राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने असोज २३ गते बिहानसम्म कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने अन्यौलमा थिए। चितवनको २ र ३ नम्बर क्षेत्रमध्ये एकमा उठ्ने निधो गरेर उनी अघिल्लो दिन नै चितवन आइसकेका थिए।
उनले लामो समय काठमाडौं-२ वा ३ मध्ये एकबाट उठ्ने प्रयन्त गरे। त्यसका लागि मतदाताको 'सेन्टिमेन्ट' बुझ्ने, सर्वेक्षण गर्ने लगायत काम गरे। र, अन्तत: काठमाडौंबाट नउठ्ने निस्कर्षमा पुगे। त्यसपछि उनी चितवन हानिएका हुन्।
चितवनमा पनि कुन क्षेत्रबाट उठ्ने भन्ने उम्मेदवारी दर्ताको दिन भरतपुर आइपुग्दासम्म उनलाई थाहा थिएन।
जब उनले चितवन-२ बाट उठ्ने निधो गरे, उनलाई आफ्नै कार्यकर्ताले घेरे। क्षेत्र नम्बर ३ बाट उठ्ने भनेर आफूहरूलाई झुक्याएको भन्दै कार्यकर्ताहरूले रविलाई र्याखर्याख्ती पारेका थिए।
कार्यकर्ताहरूले रविलाई भने, 'तपाईंकै कारण प्रचण्डले ३ नम्बर क्षेत्र छाडे, अब तपाईं यो क्षेत्र छाडेर २ नम्बरमा जान मिल्दैन। हामी मान्दै मान्दैनौं। नारायणघाट बजारलाई हेरेर हुन्छ! कालिका नगरपालिकाबारे तपाईंलाई के थाहा छ? कहिले बुझ्न पुग्नुभएको छ? तपाईंले भन्दा यहाँका मान्छेले बुझेका छन् गतिविधि।'
कार्यकर्ताहरूको यत्रो गुनासोबीच रविले क्षेत्र नम्बर २ नै रोज्नुको कारण के हुन सक्छ त?
राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला संयोजक धर्वेन्द्र सापकोटा नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग औपचारिक सहमति भएपछि रविले क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको बताउँछन्।
'पहिले ३ मै आउने तयारी थियो। नेकपा एमाले, विद्रोही कांग्रेससँग सहमतिको कुरा अघि बढेको थियो। सबै मिलेर प्रचण्डलाई हराउने भन्ने थियो। तर प्रचण्डले छाड्नु भएपछि कुरा फेरियो,' सापकोटाले सेतोपाटीसँग भने, 'त्यसपछि क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउने, २ नम्बरमा कांग्रेसको असन्तुष्ट समूहले नउठाउने र दुवै क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ।'
स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा जिता बरालले उम्मेदवारी दर्ता गरेकी छन्। मंगलबारसम्मै स्वतन्त्र पार्टीले उनको उम्मेदवारी फिर्ता हुने बताएको थियो। तर बरालको उम्मेदवारी फिर्ता गरेकी छैनन्।
सापकोटाले भने अझैपनि एकअर्कालाई सघाउने सहमतिको प्रयास भइरहेको बताए।
'त्यता हामी जगन्नाथ पौडेललाई सघाउँने र उहाँहरूको धारका कांग्रेस कार्यकर्ताले २ नम्बरमा रवि लामिछानेलाई सघाउने विषयमा सहमतिको प्रयास अझै जारी छ,' उनले भने, 'जीताजीको उम्मेदवारी फिर्ता नभएपनि सहमति भयो भने पछि विज्ञप्ति जारी गरेर जगन्नाथजीलाई नै भोट हाल्न मतदातालाई आह्वान गर्ने भन्न सकिन्छ।'
सापकोटाले चितवनका कांग्रेस कार्यकर्ताहरूमा उमेश श्रेष्ठप्रति लगाव कम रहेको, एमालेभित्र कृष्णभक्त पोखरेलको प्रभाव पहिलेजस्तो नरहेकाले २ नम्बर क्षेत्रबाट जित्न सहज ठानेर आफ्ना अध्यक्षले उम्मेदवारी दिएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ बाट कांग्रेसको १५ देखि २० हजारसम्म भोट तान्ने दाबी गरेको छ। यो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाबाट स्थानीय चुनावमा जगन्नाथ पौडेलले ६ हजार ४ सय ७५ भोट ल्याएका थिए। सहमतिअनुसार यो भोट आफूतिर आउने रविका सहयोगीहरू बताउँछन्।
महानगरबाहेक कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट पनि तत्कालीन भुइँकटहर समूहको केही भोट रविले पाउने उनीहरूको आशा छ। यसबाहेक उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको नरूचाएका कांग्रेस कार्यकर्ताहरूलाई आफूतिर तान्ने उनीहरूको रणनीति छ।
जिल्ला अध्यक्ष सापकोटाले एमालेभित्रका युवाको भोट पनि रविले तान्ने दाबी गरे। एमालेबाट ३० प्रतिशतसम्म भोट तान्न सक्ने आकलन स्वतन्त्र पार्टीले गरेको छ।
'उहाँ सबैले चिनेको, राष्ट्रिय छवि भएको, जनताको दुःखमा साथ दिएको, देश–विदेशबाट पीडितको उद्धार गरेको मान्छे हो। त्यसैले उहाँको आफ्नै पपुलर भोट छ, युथको क्रेज छ,' उनले भने, 'विदेश बस्नेहरूले पनि डिजिटल माध्यमबाट सहयोग गरेका छन्।'
तर नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले भने रविलाई आफ्नो प्रतिस्पर्धी नै मानेका छैनन्। दुवै पार्टीका नेताहरू यसअघिका निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई आधार मानेर यसपटक आफ्नै पल्ला भारी हुने दाबी गर्छन्।
एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवनको क्षेत्र नम्बर २ लाई आफूले जति कसैले नबुझेको बताए। दुई कार्यकालमा नसकिएका काम सक्न आफूले उम्मेदवारी दिएको उनको भनाइ।
पोखरेल गत निर्वाचनमा ४४ हजार ६ सय ७० भोट ल्याएर विजयी भएका थिए। उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बनेको थियो। पोखरेलका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ भोट ल्याएका थिए।
पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट उठेका यो क्षेत्रका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ५ सय ४३ भोट पाएका थिए। उक्त निर्वाचनमा गठबन्धनभित्रका कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट उठेका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ३ सय ९४ भोट पाएका थिए।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो। इच्छाकामना गाउँपालिकाका ७ वटा वडामध्ये ५ वडा एमालेले जितेको थियो। कालिकामा ४ र भरतपुर महानगरपालिकामा ३ वटा वडा एमालेले जितेको थियो।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाका ५, कालिका नगरपालिकाका ५ र इच्छाकामना गाउँपालिकाको एउटा वडा जितेको थियो। माओवादी केन्द्रले महानगरमा १, कालिकामा २ र इच्छाकामनामा एउटा वडा जितेको थियो। एकीकृत समाजवादीले महानगरपालिकामा एक वडा मात्र जित्यो। वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा गठबन्धनमा रहेका सबै दलकाले पाएभन्दा एमालेका वडाध्यक्षहरूले पाएको भोट १ सय ४९ ले बढी छ।
एमाले उम्मेदवार पोखरेलले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै 'प्रतिनिधिसभा निर्वाचनमा पनि एमाले एक्लैले गठबन्धनलाई जित्ने' दाबी गरेका थिए। गठबन्धनको भोट पनि आफूले तान्न सक्ने उन बताउँछन्।
'पहाडमा बस्ने चेपाङ र सहरमा बस्ने विभिन्न जातजाति र समुदायबीच सम्बन्ध जोड्न अझै केही काम गर्न बाँकी छ। ती सम्पूर्ण काम पूरा गर्न र सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न नै एमालेले चुनाव लडिरहेको छ। म त्यसैलाई पूरा गर्छु,' उनले भनेका छन्।
पोखरेलले नेपाली कांग्रेस डराएर जिल्लाका सबै क्षेत्रमा एकल उम्मेदवार उठाउन नसकेको बताए। रवि लामिछाने उठेकोमा भने आफ्नो कुनै प्रतिक्रिया नरहेको उल्लेख गर्दै पोखरेलले आफूले पहिले १७ हजारभन्दा बढी मतान्तरले जितेकोमा अहिले कम्तिमा १० हजार मतान्तरले जित्ने दाबी गरे।
एमालेले प्रदेश सभामा पार्टीका नेताहरू कृष्ण सिलवाल र देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले त एमाले उम्मेदवार पोखरेललाई पनि आफ्नो प्रतिस्पर्धी मानेनन्।
'म यहाँको समृद्धि, विकास र पूरै देशको समृद्धिका लागि उम्मेदवार बनेको छु। म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु,' उनले भने, 'मेरा प्रतिस्पर्धी नै छैनन्, रवि त भर्खर आएका छन्।'
गठबन्धनले यहाँबाट प्रदेश सभामा माओवादी केन्द्रका घनश्याम दाहाल र नेपाली कांग्रेसका उत्तम जोशीलाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रमा १ लाख २४ हजार २१४ मतदाता छन्।
यो क्षेत्रबाट राप्रपाले रविन अधिकारीलाई उम्मेदवार बनाएको छ। ३६ वर्षीय अधिकारी चितवनका उद्यमी हुन्। एग्री केयर नेपालका प्रबन्ध निर्देशक रहेका उनी चितवनमा युवाका माझ परिचित छन्। उनले राप्रपाको मतको अलावा स्वतन्त्र मत पनि तान्न सक्छन्।
कांग्रेस र एमालेले रवि लामिछानेलाई आफ्नो गम्भीर प्रतिस्पर्धी नठाने पनि आममतदाताको रविप्रति आकर्षण कति छ भन्ने मापन गर्ने बेला भइसकेको छैन। भर्खरै उम्मेदवारी दर्ता सकिएकाले धेरै मतदाताले कसलाई भोट दिने भन्ने धारणा बनाइसकेका छैनन्। आगामी केही सातामा कसको पक्षमा माहोल बन्छ भन्ने देखिन थाल्नेछ।
रविले भने आफू तीन वर्षअघि प्रहरी हिरासतबाट मुक्त हुँदा स्वागत गर्न उर्लिएको चितवनको 'जनसागर' प्रति भरोसा गरेको देखिन्छ। त्यही आशामा उनी काठमाडौं छाडेर चितवन गएका हुन्। चितवनमा गरिएको सर्वेक्षणले पनि रविप्रति ठूलो सहानुभूति रहेको देखाएपछि उनी त्यहाँ आएको स्वतन्त्र पार्टीका नेताहरू बताउँछन्।