(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगर क्याम्पस चोकमा साइकल मर्मत सेन्टर चलाउँछन् ३६ वर्षीय प्रेम चौधरी। यही साउन पहिलो साताको एक दिन म पुग्दा उनी साइकल मर्मतको काममा व्यस्त थिए। काम रोकेर कुरा गर्न असमर्थ थिए। उनी साइकलको टायर टाल्दै सेतोपाटीसँग कुरा गर्न तयार भए।
साइकल मर्मतको काम गर्न थालेको कति समय भयो?
९ वर्ष भयो।
तपाईंको घर पनि धनगढीमै हो?
घर त कैलालीकै कैलारी गाउँपालिकामा हो, वडा नम्बर ४, हसुलियामा छ। धनगढीमा भाडामा बस्छु। तीन वर्ष गाउँमै साइकल मर्मत सेन्टर चलाएँ। धनगढीमा गर्न थालेको ६ वर्ष भयो।
गाउँ छाडेर धनगढी किन आउनुभयो त?
बजारतिर सर्न इच्छा लाग्यो। बजारतिर बढी काम पाइन्छ भन्ने सोचेर आएको।
काम कस्तो चल्दै छ त?
ठिकै छ। सन्तुष्टि मानेर काम गर्नुपर्छ। निराश हुनु भएन। आफ्नो काम गर्ने अनि खाने, बस्ने हो।
पढ्ने अवसर पाउनुभएन?
स्कुल जान त पाएको थिएँ तर सानैमा छोडेँ। दुई कक्षासम्म मात्रै पढेँ।
पढाइ किन छोड्नुभयो त?
पढ्न मन नै लागेन।
पढाइ छाडेपछि के काम गर्नुभयो?
धेरै काम गरेँ, घरको काम र बाहिरको काम गरेँ। इन्डियाको बम्बैमा पनि बसेँ। त्यहाँ ज्याला मजदुरी गरेँ। आफ्नो घरको खेतीपाती पनि गरेँ।
बम्बैमा तपाईंले गर्ने काम कस्तो थियो?
त्यहाँ होटलमा काम गर्थें। काम खासै राम्रो लागेन। परदेशमा काम गर्न मन पनि लागेन। एक वर्षमा फर्किहालेँ।
तपाईंको परिवारका मान्छे के काम गर्छन्?
खेतीपाती गर्छन्, कोही राजमिस्त्रीको काम गर्छन्।
संयुक्त परिवार छ कि एकल?
एकल परिवार छ। सबै छुट्टाछुट्टै बस्छौं।
परिवारमा मेलमिलाप कस्तो छ?
अहिलेसम्म परिवारमा नराम्रो भएको छैन, सबै मिलेका छौं। आ-आफ्नो काममा व्यस्त छौं। सबैले आ-आफ्नो गरेर खाने त हो।
सधैं काम गरिरहँदा कस्तो लाग्छ?
मलाई त काम गर्न धेरै मन पर्छ। सधैं खुसी भएर काम गर्छु।
तपाईंलाई सबैभन्दा मन पर्ने खाना के हो?
दालभात र मासु।
मासु कति समयको फरकमा खानुहुन्छ?
खाइन्छ, महिनामा तीन चार पटकजति।
तपाईंको कामले घरखर्च चलेको छ?
अलिअलि चलेको छ। घरभाडा, खाना खर्च र छोरीको खर्च पुगेको छ।
छोराछोरी कति छन्?
एउटी सानी छोरी छ। चकचके छ।
छोरीले के गरोस् भन्ने चाहनुहुन्छ?
अहिले त केही सोचेको छैन। ऊ ठुली हुँदै गएपछि विचार गर्छु।
तपाईंकी श्रीमती के काम गर्नुहुन्छ?
धनगढीको एउटा बोर्डिङ (निजी) स्कुलमा ‘सिस्टर’ काम गर्छिन्।
यति बेला ठिकठिकै पैसा भए तपाईं के किन्नुहुन्थ्यो होला?
त्यस्तो केही पनि रहर छैन। आफूलाई चाहिने सबै चिज छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
ठिकै छ।
स्वास्थ्यमा समस्या हुँदा उपचारका लागि कहाँ जानुहुन्छ?
म अस्पतालभन्दा बढी मेडिकल (क्लिनिक) मै जान्छु। अस्पतलामा लाइन लाग्ने समय हुँदैन, पैसा तिर्नु परे पनि मेडिकलमा सजिलो हुन्छ।
निद्रा कत्तिको लाग्छ?
निद्रा त धेरै लाग्छ। सुतेपछि एकैछिनमा निदाउँछु।
बिहान कति बजे उठ्नुहुन्छ?
बिहान ५ बजे उठिहाल्छु।
जीवनमा के कुराले सबैभन्दा धेरै खुसी हुनुभएको छ?
हामी खुसी छैनौँ। म अहिलेसम्म खुसी भएको छैन।
के कुराले मन दुखेको छ?
मन पनि दुखेको छैन, खुसी पनि भएको छैन। खुसी हुने इच्छा पनि छैन।
मान्छे खुसी हुन काम गर्छन्, तपाईं खुसी हुने इच्छा छैन भन्नुहुन्छ, किन?
धेरै खुसी हुने इच्छा छैन बरू जे छ त्यसैमा सन्तुष्ट हुने हो।
मन पिरोलिरहने केही कुरा छ कि?
मान्छेको जीवनमा त्यस्तो त भइहाल्छ। एउटा कुराले मात्रै पीर पर्ने कहाँ हो र! बेलाबेलामा पीर परिरहन्छ।
तपाईंलाई आफ्नो गाउँ-समाज कस्तो लाग्छ?
गाउँको कुरा कसरी भनूँ! अहिले गाउँमा कस्तो छ थाहा छैन। पूरै समाजको कुरा पनि के भन्नूँ! सबै ठिकै लाग्छ। सबै मान्छे आआफ्नो काममा दौडिरहेका छन्।
राजनीतिमा कत्तिको चासो छ?
राजनीतिबारे के भन्नूँ र! यो प्रश्न मलाई नसोधेको भए पनि हुन्थ्यो। राजनीति नेताहरूको हातमा छ। म न समाचार सुन्छु, न पढ्छु। सधैं आफ्नै काममा हुन्छु। राजनीतिले देशमा केही पनि राम्रो भएको देख्दिनँ। चासो गरेर पनि हामी काम गरेर खानेलाई केही फाइदा छैन। नेताहरूको बारेमा थाहा नपाएकै राम्रो।
अहिले त राजनीति र देश दुनियाँको बारेमा सामाजिक सञ्जालमा पनि जानकारी हुन्छ, तपाईं चलाउनुहुन्छ कि नाइँ?
आजकाल मसँग बटनवाला मोबाइल छ। स्मार्ट टच हुने मोबाइल छैन। स्मार्ट मोबाइल भएका बेला बच्चाले चलाएर हैरान पारे। बच्चाले मोबाइल मागेर हैरान गर्छ। त्यही भएर दुई–तीन वर्ष यता बटनवाला मोबाइल चलाउँदै छु।
कहिलेकाहीँ स्मार्ट मोबाइलको काम परेको छैन?
अहिलेसम्म त्यस्तो काम परेको छैन। परेका दिन केही जुगाड गरूँला।
देशको नेतामा को को मन पर्छ?
कुनै पनि नेतालाई चिनेको छैन। नाम मात्रै सुनेको छु। देख्दै नदेखेका नेतालाई कसरी मन पराउनु!
चुनावमा कति पटक भोट दिनुभयो?
अहिलेसम्म दुईपटक दिएँ, एउटा २०७४ मा, एउटा २०७९ मा।
भोट कसलाई दिनुभयो?
कांग्रेसलाई दिएको।
किन नि?
त्यसैलाई दिन इच्छा लागेर।
आगामी चुनावमा कसलाई दिनुहुन्छ होला?
राम्रो काम गर्नेलाई जिताउने हो।
भोट दिएर जिताएका जनप्रतिनिधिले केके काम गरेको देख्नुहुन्छ?
गाउँतिर के काम गरे, थाहा भएन। मलाई आफ्नै कामले फुर्सद मिल्दैन। पसलमा एक्लै छु। सबै काम आफै गर्नुपर्छ।
यति बेला सरकारले के काम गर्नुपर्छ जस्तो लाग्छ?
बाटो राम्रो बनाएइदिए हुन्थ्यो। गाउँतिर बाटो पिच भएको छैन। ठाउँठाउँमा बाटो राम्रो नभएर दुर्घटना हुन्छ।