बारम्बार कांग्रेस र एमालेको काँध फेर्दै १९ महिना सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र अहिले प्रतिपक्षमा आइपुगेको छ।
२०६४ सालयता लगभग निरन्तर सत्तामा बसेको माओवादी पार्टीमा अब के गर्ने; पार्टी कसरी अघि बढाउने र कसरी यसलाई जोगाएर लैजाने भन्ने उकुसमुकुस छ। अहिले माओवादीको हातबाट केन्द्रीय सत्ता मात्रै गएको छैन, यो दलले प्रदेश सरकार, प्रदेश प्रमुख र राजदूतहरू समेत गुमाएको छ।
माओवादीले किन सत्ता गुमायो भन्नेमा माओवादी नेता-कार्यकर्ताका फरक फरक धारणा छन्। ३२ सिट मात्र ल्याएको माओवादीले सत्ताको नेतृत्व लिनु नै अस्वाभाविक थियो भन्नेदेखि, ठूला दुई दलसँग आवश्यक संवेदनशीलता अपनाउन नसकेको भन्नेसम्मका धारणा नेता-कार्यकर्तामा छन्।
कतिपय माओवादी नेता-कार्यकर्तालाई आफूहरू सडकमा पुगेको केही समयका लागि मात्र हो, फेरि सत्तामा पुग्ने बाटो आइहाल्छ भन्ने छ। माओवादीका एक पूर्वमन्त्रीका सहयोगीले भने, 'अहिले काजमा सडकमा आएका हौं, पछि फिर्ता भइहाल्छौं।'
कतिपयले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' धेरै नै भावुक भएको र एमालेको चाल बुझ्न नसकेको बताए।
'एमाले अध्यक्ष केपी ओलीको चाल बुझ्न नसक्नु नै हाम्रो पार्टी अध्यक्षको ठूलो कमजोरी हो,' ती सहयोगीले भने, 'उहाँको इगो राख्ने स्वभाव आकलन गर्न सक्नुभएन।'
कतिपय माओवादी नेता-कार्यकर्तालाई भने आफ्नो दलका लागि अब सत्ता धेरै टाढा छ भन्ने बलियो आभास भएको देखिन्छ। प्रतिपक्षमा बसेर जनताकहाँ जानुपर्ने र पार्टीलाई फेरि तलैदेखि निर्माण गर्नुपर्ने उनीहरूको धारणा छ।
हामीले कुरा गरेका माओवादी केन्द्रका १६ जना सांसद, केन्द्रीय नेता र युवा नेताहरूले पार्टीको भविष्यबारे खुलेर कुरा गरेका छन्।
धेरैले आन्तरिक लोकतन्त्रको अभावमा पार्टी खुम्चिएको बताएका छन्। कतिले पार्टीको शीर्ष नेतृत्व नै फेर्नुपर्ने भनेका छन् भने कतिले अध्यक्ष, महासचिव लगायत सबै प्रमुख पदमा अब खुला प्रतिस्पर्धा हुनुपर्ने राय राखेका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)