(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
घर बाहिर टहलिरहेको बेला उनलाई हामीले भेटेका थियौं। उनी अर्थात् बुटवल १७ नयाँ बुटवलकी गुमा राना। २२ वर्ष पहिले बाग्लुङबाट तराई झरेकी गुमा सुरूदेखि नै नयाँ बुटवलमा बस्दै आएकी हुन्। गुमासँग हामीले कुराकानी सुरू गर्यौं।
नमस्ते दिदी, कता हिँड्नुभयो?
कहाँ हिँड्ने हो र यत्तिकै बाटोमा हावा खाएको।
खानपिन गर्नुभयो?
खाएको छैन। भर्खर पकाएर बाहिर निस्किएको हो। छोराहरू कामबाट आएका छैनन्। उनीहरू आएपछि बल्ल खाने हो।
घरमा को को हुनुहुन्छ?
श्रीमान मनबहादुर राना र दुई जना छोरा घरमा छन्। कान्छो छोरा कुवेत गएका छन्। जेठो र माइलोले लेबर मिस्त्रीको काम गर्छन्। एउटी छोरी हुन्, उनी विवाह भएर आफ्नै घरमा छिन्।
छोराहरूले कत्तिको सुख दिएका छन्?
सुखै दिएका छन्। खान लाउन दिएकै छन् त्यही त हो सुख भनेको।
तपाईं कति वर्षको हुनुभयो?
कति वर्ष कि भएँ त्यो त थाहा छैन। अब भत्ता पाउने बेला भएको छ।
दिनभरि के काम गर्नुहुन्छ?
अब हातखुट्टा चल्न छोडे के काम गर्ने हो र! हात खुट्टा दह्रा हुँदा त ज्याला मजदुरी गरियो नि। अहिले त दिनभरि घरै बस्छु। खाना पकाउने भाँडा माझ्ने गर्छु।
तपाईंलाई घरको काम बाहेक के काम गर्न मन लाग्छ?
घरधन्दा गरेर फुर्सद भयो भने वरपर छरछिमेकीहरुसँग गफगाफ गर्छु। अरु त के गर्न मन लाग्ने हो र। टिभी हेरौं भने घरमा टिभी पनि छैन।
तपाईंलाई सबैभन्दा बढी के खान मन लाग्छ?
खान मन त सबै लाग्छ नी। मलाई त सबैभन्दा खान मन पर्ने साग हो। साग खाए आँखा पनि देखिन्छ भन्छन्। राम्रो गर्ने भएर त बजारमा पनि साग महँगो भएको होला। ६०÷७० रुपैयाँ मुठा परेपनि किनेर खान्छु साग त।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
केही पनि रहर छैन। आफूले कमाउन सक्ने भए पो पैसा भए यस्तो किन्ने थिएँ भन्ने हो। छोराहरूले आफै कमाउँछन्। आफै खर्च गर्छन्। घरमा रासन पानी पनि उनीहरूले नै किनेर ल्याइदिन्छन्। मैले त उनीहरूले किनेर ल्याइदिएको चिज पकाइदिने हो।
छोराहरूले यस्तो चिज किनेर ल्याइदिए हुन्थ्यो भन्ने केही छैन?
पैसा भए त टिभी किनेर ल्याइदिए हुन्थ्यो। दिनभरि घरमै बसेर टिभी हेर्थें। तर, पैसा छैन के गर्ने! भनेर मात्र भएन।
तपाईंको स्वास्थ्य कस्तो छ?
त्यति ठूलो बिमार त छैन। तर, शरीर चिलाउने समस्या छ। घाउ खटिरा केही देखिँदैनन्, चिलाएर हैरान हुन्छ।
अस्पतालमा जँचाउनुभएन?
धेरै ठाउँमा जँचाइसकेँ। केही दिन पहिले पनि बुटवलमा गएर जचाएर औषधि ल्याएको छु।
नुहाउने कपडा धुने धारामा गर्नुहुन्छ कि तिनाउ खोलामा?
घरमा धारामै गर्छु नुहाउने धुने त। खोलाको पानीमा नुहाउने धुने नगरेको धेरै वर्ष भयो।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रै लाग्छ। दिउँसोमा सुत्यो भने रातिमा छिटो निद्रा लाग्दैन। दिउँसोमा नसुतेको दिनमा राम्रो निद्रा लाग्छ। निद्रा लागेन भनेर राति उठेर बस्नु परेको छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त बैँसमा भइयो होला नि। उमेरमा दुःख गर्न पनि सकिन्छ खुसी भइन्छ। अब त कान्छो छोरा विदेशबाट आएपछि खुसी हुने हो। कुवेतबाट पुस माघमा आउने भनेका छन्, आउने दिन गनेर बसेकी छु।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभएको थियो?
कान्छो छोरा विदेश जाने बेलामा नै धेरै दुःख लागेको थियो। तीन वर्ष पहिले घर छोडेर पहिलोपटक छोरो विदेश जाँदा धेरै दुःख लाग्यो। अर्काको देशमा के गरेर खाला भन्ने चिन्ता लाग्यो नि।
तपाईंको मनमा गढेर बसेको कुनै त्यस्तो पिर छ?
छ नि। तीनै जना छोराहरूको विवाह भएको छैन। कस्तो जोडा पर्ने हो। सम्पत्तिको नाममा सुकुम्बासी जग्गामा बनाएको एउटा छाप्रो मात्र छ। यस्ता कुरा सम्झिँदा धेरै पिर पर्छ। राम्रो घर बनाएर बस्न पाए हुन्थ्यो भन्ने धोको छ।
तपाईंलाई यहाँको टोल समाज कस्तो लाग्छ?
राम्रै छ। आफू पनि यही टोल समाजमा बसेपछि मिलेर बस्नै पर्यो। आफू राम्रो भए टोल समाज पनि राम्रै हुन्छ।
टोल समाजको सबैभन्दा मन पर्ने कुरा के हो?
सबै मिलेर बसेका छन्। सबै कुरा मन पर्छ।
टोलसमाजको मन नपर्ने कुरा केही छ?
मन नपर्ने केही छैन। हामीलाई सबैले राम्रै गरेका छन्।
तपाईंलाई नेपालको राजनीतिबारे कत्तिको थाहा छ?
मलाई त राजनीति भनेको के हो भन्ने पनि थाहा छैन। चुनावमा भोट माग्न आउनेलाई त भन्छन् होला नि राजनीति होइन र?
राजनीति ठिकसँग चलेको छ भन्ने लाग्छ?
ठिक चलेकै छ होला। ठिक चले पनि नचले पनि जनताले पाउने केही होइन।
तपाईंलाई नेपालका नेताहरूमध्ये सबैभन्दा मन पर्ने को हो?
नेताहरू त कोही पनि चिन्दिनँ। हामी गरिबका घरमा को आउँछ र चिन्ने। न हामी उनीहरूलाई भेट्न जान्छौं, न उनीहरू हामीलाई भेट्न आउँछन्। कोही पनि चिन्दिनँ।
चुनावमा भोट त दिनुहुन्छ नि?
भोट त दिन्छु।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त सूर्यमा दिएको हो। तर यो चिह्न कसको हो थाहा छैन।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
पछिको कुरा त अहिले कसरी भन्ने हो र। भोट माग्न, भोट हाल्न सिकाउन ठूला ठूला टाउकेहरू आउलान् नि!
पहिले पनि भोट हाल्न सिकाउन आएका थिए?
आएका थिए नि। आमा नमस्कार भन्दै आएर यी चिह्नमा यसरी भोट हाल्नु भनेर गएका हुन्। त्यसपछि फर्किएर आएका छैनन्।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त गरिबहरूलाई घर बनाइदिने। छोराहरूलाई नेपालमै काम लगाइदिने होइन र? हामीले भोट दिएर उनीहरू गद्दामाथि बस्छन्, हामी सधै भुइँमा छौं।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्