(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनी धनगढीको पर्यटकीय क्षेत्र जाखोर ताल नजिकैको सामुदायिक वनको छेउको रूखको चौतारीमा बसिरहेका थिए। धनगढी उपमहानगरपालिका–६ जालीबाका बासिन्दा रहेछन्। नाम सीताराम चौधरी। वर्ष ७५। रूखको छहारीमा बसेर मन मिल्ने साथी परदेशीसँग गफगाफ गरिरहेका सीतारामसँग हामीले गरेको कुराकानी:
के काम गर्नुहुन्छ?
घरमा दुई वटा बंगुर पालेको छु। धनगढी बजारका होटल, घरबाट बंगुरका लागि चारो संकलन गर्छु। अहिलेको जागिर भनेको यही हो मेरो। वर्षभरी पालेर एक क्विन्टलका भएपछि मासु बिक्री गर्छौं। अढाइ किलो बंगुरको मासु एक हजार रूपैयाँमा बिक्री गर्छु।
अरू पनि काम गर्नुहुन्छ?
खेतीपातीको काम गर्छु।
तपाईं कहाँ जन्मिनुभयो?
म जन्मेको दाङमा हो।
कति वर्षको हुँदा कैलाली आउनुभयो नि?
म ११ वर्षको हुँदा बुवाआमासँग कैलाली आएको हुँ। सुरूमा धनगढीमा अहिले बसेको ठाउँमा बस्यौं। म बीचमा दाङ गएँ। त्यहाँ दुई वर्ष बसेँ, फेरि यता आएँ।
बाल्यकाल कसरी बित्यो?
हामी त गरिब मान्छे कहिले गाई चराउने, कहिले बाख्रा चराउने। त्यसै काम गर्दागर्दै अलि ठूलो भएँ। बुवा सानैमा बिते। स्कुल पढ्न पाइनँ। जमिनदारको घरमा काम गर्नुपर्यो। सानोमा तीन वर्ष दाङमा हुँदा काम गरेँ। पढ्न मन लागे पनि विद्यालय जान पाइनँ।
दाङबाट कैलाली किन आउनुभयो?
त्यहाँ जमिनदारले हैरान गरे त्यही भएर यहाँ आए सुख पाइन्छ कि भनेर!
जीवनमा अरू के–के काम गर्नुभयो?
मैले धनगढीमा २० वर्ष जति पार्कमा काम गरेँ। पहिला त्यो पार्कको नाम वीरेन्द्र पार्क थियो। अहिले त नगरपालिकाले हेर्छ। त्यहाँ फूल लगाउने, बगैँचा बनाउने काम गरेँ। जनआन्दोलनमा त्यो पार्क माओवादीहरूले समेत बन्द गरेका थिए। केही समय धनगढीमै नेपाल राष्ट्र बैंकमा फूल लगाउने, बगैँचा बनाउने पनि काम गरेँ।
२० वर्ष पार्कको काम गरेपछि के फाइदा भयो तपाईंलाई?
आआफ्नो बस्ने व्यवस्था मिलाएँ। घरबास बनाएँ। कमैया मुक्ति भएपछि सरकारले जग्गा दिन्छ भनेको थियो। त्यो जग्गा पाउन धेरै दु:ख भइरहेको छ। त्यसैले आफैले काम गरेर बस्ने व्यवस्था चाहिँ मिलाएको छु।
अहिले कति जमिन छ?
करिब एक बिघा ८ कठ्ठा मात्रै नम्बरी छ। अरू त सबै ऐलानी जग्गा हो। कमैया मुक्ति भएपछि आफैले जंगल फाडेर बसेका थियौं, त्यो जमिनको अहिलेसम्म लालपुर्जा छैन। खेतीपाती नगरेर त खान पुग्दैन। परिवार ठूलो छ मेरो।
छोरा –छोरी कति छन्?
४ छोरा र दुई छोरी छन्।
के काम गर्छन् उनीहरूले?
एउटा छोरा बोर्डिङ स्कुलमा काम गर्छ। एक छोरा ठेकेदार छ। अरू सबै घरमा बसेका छन्।
अनि छोरीहरू?
दुवै छोरीको बिहे भइसक्यो। आफ्नै घरमा छन्।
छोरा–छोरीले कत्तिको सुख दिएका छन्?
ठिकै छन्। सबै छोराहरू सँगै छन्। अहिलेसम्म उनीहरू अलग भएका छैनन्। सन्तुष्ट नै छु। पारिवारिक मेलमिलाप राम्रो छ। झैझगडा भएको छैन।
सबैभन्दा बढी के गर्न मन पर्छ मनोरञ्जनमा?
जाडरक्सी नखाने साथीसँग गफगाफ गर्न धेरै मन पर्छ।
तपाईं त अहिलेसम्मै काम गर्छु भन्नुहुन्छ, बुढेसकालमा काम नगरे हुँदैन?
सक्ने काम त गरिराख्नु पर्छ भनेर काम गरिरहेको छु।
तपाईंको स्वास्थ्य अवस्था के छ?
सबै ठिक छ। दाँत मात्रै सबै टुटेका छन्। दाँत नभएपछि अहिले खान समस्या छ। गिलो र नरम चिज मात्रै खान मिल्छ।
निद्रा कत्तिको लाग्छ?
ठिकठिकै लाग्छ। दिनमा खाना खाएर पनि सुत्छु। पहिलाको जसो त धेरै लाग्दैन। राती निद्रा खुले सोचेर बस्छु। १७ वर्षको जस्तो उमेर छैन। त्यही भएर निद्रा पातलो भएको होला। उबेला त चाडपर्वमा नाचगान गर्थ्यौं। यति धेरै निन्द्रा लाग्थ्यो कि उतिबेलाको निद्रा त म अहिलेसम्म पनि बिर्सिन्न।
खानेकुरामा के मन पर्छ सबैभन्दा बढी?
भात र मासु।
जिन्दगीमा सबैभन्दा बढी कहिले खुसी हुनुभएको थियो?
खुसी त जवान हुँदा भएको थिएँ। अहिले त्यो कुरा याद छैन।
कहिल्यै केही कारणले चित्त दुखेको पनि छ कि ?
जग्गा भएर पनि लालपुर्जा छैन। त्यही कारणले चित्त दुखेको छ।
मन पिरोलिरहेको वा यस्तो भइदिए हुन्थ्यो भन्ने कुरा केही छ?
अहिलेसम्म राम्रो छ। अब छोराहरूले राम्रो काम गरून्। उनीहरू सत्य कर्म गरेर जीवन चलाऊन् भन्ने कुरामात्र मनमा बसेको छ।
जीवन के हो जस्तो लाग्छ?
नमर्दासम्म काम गरिरहनु नै जीवन हो!
तपाईंलाई आफ्नो गाउँ, समाज कस्तो लाग्छ?
के भनूँ। यसमा राम्रै लाग्छ।
हाम्रो देशको राजनीति कस्तो लाग्छ?
राजनीति त के भन्ने! पाँच महिनामा सरकार परिवर्तन भइरहन्छन्! सबै नेताहरू आफ्नो पेट भर्ने काम मात्रै गर्छन्।
नेतामा को–को मन पर्छ?
त्यो भन्न सकिँदैन। मन पर्ने काम गरे पो त भन्नू!
जिन्दगीमा कति पटक भोट गर्नुभयो?
धेरै पटक गरेँ। मैले त पञ्चायत व्यवस्थामा पनि भोट हालेको थिएँ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
पहिला त कांग्रेस र माओवादीलाई भोट दिएको थिएँ। गएको चुनावमा गोपाल हमालाई दिएँ। पार्टीलाई दिँदा दिँदा दिक्दार भएर स्वतन्त्रलाई दिएको हुँ।
अबको चुनावमा कसलाई भोट दिनुहुन्छ?
त्यो अहिले भन्न सकिँदैन।
भोट दिएर जिताएका नेताले के काम गरेको देख्नुहुन्छ?
केही पनि देखेको छैन। यसो भन्दा फेरि नेताहरू रिसाउँलान् है! केही काम गरेको देखेको छैन के भन्नू त!
सरकारले के काम गरिदिओस् भन्ने लाग्छ?
ऐलानी जग्गा भएकालाई लालपुर्जा दिओस्, गरिब जनतालाई हेरोस् भन्ने लाग्छ।