चुनाव नजिकिँदै गर्दा चितवन कांग्रेसको विवाद पनि थप छताछुल्ल हुँदै गइरहेको छ। सत्तारूढ गठबन्धनसँगको सिट बाँडफाँट, बागी उम्मेदवारी र यसअघि नै गरिएका कारबाहीलगायत विषयले कांग्रेसका जिल्ला नेताहरू मात्र होइन कार्यकर्ताहरू पनि विभाजित देखिएका छन्।
त्यसको पछिल्लो झल्को बुधबार चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले आयोजना गरेको चियापानमा देखिएको छ।
बुधबार चितवन क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा कांग्रेस कार्यकर्ताहरू नगन्य संख्यामा उपस्थित भए। भरतपुरमा भएको उक्त कार्यक्रममको हलमा केही कुर्सी खाली नै थिए।
उता पूर्वसभापति कोइरालाले आयोजना गरेको चियापान तथा अन्तर्क्रिया कार्यक्रममा भने खचाखच मान्छे थिए। हलमा ठाउँ नपुगेर मानिसहरू बाहिरै उभिनुपरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभापति कोइरालाले चितवनमा ‘जय नेपाल’ भन्न पनि डराउनुपर्ने अवस्था आएको बताए।
२०७० सालको संबिधानसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ बाट तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि कोइराला कारबाहीमा परेका थिए। कांग्रेसले उनको साधारण सदस्यता खारेज गरेको थियो।
कोइरालाले चियापान तथा अन्तरक्रियाको आयोजना गरेपछि जिल्ला सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको रेकर्डमा कोइराला पूर्वसभापति नरहेको भन्दै ८ जना पूर्वसभापतिहरुको सूची सार्वजनिक गरेका थिए।
बुधबार दिउँसो सयौं कांग्रेस कार्यकर्ता सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जिल्ला समितिले २०७६ सालमै कारबाही फिर्ता गर्न सिफारिस गरिसकेको अवस्थामा पार्टी सभापतिले समन्वय गर्नुपर्नेमा अन्यथा गरेको भन्दै दुखेसो गरे।
उनले भने, ‘विकासले जय नेपाल भन्न पनि नपाउने जस्तो भयो। अब के के भन्न पाउने हो, के नपाउने हो। कहाँ कहाँ हिँड्न पाउने हो, कहाँ नपाउने, के के गर्न पाउने, के गर्न नपाउने, खान के पाउने, के नपाउने हो सबै कुरो लेखेर दिए हुन्छ। म मानिदिउँला।’
उनले पार्टीले गरेको कारबाही भोग्दै गर्दा पनि नेतृत्वको निर्णयलाई सधैं मान्दै आएको बताए। तर पार्टीले आफूसँगै कारबाही गरेका धेरैको कारबाही फुकुवा गरेर टिकट दिइसक्दा पनि आफ्नो फिर्ता नलिएर अन्याय गरेको बताए। ‘पार्टी सभापतिविरूद्ध उम्मेदवारी दिएबापत मैले कारबाही भोगें। तर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेलाई सहयोग गरें। पछि माओवादीका उम्मेदवारलाई सहयोग गर्नुप¥यो भन्यो नेतृत्वले त्यो पनि मानें,’ उनले भने, ‘तर नेतृत्वले मैले कारबाहीअघि पार्टीमा गरेको योगदानलाई मेट्न चाह्यो।’
उनले आफूले चाहेको अवस्थामा माओवादी, एमाले जुनसुकै पार्टीमा जानसक्ने भएपनि कांग्रेसप्रतिको मायाले छाड्न नसकेको बताए। अब पनि जिम्मेवारी नदिए चुप लागेर नबस्ने भन्दै उनले भने, ‘अब कि मलाई जिम्मेवारी देऊ, नभए म पार्टी नेतृत्वले भनेको मानेर पछाडि लागेर हिँड्दिनँ। इमान्दारी तरिकाले दिएको जिम्मेवारी फत्ते गरेर छाड्छु।’
कोइरालालाई कांग्रेसले कारबाही गरे पनि चितवन कांग्रेसभित्र उनको राम्रो प्रभाव छ। उनले आयोजना गरेको कार्यक्रममा देखिएको कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थितिले पनि पार्टीभित्र उनको प्रभाव स्पष्ट देखाउँथ्यो।
चितवन-३ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भोजराज अधिकारीविरूद्ध नेपाली कांग्रेसका तीन जना बागी उम्मेदवारहरू छन्। पार्टी निर्णयको बिरोधमा केन्द्रीय दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल र क्षेत्रीय प्रतिनिधि तारा पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कोइरालालाई नेकपा एमालेले सहयोग गर्दैछ।
चितवन-३ मा कांग्रेसका बागीहरू गठबन्धनका लागि टाउको दुखाइको विषय बनिरहेको समयमा कोइरालाको सक्रियतासँगै कांग्रेस चितवनको जिल्ला समिति नै दुई पक्षमा विभाजित देखिएको छ। कार्यकर्ताहरू पनि जिल्ला नेतृत्वको पक्ष र विपक्षमा विभाजित बनेका छन्।