(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
२७ वर्षीया वसन्ती वली शारीरिक अपांगता भएकी युवती हुन्। शान्तिनगर गाउँपालिका–२ बाघमारेकी वसन्ती तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्नातकोत्तर पढिरहेकी छन्। वसन्तीको सोच र सपना ठूलो छ। उनैसँगको कुराकानी:
कस्तो छ तपाईंलाई? दिनचर्या कसरी बितिरहेको छ?
राम्रै छ। म विद्यार्थी हो। राप्ती बबई क्याम्पसमा स्नातकोत्तर पहिलो सेमेष्टरमा पढ्दै छु। समाजशास्त्रको विद्यार्थी हुँ।
अरू पनि केही काम गर्नुहुन्छ कि?
म चार वर्षदेखि अपांगता भएका व्यक्तिहरूको लागि काम गरिरहेकी छु। अपांग सेवा संघ दाङको सचिव, अपांगता सशक्तीकरण केन्द्र नेपाल दाङको कोषाध्यक्ष, राप्ती बहिरा संघको कार्यक्रम व्यवस्थापक र अपांगता सशक्तीकरण एवं संचार केन्द्र बाँकेको आर्थिक सशक्तीकरण सहजकर्ता पनि हुँ।
ती सबै कामहरू कस्तो चलिहेका छन्?
म दिल दिमागबाटै इमान्दारीका साथ एकदमै मेहनत गर्छु। त्यसैले सबै कुराहरू हालसम्म राम्रैसँग गरिरहेकी छु भन्ने लाग्छ।
तपाईंलाई सबभन्दा बढी के काम गर्न मजा लाग्छ? अनि मनोरञ्जनका लागि के गर्न मन लाग्छ?
मलाई सबैभन्दा बढी समाज सेवा गर्न मन लाग्छ। गरिब, दुःखी र अशक्तहरूलाई सहयोग गर्न मनपर्छ। त्यसमा पनि अपांगता भएका व्यक्तिहरू जहाँ जस्तो अवस्थामा छन् उनीहरूलाई त्यहीँ पुगेर सहयोग गर्न मन लाग्छ।
त्यसबाहेक मलाई मुक्तक लेख्न मनपर्छ। कतै प्रकाशित त भएका छैनन् तर मैले एलएसली पास गरेपछि डायरीमा थुप्रै मुक्तक, कविता र कथाहरू लेखेर राखेकी छु। मलाई नाच्न नि मनपर्छ। म सार्वजनिक समारोहहरूमा पनि नाचेकी छु। गीत गाउनु पनि मेरो खुसी हो। मलाई फिल्म हेर्न पनि मनपर्छ।
पछिल्लो समय कहिले यसरी नाच्ने गाउने गर्नुभएको थियो?
म तुलसीपुरमा चेम्बर अफ कमर्शले लगाएको महोत्सवमा पनि नाचेकी थिएँ। एक्लै हुँदा र नियास्रो मेट्न म गीत गुनगुनाउने, मुक्तक र कविता लेख्ने गर्छु। नाच्न-गाउन मैले स्वअभ्यासले सिकेकी हुँ। मैले तीन वर्षअघि प्रेम गीत–१ हेरेकी थिए।
के खान मनपर्छ?
आमाले बनाएको सामान्य दाल, भात, तरकारी मलाई मनपर्छ। मलाई पिज्जा पनि साह्रै मनपर्छ।
अन्तिमपटक कहिले खानुभएको हो?
मैले तीन वर्ष पहिले पिज्जा खाएकी थिएँ। त्यो मलाई साह्रै मिठो लाग्यो। एउटा संस्थाको कार्यक्रममा सहभागी भएको समयमा मैले पिज्जा खाएकी थिएँ। त्यसयता खाएकी छैन।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ नि?
अहिलेसम्म त मेरो स्वास्थ्य ठिक छ। मलाई केही ठूलो स्वास्थ्य समस्या आइनपरोस् भनेर खानपानमा ध्यान दिन्छु। र भगवानलाई पनि पुकार्छु। मलाई कहिलेकाहीँ भविष्यको चिन्ताले निन्द्रा पटक्कै पर्दैन। मेरो जीवन भोलि के होला, कस्तो होला, कसरी जीवन बिताउने होला भन्ने सोचेर निन्द्रा पटक्कै लाग्दैन। त्यतिखेर मलाई साह्रै गाह्रो महसुस हुन्छ। त्यस्तै समाजमा व्याप्त पुरूषवादी सोचले पनि कहिलेकाहीँ निन्द्रा बिथोल्छ।
परिवारमा को-को हुनुहुन्छ?
हाम्रो परिवारमा आमा रमिता, म र भाइहरू दीपक र तिलक छौं। तिलक मलेसियामा छ। दिदी ललिता र बहिनीहरू सीता, टीका सबैको बिहे भइसकेको छ। बुवा मोहनलाल बित्नुभो।
तपाईंलाई साह्रै चित्त दुखेको कहिले हो? के कुराले हो?
सबैभन्दा चित्त दुखेको बुवा बित्नुहुँदा हो। उहाँ रोजगारीका लागि भारत आउजाउ गरिरहनुहुन्थ्यो। कमाई पनि राम्रो गर्नुहुन्थ्यो। तर पछिल्लो वर्ष अलि बेसी मदिराको अम्मली हुनुभएको थियो। सायद उहाँलाई मेरोबारे धेरै चिन्ता थियो। एक डेढ वर्ष पहिले उहाँले ६० वर्षको उमेरमा आत्महत्या गरेको पल साह्रै रोएकी थिएँ। बाबा हुनुहुन्थ्यो र सजिलो थियो। आज मैले मेहनत गरी जागिरबाट कमाइ घर-व्यवहार हेर्नुपरेको छ।
तपाईंलाई समाज कस्तो लाग्छ? समाजको के कुरा मन पर्छ र के मन पर्दैन?
सुख दुःखमा भेला भई आपसमा नि:स्वार्थ भावले सहयोग गर्ने समाजको कुरा मलाई साह्रै असल लाग्छ।
त्यस्तै, समाजमा अशक्त, दुखी, गरिबलाई हेलाहोचो गर्ने, कुरा काट्ने प्रवृत्ति मनपर्दैन। हामीहरू जस्तालाई हेर्ने दृष्टिकोण झनै फरक छ। नराम्रो गरे अलग कुरा, तर राम्रो गर्दागर्दै पनि कसरी उसले यस्तो गर्न सकी? भनेर कुरा काट्नेहरू देख्दा दिकदार लाग्छ।
तपाईंमाथि त्यस्तै दुर्व्यवहार कहिले भयो कि?
मैले विगतमा त्यस्ता धेरै मुटु छेड्ने पीडा खेपेकी छु। घरबाट आउजाउ गर्न गाह्रो भएपछि एसएलसी दिनका लागि म विद्यालयमा होस्टेल बस्नुपर्यो। त्यतिखेर गाउँका मान्छेले मेरा आमाबालाई 'तिम्रो छोरीले एलएसली पास गरे पनि के गर्न सक्छे र? बेकार त्यसलाई किन पढाउछौं?' भनेर कुरा लगाउँथे। मलाई कतिपय बुज्रुक र अग्रजले ‘साँइली तँ पढेर के गर्छेस्? बेकारमा पढ्न नजा’ भन्दै मनोबल गिराइरहन्थे।
मेरा भाइहरूका साथीले 'तेरो दिदी त ‘बाम पुड्के’ कहिल्यै ठूलो हुँदैन' भन्दा रहेछन्। भाइहरूले घरमा आइ मलाई सुनाउँथे। त्यो ‘बाम पुड्के’ शब्दको सुल अझै मेरो छातीमा गढेको छ। कहिलेकाहीँ घरमा भाइहरूले 'तँ यस्तो जन्मिएकै कारण हामीलाई समाजमा लाज भो, तँ केही काम गर्न पनि सक्दिनस्' भन्थे। अनि मेरो साह्रै मन पोल्थ्यो।
ठिक्क पैसा भए के-के किन्न मन छ तपाईंलाई?
मलाई एउटा स्कुटी किन्न साह्रै मन छ। एक-डेढ वर्ष भयो स्कुटर किन्न चाहेको। तर, त्यो सपना पूरा भएको छैन। चार घण्टा लाग्ने बाटो मलाई एक घण्टामै पार गर्न सकूँ भन्ने लागिरहन्छ। तर स्कुटर किने पनि मेरो हातहरू छोटा र लुज भएर समस्या हुन्छ कि जस्तो पनि लाग्छ।
मसँग पैसा भएको भए अपांगता भएका व्यक्तिका लागि समाज सेवामा केही रकम सहयोग गर्ने थिएँ।
पछिल्लो पटक तपाईं कहिले धेरै खुशी हुनुभएको थियो, सम्झना छ? खुसीको कारण के थियो नि?
म झन्डै चार वर्ष पहिले मेहनतले जागिरबाट पहिलो तलब थापेको दिन साह्रै खुसी भएकी थिएँ। त्यो दिन म भित्र आत्मविश्वास जागृत भएको दिन थियो। जीवन प्रतिको हौसला थपिएको दिन थियो। मैले २०७१ सालमा आफ्नै गाउँ-ठाउँको जनकल्याण माध्यामिक विद्यालय बाघमारेबाट प्लस टु उत्तीर्ण हुँदा पनि औधी खुसी भएकी थिएँ। त्यतिबेला जम्मा पाँच जना मात्रै उत्तीर्ण भएका थियौं।
तपाईंको मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
एकातिर अपांगता भएका बालबालिकालाई हुर्काउन बढाउन वा पालनपोषण गर्न उनीहरूका अभिभावकले जति सास्ती कसैले खेप्नु पर्दैन। दिशा, पिसाब सोहर्नेदेखि सबै अभिभावक आफैले गर्नुपर्छ। अर्कातिर अपांगता भएका बालबालिकाले पाउनुपर्ने जति सुविधा उपभोग गर्न पाइरहेका छैनन्। उनीहरूको जीवन निकै कष्टकर छ। सम्मानित तरिकाले बाँच्न पाउने अधिकार भए पनि उनीहरू त्यसबाट वञ्चित गराइएका छन्। नीति-नियम कापी किताबमा मात्रै सीमित छन्। त्यसको कार्यान्वयन गर्न राज्य लागे धेरै अपांगता भएका व्यक्तिहरूको जीवन सहज बन्ने थियो। घरघरमा मुस्कान थपिने थियो।
तपाईंको अबको सपना के छ?
मेरो अबको सपना भनेको निजामती कर्मचारी बन्ने छ। त्यसैले मैले खुबै मेहनत गरिरहेकी छु। लोकसेवाका किताब पढिरहेकी छु। एक पटक विफल भएँ। तर कत्ति पनि विचलित भएकी छैन। बिहान सँधै साढे तीन बजे उठेर डेढ घण्टा जति अध्ययन गर्छु।
राजनीतिप्रति कत्तिको चासो लाग्छ?
राजनीतिप्रति खासै चासो लाग्दैन।
मनपर्ने नेता को हो?
गगन थापा
गएको चुनावमा कसलाई भोट दिनुभयो?
नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
हेरौं, त्यतिखेर कस्तो अवस्था रहन्छ।
सरकारले के-के काम गरिदियोस् भन्ने लाग्छ?
कक्षा कोठादेखि हरेक ठाउँ अपांगमैत्री संरचना बनाइदिनुपर्छ। मलाई कक्षा कोठामा पुग्न, डेस्क-बेञ्चमा बस्न निकै किठनाई बेहोर्नुपर्दथ्यो। अरूले बेन्चमा बसाउन सहयोग गर्थे, बेन्चबाट झर्दा समेत अरूको सहयोग चाहिन्थ्यो।बस चढ्दा पनि उस्तै सकस हुन्छ। घरमा बस्दा उठ्दा पनि त्यही हो। त्यसैले सबैतिर अपांगमैत्री संरचना बनाइदिए हुन्थ्यो भन्ने लागिरहन्छ।