नेपाल कति बन्यो, कति बिग्रियो- २३
बाजुराको कोल्टी विमानस्थलबाट आर्मीको एउटा फुच्चे हेलिकप्टर आकाशतिर भुरूरूरू उड्छ।
सायद योभन्दा सानो हेलिकप्टर हुन्न होला दुनियाँमा। भँगेरोजस्तो हेलिकप्टर!
यो फुच्चे हेलिकप्टरभित्र चारवटा स-साना सिट छन्। उडिसकेपछि मात्र हेलिकप्टर चालकले यात्रुहरूको गन्ती गरे। उनी र उनका सहचालकसहित सात जना कोचिएर बल्लतल्ल अटेका रहेछन्।
हेलिकप्टर उडिसकेको थियो, प्यासेन्जर झार्न सकिने अवस्था थिएन। सायद चित्त नबुझेझैं उनी अलिकति खिस्स हाँसे अनि अगाडि फर्किएर उडानमा व्यस्त भए।
उनीहरू अगाडिका दुई सिटमा बसेर यो फुच्चे हेलिकप्टरलाई ठुल्ठूला पहाडका कुनाकुना, चुच्चाचुच्चा हिमालका टुप्पाटुप्पासम्म उडाउनमा व्यस्त थिए। पछाडिको दुई जना बस्न मिल्ने सिटमा चाहिँ पाँच जनाबीच एउटा विचित्रको रस्साकस्सी चलिरहेको थियो।
दुई जना मात्र अट्ने पछाडिको सिटमा पाँच जना मानिस कसरी अटाएका थिए होलान् भनेर बुझाउन अलि गाह्रो छ!
पछाडिका दुई सिटमध्ये एउटामा आफ्नो काखमाथि सिकिस्त बच्चो राखेर डाक्टर बसेको थियो। अर्को सिटमा गाढा रातो स्विटर लगाएको एउटा युवक। यो युवकतर्फ डाक्टरले यात्राभरि फर्केर हेरेन।
कस्तो थियो? कत्रो थियो? को थियो? केही सम्झना छैन उसलाई। तर उसको गाढा रातो स्विटर नहेर्दा पनि आँखाका कुना कुनाबाट झिलिमिली बत्ती बलेझैं देखिन्थ्यो।
गाढा रातो रङ, जिरे खुर्सानीजस्तो अनि रातो स्विटरमुनिको काखीबाट आएको बासना चाहिँ जिरे खुर्सानीभन्दा पनि पिरो। त्यसैले पनि डाक्टरले उसलाई नहेरेरै उसको उपस्थितिको पिरोपन महसुस गरिरहेको थियो।
यो खुर्सानीवाला युवक र डाक्टरको बीचमा अर्को एउटा युवक पनि अटेको थियो। ऊ चाहिँ बहुत सिन्के थियो, दुब्लो। दुब्लोपनको प्रतिस्पर्धा हुँदो हो त यो मान्छेले नेपालका लागि पहिलो ओलम्पिक गोल्ड मेडल ल्याउने कुरामा कुनै शंका थिएन। त्यसैले त होला, जहाँ अट्ने कुनै ठाउँ नै थिएन, त्यहाँ पनि ऊ अटेको थियो।
अघि पाइलटले गन्ती गर्दा उसकै शरीर हेरेर 'यस्ता त दुई-चार वटा अरू नि बोक्छ यो हेलिकप्टरले' भनेको हुनुपर्छ मनमनै!
यो फिस्टेजस्तो मान्छे अटेको मात्र होइन, उसले आफ्ना दुई मसिना हातमा दुईवटा सलाइनका बोतल पनि बोक्न भ्याएको थियो। उसले बोकेका सलाइनका दुवै बोतल आधाआधा भरि हुँदा हुन्! रित्तिन आत्तिरहेका दुवै सलाइनका बोतलभित्रका ग्लुकोजका थोपा आ-आफ्ना गन्तव्यतिर कुदिरहेका थिए सायद! फुच्चे हेलिकप्टरको रफ्तारभन्दा पनि तेज!
एउटाको गन्तव्य भर्खरै जन्मेको र जन्मँदै सास रोकिसकेको त्यो बच्चोको नाभिभित्र थियो, जो डाक्टरको काखमा पल्टिएर जीवन–मरणको अर्को कुदाइमा थियो। उसकी आमाको 'गर्भे–संसार' बाट पृथ्वीसम्मको उसको यात्रा सायद अलि लामो भएछ! ऊ अड्किई अड्किई जन्मिनुपरेका कारण उसका मस्तिष्क, मुटु अनि फोक्सोमा बहुत अप्ठ्यारा अप्ठ्यारा समस्या पनि जन्मिएका रहेछन्। त्यसैले त उसलाई सास फेर्न बहुत गाह्रो भइरहेको रहेछ।
अनि कस्तो संयोग, डाक्टर उसका सामु पुग्दै गर्दा उसको पूरै सास बन्द नै भएछ!
डाक्टरले हतार हतार आफ्नो इमर्जेन्सी बाकस खोलेछ। एउटा 'इटी ट्युब' नामक सासनलीको पाइपलाई दुरबिनजस्तै 'लारिन्गोस्कोप' भन्ने औजारले सासनलीमा सास भर्न छिराइदिएछ। अनि 'याम्बु ब्याग' भन्ने सास दिने पम्पले त्यो 'इटी ट्युब' को बाहिरी टुप्पोमा जोडेर निरन्तर उसलाई अक्सिजन दिन थालेछ।
बच्चोले आफैं सास फेरेको छैन। तर डाक्टरले उसलाई कृत्रिम श्वासप्रश्वास दिँदै आफ्नो काखमा राखेको छ। बल्लतल्ल जीवित बनाइराखेको छ। यो आफैं सास नफेरिरहेको बच्चोको गन्तव्य अस्पतालको एनआइसियू हो, जहाँ कृत्रिम सास दिने मेसिन (भेन्टिलेटर) उसको प्रतीक्षामा छ।
अर्को सलाइनको बोतलका थोपा चाहिँ हेलिकप्टरको भुइँसम्म पुग्छन्। भुइँ? हो भुइँ! किनकि सास फेर्न छाडिसकेको बच्चो जस्तै जस्तै अलिकति मात्र सास बचेकी त्यो बच्चोकी आमा हेलिकप्टरको भुइँमा लडेकी छन्। अनि सलाइनको सुइरोलाई भुइँमा लडेकी यी सुत्केरी आमाको हातको नसामा ठेलिएको छ। उनी हेलिकप्टरको भुइँमा मात्र होइन, हेलिकप्टरको पछाडि डाक्टर अरू दुई जना बसेको कुर्सीमुनि छिन्। बुझ्नुभो?
अगाडि भनेझैं, यो हेलिकप्टरमा कोच्चिई कोच्चिई गरिएको यात्रा बुझाउन गाह्रो छ। तर हरेक नेपालीले बुझ्नुपर्छ। हरेक कर्णालीवासीले त झन् बुझ्नैपर्छ। यहाँ जीवन यसरी नै कोच्चिएर बाँच्न संघर्षरत हुन्छ।
अर्को तरिकाले हेरौं है, यी आमालाई।
पछाडि डाक्टर, त्यो फिस्टे मानिस र रातो स्विटरवाला खुर्सानी मान्छे जुन कुर्सीमा एकअर्कालाई ठेल्दै बसेका छन्, त्यो कुर्सीका छवटा खुट्टा छन्। तिनै कुर्सीका छवटा खुट्टामुनिको बीचमा एउटा मान्छे पल्टेर अट्न सक्ने गुफाको प्वालजस्तो ठाउँ बनेको छ। हो, त्यही ठाउँमा यी बिरामी सुत्केरी महिलालाई घुसारेर राखिएको छ।
अब बुझ्नुभो?
हो, कर्णालीमा हेलिकप्टरले पछाडिको बस्ने कुर्सीमुनि सुताएर सिकिस्त सुत्केरी महिला बोक्न थालेको उहिल्यैदेखि हो। अनि अहिलेसम्म सयौंले सफल-असफल यात्रा गरिसकेका पनि छन्। आज डाक्टरको कर्ममा फेरि एउटा यस्तै काम जुरेको थियो।
डाक्टर बसेको, त्यो खुर्सानी स्विटर लगाएर बसेको अनि त्यो अर्को फिस्टे मान्छेले अलिअलि आफ्ना सुकेका चाकले बस्न बस्न लागेको कुर्सीमुनि लडिरहेकी सुत्केरीले अचानक एउटा आवाज निकालिन्।
'हरे! हेलिकप्टरमा मर्नु लेखेको रैच, मेरो त प्राण फुत्केलाझैं भा छ! बच्चो जिम्दै छ कि के छ? चाइँचुइँ केही गर्दैन त? किन रोएको पनि सुनिनँ हँ?' उनले यति शब्द निकाल्न करिब पाँच मिनेट लगाइन् होला।
त्यसपछि उनी यी शब्दलाई निरन्तर जप्न थालिन्। मानौं, मन्त्रपाठ गरिरहेकी छन्। हरेकपटक शब्द उच्चारण अलि मधुरो र ढिलोढिलो हुँदै थियो। अब डाक्टरलाई उनको मन्त्रपाठको क्रम तुरून्त रोक्नु थियो। उनलाई रोक्न डाक्टरले आफ्नो शरीर पूरै बटार्यो। टाउको चुँडाउँलाझैं गरेर त्यो खुर्सानी स्विटरवालालाई ठेल्दै आफ्नो अनुहार सुत्केरीको अनुहारसम्मै पुर्यायो। अनि उसले आफ्नो जीवनको सबभन्दा ठूलो झूट प्याच्च बोल्यो —
'बैनी! म तिमीहरूलाई लिन आको डाक्टर हो। तिमीहरूलाई ठीक पार्ने सबै दबाई लिएर आएको छु। मैले बच्चोलाई अहिले निदाउने सुई दिएको छु। त्यसैले ऊ मस्त सुतेको छ। तिमी चिन्ता नगर बा! उसलाई ठीक भइसक्यो। तिमी बस् आराम गर। तिम्रो औषधि पनि गइरहेको छ। म छु नि। ढुक्क हुनू, तिमीलाई नि केही हुँदैन। तिमी र तिम्रो बच्चो दुवै मर्दैनौ। पक्का मर्दैनौ।'
डाक्टरका शब्द सकिए।
तैपनि उनीहरू दुईका आँखा अझै जुधिरहेका थिए। केही सेकेन्ड अरू जुधिरहे।
डाक्टरका शब्द अनि उसको नजरको बलियो आडले उनको आत्मालाई बैसाखी टेकाएको हुनुपर्छ।
उनले एकपटक लामो सास लिइन् अनि आँखा चिम्म गरिन्।
डाक्टर पूरै शरीर तन्काएर बहुत मुस्किल मुस्किलले उनीसँग संवाद गरिरहेको थियो। फेरि यसरी शरीर तन्काउँदा उसको नाक खुर्सानी स्विटरवालाको काखीमै पर्थ्यो। अनि त्यहाँबाट उड्ने खुर्सानीको बास्नाले बेहोसी ग्यासको काम गर्दै थियो। आँखा चिम्म भएपछि डाक्टरले अन्तिमपटक ती आमाको अनुहार हेर्यो। उसलाई त्यो अनुहार खोइ किन हो, देखे देखेझैं लाग्यो। हजारौंपटक देखेझैं लाग्यो।
डाक्टरले त्यो अनुहारमा आफ्नी आमाको अनुहार देखेको थियो। डाक्टरकी आमाले पनि कर्णालीकै भीरपाखामा ४०/५० वर्षपहिले चार जना बच्चाबच्ची जन्माउन भ्याएकी थिइन्।
हेलिकप्टर हिमालहरूको काखकाख हुँदै उड्यो। लेकको टाउको टाउको माथिमाथि उड्यो, कर्णााली नदीको बगरबगर उड्यो। अनि अन्त्यमा अलि स-साना पहाड कटेर कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालको ढोका ढकढक्याउन पुग्यो।
यो त्यही अस्पताल थियो, जहाँ डाक्टरले आफ्नो पहिलो डाक्टरी सिकेको थियो।
हेलिकप्टरको ढोका खुल्यो। एकएक गर्दै फुत्तफुत्त डाक्टरको सिटका मानिस बाहिर हाम फाले। बाहिर पुग्नेबित्तिकै उनीहरूले हतारहतार एउटा स्ट्रेचर (बिरामी बोक्ने खाट) मा आमालाई काठको मुढा ट्रकबाट लडाएझैं बाहिर निकाले।
डाक्टर अन्तिममा निस्कियो। नजिकै बिरामी लिन आएका अर्का डाक्टरलाई आफ्नो हातको बच्चो बहुत बिस्तारै हस्तान्तरण गर्न खोज्यो। डाक्टरले अन्तिमपटक त्यो पर स्ट्रेचरमा लडिरहेकी सुत्केरीतिर नजर घुमायो। उसले देख्यो, उनी त एकोहोरो डाक्टरतिरै हेरिरहेकी रहिछन्। होइन, डाक्टरतिर होइन, सायद डाक्टरको काखतिर!
स्ट्रेचरमा लडिरहेको उनको शरीरको आत्मा डाक्टरको काखमा लडिरहेको उनको नवजात बच्चोमा थियो।
'दाइ नमस्कार! म चिन्छु नि हजुरलाई। हजुर त हाम्रो मेडिकल कलेजको लेजेन्ड हो नि,' त्यो बच्चो लिन आएको डाक्टरका मीठा शब्दहरूको ध्वनि एकछिन हेलिकप्टरको भटटटसँग मिसियो। अनि ककटेल भएर डाक्टरका कानभित्र घुस्यो।
जवाफ के दिनु दिनु?
उसले सांकेतिक धन्यवाद मात्र भन्न फिस्स हाँस्यो अनि आएकै बाटो फर्कन हेलिकप्टरतिर लम्कियो।
'यो बिरामीहरूको बारेमा मलाई अपडेट गर्नू ल, भाइ?'
हेलिकप्टरनिर पुग्दा उसले आफ्नो टाउको एकपटक पछाडि मोड्यो अनि बिदाइको अन्तिम शब्द निकाल्यो।
भाइ डाक्टरले सुनेनन् कि भनेर एकपटक अलिकति जोडले दोहोर्यायो पनि। हेलिकप्टरका पंखा बहुत जोडजोडले फिरफिर गर्दै थिए। यी पंखाको हल्लाबीच उसले आफ्नो अन्तिम शब्द सुनेन होला भनेर डाक्टर निराश हुँदै हेलिकप्टरभित्र बस्यो।
अघि कोचिएर बसेका पाँच जनामध्ये अहिले ऊ पछाडिको सिटमा एक्लै थियो। उसले यताउता हेर्यो। दंग पर्यो। अघिसम्म यो सानो ठाउँमा पाँच जना मानिस कसरी अटेका थिए? उसले एकछिन त विश्वास पनि गरेन। अब पाइलट, सहपाइलट र डाक्टर गफ गर्दै त्यो दिनको अन्तिम गन्तव्य सुर्खेतको विमानस्थलतिर फर्किए।
केही दिनपछि, सायद केही सातापछि होला, डाक्टरको फोनमा एउटा नचिनेको नम्बर बज्यो!
'दाइ चिन्नुभो? म प्रभात के! अस्तिन कोहलपुरमा हजुरले हेलिकप्टरमा रेस्क्यू गरेका बिरामी रिसिभ गर्न आएको थिएँ नि? आज बच्चा र आमा दुवै ठीक भएर डिस्चार्ज भए है। त्यही खबर गरौं भनेर कल गरेको। सुर्खेत आएँ भने भेट्न आउँछु, दाइ। धन्यवाद।'
'ए ए गजब! अनि डाक्साब हजुरहरूलाई पनि बहुत बहुत धन्यवाद!'
यताबाट यति मात्र भनेपछि गफ टुंगियो। फोनको सन्देश सुनेर डाक्टरको मन हलुंगो भयो। उड्यो।
त्यही हेलिकप्टरझैं, भुरूरूरू!
...
माथिको अंश मैले आफ्नो किताब 'शून्यको मूल्य' बाट लिएको हुँ।
आफ्नै किताबको अंश किन राख्यो भनेर तपाईंहरूको मनमा प्रश्न उठ्यो होला।
'नेपाल कति बन्यो, कति बिग्रियो' भन्नेबारे सेतोपाटीले सुरू गरेको शृंखलाअन्तर्गत यो लेख लेख्दा मुलुकको मौजुदा अवस्था दर्शाउन योभन्दा ज्वलन्त अर्को घटना मेरो दिमागमा आएन।
हुन त माथिको घटनाले कर्णाली प्रदेशका जनताको भोगाइ दर्शाउँछ। अन्य प्रदेश र जिल्लाका जनताको अवस्था योभन्दा राम्रो होला। तर जबसम्म मुलुकको एउटा जिल्ला वा एउटा गाउँका जनताले पनि यस्तो नियतिबाट मुक्ति पाउँदैनन्, तबसम्म नेपाल बन्यो भनेर हामीले कसरी भन्ने?
जबसम्म यस्ता घटना आजको समाचारबाट हिजोको संस्मरणमा परिणत हुँदैनन्, तबसम्म नेपाल बन्यो भनेर हामीले कसरी मान्ने?
तपाईंहरू सबैलाई म एउटा प्रश्न गर्छु — नेपाल के हो?
के सगरमाथा नेपाल हो? कि चुच्चे नक्सा नेपाल हो?
सिद्धार्थ गौतमको जन्मभूमि नेपाल हो? कि राष्ट्रिय गानले गर्ने बयान नेपाल हो?
लामो समय कर्णालीका दुर्गम भेगमा रन्थनिएपछि मेरो दिमागले यसको आफ्नै परिभाषा बनाएको छ — नेपाल भनेको सबै नेपालीहरूको जीवन हो।
यो परिभाषाअनुसार फुच्चे हेलिकप्टरमा बाजुराबाट कोहलपुर उड्न पाएर बल्लतल्ल ज्यान बचेको बच्चा र उसकी आमा नेपाल हो। त्यही गाउँमा स्वास्थ्य चौकीसम्म पुग्न नपाई गर्भ तुहिएर ज्यान गुमाएकी सुत्केरीको शव पनि नेपाल नै हो।
जीवनमा केही बन्छु भन्ने सपना बोकेर खाली खुट्टा छाना भत्किएको दैलेखको विद्यालय पुग्ने हिक्मत बादी नेपाल हो। जातीय विभेदको पहाडमा चेपिएर ज्यान गुमाएका रूकुमका नवराज बिकको शव पनि नेपाल नै हो।
निर्मला पन्तले पर्खिएको न्याय र सन्दीप लामिछानेले पाएको न्याय-अन्यायको छुट नेपाल हो। बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेहरूमा देखिन लागेको एउटा मिर्मिरे सपना पनि नेपाल नै हो।
यदि नेपाल 'सबै नेपालीहरूको जीवन' हो भने यी सबै जीवनमा विकास भयो कि भएन? उनीहरूले हिजोदेखि आजसम्ममा परिवर्तनको अनुभूति गरे कि गरेनन्? हिजो जुन दुःखको भूमरीमा उनीहरू थिए, आज त्यो भूमरीबाट छुट्कारा पाए कि पाएनन्?
देश बन्यो कि बनेन भन्ने बृहत् बहसको अन्तर्य यिनै साना साना प्रश्नमा निहित छ र हुनुपर्छ। किनभने, देश र समाजलाई अगाडि धकेल्ने इञ्जिन भनेको वस्तु विकास होइन, जीवन विकास हो भन्ने मलाई लाग्छ।
जीवन विकासको कुरा गर्दा मानव विकासका तीन प्रमुख आयाम — शिक्षा, स्वास्थ्य र आमनागरिकको जीवनस्तर — मा आएको परिवर्तन महत्त्वपूर्ण हुन्छ। यी तीन क्षेत्रमा हासिल परिवर्तनले नै नेपाल बन्यो कि बनेन वा कति बन्यो भन्ने मापन गर्छ।
एकचोटि कालिकोटको पचाल झरना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न जाँदा म झसंग भएको थिएँ। यसको कारण त्यहाँको भौतिक विकासको दुरावस्था देखेर होइन। म झसंग हुनुको कारण शिविरमा बिरामी जाँच्दै गर्दा भेटिएका स्थानीय बासिन्दालाई देखेर थियो।
गाउँमा त्यस्ता मानिस मात्र बाँकी थिए, जो रोगले थलिएका छन् र उमेरले गल्दै गएका छन्।
त्यो गाउँ आफैंमा पर्यटकीय सम्भावनाले भरिपूर्ण थियो। कैलाश पर्वतको पवित्र हिमरस बोकेर कुदेको मनमोहक कर्णालीनजिकै एसियाकै दोस्रो ठूलो पचाल झरना आकाशबाट विशाल गर्जन गर्दै धर्तीमा हाम्फालेजस्तो देखिन्थ्यो। वरपरका अन्य दृश्य पनि कम्ता चित्ताकर्षक थिएनन्।
पर्यटकीय सम्भावना मात्र उपयोग गर्न सकेको भए त्यो गाउँलाई विदेशी मुद्रा आर्जनको एउटा स्रोतका रूपमा विकास गर्न सकिन्थ्यो। स्थानीय बासिन्दाहरू आफ्नै गाउँमा स्वावलम्बी भएर बसेका हुन्थे। तर त्यस्तो हुन सकेन। न त्यहाँको पर्यटकीय सम्भावना उपयोगमा आयो, न गाउँलेहरूले स्वरोजगारको कुनै अवसर पाए।
अनि त रोगी, वृद्ध, केटाकेटी र शारीरिक रूपले अपांगता भएका व्यक्तिहरूलाई गाउँ रूँग्न छाडेर अधिकांश युवाहरू रोजगार निम्ति बिदेसिन बाध्य भए।
सम्भावनै सम्भावना बोकेको एउटा गाउँका जनताले सम्भावनाहरू मर्दै गएपछि हातमुख जोर्ने बाटो खोज्न बिदेसिनुपर्यो!
यो कालिकोटको एउटा गाउँको कथा मात्र होइन, देशभरका सबै गाउँ आज यस्तै नियति भोगिरहेका छन्। यो नियति परिवर्तन नभएसम्म र सबै जनताले आफ्नै गाउँठाउँमा स्वावलम्बी भएर बाँच्ने उपाय नदेखेसम्म देश बन्यो भनेर कसरी भन्ने?
आजको यो नियतिले भोलिको हाम्रो अवस्था पनि चित्रण गर्छ। मैले स्वास्थ्य शिविरहरूमा भेटेका केटाकेटीलाई 'ठूलो भएपछि के बन्ने' भनेर सोधेको थिएँ। अधिकांशको एउटै जवाफ थियो, 'काम गर्न विदेश जाने, बाजस्तै!'
यसले के देखाउँछ भने, हामीले ती कलिला केटाकेटीको मस्तिष्कमा स्वदेशमै बसेर पनि उन्नति गर्न सकिन्छ भन्ने आशा भर्न सकेका छैनौं। विदेश जान उठेका उनीहरूका पाइलालाई स्वदेशमै बाँधेर राख्न सकेका छैनौं। जबसम्म भोलिका पुस्ताले नेपालमै बसेर केही गर्ने वातावरण देख्दैनन्, तबसम्म नेपाल बन्यो भनेर कसरी भन्ने?
हुन त पछिल्ला तीस वर्षमा हामीले मानव विकासको एउटा मुख्य क्षेत्र शिक्षामा ठूलो फड्को मारेका छौं। सरकारी र निजी विद्यालय, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय र सीपमूलक तालिम केन्द्रहरू बढेका छन्। देशको बढ्दो साक्षरता दर हेर्दा ती शैक्षिक संस्थाहरूको प्रयोग पनि बढेकै देखिन्छ। केटाहरूमा मात्र होइन, केटीहरूमा पनि साक्षरता बढेको छ। पढाइलाई निरन्तरता दिने क्रम सुधारिएको छ। यति हुँदाहुँदा हाम्रा शैक्षिक संस्थाहरूबाट उत्पादन भएको जनशक्ति स्वदेशमै बस्न नचाहनुको रहस्य के होला?
जबसम्म हामीले उत्पादन गरेको जनशक्ति स्वदेशमा बस्न चाहँदैन र जसरी हुन्छ विदेश जान खुट्टा उचाल्छ, तबसम्म हामीले शैक्षिक क्षेत्रमा तरक्की गरेका छौं भनेर खुसी मान्ने आधार के?
त्यसो भए समस्या कहाँ छ त? विकासको यात्रामा हामीले कहाँ आएर बाटो बिरायौं?
यो लेखमा म शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित रहेर नेपालको विकासबारे चर्चा गर्दैछु।
सबभन्दा पहिला शिक्षामा लगानी प्रतिफलको कुरा गरौं।
'शून्यको मूल्य' किताबमा मैले मानव पुँजीमा लगानीको फिर्ता दरसम्बन्धी एउटा ग्राफ राखेको थिएँ। नोबेल पुरस्कार विजेता जेम्स हेक्मेनले गहिरो अध्ययन गरेर तयार पारेको उक्त ग्राफले नेपालको शिक्षा र सिकाइमा छुटेका पक्ष चित्रण गर्छ।
ग्राफले देखाउँछ — मानव विकासमा गरिने लगानीको फिर्ता दर सबभन्दा बढी महिलाको गर्भावस्थामा हुन्छ। अर्थात्, आमाहरूमाथि गरिने लगानीको फिर्ता दर तुलनात्मक रूपले अरूभन्दा बढी पाइएको छ।
त्यस्तै, विश्वविद्यालयमा गरिने लगानी वा बढी उमेरका व्यक्तिहरूको रोजगारी वा प्रशिक्षणमा गरिने लगानीभन्दा स-साना प्राथमिक विद्यालयहरूमा गरिने लगानीको प्रतिफल धेरै हुन्छ। नेपालमा वैदेशिक रोजगारीमा जानेहरूका लागि अंग्रेजी, कोरियन, जापानिज लगायत विदेशी भाषा सिकाउने केन्द्रहरूमा लगानी उच्च छ। जबकि, देशले यसबाट प्राप्त गर्ने प्रतिफल एकदमै कम हुन्छ।
हामीले लगानी र प्रतिफलको अनुपात दाँजेर हेर्ने हो भने प्रतिफल धेरै दिने क्षेत्रमा कम लगानी भइरहेको देखिन्छ। करिब ६०-७० प्रतिशत गाउँले बनेको नेपालमा प्राथमिक तहका विद्यालयहरूको भौतिक र शैक्षिक अवस्था यति दयनीय छ, ती विद्यालयको आँगनमा पुग्दा म धेरैपटक मन थाम्न नसकेर रोएको छु।
गाउँको त कुरै छाडौं, सहरका प्राथमिक विद्यालयसमेत साधनस्रोत, शिक्षक र सिकाइको पूर्णताबिना चलिरहेका छन्। स-साना केटाकेटीमा शिक्षाको जग बसाल्नुपर्ने यी प्राथमिक विद्यालयहरू साँचो अर्थमा देश विकासका आधारशिला हुन्। यस्ता आधारभूत शैक्षिक संस्था बलियो नभएसम्म माथिल्लो तहका विद्यालय र विश्वविद्यालयमा जति लगानी गरे पनि आशातीत दक्ष जनशक्ति उत्पादन हुन सक्छ भन्ने हामी कल्पना गर्न सक्दैनौं।
तर व्यवहारमा हेर्ने हो भने हाम्रो प्राथमिक शिक्षाको स्थिति यति रूग्ण छ, त्यसले समग्र विकासको जग कमजोर बनाएको छ।
जग नै कमजोर भएपछि त्यसबाट धेरै अपेक्षा कसरी राख्न सक्छौं?
वैज्ञानिक अध्ययनले मान्छेको मन-मस्तिष्क चलाउने इञ्जिनहरूमध्ये सात वर्ष उमेरसम्म करिब ८० प्रतिशत र १४ वर्ष उमेरसम्म लगभग पूर्ण विकास हुन्छ भन्ने पुष्टि गरेको छ। यसमा सिर्जनाको इञ्जिन पनि पर्छ।
भन्नुको मतलब, मान्छेले व्यापार-व्यवसाय, जागिर, कला, साहित्य, संगीत, राजनीति, ज्ञान-विज्ञान लगायत क्षेत्रमा जीवनभर प्रयोग गर्ने मन-मस्तिष्कको अधिकांश इञ्जिन उसको बाल्यकालमै बनिसकेको हुन्छ। त्यो इञ्जिन बलियो र चुस्त बनाउने प्राथमिक शिक्षाले हो। सानो उमेरमा कस्तो शिक्षा पायो भन्नेले नै मान्छेको सिर्जनात्मक क्षमता, बौद्धिक विकास र व्यावहारिक धरातल निर्धारण गर्छ।
यति मात्र होइन, मान्छेको मन-मस्तिष्कमा मानवीय र सामाजिक मूल्य-मान्यता भर्ने पनि यही उमेरको सिकाइले हो।
प्राथमिक शिक्षा राम्रो नभएसम्म हामी भविष्यमा दक्ष जनशक्ति उत्पादन हुने कल्पना गर्न सक्दैनौं। माथिल्लो तहका विद्यालय वा विश्वविद्यालयमा जतिसुकै धेरै लगानी गरे पनि तल्लो तहको शिक्षा कमजोर भयो भने त्यसबाट अपेक्षित प्रतिफल हासिल हुनै सक्दैन।
त्यसैले देश बनाउने हो भने गर्भवती आमाहरूको सुस्वास्थ्य र प्राथमिक शिक्षाको स्तरोन्नतिमा सबभन्दा पहिला ध्यान दिनुपर्छ।
तर हाम्रा प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी प्रतिनिधिहरू र राजनीतिक नेताहरूको भनाइ सुन्ने हो भने उनीहरू अझै पनि यसमा गम्भीर देखिँदैनन्। उनीहरू बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्किन बारम्बार आग्रह गर्छन्, तर स्वदेशमै रहेकाहरूलाई यहीँ बस्ने वातावरण मिलाउन र प्राथमिक शिक्षा बलियो बनाउनेतर्फ सिन्को भाँच्दैनन्। यसबाट हाम्रा राजनीतिक नेताहरूले समस्याको गहिराइ बुझेका छैनन् भन्ने देखिन्छ।
उनीहरू समस्याको गहिराइसम्म पुगेका भए बिदेसिएकाहरूलाई स्वदेश फर्किन आह्वान गर्नुको साटो प्राथमिक शिक्षामा लगानी बढाउनेतर्फ केन्द्रित हुन्थे, ताकि आजको १०-२० वर्षपछि बिदेसिनसक्ने व्यक्तिहरूले सानै उमेरमा बलियो शिक्षा पाऊन् र स्वदेशमै बसेर रोजगार वा उद्यम गर्ने वातावरण बनोस्!
अब कुरा गरौं, स्वास्थ्य सेवाको।
पछिल्लो तीस वर्षमा नेपालमा दर्जनौं मेडिकल कलेज र प्रतिष्ठानहरू खुले। हजारौं नेपालीले सेतो कोट भिरे। विदेशलाई समेत पुग्ने गरी नर्स पढाउन र विभिन्न मुलुकमा पठाउन हामी सक्षम भयौं। ठूला निजी अस्पतालहरू त गन्ती नै गर्न नसकिने भयो। यति मात्र होइन, मुटुरोग अस्पताल, क्यान्सर अस्पताल, मिर्गौला अस्पताल लगायतका विशेष अस्पतालहरू खुले। जिल्ला अस्पताल र प्रदेश अस्पतालका भवनहरूले नयाँ उचाइ पनि पाइरहेकै छन्।
यी सबै पूर्वाधार निर्माणबीच एउटा प्रश्नको उत्तर हामीले खोज्न सकेनौं — सामान्य झाडापखाला, निमोनिया, सुत्केरी लगायत गाउँमै उपचार हुनसक्ने अवस्थाका बिरामी पनि किन एम्बुलेन्स र हेलिकप्टर चढेर गाउँबाट सहर वा सदरमुकाम धाउन बाध्य छन्?
आफ्नो करिअरको आठ-दस वर्षमा ठूला सहरका ठूला अस्पतालमा काम गर्दा यो प्रश्नले पटकपटक मेरो मन-मस्तिष्क बिथोल्न आयो। यति सानो प्रश्नमा पनि म हरेकपटक उत्तरविहीन भएँ।
त्यसै क्रममा एकदिन विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनमा मेरो नजर पर्यो, जसमा लेखिएको थियो — नेपालको स्वास्थ्य सेवामा बिरामीहरू एकातिर छन्, ओखती खर्च अर्कोतिर छ।
उक्त प्रतिवेदनले प्राथमिक तहका स्वास्थ्य सेवा केन्द्रहरू बलियो बनाउन सुझाएको थियो। यो भनेको स-साना स्वास्थ्य चौकी र स-साना अस्पतालले दिने सेवा प्रभावकारी र चुस्त बनाउनु हो।
यसका लागि स्वास्थ्य सेवाको नीति-नियम र लगानी प्राथमिक तहबाट सुरू गरिनुपर्ने थियो। तर पछिल्लो तीस वर्षको स्वास्थ्य सेवाको विकासक्रम हेर्ने हो भने यही एउटा काम पनि नभएको देखिन्छ। अनि यही एउटा कामले स्वास्थ्य क्षेत्रमा भएका अरू तमाम काममा व्यावहारिक रूपले ग्रहण लगाइदिएको छ।
संसारभरका स्वास्थ्य विज्ञहरू सहभागी 'अल्मा आटा' सम्मेलनले सरल र वैज्ञानिक स्वास्थ्य सेवा दिन एउटा सिस्टम बनाएको छ, जसलाई 'पिरामिड सिस्टम' भनिन्छ। यो पिरामिड सिस्टममा सबभन्दा तलको ठूलो स्थान प्राथमिक स्वास्थ्य उपचारको हुन्छ। यो भनेको हाम्रो स्वास्थ्य चौकी हो।
त्योभन्दा माथिल्लो स्थान जिल्ला तथा अञ्चल अस्पतालहरूको हुन्छ भने पिरामिडको टुप्पोको सानो हिस्सा सहरका ठूला अस्पतालहरूले लिएको हुन्छ।
सबभन्दा तल्लो भागमा पर्ने स्वास्थ्य चौकीले सबभन्दा धेरै मान्छेलाई सेवा दिनुपर्ने हुँदा समग्र स्वास्थ्य सेवामा यसको स्थान र महत्त्व ठूलो हुन्छ।
यसले मान्छे बिरामी हुँदा सुरूमै उपचार दिन्छ। यो तहको स्वास्थ्य सेवा जति कमजोर भयो, माथिल्लो तहमा उति बढी चाप पर्छ। यो तह बलियो भयो भने ८० प्रतिशत रोग र रोगीहरू माथिल्लो तहसम्म पुग्नुपर्दैन। उपचार अभावले बिरामीको ज्यान जानसक्ने खतरा कम हुन्छ। सरकारी प्राथमिकता निर्धारण गर्दा यो तहको स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्नुपर्छ। यसले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी पनि जोगिन्छ।
प्राथमिक सेवामा जति बढी लगानी भयो, स्थानीय जनताले सानो सानो समस्या पर्दा पनि भेडाबाख्रा बेचेर उपचार निम्ति सहर कुद्नुपर्ने नौबत आउँदैन। शरीर स्वस्थ राख्ने लडाइँमा आर्थिक रूपले रोगी हुनुपर्दैन। रोगको उपचार गर्दा घरखेत गुमाएर गरिबी भोग्नुपर्दैन।
म यहाँ एउटा उदाहरण दिन चाहन्छु — डोल्पाका एक किसानलाई उच्च रक्तचापको समस्या थियो। मैले स्वास्थ्य चौकीमा काम गर्दा यो कुरा थाहा पाएँ। सुरूमै समस्या पहिचान भएकाले सामान्य औषधिले उनको उपचार भयो। रक्तचाप बल्झिएर अर्को ठूलो स्वास्थ्य समस्या आउन पाएन। उनले घरखेत बेचेर काठमाडौं दौडिनुपरेन।
त्यसैले स्वास्थ्य सेवामा रहेको समस्याको निदान सामान्य छ — ८० प्रतिशत स्वास्थ्य सेवा तल्लो तहको प्राथमिक केन्द्रहरूबाटै दिने हो भने बलियो स्वास्थ्य प्रणाली निर्माण गर्न सकिन्छ।
यसका लागि देशभरका स्वास्थ्य चौकीहरू बलियो हुनुपर्छ। यी भनेका रूखका जराजस्तै हुन्। जसरी जरा मरे भने रूख सुक्छ, त्यसरी नै स्वास्थ्य चौकीहरू राम्रा भएनन् भने मुलुकको समग्र स्वास्थ्य प्रणाली तबाह हुन्छ।
प्राथमिक स्वास्थ्य चौकीहरूले दिने उपचारमा के-के पर्छन् भन्ने पनि लामो समयको व्यावहारिक अध्ययनले प्रस्ट पारेको छ। प्राथमिक तहमा नौवटा सेवाहरू गुणात्मक रूपमा दिइयो भने ८० प्रतिशत रोग गाउँमै निको पार्न सकिन्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ।
ती नौवटा सेवामा बाल प्राथमिक उपचार, महिला प्राथमिक उपचार (गर्भावस्था तथा सुत्केरी व्यवस्था), आपतकालीन प्राथमिक उपचार, आफ्नो ठाउँमा बर्सेनि हुने प्रमुख रोगहरू, आफ्नो ठाउँमा बर्सेनि बढ्ने मौसमी रोगहरू, अत्यावश्यक औषधिहरूको उपलब्धता, खानेपानीको शुद्धता, खानाको शुद्धता र गाउँमा भैपरी आउने स्वास्थ्य सेवाहरू पर्छन्।
हामीले तल्लो तहका स्वास्थ्य चौकीमा यी नौवटा सेवा प्रभावकारी रूपले उपलब्ध गराउने हो भने स्वास्थ्य प्रणाली वा पिरामिडको माथिल्लो तहमा रहेका जिल्ला तथा अञ्चल अस्पताल र सहरका ठूला अस्पतालमा जाने बिरामी २० प्रतिशत मात्र बाँकी रहन्छन्।
अधिकांश विकसित राष्ट्रले यही पिरामिड प्रणाली अवलम्बन गरेर आफ्नो स्वास्थ्य सेवा बलियो बनाएका छन्। हामीले पनि त्यसैको सिको गर्नुपर्छ।
एकपटक म राराबाट शे-फोक्सुन्डो यात्रामा जाँदा बाटोमा हराएको थिएँ। हिमालको बुइ चढेर, बादलहरूसँग सास साटासाट गर्दै, बाटो नै नभएका जंगलहरूमा घाम हेरेर दिशा तय गर्दै र सामान बोकेर तिब्बत जान लागेका घोडाहरूमा लिफ्ट माग्दै मैले यात्रा पूरा गरेँ।
फर्केपछि धेरै साथीहरूले त्यहाँ कसरी जाने भनेर मसँग सुझाव मागे। के-के तयारी गर्ने; कपडा, पानी, टेन्ट के-के लाने; पैसा कति बोक्ने भनेर सोधे।
मेरो एउटै जवाफ थियो, 'यात्रा चट्टानमाथिको पत्थरजस्तै हुनेछ। अरू सबै आफैं सोच्नुहोला, तर जुत्ता चाहिँ ढुंगाजस्तै बलियो होस्।'
नेपालको विकास यात्रा पनि चट्टानमाथिको पत्थरजस्तै थियो, छ र हुनेछ।
त्यसैले विकास बोक्ने जुत्ताहरू ढुंगाजस्तै बलियो हुनुपर्छ। रंगीचंगी वस्त्र र सुनै सुनको आभूषणले विकासको यात्रा चम्किलो त देखिएला, तर दिगो हुने छैन।
(बालरोग विशेषज्ञ डा. नवराज केसीको 'शून्यको मूल्य' किताब प्रकाशित छ।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)
अंक ९- यस्तो पनि देश! (लेखक- दुर्गा कार्की)
अंक १०- स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन (लेखक- शंकरप्रसाद अधिकारी)
अंक ११- नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार (लेखक- सीके लाल)
अंक १२- काठमाडौं किनाराको देश (लेखक- बिना थिङ)
अंक १३- हुम्लामा देखिने नेपाल (लेखक- कुन्साङ)
अंक १४- बौद्धिक इतिहासको कसीमा कहाँ छ नेपाल ?(लेखक- विष्णु सापकोटा)
अंक १५- नेपाली राजनीतिका ६ राम्रा कुरा, ६ विकृति (लेखक- हरि शर्मा)
अंक १६- २००७ सालदेखि अहिलेसम्मको कर्मचारीतन्त्र (लेखक- उमेश मैनाली)
अंक १७- युवाहरूले बदल्दै गरेको कर्मचारीतन्त्र (लेखक- स्मीता पौडेल र नर्बदा घिमिरे)
अंक १८- तीस वर्षमा पनि सडकले छोएन कुनै दलित बस्ती (लेखक- इन्द्र टमटा)
अंक १९- हिजोका दलित, आजका पनि दलित (लेखक- हिरा विश्वकर्मा)
अंक २०- मेरो गाउँ पुम्दीभुम्दीले देखाउने नेपाल (लेखक- खगराज बराल)
अंक २१- विकासै नदेखेर बूढो हुने त होइन नेपाल! (लेखक- अंगराज तिमिल्सिना)
अंक २२- दलितले सरापेको देश (लेखक- मित्र परियार)