चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस चितवनमा विवाद बढ्दै गएको छ।
जिल्ला सभापति राजेश्वर खनालले पूर्वसभापतिहरु कृष्णलाल सापकोटा र विकास कोइराला पूर्वसभापतिको रेकर्डमै नरहेको भन्दै उनीहरु बाहेकको सूचीसहितको बक्तव्य जारी गरेपछि गठबन्धनको मुख्य दल कांग्रेसभित्र कलह बढेको हो।
सभापतिको बक्तव्य लगत्तै प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सचिव ध्रुवराज पोखरेलले कांग्रेसले कोइरालालाई २०७६ चैत ३ गते नै पूर्वसभापति स्वीकारिसकेको दाबी गरेका छन्। निर्वाचनको बेलामा सभापति खनालले जारी गरेको विज्ञप्तिले आफूलाई गम्भीर बनाएको उनले बताएका छन्।
‘निर्वाचनमा होमिएको समयमा नेतृत्वले सुझबुझ ढंगले सबै पक्षको सम्मान गर्दै एकताबद्धरुपमा नेपाली कांग्रेस र कांग्रेस समर्थित उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्ने समयको मागलाई बुझ्न नसक्नु दुःखद घटना हो,’ पोख्रेलको विज्ञप्तिमा भनिएको छ, ‘आग्रहपूर्ण व्यवहारले पार्टीका साथीहरुमा नैराश्यता छाएको छ।’
पोख्रेलले २०७६ सालको चैत ३ गतेको बैठकले विकास कोइराललाई पूर्वसभापतिको संबोधन गरी कारबाही फुकुवा र क्रियाशिल सदस्य नबीकरणका लागि केन्द्रीय समितिमा पत्राचार भएको दाबी गरेका छन्।
‘तथ्यलाई नदरअन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरताको अवमूल्यन ठहर्छ। दोहोरो मापदण्ड अंगिकार नगर्न र व्यक्तिको स्वतन्त्रता एवम् मर्यादालाई ध्यानमा राख्न अनुरोध गर्दछु,’ पोख्रेलले भनेका छन्। कोइरालाले पूर्वसभापतिको हैसियतमा बुधबार दिउँसो नारायणगढमा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा अन्तरसंबाद कार्यक्रम आयोजना गर्दै छन्।
२०७० सालको संबिधानसभाको निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पार्टीका केन्द्रीय सभापति सुशील कोइरालाको विरुद्ध बागी उम्मेदवारी दिएपछि तत्कालीन जिल्ला सभापति विकास कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।
उनलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको थियो। पार्टीले कारबाही फुकुवा नगरेपनि चितवन कांग्रेसभित्र विकास कोइरालाको राम्रो प्रभाव छ। कारबाही फुकुवा गर्न माग गर्दै कांग्रेस कार्यकर्ताहरुले केन्द्रीय समितिलाई दबाव दिँदै आएका छन्।
उनको प्रभावलाई ध्यानमा राखेर जिल्ला सभापतिले चियापान कार्यक्रमलाई रोक्ने प्रयास गरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन्। गत वैशाखको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मेयर पदमा जगन्नाथ पौडेललाई प्रस्ताव गरेपछि पूर्वसभापति कृष्णलाल सापकोटा पनि कारबाहीमा परेका थिए।
कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि सापकोटाले जगन्नाथ पौडेललाई उम्मेदवारी बनाउन अगुवाई गरेका थिए। सापकोटा मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दिनेश कोइरालाको पक्षमा खुलेका छन्।
कोइराला १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए।
सभापति खनालले पार्टी कार्यालयमा रहेको रेकर्डअनुसार जीतनारायण श्रेष्ठ, नारायण शर्मा पौडेल, टिकाराम न्यौपाने, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, तोपमान सिं गुरुङ र पथ्वीमान गुरुङमात्रै पूर्वसभापति रहेकाले अन्यले पूर्वसभापतिको हैसियतमा गतिविधि नगर्न ध्यानाकर्षण गराएका थिए।
पूर्वसभापतिहरुलाई नस्वीकार्ने जिल्ला सभापति र स्वीकार्नुपर्ने जिल्ला सचिवको बक्तव्यसँगै चितवनका कांग्रेस कार्यकर्ताहरु दुई पक्षमा विभाजित भएका छन्। मंगलबारदेखि सामाजिक सञ्जालमा एक पक्षले अर्को पक्षलाई गाली गर्नेक्रम बढ्दै गएको छ।