पार्टीले आफ्नो क्षेत्रका उम्मेदवारको उम्मेदवारी फिर्ता लिइदिएपछि चितवन क्षेत्र नम्बर ३ का नेकपा एमालेका मतदाता अन्यौलमा छन्।
गत असोज २३ गते एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले चितवन ३ का लागि उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी दर्ता गरेपछि उनले विभिन्न ठाउँमा पुगेर प्रचार गर्न पनि भ्याइसकेका थिए। तर असोज २६ गते पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कार्यालयमा पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता गरिदिए।
मतदाताले आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता भएको जानकारी त पाए तर उनीहरूले मंसिर ४ गते कसलाई भोट हाल्ने भन्ने पार्टीको आधिकारिक निर्णय पाएका छैनन्।
एमालेका स्थानीय नेता कार्यकर्ताले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने कुरा सुनेका छन्। राप्रपाले स्थानीय चुनावमा धोका दिएकाले यसपालि कांग्रेसका बागीलाई भोट हाल्न सजिलो हुने कतिपयको धारणा छ। तर पार्टीको केन्द्रले अरू दुई-तीन ठाउँमा राप्रपासँग तालमेल गरेको छ। पार्टीको औपचारिक निर्णय पनि जिल्लामा आइसकेको छैन। त्यसैले यहाँ एमालेका नेता तथा कार्यकर्ता अन्यौलमा छन्।
नेकपा एमालेका जिल्ला उपाअध्यक्ष कमलराज पाठकले पार्टी नेतृत्वलाई अन्य दुई क्षेत्रमा एमालेका उम्मेदवारलाई सहयोग गर्नसक्ने पार्टी वा समूहलाई क्षेत्र नम्बर ३ मा सघाउने गरी निर्णय आग्रह गरेको बताए।
'कसलाई सहयोग गर्ने भन्ने निर्णय नहुँदा कार्यकर्ताहरू अन्यौलमा हुनु स्वाभाविकै हो। हामीले पनि समाचारहरूमा कांग्रेसका बागी उम्मेदवारलाई सघाउने कुरा सुनेका छौं। तर कांग्रेसका बागी कोइरालाबाहेक अरू पनि भएकाले सहयोगको अर्थ के हुन्छ भन्ने सोच्नुपर्छ जस्तो लाग्छ,' पाठकले सेतोपाटीसँग भने, 'हाम्रा मतदाताले क्षेत्र नम्बर ३ मा सघाउँदा ऊबाट १ र २ नम्बरमा केही सहयोग हुनुपर्छ भनेका छौं।'
उनले नेकपा एमालेले विभिन्न ठाउँमा राप्रपासँग तालमेल गरेकाले यहाँ पनि त्यो नहोला भन्न नसकिने बताए।
प्रदेश सभा क्षेत्र नम्बर ३ (क) का एमाले उम्मेदवार कृष्णप्रसाद भुर्तेलले चितवन–३ का मतदाताले पार्टीको आधिकारिक निर्णय पर्खिरहेको बताए।
'पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्न लागेको जानकारी मैले अनौपचारिक रूपमा पाएको छु। तर औपचारिक जानकारी नआएसम्म भन्दै हिँड्न मिलेन,' उनले भने।
पार्टीका जिल्ला अध्यक्ष काठमाडौंमा रहेको र उनी पार्टीको आधिकारिक निर्णय लिएर चितवन आउने उनले बताए।
'अध्यक्षले बैठक राखेर आधिकारिक कुरो जानकारी गराउनु हुन्छ। त्यसपछि हामी कार्यकर्ताहरूलाई यथार्थ कुरो बताउँछौं,' भुर्तेलले भने।
भुर्तेलले बुधबार न्यौपानेको उम्मेदवारी फिर्ता भएको जानकारी पाएपछि कार्यकर्ता अन्यौलमा परेको बताए। अब पार्टीले कसलाई सहयोग गर्छ, हामीले कसलाई मतदान गर्ने हो भनेर सोध्ने कार्यकर्ताको फोन तारन्तार आइरहेको उनको भनाइ छ।
बागमती प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) की उम्मेदवार सरस्वती विष्टले पनि न्यौपानेको उम्मेदवारी फिर्ताको निर्णयले कार्यकर्ता चिन्तित बनेको बताइन्। कार्यकर्ताले धेरै प्रश्न गरे पनि आधिकारिक निर्णय नआइसकेका कारण जवाफ दिन नसकेको उनले बताइन्।
'आफ्ना होनहार नेतालाई भोट हाल्न नपाइने भयो भनेर कार्यकर्ताले चित्त दुखाउनुभएको छ। हामीले पार्टीले गरेको निर्णय मान्नुपर्छ, राम्रै निर्णय गर्ला भनेर सम्झाएका छौं,' विष्टले सेतोपाटीसँग भनिन्, 'पार्टीले गठबन्धनभन्दा बाहिरका उम्मेदवारलाई सहयोग गर्छ। एमालेका कार्यकर्ताहरू पार्टीको निर्णयलाई मान्छन्। पार्टीले भन्यो भने विष पिउन पनि तयार हुन्छन्।'
एमालेका तर्फबाट प्रतिनिधि सभामा सहयोग गर्ने उम्मेदवार तोकेपछि पार्टी कार्यकर्ताहरू एक ढिक्का भएर लाग्ने दाबी उनले गरिन्।
भरतपुर–२७ मेघौली क्षेत्रका एमालेका नेता इन्द्रबहादुर केसीले न्यौपानेको उम्मेदवारी फिर्तापछि धेरै कार्यकर्ता आक्रोशित भएको बताए।
'कसलाई भोट हाल्ने हो भनेर सोध्छन् तर जवाफ दिने कुरो पाइएको छैन,' उनले भने, 'बिस्तारै आक्रोश थामिएला। त्यसपछि त पार्टीले जसलाई भन्छ, उसलाई भोट हालिहाल्छन्।'
चितवनमा २०४८ सालमा ३ वटा, २०५१ र ०५६ को संसदीय निर्वाचनमा ४ वटा, २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा ५ वटा निर्वाचन क्षेत्र थिए। २०७४ सालबाट पुनः ३ निर्वाचन क्षेत्र कायम भयो। हालको क्षेत्र ३ मा संसदीय निर्वाचनमा नेकपा एमालेले कहिल्यै पनि जित्न सकेको छैन।
गत निर्वाचनमा एमालेले यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सघाएको थियो। त्यसअघि २०७० सालमा हालको ३ नम्बर क्षेत्रभित्रै पर्ने क्षेत्र नम्बर ४ मा पार्वती रावल र क्षेत्र नम्बर ५ दानबहादुर तामाङ उम्मेदवार थिए। क्षेत्र नम्बर ४ मा २०७१ सालमा भएको उपनिर्वाचनमा पनि रावल उम्मेदवार थिइन्। २०६४ सालमा क्षेत्र नम्बर ४ मा पार्वती रावल, क्षेत्र नम्बर ५ मा विजय सुवेदी उठेका थिए। २०५१ र २०५६ सालमा क्षेत्र नम्बर ४ मा विजय सुवेदी उम्मेदवार थिए।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत परिणामअनुसार चितवनको क्षेत्र नम्बर ३ मा एमाले दोश्रो ठूलो राजनीतिक दल हो। राजनीतिक दललाई भोट हालिने समानुपातिक प्रणालीमार्फत चितवन–३ बाट नेपाली कांग्रेसले २६ हजार १३७, एमालेले २४ हजार १५५, माओवादी केन्द्रले २२ हजार ९८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५ हजार ६३३ मत प्राप्त गरेका थिए।
गत स्थानीय चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्षका उम्मेदवारहरूले ४५ हजार १७२ भोट पाएका थिए। नेकपा एमालेका वडाध्यक्षहरूले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले ७ हजार ४५४ भोट ल्याएका थिए।
भरतपुर महानगरपालिकामा एमालेले राप्रपासँग तालमेल गरेको थियो। भरतपुर महानगरपालिकाबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाहरूबाट ८ हजार २५३ भोट ल्याएका थिए।