म एक उद्यमी र व्यवसायी हुँ। अहिले आइएमई समूहको कार्यकारी अध्यक्ष छु। नेपालकै सबभन्दा ठूलो बैंक ग्लोबल आइएमईको अध्यक्ष पनि हुँ। केही समय अघिदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि छु।
जिन्दगीको एकतिहाइ समय मैले व्यवसायमै व्यतीत गरिसकेँ।
त्यसैले सेतोपाटीले जब मलाई 'नेपाल कति बन्यो, कति बिग्रियो' बहस शृंखलाका लागि लेख लेख्न आग्रह गर्यो, मैले एकपटक फर्केर व्यवसायीकै नजरबाट देशको अवस्था हेर्ने सोचेँ।
सामान्य परिवारबाट आएर व्यवसायी बन्दासम्मको मेरो निजी अनुभवले देश बनेको वा बिग्रेको एउटा झलक दिन सक्छ भन्ने मलाई लाग्छ।
यसो भन्दै गर्दा मलाई हेक्का छ — म एक प्रतिनिधि मात्र हुँ। मेरो जीवनमा आएको बदलावले सबै नेपालीको अवस्था चित्रण गर्दैन। तर मजस्ता प्रतिनिधि नेपालमा धेरै छन्। हाम्रो अनुभवले एक नेपाली व्यवसायी र व्यवसायका लागि विगत तीस-चालीस वर्षको यात्रा कस्तो रह्यो भन्ने पक्कै देखाउन सक्छ। त्यसैले म यो लेखमा बैंकको सामान्य कर्मचारीदेखि व्यावसायिक घरानाको सञ्चालक हुँदासम्मको आफ्नो अनुभव लेख्नेछु।
मेरो जन्म २०२२ सालमा एक निम्न-मध्यमवर्गीय परिवारमा भयो। म पुर्ख्यौली घर बागलुङको अमलाचौरमा जन्मेको हुँ। यो ठाउँ अहिले सदरमुकामबाट मोटरमा एक घन्टामा पुगिन्छ। पहिले एक दिनभर हिँडेपछि मात्र काठमाडौं आउने बस चढ्ने ठाउँसम्म पुगिन्थ्यो।
मैले सेतोपाटीको यही बहस शृंखलाको लेखमा पढेको थिएँ — २०२० सालसम्म प्राथमिक कक्षा पढ्ने उमेर समूहका १४ प्रतिशत बालबालिका मात्र स्कुल जान्थे। २०४० को दशकमा आइपुग्दा यो संख्या ८० प्रतिशत पुग्यो।
त्यही चालीसको दशकमा कलेज पढ्ने उमेरको थिएँ।
त्यो बेला हाम्रो परिवारको जीवन धान्ने एक मात्र स्रोत खेतीकिसानी थियो। त्यसले मात्र ठूलो परिवारका आवश्यकता पूरा गर्न हम्मे पर्थ्यो। बिहान बेलुकाको गर्जो टार्न सबै खटिएर काम गर्नुपर्ने अवस्था थियो।
मलाई खेतीपातीको सबै काम आउँथ्यो। आवश्यकता पूरा गर्न म डोको बुन्ने काम पनि गर्थेँ। मलाई अहिले पनि ताजा सम्झना छ, घरमा चाहिने डोका, नाम्ला लगायत सामग्री बाँसको चोयाबाट आफैं बनाउँथेँ।
म १६ वर्षको हुँदा बुबा बित्नुभयो। म परिवारको जेठो छोरो, मेरा दुई बहिनी र एक भाइ छन्। बुबाको निधन हुँदा भाइ जम्मा सात वर्षको थियो। बुबा नभएपछि स्वाभाविक रूपमा घरको जेठो सन्तान भएकाले मेरो काँधमा जिम्मेवारी र दायित्व बढ्यो।
दुर्गम गाउँको निम्न-मध्यमवर्गीय परिवारको म आफू पढ्नु थियो र भाइबहिनीलाई पनि पढाउनु थियो। आमाको रेखदेख गर्नु थियो, घरव्यवहार पनि चलाउनु थियो।
बुबाको निधन हुँदा मेरो एसएलसी चल्दै थियो। मेरो काका साना विकास कार्यालयमा काम गर्नुहुन्थ्यो। उहाँसँगै गएर त्यही कार्यालयमा बसेर परीक्षा दिने कुरा थियो। त्यही बेला बुबाको निधनको खबर पाएपछि घर फर्किनुपर्यो। तयारी नगरी परीक्षा दिएकाले पहिलोपटक उत्तीर्ण हुन सकिनँ। पछि पूरक परीक्षा दिएर उत्तीर्ण भएँ।
त्यसपछि आफू थप पढ्न र परिवारको खर्च जुटाउन म २०४१ सालतिर काठमाडौं आएँ।
त्यति बेला म दिनभरि हिँडेर, नौ डाँडा भन्ने ठाउँ पुगेर काठमाडौंको बस चढेको थिएँ।
राजधानी सहरमा क्याम्पस पढ्न र बसाइ खर्च जुटाउन सजिलो थिएन। त्यो बेला मेरा मामाहरू काठमाडौंमै हुनुहुन्थ्यो। उहाँहरूको किराना पसल थियो। म उहाँहरूसँगै बसेँ र पसलमा काम गरेँ। केही समयपछि मैले नयाँ काम खोजेँ। पेप्सी कम्पनीमा मेरा एक आफन्त काम गर्नुहुन्थ्यो। उहाँले मलाई त्यहाँ काम गर्ने अवसर जुराइदिनुभयो।
कलेज पढ्दै मैले पेप्सी कम्पनीमा एक वर्षजति काम गरेँ।
त्यसपछि वाणिज्य बैंकले करिब सय जनाका लागि जागिर खुलाएको थाहा पाएँ। मैले सहायक (तेस्रो तह) पदका लागि आवेदन भरेँ र जाँच दिएँ।
यो २०४४ सालतिरको कुरा हो। वाणिज्य बैंकमा मैले आवेदन दिएको तहमा मासिक ५ सय ४५ रूपैयाँ तलब थियो। म पेप्सी कम्पनीमा काम गर्दै सात सय रूपैयाँ तलब पाउँथे। अझै बढाइदिने कुरा पनि भएको थियो। तर बैंकमा नाम निक्लिएपछि अरू धेरै युवालाई जस्तै मलाई पनि त्यो जागिरको भर र सम्मानले तान्यो।
म बैंकको काममा खुब रमाएँ।
मैले बैंकमा काम गर्ने बेला गलैंचा र तयारी पोसाक व्यवसाय खुब फस्टाएको थियो। गलैंचा निर्यात गर्ने व्यापारीहरूका खातामा लाखौं रकम आउँथ्यो। त्यो देखेर मलाई पनि निर्यात व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यही चासोले म ती व्यापारीहरूसँग संगत गर्न थालेँ।
त्यो समय कम्प्युटर हुँदैन थियो। सबै काम हातैले गर्नुपर्थ्यो। म ती व्यापारीहरूको बैंकिङ काम गरिदिन्थेँ। बैंकमा मेरो जिम्मेवारी बाहेकको अतिरिक्त काम गर्न पनि मलाई निकै रूचि लाग्थ्यो। राष्ट्र बैंकमा पठाउनुपर्ने तथ्यांकहरू लगायतका काम थाती हुन्थे। म कार्यालय समयमा आफ्नो काम सकिएपछि ढिलासम्म बसेर ती बाँकी काम भ्याउँथेँ। धेरै सहकर्मी दिउँसो तीन बजे काम सकेर जान्थे। मलाई भने अड्किएका वा थाती रहेका काम पूरा गर्न मन लाग्थ्यो। म त्यही भएर अबेरसम्म बस्थेँ।
मैले जागिर क्रममा संस्थाप्रति जवाफदेही बनेर कडा मेहनत गरेँ। कहिलेकाहीँ साथीहरूले 'यति धेरै काम गरे पनि तलब त सबैको बराबर हो नि' भन्थे। तर म कामलाई तलबसँग मात्र जोड्दिनँ थिएँ। मेरो यही सोचले मेहनत गर्ने बानीलाई निरन्तरता दियो।
यसरी धेरै काम गर्दा धेरै मान्छेहरूसँग सम्पर्क हुन्थ्यो। ढिला हुने काम छिटो हुन्थ्यो। मैले आफ्नो चिनारूको वृत्त फराकिलो बनाउँदै लगेँ।
बैंकको जागिर सुरू भएपछि मेरा भाइबहिनी पनि काठमाडौं आएका थिए। हामीले ठमेलमा एउटा कोल्डस्टोर चलाएका थियौं। त्यसबाट हामी लुक्लासम्म सामान पुर्याउँथ्यौं।
मेरो पहिलो व्यवसाय त्यही थियो।
सानो भए पनि जागिरसँगै आफ्नो व्यवसाय अघि बढाएको थिएँ। व्यवसायप्रतिको त्यही रनाहाले मैले राम्रो चिनजान भएका गलैंचा तथा तयारी पोसाक निर्यातकर्ताहरूसँग मिलेर काम गर्ने सोच बनाएँ।
२०४८ सालमा काकाको छोरा भाइ र मैले कार्गो कम्पनी सुरू गर्यौं। ज्याठामा कार्यालय राख्यौं। त्यो बेला कार्गो व्यवसायमा हात हाल्नु मेरा लागि सानो कुरा थिएन। ठूलो जोखिम मोलेको थिएँ — लगानीका हिसाबले, अनुभवका हिसाबले र त्यसको भविष्यका हिसाबले पनि।
लगानीको कुरा गर्दा हामीले केही रकम आफूले जुटायौं, तर त्यसको सञ्चालन खर्च हाम्रो आम्दानीभन्दा धेरै थियो। अनुभव त केही थिँदै थिएन। त्यसैले एक जना अनुभवी साथीलाई मासिक ६ हजार रूपैयाँ तलब दिएर कर्मचारीका रूपमा राख्यौं। कार्यालयको भाडा पनि ६ हजार रूपैयाँ नै थियो। काम सुरू गरेपछि आउजाउ गर्न सहज होस् भनेर १२/१३ हजार रूपैयाँमा एउटा सेकेन्ड-ह्यान्ड मोपेड किनेका थियौं।
मैले आफ्नो आर्थिक क्षमताभन्दा ठूलो काम आँटेको थिएँ। खर्चसँगै त्यसको व्यवस्थापनको पाटो पनि सहज थिएन। मान्छेहरूलाई रिझाएर काम गर्नुपर्थ्यो। धेरै अनुनय र बिन्तीभाउ गर्नुपर्थ्यो। बैंकमा हुँदा सहज तरिकाले काम गरिदिएकाले धेरै मानिसले गुन सम्झेका थिए। उनीहरू मेरो व्यवहारकै कारण हार्न नसकेर मलाई काम दिन्थे।
मान्छेकहाँ धाउँदै, काम लिँदै बिस्तारै कार्गो व्यवसाय अगाडि बढ्दै गयो। फस्टायो पनि।
शून्यबाट सुरू गरेको व्यवसाय अर्को चरणमा प्रवेश गरेपछि विस्तार गर्नुपर्ने भयो। त्यसका लागि हामीलाई १२ लाख रूपैयाँ आवश्यक पर्यो।
त्यो पैसा जुटाउने माध्यम आफैंले काम गरिरहेको बैंकबाट ऋण लिने थियो। त्यति बेला सहायक तहको कर्मचारीलाई ऋण सुविधा दिइन्थ्यो। मैले कर्जा स्वीकृत गराएर तयार गरिसकेको थिएँ। तर अन्तिममा आएर एक जना शाखा प्रबन्धकले ऋण स्वीकृत भए पनि लिन नपाइने भन्नुभयो।
उहाँले मलाई विकल्प दिनुभयो — कि बैंकको जागिर खाऊ, व्यवसाय नगर; कि राजीनामा दिएर ऋण लैजाऊ।
मलाई निकै संकट पर्यो। त्यो १२ लाख रूपैयाँ मलाई त्यही दिन चाहिएको थियो। दिने प्रतिबद्धता गरेको थिएँ। त्यसलाई जसरी पनि पूरा गर्नुपर्ने थियो।
एकातिर मनपरेको, दुःखले पाएको र अप्ठ्यारो समयमा पनि नछाडेको जागिर। अर्कातिर व्यवसाय विस्तारका लागि पैसा नभई भएको थिएन। जागिर र व्यवसायको दोधारमा अन्ततः मैले जागिरबाट माया मारेँ।
हुन त म व्यवसायमा छिरिसकेकाले केही समयपछि वा कुनै दिन जागिर छाड्थेँ नै होला। तर त्यो बेला नचाहँदा नचाहँदै छाड्नुपर्दा मन साह्रै कुँडियो। व्यवसायमा एक प्रकारको पहिचान बनाउन थालिसके पनि सुरक्षित जागिर छाड्दा कताकता अन्यौल पनि भयो।
तर कुनै काम सुरू गरेपछि त्यो फत्ते हुनैपर्छ, गर्नैपर्छ भन्ने मलाई लाग्छ। म त्यहीअनुसार व्यवसायको यात्रामा अघि बढेँ।
हामी कार्गोबाट अमेरिकामा सामान पठाउँथ्यौं। त्यही सिलसिलामा प्रचारका लागि अमेरिका जानुपर्ने भयो। त्यति बेला अमेरिका जाँदा जापान हुँदै गइन्थ्यो। मेरा आफन्ती र चिनारू दाइहरू जापान बस्नुहुन्थ्यो। जापानको बाटो गरेर अमेरिका जाने कार्यक्रम मिलाएर दाइहरूले बोलाएपछि मैले केही समय जापान बसेर त्यहाँको व्यावसायिक दुनियाँ चियाउने सोचेँ।
दाइहरूले मलाई अरू मान्छेको उदाहरण दिँदै त्यहीँ बस्न भन्नुभयो। हुन पनि जापान गएर फर्किने नेपालीहरू बिरलै हुन्थे। तर मलाई जापान बस्न धेरै रूचि भएन। त्यहाँ मैले गरिरहेको काम पनि चित्तबुझ्दो थिएन। म जापान गइसकेपछि काठमाडौंमा कार्गो अफिस भाइले राम्रोसँग चलाएको थियो। त्यसैबीच भाइले जापान आउँछु भन्यो। केही समय हामी दुई भाइ नै जापान बसेपछि म नेपाल फर्किएँ।
जापानमा बसेर कार्गो र अरू काम गरून्जेल मैले एउटा कुरा महसुस गरेँ — त्यहाँबाट नेपालमा औपचारिक रूपमा पैसा पठाउन गाह्रो छ। हुन्डीबाट पठाउँदा हिनामिना भएको पनि सुनिएको थियो। नेपालमा पैसा पठाउन अनौपचारिक प्रणाली प्रयोग गर्नुपर्ने भएकाले मुस्किल थियो।
यसमा हामीले अवसर देख्यौं।
पैसा पठाउन छुट्टै 'मेकानिजम' बनाउनुपर्छ भन्ने लाग्यो — यस्तो मेकानिजम जसबाट राज्यले विदेशी मुद्रा पाओस् र पठाउनेको परिवारसम्म सहजै पैसा पुगोस्।
जापानबाट फर्केपछि हामीले ठमेलमा एउटा मनी एक्सचेन्ज केन्द्र खोल्यौं। ठमेल प्रवेश गर्ने गेटमै चिटिक्क परेको हाम्रो अफिस थियो। एक दिन त्यहाँ एक जना विदेशी व्यक्ति आएर भिजिटिङ कार्ड छाडेर सम्पर्क गर्न भन्नुभएछ। ती व्यक्ति हुनुहुन्थ्यो, युएई एक्सचेन्जमा काम गर्ने रवि पण्डित। उहाँले नेपालको एजेन्सीसँग मिलेर काम गर्न खोज्नुभएको रहेछ।
पछि हाम्रो कुरा भयो र सहकार्य अघि बढ्यो।
२०५७ सालतिरको कुरा हो। त्यो वर्ष धेरै मान्छे रोजगारीका लागि मलेसिया गएका थिए। उनीहरूले दिनरात खटेर कमाएको पैसा यता पठाइदिनेले हिनामिना गरेको घटना धेरै सुनियो। मलाई त्यो बेलै मनी ट्रान्सफर व्यवसायबारे सोच आएको थियो। तर त्यो समय धेरै गाह्रो थियो। एक हिसाबले असम्भवजस्तै लाग्यो। किनभने, राष्ट्र बैंकले मात्रै विदेशी मुद्राको कारोबार गर्थ्यो। पछि भने वाणिज्य बैंकहरूलाई पनि कारोबार अनुमति दिइयो।
गभर्नर तिलक रावलका पालामा निजी कम्पनीहरूलाई पनि यस्तो कारोबार गर्न दिने निर्णय भयो। त्यति बेला हामीले जापान र मलेसियाका लागि अनुमति लिएका थियौं। तर यो काम निकै गाह्रो थियो।
यस्ता सानाठूला मुस्किल र चुनौतीका बाबजुद २०५७ सालमै हामीले आइएमई रेमिट सञ्चालनमा ल्यायौं।
त्यति बेला सरकारी निकायहरू; राष्ट्र बैंक, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, दूतावास लगायतले निकै सहयोग गरेका थिए। मलेसिया बैंकक दूतावासले हेर्थ्यो। राजदूत लगायत दूतावासको कर्मचारी टिमले निकै सहयोग गर्यो।
सरकारी आड र भर पाएपछि हामीले मलेसियालाई रेमिटको कामका लागि प्रस्ताव राख्यौं। नेपालीसहित अरू धेरै देशका मानिस मलेसियामा ठूलो संख्यामा काम गर्थे। उनीहरूले आफ्नो देशमा पैसा पठाउन औपचारिक र भरपर्दो प्रणाली थिएन। त्यसैले मलेसियालाई पनि एउटा औपचारिक प्रणाली सुरू गर्नुपर्छ भन्ने भइसकेको थियो।
त्यो कामको सिलसिलामा म धेरैपटक मलेसिया गएँ। अहिलेजस्तो सिधा उडान थिएन। काठमाडौंबाट बैंकक जानुपर्थ्यो, त्यहाँबाट मलेसिया। यी तीन गन्तव्यबीच मेरो दौडधूप निकै भयो। अन्ततः मलेसियन सेन्ट्रल बैंकले हामीलाई रेमिटको काम गर्ने अनुमति दियो।
यहाँ नेपाल राष्ट्र बैंकले र उता मलेसियाले दिएको अनुमति मेरो व्यवसायका लागि मात्र होइन, निजी क्षेत्रको दायरा विस्तारका लागि पनि ठूलो निर्णय हो जस्तो मलाई लाग्छ। किनभने, औपचारिक माध्यमबाट रेमिटेन्स ल्याउने पहिलो कदम त्यही बनेको थियो। अझ आइएमई रेमिटका लागि त्यो किन पनि खास भयो भने, मलेसियन सेन्ट्रल बैंकले त्यसको पाँच वर्षसम्म अन्य कुनै पनि कम्पनीलाई यस्तो अनुमति दिएन। उसले आइएमईले गरेका सबै प्रक्रियाहरू हेरेर मात्र नयाँ कम्पनीलाई इजाजत दियो।
औपचारिक प्रणालीबाट रेमिटेन्स भित्र्याउने हाम्रो पहल उदाहरणीय नै बन्यो। अन्य विदेशी निकायहरू; विश्व बैंक, एसियाली विकास बैंकले पनि यो प्रणालीको प्रशंसा गरेका थिए।
पछि वाणिज्य बैंकहरूले पनि रेमिटको काम गर्न थाले। हामीले बैंकहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। यो हाम्रा लागि नयाँ चुनौती थियो। उनीहरूसँग हाम्रो समान प्रतिस्पर्धा थिएन। किनभने, कारोबारका लागि बैंकले बैंकसँगै सम्झौता गरेर काम गर्न सहज हुन्थ्यो। उनीहरूले आफैं डलर ल्याउँथे र आफैं बेच्थे। यो उनीहरूका लागि अतिरिक्त सुविधा थियो। हामीलाई भने डलर ल्याउन र बेच्न त्यही बैंक चाहिन्थ्यो।
यसका बाबजुद हामीले हरेस खाएनौं। आइएमईले राम्रो बजार पकड बनाएकाले आशावादी थियौं। त्यो आशा पूरा गर्न हामीले थप काम गर्नुपर्ने थियो। त्यही चुनौतीले गर्दा पनि हामीलाई अब वित्तीय संस्था पनि खोल्नुपर्छ भन्ने महसुस भयो।
हामीले सुरूमा आइएमई फाइनान्स कम्पनी खोल्यौं। त्यसबाट विदेशी मुद्राको कारोबार भने हुँदैन थियो। त्यसैले पछि बैंक नै खोल्नुपर्छ भन्ने भयो।
केन्द्रीय स्तरको बैंकका लागि लाइसेन्स दिने नियम थिएन। त्यसैले २०६३ सालमा हामी ३२ जना साथी मिलेर वीरगन्जमा प्रधान कार्यालय भएको क्षेत्रीय बैंक 'ग्लोबल बैंक' स्थापनाका लागि निवेदन दियौं। लगत्तै नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरकै वाणिज्य बैंकको इजाजत खुला गर्यो। हामीले त्यही नयाँ व्यवस्था बमोजिम इजाजतका लागि निवेदन दियौं। राष्ट्र बैंककै नीतिअनुसार पाँचवटा वाणिज्य बैंक, दसवटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित २१ वटा वित्तीय संस्थाको संगमपछि अहिले त्यही संस्था ग्लोबल आइएमई बैंक बनेको छ।
काठमाडौंमा बैंक खुलेपछि हामीलाई रेमिटेन्सको काममा धेरै सहज भयो। मनी ट्रान्सफरका लागि आइएमईको ब्रान्ड त स्थापित भइसकेकै थियो।
विदेशमा कमाएको रकम वैधानिक र औपचारिक माध्यमबाट नेपाल ल्याउन सफल संस्थाको नेतृत्वका रूपमा आइएमईलाई सरकारले पटकपटक सम्मानित गरिसकेको छ। त्यस्तै, रेमिटेन्स व्यवसायमध्येबाट सबभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म पुरस्कृत पनि भइसकेको छ।
मनी ट्रान्सफर र बैंकले आफ्नो बाटो समातेपछि म व्यवसाय विविधीकरणतिर लागेँ। म नयाँ र अति आवश्यक विषयमा केन्द्रित रहेर व्यवसाय विस्तार गर्छु। व्यवसाय सुरू गर्नुअघि त्यसको बजार, उपयोगिता र सरकारी नीति-नियमहरू केलाउँछु।
मैले जापानको अनुभवबाट रेमिट कम्पनी सुरू गरेँ। पछि रेमिटेन्सको काममा मलेसिया घुम्दा त्यहाँको 'ग्यान्टिङ हाइल्यान्ड' एकदमै मनपर्यो र त्यसैबाट प्रेरणा लिएर चन्द्रागिरि हिल्स/केबलकार सुरू गरेँ।
मैले नेपालमा पर्यटनको निकै सम्भावना देखेको थिएँ। त्यसैले यसमा विविध काम गर्ने मेरो योजना थियो। मलेसियाबाट फर्केपछि म त्यही योजना सार्थक बनाउनतिर लागेँ। धेरै ठाउँ हेरेपछि हामीले चन्द्रागिरि रोज्यौं।
त्यो बेला यो काम पनि असम्भवजस्तो लागेको थियो। ठाउँ उपयुक्त भए पनि २०/२५ वटा निकायबाट अनुमति लिनुपर्ने थियो। काम नभएर फसिने हो कि भन्ने डर पनि भयो। पछि अरू लगानीकर्ता थपिए। २०७२ को भुइँचालोले केही समय काम सुस्त भयो। तर दुई वर्षमा चन्द्रागिरि हिल्स/केबलकारको काम सकियो।
सञ्चालनमा आइसकेपछि भने धेरैले वन मासेर केबलकार चलाएको आरोप लगाए। तर हामीले सबै काम प्रक्रियाअनुसार अनुमति लिएर गरेका थियौं। अहिले यो काठमाडौंका लागि आकर्षण केन्द्र बनेको छ। हामीले यसलाई पब्लिक कम्पनी बनाएर सेयर निष्कासन पनि गरेका छौं। यहाँ रोजगारी पाउनेमध्ये ६०/७० प्रतिशत स्थानीय छन्। उनीहरू केबलकार स्थापनाले आफू लाभान्वित भएकामा खुसी व्यक्त गर्छन्। एक व्यवसायीका लागि रोजगारी सिर्जना नै सबैभन्दा ठूलो सफलता हो।
हालसालै हामीले नवलपरासीमा मौलाकालिका केबलकार र बुटवलमा लुम्बिनी केबलकार पनि सञ्चालनमा ल्याएका छौं। हरेक प्रदेशमा एउटा केबलकार सञ्चालनमा ल्याउने हाम्रो योजना छ।
आइएमई ग्रुपले देशको प्राथमिकतामा परेको जलविद्युत क्षेत्रमा पनि उल्लेख्य लगानी विस्तार गरेको छ। हिमालयन पावर पार्टनर लिमिटेडमार्फत गैरआवासीय नेपालीसँगको साझेदारीमा २७ मेगावाटको दोर्दी र माउन्टेन इनर्जी लिमिटेडमार्फत ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनामा लगानी छ। दुवै आयोजनाको उत्पादन सुरू भइसकेको छ. त्यस्तै मध्य-कालीगण्डकी र तिप्ल्याङ कालीगण्डकी आयोजना गरी कुल १५२ मेगावाट विद्युत खरिद-बिक्री सम्झौता भई काम अघि बढिसकेको छ।
यसरी हासिल गरेको विश्वास र सफलताले आज आइएमई एक स्थापित कर्पोरेट समूहका रूपमा अघि बढेको छ। हामीले व्यवसायमा विविधीकरण गर्दै लग्यौं। हाल आइएमईसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योगहरू नेपालसहित विश्व बजारमा स्थापित छन्।
यसअर्न्तगत रेमिट, बैंकिङ, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जन क्षेत्रका कम्पनीहरू छन्। आइएमई समूहले २० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। चालीस हजारभन्दा बढीलाई स्वरोजगार बनाएको छ।
उद्योगी-व्यवसायीहरूका लागि कतिपय सरकारी नीति, नियम र कानुन बाधक हुन्छन्। तर मैले व्यवसाय सुरू गरेको समय देश पनि नयाँ र खुला बाटोमा हिँड्दै थियो। व्यापार, व्यवसाय र निजी क्षेत्रलाई बढावा दिने वातावरण सुरू भएको थियो। त्यसैले सरकारी निर्णयहरू व्यवसायीका लागि सहयोगी साबित भए। तिनले व्यवसायलाई र अन्तत: मुलुकलाई नै फाइदा भयो।
मैले आफ्नो व्यावसायिक यात्रामा धेरै परियोजना सञ्चालन गरेँ। एकदमै नयाँ कामहरूमा हात हालेँ। अहिले पनि त्यही गर्दैछु। एक व्यवसायीका रूपमा यति लामो यात्रा तय गरिसकेपछि मैले अनुभव गरेको कुरा के हो भने, सरकारको सहयोगबिना कुनै काम हुन सक्दैन। तर मैले गर्ने व्यवसायले मुलुक र समाजलाई फाइदा पुग्छ, र त्यसले रोजगारी सिर्जना गर्छ भने राज्यले सहयोग गर्छ नै भन्ने मलाई लाग्छ।
मैले पनि कुनै व्यवसाय सुरू गर्दा तीनवटा कुरा हेर्ने गरेको छु।
पहिलो, मैले गरेको व्यवसायले जनतालाई लाभ दिन्छ कि दिँदैन, अर्थात् त्यो काम जनताको आवश्यकता हो कि होइन?
दोस्रो, त्यो राज्यको प्राथमिकतामा पर्छ कि पर्दैन, अर्थात् राज्यलाई त्यसले लाभ दिन्छ कि दिँदैन? राज्यले प्राथमिकता दिएको क्षेत्र नै मेरो प्राथमिकतामा पर्यो।
तेस्रो, यो व्यवसाय आफैंमा व्यावसायिक हुन सक्छ कि सक्दैन?
यी तीन सिद्धान्त पछ्याउँदै अगाडि बढ्दा राज्यले सधैं सहयोगको हात बढाएको मैले पाएको छु। मैले थालेका र गरेका काम सरकारी सहयोगबिना सम्पन्न हुने सम्भावनै थिएन। त्यसैले म आफ्नो व्यक्तिगत अनुभवबाट भन्न सक्छु — मेरो व्यावसायिक यात्रा थालनीको समय, खासगरी २०४६ सालको परिवर्तनपछि समय, उद्यमी तथा व्यवसायीका लागि धेरै खुला र सहज समय हो। राज्यले उनीहरूलाई सहयोग र प्रवर्द्धन गरेको समय हो।
म बेलाबेला अग्रज सहकर्मीहरूको अनुभव सुन्छु। २०४६ सालभन्दा अगाडि सरकार र व्यवसायीबीच सम्बन्ध सुमधुर नभएको उहाँहरू सुनाउनुहुन्छ। त्यति बेला व्यवसाय भनेको परम्परागत रूपमा व्यवसाय गर्नेहरूका लागि मात्र भन्ने थियो। उद्योग-व्यवसाय राज्यको नियन्त्रणमै थियो। २०४६ पछि क्षेत्रमा निजी व्यवसायीहरूको प्रवेश बढ्दै जानु र उनीहरू उकालो चढ्दै जानु आफैंमा नेपाल बन्ने क्रममा रहेको एउटा संकेत हो भन्ने म ठान्छु।
किनभने, आज कुनै पनि मुलुक छैन जसले निजी क्षेत्रको सहभागिताबिना प्रगति गरेको होस्। निजी क्षेत्रलाई संकुचित गरेर वा आर्थिक गतिविधि सरकारको कब्जामा राखेर प्रगति गरेका कुनै मुलुक छैनन्।
मलाई लाग्छ — राजनीतिक परिवर्तनसँगै मुलुकले उदार अर्थतन्त्र आत्मसात गरेपछि हाम्रो आर्थिक चरित्र नै फरक ढंगले अगाडि बढेको छ। आममान्छेका घरमा पनि व्यवसायीहरू जन्मेका छन्। ती आममान्छे विभिन्न देश पुगेका छन्। बाहिरी संसारको विकास, प्रगति र समृद्धि देखेका छन्। त्यसलाई नेपालमा प्रयोग गर्न थालेका छन्। यसले उद्योग-व्यवसायसँगै पूर्वाधारहरू विस्तार हुँदै गएका छन्।
पछिल्लो तीस वर्ष अवधिमा यातायात, पर्यटन, सूचना प्रविधि, बैंकिङ, शिक्षा, स्वास्थ्य लगायत सबैजसो क्षेत्रमा निजी व्यवसायीहरूको अत्यधिक लगानी भएको छ। अहिले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा धेरै पुगिसकेको छ। र, निजी क्षेत्रको योगदानसँगै व्यवसाय गर्ने बाटो पनि सहज भएको छ।
मैले पहिलोपटक व्यवसाय सुरू गर्दा बैंकबाट ऋण लिन कति मुस्किल भएको थियो भन्ने माथि भनिसकेँ। आज त्यो स्थिति छैन। कुनै पनि नयाँ व्यवसाय गर्न चाहनेले बैंकबाट ऋण लिन कठिनाइ भोग्नुपर्दैन। प्रक्रियागत झमेलाहरू बाँकी होलान्, तर नयाँ काम गर्छु वा पुरानोलाई विस्तार गर्छु भनेर बैंकलाई विश्वास दिलाउन सके लगानी जुटाउन पहिलेजस्तो समस्या हुँदैन।
तीस वर्षअघि व्यवसाय गर्न लगानीको खाँचो पर्थ्यो भने अहिले आइडियाको मात्र खाँचो पर्छ भन्ने मलाई लाग्छ। म यो यस कारण भन्दै छु कि 'नवीन आइडिया' मा लगानी गर्न बैंक तथा वित्तीय संस्था मात्र होइन, मजस्ता व्यवसायी पनि तयार भएर बसेका छन्।
हामी व्यवसायीहरू सधैं नयाँ आइडियाको खोजीमा हुन्छौं। हामी आफूले कमाएको पैसा घरमा थुपारेर राख्दैनौं। भौतिक सम्पत्ति मात्र जोड्ने मनसाय कुनै पनि व्यवसायीको हुँदैन। भौतिक सम्पत्तिको पनि एउटा हद हुन्छ। पैसा छ भन्दैमा कोही पनि एकैचोटि दुइटा घरमा बस्दैन। नयाँ-नयाँ गाडी किन्ने क्षमता छ भन्दैमा एकैचोटि दुइटा गाडी कोही चढ्दैन। गाडी फेरिरहन मन लाग्ला, तर कति फेर्ने?
त्यसैले जब व्यवसायीले पैसा कमाउँछ, ऊ त्यो पैसा फेरि बजारमा लगानी गर्छ। नयाँ व्यवसायमा हात हाल्छ। आफूले कमाएको पैसाले थप पैसा सिर्जना गरोस्, त्यसले बढीभन्दा बढीलाई रोजगारी दिन सकियोस् र त्यसबाट कमाएको पैसाले फेरि अर्को काममा हात हालेर थप पैसा कमाउन पाइयोस् भन्ने नै व्यवसायीको ध्येय हुन्छ।
हामी व्यवसायीहरू सधैं नयाँ नयाँ काम गरेर रोजगारी सिर्जना गरिरहन चाहन्छौं, विकासको गति अगाडि बढाइरहन चाहन्छौं र त्यसबाट थप पैसा सिर्जना गरिरहन चाहन्छौं।
यो मेरो मात्र होइन, संसारभरका सबै व्यवसायीको स्वभाव यस्तै हुन्छ। उद्यमशीलता भनेको सायद यही होला!
यही स्वभाव वा उद्यमशीलताले हामी आफ्ना आँखा र कान सधैं चनाखो राख्छौं। बजारमा कहाँ के अवसर सिर्जना भएको छ भन्नेमा हाम्रो ध्यान सधैं केन्द्रित रहन्छ। नयाँ नयाँ आइडिया सोच्न र त्यसलाई कार्यान्वयन गर्नमा हामी सधैं तल्लीन रहन्छौं। विकासको गति अगाडि बढाउने यसैले हो भन्ने मलाई लाग्छ।
पछिल्लो समय सिर्जनात्मक आइडियाहरू नआएका होइनन्, तर मान्छेमा ऊर्जा र मेहनतको कमी देखिन्छ। कसैसँग आइडिया छ, काम गर्ने ऊर्जा छ र मेहनत गर्छु भन्ने विश्वास छ भने उसले आज त्यो समस्या झेल्नुपर्दैन, जुन तीस वर्षअघि व्यवसाय सुरू गर्ने हामीले झेलेका थियौं। नयाँ आइडिया र जोश बोकेर आउनेलाई आज न लगानीको समस्या हुन्छ, न राज्यका नीति-नियमले अवरोध गर्छ।
एकछिनका लागि सोचौं, कुनै पनि व्यवसाय फस्टाउन के के चाहिन्छ? उद्यमीलाई पुँजी जोहो गरिदिने बलियो बैंकिङ प्रणाली चाहिन्छ। सबल पूर्वाधार, बिजुली, सडक, सञ्चार, यातायात र ढुवानी सञ्जाल, खुला बजार, क्रय क्षमता भएका उपभोक्ता, निजी क्षेत्रप्रति उदार राज्य, उदार नीति लगायत आवश्यक पर्छन्। व्यवसाय फस्टाउन आवश्यक यी सबै आधारहरूमा नेपालले प्रगति गरेको छ।
यी सबै क्षेत्र अब्बल छन्, कुनै समस्या छैन भनेको होइन। हरेक क्षेत्रमा समस्या र चुनौती छन्। तर हिजोभन्दा राम्रो भएको छ। र, उद्यमशीलता फस्टाउन चाहिने यी आधारहरू कुनै पनि समाजमा रातारात स्थापित हुने कुरा होइनन्। यस्ता आधारहरू बिस्तारै थपिँदै जान्छन् र त्यसका लागि समय लाग्छ।
म आफैं तीस-चालीस वर्षअघिको संकुचित र असहज माहोलमा शून्यबाट सुरू गरेर यहाँसम्म आइपुग्न सक्छु भने आजको उदार र सहज माहोलमा व्यवसाय सुरू गर्नेहरू कहाँसम्म पुग्न सक्छन् होला? पक्कै पनि उनीहरूका लागि उड्ने आकाश असीमित छ।
त्यसैले उद्योग-व्यवसाय क्षेत्रमा नेपाल धेरै बनेको छ भन्ने मलाई लाग्छ। मैले वा अरू कसैले सोचेजति भएन होला, केही प्रक्रियागत झमेलाले काममा ढिलाइ हुन्छ होला, कहिलेकाहीँ चौतर्फी निराशा देखेर दिक्क लाग्छ होला, तर एकछिन सोचौं त — समस्या कहाँ छैन? झमेला कुन देशमा नहोला? कुन देशका मान्छेले सोचेजति पाएका होलान्?
यसो भन्दै गर्दा सबै राम्रैराम्रो भएको छ भनेर म भन्दिनँ। केही नकारात्मक कुरा पनि छन्।
अहिले उद्योग-व्यवसाय स्थापना, विकास र विस्तारमा सरकारको चासो कम हुँदै गएको छ। केही काम नभएको वा सरकारी अधिकारीहरूलाई जानकारी नै नभएको होइन, तर व्यावसायिक वातावरण सहज बनाउन राज्य जति केन्द्रित हुनुपर्थ्यो, त्यति नभएको मैले पाएको छु।
कुनै पनि मुलुकमा उद्योगी-व्यवसायीले फस्टाउने मौका पाए भने त्यसको प्रत्यक्ष लाभ त्यही मुलुक र त्यही समाजलाई हुन्छ। निजी क्षेत्र बलियो हुँदै जानु भनेको सिंगो समाज नै बलियो हुँदै जानु हो। एक जना व्यवसायीले मजबुत जग बसाल्यो भने समाजका धेरै घरपरिवारलाई जीविका गर्ने बाटो निर्माण हुन्छ। देशका स्रोत-साधनहरू उपयोग हुन्छन्, रोजगारी सिर्जना हुन्छ। एउटाको सफलताले अर्को नयाँ व्यवसायी जन्माउँछ। उसले थप रोजगारी सिर्जना गर्छ। यो क्रम निरन्तर चल्दै जाँदा समग्र अर्थतन्त्र गतिशील हुन्छ। यो विषयमा गम्भीर विमर्श हुनुपर्छ भन्ने मलाई लाग्छ।
त्यस्तै, प्रविधि र सञ्चारमा सहज पहुँचले धेरै क्षेत्रमा सकारात्मक योगदान गरे पनि नकारात्मक सोच फैलाउन उत्तिकै मलजल गरेको छ। विशेषगरी सामाजिक सञ्जालमा हरेक क्रियाकलाप वा विषयलाई नकारात्मक ढंगले प्रचार गर्ने क्रम बढेको छ। विषयको गहनता र त्यस पछाडिको कथा नबुझी सामाजिक सञ्जालको भित्तामा जे आयो, त्यसकै पछाडि कुदेर वितृष्णा ओकल्ने र आलोचना बर्साउने क्रम बढेको देखिन्छ।
यही कारणले उद्योगी-व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूमाथि प्रयोग हुने भाष्य नकारात्मक बन्दै गएको म पाउँछु। व्यवसायीहरू भनेका पैसा मात्र हेर्छन्, नाफा मात्र हेर्छन् भनेर आलोचना गरेको बढी सुनिन्छ। यस्तो भाष्यले उद्यम गर्न चाहने नयाँ पुस्तालाई हतोत्साही बनाउँछ। यो निजी क्षेत्रको विकास र उद्यमशीलता प्रवर्द्धनका लागि राम्रो संकेत पक्कै होइन। उद्योग-व्यवसायबाट प्राप्त कर र राजस्व राज्यको खर्चस्रोत हो भन्ने बोध राज्यका सबै निकायका व्यक्तिलाई महसुस नभएसम्म यो नकारात्मक अवस्था रहिरहन्छ।
विगत तीस वर्षमा नेपालले उद्योग-व्यवसाय क्षेत्रमा जति छलाङ मारेको छ, त्यो हामी सकारात्मक भएर हो। आशावादी भएकाले हो।
नयाँ पुस्ताले यो आशा मर्न दिने छैन र यसलाई नयाँ उचाइमा पुर्याउने छ भन्नेमा पनि म विश्वस्त छु।
***