(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगरपालिका–१७, पथरीबाट ३५ वर्षीया सन्ची चौधरी साइकलमा तरकारीको भारी राखेर बिहानै धनगढी सहरका बस्तीमा पुग्छिन्। घरबाट धनगढी बजार पुग्न उनलाई आधा घण्टा लाग्छ।
बिहानभरि बजार घुमेर तरकारी बेच्छिन्। घरखर्च चलाउने आम्दानीको मुख्य स्रोत यही हो। अन्नपात बेचेर पनि थोरैतिनो आम्दानी हुन्छ तर अलिक बढी कमाइ हुने तरकारीबाटै हो।
यसपटक यिनै सन्चीसँग हामीले उनको दुःखसुखको कुरा गरेका छौं।
के काम गर्नुहुन्छ?
तरकारी, अन्नपात बेच्छु। घरको काम गर्छु।
बिहान कति बजे उठ्नुहुन्छ?
चार बजे उठिसक्छु।
त्यसपछि के गर्नुहुन्छ?
बिहान चाँडै खाना बनाउँछु। घरको सफाइ गर्छु। त्यसपछि बारीमा गएर तरकारी तयार गर्छु। सबै तरकारी साइकलमा राख्छु। यति गर्दा हिँड्ने बेला भइहाल्छ।
खाना कति बजे तयार पार्नुहुन्छ?
उठेपछि खाना बनाउन सुरू गरिहाल्छु। खाना नबनाई हिँड्दा छोरारूलाई स्कुल जान ढिलो हुन्छ। खाना बनाइसकेपछि तरकारी लिएर धनगढी गइहाल्छु। तरकारी बेचिसकेर फर्किन्छु।
घर कति बजे पुग्नुहुन्छ?
धेरैजसो त १० बजे फर्किसक्छु। कहिले त अझै छिटो पनि पुग्छु। कहिलेकाहीँ ढिलो हुन्छ। घर पुगेर खाना खान्छु। दिनभरि खेतीको काम गर्छु। घरको काम पनि हुन्छ। एकै छिन फुर्सद हुँदैन।
तपाईं आफ्नो बारीको तरकारी मात्रै बेच्नुहुन्छ कि अन्तबाट किनेर पनि बेच्नुहुन्छ?
आफूले फलाएको मात्रै बेच्छु। आजकाल बोडी, लौका, काँक्रो लगाएकी छु। त्यही तरकारी टिपेर सइकलमा धनगढी पुर्याउँछु र बजार डुलेर बेच्छु।
जग्गाजमिन कति छ?
जम्मा एक बिघा सात कट्ठा छ, सबै लालपुर्जा भएको जमिन हो। लालपुर्जा पनि मेरै नाममा छ। थोरै जग्गामा तरकारी खेती गरेका छौं। अरूमा धान र गहुँ लगाउँछौं।
धान र गहुँ पनि बेच्नुहुन्छ?
आफूलाई खान राखेर बाँकी रहेको बेच्छौं। सबै गाउँमै बिक्छ।
परिवारमा कति जना हुनुहुन्छ?
जम्मा पाँच जना छौं, दुई जना बुढाबुढी र तीन जना छोरा।
श्रीमान के काम गर्नुहुन्छ?
श्रीमान पनि म जस्तै हो, किसानी गर्नुहुन्छ।
छोराहरू के गर्छन्?
जेठो छोरो हामीलाई खेतीपातीको काम सघाउँछ। स्कुल जाँदैन। ऊ १६ वर्षको भयो। दस कक्षा पढेपछि अरू पढाइ गर्न मन छैन भन्यो। अरू दुई छोरा स्कुल जान्छन्। एउटा तीन कक्षामा पढ्छ, कान्छो छोरो एलकेजीमा छ।
छोरालाई कुन स्कुलमा पढाउनुभएको छ?
बोर्डिङ (निजी स्कुल) मा लगाएका छौं। मान्छेहरू सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन भन्छन्।
बोर्डिङ फिस (शुल्क) महँगो छ। एलकेजी पढ्ने छोराको महिनाको ११ सय रुपैयाँ लाग्छ, तीन कक्षामा पढ्ने छोराको महिनाको १५ सय तिर्नुपर्छ। के गर्नु! महँगो भए पनि राम्रो पढाउन बोर्डिङमा नहाली हुँदैन।
सरकारी स्कुलमा किन राम्रो पढाइ हुँदैन रे?
सरकारीमा मास्टर (शिक्षक) ले चासो गर्दैन भन्छन्। बच्चाले पढे पनि नपढे पनि वास्ता गर्दैन रे! त्यस्तो भएपछि त बच्चा पढाइमा कमजोर भइहाल्छ।
हामी (आमाबाबु) ले पढ्न पाएनौं। हाम्रा छोराहरू राम्रो पढून् भन्ने लाग्छ। उनीहरूको पढाइ राम्रो होओस् भनेर बोर्डिङ स्कुलमा राखेका हौं। खेती गरेर बनाएको पैसा छोराहरूको पढाइमा लगाएका छौं।
खेतीको पैसाले सबै घरखर्च र छोराहरूको पढाइखर्च पुग्छ?
अहिलेसम्म त पुगेकै छ। वर्षभरि तरकारी बेच्छौं। धान र गहुँ पनि बेच्छौं। त्यही पैसाले पुगेको छ।
खेतीबाहेक आम्दानीको अर्को कुनै स्रोत छैन?
केही पनि छैन। हामी बुढाबुढी नै खेतीमा काम गर्छौं। हाम्रो काम नै खेतीपाती हो।
बचत कति गर्नुहुन्छ?
कहाँ बचत गर्न सकिन्छ र! छोराहरूको पढाइ खर्च, लुगाकपडा, खेतीपाती लगाउन मलखाद, साबुन, तेल यस्तैमा ठिक्क हुन्छ।
खेतीको काम त छँदैछ, यसबाहेक तपाईंलाई मनपर्ने काम के हो?
खेतीपाती नै हो। म त आफ्नो खेतबारीमा काम गर्न नै रमाउँछु। हामी गाउँमा बस्ने मान्छेले खेतीपाती गर्नै पर्छ। आफ्नै खेतमा आफ्नै काम गर्ने हो। मलाई त यसमै रमाइलो छ।
तपाईंलाई मन पर्ने खाना के हो?
मलाई मासुभात मन पर्छ। मासुभात खान पाउँदा खुसी हुन्छु।
मासु कत्तिको खानुहुन्छ?
मन लागेपछि किनेर ल्याइहाल्छु। महिनामा तीन–चार पटक खान्छौं।
जिन्दगीमा के कुराले धेरै खुसी हुनुभएको छ?
म त आफ्नो काम गरेरै खुसी छु। अरू खुसी केही छैन।
जिन्दगीमा तपाईंलाई के कारणले चित्त दुखेको छ?
मैले पढ्न पाइनँ। पढ्न नपाएकोमा चित्त दुखेको छ। सानैदेखि चित्त दुखेको कुरा यत्ति हो। अरू त ठिकै छ।
यसो भइदिएको भए हुन्थ्यो भनेर मनमा लागेको कुरा केही छ कि?
जेठो छोरो घरमै छ। उसले काम त सघाएको छ तर आफ्नै खुट्टामा उभिने केही काम भए हुन्थ्यो भन्ने लाग्छ। अरू त त्यस्तो केही छैन।
छोराहरू कस्ता होऊन् भन्ने लाग्छ?
राम्रो पढून् र राम्रो काम गरून् भन्ने लाग्छ। आफ्नो खुट्टामा उभिएको हेर्न पाए भयो।
यति बेला तपाईंसँग ठिकठिकै पैसा हुँदो हो त के किन्नुहुन्थ्यो होला?
ठिकठिकै पैसा भए राम्रो तरकारीको बिउ किन्थेँ। बिउ राम्रो भयो भने तरकारी पनि राम्रो फल्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
मलाई त खासै केही थाहा छैन। कस्तो भनूँ! राम्रो कि नराम्रो! सबै ठिकै छ।
तपाईंलाई देशको राजनीतिमा कत्तिको चासो छ?
मलाई राजनीतिको कुरा केही पनि थाहा छैन।
किन नि?
के थाहा हुनु र हामी अनपढ मान्छेलाई! हामी खेतीपातीको काम गर्ने मान्छे, आफ्नो काम गर्यो, खायो। राजनीतिको कुरामा मतलब नै हुँदैन।
कोही नेतालाई त चिन्नुहुन्छ कि चिन्नुहुन्न?
हाम्रो वडाको वडाअध्यक्ष माधव चौधरीलाई चिनेको छ। अरू कसैलाई पनि चिनको छैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
कांग्रेसलाई दिएको हो।
कांग्रेस पार्टीको बारेमा के के थाहा छ?
केही पनि थाहा छैन। माधव चौधरी कांग्रेसमा छन्, त्यही भएर उनलाई भोट दिएको हो। हामीलाई पार्टीको कुरा कहाँ थाहा हुन्छ र!
आउने चुनावमा कसलाई भोट दिनुहुन्छ होला?
कांग्रेसलाई नै दिन्छौं होला।
किन?
कांग्रेसमा चिनेका मान्छे छन्।
सरकारले के काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले किसानलाई सुविधा हुने काम गर्नुपर्छ। रोजगारी हुने काम गर्नुपर्छ।