कथायेँ: अध्याय चार
(आवरण चित्र: लिच्छवि राजा मानदेव चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरुडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराउँदै। मल्लपुरी विजयोत्सवका रूपमा आयोजित उक्त समारोहमा उनका साथ जेठी महारानी भोगिनी र अन्य रानीहरू क्षेमसुन्दरी, गुणवती र भारदारहरू देखिन्छन्। चित्रकार हरिप्रसाद शर्माले बनाएको योसहित अन्य पेन्टिङहरू हामीले उनकै अनुमतिमा यहाँ प्रकाशन गरेका हौं।)
चराको बथान चिरबिर गर्दै उडेको देख्दा पनि युद्ध छेडियो कि भनेर जनता दुई हातले घाम छेल्दै आकाशतिर हेर्थे।
पूर्वोत्तर गाउँमा कतै धुवाँ पुत्ताउन थाले तिब्बती सेना काठमाडौं छिर्यो कि भनेर कानेखुसी चल्थ्यो।
बजारमा सधैंको कल्याङमल्याङबीच कुनै दिन नगराको चर्को स्वर सुनियो भने त मान्छे हुरहुरिँदै बीचनगरमै आइपुग्थे। सडकमा हिँडिरहेकाहरू टक्क अडिन्थे। मन्दिरको घन्ट बज्दाबज्दै रोकिन्थ्यो। व्यापारीहरू माल तौलँदा तौलिँदै मुख आँ गरेर बाटोतिर नजर दौडाउँथे। खेतमा काम गरिरहेका किसान हतारहतार पानीमा हातखुट्टा चोबलेर हिलो पुछ्न थाल्थे।
जबदेखि पूर्वोत्तर आकाशबाट उड्दै आउने चिसो हावाले युवराज नरेन्द्रदेव दुई सय तिब्बती सेना साथ लिएर काठमाडौं हान्न आउँदैछन् भन्ने खबर ल्यायो, यहाँका जनता यसैगरी व्यग्र छन्।
मान्छेलाई युद्धको भय हुन्छ, यिनीहरू भने युद्ध भरे होला कि भोलि होला भन्ने आशमा बाइस वर्षदेखि ज्वालामुखीझैं उम्लिएर बसेका छन्।
नरेन्द्रदेव तीस वर्षका भए। उनी दस वर्षका थिए होलान्, जब उनका पिता राजा उदयदेवको हातबाट शासन गुम्यो। गुप्त–आभीर अधिनायक जिष्णुगुप्तले उदयदेवकै भाइखलक युवराज ध्रुवदेवका नाममा षड्यन्त्रपूर्वक शासन हत्याए। सिंहासनमा ध्रुवदेवलाई राखे, राजकाज आफू चलाए। लिच्छविवंश खोपीमा खुम्चियो।
जब दरबार दंगल बन्छ, राजा रंक हुन्छन्। उदयदेव केही समय लुकेर बसे। हाँडीगाउँदेखि काठमाडौं, ललितपुरदेखि भक्तपुर — फिर्की त्यति के घुम्छ, जति उनी घुमे। जनताले साथ दिएकै हुन्, तर जिष्णुगुप्तको सैन्यशक्तिका अगाडि जोड चलेन। उनी ज्यान बचाउन छोरा नरेन्द्रदेव र केही शुभचिन्तक भाइभारदारलाई लिएर तिब्बत छिरे। राजपाठ त गुमेकै थियो, राज्य पनि छुट्यो।
त्यो बेला तिब्बतमा सम्राट स्रङ–चङ–गम्पोको ठूलो नाम थियो। उनी उदयदेवका ज्वाइँ पनि हुन्। केही वर्षअघि उदयदेव गद्दीमै छँदा स्रङ–चङ–गम्पोले आफ्ना दुवै छिमेकी राजधानी काठमाडौं र बेइजिङसँग मायाको हात बढाएका थिए। चिनियाँ राजकुमारी वेन्छेङ ली चीनतिरबाट तल झरिन्, उदयदेवकी छोरी भृकुटी काठमाडौंबाट डोली चढिन्।
तिब्बतमा बौद्धधर्म प्रचार गर्न यी दुई राजकुमारीको ठूलो भूमिका मानिन्छ। तिब्बती जनश्रुतिअनुसार राजकुमारी भृकुटीले दाइजोका रूपमा अक्षोभ्य, मैत्रेय तथा ताराका मूर्तिहरू लगेकी थिइन्। चिनियाँ राजकुमारी वेन्छेङ लीले पनि केही प्राचीन बुद्धमूर्ति दाइजो ल्याएकी थिइन्। यी दुवै विदेशी श्रीमतीले बौद्धधर्मलाई राजकीय धर्म बनाउन राजालाई प्रेरित गरे। दुवैले ल्याएका बुद्धमूर्तिहरू तिब्बतमा अहिलेसम्म सजाएर राखिएका छन्। भृकुटीलाई ‘हरिततारा’ र वेन्छेङलाई ‘श्वेततारा’ का नामले आराध्य मानिन्छ। स्रङ–चङ–गम्पोका मूर्तिहरू जहाँ जहाँ छन्, त्यहाँ त्यहाँ दुईतिर दुवै रानी उभिएका भेटिन्छन्। चिनियाँ श्रीमतीका नाउँमा त ल्हासामा भव्य ‘ओपेरा’ समेत चल्छ।
उदयदेवले संकटको घडीमा आफ्नै ज्वाइँको भर गरे। उनी राजनीतिक शरणार्थीका रूपमा तिब्बतमा निर्वासित जीवन बिताउन थाले। निर्वासनकै क्रममा उनको निधन भयो।
नरेन्द्रदेव मौकाको ताकमा थिए। तिब्बतमा शरणार्थी भएर बस्दा उनले काठमाडौं जित्ने अनेक उपक्रम गरे। लिच्छवि राजवंशप्रति सद्भाव राख्ने र उदयदेवलाई माया गर्ने बासिन्दासँग निरन्तर सम्पर्क बढाए। उनीहरूलाई एकत्रित गरेर विद्रोहको वातावरण बनाए। तर, केही सीप लागेन। गुप्त–आभीरहरूलाई परास्त गर्न उनीसँग पर्याप्त सैन्यबल थिएन। सैन्यबलविना आभीर अधिनायकविरुद्ध विद्रोह गर्नु आफ्नै विनाश निम्त्याउनु हो भन्ने उनले बुझेका थिए।
यही रनाहामा नरेन्द्रदेवले तिब्बत सम्राटबाट सैन्य सहयोगको अपेक्षा पनि राखे होलान्। आफ्नी दिदी भृकुटीलाई भनेर स्रङ–चङ–गम्पोकहाँ सन्देश पनि पठाए होलान्। स्रङ–चङ–गम्पोले परिवारभित्रकै कुरा भए पनि पराई मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहेनन्। उनले बेलैमा साथ दिएका भए काठमाडौंमाथि चढाइँ गर्न नरेन्द्रदेवलाई बाइस वर्ष लाग्ने थिएन।
समय एकनास हुन्न। समय चक्र हो, घुमिरहन्छ भन्छन्।
सयमचक्र फेरि एकपटक नरेन्द्रदेवको पक्षमा घुम्यो, जसले पेकिङ (तत्कालीन चिनियाँ राजधानी) र काठमाडौंबीच अचानक यस्तो परिस्थिति उत्पन्न गरायो, जुन उनलाई गुमेको राज्य फिर्ता लिने सिँढी बन्यो।
उत्तर भारतका शक्तिशाली सम्राट हर्षवर्द्धन र दक्षिण भारतका अर्का त्यस्तै शक्तिशाली महाराजा पुलकेशिन द्वितीयबीच राजनीतिक शक्ति–संघर्ष चुलिँदै थियो। हर्षवर्द्धन पुलकेशिनलाई हराएर दक्षिण भारतमाथि विजय प्राप्त गर्न चाहन्थे। अघिल्लोचोटि आक्रमण गर्दा पराजयको चोट खाएका हर्षवर्द्धनले यसपालि चिनियाँ सम्राटको साथ खोजे। उनले पुलकेशिनविरुद्ध गठवन्धन गर्न आफ्ना केही दूत पेकिङ पठाए। प्रत्युत्तरमा चिनियाँ सम्राट ताइ जोङले पनि आफ्नो दूतमण्डल भारत पठाउने निधो गरे। ली–यू–पियाओको नेतृत्वमा चिनियाँ दूतमण्डल बन्यो। उनीहरू सम्राट हर्षवर्द्धनसँग भेट्न भारतीय टोलीसँगै दक्षिण रवाना भए।
चिनियाँ र भारतीय दूतहरूले नयाँ खुलेको तिब्बतको बाटो समाते। हिमालय पर्वतमाला पार गरेर काठमाडौं उपत्यका छिर्ने र यहाँबाट चन्द्रागिरि नाघेर भारत पस्ने योजना थियो। यो त्यति बेलाको नेपाल–भारत–तिब्बत व्यापार मार्ग हो। अंशुवर्माको पालादेखि यो व्यापार मार्ग चल्तीमा आएको थियो।
दुई देशका दूतहरू पेकिङबाट ल्हासा हुँदै नेपालको सीमासम्म आइपुगे, तर एउटा सोच्दै नसोचेको घटनाले उनीहरूको बाटो छेक्यो।
त्यति बेला ध्रुवदेवका छोरा भीमार्जुनदेव ‘खोपीका राजा’ थिए भने राजपाठको कमान जिष्णुगुप्तका छोरा विष्णुगुप्तको हातमा थियो। यी नयाँ आभीर शासक विष्णुगुप्तले दुई छिमेकी देशको संयुक्त दूतमण्डललाई आफ्नो भूमिमा छिर्ने अनुमति दिएनन्। उदयदेव र उनका छोरालाई शाही पाहुनाका रूपमा आश्रय दिएको भन्दै आभीर शासकहरू बाइस वर्षदेखि तिब्बतसँग रुष्ट थिए। विष्णुगुप्तले तिब्बती सीमामा कडा पहरा लगाइदिए, जुन उनका लागि साह्रै महँगो निर्णय साबित भयो।
दुवै छिमेकी शासकहरू काठमाडौंसँग क्रूद्ध भए। आभीर अधिनायकको हातबाट सिंहासन फिर्ता लिने आकांक्षा राख्दै आएका युवराज नरेन्द्रदेवको निम्ति यो फलाम तात्तेको बेला थियो। उनले चीन, तिब्बत र भारतका तीन शक्तिशाली सम्राटलाई आफ्नो समर्थनमा लिए। त्यसपछि भारतीय तथा चिनियाँ दूतमण्डलका सदस्यलाई काठमाडौं उपत्यका पार गराएर सकुशल भारत पुर्याइदिने जिम्मेवारी लिँदै तिब्बती दलबलसहित काठमाडौंमा धावा बोले।
हामी एकछिन त्यो लडाइँको कल्पना गरौं त!
जनताले पला–पला गन्दै पर्खिरहेको पल नरेन्द्रदेवको नेतृत्वमा नगरा घन्काउँदै आयो। चिरबिर चराले आकाश थर्कियो। मान्छे, हात्ती र घोडाको लावालश्करले भुइँधूलो कुइरीमण्डल भयो। आभीर सेनाका केही टुकडी धुलिखेलतिरै बाटो छेक्न उभिए। नरेन्द्रदेवको फौजले आगोका गोला बर्सायो। कालो मुश्लो बादल बन्यो। कति सेना आगोमा लपेटिए, कति हात्तीपाइलामुनि दपेटिए। तरबार र भाला जुध्दा बिजुली चम्केजस्तो झिलिकझिलिक झिल्का उठे। कमानबाट तिरको बौछारले हावा स्याइँय्य भयो। नरेन्द्र सेना दुश्मनको पहिलो जत्था ध्वस्त पारेर जयजयकार गर्दै अघि बढ्यो। हात्ती–घोडाको हिँहिँ, मान्छेको हाहु, तरबारको टनटन र भालाको छनछन ध्वनि धुलिखेलबाट बनेपा, बनेपाबाट सांगा र सांगाबाट भक्तपुर हुँदै काठमाडौं छिर्यो।
तिब्बतबाट नरेन्द्रदेवको सन्देश पाएदेखि बाटो कुरेर बसेका शुभचिन्तक जनता दुई हातले घाम छेक्दै यी सब दृश्य एकटक हेरिरहेका थिए। जसै युवराज नरेन्द्रदेव दलबलसहित नगर छिर्दै गरेको देखे, उनीहरू पनि आ–आफ्ना घरेलु हातहतियार बोकेर फौजमा मिसिन आए। दुई सय तिब्बती सेनाको पछाडि पछाडि दुई हजार जनताको लश्कर सलहझैं दरबारतिर बढ्यो।
आभीर सेनामा केही सिपाही नरेन्द्रदेवका शुभचिन्तक थिए। उनीहरूले पहिल्यै हतियार बिसाए। बाँकीसँग घमासान युद्ध भयो। काठमाडौं कुरुक्षेत्र बन्यो। गल्लीहरू रगतले लाल भए। घरका भित्ताहरूमा राता छिटा परे। तरबार, भाला र बाणको आवाजले हात्ती र घोडाहरू पनि तर्सिए। घरका झ्याल र बरन्डाहरूबाट महिला र केटाकेटीले ढुंगा बर्साउँदै आफ्नो पराक्रम देखाए। घाइते सिपाहीलाई ओखतीमूलो गर्न, पानी पिलाउन जनताको समूह तम्तयार बसेको थियो। एक जना सिपाही भुइँमा ढल्नासाथ उसलाई उठाउन हत्तपत्त दुई जना अघि सर्थे।
राजा र जनता जुटेर जाइलाग्दा आभीर सेना छिनमै छिन्नभिन्न भयो। उनीहरू ज्यान जोगाउन कुलेलम ठोके। अस्त्रशस्त्र फ्याँकेर आत्मसमर्पण गरे।
आभीर अधिनायक विष्णुगुप्तको शासन सदाको निम्ति समाप्त भयो। उनकै बलमा राजमुकुट धारण गरेर बसेका भीमार्जुनदेवले लिच्छविवंशी उदयदेवका पुत्र युवराज नरेन्द्रदेवलाई सरक्क सिंहासन सुम्पे।
लामो कालपछि सक्रिय राजकाजमा लिच्छविवंशको पुनरोदय भयो।
नगरमा नगरा घन्कियो। सिन्दुरेजात्रा गरियो। काष्ठमण्डपमाथि विजय पताका लहरायो। चारैतिरबाट नरेन्द्रदेवको जयजयकार गुञ्जियो।
‘महाराजाधिराज नरेन्द्रदेवकी जय।’
लिच्छविवंश ‘कोमा’ बाट बौरिएको यो घटना आजभन्दा चौध सय वर्षअगाडिको हो।
नरेन्द्रदेवले तिब्बती सेनाको मद्दत र जनताको सहयोगमा विक्रम सम्बत् ७०० आसपास आभीर अधिनायकविरुद्ध क्रान्ति गरेको मानिन्छ। चिनियाँ दूत ली–यी–पियाओले त्यसै वर्ष नेपालको बाटो हुँदै भारतीय सम्राट हर्षवर्द्धनकहाँ जाँदा गद्दीमा नरेन्द्रदेव रहेको वर्णन गरेका छन्। यसबाट नरेन्द्रदेवको क्रान्ति र उनको राज्यारोहणको मिति अनुमान गर्न सकिन्छ।
नरेन्द्रदेवले गुप्त–आभीरहरूलाई हटाएर शासन हातमा लिएपछि ३६ वर्षभन्दा बढी राजकाज सम्हाले। अंशुवर्मा र आफ्ना पिता उदयदेवजस्तै ‘महाराजाधिराज’ पद पनि लिए। उनको शासनकालमा आभीर वा अरू कुनै खलकले टाउको उठाउन सकेनन्। लिच्छविवंशको अकन्टक शासन चल्यो। त्यही भएर नरेन्द्रदेवलाई लिच्छवि राजाहरूमा मानदेवपछिकै उच्च दर्जा दिइन्छ।
लिच्छविवंशको शासनाधिकार गुमेको र फर्केको यो पहिलो घटना होइन। त्यसअघि पनि जिष्णुगुप्त र विष्णुगुप्तका पुर्खाले लामो समय लिच्छवि राजाहरूलाई नबोल्ने, नसुन्ने र नदेख्ने ‘देउता’ बनाए। अंशुवर्मा, जो नेपालको इतिहासमै पहिलोपल्ट ‘महाराजाधिराज’ भए र जसलाई हामी ‘सुधारवादी’ शासकका रूपमा चिन्छौं, उनी आफैं लिच्छविवंशका उत्तराधिकारी होइनन्। राजालाई नजरबन्दमा राखेर रजाइँ गरेका हुन्। जसरी जंगबहादुर राणा र उनको खलकले एक सय चार वर्षसम्म शाह राजाहरूमाथि रजाइँ गरे।
मैले यो शृंखलाको प्रारम्भमा भनिसकेँ, मेरो जन्म काठमाडौंमा भएको होइन। मैले आप्रवासी आँखा र बाल कौतूहलको नजरले काठमाडौंलाई हेरेँ। आफू दिनरात बरालिने काठमाडौं गल्लीको अद्भूत विशेषता सम्पदाविद् सुदर्शनराज तिवारीबाट सुनेपछि यहीँका रैथाने आलोकसिद्धि तुलाधरलाई ‘गाइड’ मानेर ती गल्लीहरू पछ्याएँ। पन्ध्र सय वर्ष वा त्योभन्दा अगाडि बनेको काठमाडौंको सहरी संरचना र जात्रापर्वबारे बुझ्न खोजेँ, जसको वर्णन मैले अघिल्ला अध्यायहरूमा गरिसकेको छु।
वर्तमानमा उभिएर लिच्छविकालीन गल्लीहरू चहार्दा मलाई लिच्छवि राजनीतिमा चाख लाग्यो। तिवारीसँग घन्टौं यसबारे कुराकानी गरेँ। सम्पदा र इतिहासमा स्वअध्ययन गरेका आलोकसँग उनकै घरमा र इन्द्रचोक, असनका चिया पसलहरूमा बसेर लामो–लामो छलफल गरेँ। उनकी पत्नी सुनिता तुलाधर, जो इतिहास र संस्कृतिका स्नातकोत्तर विद्यार्थी हुन्, उनले लिच्छवि इतिहासका किताबहरू दिएर मेरो चाख अझ बढाइदिइन्। मैले आफ्नो कौतूहल मेट्न लिच्छवि शिलालेख अनुवाद र व्याख्या गरेका इतिहासकार धनवज्र बज्राचार्यको किताब पढेँ। इतिहासकार बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, साफल्य अमात्यको ‘काठमाडौं नगरायण’, प्राध्यापक जगदीशचन्द्र रेग्मीको हालसालै प्रकाशित ‘लिच्छवि इतिहास’ लगायत अन्य सन्दर्भ–सामग्रीहरू पढेँ। केही भरथेग ‘गुगल’ ले पनि गर्यो।
अघिल्लो अध्यायमा मैले एउटा प्रश्न उठाएको थिएँ– मान्छेलाई आफूले बाँचेको युग प्यारो लाग्छ, बाँच्न नपाएको युगको चासो लाग्छ। हामी इतिहासमा रोमाञ्चित हुँदै मल्लकाल र लिच्छविकालमा ‘स्वर्ण युग’ देख्छौं। के यो सत्य होला? त्यसो हो भने त हामी अधोगतितिर झरेको हुनुपर्यो? के हामी यी पन्ध्र सय वा दुई हजार वर्षमा अधोगतितिर झर्यौं, भन्नुस् त?
भन्नुस् त? के हामी अधोगतितिर झर्यौं?
सहरी संरचनाको कुरा गर्दा आज संसारभरि सहरहरू जसरी बसाइन्छ, त्यस्तै ढाँचा काठमाडौंले पन्ध्र सय वर्षअघि नै पाइसकेको थियो। यो थाहा पाउँदा हामीले भन्नैपर्छ– लिच्छविकाल साँच्चिकै ‘स्वर्ण युग’ थियो।
एक्काइसौं शताब्दीमा पनि जुन काष्ठमण्डप पुनर्निर्माण गर्न हामीलाई महाभारत भइरहेको छ, त्यस्तो भव्य संरचना पाँचौं र सातौं शताब्दीमै बनिसकेको थाहा पाउँदा हामीले भन्नैपर्छ– लिच्छविकाल ‘स्वर्ण युग' नै थियो।
हाम्रो आधुनिक इञ्जिनियरिङले रानीपोखरी ब्युँताउन सकेन, हामी प्राचीन शैलीमै फर्किनुपर्यो। यो हेर्दा हामीले भन्नैपर्छ– हाम्रा पुर्खाहरूको वास्तुचेत आधुनिक सभ्यताको भन्दा कम थिएन।
हामीले आज मनाउने जात्रापर्वहरू पनि सबैजसो प्राचीन कालकै सिर्जना हुन्।
तर, जब हामी लिच्छविकालको राजनीतिक इतिहास हेर्छौं, यस्तो लाग्छ सत्तालिप्सा, षड्यन्त्र र अन्तरघात हामीले विरासतमै पाएका हौं।
नरेन्द्रदेवले महाभारतका भीष्म पितामहजस्तै इच्छामृत्युको वरदान पाएका हुँदा हुन् र उनी आजसम्म जीवितै रहँदा हुन् त, नेपाली राजनीतिको यो संयोग वा दुष्चक्र देखेर अचम्म मान्थे होलान्। टाउकोमा हात राखेर सोच्थे होलान्– नेपाली राजनीतिको यो कस्तो नियति हो, जहाँ कुनै पनि कालखण्डको कुनै पनि राजवंश र राजनीति सत्ता छिनाझपटीको खेलोफड्कोबाट मुक्त रहेन। यो लिच्छविबाट मल्ल र मल्लबाट शाहवंशमा शासन–परिवर्तनको कुरा होइन, एउटै शासनकालभित्र बलजफ्ती गरिएको सत्ता परिवर्तनको कुरा हो, जसले नेपालको राजनीतिक इतिहास रक्तरञ्जित छ।
जसरी म काठमाडौंमा जन्मेको होइन, त्यसरी नै इतिहासको विद्यार्थी पनि होइन। प्रमाणपत्र तह (आइए) को पाठ्यक्रम ‘नेपाल परिचय’ र इतिहासका केही फुटकर लेख–रचना पढ्नुबाहेक मैले यो विषय कहिल्यै गहिरिएर हेरेको थिइनँ। यसपालि लिच्छविकालीन गल्ली हुँदै लिच्छवि राजनीतिसम्म पुग्दा मलाई त्यति बेलाका धेरै घटनाक्रम नौला लागे। जसरी मैले आप्रवासी आँखाले काठमाडौं हेरेँ, त्यसरी नै कौतूहल दृष्टिले इतिहास पढेँ। र, अब एक कथावाचकका रूपमा लिच्छवि इतिहास सुनाउँदैछु।
इतिहासबाट तिथिमितिको विस्तृत हटाइदिने हो भने कथा बन्छ। यो अध्याय लिच्छवि राजनीतिको कथा हो।
...
यो कथा करिब पच्चीस सय वर्षअगाडिबाट सुरू हुन्छ, जब गौतम बुद्ध जीवित थिए।
इसापूर्व ४९४ मा गौतम बुद्ध शान्ति–सन्देश छर्दै हिँडेका बेला मगधका युवराज अजातशत्रुले आफ्नै पिता बिम्बिसारको हत्या गरी राज्य हत्याए। आफ्नै काका काशीनरेश प्रसन्नजितमाथि हमला गरी काशी राज्यलाई पनि मगधमा गाभे।
त्यही समय गंगानदीको उत्तरी तटमा बिज्जी गणतन्त्रको साम्राज्य थियो। बिज्जी गणतन्त्रमा धेरै कुल तथा जातिको छुट्टाछुट्टै स्वायत्त शासन चल्थ्यो, जसमध्ये लिच्छवि एक हो। लिच्छविहरूको राजधानी वैशाली भारतको बिहार राज्यमा पटनानजिकै पर्छ। भारतले वैशालीलाई संसारकै ‘पहिलो गणराज्य’ का रूपमा प्रचार गर्दै आएको छ। हिन्दु वास्तुशास्त्रअनुसार नौ–खानाको वर्गाकार ज्यामितीय ढाँचामा बनेको यो नगर–राज्य चारैतिर पर्खालले घेरिएको थियो। नगर छिर्ने मुख्य–मुख्य नाकामा काठका ठूल्ठूला द्वार थिए। अहिले पनि यहाँ लिच्छविकालीन अवशेषहरू प्रशस्तै पाइन्छन्, जुन पर्यटकीय आकर्षण हुन्।
वैशालीका अरू पनि केही खास विशेषता छन्। जैन धर्मका गुरू महावीरको जन्म यही ठाउँमा भयो। उनले आफ्नो जीवनका धेरै समय यहीँ बिताए। गौतम बुद्ध पनि शान्ति–सन्देश छर्दै धेरैचोटि यहाँ आए। बुद्धको महापरिनिर्वाणपछि अनुयायीहरूको दोस्रो महासभा वैशालीमै भएको मानिन्छ, जसले दुःख निवारणका सन्देश र संहिता संग्रहित गर्यो।
भारतको प्राचीन इतिहासमा आम्रपाली भन्ने ‘नगरवधू’ को खुब चर्चा पाइन्छ। उनी पछि बुद्धकी अनुयायी भइन्। उनको सुन्दरताले त्यति बेलाका धेरै राजा–महाराजा बेकाबू हुन्थे रे। लिच्छवि राजा मनुदेवले पनि आम्रपालीको नृत्यबाट निहाल भएर उनलाई काबूमा लिने कोशिस गरेको कथा छ।
विधि, व्यवस्था र वास्तुमा ‘अब्बल’ वैशाली राज्य त्यति बेला छिन्नभिन्न भयो, जब अजातशत्रुको कुदृष्टि पर्यो।
बुद्धको जीवनको अन्तिम वर्षतिर इसापूर्व ४८६ मा अजातशत्रुले बिज्जी गणतन्त्रमाथि आक्रमण गरे। वैशाली राज्य तहसनहस पारे र मगधमा मिसाए। वैशालीबाट ज्यान जोगाएर भागेका लिच्छविहरू भारतको पूर्वी भाग हुँदै मधेसको जंगल छिचोलेर काठमाडौं उक्ले। बिज्जी, शाक्य, कोली, शक र पार्थियन वंशीहरू यहाँ आएको पनि लगभग त्यही समय हो।
काठमाडौं उपत्यकामा त्यो बेला किराँतहरूको शासन थियो। भारतबाट भागेर आएका लिच्छवि राजा र भारदारहरू सुरूका केही वर्ष किराँतकै पाहुना भएर चुपचाप बसे होलान्। गुप्तचरले झैं सहरका कुनाकाप्चा चहारे होलान्। किराँतहरूको सैन्यबल तौले होलान्। भित्रिया बनेर कमजोरीहरू भाँपे होलान्। वैशालीजस्तो विशाल र समृद्ध साम्राज्यमा शासन गरेर आएकाहरू आखिर कति दिन राजपाठबाट टाढा रहन सक्थे? त्यसमाथि यो शान्त पहाडी राज्यको दाँजोमा आफ्नो सैन्यशक्ति र सांगठनिक सामर्थ्य बलियो देखेपछि उनीहरू पक्कै धेरै समय धीर रहन सकेनन्। एकदिन मौका हेरेर किराँतसहित नेपाल अधिराज्यका विभिन्न ठाउँमा शासन गर्ने मल्ल, गोपाल लगायत सबैलाई लखेटेर आफ्नो एकछत्र राजनीतिक वर्चश्व कायम गरे।
एउटा राज्यबाट लखेटिएर आएका लिच्छविहरू अर्को राज्यका राजाहरूलाई लखेटेर शासनमा फर्कन सफल भए। यो करिब इसापूर्व पहिलो शताब्दी वा इसाको पहिलो शताब्दीतिरको कुरा हो।
लिच्छविहरूको वंशवृक्ष केलाउँदा सबभन्दा माथि ‘लिच्छवि’ भन्ने राजाको नाम आउँछ। उनकै नामबाट ‘लिच्छविवंश’ प्रख्यात भएको मानिन्छ। उनको बाह्र पुस्तापछि सुपुष्प भन्ने राजा भए। राजा सुपुष्पको ऐतिहासिक महत्व खुलेको छैन। उनले नेपालमा शासन गरे कि गरेनन् भन्ने पनि हामीलाई थाहा छैन। सुपुष्पदेवको पालामा नेपालमा वर्ण व्यवस्था लागू भएको र पशुपतिनाथ मन्दिर निर्माण भएको 'गोपाल वंशावली' मा उल्लेख छ। तर, यो कतैबाट पुष्टि हुँदैन। उनीपछि तेइस जना राजाहरूको नाम हामी कतै फेला पार्दैनौं। एकैचोटि चौबीसौं पुस्ताका राजा प्रथम जयदेवको चर्चा पशुपतिनजिकै फेला परेको अभिलेखमा छ।
यहाँ दुइटा सम्भावना हुन सक्छ —
पहिलो, सुपुष्पदेव नै लिच्छविवंशका ती राजा हुन्, जो आफ्ना भाइभारदारका साथ वैशालीबाट लखेटिएर नेपाल आए। उनले किराँतहरूको मन जितेर यहाँको शासन–व्यवस्थामा विस्तारै आफ्नो हैसियत बनाउन थाले। यही क्रममा वर्ण व्यवस्था र पशुपति मन्दिर निर्माण गराउन उनको अप्रत्यक्ष भूमिका रह्यो। उनको पालाबाट सुरू शासकीय हस्तक्षेप बढ्दै बढ्दै गएर प्रथम जयदेवसम्म आइपुग्दा सत्ता पूरै लिच्छविहरूको पकडमा गयो।
दोस्रो सम्भावना, प्रथम जयदेवभन्दा अगाडिका लिच्छवि राजा कोही पनि नेपालसँग सम्बन्धित थिएनन्। उनीहरू सबै वैशालीकै शासक रहे। प्रथम जयदेव नै ती राजा हुन्, जसले किराँतहरूलाई खेदेर नेपालमा लिच्छविवंश सुरू गराए।
जयदेवपछि पनि बाह्र जना राजाको नाम प्रस्ट छैन। गोपाल वंशावलीमा हरिदत्त र उनका छोरा वसुराजको प्रसंग छ। काठमाडौं उपत्यकाका चार नारायणको स्थापना हरिदत्तले गराएका हुन् भन्ने गोपाल वंशावलीकारले लेखेका छन्। यसलाई पुष्टि गर्ने अन्य प्रमाण भने हामीसँग छैनन्। अगाडि र पछाडिका राजाहरूको नाम उल्लेख नहुनु तर प्रथम जयदेवको सम्मानका साथ चर्चा गरिनुले उनको विशेष भूमिका देखिन्छ। पशुपतिको अभिलेखमा प्रथम जयदेवलाई ‘विजयी’ भन्ने विशेषण दिइएको छ। यसले पनि नेपालमा लिच्छविवंशको जग बसाल्न उनको हात रहेको संकेत गर्छ।
प्रथम जयदेवपछिका तेह्रौं राजाबारे भने हाम्रो इतिहास प्रस्ट छ। उनी हुन्, वृषदेव।
वृषदेव बौद्धधर्मका अनुयायी थिए। ‘लडाइँ–भिँडाइ’ कम गर्थे। उनले स्वयम्भू विहारमा चैत्यभट्टारक प्रतिष्ठा गराए। त्यहीँ ढुंगेधारा पनि बनाए। वृषदेवले नै चाबहिलमा बस्ती बसाल्नुका साथै 'धन्दो' चैत्य निर्माण गराएको विश्वास गरिन्छ। बाँडेगाउँको चैत्य र बानेश्वरनजिकैको विहार पनि उनकै पालामा बन्यो।
राजा वृषदेवलाई उनकै नाति धर्मदेवले पशुपतिको अभिलेखमा ‘वर्षशतञ्चकार’ भनेका छन्। यसको अर्थ, वृषदेवले सय वर्ष शासन गरेको बुझिन्छ। उनको शासनकाल विक्रम सम्बत् ३४० देखि ४४० बीच हुनसक्छ। उनी भारतका शक्तिशाली सम्राट समुद्रगुप्तका समकालीन थिए। नेपाल राजनीतिक रूपले गुप्त साम्राज्यको अधीन त होइन, तर पूर्ण रूपमा स्वतन्त्र पनि थिएन। समुद्रगुप्तले बलियो साम्राज्य खडा गरेपछि लिच्छविहरूले आत्मरक्षाका लागि कर बुझाउनुपरेको थियो। वृषदेवकै पालामा नेपाल त्यो बन्धनबाट मुक्त भयो। यसलाई वृषदेवको राजनीतिक उपलब्धि मानिन्छ। साँचो अर्थमा भन्दा, यसमा उनको व्यक्तिगत योगदान कम देखिन्छ। समुद्रगुप्तको निधनपछि गुप्त साम्राज्य पतन हुन थाल्यो। नेपालमा भने त्यसपछि पनि तीन वर्ष वृषदेव नै शासनमा रहे। त्यही अवधिमा मौका छोपेर उनले तिरो तिर्ने चलन बन्द गराएका हुन सक्छन्।
समुद्रगुप्तपछि कुनै पनि गुप्त राजाले नेपाललाई फेरि करकापमा पार्न सकेनन्। समुद्रगुप्तको प्रभावबाट मुक्त गरेकैले वृषदेवलाई उनका पनाति मानदेव र धेरैपछि जयदेव द्वितीयले ‘अनुपम, बेजोड र उत्तम’ राजाको उपमा दिए।
वृषदेवका धेरै छोराहरू थिए। सबका सब शूरवीर। राजकाज र युद्धकलामा निपूर्ण। तीमध्ये जेठा छोरा शंकरदेवले बाबुको शेषपछि गद्दी सम्हाले। बाबुकै पालामा समुद्रगुप्तको कर अधीनबाट मुक्त नेपाल राज्यको सीमा र समृद्धि बढाउन उनको ठूलो भूमिका रह्यो। उनले आफ्नो ४० वर्षे शासनकालमा थुप्रै लडाइँ लडेका संकेत अभिलेखहरूमा पाइन्छ। उनलाई ‘लडाइँमा शत्रुहरूले जित्न नसक्ने तेजिला’ राजाको उपमा दिइएको छ। उनी ‘सिंहजस्ता पराक्रमी’ थिए। आफ्नो ‘ऐश्वर्यद्वारा ठूलो यश’ कमाए। राज्यको रक्षा पनि गरे। यस्ता विशेषणले उनको शासनकालमा राज्य विस्तार भएको संकेत दिन्छ।
शंकरदेवपछि उनका छोरा धर्मदेव राजा भए। उनको अनुहार चन्द्रमाजस्तै उज्यालो थियो। उनी अनुशासित, कर्मकाण्डी र धार्मिक प्रकृतिका थिए। यज्ञ, पूजापाठ धेरै गर्थे। इन्द्रियहरूलाई काबूमा राख्न सक्ने उनको खुबी थियो। बुद्धि तिखार्न विद्वानहरूसँग संगत गर्थे। उनको राजसभामा विद्वानहरूको ठूलो मान थियो। राज्यभरि गुप्तचर छरेर राजपाठको मिहिन सूचना पनि राख्थे। शस्त्रविद्यामा सिपालु उनले पुत्र मानदेवलाई आफैंले अस्त्रशस्त्र चलाउन सिकाएका थिए।
यस्ता ‘धार्मिक’ राजा धर्मदेवको मृत्यु भने रहस्यमय ढंगबाट भयो।
त्यो बिहान धर्मदेवकी रानी राज्यवती नित्य पूजापाठमा व्यस्त थिइन्। त्यत्तिकैमा दरबारभित्र हलचल भयो। नोकरचाकरहरू हाहाकार गर्दै यताउति भागदौड गर्न थाले। छिनभरमा सहरभरि कोलाहल मच्चियो। सेना सतर्क भए। खबर सुनेर रानी विह्वल भइन्।
अहिले नारायणहिटी दरबारको दक्षिणी ढोकामा पर्ने ढुंगेधारामा राजा धर्मदेवको शरीर शिर काटिएको अवस्थामा मूढाझैं ढलेको थियो।
चौबीसै घन्टा सुरक्षाघेरामा रहने राजालाई रातको समय नारायणहिटीको ढुंगेधारामा लगेर कसले शिरछेदन गर्यो? के सेना विप्लवमा ओर्लिए? कि, यो दरबारभित्रै कुनै विद्रोही समूहबाट राजपाठ हत्याउने षड्यन्त्र थियो?
इतिहासमा यसको प्रस्ट जवाफ छैन, तर ऐतिहासिक दस्तावेज ‘भाषा वंशावली’ बाट धमीलो तस्बिर भने खिच्न सकिन्छ।
त्यो समय नारायणहिटी लगायत काठमाडौंका ढुंगेधाराहरूमा पानी आउन बन्द भयो। राज्य काकाकूल हुने परिस्थिति आएपछि कर्मकाण्डी राजा धर्मदेवले तान्त्रिकहरू डाकेर पानी खुलाउने युक्ति निकाल्न लगाए। उनीहरूले जोखाना हेरे, ‘ढुंगेधारामा लगेर बत्तीस लक्षणले युक्त पुरुषको बलि दिए पानी रसाउँछ।’
धर्मदेवलाई अप्ठ्यारो पर्यो। राज्यमा बत्तीस लक्षणले युक्त पुरुष कि उनी स्वयं थिए, कि उनका पुत्र मानदेव।
उनले राज्यलाई काकाकूल हुनबाट बचाउन आफ्नै बलि दिने निधो गरे।
छोरा मानदेवलाई डाकेर भने, ‘राति ढुंगेधारामा जो मान्छे सुतिरहेको भेटिन्छ, उसको अनुहार हेर्दै नहेरी काटिदिनू।’
मानदेव पिताको आज्ञाअनुसार त्यसै रात नारायणहिटी गए। धारामाथि एक जना व्यक्ति ओढ्ने ओढेर सुतिरहेको थियो। मानदेवले त्यो व्यक्तिको अनुहारसम्म हेरेनन्। रातको अँध्यारोमा तरबार चमक्क चम्कियो। पानी सुकेर कक्रक्क ओभाएको ढुंगेधाराको नालीबाट तातो रातो रगत सलल बग्न थाल्यो।
नरबलि दिनासाथ ढुंगेधाराबाट कलकल पानी रसायो।
मानदेवले भोलिपल्ट बिहान मात्र थाहा पाए, जसलाई उनले अघिल्लो रात काटेर आए, ती उनकै पिता थिए। पितृहत्याको पाप प्रायश्चित गर्न उनी बज्रयोगिनीको शरण परे। पूजाआजामा लीन भए। बज्रयोगिनीले प्रत्यक्ष दर्शन दिएर ‘बौद्ध चैत्य बनाए पापमोचन हुने’ उपाय सुझाइन्। त्यो बेला काठमाडौंमा यस्तरी खडेरी परेछ, इँटा बनाउनधरि मुश्किल भयो। मानदेवले बज्रयोगिनीको कृपाले शीत जम्मा गरी इँटा पारे र बाह्र वर्ष लगाएर चैत्य निर्माण गराए।
नेवार भाषामा बौद्ध चैत्यलाई ‘खास्ती’ भनिन्छ। स्थानीय नेवारहरू अहिले पनि बौद्धलाई यही नाउँले चिन्छन्। यो शब्द ‘खसु’ र ‘ती’ मिलेर बनेको छ। नेवार भाषामा ‘खसु’ भनेको शीत हो भने पानी निचोर्नुलाई ‘तिसियू’ भनिन्छ। मानदेवले शीत जम्मा गर्न ठूल्ठूलो कपडा जमिनमा फिँजाएर राखेको र पछि त्यही कपडा निचोरेर पानी निकालेको भनाइ छ। स्थानीय बोलीचालीमा प्रयोग हुने ‘खास्ती’ लिच्छविकालदेखि चल्दै आएको बुझिन्छ।
राजा धर्मदेवको मृत्युबारे भाषा वंशावलीमा उल्लिखित यो विवरणलाई कति इतिहासकारले कल्पित भनेका छन्। तर, यो हाम्रा अन्य किम्बदन्तीहरूजस्तै तथ्य र कथ्यको मिश्रण हुनसक्छ।
धर्मदेवको शिर काटेर हत्या भएको थियो भन्नेमा कुनै दुबिधा छैन। मानदेवले आफू राजा भएपछि चाँगुनारायणमा राखेको अभिलेखमा ‘धर्मदेवको अकस्मात् मृत्यु भएको’ लेखेका छन्। उक्त घटनापछि आमा राज्यवती सती जान तम्सिएको र आफ्नै जोडबलले सती नगएको उनी वर्णन गर्छन्। पिताको शील–स्वभाव विस्तार लगाउन पनि कञ्जुस्याइँ गर्दैनन्। यतिका धेरै सूचना अभिलेखमा राख्ने मानदेवले आफ्ना पिता र राजाजस्तो व्यक्तिको अकस्मात् मृत्युको कारण जनतालाई बताउन जरुरी ठान्दैनन्। बरु आमालाई सती जानबाट रोकेको भन्दै सान्त्वना जित्ने उनको चलाखी देखिन्छ। यसले धर्मदेवको मृत्युलाई थप रहस्यमय बनाउँछ।
भाषा वंशावलीले घुमाउरो ढंगमा मानदेवको नाम मुछेर उक्त घटनालाई रक्तपातपूर्ण सत्ता–हडपसँग जोड्न खोजेको हुन सक्छ।
धर्मदेवको मृत्युबारे एउटा अर्को किम्बदन्तीले पनि यही संकेत गर्छ — अँध्यारो रातमा पुत्रले आफ्नै पिताको हत्या गरेको क्षण अरू कसैले नदेखे पनि स्वयं नारायणहिटीबाट लुक्न सकेन। ढुंगेधारामाथि बनेको गोही र हात्ती मिश्रित ‘मकर’ त्यो हत्याकाण्डको एक मात्र साक्षी थियो। पापबोधले मानदेवको आँत यति डगमगाएको थियो, उनले मकरसँग पनि आँखा जुधाउन सकेनन्। पितृहत्याको रहस्य छोपछाप पार्न उनले मकरको सुँड उल्टो दिशातिर फर्काइदिए। अरू सबै ढुंगेधारामा अगाडि फर्केर बस्ने मकर नारायणहिटीमा मात्र पछाडि फर्केको त्यही भएर हो भन्ने भनाइ छ।
मानदेव महत्वाकांक्षी थिए। उनमा राजा बन्ने उच्च अभिलाषा थियो। हुन त ४१ वर्ष शासन गरिसकेका धर्मदेवपछि सिंहासन उनकै हातमा आउने नै थियो, तर उनी गद्दीआरोहण निम्ति अधीर भए सायद। वा, दरबारभित्रको कुनै कलहले धर्मदेव स्वयं आफ्ना छोरालाई राजपाठ सुम्पन अनिच्छुक थिए।
यी दुईमध्ये कुनै एउटा वा दुवै सम्भावना सही हुनसक्छ। सत्तालिप्साको ज्वारमा आन्तरिक कलह थपिएपछि मानदेवले उग्र भएर पिताको हत्या गरेका हुन सक्छन्। र, त्यो घटनालाई इतिहासको पन्नाबाट मेटेर आफूलाई ‘श्रवणकुमार’ जस्तो छोरा र ‘राम’ जस्तो आदर्श राजाका रूपमा प्रस्तुत गर्न नाटकीय अभिलेख लेखाएका हुन सक्छन्।
धर्मदेवको हत्या नेपाली राजनीतिमा छोराबाट बाबुको ज्यान लिइएको सम्भवतः पहिलो घटना हो।
यो विक्रम सम्बत् ५२१ को सुरुआततिरको कुरा हो। त्यसको १ हजार ५ सय ३७ वर्षपछि २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्र त्यस्तै हत्याकाण्ड भयो। राजा वीरेन्द्रको वंशनाश गरेको उक्त हत्याकाण्डमा उनकै छोरा युवराज दीपेन्द्रको हात रहेको मानिन्छ। यो घटनाले धेरै नेपालीलाई शोक र संशयमा डुबायो। पन्ध्र सय वर्षअघि लिच्छवि राजा मानदेवको रक्तरञ्जित इतिहास हेर्ने हो भने नारायणहिटी काण्ड त्यसैको पुनरावृत्तिझैं लाग्छ।
धर्मदेवको शिरछेदनपछि गद्दीनसिन राजा मानदेवले ४१ वर्ष शासन गरे। उनको पालाका थुप्रै शिलालेख तथा अभिलेख पाइएकाले त्यसपछिका घटनाक्रम बढी छर्लंग छन्।
मानदेव चलाख, पराक्रमी र मृदुभाषी राजा थिए। जोसँग पनि मुसुक्क हाँसेर कुरा गर्थे। तेजिला थिए, तर घमण्ड थिएन। आफ्नै पिताबाट शस्त्र चलाउन सिकेका उनी युद्धकलामा पोख्त थिए। उनका हात सुलुक्क परेका राम्रा र बलिया थिए। अनुहार सुनजस्तै सफा र चम्किलो थियो। काँध पुष्ट, आँखा फुलेको नीलकमल पातको जोडाजस्तो लोभलाग्दो। देह कामदेवझैं आकर्षक थियो, जुन बुढेसकालमा पनि कुप्रिएन।
तरबारको धारमा सत्ता हडपेका मानदेवको शासनकाल युद्धमय रह्यो। उनका पिता धर्मदेवले पूर्व र पश्चिमका सामन्त राजाहरूलाई कज्याएर राखेका थिए। धर्मदेवको हत्यापछि ती सामन्तहरूले शिर उठाउन थाले। मानदेव गद्दीमा बसेको खबर सुन्नेबित्तिकै उनीहरूले स्वतन्त्र हुने चेष्टा गरे। काठमाडौं दरबारमा उपस्थित हुन छाडे। ती सामन्तहरूलाई पूर्ववत् कज्याउन सकिएन भने राज्य नै टुक्रिने खतरा थियो। महत्वाकांक्षी मानदेवलाई यस्तो परिस्थिति आउला भन्ने पहिल्यै सन्देह हुनुपर्छ। उनी ती सामन्त राजाहरूलाई दबाउने अभियानमा लागे। यसमा उनलाई आफ्नै मामाले सहयोग गरे। मानदेवका मामा को हुन् प्रस्ट छैन। सामन्त राजाहरूलाई दबाएर राज्य एकीकृत राख्न ती मामाले ठूलै भरथेग गरेको देख्दा धर्मदेवको हत्यामा पनि उनको साथ थियो कि भन्ने शंका गर्न सकिन्छ।
मानदेव राज्य एकीकरणको लडाइँमा निस्कनुअघि ‘सतीव्रता’ आमा राज्यवतीलाई भेट्न गए। ढोगेर भने, ‘मुमा, शुद्ध तपस्या गरेर मात्र म पिताको ऋणबाट मुक्त हुन सक्दिनँ, तर उहाँबाट विधिपूर्वक सिकेको हतियार चलाएर अऋणी हुनसक्छु।’
राज्यवतीले आशीर्वाद दिइन्।
मानदेव हात्ती, घोडासहित सेनाको लावालश्कर लिएर पूर्वतिर लम्के। लिच्छविसँग पराजित भएर काठमाडौंबाट भागेका किराँतीहरू पूर्वतिर बस्न थालेका थिए। आफ्नो गुमेको राज्य फर्काउन मौका हेर्दै थिए। धर्मदेवको मृत्युलगत्तै उनीहरू जुर्मुराउन थाले। तर, उनीहरूको सैन्यशक्ति लिच्छविजत्तिको मजबुत थिएन। मानदेवले जसै हाँक दिए, किराँतीहरू लड्न–भिड्न सकेनन्। सरक्क मानदेवको शरण परे।
पूर्वी सामन्तलाई सजिलै दबाउन सकेकाले मानदेवको हौसला बढ्यो। उनी ‘जगर फिँजाएको सिंहजस्तै निडर भएर’ पश्चिमतिर लागे।
पश्चिममा मल्लहरूको शासन थियो। मल्ल भनेका को हुन् भन्नेमा इतिहासकारहरू एकमत छैनन्। जसरी लिच्छविहरू भारतबाट काठमाडौं पसेर यहाँ शासन गर्न थाले, मल्लहरूले पनि कर्णाली नदी तरेर दैलेख क्षेत्रमा राज्य स्थापना गरेको मानिन्छ। मल्लहरूले स्थापना गरेकाले राजधानीको नाम मल्लपुरी रहेको विश्वास गरिन्छ।
मल्लहरू पनि लिच्छविजत्तिकै शक्तिशाली थिए। उनीहरूलाई अधीनमा लिन सजिलो भएन। मल्लपुरी राजाले मानदेवको आधिपत्य मञ्जुर गरेनन्। उनीहरूको सैन्यशक्तिसँग मानदेव वाकिफ थिए। उनले सुरूमा वार्ताको सन्देशसहित आफ्नो दूत पठाए। मल्लपुरी राजाले दूतको सन्देश धूजाधूजा पारिदिए।
कालो बादल गड्गडाएपछि पानी पर्नु निश्चित भएजस्तै युद्ध पनि निश्चित भयो।
मल्लपुरी राज्य कालीगण्डकीपारि थियो। कालीगण्डकी तर्नु सजिलो थिएन। मानदेव सेनासँग प्रशस्त हात्तीहरू थिए। थानकोट र बलम्बू बीचमा अहिलेसम्म ‘किसिपिँडी’ भन्ने लिच्छविकालीन बस्ती छ। यो त्यति बेलाको हात्ती पाल्ने ठाउँ हो। लिच्छविकालीन अभिलेखमा त्यहाँको चार किल्ला खुलाउँदा ठाउँ–ठाउँमा ‘हस्तिमार्ग’ उल्लेख छ। राज्याभिषेकमा सिन्दुरेजात्रा गर्दा राजालाई विशेष रूपले हात्तीमा चढाइन्थ्यो भन्ने पनि तत्कालीन अभिलेखमा पाइन्छ।
गण्डकीपारि मल्लपुरीमाथि चढाइँ गर्न मानदेवले आफ्ना सेनालाई सयौं हात्तीहरूमाथि चढाए। पहिले मामाको नेतृत्वमा सेनाको एउटा फौजलाई मल्लपुरी घेर्न पठाए। पछि पछि आफू ठूलो फौज लिएर मल्लपुरीमाथि धावा बोले।
उनले हमलाअघि मामालाई भनेका थिए, ‘प्यारा मामा, धेरै अड्याङ–खड्याङ भएर रुमलिएको, समुद्रको जोडालाग्दो, डरलाग्दा भुमरी र छालले पानी छ्याल्लब्याल्ल भएको गण्डकी नदी आजै तर्नुस्। कस्सिएका सयौं असल हात्ती–घोडा लिई नदी तरेर म हजुरको फौजको पछि पछि आउनेछु।’
भयानक लडाइँ भयो। गण्डकी नदीमा छ्याल्लब्याल्ल पानीझैं मल्लपुरीका सेना छ्याल्लब्याल्ल भए। हात्ती–घोडाको लिच्छवि फौजका अगाडि मल्लपुरी राजाले हार खाए।
पश्चिमी राज्यलाई समेत आफ्नो अधीनमा लिएपछि मानदेव सिन्दुरेजात्रा गर्दै राजधानी फर्के। काठमाडौंमा ठूलो उत्सव भयो। ब्राह्मणहरूलाई अक्षयदान गरियो। मानदेव फेरि आफ्नी आमा राज्यवतीको आशीर्वाद लिन गए। गोडा ढोगेर भने, ‘मुमा, हजुर पनि खुसीमनले भक्तिपूर्वक आफ्नो तर्फबाट दान गर्नुस्।’
मानदेवले यहाँ नयाँ राज्यमाथि विजय पाएका होइनन्। यिनीहरू धर्मदेवका पालामा कुनै न कुनै रूपले लिच्छविकै छत्रछायामा थिए। धर्मदेवको अकस्मात् मृत्युपछि स्वतन्त्र हुने मनसायले शिर उठाउन खोजेका मात्र हुन्, जसलाई मानदेवले फेरि काबूमा लिन सफल भए। पूर्वतिर त उनले कतै लड्नै परेन। पश्चिममा भने मल्लपुरी राज्यसँग मात्र घमासान भयो। पूर्व र पश्चिम जितेर फर्केपछि मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरुडका रूपमा आफ्नै प्रतिमूर्ति र शिलालेख स्थापना गराए (हेर्नुहोस् आवरण चित्र)।
दुवैतिरका सामन्तलाई कज्याएपछि मानदेव शक्तिशाली राजाका रूपमा स्थापित भए। उनलाई टक्कर दिने सामर्थ्य कसैको देखिएन। नेपाल अधिराज्य व्यापक विस्तार पनि भयो। पूर्वतिर दोलखा, मूलकोट र पश्चिममा गोरखासम्म लिच्छविकालका अभिलेख फेला परेका छन्। पश्चिम बाग्लुङमा मानदेवका ‘मानांक’ मुद्रा पाइएका छन्। जुम्लाको लामाथाडा गुफामा समेत लिच्छवि लिपि कुँदिएका माटाका चैत्य भेटिएका छन्।
सीमा र समृद्धि फैलिएपछि हौसिएका मानदेवले राजधानी हाँडीगाउँमा ‘मानगृह’ भन्ने नयाँ दरबार बनाए। त्यसपछि धेरै कालसम्म लिच्छवि राजाहरूको निवास र प्रशासनिक केन्द्र यही दरबार रह्यो।
मानदेवपछि उनका छोरा महीदेव राजा भए। महीदेवले एक वर्षभन्दा बढी राज्य गरेको प्रमाण भेटिन्न। लगत्तै वसन्तदेव लिच्छविवंशको नयाँ उत्तराधिकारीका रूपमा उदाए।
राजा वसन्तदेवले विक्रम सम्बत् ५६३ देखि छब्बीस वर्ष शासन गरे। शासन र प्रशासनका विधान बसाल्न उनको ठूलो योगदान छ। काठमाडौंका विभिन्न ठाउँमा उनले राखेका शासकीय विधानसम्बन्धी नौवटा अभिलेख फेला परेका छन्। वसन्तदेवले नै विक्रम सम्बत् ५७० मा काठमाडौंको दक्षिणी भेगमा ज्यामितीय ढाँचाको वर्गाकार सहर ‘दक्षिण कोलिग्राम’ बसालेका हुन्, जसको सहरी ढाँचा अहिलेसम्म ‘जस्ताको तस्तै’ छ। हामीले यसबारे पहिलो अध्यायमा लामै चर्चा गर्यौं।
विधि बसाल्न योगदान गरेका वसन्तदेव राजनीतिक रूपले भने नराम्ररी चुके। उनकै कार्यकालको अन्तिम समयबाट शासनको बागडोर गुप्त–आभीरहरूको हातमा पुग्यो। लिच्छवि राजाहरू लामो समय खोपीमा खुम्चिए।
जसरी राजेन्द्रविक्रम शाहको कमजोरीबाट फाइदा उठाएर जंगबहादुर राणा र उनका उत्तराधिकारीले एक सय चार वर्ष शाहवंशलाई वशमा लिए, त्यसरी नै वसन्तदेवको पालामा गुप्त–आभीरहरू लिच्छविवंशबाट सत्ता हत्याउन सफल भए। सिंहासनमा रहेका राजाहरूलाई पाखा लगाएका आभीर र अंशुवर्मासमेतको द्वैध शासन करिब एक सय चालीस वर्ष चल्यो।
गुप्त–आभीरहरूको उदय लिच्छविकालको एक महत्वपूर्ण राजनीतिक घटनाक्रम हो।
यसको सुरुआत विक्रम सम्बत् ५६३ बाट भएको देखिन्छ। त्यसै वर्ष राजा वसन्तदेवले थानकोटको आदिनारायण मन्दिरसँगै राखेको शिलापत्रमा पहिलोपटक ‘दूतक’ भनी विरोचन गुप्तको नाम उल्लेख भएको छ। विरोचन गुप्तको विस्तृत परिचय खुलेको छैन, तर दूतक पद दिइएकाले उनी राजाका विश्वासपात्र थिए भन्न सकिन्छ।
दूतक भनेको कुनै सरकारी पद होइन। राजाको आज्ञा जनतासम्म पुर्याउनेलाई दूतक भनिन्थ्यो। कुनै पनि शासकको विश्वासपात्र व्यक्तिले मात्र यो पद पाउँथ्यो। यस अर्थमा, विरोचन गुप्तले वसन्तदेवको विश्वास जितेर शासनको महत्वपूर्ण जिम्मेवारी ओगट्न सफल भएका थिए भन्ने बुझिन्छ।
गुप्त–आभीर वंशबारे इतिहासकारहरू प्रस्ट छैनन्। कसैले यिनलाई भारतका सम्राट समुद्रगुप्तको खलक बताएका छन्। समुद्रगुप्तको शासन कमजोर भएपछि उनको परिवारका केही सदस्य भागेर नेपाल पसेको अनुमान गरिन्छ। मानदेवले मल्लपुरी जितेपछि त्यहाँका गुप्तवंशीलाई नोकर बनाएर ल्याएको भनाइ पनि छ। यति मात्र होइन, गुप्त–आभीरवंशी भनेका आदिमकालका शासक गोपालवंशकै सन्तान हुन् भन्ने आसय वंशावलीहरूमा पाइन्छ।
राजा वसन्तदेवले आफ्नी बहिनी जयसुन्दरीको विवाह आभीरवंशका कुनै व्यक्तिसँग गराएका थिए। थानकोट भेगमा पर्ने ‘जयपल्लिकाग्राम’ नामक गाउँ जयसुन्दरीलाई दाइजो दिइएको थियो। आभीर वंशलाई ज्वाइँ बनाएपछि त्यही सम्बन्धको डोर पछ्याउँदै विरोचन गुप्त शासनमा छिरेका हुन सक्छन्।
विरोचनपछि रविगुप्त अझ शक्तिशाली भएर निस्के। उनी सरकारी कर्मचारीमा मात्र सीमित रहेनन्, सहायक शासककै हैसियतमा उक्ले। उनको पद ‘सर्वदण्डनायक महाप्रतिहार’ थियो। ‘सर्वदण्डनायक’ भनेको राजाको विश्वासपात्र हो, जसले दण्डसजाय र शान्ति सुरक्षा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्थ्यो। त्यस्तै, ‘महाप्रतिहार’ ले लडाइँ र सैनिक तयारीबारे राजालाई जाहेर गर्थ्यो। साना–ठूला ग्रामहरूसँग केन्द्रलाई जोड्ने काम पनि महाप्रतिहारले नै गर्थ्यो। यो भनेको राजाको अंगरक्षक पनि हो। महाप्रतिहारलाई सूचना नदिई कसैले राजासँग भेट्न सम्भव थिएन।
यस्ता महत्वपूर्ण पदहरू आफैं ओगेटका रविगुप्त शासनमा शक्तिशाली हुँदै गए। कतिसम्म भने, विक्रम सम्बत् ५८७ को पशुपति आर्यघाटको अभिलेखमा त वसन्तदेवको नामसमेत उल्लेख छैन। अभिलेख कुँदाउने ब्राह्मण पुण्य गोमीले आफूलाई ‘सर्वदण्डनायकका पाउको अनुग्रह पाएको’ भनी लेखेका छन्। यसले वसन्तदेव कमजोर हुँदै र रविगुप्त सर्वेसर्वा बन्दै गएको अवस्था झल्काउँछ।
रविगुप्तको यो अधिनायक लामो समय टिक्न सकेन। उनकै कार्यकालमा कुम ठोक्दै हिँडेका महाराज महासामन्त क्रमलील केही वर्षमै शक्तिशाली भएर उदाए।
क्रमलीलको व्यक्तिगत परिचय यकिन गर्ने प्रमाण हामीसँग छैन। तर, रविगुप्त सर्वेसर्वा हुँदा पनि तत्कालीन शिलालेखहरूमा उनको नामको अगाडि ‘श्री’ जोडिएको थिएन। क्रमलीललाई भने सुरूआतबाटै ‘श्री’ भनी सम्बोधन गरिएको हामी पाउँछौं। यसले उनी कुनै राजखलककै थिए कि भन्ने बुझिन्छ। उनको ‘महाराज महासामन्त’ पदले पनि यही संकेत गर्छ। यसबाट के अर्थ लगाउन सकिन्छ भने, पूर्व वा पश्चिमतिरको कुनै राजवंशमा जन्मेका क्रमलील लिच्छवि राजाका महासामन्त थिए। उनी कुनै कारणले राजधानीमा बसोबास गर्न थाले र वसन्तदेवका सहायक शासक बन्न पुगे।
राजा वसन्तदेवले विश्वासपात्रका रूपमा उनलाई आफूसँग जोडेका हुन सक्छन्। क्रमलील भने धूर्त र घाती निस्के। राजासँग निकट भएर काम गर्दा उनले शासनशक्ति रविगुप्तमा केन्द्रित रहेको र वसन्तदेव नाम मात्रका राजा भएको चाल पाए। उनी लिच्छवि राजाप्रति इमानदार भइदिएका भए वसन्तदेवलाई रविगुप्तको षड्यन्त्रबारे सचेत गराउन सक्थे। राजाको गुमेको शक्ति फिर्ता गराइदिन सक्थे। क्रमलीलले भने उल्टै राजा कमजोर भएको मौका छोपे र राजकीय शक्ति आफ्नै हातमा लिने षड्यन्त्र गरे।
विक्रम सम्बत् ५९० मा दरबारभित्र एउटा यस्तो राजनीतिक काण्ड भयो, जसलाई जंगबहादुर राणाको ‘कोतपर्व’ सँग दाँज्न सकिन्छ। रविगुप्तले बरु विस्तारै शासनाधिकारमा मुठ्ठी कस्दै लगेका थिए, क्रमलील भने रक्तपातपूर्ण विप्लवबाट एकैचोटि शासनमा उदाए। यो काण्डले रविगुप्तलाई मात्र पाखा लगाएन, राजा वसन्तदेवको शासन पनि अन्त्य गरिदियो।
क्रमलील नेपाल अधिराज्यको अधिनायकका रूपमा उदाएको यो घटना पशुपति भस्मेश्वरको अभिलेखमा दर्ज छ। उक्त अभिलेखमा रविगुप्तको नाम छैन। गद्दीनसीन राजा को थिए भन्ने पनि वास्ता गरिएको छैन। पशुपतिमा भद्रेश्वर, नाथेश्वर, शुभेश्वर, स्थितेश्वर र रविश्वर नामक पाँचवटा शिवलिंग स्थापना गरिएको वर्णन मात्र छ। राजाको नामसमेत उल्लेख नगरी पाँचवटा शिवलिंग स्थापना गरिएको प्रसंग अर्थपूर्ण छ।
लिच्छविकालमा मरेका व्यक्तिका नाउँमा शिवलिंग स्थापना गर्ने चलन थियो। यी पाँच शिवलिंग पनि पाँच जना दिवंगत व्यक्तिका नाममा राखिएको बुझिन्छ। यसमध्ये ‘रविश्वर’ शिवलिंग रविगुप्तका नाममा र बाँकी भद्रगुप्त, नाथगुप्त, शुभगुप्त र स्थितिगुप्तका नाममा स्थापना गरिएको हुन सक्छ। यसबाट के बुझिन्छ भने, क्रमलीलले सत्ता हत्याउन जुन रक्तपातपूर्ण काण्ड गरे, त्यसमा रविगुप्तसहित उनका चार जना निकट व्यक्ति मारिए। र, उनीहरूका नाउँमा शिवलिंग बनाइयो।
क्रमलीलले २४ वर्ष सक्रिय शासन गरे। उनको शासनकालमा गुप्त–आभीरहरू राजनीतिबाट विस्थापितजस्तै भए। गिरेको नूर फिर्ता लिने कोशिस भने जारी थियो। यसबीच वसन्तदेवपछि क्रमशः उदयदेव प्रथम, मनुदेव, वामनदेव, रामदेव र गणदेव राजा भए। यी सबै नाम मात्रका राजा थिए।
गणदेवको पालामा आइपुग्दा क्रमलील र आभीरहरूबीच शक्तिसंघर्ष चुलियो। केन्द्रमा पकड गुमाए पनि स्थानीय तहमा आभीरहरूको साख गिरिसकेको थिएन। खासगरी रविगुप्तले जनता खुसी पार्ने मनसायले केन्द्रशासित गाउँहरूलाई स्वशासनको अधिकार प्रत्यायोजन गरेका थिए, जसले स्थानीय तहको आड र समर्थन आभीरहरूसँगै थियो। यही बलले क्रमलीललाई पन्छाएर शासनमा शिर उठाउन खोजिरहेका गुप्त–आभीरहरू गणदेवको पालामा आएर आफ्नो चेष्टामा सफल भए।
क्रमलीलपछि भौमगुप्त शक्तिमा आए। यहाँबाट लिच्छवि राजाहरूलाई अधीनमा राखेर गुप्त–आभीर वंशको दोस्रो चरणको शासन सुरू भयो।
भौमगुप्त आफ्ना पुर्खा रविगुप्तभन्दा एक कदम अगाडि थिए। उनले ‘सर्वदण्डनायक महाप्रतिहार’ पद लिनुका साथै राणाहरूले जस्तै आफ्नो नामको अगाडि ‘श्री’ लेखाए। यसले शासनाधिकारमा उनको महत्वाकांक्षा झल्काउँछ। उनी रविगुप्तभन्दा राजनीतिक रूपले शक्तिशाली थिए भन्ने पनि बुझाउँछ। नुवाकोटको एउटा अभिलेखमा त उनको नाम लेख्दा ‘वरीवर्त्ति’ शब्द प्रयोग गरिएको छ। यसको अर्थ ‘विराजमान हुनुहुन्छ’ हो। त्यसको केही समयपछि देउपाटनको अभिलेखमा उनको दबदबाले उत्कर्ष छोएको छ, जसमा भौमगुप्तका अनुयायी स्वामिवार्त्त नामका व्यक्तिले आफूलाई ‘परमदैवत श्री भौमगुप्तका पाउको अनुग्रह पाएको’ भनेका छन्।
भौमगुप्तले ३३ वर्षभन्दा बढी शासन गरे। उनको सक्रिय शासनकालमा गणदेव, गंगादेव र शिवदेव खोपीका राजा भए।
लिच्छवि र आभीरबीच शक्ति तानातान पनि चलिरह्यो। भौमगुप्त आफ्नो हैकम कायम राख्न सफल थिए, तर उनको राजनीतिक पकड विस्तारै खस्किँदै गएको थियो। शिवदेव राजा भएको केही समयपछि नै आभीरमाथि लिच्छवि राजाको पल्ला भारी हुन थाल्यो।
शिवदेवले गद्दीमा बसेलगत्तै आभीरहरूका हातबाट शासनाधिकार फिर्ता लिने सूर कसिसकेका थिए। यसको निम्ति उनले महाबलाध्यक्ष, अर्थात् प्रधानसेनापति कुलप्रवीरलाई विश्वासमा लिएर आफ्नो पक्षमा मिलाए। त्यही क्रममा भौमगुप्तको नामबाट ‘श्री’ हटाइयो। शिवदेवले आफ्नो नाममा ‘लिच्छविकुलकेतु’ भन्ने विशेषण पनि जोड्न लगाए। यसले ‘लिच्छविकुलकै अग्रणी’ भन्ने अर्थ दिन्छ। उनीभन्दा अगाडिका राजा पनि सबै लिच्छविकुलकै थिए। उनीहरू कसैले पनि लिच्छविकुलको गौरव गाएका थिएनन्। अर्को एउटा अभिलेखमा त उनले आफ्नो नाममा ‘अपरिमितयश’ भन्ने विशेषण पनि लगाएका छन्, जसको अर्थ ‘ठूलो यश फैलिएको’ हुन्छ।
शिवदेवले पहिलोपटक आफ्नो नामसँग लिच्छविकुलको गौरव र यश जोड्नुले ‘अबउप्रान्त लिच्छवि राजाहरू नाम मात्रका शासक रहने छैनन्, हामी खोपीका देउता होइनौं, देखिने र सुनिने राजा पनि हौं’ भन्ने संकेत दिन खोजेको बुझिन्छ।
भौमगुप्तलाई पन्छाएर शासन हातमा लिने यस्तो प्रयास शिवदेवकै स्वतन्त्र राजकाज चलाउने चाहनाबाट भएको हो, वा उनलाई कसैले उचालेको थियो?
शिवदेवले साँच्चिकै लिच्छविकुलको गौरव र यश अनुभूति गरेका भए भौमगुप्तपछि उनकै सक्रिय शासनकाल सुरू हुनुपर्थ्यो, तर त्यस्तो भएन। भौमगुप्त त सत्ताबाट बाहिरिए, तर उनको ठाउँ लिच्छविवंशी शिवदेवले होइन, बाहिरकै कसैले लियो। खोपीका शिवदेव खोपीमै रहे।
को थिए ती तुरुपका एक्का, जसले गुप्त–आभीरहरूलाई दरबारबाट खेदेर आफ्नो निम्ति ठाउँ खाली गराए?
यहाँबाट गुप्त–आभीरहरूको दोस्रो शासनकाल सकिन्छ, र लिच्छविवंशलाई कज्याउने अर्का शक्तिशाली शासकको युग सुरू हुन्छ।
...
भौमगुप्तलाई पन्छाउने योजनाका सूत्रधार थिए, अंशुवर्मा।
लिच्छविकालकै सबभन्दा शक्तिशाली अधिनायक उनी लिच्छविवंशी उत्तराधिकारी होइनन्। लिच्छविहरू ‘सूर्यवंशी’ थिए भने अंशुवर्मा ‘चन्द्रवंशी’। उनका धेरैजसो टकमा सिंहको माथि चन्द्र अंकित छ। उनलाई कसै–कसैले राजा शिवदेवका भानिज भनेका छन्, तर यो पुष्टि हुँदैन।
अंशुवर्माको उदय विक्रम सम्बत् ६४९ बाट भयो। उनी राजनीतिको एक–एक खुड्किलो होसियारीपूर्वक चढ्दै सत्ताको धुरीमा पुगेका थिए। उनले त्यति बेलाका गुप्त–आभीरहरू र आधुनिक कालका जंगबहादुर राणाजस्तै राजालाई कज्याएर शासनमा रजाइँ गरेका हुन्।
चतुर राजनीतिज्ञ अंशुवर्माले सबभन्दा पहिले राजा शिवदेवलाई अघि सारेर आभीरहरूका हातबाट शक्ति खोस्न लगाए। स्थिति अनुकूल भएपछि आफैं सत्ता हत्याए। राजनीतिमा उनको सुरूआत शिवदेवको सहायकका रूपमा भएको थियो। सहायककै हैसियतमा पनि उनले कम समयमै आफ्नो कद बढाएका देखिन्छन्। उनी सुरूमा ‘श्रीसामन्त’ थिए, छोटो अन्तरालमै ‘श्रीमहासामन्त’ मा बढुवा भए। राजकीय सम्मानको दृष्टिले शिवदेवको स्थान माथि रहे पनि शासनाधिकार सबै अंशुवर्माको हातमा थियो।
सत्तासिँढी विस्तारै उक्लिनुमा उनको चलाखी छ। भर्खर आभीरहरूको बन्धनबाट मुक्त भएर स्वतन्त्र हैसियत बनाएका लिच्छवि राजाबाट फेरि एकैचोटि सबै अधिकार खोस्दा जनता असन्तुष्ट नहुन् भन्नेमा उनी सजग र सतर्क थिए। उनको सत्तालिप्सा भने पाइला–पाइलामा झल्किन्छ। श्रीमहासामन्त मात्र हुँदा पनि उनले आफ्नो नाममा ‘सफा र ठूलो कीर्ति फैलिएका, आफ्नै पराक्रमले शत्रुको दबदबालाई खत्तम पारेका’ भनी राजालाई जस्तै प्रशस्ति गाउन लगाए।
करिब १२ वर्ष राजनीतिक सतरन्जमा अनेक गोटी चाल्दै अघि बढेका अंशुवर्मा विक्रम सम्बत् ६६१ मा राजा शिवदेवबाट राजकाजको सम्पूर्ण जिम्मा आफूमा सार्न सफल भए।
शिवदेवले त्यसै वर्ष राजकाज अंशुवर्मालाई सुम्पेर आफू मानगृहमा निस्क्रिय बस्न थाले। त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। आफ्नै स्वैच्छाले हो, वा अंशुवर्माको करकापले– उनी मानगृहसमेत त्यागी भिक्षु भएर हिँडे। त्यसपछि अंशुवर्माले शिवदेवका छोरा उदयदेवलाई युवराज घोषणा गरेर स्वतन्त्र रूपले राजकाज सम्हाले।
अंशुवर्मा स्वतन्त्र शासकको हैसियतमा उक्लेपछि तीनवटा मुख्य परिवर्तन देखिन्छः
एक, अंशुवर्मालाई ‘श्रीसामन्त’ वा ‘श्रीमहासामन्त’ भन्न छाडियो। उनलाई कुनै पदविशेषसँग नजोडी ‘श्रयंशुवर्मा’ मात्र भन्न थालियो। त्यति बेलाका थुप्रै अभिलेखमा उनलाई यही नाउँबाट सम्बोधन गरिएको पाइन्छ। उनले ‘श्रयंशुवर्मा’ लेखाउँदै आफ्नो नाउँमा टक पनि चलाए।
दुई, उनको राजनीतिक हैसियत वा महत्वाकांक्षा यति उच्च हुँदै गयो, उनले आफूलाई ‘श्रयंशुवर्मा’ पनि भन्न छाडे। त्यसको सट्टा ‘महाराजाधिराज श्रयंशु’ भन्न थाले। नेपालको इतिहासमा कुनै शासकलाई ‘महाराजाधिराज’ भनिएको पहिलो यही हो। त्यसअघि मानदेव लगायत केही लिच्छवि राजालाई ‘महाराज’ सम्म भनिएको थियो। अंशुवर्माबाट सुरू भएको चलन त्यसपछिका सबै शासकले चलाए। शाह राजाहरूलाई ‘महाराजाधिराज’ भनिएको त हामीले नै सुन्यौं।
तीन, पहिले मानगृह दरबारबाट जारी गरिने अभिलेख तथा शिलालेखहरू अंशुवर्माको शासनकालमा कैलाशकूट दरबारबाट जारी हुन थाल्यो। अंशुवर्माले साविकको लिच्छवि दरबार मानगृहबाट शासन नगरेर आफ्नो निम्ति अलग्गै दरबार बनाउन लगाएको देखिन्छ। नयाँ बनेको दरबार स्वाभाविक रूपले पुरानोभन्दा भव्य थियो। उनले नाम मात्रको राजा बनाएका लिच्छविवंशी उदयदेव, ध्रुवदेव र भीमार्जुनदेव मानगृहमै बसे।
अंशुवर्माको कैलाशकूट र मानदेवको मानगृह दरबार सँगसँगै थियो। हाँडीगाउँको डबलीमा एउटा शिलालेख छ, जसअनुसार कैलाशकूट भवनमा पाँचवटा ढोका थिए — दक्षिण द्वार, पश्चिम, मानगृह द्वार, मध्यमा र उत्तर द्वार। यहाँ ‘मानगृह द्वार’ भन्नाले कैलाशकूटबाट मानगृह जाने ढोका हुनसक्छ। राजा र प्रधानमन्त्रीको दरबार जोड्ने ढोका।
कैलाशकूट दरबार कति भव्य थियो भन्ने चिनियाँ राजदूत ह्वाङ हुयेनको वृत्तान्तबाट थाहा हुन्छ। सातौं शताब्दीमा नेपाल आएका चिनियाँ राजदूतको वर्णनअनुसार यो दरबारको बीचमा साततले तामाको छाना भएको बुर्जा थियो। यसका दलिन, डडाली, कठबार, खम्बा लगायत संरचनाहरू सुन्दर किम्मती पत्थरले बनेका थिए। बुर्जाका चार सुरमा तामाका नल थिए। नलका तलतिर सुनौला मकर (गोही) बनाइएको थियो, जसको मुखबाट कलकल पानी बग्थ्यो। बुर्जामाथि हालिएको पानी नलबाट तल झर्थ्यो। त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट झरझर बगिरहन्थ्यो। दरबारमा तीनवटा चोक थिए, जहाँ दस हजार मान्छे अटाउँथे।
पाटन, भन्सारचोकको एउटा अभिलेखमा पनि कैलाशकूटको वर्णन परेको छ। त्यसमा हिउँले धपक्क ढाकेको हिमालय चुचुरासँग दरबारको तुलना गरिएको छ। यसले कैलाशकूट दरबार त्यति बेला हिमालयकै झल्को दिने गरी अग्लो र हिउँझैं टलक्क टल्किने सेतो थियो भन्ने बुझिन्छ।
हाँडीगाउँको गर्भमा रहेका यी लिच्छविकालीन दरबारका अवशेष खोज्ने प्रयास जारी छ। करिब छ महिनाअघि पुरातत्व विभाग र बेलायतको डुर्हाम विश्वविद्यालयले यहाँ ‘जिपिआर’, अर्थात् ‘ग्राउन्ड पेनेट्रेसन राडार’ सर्वे गरेका थिए। यो सर्वे निम्ति जमिन उत्खनन् गर्नुपर्दैन। सतहमाथि नै जिपिआर मेसिन सर्रर हिँडाइन्छ। त्यसले सतहभन्दा पन्ध्र फिट मुनिसम्मको दृश्य तस्बिरमा उतार्छ। त्यो गहिराइसम्म कुनै इँटा वा ढुंगे संरचना छ भने तस्बिरमा प्रस्टै देखिन्छ। उक्त सर्वेमा बाल मन्दिरदेखि वृहस्पति स्कुल र वरिपरिको बाटोमा राडार घुमाएर तस्बिर खिचिएका छन्। कम्प्युटर प्रशोधनबाट पुरानो दरबारको अवशेष छ–छैन यकिन गरेपछि उत्खनन् सुरू गर्ने योजना छ। नतिजा सकारात्मक आए कम्तीमा पन्ध्र सय वर्ष पुरानो लिच्छविकालका आधा–अधूरा, धमीला तस्बिर छर्लंग हुनेछन्।
अंशुवर्माको कार्यकाल करिब ३० वर्ष रह्यो। यस अवधिमा उनले राजाका सहायकदेखि महाराजाधिराजसम्मको हैसियतमा रहेर शासन गरे, तर वैधानिक रूपले राजवंश परिवर्तनको आँट गरेनन्। गरेका भए उदयदेवलाई युवराज घोषित गर्नुको साटो राजसत्ता आफ्नै सन्तानमा निहीत गराउन सक्थे। उनले त्यसो गर्ने नियत नराखेका हुन् वा नसकेका हुन् भन्ने चाहिँ प्रस्ट छैन। शासन हत्याए पनि लिच्छवि राजाप्रति व्यक्तिगत आस्थाका कारण उनले राजसत्ता परिवर्तन नगरेको भनाइ पनि छ।
उनको शासनमा तिब्बतसँगको आर्थिक सम्बन्ध विस्तार सबभन्दा महत्वपूर्ण उपलब्धि हो। नेपाल–तिब्बत व्यापार मार्ग उनकै समयबाट बढी चल्तीमा आयो। काठमाडौंको आर्थिक कायापलट गर्न तिब्बतसँगको व्यापारलाई कोसेढुंगा मानिन्छ। यसले तत्कालीन राजधानी हाँडीगाउँको दाँजोमा कोलिग्राम र दक्षिण कोलिग्रामको महत्व बढ्यो। व्यापारका धेरै सामान टिस्टुङ र चित्लाङको बाटो उपत्यकाभित्र पस्थे। धेरैपछि त्रिभुवन राजपथ नबनेसम्म काठमाडौं उपत्यका पस्ने मुख्य मार्ग यही थियो। चन्द्रागिरि पहाड कट्नासाथ दक्षिण कोलिग्राममा पाइला टेक्नुपर्ने र त्यसपछि कोलिग्रामको बाटो भएर मात्र पुराना सहर हाँडीगाउँ र देवपाटन जानुपर्थ्यो। लेले, चापागाउँ हुँदै काठमाडौं पस्ने अर्को बाटो पनि हाँडीगाउँभन्दा पहिला कोलिग्राम र दक्षिण कोलिग्राममै ठोक्किन्थ्यो। यसले उपत्यकाका अन्य भेगभन्दा कोलिग्राम र दक्षिण कोलिग्रामको विस्तार तीव्र गतिमा भयो, जुन अहिलेको मध्य–काठमाडौं हो।
अंशुवर्माकै समयमा तिब्बती सम्राट स्रङ–चङ–गम्पोले दुई छिमेकी राजधानी काठमाडौं र बेइजिङतिर मायाको हात बढाएका थिए। यही मौका छोपेर उनले राजा उदयदेवकी छोरी भृकुटीको स्रङ–चङ–गम्पोसँग विवाह गराइदिएका हुन सक्छन्। यो राजकीय वैवाहिक सम्बन्धले नेपाल–तिब्बत सम्बन्ध थप उचाइँमा पुग्यो।
दुई देशबीच वैवाहिक सम्बन्ध जोडिएको उक्त राजकीय समारोहका लागि काठमाडौं कति झकिझकाउ पारियो होला? त्यसैमध्येको एउटा उपक्रम काष्ठमण्डप पुनर्निर्माण हुनसक्छ, जुन भौतिक र वास्तुकला दृष्टिले भव्य संरचना बन्यो। अंशुवर्माले तीन सय वर्ष पुरानो मन्दिरको स्वरुपै फेरिने गरी जगैदेखि नयाँ निर्माण गराए। खाली एउटा काठ भने पुरानो संरचनाको चिनोका रूपमा जस्ताको तस्तै राखियो, जसको विस्तृत वर्णन दोस्रो अध्यायमा छ।
विक्रम सम्बत् ६७८ मा अंशुवर्माको निधन भयो, गुप्त–आभीरहरू फेरि सल्बलाउन थाले।
सत्ताको स्वाद भनेको बाघको निम्ति मान्छेको रगतजस्तै हुँदो रहेछ। जसरी एकचोटि मान्छेको रगत चाखेको बाघ नरभक्षी हुन्छ भनिन्छ, त्यस्तै सत्ताको स्वाद जिब्रोमा परेपछि मान्छेमा मात चढ्छ। लिच्छविकालदेखि आजपर्यन्त फेरि–फेरि सत्तामा जानेहरू यही मातले मात्तिरहेका छन्।
अंशुवर्माको निधनपछि राजा उदयदेव कमजोर भएको मौका छोपेर गुप्त–आभीर वंशका जिष्णुगुप्तले षड्यन्त्रपूर्वक सत्ता हातमा लिए। उनी अंशुवर्माजस्तै शक्तिशाली हुन चाहन्थे। यही अभीष्टले राजा उदयदेवकै भाइखलकका लिच्छवि कुमार ध्रुवदेवलाई गद्दीमा राखेर संयुक्त राजाका हैसियतले शासन चलाउन थाले। उदयदेव दरबारबाट निष्कासित भए। उनी केही समय काठमाडौं उपत्यकाभित्रै लुकिछिपी बसे। अन्ततः आभीर अधिनायकबाट ज्यान बचाउन छोरा नरेन्द्रदेव र केही शुभचिन्तक भाइभारदारलाई लिएर तिब्बत छिरे।
लिच्छविवंश घुमिफिरी गुप्त–आभीरहरूकै आधीन हुन पुग्यो। रविगुप्त, भौमगुप्त र क्रमलीलको तुलनामा अंशुवर्मा, जिष्णुगुप्त र उनीपछिका विष्णुगुप्तको पालामा लिच्छवि राजाहरूको अवस्था अझ बढी गिरेको थियो। ध्रुवदेवपछि गद्दीमा थपना गरिएका भीमार्जुनदेवको त ‘महाराज’ पद नै खोसियो।
लिच्छविवंशको गुमेको गौरव विक्रम सम्बत् ७०० मा मात्र फर्कियो, जब नरेन्द्रदेवले तिब्बती सेना साथ लिएर काठमाडौंमाथि धावा बोले।
जब गुप्त–आभीरहरूलाई भीषण लडाइँमा पराजित गरेपछि काठमाडौंभरि उनको जयजयकार गुञ्जियो– ‘महाराजाधिराज नरेन्द्रदेवकी जय।’
...
नरेन्द्रदेवको राजसभा असल फूल र अत्तरको बासनाले हरपल सुवासिलो रहन्थ्यो। राज्यका मन्त्रीगण, भारदार र अरू सदस्य जमिनमा दाहिने र देब्रे लश्करै बस्थे। त्योभन्दा पछाडि दाहिने–देब्रे दुवैतिर सयौं सिपाही हतियार लिएर उभिएका हुन्थे। यी सबैभन्दा माथि राजा नरेन्द्रदेव झल्लर भएको कम्मरपेटी बाँधेर बुद्धमूर्तिले सजिएको सिंहासनमा विराजमान रहन्थे। उनको शरीर सक्कली मोती, मणि, मुगा, सिप्पी र पन्नाका अनेक आभूषणहरूले सिँगारिएको हुन्थ्यो। कानमा मुन्द्री र गलामा यूँको चौगेडी लगाउँथे।
नरेन्द्रदेव सत्तामा आएपछि केही समय कैलाशकूटबाटै शासन चलाए। पछि ‘भद्राधिवास भवन’ भन्ने अलग्गै दरबार बनाए। ‘भद्रासन’ शब्दले राजगद्दी बुझाउँछ। यही नामको दरबार बनाउनुले गद्दीको गरिमा झल्काउन खोजेको हुन सक्छ। भद्राधिवास भवन कहाँ बनेको थियो यकिन छैन। भाषा वंशावलीले बानेश्वर भेक भन्छ, गोपाल वंशावलीले पशुपति भेक। केही इतिहासकारले उपत्यकाको उत्तरपूर्वी भेकमा मनहरा नदी किनार रहेको अनुमान गरेका छन्। केहीले पाटन क्षेत्रमा कतै हुनसक्ने बताएका छन्।
नरेन्द्रदेवको उदयपछि शासन व्यवस्थामा अर्को एउटा महत्वपूर्ण परिवर्तन पनि भयो। उनले राज्यका महत्वपूर्ण सरकारी पदहरूमा लिच्छविवंशकै व्यक्ति नियुक्त गरे। जस्तो, दूतक नृपदेव। नामको पछाडि ‘देव’ जोडिएकाले उनी लिच्छविवंशी हुन् भन्न सकिन्छ। पछि राजपुत्रहरूलाई नै दूतक राख्न थालेको पनि पाइन्छ। आफ्ना पुर्खाले गुप्त–आभीर, क्रमलील, अंशुवर्मा लगायत बाहिरियाहरूलाई शासनमा ल्याउँदा षड्यन्त्र र धोका भएकाले त्यही नियति नदोहोरियोस् भनेर नरेन्द्रदेव सतर्क भएका हुन सक्छन्।
नरेन्द्रदेवको मृत्युपछि शिवदेव द्वितीय राजा भए।
शिवदेव द्वितीयका पालामा जारी लगनटोलको अभिलेखमा उल्लिखित ‘भोट्टविष्टि’ शब्दले त्यति बेलाको नेपाल–तिब्बत सम्बन्धलाई लिएर अनेक शंका–उपशंका जन्माउँछ। उक्त अभिलेखले भोट, अर्थात् तिब्बतमा प्रत्येक वर्ष पाँच जना भरिया पठाउने भनेको छ। इतिहासकारहरूले यसको तीनवटा अर्थ लगाएका छन्।
नरेन्द्रदेवलाई शासन पुनर्स्थापनामा मद्दत गरेबापत् तिब्बतलाई बर्सेनि कर तिर्नुपरेको एकथरीको दाबी छ। शिवदेव द्वितीयले विद्रोह गरी नेपाललाई करको वन्धनबाट मुक्त पारेको उनीहरू बताउँछन्।
अर्काथरी इतिहासकार यो मतसँग सहमत छैनन्। उनीहरूका भनाइमा, नरेन्द्रदेवको समय तिब्बतसँग बलियो मित्रसम्बन्ध कायम भएको थियो। तिब्बत आउजाउ गर्ने यात्रुहरूको सुविस्ता निम्ति सीमानाका दुर्गम स्थानमा खानपिन र बसोबासको प्रबन्ध मिलाउन आवश्यक सरसामग्रीसहित पाँच भरिया पठाउने व्यवस्था गरिएको हो।
तेस्रो तर्कअनुसार, सरकारी कामका लागि विदेश जानुपर्दा ‘विष्टि’ वा झाराका रूपमा भरिया उठाउने चलन थियो। ‘भोट्टविष्टि’ यही सन्दर्भमा प्रयोग भएको हुनसक्छ। यसले सरकारी कर्मचारीको तिब्बत आवतजावत सहज बनाउन पाँच जना भरिया सँगसँगै पठाउने व्यवस्था गरिएको थियो भन्ने बुझाउँछ।
शिवदेव द्वितीयकै शासनको अन्तिम समयतिर नेपाल र तिब्बतबीच दुईपटक लडाइँ पनि भयो। तिब्बतमा स्रङ–चङ–गम्पोका उत्तराधिकारी बलियो हुँदै गएका थिए। मित्रवत् सम्बन्धका बाबजुद उनीहरूले नेपाललाई आफ्नो अधीनमा ल्याउने प्रयास गरे। विक्रम सम्बत् ७६० मा तिब्बती फौजले काठमाडौंमा हमला गर्यो। कैलाशकूट भवन तोडफोड गरेर ध्वस्त पारे। यही जितले हौसिएका तिब्बतीहरूले दुई वर्षपछि फेरि आक्रमण गरे। यसपालि भने नेपाली फौजले तिब्बतीहरूलाई ब्रह्मपुत्रसम्म लखेटे। दोस्रोचोटिको यो युद्धमा तिब्बती राजा चिनुश सलँग मारिए।
शिवदेव द्वितीयपछिका राजा जयदेव द्वितीयको कार्यकाल पशुपतिको अभिलेखका कारण महत्वपूर्ण छ। विक्रम सम्बत् ७९० को उक्त अभिलेखमा जयदेवले लिच्छवि राजाहरूको वंशावली खुलाएका छन्। उनले आफ्ना पुर्खाहरूको वर्णन गराउनुको उद्देश्य लिच्छवि राजवंशको इतिहास हुबहु उतार्नु भने थिएन। उनी लिच्छविवंशको गौरव गाथा गाउन चाहन्थे। त्यही भएर ती–ती राजाको नाम मात्र अभिलेखमा लेखाए, जो सक्रिय शासनमा थिए।
भन्नुको मतलब, गुप्त–आभीर, क्रमलील र अंशुवर्माको कठपुतली बनेका राजाहरू लिच्छविकुलकै भए पनि जयदेवले तिनको नाम उच्चारण गर्न जरुरी ठानेनन्। वसन्तदेवपछि र उदयदेवअघिका राजाबारे अभिलेख मौन छ। यो त्यही कालखण्ड हो, जब लिच्छवि राजाहरूको कुनै हैसियत थिएन। यसले हामीलाई त्यति बेलाको द्वैध शासन बुझ्न मद्दत गर्छ।
इतिहास भनेको अतीतको यस्तो कथा हो, जुन जति वर्तमानतिर सर्दै आयो, उति प्रस्ट हुँदै जान्छ। लिच्छविकालको हकमा भने यो लागू हुँदैन। जयदेव द्वितीयपछि घटनाक्रमहरू धमीला हुँदै जान्छन्।
हामीसँग उपलब्ध जयदेव द्वितीयको अन्तिम शिलालेख विक्रम सम्बत् ७९० को छ। त्यसयता करिब डेढ सय वर्षलाई इतिहासमा ‘अन्धकारयुग’ भनिन्छ। यसको मुख्य कारण, लिच्छविकालको अघिल्लो चरणमा जस्तो शिलालेख राख्ने चलन हराएर गयो। राज्य व्यवस्थासम्बन्धी अभिलेखहरू ताम्रपत्रमा राख्न थालियो, जुन समयक्रममा गलेर मासिए।
अभिलेखको अड्चनका बाबजुद जयदेव द्वितीयको समयसम्म लिच्छवि राजाहरूको मनोबल घटेको थिएन, बरू उच्च थियो। नेपाल राज्य टुक्रिएको वा लिच्छविहरू एकाएक शासनबाट बाहिरिएको अवस्था पनि थिएन। विभिन्न वंशावली हेर्दा जयदेव द्वितीयपछि धेरै कालसम्म नामको पछाडि ‘देव’ झुन्डिएका राजाहरूले नै शासन गरेका देखिन्छन्। कतिपय राजाको नाम त अघिल्ला लिच्छवि राजाहरूसँग हुबहु छ। मानदेव नामकै दुई जना राजा छन्। शंकरदेव, गणदेव, जयदेव, नरेन्द्रदेव र वसन्तदेव नामका राजा पनि छन्। आफ्ना पुर्खाहरूबाटै नामकरण गरिएकाले यिनीहरू लिच्छविवंशकै सन्तान हुन् भन्न सकिन्छ।
यसलाई मान्ने हो भने तेह्रौं शताब्दीको मध्यसम्मै लिच्छवि शासन अकन्टक चलेको देखिन्छ। यही कालखण्डका राजा गुणकामदेवको विशेष नाम छ। उनलाई काठमाडौं सहर निर्माणसँग जोडेर श्रेय दिइएको पाइन्छ। उनले यहाँका दुई प्राचीन सहर कोलिग्राम र दक्षिण कोलिग्राम मिसाएर ‘काष्ठमण्डपपुरी’ नामकरण गरेको र कालान्तरमा त्यही नाम अपभ्रंश हुँदै कान्तिपुर र अन्ततः काठमाडौं रहेको हुनसक्छ, जसका बारेमा हामीले पहिलो र दोस्रो अध्यायमा विस्तृत चर्चा गरिसक्यौं।
केही इतिहासकारले भने लिच्छविवंशको उत्तरार्द्धका यी राजाहरूलाई वैश–ठकुरी राजवंश भनेका छन्, जो लिच्छविहरूजस्तै भारतबाट नेपाल छिरे। वैश–ठकुरीहरू विशुद्ध व्यापारीका रूपमा नेपाल आएका थिए। विस्तारै शासनमा पहुँच बढाए र राजनीतिक गतिविधिमा सक्रिय हुन थाले।
लिच्छविकालीन राजनीतिक ढाँचा हेर्ने हो भने केन्द्र सरकार मातहत विभिन्न गणराज्य फैलिएका देखिन्छन्। लिच्छविको मूलथलो भारतको वैशाली पनि गणराज्यकै अवधारणामा चलेको थियो। उनीहरूले त्यही ढाँचा नेपाल ल्याए, जसमा केन्द्रभन्दा मुनि ‘द्रङ’ र द्रङभन्दा मुनि ‘ग्राम’ जस्ता प्रशासनिक एकाई हुन्थे। केन्द्रशासित द्रङ र ग्रामहरूमा अलग–अलग सामन्त नियुक्त गरिन्थ्यो, जो लिच्छवि खलककै वा कुनै न कुनै राजवंशकै सदस्य हुन्थे। यस्ता गणराज्यले केन्द्रलाई नियमित तिरो तिर्नुपर्थ्यो। केन्द्रका निर्णय पालना गर्नुपर्थ्यो। तर, मूलभूत रूपमा ती स्वायत्त प्रदेशझैं थिए। राजधानी हाँडीगाउँबाट नजिकका द्रङ र ग्रामहरूमा पनि छुट्टाछुट्टै प्रशासक तोकिएको अभिलेख छ। पाटन, अर्थात् त्यति बेलाको ‘युपग्राम’ कम विकसित क्षेत्र भएकाले त्यहाँ ‘सामन्त’ तहका प्रशासक नियुक्त भएका थिए। काठमाडौं, अर्थात् त्यति बेलाको ‘दक्षिण कोलिग्राम’ विकसित बस्ती भएकाले ‘महासामन्त’ तहका प्रशासक थिए।
समयक्रममा केन्द्रमा शासन गर्ने कुनै राजा कमजोर भएका बेला यिनै गणराज्यका सामन्तहरूले स्वतन्त्र हुने चेष्टा गरेका हुन सक्छन्। खुसुखुसु शासनमा छिरेर सक्रिय हुन थालेका वैश–ठकुरीहरू यही मौका छोपेर सल्बलाएका हुन् कि!
तिनैमध्ये प्रभावशाली वैश–ठकुरी राघवदेवले दसौं शताब्दीमा लिच्छविहरूबाट शासन खोसेर आफ्नो हातमा लिएको मानिन्छ।
उनकै पालामा विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छविहरूका प्राचीन दरबार ध्वस्त भए। मानगृह र कैलाशकूट दरबार त्यही आगोको लप्कामा लपेटियो। हाँडीगाउँ र विशालनगर क्षेत्रका बासिन्दा उपत्यकाभरि यत्रतत्र छरिएर बसोबास गर्न थाले। धेरै मानिस बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम सरे। कोही भने ललितपुर गएर बसे। यत्रो ठूलो दुर्घटनामा ज्यान जोगाउन सफल भएकाहरूले खुसियालीमा नयाँ सम्बत् चलाएर म्हपूजा गर्न थालेको भनाइ छ।
त्यसैको अर्को वर्ष विक्रम सम्बत् ९३७ बाट नयाँ सम्बतको थालनी भयो — नेपाल सम्बत्।
नेपाल सम्बतको थालनी हाम्रो प्राचीन इतिहासको ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ, जब लिच्छवि शासन अन्त्य भयो र वैश–ठकुरी राजवंश उदायो।
त्यसपछि आए मल्ल, मल्लपछि शाह।
२०६२/६३ को जनआन्दोलनले दुई सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्यो भनेर हामी भन्छौं। खासमा जुन राजतन्त्र ढल्यो, त्यो कम्तीमा दुई हजार वर्ष पुरानो थियो।
जुन संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी प्रवेश गरेका छौं, त्यो नयाँ युग हो।
...
लिच्छविकालको राजनीतिक इतिहास सर्सर्ती हेर्दा यस्तो लाग्छ, सत्तालिप्सा, षड्यन्त्र र अन्तरघात हामीले विरासतमै पाएका हौं।
जसरी हामी आजको राजनीति र शासनाधिकार सम्हालेर बसेका नेताहरूका गतिविधिबाट सन्तुष्ट छैनौं, त्यसैगरी लिच्छविकालका जनता त्यतिबेलाको राजनीति र शासकहरूबाट असन्तुष्ट हुन सक्छन्।
तरबारको बलमा जुनसुकै बेला सत्ता पल्टिनसक्ने त्यो समयका जनता हामीभन्दा डर, त्रास र अनिश्चयमा बाँचेका पनि हुन सक्छन्।
त्यति बेलाको राजनीतिक षड्यन्त्र, अन्तरघात र हत्या–हिंसाको दाँजोमा अहिलेको राजनीति धेरै हदसम्म प्रतिस्पर्धात्मक, स्वस्थ र सौम्य छ। यति हुँदाहुँदै राज्य निर्माण, संस्कृति र सभ्यता विकासको काम रोकिएनछ, जसका जिउँदाजाग्दा प्रमाण आज पनि सहरभरि छन्। राजनीतिक दुष्चक्रबीच पनि हाम्रा पुर्खाले जुन संस्कृति र सम्पदाको अपार भण्डार छाडेर गए, त्यसलाई चामत्कारिक मान्नुपर्छ।
हामी भाग्यमानी हौं, किनकि पुर्खाले आर्जेको सम्पदा, संस्कृति र सभ्यताको व्याज खाने समयमा हामीले जन्म लियौं।
हामी अभागी पनि हौं, किनकि जुन सम्पदा, संस्कृति र सभ्यताको व्याज खानुपर्ने हो, हामी त्यसैको विनाश गर्न खोज्दै छौं।
नयाँ नक्कल गर्ने नाममा पुरानो मौलिकता भत्काउँदै छौं, जसले हामीलाई रित्तो बनाउनेछ।
हामी प्राचीन सभ्यताले छाडेका अमूल्य निधिहरू गुमाएर परिचयविहीन भट्किने कि यो सभ्यता आगामी पुस्तालाई ‘जस्ताको तस्तै’ सुम्पने? निर्णय गर्ने जिम्मा अब हाम्रो — जनताको, सरकारको र हाम्रो राजनीतिको।
अर्को अध्यायमा हामी काठमाडौं मण्डलको वर्तमान र भविष्यको कुरा गर्नेछौं। यहाँको प्राचीन सभ्यतालाई कसरी जिउँदो र भर्भराउँदो बनाउन सकिन्छ, त्यसको चर्चा गर्नेछौं।
(पाँचौं अध्याय शुक्रबार प्रकाशन हुनेछ।)