नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत असोज १० गते घटस्थापनाको दिन गृह प्रवेशका लागि पुग्दा शिवनगरस्थित ‘प्रचण्ड टोल’ मान्छेले खचाखच थियो। निर्वाचनको मिति घोषणा भइसकेपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा बनेको घरमा प्रवेश गरेका थिए।
आफन्त, कार्यकर्ताको अघि उभिएर भावुक हुँदै उनले भनेका थिए, ‘यही ठाउँमा तपाईंहरूकै सहयोग र शुभकामनाले मलाई अघि बढ्ने प्रेरणा मिल्यो, अघि बढ्दै गएँ। जनयुद्ध, शान्ति सम्झौता हुँदै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएँ, संविधान सभाबाट संविधान बन्यो। दोस्रो पटक प्रधानमन्त्री बनेर चुनावी प्रक्रियाको नेतृत्व गरें। जनताले फेरि प्रचण्डले एक पटक आर्थिक क्रान्तिको नेतृत्व गरोस् भन्ने चाहना राख्नुभएको छ, तपाईंहरूको माया, सद्भाव, प्रेम, सहयोग सबैबाट नेतृत्वको अवसर पाउने र सफल हुने विश्वास राखेको छु।’
गृह प्रवेश गरेर काठमाडौंको हिँडेपछि प्रचण्ड चितवन फर्किएनन्। बरू २०७४ सालमा ९ हजार बढी मतान्तरले जितेको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छाडेर गोरखा-२ बाट चुनाव लड्ने निर्णय लिए।
प्रचण्डको गाउँ शिवनगरमा अहिले पाँच वर्षअघिको जस्तो चुनावी चहलपहल देखिँदैन। नेता, कार्यकर्ताले भरिने प्रचण्ड टोलका मतदातामा चुनावको कुनै रौनक देखिएन। प्रचण्ड निवासको गेटमा पनि अहिले ढोका लागेका छ।
‘पहिले निकै चहलपहल हुन्थ्यो। यसपालि त उम्मेदवार को छ भन्ने पनि थाहा छैन,’ प्रचण्ड टोलमा स्वागत छ लेखिएको बोर्ड अगाडिको पसलमा भेटिएकी एक महिलाले भनिन्, ‘न उम्मेदवार आएका छन्, न त अरूलाई चुनाव आएजस्तो लागेको छ।’
उनले धान पाक्ने समय भएकाले मान्छेहरु खेततिरै व्यस्त रहेको बताइन्।
२०७४ सालमा वाम गठबन्धनबाट प्रचण्डले लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेलाई पराजित गरेको यो क्षेत्रबाट यसपालि सत्ता गठबन्धनले माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। प्रचण्डले क्षेत्र छाड्दा पनि माओवादी केन्द्रलाई नै उक्त क्षेत्रमा समर्थन गरेकोप्रति असन्तुष्ट भएर कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि यस क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्। कोइरालालाई नेकपा (एमाले)ले समर्थन गरेको छ। यहाँबाट राप्रपाका विक्रम पाण्डे यसपालि पाँचौं पटक उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसबाट निलम्बित पूर्व सांसद जगन्नाथ पौडेल पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन्।