(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बारा निजगढका २९ वर्षीय रामकुमार आचार्यलाई हामीले भेट्दा उनी फेवातालमा डुंगा चलाउन आफ्नो पालो कुरिरहेका थिए।डुंगा व्यवसायी समितिले पालैपालो डुंगा चलाउन पाइने नियम बनाएकाले उनले आफ्नो पालो कुर्नु परेको हो। डुंगा चढेर फेवाताल घुम्नका लागि यहाँ आउने पर्यटक उनका ग्राहक हुन्।
डुंगाच लाउने पालो पर्खिएका बेला आचार्यसँग गरिएको कुराकानी :
कहिलेदेखि डुंगा चलाउन थाल्नुभयो?
पहिला ८/१० वर्षअघि पनि फेवातालमा डुंगा चलाउँथे। बीचमा ४ वर्ष जति मलेसिया गएँ। मलेसियाबाट फर्किएपछि फेरि डुंगा चलाउन थालेको ३/४ वर्ष भयो।
सुख-दु:ख के छ जिन्दगीमा?
सुख भनेर एकदम सुख पनि छैन। दु:ख पनि धेरै छैन। पिर मानेर बस्नुपर्ने केही छैन। गुजारा चलिराखेको छ। ठिकै छ।
काम कस्तो छ? कमाइ?
भर्खर मान्छे आउन थालेका हुन्। कहिले दिनमै ६/७ ट्रिप डुंगा चलाउन पाइन्छ। कहिले २/३ ट्रिप मात्र हुन्छ। एक ट्रिप चलाउँदा डुंगा साहुले १५० रूपैयाँ दिन्छ। कहिलेकाँही गेष्ट खुसी भएर सय पचास रूपैयाँ पनि थप्दिन्छन्।
तपाईंलाई सबैभन्दा धेरै के गर्दा मज्जा आउँछ?
नयाँ-नयाँ ठाउँ घुम्न मज्जा आउँछ। फिल्म हेर्न मन लाग्छ। पोखरामा चलेका धेरै फिल्म हेरेको पनि छु। कहिलेकाँही साथीहरूसँग घुम्न जान्छु। पोखरा आसपास सबै ठाउँ घुमेको छु। फिल्म हेर्ने र घुम्ने त भइराख्छ।
के खान मन पर्छ?
मन पर्ने खाना त धेरै छन्। नेपाली खाना त भइहाल्यो। कहिलेकाँही पिज्जासिज्जा खाइन्छ। सधैँ खान त महँगो पर्छ नि! मलेसियामा हुँदा धेरै चिकन बर्गर खाइयो। मिठो लाग्छ। बेलाबखत खाइराख्छौं।
परिवार, छोराछोरी कति जना छन्? के गर्छन्?
मेरो आमा हुनुहुन्छ। श्रीमती, दुई छोरी, भाइ र बुहारी छन्। छोरी एउटा बल्ल ७ वर्षको भइन्। ३ कक्षामा गएकी छिन्। सानी छोरी स्कुल भर्ना गर्ने बेला पनि भएको छैन।
परिवारमा मेलमिलाप सुख-दु:ख कस्तो छ ?
परिवारमा कुनै समस्या छैन। ठीकठाक छ।
तपाईंको स्वास्थ्य कस्तो छ? निन्द्रा पर्छ नि!
मेरो स्वास्थ्य राम्रो छ। आमाको छाला सम्बन्धी समस्या छ। तर आत्तिनुपर्ने खालको होइन। अरू सब ठिक छ। निन्द्रा, भोक सबै लाग्छ। टेन्सन छैन।
भविष्यको बारेमा सोच्दा चाहीँ अलि टेन्सन लाग्छ। कसो गर्ने होला। सधैँ यसरी चल्दैन। डुंगा चलाउन पनि सिजन र अफसिजन भइराख्छ। अब बर्खा आउन लाग्यो। बर्खामा बन्द जस्तै हो। आयआर्जनको स्रोत सोच्नुपर्ने छ। त्यही हो मेरो टेन्सन।
धेरै खुसी भएको क्षण कहिले हो?
छोरी जन्मिँदा खेरी धेरै खुसी भएको थिए। त्यसपछि मलेसियाको भिसा लाग्दा पनि बल्ल बल्ल लाग्यो भनेर खुशी भए । एसएलसीमा फस्ट डिभिजन आउँदा धेरै खुसी भएको थिएँ। अलि धेरै खुसी भएका क्षण यिनै हुन्।
सबभन्दा धेरै चित्त दुखेको बेला कुन हो?
मेरो भाइ छ। अलिअलि रक्सी पनि खान्छ। एकपटक झगडा भयो। अलिअलि हानाहान पनि भयो। नरमाइलो क्षण सम्झदा त्यही हो सम्झदा पनि दु:ख लाग्छ।
तपाईंको मन के कुराले पिरोलिरहन्छ?
पिर मानेर हुने कुरा त केही छैन। एउटा भनेको १२ कक्षासम्म पढियो, २ वटा विषयमा फेल भएर पढ्न छाडिदिएँ। परिवारको जिम्मेवारीले काम गर्नतिर लागेँ। हुन त सुन्दा बहाना बनाए जस्तो पनि होला तर घरको जिम्मेवारी उठाउन थालेपछि पढ्न सकिनँ। १२ पास गर्न पाएको भए, कमसेकम ब्याचलर पास हुन पाएको भए हुन्थ्यो जस्तो लाग्छ। पछुतो लाग्ने कुरा त्यही हो।
आशा लागेका कुरा नि ?
कोरिया जान पाइन्छ कि भनेर इपिएस पढ्दैछु। डिसेम्बर १५ मा जाँच छ। पास हुन पाए स्किल टेष्ट हुन्छ। कोरिया पुग्न पाए हुन्थ्यो भन्ने आश छ । अहिले अरू खासै केही छैन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
सबैजना आत्तिएका छन्। बेरोजगारी छ । बेरोजगारीले त हो समस्या निम्त्याउने। ठगी गर्ने, चोरी गर्ने। एउटाले अर्कोलाई बङ्ग्याउने, ठग्ने भइराखेको छ। अरू के भन्नु ! कसरी आफ्नो सोझो गर्ने, अरूलाई बिगार्ने कुरा हुन्छ। आफ्नो भलो हुन अरूलाई जे गर्न पनि पछि नपर्ने कुरा ठिक लाग्दैन।
राजनीति नि?
राजनीतिमा अलिअलि चासो लाग्छ। भोट त अहिलेसम्म एक पटक पनि हालेको छैन।
देशको नेता को को मन पर्छ ?
अलिकति आशा गरेको नेता रवि लामिछाने हो। अहिले त पावरमा पनि हुनुहुन्छ। उपप्रधान तथा गृहमन्त्री हुनुहन्छ। आशा उहाँमाथि छ। काम त अहिलेसम्म केही भएको देखिँदैन। गर्नुहुन्छ कि भनेर आशा त छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो ?
अहिलेसम्म भोट हाल्न पाएको छैन। गएको चुनावमा भोट हाल्नपर्यो भनेर नाम लेखाउन गएको थिएँ। बाराबाट बसाइँसराइ कागज लिएर आउनुपर्छ भनेर फर्काइदियो। भोटिङ लिष्टमा नाम नै राखिदिएन।
बारामा गएर भोट हालौं भने उताको राजनीति मैले बुझेको छैन। त्यहाँका नेता पनि चिन्दिनँ। सानैदेखि पोखरा बसेँ, यतै बढी चासो लाग्छ।
गएको चुनावमा भोट हाल्न पाएको भए पोखरामा मेयर उठेका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई भोट दिन्थेँ।
अब कसलाई दिनुहुन्छ?
चुनाव हुने बेलासम्म हेरौं कस्तो परिस्थिति हुन्छ। कस्ता कस्ता मान्छे उम्मेदवार हुन्छन्। उम्मेदवार हेरेर भोट दिने हो नि। प्रशंसा गर्ने खालको पार्टी त एउटा पनि छैन। रास्वपा भनेर आँखा चिम्लेर भोट हाल्ने अवस्था पनि छैन।
राम्रो मान्छे उम्मेदवार भयो भने भोट दिने हो। स्वतन्त्र उम्मेदवारलाई नै भोट दिने विचारमा छु।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सबभन्दा ठूलो समस्या नै बेरोजगारीको छ। उद्योग खोलेर हुन्छ कि पर्यटक ल्याएर हुन्छ। के गरेर हुन्छ रोजगारी दिए हुन्थ्यो। त्यसका लागि सरकारले कदम चाल्नुपर्यो। एकैचोटी त हुँदैन। तर कदम त चाल्नुपर्यो नि। देशमा केही गरेर खान पाए हुन्थ्यो जस्तो लाग्छ।