चितवन-३ को त्रिपक्षीय प्रतिस्पर्धा
तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एक पटक राष्ट्रिय सभा सदस्य भए पनि जगन्नाथ पौडेलको नाम जिल्लाको राजनीतिक वृत्तमा खासै सुनिन्थेन। नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा त उनी महासमिति सदस्य पदमै पराजित भएका थिए। गत वैशाखमा स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि भने उनको चर्चा देशव्यापी चुलियो।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएको थियो। पौडेलले पार्टीको निर्णयको बिरोधमा विद्रोह गरेका थिए। उनलाई कांग्रेसका पुराना नेताहरूले साथ दिएका थिए। लगातार दोस्रो पटक मेयर पद माओवादीलाई दिँदा पार्टीभित्र तीव्र असन्तुष्टी थियो। त्यो समूहले जगन्नाथलाई हौसाएको थियो। उनको उम्मेदवारीले सत्ताको केन्द्रमै भूकम्प ल्याइदिएको थियो भन्दा पनि हुन्छ। जगन्नाथको उम्मेदवारी फिर्ता/निष्क्रिय गर्न गठबन्धनका नेताहरू चितवन केन्द्रित भएको स्पष्ट देखिन्थ्यो।
प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सरकारका विभिन्न मन्त्री मात्रै नभएर पूर्वप्रधानन्याधीशसमेत जगन्नाथको उम्मेदवारी फिर्ता गर्न सक्रिय भएका थिए।
‘मलाई आश्वासन दिन बाँकी कुनै पद थिएन तर म लोभमा परिनँ, कांग्रेस जोगाउनका लागि सतिसालझैं अडिएँ,’ उनी भन्थे। मेयर पदमा १४ हजार बढी भोट ल्याएपछि उनी ‘भुइँकटहर समूह’को नेताका रूपमा रहे।
उनै जगन्नाथ पौडेल अहिले चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा पनि उम्मेदवार छन्। तर उनको चर्चा यसपालि पहिलेको जस्तो छैन। धेरै समर्थकले पौडेलको साथ छाडेका छन्।
भरतपुर महानगरपालिका गुमाए पनि कांग्रेसका कार्यकर्ताले चितवन-३ गुमाउन चाहेका थिएनन्। तर प्रचण्डले क्षेत्र छाड्दा पनि कांग्रेसले माओवादीकै उम्मेदवारलाई सघाउने निर्णय गरेपछि केन्द्रीय सदस्य दिनेश कोइराला विद्रोहमा उत्रिए। पहिले जगन्नाथलाई उम्मेदवार बनाएका कांग्रेसका पुराना नेताहरू कोइरालालाई साथ दिन पुगेका छन्।
चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार छैनन्। उम्मेदवारी दिएका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई फिर्ता गराएर एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई साथ दिएको छ। स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भुइँकटहर समूहकी नेतृ मीना खरेललाई चितवन–३ को उम्मेदवार बनाउन चाहन्थे। तर जगन्नाथ फेरि पनि आफैं उठ्न चाहे। मेयरमा चुनाव लड्दाको खर्च विवरण नबुझाएबापतको जरिवाना साढे ७ लाख अन्तिम समयमा बुझाएर उनी उम्मेदवारी दर्ता गर्न पुगे। उनी त्यहाँ पुग्दा केन्द्रीय सदस्य कोइरालाले उम्मेदवारको फारम भरिसकेका थिए। कोइरालाले पार्टीका उच्च तहका नेताकै सल्लाहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर समर्थनको निर्णय गराएको स्रोत बताउँछ। त्यसपछि खरेलले पनि कोइरालालाई समर्थन् गरिन्।
माओवादी केन्द्रले फिजिसियन डाक्टर भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ। यहाँबाट जित्नका लागि अधिकारी, कोइराला र पाण्डे तीनै जनाको भर कांग्रेस र एमालेका कार्यकर्ता माथि छ। यी सबै उम्मेदवारहरू अहिले आफ्नो उम्मेदवार नउठाएका पार्टीहरू कांग्रेस र एमालेका मतदाता रिझाउनमा व्यस्त छन्।
जगन्नाथ यसपालि न पहिले जसरी दौडधुपमा उत्रिएका छन्, न त असन्तुष्ट कांग्रेसका समर्थकहरू उनका अघिपछि लागेका देखिन्छन्। तैपनि उनी निष्क्रिय हुने सोचमा छैनन्।
‘पहिले उम्मेदवारी फिर्ता लिन उहाँलाई जो जसले दबाब दियो उनीहरूले अहिले कुनै हालतमा उम्मेदवारी फिर्ता नगर्न मनाइरहेका छन्। प्रधानमन्त्री, गृहमन्त्रीले फोन गरेर यसपालि उम्मेदवारी फिर्ता नलिन मनाइसकेकाले उहाँ जतिसुकै भोट आए पनि आओस् तर ब्याक हुन्न भनेर बस्नुभएको छ,’ पौडेल निकटका एक नेताले सेतोपाटीसँग भने, ‘यसपालि पनि पहिलेजस्तै धेरै आश्वासनहरू आएका छन्।’
दिनेश कोइरालालाई सहयोग गरेकी नेतृ मीना खरेलले पनि जगन्नाथ पौडेलले प्रधानमन्त्री, गृहमन्त्रीको प्रस्ताव स्वीकारिसकेको दाबी गरिन्।
‘पहिले कांग्रेस जोगाउनुपर्छ भन्ने समूह बन्यो, उहाँ अघि सरेपछि ठीकै छ भनेर हामीले पनि सहयोग गर्यौं। मैले महासमिति सदस्य पदै गुमाएँ, सन्तोषजनक भोट आयो तर यसपालि सल्लाह नै नगरी उहाँ उम्मेदवार बन्नुभयो,’ खरेलले भनिन्, ‘पहिले नेताहरूको अगाडि पार्टी जोगाउनु ठूलो कुरो हो भनेर त्यत्रो अडान लिएको मान्छे अहिले उनीहरूले दिएको आश्वासनमा लोभिएर उम्मेदवारमा खडा हुनुभएको छ।’
क्षेत्र नम्बर २ को मतदाता भए पनि ३ नम्बरबाट चुनाव लड्ने र जसरी पनि आफू नै उम्मेदवार बन्ने जगन्नाथको रुचीलाई समर्थन गर्न नसकिएको खरेलले बताइन्। यसपालि दिनेश कोइरालाको उम्मेदवारीले भरतपुर महानगरको मेयरमा जगन्नाथ पौडेलको उम्मेदवारीले दिएजस्तै झट्का गठबन्धनका शीर्ष नेताहरूलाई दिएको भने प्रष्टै देखिन्छ।
यद्यपि जगन्नाथ पौडेलको उम्मेदवारी कायम रहँदा उनको पक्षमा आउने मतले पनि निर्वाचनको नतिजा तलमाथि पर्न सक्छ। क्षेत्र नम्बर ३ मा पर्ने महानगरका १९ वटा वडाहरूबाट उनले मेयर पदमा ८२५३ भोट ल्याएका थिए। कोइरालाको उम्मेदवारीका कारण त्यतिखेर भोट हाल्ने सबैले प्रतिनिधि सभामा जगन्नाथलाई भोट हाल्ने अवस्था छैन।
‘जगन्नाथ दाइलाई काँधमा हालेर हिँड्ने, कुनै आश्वासन र दबाबको पनि परबाह नगर्ने कृष्णलाल सापकोटाले दिनेशजीलाई समर्थन गरिसक्नुभएको छ। पूर्वसांसद भीमबहादुर श्रेष्ठ, मीना खरेल जस्ता धेरै नेताहरूले उहाँलाई छाडिसक्नुभयो। त्यसैले पहिलेको भोट सबै पाउँछु भन्ने उहाँलाई पनि लागेको छैन होला,’ स्थानीय निर्वाचनमा भुइँकटहर समूहमा सक्रिय कांग्रेसका एक नेता भन्छन्।
गठबन्धनका नेताहरूले जगन्नाथको उम्मेदवारीले आफ्ना उम्मेदवारलाई जिताउन सजिलो हुने ठानेका छन्। कोइरालालाई क्षेत्र नम्बर ३ को दोस्रो ठूलो दल नेकपा एमालेले समर्थन गरेको अवस्थामा कांग्रेसभित्रको विद्रोही समूहको केही भोट जगन्नाथले होल्ड गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले चुनाव जित्नसक्ने अनुमान उनीहरूको छ। जिल्लाको त्यही रिपोर्टिङको आधारमा देउवा र खाणले जगन्नाथलाई कुनै हालतमा निष्क्रिय नहुन मनाएका हुन्।
यो क्षेत्रको अनुमान बाहिर बसेर हिसाब गरेजस्तो सजिलो भने छैन। आफ्नै उम्मेदवार नभएका कांग्रेस र एमालेकामात्रै होइन माओवादीका मतदाताले पनि यसपालि कसलाई भोट हाल्लान् भनेर अनुमान गर्न गाह्रो छ।
यो क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग कुरा गर्दा पार्टीले राजनीतिमै नरहेका व्यक्तिलाई टिपेर उम्मेदवार बनाएकोमा असन्तुष्ट माओवादी कार्यकर्ता पनि प्रशस्तै भेटिए।
‘कि आफैं उठ्ने, नभए आफूलाई मन लागेका मान्छेलाई टपक्क टिपेर उम्मेदवार बनाउने चलन भयो। पार्टीका लागि त्याग र संघर्ष गरेका मान्छेको बेवास्ता गरेर योगदानै नभएका मान्छेलाई उम्मेदवार बनाउँदा कस्तो-कस्तो लाग्ने रहेछ,’ भरतपुर–१३ मा भेटिएका माओवादीका एक जना युवा मतदाताले गुनासो सुनाए।
भरतपुर–२२ का अर्का मतदाताले भने अधिकारीलाई पार्टीका नेताभन्दा पनि आफ्नै ठाउँको मान्छे भनेर भोट हाल्ने मनशाय बनाएको बताए।
‘म माओवादीको कार्यकर्ता हुँ तर अधिकारीलाई माओवादी भनेर भोट दिन मन त छैन। आफ्नो गाउँका चर्चित व्यक्तिलाई उम्मेदवार बनाएकाले भोटचाहिँ दिने मनशाय बनाएको छु’ उनले भने।
केहीले माओवादीमा लागेर युद्ध लडेका नेताहरू रामबहादुर थापादेखि यमबहादुर परियारसमेतले पार्टी छाडेको अवस्थामा नेतृत्वले गरेको मनखुसीले अरू कार्यकर्ता पनि भड्किएको बताए।
अधिकारी भने आफू अध्यक्ष प्रचण्डको उत्तराधिकारी बनेर उनले गर्न बाँकी रहेका कामहरू सम्पन्न गर्न उम्मेदवार बनेको बताउँछन्। पार्टी र गठबन्धनले निर्णय गरेको, धेरै मतदाता आफूले नियमित परीक्षण गर्ने बिरामीहरू रहेका कारण निर्वाचन सहजै जित्ने दाबी उनी गर्छन्। कांग्रेसको मात्रै नभएर एमाले र राप्रपाको मत पनि आफूले तान्ने दाबी उनी गर्छन्।
चितवनमा भड्किएका कांग्रेस, एमाले र माओवादीका मतदातालाई तान्न राप्रपाका उम्मेदवार विक्रम पाण्डे पनि कम्मर कसेर लागेका छन्। आफूलाई विकासवादी नेता बताउने पाण्डेले आफूले विगतमा गरेका कामहरूका कारण यसपालि मतदाताले पार्टी नभनी विकासका लागि आफूलाई भोट दिनेमा उनी ढुक्क छन्। यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार नहुनुलाई उनले आफ्नो प्रतिष्पर्धी नै नभएको रूपमा हेरेका छन्।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लडेका प्रचण्डले कांग्रेस-राप्रपा गठबन्धनका विक्रम पाण्डेलाई ९३४१ मतले पराजित गरेका थिए। तर अहिले एमालेको आफ्नै उम्मेदवार नभएको, कांग्रेसभित्र असन्तुष्टि बढेको, माओवादीभित्र पनि सबै सन्तुष्ट नरहेको अवस्थामा असन्तुष्ट मतदाताको ‘भोट ट्रान्सफर’ गर्न सहज हुने बुझाइ राप्रपाको छ। पाण्डे हालको क्षेत्र नम्बर ३ भित्रै पर्ने पहिलेको क्षेत्र नम्बर ५ बाट २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए।
उनी यो क्षेत्रमा चुनाव लड्न थालेको यो पाचौं पटक हो। उनीबाहेकका सबै उम्मेदवार पहिलो पटक प्रतिनिधि सभामा लड्दै छन्। धेरै पटक हारे पनि पाण्डेसँग अन्यमा भन्दा बढी चुनावी अनुभव छ।
‘लगातार चुनाव लडिरहेको र सधैं आफ्नो क्षेत्रको विकासमा चिन्तित रहने भएकाले मलाई यहाँका सबै मतदाताले राम्ररी चिन्छन्। यो मान्छेले अवसर पायो भने काम गरेर देखाउँछ भन्छन्,’ पाण्डेले भने, ‘म राजनीति गर्न होइन, विकास गर्न जन्मिएको मान्छे हुँ। यही कुरा मतदातालाई भन्छु।’
उनले पटक-पटक प्रधानमन्त्री भएका व्यक्तिले चुनाव जित्दा पनि यो क्षेत्रले विकास गर्न नसकेको बताए।
‘मैले मन्त्री हुँदा गरेजति काम पनि उहाँबाट भएन। मैले जितें भने, दातृ निकायबाट बजेट ल्याएर भने पनि आफ्नो क्षेत्रको विकास गर्छु, माडीलाई कसरी बनाउने, भरतपुर र माडीको कनेक्सन कसरी गर्ने, चितवन र नवलपुरलाई कसरी जोड्ने, विमानस्थल, सडकहरू कसरी कहाँ बनाउँदा जनतालाई फाइदा हुन्छ भन्ने योजना मसँग छ,’ उनी भन्छन्।
२०७४ सालको समानुपातिक मत परिणाममा राप्रपाको मत कम देखिए पनि उक्त पार्टीका उम्मेदवार विक्रम पाण्डेको प्रभाव माडी र पश्चिम चितवनका केही वडाहरू राम्रो छ। उक्त निर्वाचनमा कांग्रेस र राप्रपाले पाएको समानुपातिक मतभन्दा पाण्डेले ७ हजार बढी भोट ल्याएका थिए।
उक्त क्षेत्रबाट २०५६ सालयता लगातार उम्मेदवार बनेका, एक पटक निर्वाचन जितेका, मन्त्रीसमेत भइसकेका पाण्डेले अन्य पार्टीको भोट पनि तान्न सक्छन्। निर्माण व्यवसायी पाण्डे पैसा बाँडेरै पनि मतदाता किन्न सक्ने नेताको रूपमा पनि परिचित छन्।
०७० मा कांग्रेसका उम्मेदवार हुँदाहुँदै पनि पाण्डेले कांग्रेसकै मतदाताको भोट पाएर चुनाव जितेका थिए। उनको लगानी रहेको कालिका ग्रुपको प्रभाव यो क्षेत्रमा देखिन्छ। ग्रुपअन्तर्गतको कालिका एफएम, कालिका टिभी, कालिका कन्स्ट्रक्सन प्रालिको प्रभाव जिल्लाभन्दा बाहिरसम्मै छ।
तै पनि पाण्डेलाई चुनाव जित्न सहज भने छैन। आफ्नो पार्टीको भोट कम भएकाले जित्न उनलाई अन्य पार्टीको भोट बढी तान्नुपर्ने बाध्यता छ।
दिनेश कोइराला हुँदाखाँदाको केन्द्रीय सदस्य पद माया मारेर उम्मेदवार बनेका छन्। उनलाई नेपाली कांग्रेसलाई माया गर्ने कार्यकर्ताले आफूलाई भोट दिन्छन् भन्ने विश्वास छ।
‘म यो क्षेत्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सिध्याउन नेतृत्वले पटक-पटक गरेको निर्णयको विरूद्ध उम्मेदवार बनेर खडा भएको छु। म नेतृत्वको स्वेच्छाचारिताका कारण बाध्य भएर उम्मेदवार बनेको कांग्रेसका मतदातालाई थाहा छ,’ कोइराला भन्छन्, ‘नेतृत्वलाई चितवनले महत्वपूर्ण सन्देश दिँदैछ।’
उनले अन्तिम समयसम्म कांग्रेसबाट उठेको उम्मेदवारहरू एक ठाउँमा आउने विश्वास पनि रहेको बताए। तर नेकपा एमालेले उनलाई समर्थन गरेका कारण उनी निष्क्रिय हुने सम्भावना छैन। जगन्नाथ पौडेलको उम्मेदवारीलाई निष्क्रिय बनाउन कोइराला निकटका नेताहरूले प्रयास गरिरहेका छन्।
नेकपा एमालेले समर्थनको प्रतिबद्धता जनाइसकेकाले पार्टीको निर्णय कार्यकर्ताले मान्लान् भन्ने विश्वास पनि उनलाई छ।
‘गठबन्धनलाई माओवादीका उम्मेदवार अधिकारीलाई जिताउनु जति प्रतिष्ठाको विषय छ, पार्टीले निर्णय गरिसकेको अवस्थामा गठबन्धनका उम्मेदवारलाई हराएर कांग्रेसका बागी कोइरालालाई जिताउनु एमालेको नेतृत्वका लागि उत्तिकै प्रतिष्ठाको विषय हो,’ एमालेका जिल्ला नेताहरू भन्छन्, ‘भोट हाल्ने दिनसम्ममा कार्यकर्ताहरू पनि ठाउँमा आइहाल्छन्।’
कोइरालालाई २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो। उम्मेदवारी दर्ता गरेर घरदैलो अभियान थालिसकेका कोइरालाको उम्मेदवारी पार्टीको केन्द्रीय कार्यालयले फिर्ता लिइदिएको थियो। उक्त चुनावमा कांग्रेसले माओवादीकी रेनु दाहाललाई सहयोग गर्यो। सोही साल भएको प्रदेश सभाको निर्वाचनमा कोइराला चितवन–३ अन्तर्गतको बागमती प्रदेशसभाको क्षेत्र ‘क’ बाट उम्मेदवार बनेर पराजित भए। कांग्रेसको चौधौं महाधिवेशनमा उनी खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ। यहाँ मतदाता १ लाख ४४ हजार २८३ जना छन्। चितवनका ३ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता यहीँ छन्।
गत स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर माओवादी केन्द्रले र माडीको मेयर नेकपा एमालेले जितेको थियो। उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारहरूले ४५ हजार १७२, एमालेका उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले ७ हजार ४५४ मत पाएका थिए। भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका थिए। यी दुई दलका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा ३८ हजार ६३ हुन्छ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत परिणामलाई आधार मान्दा चितवन क्षेत्र नम्बर ३ को प्रमुख शक्ति नेपाली कांग्रेस हो। समानुपातिक मत परिणामअनुसार दोश्रो नेकपा एमाले, तेश्रो नेकपा माओवादी केन्द्र र चौंथो शक्ति राप्रपा हुन्।
२०७४ सालको प्रतिनिधि सभा र गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ मा प्रमुख चार दल कुनैले पनि एक्लै प्रतिस्पर्धा गरेनन्। प्रतिनिधि सभामा नेकपा एमालेसँग मिलेको माओवादी केन्द्र पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग मिल्न पुग्यो। पाँच वर्षअघि प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग गठजोड गरेको राप्रपाले गत स्थानीय निर्वाचनमा एमालेलाई साथ दियो। २०७४ मै भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए।
तसर्थ २०७० सालपछि प्रत्यक्ष मतदानबाट भएका निर्वाचनहरूमा प्रायः दुई दलको बीचमा गठबन्धन भएकाले त्यसबाट आएको परिणामभन्दा समानुपातिकतर्फको परिणाम दलहरूको शक्ति मापन गर्ने आधार हुन सक्छ। राजनीतिक दललाई भोट हालिने समानुपातिक प्रणालीमार्फत चितवन-३ बाट नेपाली कांग्रेसले २६१३७, एमालेले २४१५५, माओवादी केन्द्रले २२९८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५६३३ मत प्राप्त गरेका थिए।
चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको जनाधार २०७० सालको निर्वाचन यता लगभग उस्तै देखिन्छ। दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला जित्नका लागि सजिलो क्षेत्र खोज्दै तत्कालीन चितवन क्षेत्र नम्बर ४ मा आइपुगेका थिए। यो क्षेत्रको अधिकांश हिस्सा अहिलेको क्षेत्र नम्बर ३ मा पर्छ। उक्त निर्वाचनमा कोइरालाले २०७६० भोट ल्याएका थिए। उनका प्रतिद्वन्द्वी माओवादीका चित्रबहादुर श्रेष्ठले १०७३९ भोट पाएका थिए। २०६४ सालको संविधान सभाको निर्वाचनमा श्रेष्ठ यो क्षेत्रबाट २३९४२ भोट ल्याएर विजयी भएका थिए। त्यतिखेर नेपाली कांग्रेसका टेकप्रसाद गुरूङले ११८०२ भोट ल्याएका थिए। २०७१ असारमा भएको उपनिर्वाचनमा कांग्रेसका रामकृष्ण घिमिरे २०३१२ भोट ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी पार्वती रावलले १७२७२ भोट ल्याइन्। उक्त निर्वाचनमा माओवादीका खुसीराम पाख्रिनले ७८५५ भोट ल्याएका थिए।
२०६४ सालमा सबैभन्दा ठूलो शक्तिका रूपमा रहेको माओवादी २०७४ सम्म आइपुग्दा घट्दै गएको थियो। हालको चितवन-३ मै पर्ने तत्कालीन क्षेत्र नम्बर ५ बाट ०७० मा राप्रपाका विक्रम पाण्डेले चुनाव जिते। यो क्षेत्रबाट २०६४ विजयी भएका माओवादीका अमिक शेरचन २०७० मा पराजित भएका थिए। शेरचनलाई नेकपा एमालेका दानबहादुर तामाङले पनि जितेका थिए। २०७४ यता प्रचण्ड, रेनुको उपस्थिति र माडीमा पनि आफ्नै पार्टीका मेयर हुँदा चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका र माडी नगरपालिकामा खस्किँदै गएको माओवादीको जनमत पुनः बढेको देखिन्छ। तर माओवादीका उम्मेदवारलाई चुनाव जित्न आफ्नो पार्टीकाभन्दा बढी नेपाली कांग्रेसका मतदाताको भोटको आवश्यकता पर्छ।