(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि धनगढीको क्याम्पस चोकमा बुढ्यौली उमेरकी भगवती थापासँग संयोगले भेट भयो। धनगढी उपमहानगरपालिका–१४, फूलबारीको एक गाउँमा बस्ने उनी काम विशेषले धनगढी बजार आएकी थिइन्।
उनी हँसिली र फुर्तिली देखिन्थिन्। संवादका क्रममा उनले ठट्टा पनि गरिन्। उनै भगवतीसँग हामीले जिन्दगीका दुःखसुखबारे केही कुरा गरेका छौं।
तपाईंको उमेर कति भयो?
जन्मेको मिति थाहा छैन। खोइ, चार साल (२००४) हो कि तीन साल (२००३) हो, चिनाचिठा बनाइदिएनन्।
नागरिकतामा कति उमेर लेखेको छ?
वृद्धभत्ता खान थालेको दुई वर्ष भयो। नागरिकतामा ७२ वर्ष छ भन्छन्। म लेखपढ गर्न जान्दिनँ।
अहिले के काम गर्नुहुन्छ?
बसिराख्छु, केही पनि गर्दिनँ।
कोसँग बस्नुहुन्छ?
एक्लै बस्छु, सानो झुपडी छ।
परिवारका सदस्यहरू कहाँ छन्?
हाम्रो घर धनगढी बजारमा र वडा नम्बर १४ को फूलबारीमा छ। फूलबारीमा मेनरोडमा छ घर, छोराबुहारी त्यहीँ बस्छन्। म फूलबारीकै अलिक भित्र खड्का टोलमा बस्छु, त्यहीँ छ मेरो झुपडी।
छोरा बुहारीसँग नबसेर किन एक्लै बस्नुभएको?
मलाई एक्लै बस्न आनन्द लाग्छ, राम्रो लाग्छ। अहिले खाना बनाउन सक्ने छँदैछु। हातखुट्टा चल्दासम्म यसरी नै बस्छु। आफूले नसके उनीहरू (छोराबुहारी) ले गर्लान्।
तपाईंका छोराछोरी कति छन्?
चार छोरा र तीन छोरी हुन्।
छोराछोरीहरू के के काम गर्छन्?
दुई छोरा यहीँ (नेपालमै) काम गर्छन्। दुई छोरा विदेश गएका छन्, एउटा कतारमा छ, अर्को साउदी (अरब) मा।
अनि छोरीहरू नि?
एउटीको घर काठमाडौंमा छ, त्यहीँ बस्छे। एउटी यहीँ (धनगढी) चौराहमा ब्युटीपार्लर चलाउँछे। उसको घर यतै हो। अर्की छोरी चौमाला (कैलाली) मा तरकारी पसल चलाउँछे, उसको उतै घर हो।
सबै छोराछोरीको बिहे भइसक्यो?
कान्छी छोरी समेत हजुरआमा भइसकी!
छोराछोरीका तर्फबाट कतिको सुख मिलेको छ?
राम्रै गरेका छन्। सुख नदिएर हुन्छ तिनीहरूले!
जिन्दगीमा के के काम गर्नुभयो?
धेरै काम गरेँ। गाईभैंसी, कुखुरा, बाख्रा पालेँ। घाँस काटेँ, गोबर फालेँ। खेतीपातीको काम धेरै गरिनँ, अलिअलि गरेँ। आफ्नो जमिन थिएन, अलिअलि अधियाँ खेती गरेकी थिएँ।
तपाईंका श्रीमान नि?
जिल्ला (प्रशासन) कार्यालयमा खरिदार हुनुहुन्थ्यो। उहाँ बितेको ३२ वर्ष भयो, १४ वर्ष काम गरेपछि बित्नुभयो। उहाँ बित्दा कान्छो छोरो र कान्छी छोरी सानै थिए। सबै जिम्मेवारी मेरो काँधमा आयो।
जेठो छोराको बिहे भइसकेको थियो। यताउति गरेर छोराछोरी हुर्काएँ, बढाएँ। अहिले छोराछोरी सबै आआफ्नो काममा छन्।
पहिला धनगढीको बडहरामा सानो घर बनाएकी थिएँ। छोराहरू कामाउने भएपछि क्याम्पस चौकमा बनाए। फूलबारीमा पनि बनाए।
पुर्ख्यौली घर कता हो?
हामी २०२७ सालमा डोटीबाट धनगढी आएका हौं। म त डोटीमै हुर्कें, बढेँ। उतै बिहे भयो। जेठी छोरी जन्मिएकी थिइन्, सासूससुरा यता आए। हामी पनि आयौं। बिहे हुँदा श्रीमान शिक्षक हुनुहुन्थ्यो। धनगढीमा जंगल फाँडेर जमिन बनाउन सकिन्छ भनेर सासूससुरा यता आएका थिए तर केही भएन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
साह्रै मुटु दुख्छ। हात खुट्टा दुख्छन्।
एक्लै बस्नुहुन्छ, बिरामी भएका बेला गाह्रो होला नि त?
बिरामी हुँदा फोन गरेर खबर गर्छु। छोराबुहारी पुगिहाल्छन्।
निद्रा कस्तो लाग्छ?
निद्रा त आउँदैन। कहिलेकाहीँ मात्र निदाउँछु। निद्रा खुलेपछि राति पनि बत्ती कातेर बस्छु। भगवानको नाम लिन्छु।
दिन कसरी कट्छ?
दिउँसो वरपर साथीहरूसँग कुरा गर्छु। कुखुरा पालेकी छु। तिनैलाई हा..हु गर्छु। बिहान उठ्यो, तुलसीमा पानी चढायो, जाउलो बनायो, खायो। दिन बितिहाल्छ। गाह्रो हुने राति मात्रै हो।
खर्च पानी छोराबुहारीले दिन्छन्। मेरो वृद्ध भत्ता बचाउँछु। भत्ताले फलफूल खान पुग्छ। आफ्नो खुसीले चलाउन हुन्छ।
भत्ता कसले ल्याइदिन्छ?
आफै जान्छु, नजिकै छ।
तपाईंलाई मनपर्ने खाना के हो?
कोदोको र मकैको ढिँडो मन पर्छ। एक वर्षअघि काठमाडौं जाँदा छोरीको घरमा ढिँडो खाएकी थिएँ। हामी डोटीका मान्छे, गयो डोटी खायो रोटी। म त रोटी नै खान्छु।
तपाईं धेरैजसो के गर्न मन पराउनुहुन्छ?
मलाई साथीभाइसँग कुराकानी गर्न मन लाग्छ। कुरा काट्न राम्रो मान्छु। यो फलानोको यस्तो भयो, उस्तो भयो, उसको खबर के छ, कस्तो छ भनेर अरूको कुरा काट्न मन पर्छ।
अहिले तपाईंसँग ठिकठिकै पैसा हुँदो हो त के किन्नुहुन्थ्यो?
भगवानको मूर्ति किन्न मन छ। गणेशजी र शिवजीको मूर्ति किन्ने थिएँ।
किन?
मनको शान्तिका लागि भगवानको मूर्तिमा जल, फूल चढाउँथे। सधैं बिहान शरीरमा पानी हालेर नुहाइधुवाइ गर्छु र कुल देउतालाई जल चढाउँछु। तुलसीलाई पनि जल चढाउँछु।
जिन्दगीमा के कुराले धेरै खुसी हुनुभएको थियो?
खुसी त भैंसी पाल्ने बेला भएकी थिएँ। आफ्ना भैंसी धेरै हुँदा खुसी लाग्थ्यो। अरूका यति भैंसी छन्, मेरो कम भन्ने पनि लाग्थ्यो। जिन्दगीमा आधाआधा भयो खुसी र दुःख।
जिन्दगीमा के कुराले साह्रै चित्त दुखेको छ?
जीवनसाथीले छोडेर गएका बेला (मृत्यु हुँदा) साह्रै चित्त दुःखेको थियो। अरू बेला पनि चित्त त दुखिरहन्छ, भन्न पो सकिँदैन त।
मनमा पिरचिन्ता लागिरहने कुनै कुरा पनि छ कि?
चिन्ता आफ्नै ज्यानको लाग्छ। नराम्रो रोग लाग्छ कि, यति दुःख त काटेँ अझै दुःख काट्नुपर्छ कि जस्तो चिन्ता लाग्छ।
मेरो जिन्दगी त यसै गयो, छोराछारीको जिन्दगी के होला भन्ने चिन्ता भने लाग्छ।
मान्छेको जिन्दगी के हो रहेछ जस्तो लाग्छ?
बेकार रहेछ जस्तो लाग्छ मान्छेको जिन्दगी त। मेरो यसो भएन, उसो भएन भनेर दौडिरहनु पर्ने, केकेमा लागिरहनुपर्ने। आखिर हड्डी कमजोर भएपछि केही पनि गर्न सकिँदैन।
कहाँ कति बेला मर्नु छ थाहा हुँदैन, त्यही बेकार लाग्छ। अहिले पनि छोराछोरी रातदिन दुःख गरिरहेका छन्। कति बेला के हुने हो, थाहा हुँदैन। मलाई मान्छेले पिर बोक्न नपरोस्, संसारका मान्छे खुसी रहून्, गलत काम नगरून् जस्तो लाग्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
गाउँसमाज वरपर हेर्न राम्रो लाग्छ। कोही बोले भने म पनि बोल्छु। केही नराम्रो लागेको छ भने साथीभाइ र छरछिमेकीलाई भन्छु। छिमेकी र गाउँलेले के खान्छेस् भन्छन्, दहीमोही दिन्छन्। सबैसँग बोलचाल हुन्छ। दुःखसुख गफगाफ चल्छ। त्यही भएर मलाई गाउँसमाज राम्रो लाग्छ।
गाउँसमाजको के कुरा मन पर्दैन?
त्यस्तो मन नपर्ने त केही पनि छैन।
देशको नेतामा को को मन पर्छ?
नेता सबै राम्रै लाग्छ। गाउँका नेता आमा भनेर बोलाउँछन्। काठमाडौंका नेता शेरबहादुर, प्रचण्ड, ओली पनि राम्रै छन्। हामीलाई भत्ता दिएका छन्। मैले त एकल भत्ता पाएको धेरै वर्ष भयो। बुढो भत्ता पाएको दुई वर्ष भयो। राम्रै गरेका छन् नेताले। काठमाडौंका नेताहरूलाई नजिकबाट देखेकी छैन, कहिलेकाहीँ टिभीमा देखेकी छु। टिभी पनि छोराछोरीका घरमा गएका बेला मात्र हेर्न पाउँछु। टिभीमा कलाकार र गायक देख्छु। गीत सुन्छु।
देशको राजनीति कस्तो लाग्छ?
देशको राजनीति पनि राम्रो लाग्छ, सुख शान्ति छ। धारा–नल्का र रोड (सडक) ठाउँठाउँमा छन्। मान्छेका हातहातमा मोबाइल (फोन) छ। अहिले त राम्रो छ नि, उहिले हाम्रा पालामा पो दुःख थियो त!
अहिलेका मान्छे सबै रमझममा छन्। देश पो गरिब भयो। यति बेला ठाउँठाउँमा पहिरो गयो, डुबान भयो भन्छन्।
यति बेला सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
अहिलेसम्म राम्रै गरेका छन्, अझै राम्रो गरून्। देशलाई पनि राम्रो होओस्। गाडी खस्ने, पिलेन (हवाईजहाज) खस्ने नहोस्।
समाचार कसरी सुन्नुहुन्छ?
रेडियोबाट सुन्छु। छोराहरूले टिभी राखिदिन्छु भनेका थिए, आँखा दुख्छ भनेर चाहिँदैन भनेँ। कान्छी छोरीले रेडियो किनिदिएकी छन्। एफएम चलाउँछु, कुनै बेला समाचार र कुनै बेला गीत सुन्छु।
चुनावमा कति पटक भोट दिनुभयो?
तीनचार पटक दिएँ।
कुन पार्टीलाई भोट दिनुभयो?
कांग्रेस, एमाले, माओवादी सबैलाई दिएँ।
गएको चुनावमा कसलाई दिनुभयो?
माओवादीलाई दिएँ।
अब आउने चुनावमा कसलाई दिनुहुन्छ?
बाँचिएछ भने कसैलाई दिउँला नि।