भुटानको ४०० वर्षको कथाः अंक ११
अध्याय तीसः अमेरिकामा पहिलो दिन
रिमरिम साँझमा रोड आइल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलको रंगीचंगी प्रकाशले गाडीहरू रंगीबिरंगी देखिँदै थिए।
उनको आफ्नै सेतो गाडीले छेपारोभन्दा छिटोछिटो रङ फेर्दै थियो — छिनमा रातो देखिन्थ्यो, मिलिक्कै नीलो हुन्थ्यो; छिनमा हरियो देखिन्थ्यो, मिलिक्कै बैजनी भइजान्थ्यो।
उनी विमानस्थल पार्किङको सबभन्दा आखिरी लहरमा थिए। स्टेयरिङमा हात अड्याएर सिसा र बोनटमाथि चलिरहेको रंगीन नाचको लुत्फ उठाउँदै उनले नाडीघडी हेरे — छ बज्न छब्बीस मिनेट बाँकी थियो।
रङहरूको नृत्यमा निर्धक्क रमाउन समय पाएर उनी फुरूंग भए र आँखा चिम्लेर आफ्नो जिन्दगीलाई फर्केर हेरे।
मान्छेको जिन्दगी रङहरूको नृत्यभन्दा बढ्ता के नै हो र! कसैको जिन्दगी हिजो गुलाबी थियो, आज कालो होला। कसैका लागि हिजोको कालो जिन्दगी आज गुलाबी भयो होला! रङ पनि एकनासे होइन, रेसा–रेसा खप्टिएको सप्तरंगी जिन्दगी!
उनको आफ्नै जिन्दगी हिजो के थियो!
युद्धले बबन्डर मच्चाएको इराकको बगदादमा पलपल पाएको नयाँ जीवन समेट्दै थिए। हरेकचोटि मृत्युलाई छुस्स छोएर आउने सास फेर्दा जीवनप्रति कृतज्ञ हुन्थे र अर्को सास फेर्न पाइने हो कि होइन भनेर धुकचुक मान्थे। धन्न उनको जीवन कालो अन्धकारभित्र अलप भएन! उनले उज्यालोको सेतो धर्सो भेटे र त्यही धर्सोमा आफ्नो सपना पछ्याउँदै ‘सपनाको सहर’ न्यूयोर्क आइपुगे। घट्दै गएका जीवनका रङहरूलाई मुठ्ठीमा कसे र नयाँ रङ भर्न थाले, चित्रकारले क्यानभास सिँगारेझैं!
उनी अहिले म्यासाचुसेट्स राज्यको वुस्टर सहरमा छन्। शरणार्थी पुनर्स्थापनामा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘लुथरन वर्ल्ड सर्भिस’ को गाडी हाँक्छन्।
र, यति बेला आफूजस्तै अमेरिकामा आश्रय लिन आएका नयाँ शरणार्थीको स्वागत गर्न विमानस्थल आइपुगेका छन्।
उनलाई यी अपरिचित आगन्तुक आफूजस्तै लाग्दैछ। नाम थाहा नभए पनि उनको नियति आफ्नोजस्तै लाग्दैछ। कथा नसुने पनि कथान्त सुनेझैं लाग्दैछ। विगत थाहा छैन, तर उनको वर्तमान देखेझैं लाग्दैछ।
मान्छेले अर्काको सुखमा आफ्नो सुख देख्दैन, तर अर्काको दुःखले मान्छेलाई आफ्नै दुःख सम्झाउँछ!
सुखले दुरी बढाउँछ, दुःखले एक बनाउँछ!
रङहरूको नृत्यमा झुम्दै मनको तर्कनामा झुलिरहेका इराकी शरणार्थी वालाले फेरि आफ्नो नाडीघडी हेरे — छ बज्न सोह्र मिनेट बाँकी थियो।
रङहरूको नृत्यमा निर्धक्क रमाउन वालासँग अझै केही समय थियो।
वालालाई अमेरिकामा सबभन्दा मनपरेको यहाँको अतरंगी चाल हो। उनी यहाँ सबैलाई आफ्नै धूनमा मगनमस्त देखेर मग्न छन्। अरूका बारेमा चियोचर्चा गर्ने चाहना कसैलाई छैन। अरूको निधिखोजी गर्नु अमेरिकी समाजको नियम होइन। को कहाँबाट आयो? कसरी आयो? किन आयो? कोही सोध्दैन। को के गर्छ? कहाँ जान्छ? कसरी बाँच्छ? कोही सोध्दैन। कसैको कल्पनामा कसैले किलो ठोक्दैन। कसैको उडानमा कसैले उल्झन ल्याउँदैन। कसैको अतीतसँग कसैलाई अप्ठ्यारो छैन। कर्ममा विश्वास गर्ने समाज हो; कर्मले जसलाई जहाँ पुर्याउँछ, ऊ त्यहीँ पुग्छ। भाग्यको भारमा थिचिएर कोही बस्दैन, कसैलाई बस्नु पनि छैन। विरासतको विमान चढेर कोही उड्दैन, कसैलाई उड्नु पनि छैन। जसको जति ल्याकत छ, उसले समाजबाट त्यति नै लिन्छ। जसको जति देन छ, समाजले उसलाई त्यति नै दिन्छ। खुला समाजको विशेषता यही हो, सायद!
वाला बेलाबेला सोच्छन् — मेरो समाज पनि यत्तिकै खुला भइदिए त! मैले आफ्नो देशमा यसरी नै निर्धक्क बाँच्न पाइदिए त! मेरो देशले मेरो मानवीय मूल्य बुझिदिए त!
मलाई मेरो देशले मान्छे मानिदिएको भए त!
‘म आज आफ्नै देशमा हुन्थेँ, आफू जन्मे–हुर्केको भूमि छाडेर यहाँ आउनैपर्ने थिएन!’ मनको तर्कनामा डुबेका वाला मनमनै बर्बराए, ‘शरणार्थी चोला पहिरिएर पराई भूमिलाई अपनाउनैपर्ने थिएन!’
वालाको ओठ हल्का चलमलायो। उनी आफैंसँग बोल्दै थिए, ‘म यहाँ खुसी छु, धेरै खुसी! तर आफ्नै देशमा मान्छे भएर बाँच्न पाएको भए म अझै खुसी हुन्थेँ, यहाँभन्दा धेरै खुसी!’
मनको उफानसँग रोटेपिङ खेलिरहेका वालालाई मौसमको रमिताले झस्काइदियो।
एकछिन अघिसम्म आकाश सफा थियो, एकछिनमै बादलको गड्याङगुडुङ सुरू भयो।
मान्छे र मौसममा यही मेल छ — जुनसुकै बेला जे पनि हुनसक्छ!
वालाले गाडीको झ्याल खोले। देब्रे हत्केला बाहिर निकाले। बरफझैं चिसो पानीले हत्केलामा करेन्ट लागेझैं भयो। अब एकछिनमा हिउँ पर्छ होला! यो हिउँदको पहिलो हिउँ!
वालाले हिउँ देखेको यहीँ आएर हो। पहिलो हिमपातमा उनी हडबडाएका थिए। अचेल हिउँसँग उनको हेलमेल भइसक्यो। फुसफुसे हिउँ छ भने त ज्यान फालेरै हेलिन्छन्। बाक्लो हिउँ पनि झ्यालबाट हेरिरहन हिरिक्कै हुन्छन्।
उनी स्टेयरिङमा हात अड्याएर सिसा र बोनटमाथि झरिरहेको तुपचुप पानीनाचको लुत्फ उठाउँदै थिए।
उनले देखे — आकाशबाट बेरंगी झरेका पानीका थोपाहरू विमानस्थलको रंगीचंगी प्रकाश मिसिएर यस्तरी टल्किँदै थिए, मानौं हरेक थोपामा इन्द्रेणी समाएको होस्!
वालाले नाडीघडी हेरे — छ बज्न छ मिनेट बाँकी थियो।
अब चाहिँ उनलाई हतार भयो। उनले कारको रियर–भ्यू मिररमा आफ्नो मुहार हेरे। यताउता लत्रिएका कपाल सपक्क कोरे। गाडीको ग्लोभ्स कम्पार्टमेन्ट खोलेर न्याप्किन झिके र मुख पुछपाछ पारे।
कम्पार्टमेन्टमै एउटा प्लास्टिकको फाइल थियो। उनले फाइलबाट ए–फो साइजको कागज निकाले।
कागजमा अपरिचित आगन्तुकको नाम थियो।
उनले त्यो नाम हेरे — एकछिनसम्म हेरिरहे।
त्यो नामसँग उनको चिनापर्ची थिएन, तर उनलाई चिनेजस्तै लाग्यो — आफूजस्तै लाग्यो!
उनीहरूबीच शरणार्थीको साइनो जो थियो!
नाम — पूर्ण न्यौपाने।
नाडीघडीमा सवा छ बज्दा वाला दुई हातले ए–फो कागजका दुई छेउ समातेर विमानस्थलको आगमन कक्षबाहिर उभिएका थिए।
उनी मान्छेको पदचापले घ्यार्रर खुल्ने सिसाको स्वचालित ढोकाबाट निस्किने हरेक अपरिचित अनुहारतिर आँखा दौडाउँथे।
ती अपरिचित आँखामध्ये धेरैले वालाको अरबी अनुहार एक झलक हेर्दा पनि हेरेनन्। कोही कोही मात्र थिए, जो वाला उभिएकै ठाउँतिर आउँथे, तर वालातिर हेर्दै नहेरी कागजमा लेखिएको नाम मात्र पढ्थे।
भीड बढ्दै गयो। यात्रुहरूको कल्याङमल्याङ बाक्लिँदै गयो। सुटकेस र ट्रलीको ख्यार्रर आवाज कर्कश सुनिन थाल्यो।
त्यही बेला आगमन कक्षको स्वचालित ढोकाभन्दा ठ्याक्कै पछाडिको लिफ्ट सर्रर खुल्यो।
लिफ्टबाट पाँचवटा सुटकेस र चारवटा हातेझोलासहित चार अपरिचित अनुहार बाहिर निस्के — एक पुरूष र एक महिला, एक बालक र एक बालिका।
वालाले सिसाबाहिरैबाट देखे — तिनले गुडाउँदै ल्याएका सुटकेसमा ठुल्ठूला अक्षरले ‘आइओएम’ लेखिएको थियो।
आइओएम, अर्थात् शरणार्थीहरूको बसाइँसराइसम्बन्धी राष्ट्रसंघीय नियोग ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’।
वालाले खुसी हुँदै हात हल्लाए र आफूले बोकिरहेको कागज देखाए।
उनीहरू कागजमा नाम पढेर वालातिर बढे।
वालाले दुइटा सुटकेस गुडाउँदै आएका पुरूषतिर लम्किँदै सोधे, ‘पूर्ण न्यौपाने?’
‘एस, आई एम पूर्ण न्यौपाने।’
वालाको हँसिलो अनुहारमा झन् बढी हाँसो चम्कियो।
‘वेलकम टू युनाइटेस स्टेट्स अफ अमेरिका,’ उनले भने, ‘माईसेल्फ वाला।’
‘थ्यांक यू वाला,’ पूर्णले भने।
‘दिस अल योर ब्याग?’ वालाले आफ्नै पाराको अंग्रेजीमा सोधे।
‘यस, दिज आर अल वी ह्याभ।’
‘ओके, लेट्स गो,’ वाला विमानस्थलको पार्किङतिर लम्किए।
पूर्णले वालालाई पछ्याए।
श्रीमती, छोरी र छोराले पूर्णलाई पछ्याए।
‘एन्ड योर जर्नी अल गुड?’ वालाले हिँड्दा हिँड्दै पूर्णतिर फर्किएर सोधे।
‘यस इट्स फाइन, टायरिङ बट् गुड।’
पाँच–छ कदम बढेपछि वालाले के सोचे कुन्नि, पूर्णको हातबाट एउटा सुटकेस लिन खोजे।
पूर्ण अनकनाए।
‘ले मुश्किलेता ले मुश्किलेता,’ वालाले भने, ‘आई मिन नो प्रोब्लम, नो प्रोब्लम, आई विल क्यारी।’
‘यू नो, वी बोथ सेम–सेम,’ उनले सुटकेस देब्रे हातमा लिए र दाहिने हातको औंलाले पूर्णतिर इसारा गर्दै भने, ‘यु रेफ्युजी, आई रेफ्युजी। यू फ्रम भुटान, आई फ्रम इराक। यू नो इराक? सद्दाम हुसेन?’
‘या या, आई नो इराक भेरी वेल, आई नो सद्दाम हुसेन टू।’
‘बट् सरी सदिक इलाजिजो,’ वालाले हाँस्दै भने, ‘आई डोन्ट नो भुटान।’
‘नो प्रोब्लम, इट्स एब्सुलुट्ली फाइन।’
‘शुक्रान,’ वालाले आफ्नो दाहिने हात छातीमा राखे, ‘थ्यांक यू!’
त्यसपछि पूर्णले सोधे, ‘बट् ह्वाट इज दिस सदिक इलाजिजो?’
‘ओह सरी, दिस इस अरेबिक,’ वालाले भने, ‘सदिक मिन्स फ्रेन्ड एन्ड सदिक इलाजिजो मिन्स माई डियर फ्रेन्ड!’
पूर्ण मुसुक्क हाँसे।
वालाले मुस्कानको जवाफ मुस्कानले नै दिए।
यति बेलासम्म उनीहरू विमानस्थलको पार्किङमा पुगिसकेका थिए जहाँ रङ र पानीको नाच जारी थियो।
वालाले सबै सुटेकस र झोलाहरू गाडीमा थन्क्याए।
सबै जना आफ्नो जीउमा तप्केका पानीका थोपा टक्टक्याउँदै भित्र छिरे।
गाडी रोड आइल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट बाहिर निस्कियो। मूल सडकमा एकछिन कुदेर दाहिने घुम्यो र सय मिटरजति हुइँकिएपछि यू–टर्न मारेर वुस्टर जाने फ्री–वे समात्यो।
यहाँबाट वुस्टरसम्मको दुरी असी किलोमिटर, वालाले भने, ‘इट इज वान आवर जर्नी, सो इन्जोय योर फस्ट अमेरिकन राइड सदिक इलाजिजो!’
वालाको दाहिनेतिर बसेका पूर्ण मुसुक्क हाँसे र उनकै शैलीमा दाहिने हात छातीमा राख्दै भने, ‘शुक्रान सदिक इलाजिजो!’
पूर्णले यति छिट्टै अरबी शब्द टिपेको देखेर वाला दंग परे र मुसुमुसु हाँस्दै भने, ‘जइदोन जइदोन, आई मिन गुड गुड।’
‘तिमीलाई थाहा छ पूर्ण,’ वालाले आफ्नै पाराको अंग्रेजीमा भने, ‘मैले इराक त छाडेँ तर इराकले मलाई छाडेन।’
पूर्णले वालाको काँध थपथपाए, ‘सबैलाई त्यस्तै हुन्छ। हामी आफ्नो देश छाड्न सक्छौं, देशले हामीलाई छाड्दैन।’
‘देश भनेको भूगोल मात्र होइन नि वाला, भूगोलभन्दा बढ्ता भावना हो,’ आँखाअगाडि लमतन्न तन्किएको फराकिलो सडकतिर हेर्दै पूर्णले भने, ‘हामी जसलाई छाडेर हिँड्छौं, त्यो भूगोल हो; भावना त हामी जहाँ गयो, सँगसँगै आउँछ। तिमी संसारको जुनसुकै कुनामा जाऊ, प्राण रहेसम्म भावनाले तिम्रो साथ छाड्दैन।’
पूर्णको कुराले एकाएक वालाको मनमा देशको नियास्रो जाग्यो।
‘यु आर सो लभ्ली सदिक इलाजिजो,’ एकसुरमा स्टेयरिङ बटार्दै उनले भने, ‘आज पनि म अमेरिकामा इराक बोकेर हिँडिरहेको छु। यहाँको अंग्रेजीमा आफ्नो अरबी शब्द र अरबी लवज मिसाउँछु। म यहाँ आएको दुई वर्ष हुनै आँट्यो तर अहिलेसम्म सपनामा अमेरिका देखेको छैन। हरेक रात सपनाले मलाई इराक नै पुर्याउँछ।’
पूर्ण चुपचाप उनको कुरा सुन्दै थिए।
‘म आफ्नै घरमा हुन्छु। कहिले बगैंचामा केटाकेटीसँग खेलिरहेको हुन्छु। कहिले आमासँग जिस्केर बसेको हुन्छु। कहिले श्रीमतीलाई लिएर बगदाद घुम्दै गरेको देख्छु,’ वालाले आफ्नो सपनाको विस्तार लगाए, ‘मेरो कानमा श्रीमतीको मायालु स्वर गुञ्जिन्छ। म केटाकेटीको किलकारी सुन्छु। साथीभाइहरूसँग हाँसोठट्टा गरिरहेको हुन्छु। त्यही बेला धडाम्म बम पड्किन्छ। आँखाअगाडि अँध्यारो छाउँछ। धुवाँ नै धुवाँ भरिएर आउँछ। सडक धुलाम्मे हुन्छ। घरहरू गर्ल्यामगुर्लुम्म ढल्छन्। बीच बजारमा आगोको लप्का छुट्छ।’
‘म मान्छेको चित्कार सुन्छु। रक्तमुच्छेल मान्छेहरू हाँपदाँप गर्दै यताउति कुदिरहेको देख्छु। कसैको हात छैन, कसैको खुट्टा छैन। कसैको शिर धडबाट अलग भएको छ। कसैको पेट फुटेर आन्द्राभुँडी बाहिर निस्केको छ। कसैको गिदी छ्यालब्याल छ। बच्चाहरू चिच्याउँदै छन्। युवाहरू च्याँठ्ठिँदै छन्। म चारैतिर लासै लास देख्छु। अनि त्यही लासै लासको बीचबाट चिच्याउँदै ब्युँझिन्छु। ब्युँझिसक्दा पनि म थरथरी कामिरहेकै हुन्छु। मलाई आफू अमेरिकाको अपार्टमेन्टमा होइन, बगदादको आफ्नै घरमा छु जस्तो लाग्छ। मेरो घर भग्नावशेषमा परिणत भएजस्तो लाग्छ। म धुवाँ र धूलोले पुरिएझैं लाग्छ। लासको उरूङ र घाइतेहरूको हुजुमबीच उकुसमुकुस निस्सासिएझैं लाग्छ।’
‘एक रात होइन, दुई रात होइन; मलाई हरेक रात यस्तै हुन्छ। सपनामा बर्बराउँछु, सपनामै कहालिन्छु,’ वालाले अगाडि भने, ‘यही कहाली सम्झेर मलाई कहिलेकाहीँ त सुत्न पनि डर लाग्छ।’
‘डराई डराई सुत्नुको एउटा फाइदा चाहिँ छ, के थाहा छ?’ उनले सोधे।
‘के?’
‘म सपनामा भए पनि इराक पुग्छु। सुत्दै नसुतेको भए कसरी सपना देख्थेँ! सपना नदेखेको भए अमेरिकामै बसी बसी कसरी इराक पुग्थेँ!’ उनले भने, ‘भलै कहालिएर ब्युँझिनुपरोस्, असिनपसिन हुनुपरोस्; भलै बमको धमाकाले थरथरी काम्नुपरोस्, मलाई मेरो सपना प्यारो लाग्छ।’
पूर्ण चुपचाप सुनिरहे।
‘तिमीलाई थाहा छ, जस्तो कहालीलाग्दो सपना देखे पनि होसमा आउँदा मेरो ओठमा बगदादको मीठो स्वाद बसेको हुन्छ। मेरो आँखाअगाडि बगदाद नै नाचिरहेको हुन्छ। मलाई बिहानभरि आफ्नो कोठामा बगदादको इत्र बसाएझैं लाग्छ। सपनाले दिने यस्तो स्वाद मैले आजसम्म विपनामा पनि पाएको छैन।’
पूर्णले कुनै प्रतिक्रिया जनाएनन्।
उनलाई थाहा छ — भावनामा प्रतिक्रियाको भाउ हुँदैन! भावना असीमित हुन्छ, अतुलनीय हुन्छ, अपरम्पार हुन्छ!
उनी सोच्दै थिए — वालाले दुई वर्षको अमेरिका बसाइमा जे भोगे, त्यो मैले सोह्र वर्ष नेपालमै भोगेर आइसकेँ। मैले पनि शरणार्थी शिविरमा रहँदा कुनै रात नेपालको सपना देखिनँ। हरेक रात भुटानले नै पछ्याउन आइरह्यो। मैले सोह्र वर्ष पल–पल भुटान बाँचे र सायद जिन्दगीभरि मेरो आत्मामा भुटान नै बाँचिरहनेछ।
उनी यो पनि सोच्दै थिए — अब मेरो बाँकी जिन्दगी अमेरिकामै गुज्रिन्छ होला। भुटानको माटो एकचोटि छुनधरि नपाई म यतै मर्छु होला! तर जति बाँच्छु, मेरो आत्मामा पल–पल भुटान बाँच्नेछ। म भुटानको माटोमा जन्मेँ, नियतिले मलाई नेपाल पुर्यायो र अहिले अमेरिकातिर हुत्याइदियो। तर यत्ति कुरा निश्चित छ, म मर्ने बेला पनि भुटानकै भएर मर्नेछु। आत्माभरि भुटान नै साँचेर मर्नेछु।
पूर्णले मनको तर्कनाबाट बाहिर निस्केर पुलुक्क वालातिर हेरे — उनी सडकमा आँखा टिकाएर स्टेयरिङ नचाउँदै थिए।
पछाडि फर्केर श्रीमती र छोराछोरीलाई हेरे — उनीहरू तीनै जना एकटक झ्यालको सिसाबाहिर एकोहोरिएका थिए।
वालाको भावनामा भुलेर पूर्णले त झन्डै सहर हेर्न बिर्सेका पो रहेछन्!
उनले चारैतिर आँखा डुलाए।
तुपतुप पानीले भिज्दै गरेको सन्ध्याकालीन सहर सुन्दर देखिँदै थियो। फराकिलो र चिल्लो सडक, चमचमाउँदा कारहरू र विज्ञापनका झल्याकमल्याक होर्डिङ बोर्ड — यस्तो त उनले अंग्रेजी सिनेमामा मात्र देखेका थिए!
कहीँ दायाँ घुमेको आकाशे पुल, कहीँ बायाँ घुमेको भूमिगत बाटो, अनि कहीँ दायाँ–बायाँ एकैचोटि घुमेको माकुरीजालो — यस्तो त उनले कल्पनामा मात्र देखेका थिए!
ठाउँठाउँमा खुला हरियो मैदान, कहीँ खुला पार्क; जता हेर्यो भर्खरै झाडु लगाएजस्तो सिनित्त सफा — यस्तो त उनले सपनामा मात्र देखेका थिए!
बेलाबेला गाडी अगाडि हुइँकिदा स्वाँट्ट पछाडि सर्ने अग्लाअग्ला घर र ती घरका हरेक तलामा चमचम चम्किरहेको बिजुली — यस्तो चमकधमक त उनले अहिलेसम्म चिताएका मात्र थिए!
अमेरिकाको पहिलो झलकले चार भुटानी शरणार्थीका चार जोडी आँखा जति चकाचौंध हुँदै थिए, अनिश्चित भविष्यको कल्पनाले उति चिन्तित पनि देखिन्थे।
त्यही बेला वालाले एफएम रेडियो अन गरे।
एलिसिया किजको सुमधुर स्वर गुञ्जियो —
आई जस्ट वान्ट यू क्लोज
ह्वेर यू क्यान स्टे फरएभर
यू क्यान बी स्योर
ड्याट इट् विल गेट बेटर
यू एन्ड मी टुगेदर
थ्रो द डेज एन्ड नाइट्स
आई डोन्ट वरी कज्
एभ्रिथिङ्स गना बी अलराइट
एलिसिया किज क्लासिकल पियानो वादनमा प्रशिक्षित अमेरिकी गायिका हुन्। उनको यो गीत पनि पियानोको धुनबाटै सुरू हुन्छ। उनी आफूले गाउने गीतहरू प्रायः आफैं लेख्छिन्। यो गीत कुन भावले लेखेकी हुन् र कुन भावले गाएकी हुन्, उनै जानून्! तर यतिखेर पूर्ण न्यौपाने गीतका शब्दहरू आफ्नै भावमा उल्था गर्दै भुटानको यादमा उल्झिँदै थिए —
हे भुटान, समयको हुन्डरीले उडाओस् जहाँसुकै,
तिम्रो याद सधैं मेरो हृदयमा बस्ने छ,
यो ऐँठन लम्बियोस् जतिसुकै,
एकदिन सब ठिक हुनेछ, मलाई विश्वास छ।
हे भुटान, सुखको दिन होस् या दुःखको रात्रि,
तिम्रो झझल्को छातीमै टाँसिएको छ,
समयको हुन्डरीले उडाओस् जहाँसुकै,
एकदिन सब ठिक हुनेछ, मलाई विश्वास छ।
हे भुटान, भन्नेहरू भन्दै गरून्,
हेप्नेहरूले हेप्दै गरून्,
चाहे खोसियोस् हाम्रो अधिकार,
चाहे बनाइयोस् हामीलाई शरणार्थी,
एकदिन सब ठिक हुनेछ, मलाई विश्वास छ।
पूर्णले गीतको अर्थ जसरी लगाए, गाडीमा सवार सबैले सायद त्यसरी नै आफ्नै ढंगले अर्थ लगाउँदै थिए।
रिमरिम साँझ छिप्पिँदै थियो। वुस्टर जाने नागबेली सडकमा निख्खर सेतो गाडी बेतोड हुइँकिदै थियो।
गाडीमा एलिसिया किज गाउँदै थिइन् —
पिपल किप टकिङ
दे क्यान से ह्वाट दे लाइक
बट् अल आई नो इज्
एभ्रिथिङ्स गना बी अलराइट
बिस्तारै आकाशबाट फुसफुस हिउँ पर्न थाल्यो — हिउँदको पहिलो हिउँ!
त्यो सन् २००८ अक्टोबर १५ को दिन थियो।
अध्याय एकतीस
तेस्रो देश पुनर्वास
पूर्ण न्यौपानेलाई हामीले काठमाडौंमा भेटेका थियौं। उनी घरायसी कामले बुवा र श्रीमतीसँग आएका थिए।
हाम्रो सम्पर्क चाहिँ उनी अमेरिका हुँदै भएको थियो। हामी यो कथा शृंखलाका लागि तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका वा अन्य कुनै मुलुक गएका भुटानी शरणार्थीको खोजीमा थियौं। त्यही क्रममा बोस्टनमा बस्ने मुकेशचन्द्र बराल — जो भुटान लगायत विभिन्न मुलुकबाट अमेरिका पुगेका शरणार्थीहरूको पुनर्स्थापनामा आबद्ध छन् — उनीमार्फत् पूर्ण न्यौपानेसँग हाम्रो सम्पर्क भयो। अहिले यी दुई जना मिलेर शरणार्थी र आप्रवासीहरूको सरोकारमा काम गर्ने ‘अराइज’ नामक स्वयंसेवी संस्था चलाउँछन्। त्यति बेला भने पूर्ण न्यौपाने लुथरन वर्ल्ड सर्भिसमा पूर्णकालीन आबद्ध थिए।
अमेरिकी सरकारले भुटानी शरणार्थीहरूको पुनर्स्थापना गर्न सातवटा राष्ट्रिय स्तरका संस्थालाई जिम्मा दिएको थियो। तिनैमध्ये लुथरन वर्ल्ड सर्भिस एक हो। पूर्ण र उनको परिवारले यही संस्थामार्फत् म्यासाचुसेट्स राज्यको वुस्टर सहरमा नयाँ जीवन सुरू गरेका थिए।
जब हामीले पूर्णलाई भुटानबाट नेपाल हुँदै अमेरिकासम्मको यात्राबारे कुरा गर्ने इच्छा देखायौं, उनले भने, ‘म केही समयमै काठमाडौं आउँदैछु, त्यही बेला भेटेर कुरा गरे हुँदैन?’
हामीले ‘हुन्छ’ भन्यौं।
काठमाडौंमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठ्याक्कै पछाडिको थुम्को, अर्थात् जडिबुटीभन्दा माथि पर्ने हात्तीडाँडा भन्ने ठाउँमा बसेका थिए। हामीले त्यहीँ गएर पूर्णसँग लामो कुराकानी गर्यौं।
कुनै पनि पात्रसँग कुराकानी सुरू गर्दा सामान्यतया हामी ‘तपाईंको उमेर कति भयो’ भनेर सोध्छौं। यही प्रश्न पूर्णलाई पनि सोधेका थियौं। उनको जवाफ थियो, ‘म ५८ वर्ष पनि भएँ, ५४ वर्ष पनि भएँ। जति लेखे पनि गलत हुँदैन।’
सुरूमा त उनले ठट्टा गरे कि भन्ठान्यौं, तर होइन रहेछ। प्रशासनिक गडबडीले उनी साँच्चै दुइटा उमेर बोकेर हिँडिरहेका रहेछन्।
‘यस्तो कसरी भयो त?’ हामीले सोध्यौं।
‘मेरो जन्म सन् १९६५ मा भएको हो। यस हिसाबले ५८ वर्ष भएँ। खास उमेर यही हो,’ उनले भने, ‘तर तेस्रो देश पुनर्वास निम्ति कागजपत्र बनाउँदा जन्ममिति १९६९ लेखिएछ। यस हिसाबले म ५४ वर्ष मात्र भएँ।’
‘चार वर्ष जवान भएर अमेरिका जानुभएछ, बधाई छ,’ हामीले ठट्टा गर्यौं।
‘कागजमा उमेर घटेर के गर्नू, कागजको कुरा ज्यानले मान्दैन,’ उनले मुसुमुसु हाँस्दै भने, ‘बेलाबेला कागज हेरेर बल्ल ५४ त पुगेँ भनेर दंग पर्यो, जीउले ५८ पुगेको संकेत दिइहाल्छ। एकछिन दंग पर्ने अवस्था पनि छैन भन्या!’
उमेरको गडबडीमा रोचक चाहिँ के छ भने, कागजी उमेरले पूर्ण आफ्नी बहिनीभन्दा कान्छा भएका छन्।
‘हेर्दाहेर्दै बहिनी दिदी भइन्,’ उनले भने, ‘यस्तो अद्भूत त अन्त कतै हुँदैन भनेर परिवारमा बेलामौका म हाँसोको पात्र बन्छु।’
यसो भन्दै गर्दा पूर्ण मरीमरी हाँस्दै थिए।
उनको हाँसो एकैछिनमा ट्याप्पै भयो, जब हामीले भुटानबाट विस्थापित हुँदाको वृत्तान्त सोध्यौं।
जवाफमा उनी तीन दशक अगाडिको कालखण्डमा फर्के।
पूर्णको जन्मघर चिराङ जिल्लाको दाल्येनी गाउँ हो। घर नम्बर — डिएल/८, थ्रामपट्टा नम्बर — १५६।
सन् १९९२ को कुरा। पूर्णले पूर्वी भुटानको तासीगाङस्थित सेराप्से कलेजबाट भौतिकशास्त्रमा स्नातक पास गरेका थिए। उनी जागिर र स्नातकोत्तर पढ्न राजधानी थिम्पुमा बसोबास गर्दै थिए।
समस्या के पर्यो भने, स्नातकोत्तर पढ्न विश्वविद्यालयले प्रमाणपत्र दिनुपर्ने थियो, जुन उनले पाएका थिएनन्।
जागिर खान भुटान सरकारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिनुपर्ने थियो, त्यो पनि दिएको थिएन।
उनी एनओसी लिन सरकारी कार्यालय धाएका धायै थिए। जति धाउँदा पनि एउटै जवाफ पाउँथे, ‘पहिले डुग्–पाहरूले झैं बख्खु लगाऊ, डुग्–पाहरूकै चालचलन अपनाऊ, जोङ्खा भाषा बोल्न, लेख्न र पढ्न पोख्त होऊ; त्यसपछि बल्ल तिम्रो नाममा एनओसी जारी होला।’
यी तीन सर्तमध्ये बख्खु र डुग्–पाहरूको चालचलन अपनाउनु त गाह्रो थिएन, आफ्नो नेपाली संस्कृतिसँग सम्झौता गरेर डुग्–पा संस्कृति अँगाले पुगिहाल्थ्यो। जहाँसम्म जोङ्खा भाषा लेख्न, बोल्न र पढ्न पोख्त हुनुपर्ने सर्त थियो, त्यो चाहिँ सजिलो थिएन। भाषा र लिपिको छुट्टै अध्ययन गर्नुपर्थ्यो, जसका लागि धेरै समय लाग्थ्यो। भौतिकशास्त्रमा स्नातकोत्तर गर्ने योजना बुनिरहेका पूर्णको निम्ति जोङ्खा पढ्नलाई फुरमास गर्ने समय थिएन।
केही सीप नचलेपछि उनी गाउँ फर्के।
फर्कन त फर्के, तर त्यति बेला गाउँको रूप फरक भइसकेको थियो। सवा लाखभन्दा बढी भुटानी नेपालीहरू शरणार्थी भएर नेपाल छिरिसकेका थिए। यहाँसम्म कि, उनका बुवा, चार जना दाजुभाइ र तीन जना दिदीबहिनी पनि गाउँ छाडेर नेपाल हिँडिसकेछन्। आमाको भने पहिल्यै मृत्यु भइसकेको थियो।
‘थिम्पुबाट नफर्किँदासम्म मलाई भुटानमा आफू एक्लो भइसकेँ भन्ने नै थाहा थिएन,’ पूर्णले भने, ‘भुटानी सेनाको आतंक र धरपकड बढेपछि परिवारका सबै सदस्य रातारात गाउँ छाड्न बाध्य भएछन्।’
अफरातफरीमा गाउँ छाड्नुपर्दा उनीहरूले पूर्णलाई डाक्नधरि भ्याएनन्। ‘हामी गयौं, तिमी पनि छिट्टै आऊ है’ भनेर सन्देश दिनधरि भ्याएनन्।
त्यति बेला दक्षिण भुटानबाट थिम्पुमा सम्पर्क गर्नु भनेको आगोको भुंग्रोमा छिर्नु! टेलिफोन सेवा अहिलेजस्तो सर्वसुलभ थिएन। या त चिठीपत्र लेख्नुपर्थ्यो, या कसैलाई दूत बनाएर पठाउनुपर्थ्यो।
चिठीपत्रमाथि सरकारको निगरानी कडा थियो। चिठी लेख्नु भनेको आफ्नो सूचना भुटानी गुप्तचरहरूको हवाला गर्नु हुन्थ्यो। खबर लिएर दूत पठाउन त झन् ठूलो खतरा मोल्नुपर्थ्यो। दक्षिण भुटानको कोही मान्छे राजधानी थिम्पु वा अन्य ठाउँमा हिँडडुल गरेको सुइँको मात्र पाए पनि भुटानी गुप्तचरहरू सल्बलाउन थालिहाल्थे। त्यस्ता व्यक्तिलाई राजसत्ताविरूद्ध जनता भड्काउन आएको, दंगा फैलाउन खोजेको वा अन्य कुनै अपराधमा मुछेर तुरून्तै पक्राउ गरिन्थ्यो र हातगोडामा फलामे नेल ठोकेर जेलमा हुलिन्थ्यो।
पक्राउ पर्ने भुटानी नेपालीहरूले चरम शारीरिक यातना त भोग्नुपर्थ्यो नै, सँगसँगै जन्मकैदको सजाय पनि हुन्थ्यो। टेकनाथ रिजाल लगायत भुटानी नेपालीहरूले भोग्नुपरेको जेल जीवनको कहाली हामीले अघिल्ला अंकहरूमा चर्चा गरिसक्यौं।
यसरी खबर पठाउने माध्यमको अभावले भुटानमा एक्लै छुटेका पूर्ण न्यौपानेले केही दिन गाउँमा एक्लै बिताए।
उनका बुवा र दाजुभाइ, दिदीबहिनीहरू यति हाँपदाँपमा हिँडेका रहेछन्, खेतमा बाली उठाउने कामधरि अलपत्रै रहेछ। गोठमा वस्तुभाउ भोकभोकै रहेछन्। उनीहरूले गाउँ छाड्नुअघि बाली उठाउन त भ्याएनन् भ्याएनन्, वस्तुभाउ अरूलाई जिम्मा लगाउने मौकाधरि पाएनछन्।
‘मैले केही दिन गाउँमै बसेर बालीनाली उठाएँ। वस्तुभाउको चाँजो मिलाएँ,’ उनले हामीसँग भने, ‘जति दिन गाउँमा बिताएँ, गाउँका सरकारी प्रतिनिधिहरू उति मेरा दुश्मन भए। स्नातक गरिसकेको मान्छे, थिम्पु गएर जागिर नखाई किन गाउँमा हल्लिएर बसेको छ! कतै यो भुटान सरकारविरूद्ध गाउँले भड्काउने षड्यन्त्रमा त लागेको छैन! सरकारी प्रतिनिधिहरूले यस्तै कुरा सेनाका उच्च अधिकारीलाई सुनाइदिए होलान्। अनि त, दिन बित्दै जाँदा सेनाका अधिकारीहरूले ‘देश छाड्’ भन्दै धम्क्याएर मलाई हैरान पार्न थाले।’
उनीहरू भन्थे, ‘या थिम्पु गएर जागिर खा; नभए तेरा बा, दाजुभाइ, दिदीबहिनी जहाँ गए, तँ पनि त्यहीँ जा।’
एकदिन त अति नै भयो।
सेनाको फौज आधी रात हुरहुर्ती उनको घरमा छिर्यो र बन्दुकको नाल तेर्स्याएर उनलाई चौबीस घन्टाभित्र भुटान छाड्न उर्दी सुनायो।
चौबीस घन्टाभित्र भुटान नछाडे पक्राउ गरेर झ्यालखानामा थुन्ने धम्की पनि दियो।
‘मसँग दुइटा विकल्प थिए — या त जागिर खान वा उच्च अध्ययन गर्न थिम्पु जानुपर्थ्यो या आफ्नो परिवारजस्तै शरणार्थी भएर नेपाल पस्नुपर्थ्यो,’ पूर्णले भने, ‘थिम्पु जान सम्भव थिएन। भुटानी राजसत्ताको आदेशअनुसार सरकारी अधिकारीहरू सबै मविरूद्ध खनिएका थिए। उनीहरूले ज्यानजाला मलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन मानेनन्। त्यस्तो सर्टिफिकेट लिन गाउँबाट मण्डलहरूको सिफारिस लैजानुपर्थ्यो। मेरो पूरै परिवार देश छाडेर गइसकेकाले मण्डलहरूले सिफारिस दिन अस्वीकार गरे।’
‘उच्च शिक्षा अध्ययन गरूँ भने विश्वविद्यालयले पनि स्नातक पास गरेको प्रमाणपत्र दिन मानेको थिएन,’ उनले अगाडि भने, ‘यस्तो परिस्थितिमा बुवा, दाजुभाइ र दिदीबहिनीहरूजस्तै शरणार्थी भएर नेपाल पस्नुको विकल्प थिएन।’
उनले यो पनि भने, ‘भुटानी सेनाले एकचोटि उर्दी सुनाइसकेपछि त्यसलाई लत्याएर देशभित्रै बसिरहनु भनेको सरासर राजासँग वैर साँध्नु हुन्थ्यो। भुटानमा बरू भोकभोकै बाँच्न सकिएला, राजासँग वैर साँधेर कोही बाँच्न सक्दैन। भुटान भनेकै राजा, राजा भनेकै भुटान!’
पूर्ण न्यौपानेले राजासँग वैर साँधेर ज्यानकै खतरा मोल्न चाहेनन्।
उनी केही दिन डुग्–पाहरूले जस्तै बख्खु लगाएर गाडीको खलासीका रूपमा लुकेर बसे। र, अन्ततः १९९२ फेब्रुअरीमा शरणार्थी भएर भुटानबाट निस्के।
उनी सबभन्दा पहिला भारतको आसामस्थित सरलपाडा गए। त्यति बेला सरलपाडामा ५०–६० वटा नेपालीभाषी भुटानी परिवार बसोबास गर्थ्यो। पूर्णले उनीहरूसँगै मिसिएर केही महिना बिताए।
भुटानी नेपालीहरूका लागि भारतमा पनि निश्चिन्त भएर बस्ने अवस्था थिएन। गोर्खाल्यान्ड र बोडोल्यान्डको आन्दोलनका कारण अपरिचित अनुहार देख्यो कि भारतीय सुरक्षा फौजले केरकार गर्न थालिहाल्थ्यो। भुटानबाट निर्वासित भएर आएको मान्छे भनेपछि त झन् बढी दुःख दिन्थ्यो। उनीहरूलाई या त भुटान फिर्ता पठाइन्थ्यो, या जबर्जस्ती ट्रकमा हुलेर नेपालतिर धपाइन्थ्यो।
पूर्ण न्यौपानेलाई पनि त्यस्तै भयो।
आसामको सरलपाडामै बसोबास गरिरहेका बेला एकदिन उनी भारतको बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ) का सिपाहीहरूको फन्दामा परे।
‘को होस् तँ? बोडो आन्दोलनमा लागेको होस् कि गोर्खाल्यान्डमा?’ ती सिपाहीहरूले थर्काउँदै सोधे।
पूर्णले आफू भुटानी नेपाली भएको बताए।
त्यसपछि ती सिपाहीहरूले भने, ‘तिमीहरू यहाँ बस्न मिल्दैन। तिमीहरूका सबै मान्छे नेपालतिर गएका छन्। अहिले भुटानबाट निस्केकाहरू पनि सबै त्यतै गइरहेका छन्। त्यसैले तँ पनि त्यहीँ जा।’
भुटानी सेनाबाट खेदिएर भारत छिरेका पूर्ण न्यौपानेलाई भारतीय सुरक्षाकर्मीहरूले त्यहाँ पनि टिक्न दिएनन्।
सन् १९९२ मार्चमा उनी नेपाल आए।
यहाँ उनको पहिलो बसाइ झापाको माईखोला शिविरमा भयो।
‘म आउँदा माईखोला शिविरमा कक्षा ८ सम्म मात्र पढाइ हुन्थ्यो,’ उनले भने, ‘मैले आफ्नै सक्रियतामा ९ र १० कक्षाको पढाइ सुरू गराएँ। पहिलो खेपमा ११ जना विद्यार्थी थिए।’
उनले दुई वर्ष माईखोला शिविरमा पढाए। त्यसपछि शिविरबाहिर निजी स्कुलमा पढाउन थाले।
पछि काठमाडौं आएर केही समय लिटिल एञ्जेल्स र लामो समय शुभतारा स्कुलमा शिक्षक भएर काम गरे।
यसबीच उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा गणिततर्फ स्नातकोत्तर पढ्न आवेदन दिएका थिए। विश्वविद्यालयका प्राध्यापकले उनको नाममा सिफारिस पनि पठाइसकेका थिए। तर त्यसका लागि उनले स्नातकको प्रमाणपत्र पेस गर्नुपर्ने थियो।
उनले आफ्नो प्रमाणपत्र पठाइदिन भुटानी विश्वविद्यालयमा पत्राचार गरे। यसपालि पनि उनको सुनुवाइ भएन।
आवेदन स्वीकृत भएर प्राध्यापकबाट सिफारिससमेत पाइसक्दा पनि क्याम्ब्रिज विश्वविद्यालय गएर उच्चशिक्षा लिने उनको सपना अधुरै रह्यो।
पूर्णले शिविर बसोबासकै क्रममा बिहेबारी गरे। उनकी पत्नी पवित्रा न्यौपाने भुटानी शरणार्थी नै हुन्। भुटानमा उनीहरूको गाउँ पनि एउटै हो।
अहिले पूर्णका एक छोरा र एक छोरी छन्। छोरा भाष्कर ३० वर्षका भए भने छोरी रेश्मा २७ वर्षकी भइन्। दुवैको जन्म बेलडाँगी शिविरमै भएको हो।
शिविरको दुःखपूर्ण बसाइबीच अध्यापन गरेर गुजारा चलाइरहेका पूर्ण न्यौपानेको जीवनले त्यति बेला कोल्टे फेर्यो, जब तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया र केही युरोपेली मुलुकहरूले भुटानी शरणार्थीहरूलाई आफूकहाँ लैजाने निर्णय गरे।
यो सन् २००७ को आखिरीतिरको कुरा हो।
नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने जुन प्रकरण सार्वजनिक भएको छ, त्यसको उद्गम यही तेस्रो देश पुनर्वास कार्यक्रम हो।
विडम्बना के भने, यो प्रकरणमा मुछिएर जेलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल व्यक्तिगत रूपमा तेस्रो देश पुनर्वासको समर्थनमा थिएनन्। उनी अन्तिम समयसम्म भुटानी शरणार्थीहरूलाई स्वदेश फर्काउनुपर्ने पक्षमा थिए। शरणार्थीहरूको स्वदेश फिर्तीको मुद्दा मत्थर पार्न र भुटानी नेपालीहरूको अस्तित्व नष्ट गर्न नियोजित रूपले पुनर्वास कार्यक्रम ल्याइएको रिजालको भनाइ थियो। हामीले यसबारे झापाको बिर्तामोडस्थित निवासमा उनीसँग लामो कुराकानी गरेका थियौं।
तेस्रो देश पुनर्वासको कथा रिजालको दोस्रो नेपाल आगमनपछि सुरू हुन्छ।
सन् १९९९ डिसेम्बर १७ मा दस वर्षको जेल जीवनबाट मुक्त भएपछि टेकनाथ रिजाल केही समय भुटानमै बसे, केही समय भारतमा बिताए।
भारतमा सुरक्षित महसुस नगरेर नेपाल छिरेका उनी सुरूको लामो समय काठमाडौंमा बसे।
त्यसैबीच भुटानी शरणार्थी मुद्दाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न अमेरिकादेखि स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीको भ्रमण पनि गरे।
यी देशहरूको भ्रमणबाट फर्केपछि उनले झापा र मोरङमा रहेका शरणार्थी शिविरहरू भ्रमण गर्ने निधो गरे।
त्यति बेला शिविर भ्रमणको अनुभव रिजालले हामीसँग बाँडेका थिए। उनले आफ्नो आत्मसंस्मरण ‘निर्वासन’ मा पनि यसको विस्तृत विवरण उल्लेख गरेका छन्।
‘धेरै पुराना साथीहरूसँग भेट भयो। हाम्रामाझ एउटा नयाँ पिँढीको उदय भइसकेको रहेछ, जो शरणार्थीका गर्भबाट शरणार्थीकै रूपमा जन्मिएका थिए,’ रिजाल लेख्छन्, ‘त्यो पिँढीसँग मेरो चिनजान थिएन। बाल्यकालदेखिका दौंतरीहरू वृद्ध हुँदै गइरहेको देखेँ। म आफैं पनि बूढो भएको कुरा मैले हेक्कै राखेको रहेनछु।’
उनका अनुसार त्यो बेला शरणार्थी शिविरमा राजनीतिक खिचातानी चरम थियो। मानवअधिकारवादी र राजनीतिक दल गरी ५२ वटा संघ–संगठन खुलेका थिए। ती सबैसँग मिलेर काम गर्न खोज्दा कतिपयले रूचि नदेखाएको रिजालको भनाइ छ।
‘तिनको व्यवहार देखेर म के निष्कर्षमा पुगेँ भने हामी शरणार्थी समूहभित्र आपसी वैरभावले जरो गाड्न थालेछ,’ रिजालले हामीसँगको कुराकानीमा भने, ‘भुटानी राजसत्ताले जहिले पनि ‘डिभाइड एन्ड रूल’ (फुटाऊ र राज गर) को नीति लिँदै आएको थियो। यही नीतिका कारण हामी भुटानी नेपालीहरूलाई आपसमा विभाजन गरेर देश कटाउन भुटानी राजा सफल भएका थिए। यहाँ शिविरमा पनि राजाको त्यही नीतिले मलजल पाइरहेको देखेर मलाई एक मन त विरक्त लाग्यो, अर्कातिर म भित्रभित्रै आक्रोशित पनि भएँ। विभिन्न स्वार्थी तत्वहरूको प्रभावले समूह–समूहमा छरिन आँटेका शरणार्थीहरू र छरिन आँटेको हाम्रो आन्दोलन कसरी समेट्ने होला भनेर म भुट्भुटिन थालेँ।’
यही भुटभुटीले आफूलाई शिविर भ्रमण गर्न प्रेरित गरेको रिजालको भनाइ छ।
दसदिने भ्रमण क्रममा सातवटै शिविरमा कुराकानी गर्दा चारथरीका मान्छे भेटेको उनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् —
पहिलो, उमेरले प्रौढ भएका साधारण गाउँले, जो निरंकुश राजसत्ताबाट के–कसरी पीडित हुनुपर्यो भन्ने कथा–व्यथा प्रस्ट रूपमा राख्न सक्दैन थिए।
दोस्रो, पढेलेखेका युवाहरू, जसले शिविरभित्रको दुःखकष्ट देखे–भोगेका थिए र शिविरबाहिरका निजी कलेज तथा स्कुलहरूमा पढाएर दुःखसुख जीवन धान्दै थिए। यो वर्गका मान्छेहरू भुटानी राजसत्ताको विरोध त गर्थे, तर राजाको निरंकुशता गहिरोसँग बुझेका र बेहोरेका थिएनन्।
तेस्रोमा पर्छ भुटानमै जन्मेर शिविरमा हुर्केको जमात, जसलाई शिविरको लामो दुःखपूर्ण बसाइले आफ्नो भविष्य अनिश्चित भएको महसुस हुन थालेको थियो।
चौथो वर्गमा रिजालले त्यस्ता व्यक्तिलाई राखेका छन्, जो शरणार्थी छानबिन हुँदा भाग्छन् र छानबिनपछि फर्केर शिविरमै आउँछन्। उनीहरू भुटानको एजेन्ट भएर शिविरमा बितन्डा मच्चाउन उद्यत देखिएको र शरणार्थीहरूको स्वदेश फर्किने आवाजलाई जसरी भए पनि निरर्थक साबित गर्न लम्पट रहेको रिजालको भनाइ छ।
त्यही भ्रमण बेला शिविरका नेताहरूले भुटानी शरणार्थी आन्दोलनको नेतृत्व लिइदिन रिजालसँग आग्रह गरे। दर्जनौं मानवअधिकारवादी तथा राजनीतिक संघ–संगठनको आपसी हानाथापमा शरणार्थी आन्दोलनको उद्देश्य मियोबिनाको दाइँझैं अलपत्र परेको उनीहरूको भनाइ थियो। यही बेहोरा उल्लेख गर्दै सातवटै शिविरका सचिवहरूले हस्ताक्षरसहित आफूलाई चिठी लेखेको रिजाल बताउँछन्।
‘त्यो समय शिविरका नेताहरूले ‘तपाईं भुटानी शरणार्थीहरूका सर्वमान्य नेता हुनुहुन्छ, हामीले यहाँ मिलेर काम गर्न सकेनौं, त्यसैले तपाईं काठमाडौंबाट झापा आइदिनुपर्यो’ भनेर बकाइदा चिठी दिन आए,’ रिजालले भने, ‘मलाई नेतृत्व लिइदिन आग्रह गर्नेमा डा. भम्पा राई पनि हुनुहुन्थ्यो।’
पेसाले चिकित्सक र भुटानमा छँदा राजपरिवारको उपचारमा समेत संलग्न डा. भम्पा राई भुटानी राजसत्ताले नेपालीभाषीहरूलाई लखेट्न थालेपछि स्वेच्छाले देश छाडेर हिँडेका थिए। उनको अहिले निधन भइसकेको छ। उनले झापाको दमकमा क्लिनिक खोलेका थिए र भुटानी शरणार्थीहरूको हक–अधिकारको वकालत र स्वास्थ्य उपचारमै आफ्नो जीवन व्यतीत गरे। उनकै नेतृत्वमा भुटानी शरणार्थी पुनर्स्थापना समिति भन्ने संस्था गठन भएको थियो, जसलाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघ समेतको समर्थन थियो। टेकनाथ रिजाल जेलमा रहँदा भुटानी शरणार्थीहरूबीच समन्वयको काम पनि उनैले गरेका थिए।
यस्ता जुझारू व्यक्तिले ‘सर्वमान्य’ नेता स्वीकार गरेर भुटानी शरणार्थी आन्दोलनको नेतृत्व लिइदिन आग्रह गर्नु आफ्नो निम्ति गौरवको विषय भएको रिजाल बताउँछन्।
यति हुँदाहुँदै डा. भम्पा राई र शिविरका अन्य नेताहरूले देखाएको विश्वास पूरा गर्न र शिविरमा एकता कायम गराउन असफल भएकोमा थकथकी मान्दै उनी भन्छन्, ‘मेरो यही असफलताका कारण स्वदेश फिर्तीको माग ओझेल पर्यो र तेस्रो देश पुनर्वासको एजेन्डा बलियो रूपमा अगाडि आयो।’
हामीले रिजाललाई ‘शरणार्थीहरूबीच एकता कायम गराउन किन असफल हुनुभयो त’ भनेर सोधेका थियौं।
उनको जवाफ थियो, ‘म जेलबाट छुटेर आउँदासम्म शरणार्थी समूहमा भुटानी जासुसहरूको घुसपैठ भइसकेको थियो भन्ने लाग्छ। त्यही घुसपैठले धेरै कुरा बिगार्यो। उनीहरूले शिविरका शरणार्थीहरूलाई मविरूद्ध भड्काए। जुन जनता छातीमा मेरो फोटो टाँसेर हिँड्थे र मेरो मुक्तिका लागि गोली खान तयार भएर सडकमा ओर्लेका थिए, तिनै जनताले मलाई आफ्नो दुश्मन ठाने। मेरो कुरा बंग्याएर शिविरमा प्रस्तुत गरियो। शिविरका बसोबासी र मबीच फाटो ल्याउने हरसम्भव प्रयास भए। हुँदाहुँदा मलाई त शिविरमा जानधरि डरमर्दो अवस्था पो बनाइदिए!’
‘तिनै घुसपैठियाहरूले शरणार्थी समूहमा अमेरिका र अस्ट्रेलियाको लोभ जगाइदिए, जसले स्वदेश फिर्तीको अडानमा रहेका म, भम्पा राई लगायत नेताहरू बहुसंख्यक शरणार्थीका लागि असान्दर्भिक हुन पुग्यौं,’ रिजालले अगाडि भने, ‘नेतृत्व गर्नेलाई नेता भनिन्छ, तर हाम्रो हकमा नेता एकातिर भयौं, जनताले आफ्नै बाटो रोजे। स्वदेश फिर्तीको मुद्दा मसिनो हुँदै गयो।’
यसबीच रिजालले अन्तर्राष्ट्रिय समुदायबाट भुटानमाथि दबाब सिर्जना गर्न काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयअगाडि अनिश्चितकालीन धर्ना दिने निधो गरे। उनले शिविर भ्रमण क्रममै यसबारे छलफल गरेका थिए। त्यही छलफलको फलस्वरूप सातवटा शिविरबाट महिला र पुरूष गरी ९० जना धर्नामा सरिक हुन काठमाडौं आए। उनीहरूले ओढ्ने–ओछ्याउनेदेखि खानपिनको चाँजोधरि आफैंले मिलाएका थिए।
त्यति बेला काठमाडौंस्थित संयुक्त राष्ट्रसंघ र सार्क सचिवालयको भवनअगाडि भुटानी शरणार्थीहरूको बृहत् धर्ना भएको थियो। उनीहरूको एउटै माग थियो — नागरिक हकसहित भुटान फिर्ती।
धर्नामा टाँगेको ब्यानरमा पनि ‘भुटान फर्किन पाउनुपर्ने’ नारा नै मुख्य रूपमा उठाइएको थियो।
रिजालको नेतृत्वमा भएको उक्त धर्ना कार्यक्रम लगातार नौ महिना चल्यो। संसारभरका सञ्चारमाध्यमले रिपोर्टिङ गरे र प्राथमिकतासाथ प्रकाशन–प्रसारण गरे।
‘आमनेपालीले भुटानी शरणार्थीहरूप्रति कति धेरै चासो दिएका रहेछन् भन्ने मैले त्यही बेला थाहा पाएँ,’ रिजालले हामीसँग भने, ‘भुटान सरकारसँग वार्ताको माध्यमबाट समस्या हल गर्न नेपाल सरकारबाट खासै सहयोग भएन, तर आमनेपाली जनताबाट हामीले खुब सहयोग पायौं। उनीहरूले ‘फ्रेन्ड्स अफ भुटान’ भन्ने संस्था नै खोलेर हामीलाई आर्थिक सहयोग गरे, भावनात्मक सहयोग गरे। कसैले धर्नाको निम्ति टेन्ट गाड्न सघाए, कसैले धर्नामा सरिक हुन आएका शरणार्थीहरूको निम्ति भान्सा चलाउन भाँडाबर्तन दिए। कसैले भुइँमा ओछ्याउने गलैंचा दिए त कसैले शरणार्थीहरूको स्वास्थ्य उपचार र आतेजाते खर्च बेहोरे।’
यसरी सबैको सहयोगमा धर्ना उत्कर्षतिर चढ्दै गरेका बेला भुटानी नेता र जनताबीच फाटो ल्याउन उद्यत घुसपैठियाहरू घुसेर मूल मुद्दा भाँड्ने षड्यन्त्र गरेको रिजालको विश्लेषण छ। उनीहरूले धर्नामा उपस्थित शरणार्थी समूहभित्रै जातीय पर्खाल खडा गरेर वैमनस्यको बीउ रोपेको उनी बताउँछन्।
‘एउटा विडम्बना के भयो भने, भुटानको निरंकुश राजतन्त्र ‘फुटाऊ र शासन गर’ को नीति अपनाएर शिविरभित्रका खस र मंगोल समुदायबीच फुट ल्याउन तल्लीन थियो,’ रिजालले आफ्नो संस्मरणमा लेखेका छन्, ‘धर्नाको मर्मविपरीत वक्तव्यबाजी गर्नसमेत उनीहरू पछि परेनन्।’
धर्नाको एकसूत्रीय एजेन्डा भुटान फिर्ती थियो, जबकि उनीहरूले तेस्रो देश पुनर्वासको एजेन्डा प्रखर रूपमा उठाउन थाले, रिजालले भने, ‘म स्वदेश फिर्तीको माग लेखेर ब्यानर टाँग्थेँ, उनीहरू कुन बेला कताबाट घुसेर ‘तेस्रो देश पुनर्वास’ भनेर लेखिदिन्थे। हुँदाहुँदा यस्तो अवस्था आयो, मैले नेतृत्व गरेर आयोजना गरेको धर्ना त उनीहरूको एजेन्डा बेच्ने थलो पो हुन पुग्यो!’
‘कतिसम्म भयो भने, विदेशी पत्रकारहरू अन्तर्वार्ता लिन आउँदा शरणार्थी शिविरका मान्छे ‘हामी पाएसम्म भुटान फर्किन्छौं’ भन्थे, अनुवाद गर्नेले चाहिँ ‘हामीलाई भुटान फर्किनु छैन, जसरी हुन्छ तेस्रो मुलुक पठाउने बन्दोबस्त गरिदेऊ’ भनेर सुनाइदिन्थे,’ उनले भने, ‘हाम्रो धर्नालाई नै गलत दिशामा मोड्ने प्रपञ्च भयो, जसमा प्रत्यक्ष–अप्रत्यक्ष भुटानी राजसत्ताकै हात छ भन्ने मलाई लाग्छ।’
यही क्रममा धर्ना बसेको नौ महिनापछि संयुक्त राज्य अमेरिकाले शिविरमा रहेकामध्ये ६० हजार भुटानी शरणार्थीलाई आफ्नो देश लगेर पुनर्वास गराउने घोषणा गर्यो।
अस्ट्रेलिया, क्यानडा लगायत सातवटा युरोपेली देशहरूले समेत आ–आफ्नो क्षेत्रमा भुटानी शरणार्थीको पुनर्वास गराउने प्रतिबद्धता जनाए।
पश्चिमा मुलुकहरूबाट औपचारिक रूपमै तेस्रो देश पुनर्वास कार्यक्रम घोषणा भएपछि शिविरका शरणार्थीहरू बञ्चरोले चिरा पारेको मूढाझैं फक्लक्क दुई चिरामा बाँडिए। बहुसंख्यक सदस्य तेस्रो देश पुनर्वासका पक्षमा उभिए। यसले धर्नास्थलको उपस्थिति पातलिँदै गयो। धर्नामा सरिक हुन शिविरबाट आएकाहरू लाखापाखा लाग्न थाले। धेरै त शिविरमै फर्के।
‘अमेरिका लगायत पश्चिमा राष्ट्रहरूले शरणार्थीहरूलाई कुन आधारमा लैजाने? के निसाफ दिएर लैजाने? यस्ता प्रश्नमा बहस नगरी तेस्रो देश जान सबैलाई फकाउने र फकाएर नमाने धम्क्याउने क्रम तीव्र पारियो। पहिले स्वदेश फर्किन पाउनुपर्ने अधिकारका लागि धर्नामा बसेका साथीहरू पनि मूल मुद्दा बिर्सेर तेस्रो देश पुनर्वासमा सहमत भइदिए। कतिलाई अमेरिका, अस्ट्रेलियामा स्थायी बसोबास गर्न पाइने लोभले तान्यो, कतिलाई आफ्ना सन्तानहरूको सुखद भविष्यको आसले तान्यो। कति साथीहरू भुटान फिर्तीमा अडिग हुँदाहुँदै ललाइफकाइ र डरधम्कीले उता मिसिन जानुभयो। सबै लाखापाखा लागेपछि म एक्लिन पुगेँ,’ रिजालले भने।
‘तेस्रो देश पुनर्वासको कार्ड फालेर हाम्रो आन्दोलन कमजोर पारियो। हाम्रो धर्नास्थल ठूलो मेला लागेर उठेजस्तो निर्जन देखियो — ठूलो क्याम्प छ, खाना पकाउने भाँडाकुँडाहरू छन्, तर मान्छे कोही छैन।’
धर्नालाई सहयोग गर्दै आएका लुथरन वर्ल्ड सर्भिस, क्यारिटस, युएनएचसिआरजस्ता अन्तर्राष्ट्रिय संस्था पनि पुनर्वास घोषणालगत्तै धर्ना विफल पारेर शरणार्थीहरूलाई तेस्रो देश पठाउन लागिपरेको रिजालको भनाइ छ।
‘केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि पुनर्वासको एजेन्डालाई प्राथमिकता दिएर भ्रम फैलाउने काम गरे,’ उनले भने, ‘शिविरका केही शरणार्थीको हवाला दिँदै ‘संसारकै महान् देशको नागरिक हुन पाएकामा हामी गौरवान्वित छौं, हामी यो निर्णयको स्वागत गर्छौं’ भन्ने भनाइहरू प्रसारण गरिए। यसले स्वदेश फिर्तीको सपना देखेर बसिरहेका शरणार्थीहरूलाई के गर्ने, कसो गर्ने अलमल भयो। भुटानले गलहत्याएर निकालेको जुन रोष उनीहरूले वर्षौंदेखि पालेर बसेका थिए, त्यसलाई छिनभरमै बिर्सेर तेस्रो देश जाने हुलमा मिसिन तयार भए।’
‘जनताले नै तेस्रो देश पुनर्वास खोजेपछि तपाईंको आपत्ति किन त?’
हाम्रो यो प्रश्नमा रिजालले भने, ‘शरणार्थीहरूलाई तेस्रो देश पठाउनै हुँदैन भन्ने पनि मेरो मत होइन। मेरो भनाइलाई त्यो रूपमा नबुझौं।’
‘तपाईंको भनाइ के त?’
‘मेरो भनाइ यत्ति हो, जो भुटानबाट लखेटिएर नेपालमा शरण परे, सबभन्दा पहिला उनीहरूमाथि भएको अन्याय सम्बोधन हुनुपर्यो। नेपालीभाषीहरूमाथि गरिएको अमानवीय व्यवहारको निम्ति भुटानी राजसत्तालाई दोषी ठहर्याउनुपर्यो। तमाम अन्यायका बाबजुद भुटानमै बसिरहेका नेपालीहरूको नागरिक हक सुनिश्चित गर्नेतर्फ पहल हुनुपर्यो। अमेरिका, युरोप, संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले यो विषयमा पनि बोलोस् भन्ने मेरो भनाइ हो।’
उनले अगाडि भने, ‘नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई नागरिक हकसहित स्वदेश फिर्ता गराउनुको साटो तेस्रो देश पठाएपछि भोलि भुटानमा रहेका नेपालीहरूलाई फेरि खेद्न थालियो भने त्यो बेला हामीले के गर्ने? यहाँ बसिरहेकाहरू त अमेरिका, युरोप जान पाउने भए, त्यसमा हामी खुसी नै मनाऔं; तर जो भुटानमै बसेर भुटानी राजसत्ताको अन्याय झेलिरहेका छन्, उनीहरूको आवाज कसले सुनिदिने? उनीहरूको पक्षमा कसले बोलिदिने? तेस्रो देश पुनर्वासले उनीहरूमाथि थप अन्यायको बज्रपात भयो र उनीहरूलाई पनि देशबाट निकालियो भने त्यसको जिम्मेवार को?’
यस सम्बन्धमा रिजालले आफ्नो किताबमा लामो व्याख्या गरेका छन्। उनी लेख्छन्, ‘शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्वास गराउन हुन्न भन्ने मेरो तर्क होइन। हामी नेपालमा शरण लिएर बसेका छौं, यदि कोही यहाँ नबसी अन्य मुलुकमा शरण लिन जान्छ भने त्यो उसको अधिकारको कुरा हो। मेरो मत के मात्र हो भने, जसलाई अपमानित ढंगले मातृभूमिबाट धपाइयो, जसको श्रीसम्पत्ति राज्यले जफत गर्यो, त्यसबारे भुटान सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्दैन?’
‘ल्होछाम्पाहरूलाई धरपकड गरेर देशनिकाला गर्दा भएको अन्याय, अत्याचारको जिम्मेवार भुटान सरकार हुनुपर्दैन? कसैलाई भोलिका दिनमा तेस्रो मुलुकमा बस्न मन लागेन, उसले आफ्नै जन्मथलोमा गएर मर्छु भन्यो भने उसको स्वदेश फर्कन पाउने अधिकार हुन्छ कि हुँदैन? तेस्रो देश पठाउनुअघि यसबारे स्पष्ट किटान हुनुपर्छ कि पर्दैन? मेरा यी मतहरूलाई षड्यन्त्रै षड्यन्त्रको माखेसाङ्लोमा बेरिएका शरणार्थी समुदाय, नेतागण र अगुवाहरूले नै बुझेनन् वा बुझ्न चाहेनन्।’
उनी यो पनि लेख्छन्, ‘आजका दिनमा संसारका सबै देशबाट युवायुवतीहरू युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका सुविधासम्पन्न ठाउँ गइरहेका छन्। मानव इतिहास भन्नु नै धेरै हदसम्म सुविधासम्पन्न स्थानमा सुरक्षित जीवनयापन खोजीको क्रम हो। तर हाम्रा पुर्खाहरू सुविधा र सुरक्षित जीवनको खोजीमा भुटान पुगेका थिएनन्। ती त्यसै त्यहाँ पुगेका पनि होइनन्। तत्कालीन भुटान सरकारले बोलाई बोलाई लगेका हुन्। राजनीतिक तहको समझदारी र सम्झौतामा नेपाली मूलका मान्छे भुटान पुगेका हुन्, जसले आधुनिक भुटान निर्माणमा अतुलनीय योगदान गरेका छन्। भुटानी नेपालीहरूको यो इतिहास भुलेर एकाएक अपमानित ढंगले देशनिकाला गर्दा जुन अन्याय, अत्याचार र जनधनको क्षति भयो, त्यसको जिम्मेवार को? भोलिका दिनमा यस्तै घटना नदोहोरियोस् भनी सुनिश्चित गर्न त्यसमा कसैलाई जिम्मेवार बनाउन जरूरी छ कि छैन?’
‘हामी समतामूलक समाज स्थापनाको कुरा गर्छौं, मानवअधिकारको कुरा उठाउँछौं, त्यही कुरा अन्यायमा परेका भुटानीका हकमा चाहिँ लागू नहुने?’ रिजालको प्रश्न छ, ‘आज पनि संसारभरि मानवअधिकारको मुद्दामा बहस हुन्छ, हामी दिनकै त्यस्तो बहस सुन्छौं। अमेरिका, अस्ट्रेलिया र युरोपेली मुलुकहरूले नै मानवअधिकारको मुद्दा चर्को रूपमा उठाउँछन् जसले भुटानी शरणार्थीहरूलाई शरण दिए। तर के ती मुलुकहरूले भुटानी नेपालीहरूमाथि भएको अन्यायको हिसाब लिनुपर्दैन? उनीहरूले बगाएको आँशुलाई न्याय दिनुपर्दैन?’
रिजालले हामीसँगको कुराकानीमा भनेका थिए, ‘मेरो नजरमा भुटानी शरणार्थीको मुद्दा भुटानको राजनीतिसँग जोडिएको छ। यो राजनीतिक समस्याको एउटा भँगालो मात्र हो। भँगालो सफा गरेर भुटानी नेपालीको समस्या समाधान हुँदैन। त्यसका लागि मुहान सफा गर्नुपर्छ। मुहान भनेको भुटानभित्रैका नेपाली हुन्। त्यहाँको जेलमा बीसौं वर्षदेखि बन्दी जीवन बिताइरहेका नेपाली हुन्। उनीहरूले मुक्ति नपाएसम्म र नागरिक हक नपाएसम्म यो समस्या हल हुँदैन।’
‘मैले भुटानी शरणार्थीहरूलाई शरण दिने अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर प्रश्न गरिरहेको छु — तपाईंहरू सवा लाखभन्दा बढी मान्छेलाई अन्यायपूर्वक लखेट्ने, हजारौंलाई बन्दी बनाउने र सयौंको हत्या गर्ने भुटानी राजालाई कसरी उन्मुक्ति दिन सक्नुहुन्छ?’
‘मैले यो पनि भनेको छु — पुनर्वासमा गएकाहरू त भाग्यमानी हुन्। उनीहरूलाई सभ्य समाजले बस्न दियो, खान दियो, काम दियो। तर लाखौं नेपाली जो भुटानमै छन्, भुटानी राजाको अत्याचार सहेरै बसेका छन्, उनीहरूले मुक्ति कहिले पाउने? कहालीलाग्दो अवस्थामा बाँचिरहेका ती नेपालीको पक्षमा कसले बोलिदिने?’
रिजालले आफ्ना यी मत सार्वजनिक रूपमा नराखेका पनि होइनन्।
अमेरिकाले ६० हजार भुटानी शरणार्थीलाई पुनर्वासमा लैजाने घोषणा गरेपछि तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले रिजाललाई भेटेका थिए। बलराम पाण्डे, डिबी काफ्ले लगायतका भुटानी शरणार्थी नेताहरू पनि सँगै थिए।
उक्त भेटमा रिजालले भने, ‘तपाईंहरू भुटानी शरणार्थीलाई अमेरिका लैजानुस्, ठिक छ; तर भुटानमै रहेका नेपालीहरूमाथि भइरहेको अन्याय चाहिँ कसरी अन्त्य गर्ने? उनीहरूलाई पनि खेदेर पठाइयो भने कसरी व्यवस्थापन गर्ने? के सबैलाई तेस्रो देश पुनर्वासमा लैजाने?’
‘मोरियार्टीले मेरो कुरा सन्दै सुनेनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासमा भएको उक्त भेट सम्झँदै रिजालले हामीसँग भने, ‘उनी पुनर्वासको निर्णयमा अडिग थिए र हामीसँग भेट्दा पनि निर्णयको कागज लिएर बसेका थिए। उनी त्यसमा हाम्रो सहमति खोज्दै थिए।’
एकापट्टि अंग्रेजी र अर्कोपट्टि नेपालीमा लेखिएको उक्त सहमतिपत्रमा तेस्रो देश पुनर्वास सुरू भएपछि शरणार्थी शिविरमा कुनै किसिमको दंगाफसाद हुन नदिने र शान्तिपूर्ण रूपमा पुनर्वास कार्यक्रम सम्पन्न गर्ने बेहोरा लेखिएको रिजालले जानकारी दिए।
रिजालले त्यति बेला सही गर्न मानेनन्। भने, ‘हामी भुटानका मान्छे हौं। भुटानकै नागरिक हौं। हामी आफ्नो राज्यले खेदेर पठाएपछि नेपालमा शरण लिएर बसेका मात्र हौं। त्यसैले तेस्रो देश पुनर्वासमा सहमति जनाउनुअघि हामी आफूलाई शरण दिने मुलुकलाई सोध्न चाहन्छौं। नेपालले पनि ‘हामी अब तिमीहरूलाई राख्दैनौं, तिमीहरू आफ्नो बन्दोबस्त आफैं गर’ भन्छ भने मात्र हामी यसमा सही गर्नेछौं।’
यति भनेर उनीहरू अमेरिकी दूतावासको बैठकबाट निस्के।
यसरी निस्किनु मात्र के थियो, शरणार्थी शिविरमा रिजालविरूद्ध प्रचारबाजी सुरू गरियो — ‘टेकनाथ रिजालले देश बिगारेको भनेको हो रहेछ। उनकै महत्वाकांक्षाका कारण भुटानी राजाले तिमीहरूलाई खेदे। आज अमेरिका जाने अवसर आउँदा पनि जान नदिने कुरा गर्दैछन्। जीवनभर शरणार्थी बनाएर दुःख भोगाउन खोज्दैछन्।’
‘यस्तो प्रचारबाजीले म आफ्नै दाजुभाइको निम्ति गनाउने मान्छे भएँ। मेरो योगदान, मेरो संघर्ष उनीहरूले सब बिर्से,’ रिजालले भने, ‘मलाई नानावली नाम राख्ने, विरोध गर्ने, चिठी लेख्ने र डरधम्की देखाउने काम भयो।’
‘म यस्तो नेता भएँ, जसको पछाडि कोही छैन, जोसँग उभिने पनि कोही छैन।’
‘आज फर्केर हेर्दा तपाईं आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ त?’ हामीले सोध्यौं।
हाम्रो यो प्रश्नमा रिजाल लामै समय चुप्प लागे। हातका औंलाहरू खेलाइरहे। घरी कोठाको भित्तामा टांगिएका फोटोहरूतिर टोलाइरहे।
हामीले नियालेर हेर्यौं। उनका आँखा रसाएका थिए। उनको मनोदशा देखेर हामी पनि चुप्प लाग्यौं। थप कोट्याउनु भनेको उनको हिक्का छुटाउनु हो भन्ने हामीलाई निश्चित भयो।
उनले हामीलाई देखाउन भनेर पुराना फोटो एल्बमहरू ल्याएका थिए। उनी एकसुरले ती एल्बम पल्टाउन थाले। केही फोटो घोरिएर हेरे, केही फोटो सुम्सुम्याए।
हामीले उनले सुम्सुम्याएको फोटो हेर्यौं — त्यो उनका तीन छोराहरू कमल, त्रिविक्रम र नृपेन्द्रको एकसाथ खिचिएको फोटो थियो, जो उनको इच्छाविपरीत तेस्रो देश पुनर्वासमा गए र अहिले क्यानडामा छन्।
उनले लगभग दुई मिनेट छोराहरूको फोटो हेरिरहे। त्यसपछि पत्नी कौशिलाको फोटो हेरे।
हामीले सोच्यौं — सायद उनी मनको उफान समेट्न खोज्दै थिए! घाँटीको किलकिलेमा अड्केको आँशु रोक्न खोज्दै थिए!
मान्छे जतिसुकै क्रान्तिकारी किन नहोस्, मन त उसको पनि भावुक नै हुन्छ — टेकनाथ रिजाल सायद यही मनोदशामा थिए!
अलि बेरसम्म एकोहोरिएपछि उनको बोली फुट्यो।
उनी बोलिरहे, हामी सुनिरह्यौं —
‘भुटानका राजाले खासमा सबै ल्होछाम्पा नेपालीभाषीहरूलाई खेद्न खोजेका हुन्। एक लाखभन्दा बढीलाई त खेदे, त्यसपछि चाहिँ अन्तर्राष्ट्रिय समुदायको आँखा पुग्यो, अनि बाँकीलाई खेद्न पाएनन्। तर जो बाँकी छन्, उनीहरू त्यहाँ नारकीय जीवन बिताउन बाध्य छन्। कति त बीसौं वर्षदेखि जेलमै छन्। त्यही भएर आजको मितिसम्म पनि भुटानमा बस्न नसकेर युवाहरू फाट्टफुट्ट आउने गर्छन्। भुटानले भनेजस्तो त्यहाँका सबै जनता सुखी र खुसी भइदिएका भए दक्षिण भुटानका ती युवाहरू आफ्नो थातथलो र देशको परिचय छाडेर अनागरिक जीवन बिताउन किन आउँथे?
‘म आज पनि भुटानका नेपालीहरूको पीडा सम्बोधन गर्न र उनीहरूको घाउमा मह्लम लगाइदिन अन्तर्राष्ट्रिय समुदाय गुहार्ने काम गरिरहेको छु। कहिले भारतीय प्रधानमन्त्रीलाई चिठी लेख्छु, कहिले राष्ट्रसंघ र युरोपेली समुदायलाई भन्छु। जबसम्म न्याय पाइँदैन र जबसम्म मेरो ज्यानमा एकमुठी सास बाँकी रहन्छ, म निरन्तर यो कुरा उठाइरहनेछु।
‘कहिलेकाहीँ मलाई यस्तो लाग्छ — हामीले डेढ दशकभन्दा बढी समय नेपालमा शरणार्थी भएर काटिसकेका थियौं। थप केही समय दुःख सहन तयार भएको भए र तेस्रो देश पुनर्वास स्वीकार नगरेको भए अन्तर्राष्ट्रिय समुदायलाई हाम्रो हकमा केही न केही गर्न कर लाग्थ्यो। मातृभूमिसँग जसरी हाम्रो साइनो खोसियो, त्यो साइनो पुनर्स्थापित गराएर हामी आफ्नै मुलुक जान सक्ने थियौं। तर अब त यो पुरानो कुरा भयो। पुरानो कुरा सम्झेर आँशु बगाउनुको कुनै अर्थ छैन।
‘पुनर्वासमा गएकाहरूलाई म यत्ति भन्न चाहन्छु — हाम्रो भाग्य नै प्रवासी भाग्य रहेछ। हामी एकपल्ट आफ्नो देशबाट खेदिएर नेपालको शरणमा आएका थियौं। यहाँबाट हामीले आफ्नै भूमिमा अंशभाग लिएर जानुपर्थ्यो। तर हामी अर्को मुलुकको शरण पर्न गयौं। त्यो त न हाम्रो आमाको मुलुक, न जन्म मुलुक! हामी न भुटानी रह्यौं, न नेपाली हुन सक्यौं, न अब अमेरिकी हुन्छौं। यो नियति हामीले मात्र होइन, हाम्रो सन्ततिले पनि भोग्नुपर्नेछ। जानेहरू त गए ठिक छ, ती सबैलाई मेरो आशीर्वाद छ र सल्लाह पनि छ– जुन देशमा गयौ, त्यहाँको कानुन मान, सुखशान्तिसँग बस। र, सक्छौ भने जहाँ छौ, त्यहीँ रहेर भुटानमा रहेका आफ्ना नेपाली दाजुभाइ, दिदीबहिनीको निम्ति आवाज उठाऊ। जसरी सक्छौ, त्यसरी आवाज उठाऊ। उनीहरूको बोली खोसिएको छ, तिमी उनीहरूको आवाज बन। आड खोसिएको छ, तिमी उनीहरूको भर बन।
‘पुनर्वासमा गएकाहरूले कम्तिमा आफ्नो ठाउँबाट यत्ति मात्र गरे पनि हामी भुटानी नेपालीहरूको आन्दोलन ज्यूँदै रहनेछ। भुटानी नेपालीहरूले गुमाएको हक फिर्ता नपाएसम्म यो आन्दोलन ज्यूँदै रहोस् भन्ने म चाहन्छु।’
उनी यति बोलेर फेरि एकछिन चुप्प लागे।
उनलाई चुप्प लागेको देखेर हामीले सोध्यौं, ‘अब के त?’
जवाफमा उनले भने —
‘अब मेरो राजनीतिक मुद्दा भनेको तीनवटा छ —
‘पहिलो, बेलडाँगी शिविरमा बाँकी रहेका छ हजारभन्दा बढी शरणार्थीको व्यवस्थापन हुनुपर्यो। जो नेपालमै बस्न चाहन्छन्, उनीहरूलाई नेपालमै स्थायी बसोबासको व्यवस्था गरिनुपर्यो। जो तेस्रो देश जान चाहन्छन्, उनीहरूका लागि तेस्रो देश पुनर्वासको निम्ति पहल हुनुपर्यो। र, जो भुटान फिर्ता जान्छु भनेर बसेका छन्, उनीहरूलाई नागरिक हकसहित भुटान फिर्ता पठाउने वातावरण बनाइदिनुपर्यो। यसको निम्ति नेपाल र अन्तर्राष्ट्रिय समुदायले पहल गर्नुपर्यो।
‘दोस्रो, बीस–पच्चीस वर्षदेखि भुटानी जेलमा बन्दी रहेका नेपालीहरूको निसर्त रिहाइ गरिनुपर्यो र उनीहरूले पनि भुटानभित्रै नागरिकका रूपमा बाँच्ने अधिकार पाउनुपर्यो।
‘तेस्रो, भुटानमा रहेका लाखौं नेपालीभाषीहरू, जो आज पनि भुटानी राजसत्ताको अत्याचारबाट पिल्सिएका छन् र आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य छन्, उनीहरूले आफ्नो गुमेको नागरिक हक फिर्ता पाउनुपर्यो।’
‘संसारभरि छरिएका भुटानी नेपालीहरूले भुटानी नागरिक भएर बाँच्न पाऊन्, आफ्नो अधिकार पाऊन् — मेरो राजनीतिक मुद्दा भनेको यत्ति हो।’
टेकनाथ रिजालसँगको कुराकानी क्रममा हामीले ‘तेस्रो देश पुनर्वासको प्रस्ताव कहाँबाट आयो’ भनेर सोधेका थियौं।
उनका अनुसार यसमा दुइटा कारण हुनसक्छ —
पहिलो, सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको आतंककारी हमलापछि अमेरिका लगायत पश्चिमी मुलुकहरू शरणार्थी पुनर्वासलाई लिएर संकुचित भएका थिए। खासगरी मुस्लिम बहुल देश र अफ्रिकी राष्ट्रहरूबाट हुने शरणार्थी आगमनप्रति पश्चिमीहरू सशंकित थिए। त्यसबाट कुनै बेला आफ्नै मुलुकमाथि क्षति पुग्न सक्ने भयले उनीहरूलाई गाँजेको थियो।
त्यही बेला नेपालमा शरण लिइरहेका भुटानी शरणार्थीहरूमाथि सबैका आँखा परे। यी यस्ता शरणार्थी थिए जसलाई पुनर्वासमा लैजाँदा अमेरिका वा पश्चिमी मुलुकहरूले आफ्नो आन्तरिक सुरक्षामा जोखिम मान्नुपर्ने कारण थिएन। त्यसमाथि संख्या पनि ठूलो थियो। सवा लाखभन्दा बढी भुटानी शरणार्थीलाई एकैचोटि आश्रय दिँदा सेप्टेम्बर ११ पछिको विश्व परिवेशमा संसारभरि सकारात्मक सन्देश जान्थ्यो।
दोस्रो, नेपाल र भुटानबीच पटकपटक भएका वार्ताबाट शरणार्थी समस्या समाधानमा कुनै निष्कर्ष निस्कन सकेन। भुटान कुनै पनि हालतमा शरणार्थीहरूलाई आफ्नो नागरिक स्वीकार गर्न तयार थिएन। भारतले मध्यस्थता गरेर समस्या हल गराउन चाहेको भए केही टुंगो लाग्न सक्थ्यो, तर त्यो पनि भएन। यो अवस्थामा आफ्नो थाप्लोमाथि परेको सवा लाखभन्दा बढी शरणार्थीको बोझलाई नेपाल जसरी भए पनि पन्छाउन चाहन्थ्यो।
‘यी दुई कारणले भुटानी शरणार्थीहरूका हकमा नेपाल र अन्तर्राष्ट्रिय समुदायको चाहना मिल्यो,’ रिजालले भने, ‘यसले तेस्रो देश पुनर्वास कार्यक्रम प्राथमिकतासाथ अघि बढ्यो।’
पुनर्वास कार्यक्रम घोषणापछि भुटानी शरणार्थीहरूको विधिवत् गणना गर्न थालियो। पहिलो चरणमा सन् २००६–०७ मा १ लाख १३ हजार ४ सय २८ जना शरणार्थी दर्ता भए। सन् २००८ मा दर्ता हुने शरणार्थी संख्या १ हजार ९९ थियो भने २०१२ मा १ हजार ८ सय जना दर्ता भए। त्यसयता २०१५ देखि २०१८ बीच थप ३० जना दर्ता भएका छन्।
यसै आधारमा २००७ को आखिरीबाट भुटानी शरणार्थीहरू अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत केही युरोपेली मुलुकहरू जाने क्रम सुरू भयो। सन् २०१६ सम्म १ लाख १३ हजार जना शरणार्थी पुनर्वासमा गए। बेलडाँगी र पथरी शिविरमा गरी अहिले करिब साढे छ हजार शरणार्थी बाँकी छन्।
यही सिलसिलामा पूर्ण न्यौपानेको परिवार पहिलो चरणमा अमेरिका उड्यो।
सन् १९९२ मा भुटानबाट विस्थापित पूर्ण न्यौपानेले त्यसको १६ वर्षपछि अमेरिकी भूमि टेकेका थिए — त्यो २००८ अक्टोबर १५ को दिन थियो।
अध्याय बत्तीस
आई एम सरी!
पूर्ण न्यौपानेले अमेरिका टेकेको पहिलो दिन म्यासाचुसेट्समा हिउँदको पहिलो हिउँ फुसफुसाएको थियो।
रोड आइल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट हुइँकिएको सेतो गाडी राति आठ बजेतिर वुस्टर सहरमा प्रवेश गर्यो।
गाडी हाँकिरहेका इराकी शरणार्थी वालाले पूर्ण र उनको परिवारलाई ग्लेनवुड स्ट्रिटको एउटा अपार्टमेन्टअगाडि ओराले। गाडीबाट ओर्लेपछि पूर्णले अमेरिकामा भेटिएका आफ्ना पहिलो मित्र वालालाई कसिलो र न्यानो अँगालो मारे र ‘आइओएम’ लेखिएको सुटकेस गुडाउँदै अमेरिकी जिन्दगीको नयाँ अध्यायमा प्रवेश गरे।
त्यति बेला वालाको गाडीमा फेरि एकचोटि एलिसिया किजको उही गीत गुञ्जिँदै थियो —
आई जस्ट वान्ट यू क्लोज
ह्वेर यू क्यान स्टे फरएभर
यू क्यान बी स्योर
ड्याट इट् विल गेट बेटर
यू एन्ड मी टुगेदर
थ्रो द डेज एन्ड नाइट्स
आई डोन्ट वरी कज्
एभ्रिथिङ्स गना बी अलराइट
पूर्ण र उनको परिवारले अमेरिकी जिन्दगीको नयाँ अध्याय सुरू गरेको त्यो अपार्टमेन्ट क्लार्क विश्वविद्यालयसँगै थियो। त्यहाँ उनीहरू दुई साताअघि मात्र अमेरिका आएका अर्का भुटानी शरणार्थी कपिल घिमिरेको परिवारसँगै बसेका थिए। भुटानको गोपिनी भन्ने गाउँबाट विस्थापित भएका कपिललाई पूर्ण पहिल्यैदेखि चिन्थे।
तेस्रो तलाको उक्त अपार्टमेन्टमा दुई दिन, दुई रात बिताएपछि उनीहरू एलिजाबेथ स्ट्रिट सरे। पूर्ण अहिले स्रुश्बेरीमा बस्छन्, आफ्नै घरमा। उनले यो घर सन् २०१३ मा किनेका हुन्।
पूर्णको परिवार तेस्रो देश पुनर्वास कार्यक्रम सुरू भएपछि अमेरिका आउने एघारौं परिवार हो। सुरूआती दिनमा अमेरिका आएका भुटानी शरणार्थीहरूको जीवन सकसपूर्ण रहेको पूर्णको अनुभव छ।
‘मलाई व्यक्तिगत रूपमा त्यति अप्ठ्यारो नभए पनि धेरैलाई अमेरिकी समाजको तौरतरिकासँग अभ्यस्त हुन गाह्रो परेको थियो,’ उनले हामीसँगको कुराकानीमा भने, ‘धेरैलाई भाषाको समस्या भयो। भाषाको समस्याले समाजमा भिज्न समय लाग्यो। वृद्धवृद्धाहरू त घरबाट बाहिर निस्केर एक्लै हिँडडुल गर्नधरि सक्थेनन्। कम पढेलेखेकाहरूलाई राम्रो जागिर पाउन मुश्किल थियो।’
‘मेरै श्रीमती बेलाबेला दिक्क मानेर यहाँ बस्नुभन्दा त बरू नेपालै फिर्ता जाऔं भन्थी,’ उनले भने।
कठिन समयमा एकअर्काको भर होस् भनेर धेरै भुटानी शरणार्थीहरू ओहायो र पेन्सिलभेनिया राज्यमा जम्मा भएको उनी बताउँछन्। अहिले पनि यी दुई राज्यमा भुटानी शरणार्थीहरूको संख्या बाक्लो छ।
उनका अनुसार अमेरिकी सरकारले शरणार्थीहरूको पुनर्स्थापनामा सहयोग होस् भनेर १८ वर्षभन्दा माथिको एकल व्यक्तिलाई आठ महिनासम्म ४२५ डलर दिन्थ्यो। आठ महिनाभित्र जागिर खोजेर आम्दानी सुरू गर्छ भन्ने अपेक्षाअनुसार यो आर्थिक सहायता दिइएको हो। त्यो अवधिसम्म पनि जागिर पाएन भने सहायता रकम स्वतः खारेज हुन्थ्यो।
परिवारका हकमा यो व्यवस्था अलि फरक थियो। परिवारलाई पहिलो महिना प्रतिव्यक्ति ४२५ डलर दिइन्थ्यो। त्यसपछि दोस्रो महिनाबाट परिवारको सदस्य संख्याका आधारमा पैसा दिने चलन थियो। चार जनाको परिवारले ७१३ डलर पाउँथ्यो। तीन जनाको परिवारले ६१८, पाँच जनाको परिवारले ८१२ र छ जनाको परिवार छ भने ९१३ डलर पाउँथ्यो।
परिवारका हकमा यस्तो सहायता रकम २४ महिनासम्म दिने प्रावधान थियो।
‘पछि यो व्यवस्था संशोधन गरेर अमेरिका जानेबित्तिकै प्रतिव्यक्ति एघार सय डलर दिन थालियो,’ पूर्णले भने, ‘तत्कालीन अवस्थामा यो रकम घरभाडा र अन्य दैनिक खर्चमै पुग–नपुग हुन्थ्यो।’
पूर्णकै उदाहरण लिने हो भने उनको चार जनाको परिवारले महिनाको ७१३ डलर पाउँथ्यो। त्यसमध्ये घरभाडा नै ७०० डलर थियो। बाँकी १३ डलरबाट महिनाभरि गुजारा चलाउन असम्भव हुन्थ्यो।
‘कसरी धान्नुभयो त?’
हाम्रो यो प्रश्नमा पूर्णले भने, ‘अंग्रेजीमा राम्रो दखल भएकाले मलाई अलि सजिलो भयो। मैले जानेबित्तिकै घरबेटीसँग कुरा गरेर ६५० डलरमा भाडा मिलाएँ। बाँकी बचेको ६३ डलरबाट महिनाभरिको बिजुली, पानी लगायतको बिल तिर्न पुग्थ्यो। अंग्रेजी राम्ररी बोल्न र बुझ्न नसक्नेहरूले यति व्यवस्थापन पनि गर्न सकेनन्।’
अमेरिकी समाजका केही विशिष्ट तौरतरिकाले पनि भुटानी नेपालीहरूलाई अभ्यस्त हुन गाह्रो परेको उनको भनाइ छ।
उनले केही उदाहरण दिए —
यहाँ साना नानीहरूलाई स्कुल पढ्न पठाउनैपर्छ। आफू दिनभरि जहाँसुकै काम गर्न गएको भए पनि बेलुकी बच्चाको छुट्टी हुने बेलासम्म घर फर्किसकेको हुनुपर्छ। नानीहरूलाई एक्लै घरमा छाडे केटाकेटीको राम्रो हेरविचार गरेन भनेर कानुनी रूपमा जरिवाना तिराइन्छ।
केटाकेटीमाथि हात उठायो वा उनीहरूलाई रूवायो भनेर छरछिमेकबाट उजुरी पर्यो भने त्यस्तो अवस्थामा पनि प्रहरी आएर केरकार गर्छ र जरिवाना तिराउँछ।
आफू जहाँ बसेको हो, त्यहाँको सरसफाइमा ध्यान दिनुपर्छ। सरसफाइ गरेन भने पनि जरिवाना तिर्नुपर्छ।
अर्को समस्या हुर्केका छोराछोरीको हो, जो अमेरिकी समाजको देखासिकी आफू पनि अमेरिकीकरण हुँदै गएका छन्। उनीहरू १८ वर्ष नाघेपछि स्वतन्त्र ढंगले काम गर्न खोज्छन्। कानुनी रूपमा बाँधेर राख्न मिल्दैन। उनीहरू आफ्नो निर्णय आफैं गर्न खोज्छन् तर जिम्मेवारी उठाउन सक्षम पनि हुँदैनन्। यसले आमाबाबुलाई दुबिधामा पारेको छ।
‘अमेरिकामा रहेका कतिपय भुटानी नेपालीहरूलाई यस्ता व्यावहारिक समस्याले बढी थिचेको म देख्छु,’ उनले भने, ‘जसले अमेरिका आएर आफ्नो पढाइलेखाइलाई निरन्तरता दिए, केटाकेटीको शिक्षामा ध्यान दिए, उनीहरूले चाहिँ राम्रै उन्नति गरेका छन्।’
‘मान्छेलाई सुखले मत्ताउँछ, दुःखले सिकाउँछ भनिन्छ,’ पूर्णले अगाडि भने, ‘हामीले भुटान र नेपालमा जुन जिन्दगी बितायौं, त्यो सम्झिँदा पनि कहाली लाग्ने जिन्दगी थियो। तर हिजोको दुःखलाई जसले शिक्षाका रूपमा लिए र अब म फेरि त्यही दुःखमा फर्किन्नँ, आफ्नो सन्तानलाई नयाँ भविष्य दिन्छु भनेर प्रण गरे; उनीहरूले अमेरिका आएर राम्रो प्रगति गरे।’
‘सबैले बराबर तरक्की गरेका छन् भनेर म भन्दिनँ। दुःख पाउनेहरू पनि छन्। अमेरिकी संस्कृतिसँग भिज्न नसकेर आत्महत्या गर्नेहरू पनि छन्। तर अपवाद कहाँ हुँदैन? धुजा धुजा फाटेको जिन्दगी समेट्न धेरै आत्मबल चाहिन्छ। सुनलाई पनि आगोमा तताएपछि मात्र गहना बन्छ। अमेरिका आउँदैमा जिन्दगी त्यसै कायापलट हुने त होइन। यसका लागि मान्छेले हिम्मत देखाउनुपर्यो, अवसर खोज्नुपर्यो र त्यो अवसर सदुपयोग गर्न मिहिनेत गर्नुपर्यो। जसले हिम्मत देखाए, अवसर खोजे र मिहिनेत गरे, उनीहरूको जीवन सन्तोषजनक छ भन्ने मलाई लाग्छ। मेरो केही हुनेवाला छैन भनेर हात बाँधेर बस्यो भने त कोही पनि कहीँ पुग्दैन।’
यसको एउटा ज्वलन्त उदाहरण पूर्ण न्यौपाने आफैं हुन्।
पछिल्लो पन्ध्र वर्षको अमेरिकी बसाइलाई फर्केर हेर्ने हो भने उनले आफ्नो नयाँ जिन्दगीबाट खुसी नहुनुपर्ने कुनै कारण छैन।
उनले अमेरिका आएको पहिलो साताबाटै लुथरन वर्ल्ड सर्भिसमा स्वयंसेवीको काम थालेका थिए। सन् २००९ जनवरीबाट यही संस्थामा औपचारिक जागिर सुरू गरे। कानुनी कागजपत्र नभएका २२ वर्षमुनिका आप्रवासीहरूको पुनर्स्थापनामा सहयोग गर्नु उनको जिम्मेवारी थियो। पूर्णले परामर्श दिने समूहमा बंगलादेश, अफगानिस्तान, होन्डुरस, भुटान र इरित्रियाका १४ जना युवा थिए। उनी ती युवालाई आवश्यक पर्दा अदालत लिएर जानेदेखि स्वास्थ्य उपचारसम्म गराउँथे।
जागिरकै बीच उनले क्लार्क विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर पूरा गरे। यसका लागि भुटानबाट स्नातकको प्रमाणपत्र झिकाउन क्लार्क विश्वविद्यालयका डिनले पत्राचार गरिदिएको उनी बताउँछन्। पूर्वी भुटानको तासीगाङस्थित सेराप्से कलेजबाट भौतिकशास्त्रमा स्नातक पास गरेका पूर्णको शैक्षिक प्रमाणपत्र भुटानले रोक्का गरेको थियो। उनले भुटानबाट विस्थापित हुनुअघिदेखि तारन्तार आफ्नो प्रमाणपत्र माग गर्दा पनि पाएका थिएनन्।
‘जब मैले क्लार्क विश्वविद्यालयका डिनलाई आफ्नो समस्या सुनाएँ, उनले व्यक्तिगत रूपमा भुटानी विश्वविद्यालयसँग पत्राचार गरे,’ पूर्णले भने, ‘डिनले नै पत्राचार गरेपछि सन् १९९२ देखि रोकिएको मेरो प्रमाणपत्र हात पर्यो।’
पूर्णका छोरा र छोरीले पनि अमेरिकामा राम्रो सफलता हासिल गरेका छन्।
उनका ३० वर्षीय छोरा भाष्कर अमेरिकी एयरफोर्समा छन्। पहिले सेकेन्ड लेफ्टिनेन्टका रूपमा जापानको ओकिनावामा उनको पोस्टिङ थियो। त्यहाँ दुई वर्ष काम गरेपछि लेफ्टिनेन्टमा बढुवा भएर नर्थ डकोटाको माइनट भन्ने एयरबेसमा सरूवा भए। त्यहाँ पनि उनले दुई वर्ष काम गरे। त्यसपछि सन् २०२२ नोभेम्बरमा उनी क्याप्टेनमा बढुवा भए।
उनी अहिले म्यासाचुसेट्समै अमेरिकी एयरफोर्सअन्तर्गतको लिंकन ल्याबमा काम गर्छन् र अब बोस्टन विश्वविद्यालयमा स्नातकोत्तरको पढाइ सुरू गर्ने तयारीमा छन्। उनको यो पढाइ पनि एयरफोर्सकै छात्रवृत्ति हो। स्नातकोत्तर सकेपछि उनी फेरि एयरफोर्समा जान पनि सक्छन् वा अन्य क्षेत्र रोज्न पनि सक्छन्।
‘अहिले त उसले केही सोचेको छैन,’ पूर्णले भने, ‘पछि अमेरिकी सरकारी सेवामा छिरेर कूटनीतिक नियोगमा काम गर्ने उसको विचार छ।’
पूर्णकी २७ वर्षीया छोरी रेश्माले पनि बोस्टन विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर पूरा गरिसकिन्। स्नातकोत्तरका लागि शोधपत्र लेख्न उनी बेलडाँगी शरणार्थी शिविर नै गएकी थिइन्, जहाँ उनको जन्म भयो।
उनी अहिले एरिजोना जनस्वास्थ्य विभागमा विभागीय प्रमुख छिन्। गएको जुन २६ मा नेपालकै केटासँग उनको विवाह भयो। जुलाई २ मा पूर्णले पार्टी दिए, जसमा १६ वटा देशका आप्रवासीहरू सहभागी थिए। तीमध्ये धेरैजसो पूर्णजस्तै शरणार्थी हुन्।
पार्टीमा इराकी शरणार्थी वाला पनि आएका थिए, जोसँग पूर्णको निकट सम्बन्ध गाँसिएको छ।
‘तपाईं आफ्नो अमेरिकी बसाइबाट सन्तुष्ट हुनुहुन्छ?’ हामीले पूर्णलाई सोध्यौं।
उनको जवाफ थियो, ‘व्यक्तिगत रूपमा मलाई राम्रै भयो भन्ने लाग्छ। मैले यसो भन्नुको कारण आर्थिक उपलब्धि मात्र होइन। आर्थिक रूपमा त नेपालमै बसेको भए पनि स्कुल–कलेजमा पढाएर सुखदुःख जीवन चलिहाल्थ्यो। तर यहाँ मेरा छोराछोरीले संसारकै नामी विश्वविद्यालयमा पढ्न पाए। उनीहरूले अहिले जुन मुकाम बनाएका छन्, त्यो मेरो लागि सबभन्दा खुसीको कुरा हो। मैले जुन कष्टमा आफ्नो जीवन गुजारेँ, अब कम्तिमा मेरा छोराछोरीले र उनीहरूका छोराछोरीले त्यो कष्ट बेहोर्नु नपर्ला! एउटा बाबुलाई खुसी र सन्तुष्ट हुन योभन्दा बढ्ता अर्को के चाहियो!’
सन्तुष्ट हुनुको अर्को कारण पनि छ — भुटानमा नपाएको नागरिक हक उनले अमेरिकामा पाएका छन्।
पूर्णले आफ्नो जिन्दगीको पहिलो भोट अमेरिका आएपछि दिए। पूर्ण मात्र होइन, गत जुलाई २ मा ९९ वर्ष टेकेका उनका बुवाले पनि पहिलो भोट खसालेको अमेरिका आएपछि नै हो।
‘नागरिक हक भनेको के हो, मतदानको अधिकार भनेको के हो, लोकतन्त्र भनेको के हो — मैले यी सब यहीँ आएर थाहा पाएँ। यहीँ आएर अनुभव गर्न पाएँ,’ पूर्णले भने, ‘शरणार्थीका रूपमा आएको अर्कै देशको मान्छे भएर पनि यहाँ मैले आफ्नो नागरिक हक उपभोग गर्न पाएको छु। मैले आफूलाई मन परेको मान्छेलाई भोट हाल्ने अधिकार पाएको छु। यस्तो अधिकार मैले आजसम्म उपभोग गरेको थिइनँ।’
मान्छेको जिन्दगी चौबीस घन्टाको प्रहरजस्तै हो, जहाँ दिन पनि हुन्छ, रात पनि। पूर्णको जिन्दगीमा पनि एकातिर सन्तुष्टि छ, खुसी छ भने अर्कातिर खेद पनि छ, दुःख पनि।
‘खेद चाहिँ किन?’ हामीले सोध्यौं।
जवाफ दिनुअघि नै उनको अनुहार अमिलो भएर आयो। यस्तो लाग्यो, मानौं पिरो खुर्सानी खाएपछि त्यसको राग अनुहारमा देखिँदैछ! पेटमा दनदन्ती बलेको आगोको धुवाँ अनुहारभरि पोतिँदैछ!
‘मैले अमेरिका आएर नागरिक हक पाएँ। नागरिक भएर बाँच्नुको अर्थ के हो भन्ने मैले यहीँ आएर बुझेँ। यसले मलाई सन्तुष्टि दिन्छ। तर सँगसँगै सत्य के हो भने, जुन नागरिक हक मैले अमेरिकामा पाएँ, त्यो त यहाँ पहिल्यैदेखि थियो। म त त्यसको उपभोग गर्न बाहिरबाट थपिएको मात्र हुँ,’ उनले भने, ‘आज पनि मेरो जन्मभूमि भुटानका दाजुभाइ, दिदीबहिनीहरू आफ्नो अधिकारबाट वञ्चित छन्। भुटानमा जन्म लिएकैले उनीहरूले जिन्दगीमा कहिल्यै नागरिक हक उपभोग गर्न पाएनन्। लोकतन्त्रमा सास फेर्न पाएनन्। जुन खुला र उदार समाजको म यहाँ आनन्द लिँदैछु, मेरो भुटानले त्यही खुला र उदार समाज अहिलेसम्म देख्न पाएको छैन। खुला समाजमा कसैको चिन्ता नलिई, कसैको डरत्रास नमानी कसरी ढुक्कसँग सास फेर्न पाइन्छ भन्ने मेरो भुटानले अहिलेसम्म अनुभव गर्नै पाएको छैन।’
‘मैले अमेरिका आएर जुन नागरिक हक, स्वतन्त्रता, खुला समाज र लोकतन्त्रको उपभोग गरिरहेको छु, त्यसको बढी खाँचो त मेरो भुटानलाई छ,’ उनले अगाडि भने, ‘जुन ठाउँमा खाँचो छ, त्यहाँ लोकतन्त्र ल्याउनमा मैले आफ्नो तर्फबाट कुनै योगदान गर्न सकिनँ। मैले मेरो माटोको ऋण तिर्न सकिनँ। मेरा भुटानी दाजुभाइ, दिदीबहिनीहरूलाई पनि मैलेजस्तै खुला समाजमा सास फेर्ने वातावरण बनाउनमा इत्ति पनि भूमिका खेल्न सकिनँ। जुन धरातलबाट म आएँ, त्यो देशलाई मैले केही गर्न सकिनँ। मलाई यसमा सधैं खेद रहन्छ।’
यति भनेर उनी निकै बेर चुप्प लागे।
सिसाको जगबाट सिसाको गिलासमा पानी सारे।
पानी पिए।
र, किलकिलेमा जमेको खेद सफा गर्दै भने, ‘आज पनि भुटानी प्रशासनको विभिन्न तहमा सँगै पढेका मेरा साथीहरू छन्। उनीहरूसँग मेरो नियमित सम्पर्क भइरहन्छ। दक्षिण भुटानमै रहेका नेपाली दाजुभाइ, दिदीबहिनीसँग पनि फोनमा कुराकानी भइरहन्छ। उनीहरू सबै मलाई अमेरिका पुगेकोमा बधाइ दिँदै भन्छन्– तिमी संसारकै ड्रिमल्यान्डमा छौ। हामी त आज पनि यहाँ एक अधिकारविहीन वस्तुका रूपमा बाँचिरहेका छौं।’
उनले कुराकानीकै बीचमा आफ्नो मोबाइल फोन खोले र केही दिनअघि मात्र आएको एउटा सन्देश देखाए।
भुटानमा रहेका एक नेपालीभाषी साथीको सन्देश रहेछ जसमा लेखिएको थियो, ‘पूर्ण, हामी यहाँ त्यस्तै हालतमा छौं, जस्तो हालतमा पहिले थियौं। मलाई लाग्छ, तिमीले जुन उदार समाज र उदार लोकतन्त्र भोग्न पायौ, त्यस्तो उदार समाज र उदार लोकतन्त्र हामीले कहिल्यै देख्न पाउने छैनौं। पूर्ण, हामीले मान्छेको जुनी त पायौं तर यो जुनीमा मान्छे भएर बाँच्न पाएनौं। तिमीले छाड्दा भुटान जुन अन्धकारमा थियो, आज पनि यहाँ त्यस्तै अन्धकार छ। सायद यही अन्धकारमा एकदिन हामी मर्ने छौं! हामी अधिकारविहीन भएर जन्म्यौं, अधिकारविहीन भएर बाँच्यौं र हाम्रो मृत्यु पनि अधिकारविहीन नै हुनेछ।’
सन्देश पढेको दिन पूर्ण रातभरि निदाउन सकेनन्। शब्द–शब्दले उनको मुटु निचोरियो। उनले आँखा झिमिक्क नगरी, ओछ्यानमा घरी दायाँ, घरी बायाँ कोल्टे फेर्दै रात छर्लंग काटे।
विडम्बना चाहिँ के भने, जुन दिन उनको मोबाइलमा भुटानी साथीको यस्तो सन्देश आयो, त्यसैको एक वा दुई दिनपछि उनले ‘ह्याप्पिनेस इन्डेक्स’ मा भुटानले तरक्की गरेको समाचार पढे।
ल्यापटपमा त्यो समाचार पढ्दै गर्दा उनको आँखाअगाडि मोबाइलको सन्देश नाच्दै थियो।
‘ह्याप्पिनेस इन्डेक्स’ हेरेर भुटानका जनता सुखी छन्, खुसी छन् भन्ने पत्याएर बसेका पश्चिमा राष्ट्रहरूलाई उनी आफ्नो साथीको सन्देश सुनाउन चाहन्छन् र भन्न चाहन्छन्, ‘ह्याप्पिनेस इन्डेक्सका नाममा भुटानले संसारका आँखामा छारो हालेको छ। तिमीहरू यो भ्रममा नपर। संसारलाई झुक्याउन सक्नु भुटानको खुबी हो तर यथार्थमा भुटान अहिले पनि यस्तो देश हो जहाँ राजपरिवारका सदस्यको बिहेबारी हुँदा गरिब जनताको रगत–पसिना खर्च हुन्छ। गरिबको रगतमाथि राजाको महल ठड्याइन्छ। गरिबको आँशु र चित्कारमाथि ‘ह्याप्पिनेस इन्डेक्स’ को आँकडा खडा गरिन्छ।’
‘भुटान यस्तो देश हो, जसले आफ्नो बढ्दो प्रतिव्यक्ति आम्दानी र उत्साहजनक आर्थिक वृद्धिदरका पछाडि गरिब नेपाली जनतामाथि गरेको अत्याचार लुकाएको छ। उनीहरूको सास र लास दफन गरेको छ,’ पूर्णले भने, ‘जबसम्म भुटानको राजसत्ताले नेपालीहरूको सास र लासको हिसाब चुकाउँदैन, तबसम्म उसलाई खुसी र सुखी राष्ट्र मान्नु भनेको औंसीको रातमा घामको उज्यालो खोज्नुजस्तै हो।’
भुटानले संसारलाई देखाउने ‘भ्रमपूर्ण’ ह्याप्पिनेस इन्डेक्सको समीक्षा गर्दै पूर्णले यो पनि भने, ‘जसले भुटानमा हामी खुसी छैनौं भनेर आवाज उठाउन सक्थे, उनीहरूलाई त भुटानको राजसत्ताले छानीछानी खेदेर धपाइसक्यो। अहिले जो बचेका छन्, उनीहरू हामी खुसी छैनौं भनेर बोल्न सक्दैनन्। मान्छेले आफ्नो दुःख प्रकट नगरेपछि, आफूमाथि कति अत्याचार भइरहेको छ भनेर बोल्न नसकेपछि ऊ स्वतः खुसी देखिने भइहाल्यो नि! त्यसैले भुटानको ह्याप्पिनेस इन्डेक्स भनेको कुरूप यथार्थ ढाकछोप गरेर त्यसमाथि ओढाइएको मलमलको चादर मात्र हो। जुन दिन अन्तर्राष्ट्रिय समुदायले मलमलको चादर हटाऊला, त्यो दिन भुटानको कुरूप यथार्थ संसारसामु उदांग हुनेछ।’
उनले अगाडि भने, ‘आज पनि भुटानमा चौंरीको काँचो छाला ओढेर बस्नेहरू छन्। उनीहरू राजालाई भगवान मान्न बाध्य छन्। यस्तो भगवान जसले उनीहरूको दुःख कहिल्यै देख्दैन, कहिल्यै सुन्दैन। उनीहरूलाई खुसी भनेको कुन चरीको नाउँ हो भन्ने नै थाहा छैन। हक–अधिकार त परीको कथाझैं ठान्छन्। त्यस्ता मान्छेको सर्वेक्षण गरेर भुटानलाई सर्वाधिक खुसी राष्ट्र भन्नुजस्तो हास्यास्पद अरू के होला!’
उनले आफ्नै काइँला दाइको छोरीलाई परेको एउटा घटना सुनाए —
सन् १९९२ मा पूर्ण न्यौपानेको परिवार र उनका सारा शाखा–सन्तान भुटान छाडेर हिँड्दा काइँला दाइकी छोरी भने उतै छुटेकी थिइन्।
उनी त्यो बेला मामाघरमा बसिरहेकी थिइन्। यता भुटानी सेनाले बन्दुकको नाल तेर्स्याएर रातारात देश छाड्न धम्की दिएपछि पूर्णका काइँला दाइले मावलीमा रहेकी छोरीलाई खबर गर्नधरि भ्याएनन्। स्थिति अनुकूल भएपछि भुटान फर्किन पाइएला कि भन्ने आस उनको मनमा थियो। फर्किन पाइएन भने कुनै उपाय गरेर छोरीलाई डाकूँला भन्ने पनि उनले सोचेका थिए।
तर भुटानी शरणार्थीहरूका लागि स्थिति कहिल्यै अनुकूल भइदिएन — न उनीहरू भुटान फर्किन पाए, न भुटानमै छुटेकी छोरी झिकाउन पाए।
पूर्णको काइँला दाइकी छोरी सन् २०११ सम्म भुटानमै रहिन्। त्यति बेलासम्म पूर्णको परिवार मात्र होइन, काइँला दाइ र अन्य दाइ–दिदीका परिवार पनि अमेरिका उडिसकेका थिए। उनीहरू कोही मिसिगन बस्छन्, कोही सिकागो, कोही ओहायो त कोही म्यासासुचेट्समै छन्।
अमेरिका आएर सबैको जिन्दगीले काँचुली फेर्यो तर सबैको मनमा एउटा काँडा बिझेको थियो।
उनीहरूलाई भुटानमा एक्लिएकी छोरीको सधैं सुर्ता रहन्थ्यो। काइँला दाइ त छोरीको चिन्ताले घरीघरी भक्कानिन्थे। काइँली भाउजू सुकेर पराल भएकी थिइन्।
परिवारको यस्तो पीडा देखेर छोरीलाई भुटानबाट छुटाएर ल्याउन पूर्णले पहल गरे।
शरणार्थीहरूको उद्धार र पुनर्स्थापनामा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था ‘लुथरन वर्ल्ड सर्भिस’ को जागिरले पनि पूर्णलाई छोरीसँग सम्पर्क गर्न सजिलो भयो।
उनले छोरीलाई भने, ‘तिमी जसरी हुन्छ भुटानी सीमा काटेर नेपाल जाऊ। त्यहाँ बेलडाँगी शिविर जानू र सिधै युएनएचसिआरका मान्छेहरूलाई भेट्नू। म शिविरमा तिम्रोबारे खबर गरिदिन्छु।’
छोरीले त्यसै गरिन्।
सन् १९९२ मा भुटानमै छुटेकी ती छोरी २०११ मा नेपाल आइपुग्दा उनको शरीरमा परिचय नामको कुनै चिज थिएन। भुटानले १९ वर्षको बीचमा पनि उनलाई नागरिकता दिएको थिएन। उनले पढ्न पाएकी थिइनन्। न कसैसँग खुलेर बोल्न सक्थिन्, न खुलेर सोच्न सक्थिन्। उनले त खुलेर हाँस्न पनि बिर्सिसकेकी थिइन्।
‘बेलडाँगी आइपुगेपछि शिविरमै रहेका पाँच जना छिमेकीहरूले छोरीको पक्षमा सर्जमिन गरिदिए,’ पूर्णले भने, ‘त्यसपछि बल्ल उसको शरणार्थी कार्ड बन्यो।’
शरणार्थी कार्ड बनेपछि सन् २०१५ मा उनी पनि अमेरिका आइन्।
‘छोरीलाई भुटानबाट छुटाएर अमेरिका ल्याउन र यहाँ स्थापित गराउन मलाई झन्डै एक दशक लाग्यो। आज पनि ऊ भुटान सम्झिँदा कहालिन्छे,’ पूर्णले भने, ‘यस्तै कहाली हामी सबैलाई लाग्छ। हामी सपनामा भुटानबाहेक केही देख्दैनौं र हरेकचोटि कहालिएर ब्युँझिन्छौं। सायद यो कहाली हामीले जीवनभर बोकिरहनुपर्नेछ।’
‘खुसी यतिमै छ, हामी सपनामा भए पनि भुटान पुग्छौं। भलै कहालिएर ब्युँझिनुपरोस् तर जन्मभूमिको झझल्को सपनाले सधैं ताजा बनाइदिन्छ।’
‘भुटानी नेपालीहरूमाथि भइरहेको यो अन्यायको शृंखला कसरी अन्त्य होला त?’
हाम्रो यो प्रश्नमा पूर्णले भने, ‘भुटानी राजसत्ताले आज नभए भोलि यो लडाइँ हार्छ, मलाई विश्वास छ। एकदिन सब ठिक हुनेछ, मलाई विश्वास छ।’
‘हामी अमेरिका, अस्ट्रेलिया, युरोप लगायत संसारभरि रहेका भुटानी शरणार्थीहरू जति बलियो हुँदै जान्छौं, भुटानी राजाको पल्ला उति कमजोर हुँदै जानेछ,’ उनले भने, ‘जुन दिन अमेरिकामा रहेका भुटानी शरणार्थीहरू बलियो हुनेछन्, त्यो दिन भुटानले गरेको अत्याचारको कुरा अमेरिकी सिनेटमा उठ्नेछ। क्यानडा, अस्ट्रेलियाजस्ता विकसित देशहरूमा पनि भुटानी नेपालीहरूको आवाज घन्किनेछ। त्यो बेला भुटानले नेपालीभाषी र अन्य समुदायलाई जबर्जस्ती अनागरिक बनाउँदै खेदेको इतिहास अन्तर्राष्ट्रिय रूपमा स्थापित हुनेछ।’
‘हामी आफ्नो तर्फबाट पनि भुटानको अन्यायपूर्ण इतिहास उजागर गर्ने कोसिस गर्दैछौं। अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूसँग यसका लागि सम्पर्क गर्दैछौं। विश्वविद्यालयमा यस विषयमा वकालत गर्ने काम हुँदैछ,’ उनले भने।
भुटानी नेपालीहरूको हक–अधिकारको वकालत सँगसँगै उनीहरूले अमेरिकामै ‘मिनी भुटान’ बनाउने कोसिस पनि सुरू गरेका छन्।
अमेरिकाका भुटानी शरणार्थीहरूले सन् २०२२ जुलाई १४ मा ओहायोको गेलेन टाउन भन्ने ठाउँमा एक सय पचास एकड जमिन किने। त्यहाँ ‘ओम सेन्टर दिव्य धाम’ निर्माण गर्ने उनीहरूको योजना छ, जहाँ भुटानी नेपालीहरूको संस्कृति, सभ्यता र इतिहास पुनजीर्वित हुने पूर्ण बताउँछन्।
यसका लागि एक सय आठ जना भुटानी नेपाली शरणार्थीहरूबाट प्रतिव्यक्ति २० हजार डलर चन्दा संकलन गरेको जानकारी दिँदै उनले भने, ‘एक सय आठ एकड जमिनमध्ये ३१ एकडमा खेती गर्नेछौं। जंगल बनाउनेछौं। यहाँ गौशाला रहनेछ। वृद्धाश्रम पनि हुनेछ। जिन्दगीमा कहिले भुटान जान पाइएला कि नपाइएला थाहा छैन, तर यो ठाउँले हामीलाई सधैं भुटानको याद दिलाइरहनेछ। त्यही भएर घर र गौशालाहरू नेपाली ढाँचामै बनाउने हामीले सोचेका छौं।’
‘ओम सेन्टर दिव्य धामलाई हामी अमेरिकाको मिनी भुटानका रूपमा विकास गर्दैछौं,’ उनले भने।
झन्डै दुई घन्टाको कुराकानीपछि छुट्टिनुअघि पूर्णले अमेरिकाको एउटा प्रसंग सुनाए —
कलेजमा विभिन्न देशबारे पढाउने क्रममा भुटानको पनि कुरा निस्केछ। अध्यापकले भुटानको अध्याय पढाउँदा ‘ह्याप्पिनेस इन्डेक्स’ को कुरा गरेछन्, आर्थिक वृद्धिको कुरा गरेछन्, त्यहाँको सफा हावापानी र स्वच्छ वातावरणको कुरा गरेछन्। त्यहाँको बौद्ध धर्म, संस्कृति र चाडपर्वको कुरा पनि गरेछन्। र, भनेछन्, ‘भुटानका जनता शान्त र सुखी छन्। बौद्ध धर्मका अनुयायीहरू अर्काको दुःखमा आफ्नो दुःख देख्छन्। जनताको समृद्धिलाई नै त्यहाँ सर्वोपरि ठानिन्छ।’
त्यही कक्षामा एक जना भुटानी शरणार्थी विद्यार्थी पनि रहेछन्। उनले अध्यापकको भनाइमा आपत्ति जनाएछन् र भुटानबाट खेदिएका सवा लाख नेपालीभाषीहरूको दुःखद कथा कक्षालाई सुनाएछन्।
भुटानी शरणार्थीकै मुखबाट भुटानको कथा सुनेपछि अध्यापकले माफी माग्दै भनेछन्, ‘मलाई यी सब कुरा थाहा थिएन। आई एम सरी!’
पूर्ण यस्तै माफीनामा भुटानी राजसत्ताको मुखबाट सुन्न चाहन्छन्।
उनी चाहन्छन्, भुटानका पूर्वराजा जिग्मे सिंघे वाङचुक र वर्तमान राजा जिग्मे खेसर नामग्याल वाङचुकले सारा भुटानी नेपाली जनता र सारा भुटानी शरणार्थीहरूसामु भनून् — आई एम सरी!
अर्को अंक 'भुटानको ४०० वर्षको कथा' शृंखलाको आखिरी अंक हो, जसमा हामी यस्तो व्यक्तिबारे चर्चा गर्नेछौं जसलाई भुटानी शरणार्थीहरूले कहिल्यै बिर्सिनु हुँदैन।
उनी हुन् डा. भम्पा राई। उनले आफ्नो पूरै जिन्दगी भुटानी शरणार्थीहरूको स्वास्थ्य उपचार र उनीहरूको हक–अधिकारका पक्षमा वकालत गर्दै बिताए।
त्यसपछि कुरा गर्नेछौं, दिल भुटानी उर्फ दिल महतको।
तपाईंहरू दिल भुटानीलाई चिन्नुहुन्छ नि, होइन? उनै दिल भुटानी, जो यो कथा शृंखलाका सूत्रधार हुन्।
जो सात वर्षको उमेरमा आमाबुवाको हात समातेर भुटानबाट नेपाल आए।
जसले दिनरात, चौबीसै घन्टा पानी परिरहने ‘सराप’ लागेको त्यो घना जंगलमा आकाशै छोउँलाझैं गरी अग्लिएका र आकाशै ढाकुँलाझैं गरी झ्यांगिएका रूखका हाँगाबिँगा र लहराहरूबीच रात काटे।
जसले आमाको काखमा लुटुपुटु परेर अनगिन्ती कथाहरू सुने र ती कथाहरू आमाले सुनाएजस्तै गरी हामीलाई सुनाए।
जसले आमाको काखबाट सरक्क टाउको उठाएर उनको आँखातिर पुलुक्क हेर्दा ओत दिइरहेको घना रूखको पातबाट पानीको थोपा गुड्किँदै निधारमा तप्प झर्यो।
त्यो पानीको थोपाले उनको नसिबमा जे लेख्यो, त्यो हामी आखिरी अंकमा लेख्नेछौं।
आखिरी अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः बायाँबाट क्रमशः पवित्रा न्यौपाने, भाष्कर न्यौपाने, रेश्मा न्यौपाने र पूर्ण न्यौपाने। तस्बिर स्रोत: पूर्ण न्यौपाने