त्रिचन्द्र क्याम्पसका एक विद्यार्थी आफ्नो बाइक पार्क गर्न न्यूरोड कम्प्लेक्स गएका थिए।
बाइक पार्क गरिरहँदा उनको आँखा एक परिचित अनुहारमा गयो।
उनले टाढैबाट आवाज दिए — घन्टाघर दाइ!
आवाज सुनेर जसले पुलुक्क मुन्टो फर्काए, उनी थिए — गणेश सापकोटा।
गणेशलाई उनको वास्तविक नामबाट कमैले चिन्छन्। कसैले 'घन्टाघर दाइ' भन्छन्, कसैले 'घडी दाइ'। दुवै सम्बोधनसँग जोडिएको अर्थ एउटै हो; गणेशले त्रिचन्द्र क्याम्पसको घन्टाघरमा ३६ वर्ष घडीको समय मिलाएबापत् यो परिचय पाएका हुन्।
सात महिनाअघि उनले यो कामबाट अवकाश लिइसके। अहिले न्यूरोड कम्प्लेक्समा सुपरभाइजर छन्। तर घन्टाघरसँग जोडिएको परिचय फेरिएको छैन।
जीवनमा थुप्रै काम गरे पनि घन्टाघरबाट पाएको परिचयले गणेश खुसी छन्। आफ्नो अवकाशपछि घन्टाघरको घडी बन्द भएकोमा भने उनलाई दु:ख छ।
संयोगको कुरा के भने, जुन बेला उनले घन्टाघरमा काम सुरू गरे, त्यति बेला पनि घडी बन्द नै थियो।
गणेशले २०३७ सालबाट त्रिचन्द्र क्याम्पसमा प्राविधिकको काम सुरू गरेका थिए। उनी बिग्रिएका बत्ती बनाउनेदेखि प्लम्बिङको कामसम्म गर्थे।
२०३९ सालमा घन्टाघरमा आगो लाग्यो। आगोमा जलेर घडी चल्न बन्द भयो। मर्मतसम्भार निम्ति भारतबाट झिकाइएका मिस्त्रीले लाख कोसिस गर्दा पनि पुरानै अवस्थामा फर्काउन सकेनन्। पहिले एकचोटि दम दिएपछि २४ घन्टा चल्थ्यो, उनीहरूले बल्लतल्ल आधा घन्टा चल्ने बनाए।
त्यति बेला दिउँसो १२ बजे टुँडिखेलमा सेनाले तोप पड्काउँथ्यो। यस निम्ति टुँडिखेलबाट दुरबिनले घन्टाघरको घडी हेरिन्थ्यो। यो परम्परा नटुटोस् भनेर साढे ११ बजेतिर एक जना व्यक्ति घन्टाघर चढ्थे र घडीमा दम दिन्थे। दम दिएपछि आधा घन्टा घडी चल्थ्यो, जुन टुँडिखेलमा तोप पड्काउन पर्याप्त हुन्थ्यो।
'२०४४ सालसम्म यसैगरी जेनतेन घन्टाघरले समय दिइरह्यो। त्यसपछि बल्ल सरकारी निकायको आँखा पुग्यो,' गणेशले भने, 'त्यति बेला प्रज्ञा भवनमा सार्क सम्मेलन हुन लागेको थियो। सम्मेलन सुरू हुनु डेढ महिनाअघि घडी बनाउन सक्ने मिस्त्रीको खोजी भयो।'
भनेजस्तो मिस्त्री नभेटेपछि त्रिचन्द्र क्याम्पस प्रमुखले गणेशलाई प्रस्ताव राखे, 'तैंले यो घडी बनाएर हाम्रो इज्जत राखिस् भने राम्रो सुविधा दिन्छौं।'
गणेश कस्सिए।
उनको सानैदेखि सामान खोतलखातल पार्ने र बनाउने बानी थियो। त्यसमाथि कुनै पनि काम सक्दिनँ वा जान्दिनँ भन्ने उनको बानी थिएन। कहिल्यै नगरेको काम आइपरे पनि आँट देखाइहाल्थे।
उनले क्याम्पस प्रमुखलाई घडी बनाउन सक्छु त भने, तर पार्टपूर्जा देख्नासाथ उनको सातो गयो।
'म पहिला घन्टाघरमा आगलागी हुँदा एकपटक मात्र माथि चढेको थिएँ। पार्टपूर्जाहरू देखेको थिइनँ। बडेमानका पार्टपूर्जा देखेपछि मेरो सातो गयो,' उनले भने, 'तैपनि पछि हटिनँ।'
गणेशले घडीका पार्टपूर्जा खोतलखातल पारे, पेन्डुलम हल्लाए र दम दिए।
निकै मिहिनेतपछि करिब आधा घन्टा घडी चल्यो, त्यसपछि फेरि बन्द भयो।
घन्टाघरले कसैगरी चल्ने छाँट देखाइरहेको थिएन; गणेश चाहिँ कति जिद्दी भने, उनले घडी नबनेसम्म घन्टाघरमाथि नै बस्ने निर्णय गरे।
घडीका दाँती एकपछि अर्को हेर्दा हेर्दै, बनाउँदा बनाउँदै लगभग १३ दिनपछि उनको प्रण पूरा भयो। घन्टाघरको घडी पहिलेजस्तै एकचोटि दम दिएपछि लगातार २४ घन्टा चल्न थाल्यो।
यसरी सार्क सम्मेलनको मुखमा घन्टाघरको समय फर्काएर गणेशले त्रिचन्द्र क्याम्पसको इज्जत जोगाइदिए।
त्यसबापत् उनलाई केही सुविधा दिने भनिएको थियो — वरिष्ठ सहायकका रूपमा बढुवा भएको दरबन्दी दिने र सार्वजनिक विदामा काम गरेको पैसा दिने।
'विश्वविद्यालयबाट मेरो नामै तोकेर दरबन्दी त आयो, तर कार्यान्वयन भएन। अवकाश लिने बेला पनि म प्राविधिक पदमै थिएँ,' गणेशले भने।
अनि सार्वजनिक विदामा काम गरेको पैसा?
जबाफमा उनले भने, '२०६५ सालमा तत्कालीन क्याम्पस प्रमुख सरूवा हुनुभयो। सरूवा हुने बेला उहाँले विदामा काम गरेको पैसा लिने कि ओभरटाइम लिने भनेर सोध्नुभएको थियो। मैले विदाको पैसा दिनू भनेँ। करिब २० वर्षपछि बल्ल मैले विदाको समय काम गरेर घडी बनाएको पैसा पाएँ।'
गणेशका अनुसार पञ्चायत कालमा घन्टाघरनजिक अञ्चलाधीश कार्यालय हुँदासम्म घडीको धेरै महत्त्व थियो। घडी बन्द हुनासाथ क्याम्पस प्रमुखलाई फोन आउँथ्यो। २०४७ सालमा अञ्चलाधीश कार्यालय हटेपछि घडीको खासै वास्ता भएन।
दरबार हत्याकान्डपछि पनि नारायणहिटीबाट तारन्तार फोन आउन थालेको थियो। दरबारबाट सवारी भयो भने घन्टाघरमाथि सैनिकहरू बसेर सुरक्षा दिन्थे।
गणेशलाई घन्टाघरको सुर्ताले सबभन्दा अत्याएको २०७२ को भुइँचालोमा हो। त्यति बेला उनी गाउँको मान्छे बितेर आर्यघाट गएका थिए। घाटमै हुँदा भुइँचालो गयो। धरहरा, घन्टाघर सब ढले भन्ने उनले सुने।
'मलाई त आफै माथिबाट खसेजस्तो भयो। हातगोडा लल्याकलुलुक भए,' उनले भने, 'त्यो दिन म घन्टाघर जानै सकिनँ। अर्को दिन भने धरहरा ढले पनि घन्टाघर सग्लै रहेको थाहा पाएँ। सग्लो घन्टाघर देखेपछि बल्ल मेरो सास आयो।'
त्यति बेला घन्टाघर नढले पनि घडी भने बन्द भयो।
गणेश फेरि पार्टपूर्जा खोतलखातल पार्न कस्सिएका थिए, तर साथीहरूले माथि चढ्न दिएनन्।
तीन दिनपछि उनी माथि उक्लिए। दाँतीका लक र स्विचहरू भाँचिएका थिए। चार-पाँचवटा घिर्नी थिए, ती पनि फुटेका थिए। उनले सबै खोलेर बालाजु यन्त्रशाला लगे र आफै बसेर जोडजाड पारे।
त्यसपछि चलेको घडी उनले अवकाश नपाउँदासम्म चलिरहेकै थियो।
'अहिले घन्टाघरले समय दिन छाडेको छ। मलाई त आफ्नै समय रोकिएझैं लाग्छ,' उनले भने, 'यो घडी चलाउन कति मिहिनेत गरेँ भन्ने मलाई नै थाहा छ। यसका सामान यहाँ पाइँदैनन्। धेरैचोटि पार्टपूर्जा बाँधबुँध पारेर पनि घडी चलाएको छु।'
घन्टाघरसँग गणेशको मोह कति प्रगाढ थियो भने, यसले नियमित समय दिइरहोस् भनेर उनी आफ्नो घरधरि गएनन्।
उनको घर घन्टाघरबाट १३ किलोमिटर टाढा बलम्बुमा छ। घडी जुनसुकै बेला बन्द हुनसक्ने भएकाले २०४४ सालमा घन्टाघरको काम सुरू गरेदेखि २०७८ सालसम्म उनी खिचापोखरीमा बसे।
त्यहाँ पहिले होटल प्यानोरमा थियो। होटलमा धारा, बत्ती बिग्रँदा मर्मतसम्भारको ठेक्का उनले लिएका थिए। खिचापोखरीमै बस्दा समयमै घन्टाघर पुग्न सकिने भएकाले उनले होटल मालिकसँग बस्ने व्यवस्था गरिदिन आग्रह गरे। होटल मालिकले पनि नाइँनास्ती नगरी उनलाई एउटा कोठा उपलब्ध गराए।
पछि त्यो होटल बन्द भयो। तर गणेश लामो समय बसेका र घन्टाघरको समय मिलाउने महत्त्वपूर्ण जिम्मेवारी बोकेकाले घरधनीले एउटा कोठा सित्तैमा दिए। उनी घर रेखदेखका साथै कोठा भाडा उठाउन सहयोग गर्थे।
२०७८ सालमा उनको रक्तचाप घट्यो। उनी काम गर्दागर्दै ढले। त्यसपछि परिवारका सदस्यले एक्लै बाहिर बस्न दिएनन्। घन्टाघरले समय दिइरहोस् भनेर ३८ वर्ष खिचापोखरीको होटलमा बसेपछि उनी घर फर्के।
खिचापोखरीमा बस्नुको अर्को फाइदा पनि थियो। त्यो घर ६ तले थियो। अरू घर सानो भएको र बस्ती पातलो भएकाले उनी आफ्नो कोठाबाटै घन्टाघर देख्न सक्थे। हरेक रात १० बजे सुत्नुअघि उनी बरन्डामा निस्कन्थे। घन्टाघरको आवाज सुन्थे र ढुक्कसँग सुत्थे। कुनै रात घन्टी बजेको सुनिएन भने तुरून्तै कुदिहाल्थे।
'त्यो बेला घन्टाघरको आवाज स्वयम्भू, नैकाप लगायत अग्ला अग्ला ठाउँ धेरैतिर सुनिन्थ्यो। अहिले बस्ती बढ्यो, गाडीको घन्चमन्च बढ्यो। सहरमा यति होहल्ला छ, घन्टाघरको आवाज मुस्किलले सुनिन्छ,' न्युरोड कम्प्लेक्सको आठौं तलामा बसेर गणेशले भने, 'घन्टाघरभन्दा अग्ला त घरै बनिसके। अहिले हामी बसेको भवनबाटै घन्टाघर देखिन्न।'
कोरोना कालदेखि गणेशले खिचापोखरीको डेरा छाडे र बलम्बुबाटै ओहोरदोहोर गर्न थाले।
गणेशको अवकाशपछि सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले घन्टाघर पुनर्निर्माणको काम गर्दै आएको छ।
यो जिम्मा न्यू टेक्निकल कन्स्ट्रक्सन कम्पनीले पाएको छ। दुई वर्षभित्र पुनर्निर्माण सक्ने गरी ठेक्का लगाइएको छ।
ठेक्का घन्टाघरको टावर जीर्णोद्धारसँग मात्र सम्बन्धित छ। घडी कसरी चलायमान बनाउने भन्नेमा त्यति ध्यान पुगेको छैन।
केही समयअघि प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि घन्टाघरले समय देखाउन छाडेको कुरा उठाएका थिए। यसका लागि घडीको दम स्वचालित बनाउने कि भन्ने कुरा उठेको छ। मान्छेले दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो। जति घुमायो, अचानोजस्तो फलामको डल्ला उति माथि आउँछ। ब्याट्री वा बिजुलीबाट नचल्ने यहाँको घडीको सुई दमकै भरले घुम्छ।
दमको समस्या समाधान गर्दैमा घडी चल्ने र बिग्रिने कुरा समाधान नहुने गणेशको भनाइ छ।
'म पहिले दम दिने काम गर्थिनँ। त्यसका लागि दुई जना कर्मचारी खटाइएको थियो,' उनले भने, 'तर घडी दमले मात्र चल्ने होइन, प्राविधिक जानकारी भएको मान्छे नै चाहिन्छ। अहिलेसम्म त्यस्तो मान्छे नहुँदा घन्टाघरको घडी संग्रहालयमा पुग्ने हो कि भन्ने मलाई डर छ।'
हुन त अहिले मानिसको हातहातमा घडी छ। समय सूचित गर्न घन्टाघरको कुनै महत्त्व छैन। तर राणा प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणाको पालामा बनेको यो घडीको ऐतिहासिक महत्त्व नकार्न सकिन्न।
अंग्रेजबाट प्रभावित राणा शासकहरूले बेलायतको 'बिग बेन' को नक्कल गर्दै घन्टाघर निर्माण गराएका थिए।
सन् १८५९ मा बनेको बिग बेन लन्डन सहरकै प्रतीक हो। त्यहाँको घडी पनि मान्छेले नै दम दिनुपर्छ। साताको तीनपटक दम दिनुपर्ने घडीमा तौल र गुरूत्त्वाकर्षणको महत्त्वपूर्ण भूमिका छ।
सुरूमा यसलाई 'क्लक टावर' भनिन्थ्यो। बेलायती महारानी एलिजावेथ द्वितीयाको सम्मानमा 'एलिजावेथ टावर' पनि भनियो। पछि आवाज निकाल्न प्रयोग भएका पाँच ठूला घन्टीमध्ये बीचको घन्टीको उपनामबाट 'बिग बेन' भन्न थालियो।
बेलायतको बिग बेन र हाम्रो घन्टाघरलाई प्राविधिक रूपमा दाँज्ने हो भने धेरै समानता पाइन्छ। नब्बे सालको भुइँचालोअघि त दुवैको स्वरूप नै एउटै थियो। उक्त भुइँचालोमा भत्किएपछि घन्टाघरलाई अहिलेको स्वरूपमा पुनर्निर्माण गरियो। त्यति बेला यसले नयाँ आवाज पनि पायो। पहिले बिग बेनमा जस्तै घन्टाघरमा पाँचवटा घन्टी थिए। ती घन्टीबाट निस्कने आवाज पनि बिग बेनको जस्तै थियो।
एउटा कुरा भने फरक छ — बिग बेनले दिने समय तलमाथि भयो भने बेलायतको संसदमा प्रश्न उठ्छ। उनीहरू मर्मतसम्भार गर्न तुरून्त पहल गरिहाल्छन्। हामीकहाँ भने महिनौं बन्द हुँदा पनि बनाउने सुरसार गरिन्न।
'घन्टाघरको यत्रो माया हुँदा हुँदै किन अवकाश लिनुभएको त?'
हाम्रो यो प्रश्नमा गणेशले भने, 'मैले मात्र माया गरेर भएन नि! म त रोगी भइसकेँ। युरिक एसिड छ। समय समयमा गोडा दुख्छ। रक्तचाप कम भएकाले एकपटक काम गर्दागर्दै ढलेँ। घरपरिवारले ६-७ वर्षअघिदेखि काम छाड्न भनिरहेका थिए। मेरै जिद्दीले अहिलेसम्म बसेँ। बुढेसकाल लागेपछि हिँड्नै नसक्ने भइएला भनेर जागिर छाडेँ।'
देशकै ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएकाले घन्टाघर जोगाउन सरकारी स्तरमै महत्त्व दिनुपर्ने उनको भनाइ छ।
'त्रिचन्द्र कलेजमा पढेकाहरू ठुल्ठूला सरकारी पोस्टमा छन्। उनीहरूले यहाँ पढ्न त पढे, आफ्नै कलेजको घडी देखेनन्। यही बाटो ओहोरदोहोर गर्छन्, तर त्यहाँ कसैको आँखा पुगेन,' उनले भने।
'यो घडी चल्नु भनेको क्याम्पसको मात्र होइन, देशकै इज्जतको कुरा हो। तर सरोकारवाला निकायहरूले एकदमै हलुका रूपमा लिइरहेका छन्।'
***