चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन्। उनले एमालेका लालमणि चौधरीलाई पराजित गरेका हुन्। चौधरी यसअघि उक्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसअघि चौधरी संविधान सभाको सदस्य भएका थिए।
खनियाले १४५४५ र चौधरीले १३६९५ भोट पाए।
उपमेयरमा एमालेकी कविता उप्रेती निर्वाचित भइन्। उप्रेतीले १४१६४ र माओवादी केन्द्रकी लक्ष्मी ढकालले ९६७० भोट ल्याए। ढकाल गठबन्धनबाट उपमेयरको उम्मेद्वार हुन्।
खनिया १३ औं महाधिवेशनबाट कांग्रेसको खैरहनी नगर सभापति बनेका थिए। उनले नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका विभिन्न समितिहरुमा रहेर काम गरेका थिए। उनले केही समय शिक्षक भएर काम गरे। त्यसपछि उनी रोजगारीका लागि कोरिया पुगेर फर्किएका थिए।
४४ वर्षे खनियाले खैरहनीको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिने बताएका छन्। उनले कृषि, उद्योग, व्यापार क्षेत्रको प्रवद्र्धनमा पनि आफ्नो ध्यान रहने बताएका छन्। उनको लक्ष्य विपन्न वर्गका बालबालिकाले पनि पढ्न पाउनेगरी गाउँ–गाउँमा मन्टेश्वरी पाठशाला खोल्ने, नगरपालिकामा बुढानिलकण्ठ मोडेलको एउटा विद्यालय खोल्ने, जनजाती, दलित, महिलाहरुलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिने, छुट्टै कोष खडा गरेर स्वास्थ्य सेवा निशुल्क बनाउने, सडक सुधार र बिस्तार गर्ने लक्ष्य राखेको बताए।
साथै उनले जमिनको चक्लाबन्दी गर्दै कृषिमा आधुनिकीकरण गर्ने, उत्पादन र रोजगारीको विकास गर्ने लक्ष्य रहेको सुनाए। खनियाले खैरहनी क्षेत्रमा डुवानको समस्या रहेको भन्दै आफ्नो कार्यकालमा त्यो समस्याको अन्त्य गर्ने बताएका छन्।
उनले मेयरकारुपमा प्राप्त हुने तलब, सेवा, सुविधाको हिस्सा विपन्नको सेवामा समर्पित गर्ने
र सबै पार्टीलाई जोडेर लैजाने बताएका छन्।