(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
पोखरा सहरको कथा: अध्याय ६
ज्योतिष नीरविक्रम पौडेलले २०४९ पुस ९ गते राति एउटा अनौठो सपना देखे।
सपनामा एक दाह्रीवाल वृद्ध लठ्ठी टेकेर हिँड्दै थिए। भीमकाय ज्यान भएका ती वृद्धले पहेँलो गन्जी र रातो धोती लगाएका थिए।
वृद्धले पौडेलसँग सोधे, 'मलाई चिनिस्?'
पौडेलले वृद्धको अनुहार गहिरिएर हेरे, तर ठम्याउन सकेनन्।
उनलाई अलमलिएको देखेर वृद्धले भने, 'म गुप्तेश्वर महादेव हुँ। यहाँ गुप्तबास बसेको पाँच सय वर्ष भयो। पाँच सय वर्षसम्म हामीलाई एक नागजोडीले सेवा गर्दै आएका थिए। एकदिन एक जना मान्छेले त्यो नागजोडीको हत्या गरिदियो। त्यसपछि मेरो सेवा गर्ने कोही भएन। तँ अबदेखि मेरो सेवा गर्।'
त्यसअघि पोखरामा 'गुप्तेश्वर महादेव' थिएन। गुप्तेश्वर गुफा नामाकरण पनि भएको थिएन। छोरेपाटनमा एउटा ठूलो भुन अर्थात् खाल्डो थियो। खाल्डोभित्र केही युवा पुगेका त थिए, तर त्यो के हो, कसरी बन्यो, कसैलाई अत्तोपत्तो थिएन।
ज्योतिष पौडेलको सपनामा आएका वृद्धले आफू गुप्तबास बसेको ठाउँ देखाइदिएका थिए। नागजोडीको हत्या भएको ठाउँ पनि चिनाइदिएका थिए।
'नाग र नागिनी मारिएको ठाउँमा एउटा सिस्नोको बोट निहुरिएको छ,' वृद्धले सपनामा भने, 'भोलि बिहान ८ बजे त्यहाँ गएर बत्ती बालेर हेर्। पातले छाँगोको पश्चिमपट्टि बाफ निस्किएको देखिन्छ। त्यहाँ एउटा प्वाल छ। त्यहीँ गएर खोजतलास गर्।'
यति भनेर वृद्ध अलप भए।
पौडेल सपनाबाट झल्याँस्स ब्युँझिदा रातको साढे २ बजेको थियो। पुसमासको जाडोमा पनि पौडेलको शरीरबाट चिटचिट पसिना छुट्दै थियो। उनको निन्द्रा हरायो। उनी बिहानको झुल्केघाम पर्खिएर बसे। आफूलाई साक्षात् शिवजीले दर्शन दिएको कुरा मनमा खेलाइरहे।
पौडेलले धर्मशास्त्रमा भगवान शिवको बखान पढेका थिए, सुनेका थिए। तर यस्तो घटना उनको जिन्दगीमा कहिल्यै भएको थिएन।
सपनामै भए पनि शिवजीको दर्शन पाएर ज्योतिष पौडेल मखलेल भए।
भोलिपल्ट जसै घामको पहिलो किरण हिमालको चुचुरोमा पर्यो र बिस्तारै पोखरा उपत्यकाभरि उज्यालो छरियो, रामघाट बस्ने पौडेल सरासर शुक्लागण्डकी गए र स्नान गरे। नित्य पूजापाठ सके। अनि धुपबत्ती बोकेर छोरेपाटन पुगे।
सपनामा वृद्धले भनेझैं पातले छाँगोभन्दा केही तलको खाल्डोमा सिस्नोको घारी उम्रिएको थियो। खाल्डोभित्र मान्छे छिर्न सकिने ठूलो प्वाल थियो। त्यहीँ एउटा सिस्नोको सानो बोट नुहेको पौडेलले देखे।
उनले धुपबत्ती बाले र गुप्तेश्वर महादेवको जप गरे।
यति मात्र होइन, वृद्धको आदेशअनुसार उनी एक्लै गुफाभित्र छिरे। घामको किरण छिर्न नसकेर अन्धकार गुफामा उनले बत्ती बाले। गुफा उज्यालो भयो। त्यहाँ अनेक आकृतिका ढुंगा थिए। भित्तामा कलाकृतिजस्तो अनेक आकृति कुँदिएका थिए। उनले ती आकृतिलाई भगवानको रूप माने। कुनैलाई नागदेवता र कुनैलाई शिव-पार्वतीका रूपमा पुज्न थाले।
सानो प्वालबाट छिर्नुपर्ने त्यो गुफामा भित्र फराकिलो ठाउँ थियो। कतै घिस्रिएर हिँड्नुपर्थ्यो, कतै ठम्ठम्ती हिँड्न मिल्थ्यो।
पातले छाँगो जमिनभित्र छिरेर कहाँ गएको छ भन्ने उनले पहिलोपटक देख्न पाए। त्यो यही गुफामा छिरेको थियो र गुफाभित्रै पोखरी बनेको थियो।
रहस्यमयी पाताल देखेर पौडेल दंग परे।
त्यति बेला छोरेपाटन गुफा आसपास दुई-तीनटा मात्र घर थिए। गुफानजिकै २०२१ सालमा तिब्बती शरणार्थी शिविर राखिएको थियो। शिविर र तिब्बती शरणार्थीहरू यथावत् छन्। यी शरणार्थी र स्थानीयहरू छोरेपाटन गुफाको त्यही खाल्डोमा फोहोर फाल्थे। लेकबाट पोखरा आउँदा मरेका घोडा, खच्चड, कुकुर, बिराला पनि त्यहीँ मिल्काउँथे। गुफा 'डम्पिङ साइट' बनेको थियो।
'मैले सपनामा देखेको वृत्तान्त गन्यमान्यलाई सुनाएपछि सबैले मिलेर डम्पिङ साइट सफा गरे। मरेका सिनो र फोहोर अन्यत्र सारे,' पौडेलले भने, 'त्यसपछि त यो ठाउँको कायापलट भयो।'
स्याङ्जाको आँधिखोला-५ जुग्लेका पौडेल भारतको वनारसबाट ज्योतिषशास्त्रमा शास्त्री गरेपछि २०४० सालदेखि पोखरा बसेर ज्योतिष कर्ममा लागेका थिए। त्यसैबीच २०४६ सालमा रामघाटको राम मन्दिरमा कोटिहोम आयोजना गरियो। कोटिहोममा योगी नरहरिनाथ प्रवचन दिन आएका थिए। पौडेल पनि कोटिहोम गए। नरहरिनाथसँग भेटे। त्यसपछि उनी राम मन्दिरमै बस्न थाले।
सपनामा 'गुप्तेश्वर महादेवरूपी वृद्धले दर्शन दिएको' घटनापछि पौडेलले गुफाको आडैमा जग्गा किनेर घर बनाए। उनकै अध्यक्षतामा २०५० पुस १७ गते 'गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति' गठन भयो। सर्वसाधारणलाई गुफा दर्शन र पूजाआजा गर्न दिने उनको चाहना थियो। तर प्रशासनले मानेन।
गुफा निरीक्षणमा गएका तत्कालीन जिल्ला विकास समिति कास्कीका सभापति महादेव गुरूङ र प्रमुख जिल्ला अधिकारीले गुफाको मुखमा काँडेबार लगाइदिए।
ज्योतिष पौडेलले भने आफूलाई मात्र भए पनि गुफाभित्र गएर पूजा गर्न र बत्ती बाल्न दिनुपर्ने माग राखे।
प्रशासनले त्यो पनि मानेन।
'भित्र नजानुस्, जोखिम हुन्छ,' सिडिओले भने, 'बत्ती बाल्ने भए गुफाको मुखमा थुपारिएको काँडाघारीमै बाल्नुस्।'
जति अनुनय गर्दा पनि सुनुवाइ नभएपछि पौडेलले २०५० माघ ६ गते तत्कालीन राजा वीरेन्द्रसमक्ष बिन्तीपत्र चढाए। कास्कीका सिडिओले गुप्तेश्वर महादेवको पूजापाठ रोकेको र दर्शन गर्न नदिएको भनी उजुरी गरे।
उनको बिन्तीपत्र सुनेपछि राजा वीरेन्द्र भोलिपल्ट माघ ७ गते नै पोखरा आए र रत्न मन्दिरमा बसे। उनले दुई जना सैनिकलाई पौडेलकहाँ पठाएर आफू माघ ८ गते बिहान ८ बजे गुफा हेर्न आउने सूचना दिए।
राजा वीरेन्द्र गुफा हेर्न आउँदा सिडिओ, जिल्ला विकास समितिका सभापति, सेना, प्रहरी प्रमुखको टोली नजाने कुरै भएन।
पौडेलले आफूलाई गुप्तेश्वर महादेवले सपनामा दर्शन दिएको र गुफाभित्र गएर पूजापाठ गर्न पाउनुपर्ने माग राजासमक्ष राखे।
उनको कुरा सुनेपछि राजा वीरेन्द्रले तत्कालै सिडिओलाई सरूवा गर्न आदेश दिए। राजाकै आदेशअनुसार कीर्तिबहादुर चन्द नयाँ सिडिओ नियुक्त भए।
नयाँ सिडिओ आएपछि 'गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति' दर्ता भयो। समितिले गुफा प्रवेश शुल्क र भक्तजनबाट प्राप्त दान-दक्षिणा संकलन गर्न थाल्यो।
दक्षिणाबाट गुफाभित्र प्रवेश मार्गदेखि संरक्षण र प्रचारका काम सुरू भए।
यो त भयो, पोखराको छोरेपाटनमा गुप्तेश्वर महादेव उत्पत्तिको कथा। तर के ज्योतिष पौडेलभन्दा अगाडि गुफामा अरू कोही छिरेकै थिएनन्?
होइन।
गुप्तेश्वर महादेवले सपनामा दर्शन दिएर पत्ता लागेको भनी चर्चित गुप्तेश्वर गुफामा पौडेलभन्दा धेरैअघि नै मानिसहरू पुगिसकेका थिए। यो गुफाबारे प्रशस्त अध्ययन र अनुसन्धान पनि भइसकेका थिए। तर त्यसको चर्चा कहिल्यै भएन।
स्थानीयका अनुसार २०१८ सालअघि नै केही युवा गुफाभित्र प्रवेश गरेका थिए। तिब्बती शरणार्थीहरू पनि गुफाभित्र गएका थिए। यो कुरा स्वयं ज्योतिष पौडेल पनि स्वीकार गर्छन्।
त्यति बेला गुफाभित्र अहिलेजस्तो बिजुलीबत्ती थिएन। बाटोघाटो थिएन। युवाहरू चप्पल बालेर छिर्थे। चिप्लिँदै, घस्रिँदै, कहीँ उभिँदै त कहीँ निहुरिँदै गुफाको भित्र-भित्रसम्म पुग्थे। र, पातले छाँगो खसेर बनेको पोखरीमा माछा मार्थे।
गुप्तेश्वर गुफाको ठ्याक्कै उत्तरपूर्वमा पातले छाँगो छ। हर्पनखोलाको पानीले फेवाताल भरिएर पातले छाँगोबाट छहरा बनेर जमिनभित्र खस्छ। त्यसपछि गुफाभित्र-भित्रै बहेर हर्पनखोला फुस्रेखोलामा मिसिन बाहिर निस्किन्छ।
पातालमुनि छाँगो बनेर खसेकैले यो छहरालाई पातले छाँगो भनिएको हो। जमिनमुनि झरना बनेर झर्दा हर्पनखोलाको भंगालोबाट बाफझैं उडेका पानीका छिटा मनमोहक देखिन्छन्। हावामा मिसिएर उड्ने पानीका कणमा घामको किरण मिसिँदा इन्द्रेणी पर्छ। यस्तो अद्भुत दृश्य पोखरा आउने पर्यटकले प्राय: छुटाउँदैनन्।
स्विट्जरल्यान्डबाट पोखरा घुम्न आएका डा. किफर र उनकी श्रीमती डेभी पनि २०१८ साउन १५ गते पातले छाँगो हेर्न गएका थिए। पातले छाँगाको दृश्यमा रमाउँदा रमाउँदै अचानक उनीहरू दुवै चिप्लिए।
त्यति बेला छाँगोमा अहिलेजस्तो सुरक्षा उपाय अपनाइएको थिएन। छाँगोबाट उछिट्टिएर संयोगवश डा. किफर त बाँचे, उनकी श्रीमती डेभी भने हराइन्।
छाँगोले कहाँ लग्यो कहाँ!
यसरी पातले छाँगोबाट पर्यटक हराएपछि मानिसहरूले धुइँपत्ताल खोजी गर्न थाले। हारङ जलारी र वीरबहादुर बानिया डोरीको सहायताले छाँगाभित्र प्रवेश गरे। डेभी त्यहीँ भेटिइन्।
हराएको पर्सिपल्ट साउन १७ गते उनको शव डोरीले बाँधेर बाहिर निकालियो।
डेभीको परिवारले जलारी र बानियालाई पुरस्कार दियो। डेभीको सम्झनामा पार्क बनाउन पोखरा उपत्यका नगर विकास समितिलाई आर्थिक सहायता पनि गर्यो। त्यही क्रममा पातले छाँगो वरिपरि पार्क बनाउन ८ रोपनी जग्गा अधिग्रहण गरियो। पार्क बनाएर पातले छाँगो वरिपरि तारबार लगाइयो।
त्यसपछि स्थानीयको जनजिब्रोमा झुन्डिएको पातले छाँगोले अंग्रेजी नाम पायो — डेभिज फल्स।
अहिले धेरैले पातले छाँगोलाई डेभिज फल्सकै नामले चिन्छन्।
पातले छाँगो गुप्तेश्वर गुफाभित्र प्रवेश गर्ने एउटा मार्ग हो। यही मार्गबाट हर्पनखोला गुफाभित्र छिर्छ। अहिले पर्यटक प्रवेश गर्ने मार्ग चाहिँ पहिले भुन अर्थात् खाल्डो भएको ठाउँ हो। हर्पनखोला बाहिर निस्कने ठाउँबाट पनि गुफा प्रवेश गर्न सकिन्छ।
पातले छाँगोबाट जमिनभित्र छिरेको छाँगो गुफाभित्रबाट हेर्दा झरझझ झरेको देखिन्छ। अन्धकारबीच झरनासँगै घामका प्रकाश पनि छिर्छन्। जमिनभित्र साँघुरो र ठाडो चिरा पारेर झरेको झरनाले गुफाभित्रै सानो पोखरी बनाएको छ। ज्योतिष पौडेलका अनुसार गुफाभित्र यस्ता पाँचवटा पोखरी छन्। यी पोखरी पार गरेर मात्र हर्पनखोला जमिनबाहिर निस्कन्छ र फुस्रेखोलामा मिसिन्छ।
२०५१ सालमा गुप्तेश्वर गुफा नामाकरण गरेपछि यो क्षेत्र पोखराको एक प्रमुख धार्मिक केन्द्र बनेको छ। पर्यटकहरू गुफाभित्र छिरेर डेभिज फल्स पोखरीसम्म पुग्छन्। तर गुफा यतिमै सीमित छैन। धेरै भित्रसम्म फैलिएको यो गुफा विश्वका ठूला गुफाहरूमध्ये एक रहेको अध्ययनहरूले देखाएका छन्।
सन् १९७० मा 'ब्रिटिस कार्स्ट रिसर्च एक्स्पेडिसन टू हिमालय' को नेतृत्व गर्दै बेलायती अनुसन्धाता एसी वालथम पहिलोपटक पोखरा आएका थिए। उनले त्यति बेलै यो गुफा अध्ययन गरेर 'एट्लस अफ द ग्रेट केभ्स अफ द वर्ल्ड' मा प्रकाशित गरे।
वालथमले लेखेको प्रतिवेदनअनुसार उनी यो गुफा अनुसन्धान गर्न नेपाल आएका थिएनन्। उनी फ्रान्सेली आरोही मौरिस हर्जोगले लेखेको 'अन्नपूर्ण' पुस्तक पढेर हिमालय क्षेत्रमा रहेका गुफाबारे अनुसन्धान गर्न आएका थिए। पुस्तकमा हर्जोगले चुनयुक्त हिमालयमा देखेका विशाल गुफाबारे व्याख्या गरेका छन्।
हर्जोग तिनै व्यक्ति हुन्, जसले विश्वमा ८ हजार मिटरभन्दा अग्लो हिमाल पहिलोपटक आरोहण गरेका थिए। उनले सन् १९५० जुन ३ मा पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेका थिए।
हर्जोगले आफ्नो किताबमा भव्य हिमालको छेउमा विशाल गुफा रहेको वर्णन गरेका छन्। त्यही किताब पढेर हर्जोगको पदचाप पछ्याएका थिए, वालथमले।
विख्यात् आरोही हर्जोग भारतको गोरखपुरबाट भैरहवा हुँदै कालीगण्डकीको किनारै किनार अन्नपूर्ण प्रथम चढेका थिए। वालथम पनि बेलायतबाट युरोप हुँदै भारतको कश्मिरमा गुफा पाइन्छ कि भनेर खोज्न गए। त्यहाँ उनले सानो गुफा भेटे। त्यसपछि गोरखपुरबाट नेपाल छिरे र भैरहवाबाट ब्रिटिस सेनाको सहयोगमा हवाई मार्ग हुँदै पोखरा आए।
वालथमको टोली पोखराबाट हिँडेर मुस्ताङ पुगेको थियो। उनीहरूले हर्जोगले भनेको हिमालयमा विशाल गुफा भेट्टाउन सकेनन्। अनि पोखराको चमेरे र महेन्द्र गुफा अवलोकन गरे। छोरेपाटनको गुप्तेश्वर गुफा यी दुईभन्दा ठूलो भएकाले त्यसैको अनुसन्धानमा लागे।
ब्रिटिस कार्स्ट रिसर्च एक्सपेडिसनले सन् १९७४ र १९७६ मा पनि आफ्नो टोली पोखरा पठायो र गुप्तेश्वर गुफा अध्ययन गरेर अभिलेख राख्यो। उनीहरूले गुप्तेश्वर गुफाको लम्बाइ १४७९ मिटर र प्रवेशद्वार ६ वटा भएको नक्सा 'एट्लस अफ द ग्रेट केभ्स अफ द वर्ल्ड' मा प्रकाशित गरे। यसको विस्तारित अध्ययन सन् १९८० र १९८२ मा अर्का ब्रिटिस अनुसन्धाता गेवाओरले गरेका थिए।
यही क्रममा खानी तथा भूगर्भ विभागले २०५१ सालमा अनुसन्धाता अच्युत कोइरालाको नेतृत्वमा यो गुफा अनुसन्धान गरेको थियो।
कोइराला नेतृत्वको टोलीले तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार गुप्तेश्वर गुफाभित्र सुरूङका दुइटा उपशाखा छन्। एउटा उपशाखा २० मिटर पश्चिम गएपछि उत्तरपूर्व मोडिएर फेरि उत्तरपश्चिम हुँदै रानीवन पुगेको छ। यस क्षेत्रमा प्रशस्त छिद्र छन्। गुफाको यो उपशाखामा पर्यटकहरू छिर्न पाउँदैनन्।
गुफाको अर्को उपशाखा सुरूमा पूर्व लाग्छ। त्यहाँबाट भूमिगत जलकुण्डमा पुगिन्छ, जहाँ पातले छाँगो झरना बनेर झरेको देखिन्छ। कोइराला प्रतिवेदनले यी उपशाखा भूमिगत जलमार्ग भएको ठम्याएको छ।
गुप्तेश्वर गुफा उत्पत्ति हुनुको मुख्य कारण विभिन्न छिद्रबाट छिरेको पानीले जमिनभित्र भू-क्षय हुनु र चुनयुक्त माटो पानीले निरन्तर बगाउनु हो। यसले गुफालाई ठूलो आकार दिएको कोइरालाले प्रतिवेदनमा लेखेका छन्।
उनका अनुसार छत र भित्ताका चट्टान फुट्नु तर मौसमी प्रभावको अक्षमताका कारण फेरि पुरिने काम नहुनुले गुफाहरू बनेका हुन्।
हर्पनखोला भूमिगत प्रवाहमा प्रवेश गरेपछि गुफाभित्र रहेका दुइटा उपशाखामध्ये कहिले एउटामा त कहिले अर्कोमा बहने गरेको छ। जमिनको सतहमा बनेको छिद्रबाट पानी छिरेर गुफाभित्र चुहिरहेको छ। यसले पनि जमिनमा रहेको चुन पगालेर बगाइरहेको छ। सँगसँगै, पानीले गुफाको आकार निरन्तर बढाउँदै लगेको छ।
कोइराला नेतृत्वको अनुसन्धानमा पृथ्वीनारायण क्याम्पसको भूगर्भ विभागका पूर्वप्रमुख प्रा.डा. कृष्ण केसी पनि संलग्न थिए। उनले पटक-पटक पोखराको भूगर्भबारे अनुसन्धान गरेका छन्। उनले पनि गुफा बन्नुमा जमिनमा मिसिएको प्रशस्त चुन मुख्य कारण रहेको निर्क्यौल निकालेका छन्।
अन्नपूर्ण चौथो हिमालबाट झरेको विशाल हिमपहिरोमा प्रशस्त चुनयुक्त ढुंगा, माटो र गेग्रान बगेको थियो। यसबारे हामीले यो श्रृंखलाको पहिलो स्टोरीमा चर्चा गरेका छौं। हिमपहिरोले पुरिएर समथर भएको पोखराको जमिनमा पानी पर्दा चुन पग्लियो। पग्लिएको चुन पानीसँगै बग्यो। ढुंगा, माटो र गेग्रान भने जमेर बसिरहे। यसरी नै चुन पग्लिँदै गएर गुफाहरू बनेको प्राध्यापक केसी बताउँछन्।
केसी नेतृत्वको अध्ययन टोलीले 'पोखराको छोरेपाटन क्षेत्रको भौगर्भिक संवेदनशीलता र भू-उपयोगसँग जोडिएका चिन्ता' शीर्षकको प्रतिवेदनमा पानीले सतह मार्ग तय गर्नुभन्दा भूमिगत मार्ग तय गर्न सहज भू-संरचना भएकाले यस्ता गुफाहरू बन्न पुगेको उल्लेख गरेका छन्।
छोरेपाटन क्षेत्रमा पोखरा निर्माण बेला अन्नपूर्ण चौथोबाट आएको तीनवटा ठूला हिमपहिरोमध्ये घाचोक फर्मेसनको प्रभाव धेरै छ। घाचोक फर्मेसन पोखरा निर्माणको पुरानो फर्मेसन भएकाले धरातल कमजोर बनेको प्राध्यापक केसी बताउँछन्। यसले ठाउँ-ठाउँमा जमिन धसिने, भासिने र खाडल पुर्ने काम गरेको उनको भनाइ छ।
रानीवन क्षेत्रबाट बर्खाको समयमा बग्ने खोल्सा-खोल्सी र भलपानीको निकास समथर भागमा आएपछि बहाव अवरूद्ध हुन्छ। जमिनको सतहबाट प्रवाहित हुन प्रवाह मार्ग नै अग्लो भएकाले बहाव अवरूद्ध भएको केसीले निष्कर्ष निकालेका छन्।
पानीको स्वभावै माथिबाट तलतिर बग्ने हुन्छ। सतहबाट तल बहनुपर्ने पानी जमिनभित्र छिर्ने बाटो भेटेपछि सतहमा बग्दैन, भूमिगत मार्गमै छिर्छ। यसले भूमिगत मार्गलाई फराकिलो र ठूलो बनाउँदै लैजान्छ। पानीकै कारण भूमिगत मार्गभित्र पनि भू-क्षय हुन्छ। यो प्रक्रिया अहिले पनि जारी छ।
पोखराबाट लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्गको छोरेपाटन खण्ड यही गुफामाथि बनेको छ। सडकले पनि भलपानीको स्थल प्रवाह अवरूद्ध पारेर भूमिगत प्रवाहलाई सघाउ पुर्याएको छ। सडकमाथि डेभिज फल र सडक तल गुफा प्रवेशद्वार छन्। सडकमुनि गुफा छ। कमजोर धरातलले सडक नभासियोस् भनेर गुफाभित्र पर्खाल बनाइएको छ।
सडक बनाउँदा होस् वा बस्ती विकास गर्दा, भित्रभित्रै गुफा रहेको संवेदनशील भौगर्भिक संरचनातर्फ सोच राखिएको पाइँदैन। यसले गुफामाथिका घर र सडक जति बेला पनि भासिन सक्ने खतरा बढेको केसीले औंल्याएका छन्।
गुफा बन्ने प्रक्रियाको थालनीस्वरूप बर्खा याममा जमिनमा खाल्डो पर्ने समस्या अहिले पनि पोखराको निम्ति स्वाभाविक घटना हुन्। जमिन भासिनासाथ डोजर लगाएर पुर्ने गरिएको छ। उपत्यकाको पूरा क्षेत्र स्क्यान गरेर भौगर्भिक अवस्थिति पत्ता लगाउनु पोखराको टड्कारो आवश्यकता देख्छन्, प्राध्यापक केसी।
पोखरामा विकासका सार्वजनिक कामदेखि निजी आवास निर्माण गर्न पनि यस्तो अध्ययन आवश्यक पर्नेमा उनको जोडबल छ। तर सुनुवाइ कतैबाट भइरहेको छैन।
गुप्तेश्वर गुफा जसरी बनेको थियो, पोखराको भलामस्थित हरिहर गुफाबाहेक बाँकी सबै त्यसरी नै बनेका हुन्।
यी गुफाको उत्पत्तिबारे छुट्टाछुट्टै किम्बदन्ती छन्। मानिसले बनाएका किम्बदन्ती र विश्वास फरक फरक भए पनि भौगर्भिक कथा एउटै छ।
उत्तर पोखराको बाटुलेचौर, अर्मला हुँदै भलाम क्षेत्रमा धेरै गुफा छन्। त्यसैले यसलाई गुफाहरूको क्षेत्र पनि भनिन्छ। तीमध्ये पोखरामा सबभन्दा पहिले खुलेको महेन्द्र गुफा हो। स्थानीय ५४ वर्षीय गोविन्द बस्नेतका अनुसार गुफा भएको ठाउँमा पहिले ठूलो भ्वाङ मात्र देखिन्थ्यो। भ्वाङभित्र सुरूङ छ भनेर बूढापाका भन्ने गर्थे।
यो गुफा क्षेत्र पहिले गाईवस्तुको चरनक्षेत्र थियो। एक दिन गुफामा बाख्रा खस्यो। स्थानीयहरू बाख्रा निकाल्न भ्वाङभित्र छिरे। नभन्दै भित्र सुरूङ रहेछ।
२०१८ सालमा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा स्थानीयले गुफा देखाउन लगे। गुफालाई पर्यटन स्थल बनाउन स्थानीयहरू कस्सिए। गुफा व्यवस्थापनको जिम्मा विन्ध्यावासिनी माध्यामिक विद्यालयले लियो। विद्यालयको भौतिक पूर्वाधार विकास र शौक्षिक उन्नतिका लागि गुफा प्रवेश गर्न चाहने पर्यटकलाई २०३१ सालदेखि टिकट लगाउन थालेको विद्यालयका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले बताए।
महेन्द्र गुफाको पश्चिमपट्टि मिलन चोकभित्र अर्को ठूलो भ्वाङ थियो, जुन व्यक्तिको निजी जग्गामा पर्थ्यो। स्थानीय गुफा गाइड ३७ वर्षीय दिलबहादुर बस्नेतका अनुसार उक्त भ्वाङमा मानिस फोहोर फाल्थे, जसरी गुप्तेश्वर गुफा २०५० सालअघि डम्पिङ साइट थियो।
एकदिन गुफा आसपास घाँस काट्न जाँदा हँसिया भ्वाङभित्र खस्यो। हँसिया खोज्न स्थानीय भ्वाङभित्र छिरे। पायल चप्पल निगालोमा उनेर आगो सल्काए। त्यही आगोको उज्यालो लिएर मानिसहरू गुफाभित्र प्रवेश गरे।
त्यति बेला भ्वाङभित्र भूतप्रेत बस्छ भनेर मानिसहरू जान डराउँथे। हँसिया खोज्न गएका मानिसले कुनै भूतप्रेत देखेनन्। बरू महेन्द्र गुफा प्रचलनमा आइसकेकाले उक्त गुफालाई पनि पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागिपरे।
महेन्द्र गुफा व्यवस्थापन गर्दै आएको विन्ध्यावासिनी माविले पछि चमेरे गुफा पनि किनेर स्कुलको नाममा ल्यायो। पर्यटकका लागि टिकट लगायो। गुफामा चमेराहरू धेरै छन्। दुर्लभ प्रजातिका चमेरा पाइने भएकैले गुफाको नाम 'चमेरे गुफा' रहेको गाइड बस्नेत बताउँछन्।
पोखराको अर्मला कुरमा अर्को सुन्दर गुफा छ, कुमारी गुफा। गुफाभित्र चुनका धर्सा कुमारीका कपालजस्तै देखेर यसको नामै 'कुमारी गुफा' राखिएको स्थानीय ६५ वर्षीय जीतबहादुर बस्नेत बताउँछन्। यो गुफा 'क्रिस्टल केभ' का नामले पनि परिचित छ।
गुफा भएको ठाउँमा पहिले मानिसहरू भित्र छिर्न नसक्ने सानो प्वाल मात्र देखिन्थ्यो। गाउँबाट बाख्रा, कुकुर लगेका चितुवा त्यही गुफा आसपास जाने भएकाले मानिसहरू जान डराउँथे। प्वालभित्र गुफा छ भन्ने कसैलाई थाहै थिएन।
गुफा भएको जग्गाधनी बस्नेतका अनुसार करिब १२ वर्षअघि एक जर्मन नागरिक गुफा खोज्दै अर्मला कुर गाउँ पुगे। उनी पोखराका गुफा खोज्दै हिँड्ने विदेशी थिए। कुन उद्देश्यले गुफाको खोजीमा हिँडेका थिए भनेर बस्नेतले सोधेनन्। उनले पनि भनेनन्।
गाउँमा विकास नाम गरेका एक चञ्चल बालक थिए। जे काम गर्न पनि साहस देखाउँथे। ती जर्मन नागरिकले विकासलाई प्वालभित्र छिर्न प्रेरित गरे। टाउकोमा हेडलाइट र खुट्टामा डोरी बाँधेर विकास घस्रिँदै भित्र छिरे। भित्र त उभिएर हिँड्न मिल्ने फराकिलो ठाउँ रहेछ। उनले बाहिर बसेका जर्मन नागरिकलाई खबर गरे।
त्यसपछि ती जर्मन नागरिक पनि भित्र छिरे।
भित्र चमेराको बथान थियो। चुन पग्लिएर बनेका अनेक धर्सा थिए। भित्र गुफा छ भन्ने पत्ता लागेपछि जर्मन नागरिकसँग मिलेर बस्नेत र गाउँलेहरूले जमिनको प्वाल फोडेर ठूलो बनाए। त्यसपछि सजिलै भित्र छिर्न सकिने भयो।
गुफाभित्र प्रशस्त टल्किने पदार्थ छन्। लाइट बालेपछि मणिझैं टिलटिल टल्किने पदार्थ मनमोहक देखिन्छन्। टल्किने पदार्थ क्याल्सियम कार्बन हुन्। गुफा घुम्दै जाँदा निस्कने अर्को प्वाल पनि छ। साँघुरो प्वाल भएकाले त्यहाँबाट मानिस भित्र छिरेका छैनन्।
कुमारी गुफाजस्तै पोखराको सिप्लीकुनामा अर्को गुफा छ, क्रेजी गुफा। क्रेजी गुफा भएको जमिन स्थानीय सुरेन्द्र थापाको नाममा छ। यो गुफाभित्र पनि चुनबाट बनेका अनेक आकृति देखिन्छन्। गुफाभित्र उहिल्यै चप्पल बालेर हजुरबुबा गएको थापा बताउँछन्।
थापा सानो हुँदा एक जना विदेशी उक्त गुफामा ध्यान बस्ने भनेर आएका थिए। एक महिना बसे। खानेकुरा आफैले व्यवस्थापन गरेका थिए। ती को थिए, कहाँबाट आएका थिए भन्ने थापाले थाहा पाएनन्।
गुफा हेर्न आएका विदेशीले 'क्रेजी केभ' भनेकै आधारमा गुफाको नाम राखिएको थापाको भनाइ छ।
गुप्तेश्वर गुफाझैं प्राकृतिक रूपमा बनेको सीता गुफा पोखरा-३२ बाह्रबीसेमा छ। रामायण कालमा रामले सीतालाई उक्त गुफामा लुकाएकाले सीता गुफा नाम रहेको वडाध्यक्ष अक्कलबहादुर कार्की बताउँछन्।
किम्बदन्तीअनुसार भगवान राम वनवासमा रहेका बेला सीताको रजस्वला भयो। त्यही बेला रामले उक्त गुफा निर्माण गरेर सीतालाई लुकाएको भनाइ छ।
सीता गुफामाथि च्यावन ऋषिको वासस्थल छ। तल्लो गगन गौंडामा गर्ग ऋषिको तपस्यास्थल छ। पोखरामा रहेका गुफामध्ये रामायणसँग प्रसंग जोडिएको यही मात्र हो।
पोखरा-१७ महतगौंडामा दुइटा गुफा छन्। दुवैको नाम सिद्ध गुफाका रूपमा प्रचलित छन्। राष्ट्रिय परोपकार महासंघले सिद्ध गुफाको आडैमा सिद्ध परोपकार वैदिक गुरूकुल आश्रम चलाएको छ। महासंघका अध्यक्ष कमलनयन गौतम छन्।
गौतमका अनुसार सिद्ध गुफाको नाम मानपुरी महात्माले ध्यान बसेर सिद्ध प्राप्त गरेकाले रहेको हो। सेती नदी किनारमा रहेका यी दुई गुफामध्ये माथिको गुफा पश्चिम फर्केको छ भने तल सेती किनारको गुफा पूर्व फर्केको छ। मानपुरी महात्मा बिहानको समय शुक्लागण्डकीमा स्नान गरेर पूर्व फर्केको गुफामा ध्यान बस्थे भने मध्याह्नपछि माथिल्लो गुफामा ध्यान बस्न जान्थे।
सूर्यको उपासना गरेका मानपुरी महात्माले बिहानीपख सूर्य पूर्वमा हुने र मध्याह्नपछि पश्चिम जाने भएकाले पूर्व-पश्चिम फर्केका दुवै गुफा प्रयोग गरेको गौतम बताउँछन्।
पोखरा उपत्यकाका गुफाको अध्ययन गर्दा हामीले भलामको हरिहर गुफा मात्र मानवनिर्मित पायौं।
हरिहर गुफा भलामको एउटा थुम्कोको थाप्लोमा छ र एक जना मात्र बस्न मिल्ने गरी बनाइएको छ। करिब दुई सय वर्षअघि स्वामी दिगम्बर बाबाका चेला अमन गिरीले हरिहर गुफा बनाएका हुन्। उनले यही गुफामा ध्यान बसेर सिद्ध प्राप्त गरेको विश्वास गरिन्छ।
मुक्तिनाथ यात्रा क्रममा भलाम पुगेका अमन गिरीले उक्त थुम्को अलौकिक देखेर स्थानीयसँग सल्लाह गरी गुफा बनाएका थिए। उनले त्यति बेला भक्तपुरबाट कालीगढ झिकाएर कुटी बनाएको गुफाका पिठाधीश प्रतिनिधि इशानानन्द गिरी बताउँछन्।
जंगबहादुर राणा सत्ता कब्जापछि १९०६ सालमा मुक्तिनाथ यात्रामा जाँदा पोखराको टुँडिखेलमा बास बसेका थिए। त्यही बेला हरिहर गुफामा ध्यान बसेका अमन गिरीले प्रधानमन्त्री राणालाई बिन्तीपत्र चढाए। गुफा आसपासका जमिन र जंगलमा स्थानीयको हस्तक्षेप रोकिनुपर्ने उनको माग थियो।
पोखराको टुँडिखेलमा बिन्तीपत्र बुझेर प्रधानमन्त्री राणाले त्यहीँबाट अमन गिरीलाई सनदपत्र लेखेर दिए। सनदपत्रमा 'स्थापित देवताको पूजापाठ गर्नू, जंगलको ५ सय हेक्टरमा सिकार खेल्न नदिनू, काठ काट्न, खोरिया फाँड्न नदिनू, सरकारको जयजयकार मनाउनू, कसैले बाधा-विरोध गरे हाम्रो हजुरमा पेस गर्नू' भनिएको छ। अमन गिरीले त्यसपछि १९०७ सालमा पञ्चमुखी हनुमान, गणेश मन्दिर, शिवालय लगायत स्थापना गरे।
यसबाहेक पोखराका बाँकी गुफा प्राकृतिक रूपमै बनेका छन्। कतिपय गुफा अझै बढ्दै गएका छन्। कति बढ्ने प्रक्रियामा होलान्। प्राकृतिक रूपमा बनेका पोखराका सबै गुफा गुप्तेश्वर गुफाजस्तै बनेका हुन्। यी गुफाबारे मानिसले अनेक कथा रचना गरेर विश्वास गरे पनि वैज्ञानिक कारण एउटै रहेको प्राडा केसी बताउँछन्।
भलाममै सिद्ध गुफा र वीरेन्द्र गुफा पनि छ। यी गुफा पनि अरू गुफाजस्तै प्राकृतिक हुन्।
पोखरा गुफै गुफाको सहर भए पनि गुप्तेश्वर, महेन्द्र र चमेरे गुफामा मात्र पर्यटक जाने गर्छन्। पर्यटन प्रवर्द्धनमा प्रयोग गरिएकै कारण यी गुफाको प्रचार पनि धेरै छ। बाँकी गुफा गुमनाम छन्।
***
यी पनि पढ्नुहोस्-