नेपाल कति बन्यो, कति बिग्रियो- १३
'नेपाल कति बन्यो, कति बिग्रियो?' भन्ने प्रश्नमा विवेचना गर्नु भनेको नेपालले कुनै निश्चित कालखण्डमा तय गरेको यात्राको गुण–दोष केलाउनु हो।
नेपालीहरूले तय गरेको यात्राको मापन गर्नु हो।
मलाई लाग्छ — हामीले आफ्नो व्यक्तिगत जीवन फर्केर हेर्यौं भने देशले तय गरेको दुरी थाहा हुन्छ। हाम्रो व्यक्तिगत भोगाइमै देशको प्रगति वा दुर्गतिको तस्बिर झल्किएको हुन्छ।
त्यही भएर यो लेखमा म आफ्नो व्यक्तिगत अनुभवकै कुरा गर्दैछु।
मेरो जन्म उत्तरी हुम्लाको प्होद (भोटे) समुदायमा भयो। त्यहाँ केही वर्षअघिसम्म सानै उमेरमा बिहे गर्ने चलन थियो। आमाबाबुलाई आफ्ना छोराछोरी र खासगरी छोरीहरूको बिहे गराएर 'जिम्मेवारीबाट मुक्त हुने' हतार हुन्थ्यो।
हाम्रो गाउँतिरका मान्छेहरू भन्थे, 'बिहे गरेर अर्काको घर जाने छोरीलाई किन धेरै पढाउनु? छोरीहरूलाई पढ्न–लेख्न होइन, घरको काम पो सिकाउनुपर्छ!'
यति मात्र होइन, हाम्रो गाउँमा मागी विवाहको चलन थियो, जुन अहिले पनि छ। केटाको परिवार सानैमा छोरी माग्न आउँथे र अलि ठूलो भएपछि बिहे गरेर लैजान्थे। यसले धेरै छोरीहरूले स्कुल जान पाएनन्। गए पनि धेरैले पढाइ पूरा गर्न सकेनन्। चार–पाँच कक्षामै धेरैको पढाइ छुट्यो।
म पाँच कक्षा पुग्दासम्म मेरा सबै साथीहरूको बिहे भइसकेको थियो। पाँच कक्षा पढ्दा हामी जम्मा चार जना विद्यार्थी थियौं। ती चार जनामा केटी म एक्ली थिएँ। हामी केटीहरू बल्लतल्ल डाक्टर, पाइलट वा मास्टर बन्ने सपना देख्न सिक्दै थियौं। तर मेरा साथीहरूका सपनालाई सामाजिक रितले रेतझैं उडाएर लगे। उनीहरूका सपनाले साकार त के, आकार लिने मौका पनि पाएन।
चार कक्षा पढ्दै गर्दा मलाई पनि माग्न आएका थिए। मैले मानिनँ। म आफूलाई माग्न आएका महिक (काकी) र मि (हजुरबुवा) लाई कुट्न चाहन्थेँ। तर मलाई अर्को कोठामा लगेर थुनियो। ढोकामा मुड्की र लात्ती हान्दाहान्दै म कति बेला निदाएँ थाहै भएन। त्यो रात के–के भयो, त्यो पनि थाहा भएन।
त्यसपछि त्यो रातको कुरा मेराअगाडि कसैले गरेनन्। न बिहेको कुरा नै निकाले। मैले सुनेकी थिएँ, त्यही रात आमा र आपाले मलाई एसएलसीसम्म पढाउने बाचा गर्नुभएको थियो।
मलाई भने उहाँहरूको बाचाको भर थिएन। कुनै दिन च्याप्प समातेर मेरो लगनगाँठो कसिदिने हुन् कि भन्ने डर लागिरहन्थ्यो। यही डरले पाँच कक्षा पास भएपछि म सिमकोट पढ्न गएँ।
मलाई अहिले पनि छर्लंग याद छ — पहिलो दिन स्कुल पुर्याउन आउँदा आपाले बनाइदिएको ओखरको काठबाट बनेको पाटी (च्याङ्लाख) हातमा थमाउँदै आमाले भन्नुभएको थियो, 'क होत्ना क मिथोन दुक्पु (आवाज भएर पनि बोली नफुट्नु निकै अत्यासलाग्दो हुन्छ)।'
जुन बिहान म गाउँबाट सिमकोट जाँदै थिएँ, आमालाई त्यही कुरा मलाई फेरि भन्नुभयो।
त्यति बेला आमाको भनाइ मैले बुझेकी थिइनँ। अहिले थाहा पाएकी छु — आमाले जुन अत्यासलाग्दो जीवनको कुरा गर्नुभयो, चेतनाबिनाको जीवन भनेको त्यही हो, जहाँ मान्छेहरू अरूले लादेको पहिचान स्वीकार गर्न बाध्य हुन्छन्। जहाँ सामाजिक, राजनीतिक र आर्थिक रूपमा गरिने असमानताबारे बोल्न सक्दैनन्। जहाँ उनीहरूको कुरा सुनिँदैन वा उनीहरूलाई बोल्न दिइँदैन।
त्यसैले मेरो विचारमा 'देश कति बन्यो, कति बिग्रियो' भन्ने प्रश्नको उत्तर आर्थिक समृद्धिमा मात्र खोजेर हुँदैन। किनभने, आर्थिक समृद्धिले विकासको परिमाणात्मक तथ्यांक त दिन्छ, गुणात्मक विकास झल्काउन सक्दैन।
त्यसो भए गुणात्मक विकास भनेको के हो त?
गुणात्मक विकास भनेको सामाजिक चेतना हो। आर्थिक रूपले समृद्ध मुलुक सामाजिक रूपले चेतनशील पनि हुन्छ भन्ने जरूरी छैन। तर सामाजिक रूपले चेतनशील मुलुक आर्थिक रूपले समृद्ध नभए पनि गुणात्मक रूपले धनी हुन्छ। त्यस्तो मुलुकमा मान्छेले पहिलेभन्दा निर्भीक र निडर, स्वतन्त्र र स्वाभिमान, र आत्मसम्मान र आत्मबोधका साथ बाँच्ने अधिकार पाएको हुन्छ।
आर्थिक आँकडाले दिने परिवर्तनले कहिलेकाहीँ देशको सांगोपांगो तस्बिर नदेखाउन सक्छ। विकासको उज्यालो परेर चम्केका अनुहारले विकासको एक चिम्टी प्रकाशधरि देख्न नपाएको अँध्यारो अनुहारमा ग्रहण लगाइदिन सक्छ। त्यसैले गुणात्मक विकास मापन गर्ने प्रमुख आधार भनेको मान्छेको व्यक्तिगत जीवनमा आएको परिवर्तन नै हो। कुनै निश्चित कालखण्डमा मेरो, तपाईंको, यसको, उसको वा हामी सबैको जीवनमा के–कस्तो परिवर्तन आयो, त्यसले नै देशको परिवर्तन वा विकास झल्काउँछ भन्ने म ठान्छु।
मेरी आमाले केही वर्ष टोपेनी/आनी अर्थात् लामा ज्ञान पढ्नुभएको थियो। त्यही पढाइले उहाँमा आफ्नी छोरीलाई पढाउनुपर्छ भन्ने चेत आएको थियो कि भन्ने मलाई लाग्छ।
राज्यले सदियौंदेखि किनाराकृत गरेको ठाउँमा समयसँगै आएको परिवर्तनको लहर, दसवर्षे माओवादी द्वन्द्व तथा २०६२–६३ को जनआन्दोलनको प्रभावले पनि आमामा त्यस्तो चेतना जागृत भएको हुनसक्छ।
कारण जेसुकै होस्, त्यो बेला सिमकोट आएर पढ्न पाउनु नै मेरो निम्ति लाख थियो। तर सिमकोट आएपछि पनि मलाई बिहेको डरले लखेट्न छाडेन।
मलाई लाग्थ्यो, गाउँ गएँ भने मेरो बिहे गरिदिन्छन्। यही डरले म कहिलेकाहीँ मात्र घर जान्थेँ।
त्यो समय पाँच कक्षासम्म पढ्नु मेरा लागि जति चुनौतीपूर्ण थियो, त्योभन्दा कयौं गुणा बढी चुनौतीपूर्ण थियो, सिमकोट पढ्न आउनु। किनभने, सिमकोटको भाषा फरक थियो। मलाई खस नेपाली भाषा राम्ररी बोल्न आउँदैन थियो। गाउँको स्कुलमा पढ्दा बाहिरबाट आएका शिक्षकसँग हामी प्होद भाषा मिसाएर बोल्थ्यौं। उहाँहरूलाई त्यस्तो मिसमास भाषाको बानी परिसकेको थियो। हामीले बोल्ने अशुद्ध खस नेपाली भाषा पनि उहाँहरू सजिलै बुझ्नुहुन्थ्यो। सिमकोटमा भने मलाई भाषाका कारण निकै गाह्रो भयो।
खस नेपाली बोल्न नजान्दा पढ्न–लेख्न मात्र होइन; पसल जान, यताउति ओहोरदोहोर गर्न र अन्य दैनिक कामकाजमा पनि मलाई अप्ठ्यारो महसुस हुन्थ्यो।
मैले जिन्दगीमा पहिलोचोटि जागिरे महिलाहरू पनि सिमकोटमै देखेँ। त्योभन्दा अगाडिसम्म मलाई महिलाहरूको काम घरधन्दा सम्हाल्ने मात्र हो भन्ने लाग्थ्यो। जागिर खानु महिलाको पनि हकको कुरा हो भन्ने त परै जाओस्, महिलाहरू जागिर खान सक्छन् भन्ने चेतधरि मलाई थिएन।
सिमकोटमा बस्दै जाँदा जागिरे महिलाहरूसँग म अभ्यस्त हुँदै गएँ। यही क्रममा एउटा अर्को खुल्दुलीले मेरो मुटु घोच्न थाल्यो। त्यो के भने, सिमकोटमा जति पनि जागिरे महिलाहरूसँग मेरो भेट भयो, तिनमा प्होद क्षेत्रका महिला एक जना पनि थिएनन्।
सुरूमा त मलाई यस्तो लाग्यो, सायद जागिर खाने अनुमति अरू समुदायका महिलालाई मात्र हुँदो हो! प्होदका महिलाले जागिर खानै नपाउँदा हुन् कि!
मैले पछि मात्र थाहा पाएँ, प्होदका महिलाले यस कारण जागिर खान पाएनन्, किनभने उनीहरू धेरै पढेका थिएनन्। पढे–लेखेका योग्य भए पनि उनीहरूको पहुँच थिएन। राज्य संयन्त्रले सीमान्तकृत समुदायका नागरिकहरूका लागि त्यस्तो वातावरण नै सिर्जना गरिदिएको थिएन। सीमान्तकृत समुदायभित्र पनि महिलाहरू त झन् दोहोरो मारमा थिए।
यी सबै सोचविचार गर्दा मलाई यस्तो लाग्थ्यो — प्होदका महिला पनि जागिरे भइदिएका भए!
छोरीहरूको काम बिहेअघि माइतीको र बिहेपछि श्रीमानको घर–व्यवहार र खेतीपाती धान्ने मात्र होइन, उनीहरू पनि पढे–लेखेर जागिर खान सक्छन् भन्ने चेत हाम्रा हिमाली आमाबाबुलाई पनि भइदिएको भए!
त्यति बेला जागिरे महिला देखेर आकर्षित भए पनि र प्होदका महिलाहरू किन जागिर खाँदैनन् भन्ने प्रश्नले छाती भतभती पोले पनि मैले आफैंले भने जागिरे बन्ने सपना कहिल्यै देखिनँ।
यसको कारण मैले सपना देख्नै नचाहेर होइन। मेरा आँखाले पनि सपना देख्थे होलान्, तर सपना देख्नुभन्दा पहिले नै ती आँखामा बिहेको डर यस्तरी समाएको थियो, मैले बिहेबाट बच्ने उपायबाहेक टाढाको केही सोच्नै सकिनँ। जिन्दगीमा के गर्ने र के बन्ने भनेर सोच्नुभन्दा कसरी बिहेबाट बच्ने भन्ने तर्कना नै मेरो मनमा खेलिरह्यो।
विवाहको डरै डरमा मैले घरबाट टाढा जाने र पढ्नेबाहेक अरू केही सपना नै देखिनँ।
मैले केवल बिहेको डरले पढ्न चाहेँ र पढ्न चाहेर घर छाडेँ। मेरो पढाइसँग सपनाको फूलबुट्टा भरिएको थिएन। त्यसमाथि घरमा पनि सपनाका बारेमा न सोध्ने कोही थियो, न बताउने कोही!
आज फर्केर हेर्दा यस्तो लाग्छ, बिहेबाट भाग्न घर छाड्दा मैले पढ्न त पाएँ, तर त्यो पढाइले मेरो बालापन छुट्यो कि!
बिहेबाट भाग्न घर छाड्दा मैले संसार त देखेँ, तर त्यो संसारमा आमा र आपाको न्यानो साथ गुमाएँ कि!
एउटा कुरामा चाहिँ खुसी लाग्छ — अचेल हाम्रो गाउँतिर छोरीहरूले पढ्न पाएका छन्। छोरीलाई ताको (धागो) कात्न र छ्याङ पकाउन मात्र सिकाउनुपर्छ भन्ठान्ने आमाआपाले उनीहरूलाई अक्षर चिनाउन थालेका छन्।
अचेल हुम्लाका मेरा बहिनीहरूलाई बिहेको राक्षसले तर्साउन आउँदैन। उनीहरूले बिहेबाट बच्न आफ्नो बालापन छाडेर घरबाट हिँड्नु पर्दैन। आमाआपाको न्यानो साथ गुमाउनु पर्दैन। हाम्रो गाउँतिर सानैमा छोरी माग्न आउने चलन पहिलेभन्दा निकै कम भइसक्यो। माग्न आउनेहरूलाई पनि पढाइ सकेपछि मात्र बिहे गर्ने सर्त राखेको पाइन्छ। कत्ति छोरीहरू त परिवार र समुदायका अगाडि 'म पढाइ पूरा नगरी बिहे गर्दिनँ' भनेर निर्धक्क भन्न सक्ने भएका छन्।
अचेल मेरा हुम्लाका बहिनीहरूले हिउँ मात्र होइन, सपनाको हिमाल देख्न थालेका छन्। त्यो सपनामा संसार अटाउन थालेको छ। त्यो संसारमा बिहे मात्र छैन, उनीहरूको व्यक्तिगत स्वतन्त्रता पनि छ।
हिमाली केटीहरूमा आएको यो परिवर्तनलाई म सुन्दर प्रतिरोधी चेतना मान्छु।
चेतनामा आएको परिवर्तनको प्रभावले हाम्रो जीवनलाई कसरी प्रभाव पार्यो भन्ने मेरी आमा र मेरो जीवन दाँजेर हेर्दा थाहा हुन्छ।
मेरी आमाले लामा ज्ञान पढ्नुभएको थियो भन्ने मैले माथि भनिसकेकी छु। त्यही पढ्दापढ्दै मेरी आमाको बिहे भयो। बिहेपछि पढाइ छुट्यो। आमालाई पढ्ने रहर कति धेरै थियो भने गाउँमा बिजुली पुग्नुभन्दा पहिले उहाँ आगो सल्काउन प्रयोग गरिने सल्लाको धिपधिपे उज्यालोमा आँखा झिमझिम गर्दै पढ्नुहुन्थ्यो। अहिले फुर्सद बेला उहाँ फेरि गुम्बामा पढ्न जान थाल्नुभएको छ।
अर्कातिर, मैले आमाले जस्तो बीचमै पढाइ छाड्नु पनि परेन।
हुन त म २०७० सालको एसएलसीमा फेल हुँदा गाउँमा तरंग नै आएको थियो। गाउँलेहरूले मेरो उदाहरण दिँदै छोरीहरूले पढ्न सक्दैनन् भनेर कुरा काट्न थालेका थिए। कतिले मेरैअगाडि आमालाई भन्थे, 'हेर, उहिल्यै बिहे गरिदिएको भए अहिले घर बसिसक्थ्यो!'
मलाई व्यक्तिगत रूपमा राम्रै नम्बर ल्याएर पास हुन्छु भन्ने लागेको थियो। मिहिनेत पनि गरेकै थिएँ। तर दोस्रो श्रेणीमा पनि पास भइनँ।
गाउँलेका कुराले मेरो मनोबल यति घट्यो, म धेरै दिन घरबाटै निस्किनँ।
त्यस्तो अवस्थामा पनि मेरी आमा र आपाले मेरो पढाइ छुटाउनेबारे सोच्नुभएन। आमा भन्नुहुन्थ्यो, 'एउटा मात्रै विषयमा पास नभएको त हो, एक महिना राम्रोसँग पढे पास भइहाल्छ नि!'
आमाको कुरा सुनेर मलाई जसरी पनि पास हुनुपर्छ भन्ने आत्मबल जाग्यो।
म गणितमा फेल भएकी थिएँ। पुनः परीक्षा दिएँ, पास भएँ।
एसएलसी पास भएपछि अगाडि के पढ्ने भनेर मलाई एकदमै दुबिधा भयो। त्यो बेला हिउँले खाएका औंलाहरू आगोमा सेकाउँदै मेरी एपी (हजुरआमा) भन्नुहुन्थ्यो, 'धेरै पढेर डाक्टर बन्नुपर्छ है नानी!'
एपीकै कुरा सम्झिएर होला, मलाई नर्सिङ पढ्न मन थियो। मैले जुम्लामा नर्सिङ पढ्न जाँच दिएँ, तर मेरो नाम निस्किएन।
त्यसपछि म क्याम्पस पढ्न 'ह्योम्बू' (काठमाडौं) आएँ।
जुन ठाउँमा हिजोअस्तिसम्म बिहे गरेर अर्काको घर पठाउने छोरीहरूलाई पढाउने होइन भन्ने सोच व्याप्त थियो, त्यस्तो ठाउँबाट मैले ह्योम्बू आएर पढ्ने मौका पाएँ।
ह्योम्बू आइसकेपछि पनि मलाई के पढ्ने थाहा थिएन। सामाजिक, सांस्कृतिक र भाषिक चुनौती पारेर गर्दै ह्योम्बू आइपुगेकी मलाई के–के पढ्न पाइन्छ भनेर भनिदिने पनि कोही थिएन।
त्यही बेला एउटा यस्तो घटना भयो, जसले मेरो जीवनको उद्देश्य नै बदलियो।
ह्योम्बू आएपछि मैले पहिलोचोटि थाहा पाएँ, यो सहरले त मेरो हुम्लालाई चिनेकै रहेनछ। मेरो देशको राजधानीले मेरो ठाउँलाई यस्तो हेय दृष्टिले हेर्दो रहेछ, मानौं हामी यो देशका लागि शरीरको यस्तो अंग हौं, जुन हुनु र नहुनुमा कुनै अन्तर छैन।
ह्योम्बूका अधिकांशको नजरमा हुम्ला भनेको नक्साको उत्तर–पश्चिमी टुप्पोमा पर्ने एउटा जिल्लाभन्दा बढ्ता अरू केही थिएन।
यस्तो जिल्ला, जहाँ सडक पुगेको छैन। जहाँ बिजुलीको प्रकाश छैन। जहाँ बाह्रै महिना हिउँमा नंग्रा खियाउनुपर्छ। जहाँ बाह्रै महिना अनिकाल लाग्छ। जहाँका मान्छे खेतीपाती गर्दैनन्। जहाँ खाद्य संस्थानले बाँड्ने अन्नको भरमा गुजारा चलाउनुपर्छ। जहाँका मान्छेले नुहाउन जानेका छैनन्।
यहाँसम्म कि, त्यहाँका मान्छेसँग बोलीबचनको मिजास पनि छैन!
सदियौंदेखि यिनै भ्रम पालेर बसेकाले होला, ह्योम्बूका मान्छेहरू म हुम्लाको भन्ने थाहा पाएपछि मलाई अनौठो मानेर हेर्थे। मानौं, हुम्लामा पनि आफूजस्तै मान्छे बस्दा रहेछन् भन्ने उनीहरूले पहिलोचोटि थाहा पाए।
यति मात्र कहाँ हो र!
उनीहरू मेरो अनुहार र छालाको रङ देखेर र मेरो भाषा सुनेर मलाई नेपाली नै मान्दैन थिए। यस्तो पनि नेपाली हुन्छ भनेर कानेखुसी गर्थे। कतिले त यो प्रश्न मलाई मुखेञ्जी सोधे।
उनीहरूको प्रश्नलाई म नाजायज भन्दिनँ। किनभने, ह्योम्बूलाई मेरो हुम्ला चिनाउने पहल कसैले गरेकै थिएन। ह्योम्बूलाई मेरो हुम्लाको कथा कसैले सुनाएकै थिएन। ह्योम्बूले पढ्ने गरी मेरो हुम्लाको कथा कसैले लेखेकै थिएन।
जति लेखिएका थिए र छन्, ती पनि सबै बाहिरका मान्छेले लेखेका छन्, जसमा हुम्लाको बासना छैन।
पृथ्वीमा बसेर मंगल ग्रहको तस्बिर हेरेजस्तै छ मेरो हुम्ला!
हवाईजहाजबाट धर्ती नियालेजस्तै छ मेरो हुम्ला!
आधारशिविरमा बसेर मुन्टो उठाउँदै सगरमाथा चुचुरो नियालेजस्तै छ मेरो हुम्ला!
यसरी एकातिर सत्ता र राज्य संरचनाले मेरो हुम्ला र सिंगो कर्णालीलाई किनाराकृत गरेको छ भने अर्कातिर महामारी, भोकमरी र अशिक्षाको पर्याय बनाइएको छ। त्यसमाथि बहुपति प्रथा रहेको प्होद समुदायलाई त्यहाँको भौगोलिक अवस्था र उत्पादन संरचनाको अध्ययनै नगरी ह्योम्बूले एकदमै कुरूप चित्रण गर्दै आएको छ।
ह्योम्बूले चित्रण गर्ने हुम्लाको यस्तो तस्बिरले मेरो मथिंगल हल्लियो र यहीँ मैले आफ्नो जीवनको उद्देश्य भेटेँ।
मैले एकदमै धेरै पढ्ने र एकदमै धेरै लेख्ने निधो गरेँ। आफ्नो लेखाइका माध्यमबाट मेरो देशको राजधानी ह्योम्बूलाई मेरो जन्मभूमि हुम्लाको कथा सुनाउने निधो गरेँ।
हाम्रो पहिचान, हाम्रा मौलिक कथाहरू र हाम्रो हिमाली जीवनशैलीबारे हामी हिमालमै बस्नेले नै लेख्नुपर्छ भन्ने मेरो ठम्याइ रह्यो।
यही ठम्याइपछि मैले केही समयदेखि विभिन्न पत्रपत्रिका र अनलाइनमा लेख लेख्दै आएकी छु। ती लेखमा मैले हिमाली जनजीवन, हिमालका मौलिक कथा र विकास निर्माण सँगसँगै हिमाली भेगमा आइरहेका परिवर्तनबारे लेख्ने कोसिस गरेकी छु।
मेरो लेखाइमा भाषाको समस्या छ। मेरो मातृभाषा प्होद/लामा भाषा हो। घरमा हामी मातृभाषा बोल्छौं, अरू ठाउँमा खस नेपाली भाषा। खस नेपाली बोल्न र लेख्न अलिअलि आए पनि सोच्न र बुझ्न मातृभाषामै सजिलो लाग्छ। कहिलेकाहीँ मलाई आफ्नै भाषामा लेख्न पाए कति खुलेर लेख्थेँ होला भन्ने लाग्छ, तर मलाई आफ्नो भाषामा लेख्न आउँदैन। आफ्नो मातृभाषा भाषामा सोचेजस्तो अर्काको भाषामा सोच्न सकिँदैन। कहिलेकाहीँ प्होद भाषामा सोचेर नेपालीमा लेखिरहँदा अनुवाद गरिरहेजस्तो लाग्छ। तैपनि अनेक चुनौतीका बाबजुद म खस नेपालीमै लेखिरहेकी छु र लेखिरहनेछु।
मलाई खस नेपाली भाषामै लेखेर नेपाली भाषा पढ्नेहरूलाई मेरो प्होद चिनाउनुछ। मैले बाँचेको जीवन देखाउनुछ।
शिक्षाको बोध नभएको भए न म ह्योम्बू आउन पाउँथेँ, न मैले पढ्न पाउँथेँ। र, न म अहिले यहाँ यो लेखमार्फत् आफ्नो कथा सुनाइरहेकी हुन्थेँ।
म पनि हाम्रो हिमाली भेगका असंख्य एपी, आमा र दिदीहरूजस्तै बिहे गरेर बच्चा सम्हालिरहेकी हुन्थेँ। घर–व्यवहारमा व्यस्त हुन्थेँ। दिनरात हिउँमा नंग्रा खियाइरहेकी हुन्थेँ। तैपनि मेरो आफ्नो पहिचान हुँदैन थियो। मेरो पहिचान भन्नु पुरूषको छाया मात्र हुन्थ्यो।
समयसँगै आएको चेतनाको प्रभाव राजनीतिक तथा अन्य सामाजिक क्षेत्रमा बढ्दो महिला सहभागिताले पनि झल्काउँछ।
केही समयअघि गाउँ जाँदा मैले नाम्खा गाउँपालिका–६ का वडा सदस्य बुटी लामासँग कुरा गरेकी थिएँ। उनी भन्दै थिइन्, 'उहिले राजनीतिमा महिलाहरूको सहभागिता एकदमै कम थियो। कम के भनौं, महिलाहरू थिँदै थिएनन्। राजनीति भनेकै पुरूषहरूले मात्र गर्ने जस्तो लाग्थ्यो। महिलाहरू घर–खेतमै सीमित थिए। अहिले महिलाहरू पनि राजनीतिमा आउन थालेका छन्। बाहिरको दुनियाँ हेर्न थालेका छन्। यो परिवर्तनको सुरूआत हो।'
उनले यो पनि भनेकी थिइन्, 'गाउँ बाहिर जान, नयाँ मान्छेसँग भेट्न र नयाँ भाषा सिक्न मलाई रमाइलो लाग्दैछ। मेरो यो नयाँ जीवनको सुरूआत म राजनीतिमा लागेपछि नै भएको हो।'
प्होद समुदायका महिलाहरू अन्य समुदायका महिलाको तुलनामा सांस्कृतिक क्षेत्रमा बढी स्वतन्त्र मानिन्छन्, तर राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा उनीहरू पछाडि परेका छन्। सानै उमेरमा आमा बन्ने भएकाले पनि उनीहरू एउटा निश्चित परिधिबाट निस्किन पाउँदैनन्। त्यही परिधिमा उनीहरूका सपना जकडिन्छन्। अलि समयपछि त ती सपना मरेरै जान्छन्।
खस नेपाली भाषा नजान्नु र विभिन्न क्षेत्रमा पहुँचको कमीले पनि राजनीतिक, शैक्षिक, आर्थिक लगायत क्षेत्रमा समग्र प्होदको उपस्थिति कम छ। त्यसमाथि प्होद महिलाहरू त झनै पछाडि परेका छन्। दसमा दुई जना महिला होलान्, जो खुलेर राजनीतिबारे कुरा गर्छन्, घरको चौघेरा नाघेर बाहिरका काम गर्छन्। ती महिला पनि धेरैजसो सामाजिक, आर्थिक पुँजी बलियो भएकाहरू हुन्। बाँकी महिलाको जिन्दगी त खेतीपाती र चुलाचौकामै सीमित छ।
बुटी लामा तिनै प्होद महिलामध्ये एक हुन्, जो घरको सीमा छिचोलेर पुरूषसँग काँधमा काँध मिलाउँदै राजनीतिको मैदानमा ओर्लिएकी छन्। उनको अनुभवबाट हामी के बुझ्छौं भने, हुम्लाजस्तो दुर्गम भेग, जहाँका महिला हिजोअस्तिसम्म पढ्न–लेख्नबाट वञ्चित थिए, बिहेको डरले मजस्तै घर छाडेर हिँड्न वा जीवनभर पुरूषको छाया भएर बस्न बाध्य थिए; त्यस्तो ठाउँका महिला मेरै जीवनकालमा, मैले देखी–देखी पुरूषहरूसँग एउटै बैठककक्ष 'सेयर' गर्ने अवस्थामा पुगेका छन्। यसले गाउँपालिका र वडाका विकास गतिविधिमा महिलाहरूलाई आफ्नो कुरा राख्न सक्ने हैसियतमा पुर्याएको छ।
ती महिलाहरूको कुरा कति सुनिन्छ, कति सुनिन्न, त्यो मलाई थाहा छैन। हुनसक्छ, अहिले बैठकमा उनीहरूको बोली बिक्दैन होला। पुरूषहरूले आफूखुसी गर्ने निर्णयमा उनीहरूलाई साक्षी मात्र राखिन्छ होला। समावेशिताका नाममा उनीहरूको नाम र तस्बिर मात्र बेचिन्छ होला। तर यो परिवर्तनको सुरूआत चाहिँ पक्कै हो।
जुनसुकै लामो यात्रा शून्यबाटै सुरू हुन्छ। मेरो हुम्लाका ती पुस्ता–दर–पुस्ता हेपिएका महिलाहरूले पनि शून्यबाट सुरूआत गरिसकेका छन्।
सुरूआत भइसकेपछि गन्तव्य त पुगिन्छ पुगिन्छ!
त्यो गन्तव्यमा पुग्न केही अवरोध पक्कै छन्। जस्तो — अधिकांश महिला अझै पनि आर्थिक रूपले परिवारका पुरूष सदस्यमाथि निर्भर रहनुपर्ने अवस्था छ। उनीहरू बिहेअघिसम्म बुवाको भर पर्छन्, बिहेपछि श्रीमान र छोराहरूको भर पर्छन्। जबसम्म महिलाहरू आर्थिक रूपले स्वतन्त्र हुँदैनन्, तबसम्म वास्तविक स्वतन्त्रताको अनुभूति गर्न पाउने छैनन्।
आर्थिक स्वतन्त्रताको कुरा गर्दा भूमिमाथिको स्वामित्व प्रमुख रूपले आउँछ, जसमा हुम्लाका महिलाको हिस्सा एकदमै कम छ। गत वर्ष गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार भूमिमा महिलाको स्वामित्व शून्य बराबर देखिएको थियो। जबकि, भूमिसँग सबभन्दा नजिक महिलाहरू नै हुन्छन्।
यति मात्र होइन, गएको स्थानीय तह चुनावमा जसरी घर–घरमा पैसा बाँडेर भोट मागियो, त्यसले समाजमा एउटा भाष्य निर्माण गरेको देखिन्छ। त्यो भाष्यले भन्छ, राजनीति भनेको सामाजिक र आर्थिक पुँजी बलियो भएकाहरूले गर्ने कर्म हो। यो भाष्य जीवित रहँदासम्म आर्थिक अवस्था कमजोर भएका महिला र योग्य पुरूषहरू समेत चाहेर पनि राजनीतिमा आउने आँट गर्न सक्दैनन्।
यो भाष्यको जालो तोड्न महिलाहरूको हस्तक्षेपकारी भूमिकाको खाँचो पर्छ। खुला र उदार राजनीतिक प्रणालीले नै महिलाहरूलाई त्यो हस्तक्षेपको हक दिन्छ। उनीहरूले राजनीति र समाजमा आफ्नो भूमिका थप बलियो बनाउँदै लैजान पाउँछन्।
सामाजिक चेतनापछि अब हामी कुरा गरौं, सामाजिक जीवनयापनको।
म केटाकेटी हुँदा 'एपी–मि' (हजुरआमा–हजुरबुवा) कहाँ 'तामे' (कथा) सुन्न जाने खुब चलन थियो। हामी बच्चाहरू सम्साँझै एपी–मिको वरिपरि डल्लो परेर बस्थ्यौं र उहाँहरूको मुखबाट तामे सुन्थ्यौं। हिउँ परेका बेला त राम्ररी भाका मिलाएर तामे सुनाउने एपी–मिको घरमा बच्चाहरूको भीड नै लाग्थ्यो।
तामेमा अक्सर हिमाली भेगका जीवनको नालीबेली हुन्थ्यो। मैले हिमाली जीवनको सकस र साहसको वृत्तान्त तिनै तामेहरूका माध्यमबाट सुनेकी थिएँ।
मेरी एपी तामे सुनाउन निकै सिपालु हुनुहुन्थ्यो। उहाँले प्रायः भोकमरीको तामे, खर्कको तामे, भेडाबाख्रा लिएर औल जाँदाको तामे, हिउँ पर्दाका सुखदुःखको तामे सुनाउनुहुन्थ्यो। आफ्नै जीवनमा भएका घटनालाई ताको (धागो) जस्तै उनेर तामे सुनाउने उहाँको बानी थियो।
एपी साँझ चुह्लो वरिपरि झुम्मिएका हामी केटाकेटीलाई ताको कात्दै भन्नुहुन्थ्यो, 'उहिले हामी बिहानै उठेर पानी लिन धेरै टाढा जान्थ्यौं। त्यति बेला अहिलेजस्तो प्लास्टिकको जर्किन थिएन। टोजुम (काठबाट बनेको भाँडो), माटोको गाग्री र पाठाको भुँडी सिलाएर पानी ओसार्नुपर्थ्यो। पानी ल्याउनै एक–दुई घन्टा लाग्थ्यो।'
हामी एपीका अनुभव आँखाधरि नझिम्क्याई सुनिरहन्थ्यौं।
उहाँ अगाडि भन्नुहुन्थ्यो, 'हिउँदमा पानी ल्याउन एकदमै गाह्रो हुन्थ्यो। हिउँमा चिप्लेर कहिले टोजुम फुट्थ्यो, कहिले पाठाको भुँडी सिलाएर बनाएको भाँडो फुट्थ्यो। जुत्ता लगाउने चलन थिएन। कोही कोही मात्र शोन्बा (ढोचा) लगाउँथे।'
एपीका यस्ता तामे सुन्दा मलाई लाग्थ्यो, उहिलेका मान्छे निकै साहसी थिए। हिमाली भेगका मान्छे त झन् बढी साहसी थिए। पेट निमोठ्न आउने भोकलाई झुक्याउने कला उनीहरूले जानेका थिए। उनीहरू भोको पेटमा चिसो पटुकी बाँधेर काम गर्न जान्थे। पेट निमोठिने गरी चिसो पटुकी बाँधेपछि भोक कता हराउँथ्यो कता!
उनीहरू कहिले रोटीजस्तै गोलो ढुंगा पटुकीले पेटमा बाँध्थे। ढुंगाको भारीले पेट निमोठेपछि भोक कता हराउँथ्यो कता!
त्यति बेला हाम्रो गाउँमा बिजुली बत्ती थिएन। उज्यालोका लागि धेरै खोटो भएको सल्ला बाल्नुपर्थ्यो, जसलाई हामी 'डेमी' भन्थ्यौं। डेमीको मधुरो उज्यालोमा तामेको आरोह–अवरोहसँगै एपीको अनुहारको बदलिएको रङ प्रस्टै देखिन्थ्यो।
हामी तामे सुन्नेहरूले बेलाबेला चुह्लोको आगो फुकिदिनुपर्थ्यो। चुह्लोमा 'प्होद च्या' (भोटे चिया) बसालिदिनुपर्थ्यो। एपी बीचबीचमा च्या र छ्याङको चुस्की लिँदै आफू नथाकेसम्म तामेलाई निरन्तरता दिइरहनुहुन्थ्यो।
जसरी हामी केटाकेटी तामे सुन्न एपी–मिकहाँ भेला हुन्थ्यौं, त्यसरी नै ठूलाबडाहरू 'दोटो' जान्थे। दोटो भनेको गाउँभरिका ठूला मान्छे गफ गर्न एकै ठाउँ भेला हुनु हो। तामे सुन्ने–सुनाउने चलनले पुरानो चालचलन, सभ्यता र संस्कृति जीवित राखेको थियो भने दोटोले गाउँघरमा एकता कायम गरेको थियो।
मैले केही समयअघि गाउँ जाँदा यो चलनबारे स्थानीय ८२ वर्षीया ढुवा लामा र ९० वर्षीया चोङ्मु लामासँग कुरा गरेकी थिएँ। उनीहरूले पारिलो घाममा बसेर पुराना कुरा स्मरण गर्दै भनेका थिए, 'अहिले त न तामे, न दोटो! सब हराए। मान्ठा (मान्छे) हरूलाई आफ्नै परिवारसँग बोल्ने फुर्सद त छैन, गाउँ–समाजमा भेला भएर भलाकुसारी गर्ने समय कहाँबाट पाऊन्!'
तामे र दोटो हराउने क्रमसँगै समाजको गाँठो फुस्किँदै गएको मेरो अनुभव छ। तामेले नयाँ पुस्तालाई पुरानो पुस्तासँग जोडेको थियो। दोटोले गाउँ–समाजलाई एक ढिक्का राख्थ्यो। कुनै घरमा केही आपत परेको छ भने त्यसबारे गाउँका सबैलाई जानकारी हुन्थ्यो र सबै मिलेर त्यसको हल खोज्न कम्मर कसेर लाग्थे। अहिले भने कसैलाई गाउँ–समाजबारे सोच्ने समय छैन। नयाँ पुस्ता पुरानो पुस्ताबाट टाढिँदै गएको छ। मान्छेहरू सबै एकअर्काबाट टाढिँदै गएका छन्।
मैले ढुवा र चोङ्मु लामालाई सोधेकी थिएँ, 'तामे र दोटो कहिलेबाट हराउन थाल्यो त एपी?'
उनीहरूको जवाफ थियो, 'जबदेखि घरमा बिजुली बत्ती बल्यो, हातहातमा मोबाइल फुन आयो र जबदेखि घर–घरमा टेलिभिजन भित्रियो, तबदेखि मान्ठा (मान्छे) हरू गाउँ–समाजबाट टाढिए। त्यही बेलादेखि तामे सुन्ने र दोटा जाने चलन हरायो। मोबाइलमै अनेक चित्र हेर्न पाएपछि भुराहरूलाई बूढाबूढीका मुखबाट तामे सुन्ने रहर किन होस्! ठूलाबडा पनि घरमै मोबाइल र टिभीमा नाचगान हेर्न पाएपछि अर्काको घरमा दोटो किन जाओस्!'
मेरी आमा पनि मोबाइल आएपछि टाढाका मान्छे नजिक र नजिकका मान्छे टाढा हुन थालेको बताउनुहुन्छ।
'यो भाँडो (मोबाइल) ले एक ठाउँबाट अर्को ठाउँ खबर पुर्याउन त सजिलो भयो, तर नजिकका मान्छेसँग सुखदुःखका कुरा हुनै छाडे,' उहाँ भन्नुहुन्छ, 'जो अगाडि छैन, उसको अनुहार आँखैमा टाँसेर हेर्न पाइयो, तर अगाडि भएकाहरूको नाकमुख देखिन छाड्यो।'
यसले तामे मात्र हराएन, गाउँघरका सामूहिक भेलाहरूमा घन्किने टुङ हरायो, गीत हरायो।
र, हरायो हाम्रो हिमाली भेगको इतिहास, संस्कृति, कला र ज्ञान।
इतिहास, संस्कृति, कला र ज्ञान पुस्ता–दर–पुस्ता हस्तान्तरण गर्दै जाने माध्यम भनेकै तामे थियो। तामे नै बन्द भएपछि पुरानो पुस्ताबाट नयाँ पुस्तामा अनुभव बाँड्ने चलन पनि बन्द भयो। त्यो अनुभवले हामीलाई आफ्नो पुर्खासँग साक्षात्कार गराउँथ्यो। आफ्नो जरासँग जोड्थ्यो। आफ्नो पहिचानसँग परिचित गराउँथ्यो।
अहिले तामे नभएपछि हामीले पुर्खासँग साक्षात्कार हुन पाएनौं। आफ्नो जरा थाहा पाएनौं। पहिचान चिन्न पाएनौं।
हामी जरा टुटेको वृक्ष भएका छौं। यस्तो वृक्ष, जुन समयको बहावमा कति दिन टिक्ने हो हामीलाई नै थाहा छैन।
समयको परिवर्तनले कतै हामीलाई आफ्नो पुर्खा, जरा र पहिचानबाट अलग्याइदिने त होइन? पानीको थोपा सागरमा विलीन भएझैं हामी पनि पहिचानविहीन भएर, आफ्नो कथाविहीन भएर भीडमा हराउने त होइनौं?
अहिले हाम्रो बदलिँदो गाउँको कथा घरका बन्द ढोकाहरूमा पनि म सुन्छु। सुरू सुरूमा 'ह्योम्बू' (काठमाडौं) आउँदा मलाई यहाँका घरहरूको बन्द ढोका देखेर अचम्म लागेको थियो। घरमै बस्दा पनि ढोका थुन्ने बानी देखेर म छक्क परेकी थिएँ। मलाई ह्योम्बूका ती बन्द ढोकाहरूले आफ्नो गाउँघरको खुला ढोका याद दिलाउँथ्यो।
खुला ढोकाले मलाई आफ्नोपनको आभास गराउँथ्यो। ह्योम्बूमा म आफ्नोपन पाउँदिन थिएँ।
अहिले समय कस्तरी बदलियो भने, हाम्रो गाउँघरको ढोका पनि सधैंजसो बन्द रहन थालेको छ। ती बन्द ढोका देख्दा मलाई यस्तो लाग्छ, सहरको चलन थाहै नपाई गाउँमा पसिसकेछ। उसो त अहिलेका मान्छे पनि पहिलेका जस्ता रहेनन्। ढोका खुल्लै राख्यो भने चोर पस्ला भन्ने पिर छ अचेल।
समयको हुरीले सिंगै समाजमा हलचल मच्चाइदिएपछि समाजको हालचाल नबदलियोस् पनि किन!
अहिले म देख्दैछु — मान्छेको हालचालसँगै घरहरूको ढाँचा पनि बदलिँदै छ। पहिले हाम्रो हिमाली भेगतिर माटो, स्याउला, उन्यू र भोजपत्रले छाएको ढुंगाको तीनतले एकनासका घर हुन्थे। माथिल्लो तलामा 'तेङ्ला' अर्थात् स्वर्गलोक हुन्थ्यो, जहाँ पूजाकोठा रहन्थ्यो। बीचको तल्लालाई 'खयाङ' भनिन्थ्यो, जहाँ मान्छेहरू सुत्थे। सबभन्दा तल्लो तलामा नागको बास हुन्छ भनिन्थ्यो, जसलाई 'योग लु' भन्ने चलन थियो।
तीनतले घरको यो संरचनामा अचेल तेङ्ला हराउँदैछ, खयाङ हराउँदैछ। सुत्नेदेखि पकाउने, खाने, पूजा कोठा र शौचालयसमेत एकै तलामा सराबरी भएका छन्। माटो र भोजपत्रलाई रंगीचंगी जस्तापाताले विस्थापित गर्दै लगेको छ।
सामाजिक जीवनशैली र घरको ढाँचामा समेत आइरहेको यो बदलावले हाम्रो हिमाली गाउँ पनि सहरजस्तै बन्दै छ। गाउँमा सहरको जस्तै सुखसुविधा थपिँदै गएका छन्। यसले मान्छेको जीवन सहज त भएको छ, तर गाउँको मौलिकता हराएको छ।
गाउँ, गाउँजस्तो देखिन छाडेको छ।
सहरको आफ्नै महत्व हुन्छ। सहरी सुखसुविधाका आफ्नै महत्व हुन्छन्। त्यो महत्व म नकार्दिनँ। तर गाउँ नै सहर बन्दै जानु राम्रो हो कि होइन, मलाई थाहा छैन।
गाउँले आत्मीयता सहरी औपचारिकतामा हराउँदै जानु राम्रो हो कि होइन, मलाई थाहा छैन।
तामे र दोटोलाई मोबाइल र टेलिभिजनका दृश्यले छोप्दै जानु राम्रो हो कि होइन, त्यो पनि मलाई थाहा छैन।
सामाजिक जीवनयापनको कुरा गर्दा पेसा–व्यवसाय पनि जोडिएर आउँछ।
जति बेला म हुम्लामा थिएँ, हिमाली लामा समुदायका मान्छेको मुख्य पेसा भेडापालन, बाख्रापालन र कृषि थियो। हाम्रै गाउँका सबैजसो परिवार पशुपालन र कृषिमा निर्भर थिए। दाजुभाइहरू मिलेर खेती गर्थे, भेडाबाख्रा पनि मिलेरै पाल्थे।
भेडा–बाख्रा पाल्नेहरू ६ महिना लेकमा बस्नुपर्थ्यो। हरेकचोटि परिवारका एक जना भाइ भेडाबाख्रा लिएर लेकमा जान्थे र तिब्बतबाट नुन ओसार्थे। त्यसपछि अर्को भाइ नुन साट्न औलतिर झर्थे। अर्कोचोटि लेकमा जाने र नुन ओसार्ने पालो अर्को भाइको हुन्थ्यो भने नुन साट्न औलतिर झर्ने अर्को भाइ हुन्थे।
दाजुभाइ आलोपालो गरी भेडाबाख्रा चराउने, नुन ओसार्ने र नुन साट्न जाने परम्पराले परिवारलाई सधैं एकढिक्का राख्थ्यो। यसबाट आर्जन भएको धन एकै ठाउँमा जम्मा हुन्थ्यो। दाजुभाइबीच अंशबन्डा भएर जग्गा–जमिन टुक्राटुक्रा बाँड्न पर्दैन थियो।
स्थानीय बासिन्दाले हिमालको भौगोलिक अवस्थिति र सीमित भूमिको उपयोगलाई हेरेर जीविकोपार्जन गर्न अपनाएको यस्तो रणनीतिले तत्कालीन समयमा गरिबी निवारणको काम त गरेको थियो, तर मान्छेहरू आर्थिक रूपमा स्वतन्त्र र स्वावलम्बी हुन पाएका थिएनन्।
उनीहरू आफ्नो सपना र क्षमता खुम्च्याएर पारिवारिक कृषिकर्ममा लागिरहन बाध्य थिए।
अर्कातिर, खेतीपातीमा मात्र निर्भर हुँदा स्थानीयसँग हातमा पैसा कहिल्यै हुँदैन थियो। हातमा पैसा नभएपछि त्यसले स्थानीयको शिक्षा, स्वास्थ्य लगायतमा असर पार्थ्यो। उनीहरूसँग सपना देख्ने ल्याकत हुन्थेन। सपना देखे पनि पूरा गर्ने हैसियत हुन्थेन। वस्तु विनिमयमा व्यापार चल्ने हुँदा त्यो समय मान्छेहरूको जिन्दगी अभावै अभावमा कट्थ्यो। भात खान खाद्य संस्थानको डिपोमा चामलको लाम लाग्नुपर्ने बाध्यता थियो।
समयसँगै सोचाइ, जीविकोपार्जन र जीवनशैली बदलिँदै गयो।
मैले देख्दादेख्दै विकास निर्माणको सुरूआतले जीविकोपार्जनका अनेक माध्यम खुले। परिवारका सबै सदस्य एकै ठाउँ बसिरहनुपर्ने बाध्यताको अन्त्य भयो। पहिले एकै ठाउँ बसेर बस्तुभाउ र खेतीपाती सम्हाल्ने दाजुभाइहरू आफ्नो सुविधा र रूचिअनुसारका काममा लाग्न थाले। दाजु वैदेशिक रोजगार निम्ति विदेशिए भने भाइले गाउँभन्दा टाढा गएर होटल, पसल लगायत विभिन्न व्यवसायमा हात हाले।
कसैले गाउँमै बसेर कृषि कर्मलाई निरन्तरता दिए भने कोही जडिबुटी व्यापारमा समेत लागे। पढे-लेखेकाहरू जागिरमा पनि आबद्ध छन्। यसले आम्दानीको दायरा फराकिलो भएको छ। स्थानीयलाई आर्थिक स्वतन्त्रताको अनुभूति गराएको छ।
यही आर्थिक स्वतन्त्रता र जीविकोपार्जनमा आएको परिवर्तनले हिमाली जनजाति समाजको पारिवारिक बनोट र वैवाहिक पद्धतिमा परिवर्तन आएको स्थानीय बूढापाका बताउँछन्। जीविकोपार्जनका अनेक माध्यम खुलेपछि दाजुभाइ छुट्टाछुट्टै बस्न थालेको र यसले निजी लोग्ने, स्वास्नी र निजी सम्पति राख्ने प्रचलन सुरू भएको उनीहरूको भनाइ छ।
सिक्काको अर्को पाटो हेर्ने हो भने यो परिवर्तनले केही बेथिति पनि ल्याएको छ।
गाउँका मान्छे बाहिर जाने क्रमले गाउँ सुन्ने हुन थालेको छ। दाजुभाइ छट्टिएर बस्न थालेपछि र सामुदायिक वनको नीतिसँगै चरन अभावले भेडाबाख्रा पाल्ने पेसा हराउँदै गएको छ। पहिलेको कसिलो पारिवारिक सम्बन्ध खुकुलो हुँदै गएको छ। समाजमा बाहिरबाट आएका खसआर्यहरूको दबदबा बढ्दै गएको छ। यस्ता सामाजिक परिवर्तन हिमाली जनजाति समाजको पहिचानका लागि राम्रा संकेत पक्कै होइनन्।
हिमाली भेगको सामाजिक जीवनयापनको कुरा गर्दा तिब्बतसँगको व्यापार सम्बन्धबारे पनि चर्चा गर्नुपर्ने हुन्छ।
मधेसको जीवनमा भारतसँगको सामाजिक तथा आर्थिक सम्बन्धले जति अर्थ राख्छ, त्यति नै अर्थ राख्छ हिमाली भेग र तिब्बतको सम्बन्धले।
म केटाकेटी हुँदा एपी–मी (हजुरआमा–हजुरबुवा) ले तिब्बतसँगको व्यापारको किस्सा सुनाउनुहुन्थ्यो। हामी तिब्बतबाट नुन ल्याउँथ्यौं र नेपालबाट चामल, उवा, गहुँ लगायत अन्न तिब्बत लगेर बिक्री गर्थ्यौं। अहिले भने हामी आफ्ना लागि चाहिने चामल, उवा र गहुँजस्ता अन्न पनि आयात गर्न बाध्य छौं। हाम्रो गम (भकारी) बाट उवा र गहुँको बीउ हराउँदै गएको छ। हामी अन्न उपभोगमा परनिर्भर हुँदै गएका छौं। केही समयअघि चिनियाँ नाका बन्द हुँदा सीमाक्षेत्रमा भोकमरीकै स्थिति उत्पन्न भएको थियो।
हिमाली क्षेत्रको कुरा गर्ने हो भने हाम्रो आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान पुग्दैन। बाँकी समय या त खाद्य संस्थानको डिपो वा तिब्बती बजारको भर पर्नुपर्छ। हामी चामलदेखि मैदा र तेलमा समेत परनिर्भर भएका छौं। आयातीत तेलले हिमाली भेगका रैथाने ओखर, चुली, खम्बु, ढँटेलो लगायतको तेललाई विस्थापित गरेको छ। जबकि, कुनै बेला हिमाली भेगमा पाइने ती तेललाई हाडजोर्नीको औषधिका रूपमा लिइन्थ्यो।
यस्तो जडिबुटीजन्य विशेषता हुँदाहुँदै हामीले आफ्नो रैथाने उत्पादन जोगाएर राख्न सकेनौं। सीमान्त मान्छेका कथा–व्यथा जस्तै सीमान्त क्षेत्रका उत्पादन पनि सीमान्तमै परे।
हिमाली भेगमा पाइने जडिबुटीजन्य उत्पादन लोप हुँदै जानुमा बजारको अभाव एउटा मुख्य कारण हो। पछिल्लो समय हिमाली भेगको यार्चागुम्बा जति अन्तर्राष्ट्रियकरण भएको छ, हिमाली भेगमा पाइने अन्य वनस्पतिले राष्ट्रिय स्तरमा समेत महत्व पाउन सकेका छैनन्।
सरकारले निर्यात प्रवर्द्धन गर्न तुलनात्मक लाभका वस्तु पहिचान गर्ने र तिनको उत्पादन प्रवर्द्धन गर्ने योजना बनाएको वर्षौं बितिसक्यो। हरेक वर्ष अर्थमन्त्रीले घोषणा गर्ने बजेट वक्तव्यमा हामी यस्तै कार्यक्रम सुन्छौं। व्यवहारमा ती कार्यक्रम कसरी खोक्रो नारामा सीमित हुँदैछन् भन्ने हिमाली भेगको अनुभवबाट छर्लंग हुन्छ।
हाडजोर्नीको दुखाइ कम गर्ने तेल मात्र होइन, हामीले सानो छँदा विभिन्न रोगको उपचारमा प्रयोग गर्ने जडिबुटीजन्य औषधिहरू थाहा पाई पाई लोप भएका छन्। पहिले सडक अभावका कारण ती जडिबुटीले बजार पाएनन्। पछि केही ठाउँमा सडक सुविधा पुगे पनि उत्पादनले प्रोत्साहन पाएनन्।
सरकारले कागजमा मात्र होइन, व्यवहारमा समेत स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नीति लिएको भए जडिबुटीमा धनी हिमाली भेगको अवस्था आज अर्कै हुन्थ्यो। जडिबुटी र जडिबुटी प्रशोधन उद्योग स्थापनामा जोड दिएको भए गाउँघरमै रोजगारी सिर्जना हुने थियो। यसले हाम्रो हिमाली भेगको आर्थिक उन्नतिमा ठूलो टेवा पुग्ने थियो। हाम्रो युवा जनशक्तिले अहिलेजस्तो स्वदेशमा काम नपाएर वैदेशिक रोजगारमा जानुपर्ने अवस्था आउने थिएन।
यसबाहेक केही पर्यावरणीय मुद्दा छन्, जसले नेपाल कति बन्यो र कति बिग्रियो भन्ने प्रश्नमा नयाँ आयाम थप्छ भन्ने मलाई लाग्छ।
अचेल हिमाली भेगतिर यात्रा गर्दा मलाई पहिलेजस्तो रमाइलो लाग्दैन। रमाइलोभन्दा बढी दुःख लाग्छ। हुन त बाटोघाटो बनेपछि त्यहाँका मान्छेको जीवन सहज नै भएको छ। तर त्यसले केही विध्वंस पनि ल्याएका छन्।
उदाहरणका लागि, मैले सानो छँदा देख्ने गरेका झरना अचेल पहिलेजस्तो छङछङ झर्दैनन्। हिमालहरू पहिलेभन्दा मैलिएका छन्। नदीहरू धमिलिएका छन्। तालहरू सुक्दै गएका छन्। पानीका मुहान टालिँदै गएका छन्। हिमाली क्षेत्रको बढ्दो तापक्रमले चौंरी, झोपा र झुमाहरू रोगी हुन थालेका छन्। हिउँ पर्ने समयमा हिउँ नपर्दा हिमालहरूले आफ्नो स्वरूप फेरेका छन्।
प्रकृतिमा देखिएका यी परिवर्तन विनाशका संकेत हुन्, जसले हामी हिमाली भेगका जनताको व्यक्तिगत जीवनका साथै समग्र मुलुकलाई नै ठूलो घात गर्नेछ।
यसलाई विचार गरेर हामीले विकास र पर्यावरणबीच सन्तुलन मिलाउनुपर्छ। प्रकृति मासेर गरिने विकासले विनाश निम्त्याएर एकदिन हामी सबैलाई कहालीलाग्दो अवस्थामा पुर्याउँछ भन्ने मनन् गर्नुपर्छ।
आशा गरौं, मुलुक निर्माणको गतिमा मानवीय मूल्यको क्षति हुन नपाओस्! पर्यावरणमा खति नपुगोस्!
र, आर्थिक आँकडामा परिमाणात्मक विकास खोज्ने दौडबाट थामिएर सामाजिक चेतनाले ल्याउने गुणात्मक विकासतर्फ सबैको ध्यान केन्द्रित होस्!
(कुन्साङ लेखक हुन्। उनी मूलतः हिमाली जीवन र त्यहाँका महिलाहरूबारे लेख्छिन्।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)
अंक ९- यस्तो पनि देश! (लेखक- दुर्गा कार्की)
अंक १०- स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन (लेखक- शंकरप्रसाद अधिकारी)
अंक ११- नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार (लेखक- सीके लाल)
अंक १२- काठमाडौं किनाराको देश (लेखक- बिना थिङ)