चितवन क्षेत्र नम्बर ३ लोकतान्त्रिक–वाम गठबन्धनले ‘ठोरी–केरुङ राजमार्ग’ विस्तार योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट वन तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधनको लागि गरिएको पहललाई मुर्तरुप दिई उक्त योजना सम्पन्न गर्ने दाबी गरेको छ।
गठबन्धनले नारायणी नदीमा पश्चिम चितवनको घोसरघाटदेखि नवलपुरसम्म जोड्ने पुल निर्माण गर्ने घोषणा गरेको छ। नारायणी र राप्ती नदी कटान क्षेत्रमा तटबन्धन गरी ‘सि बिच मोडल’ कारुपमा पर्यटन विकास गर्ने, माडीका हनुमानझुला, प्याउली लगायतका क्षेत्रमा विद्युत् पुर्याउने, मेघौली विमानस्थललाई स्तरोन्नती गरी सञ्चालनमा ल्याउने, भरतपुरको हवाई सेवालाई लुम्बिनी, पोखरा र जनकपुरसँग जोड्ने, चितवन निकुञ्ज र मानवबस्तीको बीचमा पीसीसी बालसहितको मेस जाली लगाउने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।
साथै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका पुराना सबै बाटोलाई स्तरोन्नती गरी कालोपत्रे गर्ने, कम्तीमा दुई ठाउँमा स्यानीटरी ल्याण्डफिल साइट निर्माण गर्ने, माडीको बाँदरमुढेमा दिवङगतको स्मरणमा सहिद पार्क निर्माण गर्ने, सबै वडामा दलित सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ।
२०७४ मा एमाले र माओवादी सहितको वामगठबन्धनबाट प्रचण्ड निर्वाचित भएको यो क्षेत्रमा यसपालि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहभागी लोकतान्त्रिक–वाम गठबन्धनले माओवादीका डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ।
प्रदेश सभा ‘क’ मा कांग्रेसका डा. सूर्यकान्त घिमिरे र ‘ख’ मा माओवादीका ठाकुर ढकाल उम्मेदवार छन्। प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिकारीले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, स्वरोजगारी, सामाजिक सुरक्षा, सडक सञ्जाल जस्ता विषयलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन्।
चिकित्सा पेशामा संलग्न रहँदै आएका अधिकारीले भरतपुर अस्पताललाई टिचिङ अस्पतालमा बदल्न कानुन निर्माण गर्ने, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमीकारुपमा विकास गर्ने, भरतपुरमा मेडिकल विश्वविद्यालय स्थापना गर्न शाक्तिशाली मेडिकल बोर्ड गठन गर्न पहल गर्ने, २८ वटै वडामा विशेषज्ञ डाक्टर, नर्स, औषधी र आवश्यक सामग्री सहितको ‘नागरिकको घरदैलोमा मोवाइल अस्पताल सेवा’ सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
भरतपुर अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका उनले मेघोलीमा ५० शैयाको सिटी अस्पताल, शारदा नगर हेल्थ पोष्टलाई प्रादेशिक अस्पताल, माडी बघौडा अस्पताललाई सुविधिसम्पन्न प्रादेशिक अस्पताल बनाउने बताएका छन्।
गठबन्धनले बीउ, मल तथा किटनाषक औषधी सहजै उपलब्ध गराउने, दुग्ध किसानलाई प्रतिलिटर दूधमा ५ रुपैयाँ अनुदानको व्यवस्था गर्न पहल गर्ने, बजारिकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिबद्धता पत्रमा चितवनलाई पूर्व–पश्चिम रेल यातायातको केन्द्रकारुपमा विकास गर्न सकिने, चीन र भारत बीच व्यापारिक करिडोरको रुपमा विकास गरी आर्थिक व्यापारिक केन्द्र निर्माण गर्न सकिने, नारायणी र राप्ती नदीमा जल यातायातको संभावना, निजगढ–भैरहवा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुसँग द्रुत रेलमार्ग, मेट्रो सेवामार्फत जोड्न सकिने उल्लेख छ।