरथरी काम्यो।
उनलाई आफूमुनिको धर्ती फाटेर त्यसैभित्र भासिँदै गएझैं लाग्यो।
आफूमाथिको आकाश खसेर त्यसैले थिचेजस्तो छाती गह्रुँगो भएर आयो।
उनी कम्तिमा गोडाको बूढीऔंलाले भए पनि भुटानको धर्ती टेकिरहन चाहन्थे। तर भुटानले उनलाई बूढीऔंलाले टेक्न पुग्नेजति धर्ती दिन पनि अस्वीकार गर्यो।
मनभरि शोक, सुर्ता र सिहरन बोकेर एकदिन झिसमिसेमै उनले आफ्ना साना नानीबाबुहरूको मुख हेरे र पत्नी कौशिलालाई भने, ‘यिनीहरूको राम्रो ख्याल राख्नू ल!’
त्यो सन् १९८८ जुन १० को दिन थियो।
भुटान छाडेर हिँड्दा टेकनाथ रिजालका आँखामा बेस्कन झरी दर्किएको थियो — सायद दिनरात चौबीसै घन्टा पानी परिरहने ‘सराप’ लागेको त्यो जंगलमा जस्तै!
सन् १९८२ मा जब टेकनाथ रिजालले भुटानी जनतालाई फोटोसहितको नागरिकता प्रमाणपत्र बाँड्ने प्रस्ताव राजा जिग्मे सिंघे वाङचुकसमक्ष राखे, राजाले उनको प्रस्ताव खुब मन पराए र नागरिकता वितरणको देशव्यापी अभियान सुरू गरे।
अभियान सुरू भएपछि राजा जिग्मे सिंघेले गृह मन्त्रालयका कर्मचारीलाई बोलाएर भनेका थिए, ‘हाम्रो देशमा नागरिकता दिनुपर्छ भन्ने मान्छे यही हो, त्यसैले पहिलो कार्ड यसैलाई दिऔं।’
‘राजाको आदेशअनुसार गृह मन्त्रालयबाट पहिलो नागरिकता प्रमाणपत्र पाउने व्यक्ति मै हुँ,’ रिजालले हामीसँगको कुराकानीमा भने, ‘त्यति बेला मेरो नागरिकतामा ‘राज्यसभा सदस्य’ लेखिएको थियो।’
‘पछि जब म जेलबाट छुटेँ, भुटान सरकारले मेरो पुरानो नागरिकता जफत गर्यो र नयाँ नागरिकता दियो,’ उनले अगाडि भने, ‘नयाँ नागरिकतामा मेरो पेसा ‘प्राइभेट’ लेखिएको थियो।’
इतिहासको संयोग पनि कस्तो! जुन राजाको आदेशबाट टेकनाथ रिजालले भुटानको पहिलो नागरिकता परिचयपत्र पाए, त्यसको छ वर्षपछि उनै राजाको षड्यन्त्रमा परेर भुटानबाट निर्वासित हुने पहिलो शरणार्थी पनि रिजाल नै हुन पुगे।
त्यसको अर्को वर्ष सन् १९८९ देखि त नेपालमा भुटानी शरणार्थीहरूको लर्को नै लाग्यो।
तिब्बतबाट शरणार्थीका रूपमा भुटान प्रवेश गरेका ङवाङ नमग्यालले जुन नेपालीभाषीहरूको सहयोगमा भुटान राज्य निर्माण गरेका थिए, तिनै नेपालीभाषी भुटानीहरू आखिरमा ङवाङ नमग्यालजस्तै आफ्नै भूमिबाट शरणार्थीका रूपमा निकालिए।
गोरखाका राजा राम शाह र भुटानी धर्मराजा ङवाङ नमग्यालले गाँसेको दौत्य सम्बन्धको सेतु चढेर भुटान बसाइँ सरेका नेपालीहरूका पुस्तालाई आफूले रगत–पसिना बगाएर सिँचेको भूमिबाट अन्यायपूर्वक लखेटियो।
र, शरणार्थीका रूपमा नेपाल फर्किन बाध्य पारियो।
अर्को अंकमा हामी टेकनाथ रिजालको नेपाल निर्वासन र जेल जीवनबारे चर्चा गर्नेछौं।
अर्को अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाको बिर्तामोडस्थित घरमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी