(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
बौद्धबाट तीव्र गतिमा आएको मोटरसाइकल चुच्चेपाटी केएल टावर नजिक टक्क रोकियो।
हेलमेट झिक्दै मोटरसाइकल चालकले फुटपाथमा झोला र चियाको थर्मस बोकेर उभिएकी काइँलीलाई सोधे, 'क्यूआर हुन्छ?'
काइँलीले टाउको हल्लाउँदै 'हुन्छ' भनिन्।
ती युवकले मोटरसाइकल फुटपाथ छेउ अड्याए र भने, '१० वटा सूर्य चुरोट दिनुस् त।'
काइँलीले एउटा हातमा चुरोट र कप भएको झोला बोकेकी थिइन्। अर्को हातमा दुइटा थर्मस झुन्ड्याएकी थिइन्। उनले थर्मस भुइँमा राखिन्, झोला खोतलेर चुरोटको बट्टा निकालिन् र १० खिली ती युवकलाई दिइन्।
युवकले एक खिली चुरोट ओठले च्याप्दै बाँकी ज्याकेटको खल्तीमा हाले। काइँलीसँग सलाई मागे। काइँलीले झोलाबाट सलाई झिकेर दिइन्।
चिसो मौसममा चुरोटको धुवाँ आफ्नै लयमा हावासँग मिसिँदै गयो।
तलतल मेटेपछि युवकले खल्तीबाट मोबाइल झिके र काइँलीसँग इ-सेवाको क्यूआर स्क्यान मागे। काइँलीले आफ्नो मोबाइलमा क्यूआर निकालेर उनको मोबाइल अगाडि तेर्स्याइदिइन्।
पैसा तिरेपछि ती युवक चाबहिलतिर हुइँकिए।
रातको ११ बज्नै लागेको थियो। चाबहिल-बौद्ध सडकमा सवारी चाप पातलो हुँदै थियो। फुटपाथमा मानिसहरू फाट्टफुट देखिन्थे।
काइँली घरि सुनसान सडक त घरि फुटपाथमा फाट्टफुट्ट हिँडिरहेका मान्छेतिर आँखा दौडाउँदै थिइन्। पैदलयात्रुहरू नजिक आउँदा कसैले चिया-चुरोट किन्लान् कि भनेर उत्साहित हुन्थिन्। प्रत्येक पैदलयात्रु उनका सम्भावित ग्राहक थिए। कसैले चिया-चुरोट किनिदिए उनका आँखा खुसीले चम्कन्थे। नकिनी बाटो काटेर जाँदा उनको अनुहार मलिन हुन्थ्यो। बाटोमा आक्कलझुक्कल आउने गाडीतिर पनि उनी उत्तिकै उत्साहपूर्ण नजर लगाउँदै थिइन्।
त्यत्तिकैमा फेरि अर्का युवकले उनको नजिक आएर मोटरसाइकल रोके र सोधे, 'चिया छ?'
काइँलीले मुस्कुराउँदै भनिन्, 'कालो कि सेतो?'
युवकले दूध हालेको चिया मागे।
आधा रात चिया खान आइपुगेका सबिन लिम्बूले हामीसँग कुरा गर्दै भने, 'बहिनीले बनाएको चिया मिठो हुन्छ। उनलाई नै खोज्दै कहिलेकाहीँ यता आउँछु। झन्डै पाँच-सात महिना भयो, उनको चिया पिउन थालेको।'
सबिन चिया खाँदै काइँलीसँग गफ्फिँदै थिए।
यसरी चिया-चुरोट खान आउने क्रम लगभग रातभरि नै चलिरह्यो। बीच बीचमा ग्राहक कोही नआउँदा हामीले काइँलीको कथा कोट्टयायौं।
उनको खास नाम रामकुमारी सुनुवार हो। ग्राहकहरू उनलाई काइँली नै भनेर चिन्छन्।
चाबहिल चोक आसपास चिया-चुरोट बेचेर संघर्ष गरिरहेकी काइँलीको व्यापार रातको साढे ९ बजेबाट सुरू हुन्छ। रात छिप्पिँदै जाँदा व्यापार पनि बढ्दै जान्छ। उनी प्राय: स्मार्ट पार्टी प्यालेसअगाडि उभिएर चिया बेच्छिन्। आसपास अरू पार्टी प्यालेस, रोधीघर, डान्सबार र केएल टावर छन्। मानिसको आवतजावत धेरै हुने भएकाले यो ठाउँ रोजेको उनी बताउँछिन्।
उनी सडक वारपार वा दायाँबायाँ ग्राहकले बोलाउँदा चिया बोकेर जान्छिन्। त्यसपछि फेरि स्मार्ट पार्टी प्यालेस अगाडि आएर उभिन्छिन्। उनले यसो गर्नुको पछाडि अर्को पनि कारण छ।
'रातको १० बजेपछि यहाँ प्रहरीहरू घुमिरहन्छन्। चिया बेचेको देख्यो वा सामान बोकेर उभिएको देख्यो भने खोसेर लगिदिन्छन्। त्यसैले प्रहरी आउँदा लुक्न सजिलो होस् भनेर गल्ली छिर्न मिल्ने ठाउँ हेरेर बस्नुपर्छ,' उनले भनिन्, 'कहिलेकाहीँ लुक्न भ्याइएन भने सामान सबै गुमाउनुपर्छ।'
पछिल्लो एक वर्षमा प्रहरीले उनका ८-९ वटा थर्मस खोसेर लगिसके। दुई महिनाअघि मात्र दुइटा थर्मस लगेको काइँलीले बताइन्।
त्यस दिन उनी सदाझैं साढे ९ बजेतिर चिया बेच्न आइपुगेकी थिइन्। एक कप चिया बिक्री नहुँदै प्रहरीहरू छापामार शैलीमा आए। उनीहरूलाई देख्नासाथ काइँली र उनका साथीहरू गल्लीमा लुक्न गए। भागदौडबीच काइँली भने प्रहरीको फन्दामा परिहालिन्। उनले आफ्नो सामान लुकाउनधरि भ्याइनन्।
'मैले थर्मस हातमै बोकेको थिएँ,' उनले भनिन्, 'जति बिन्ती गर्दा पनि उहाँहरूले मेरो थर्मस लिएरै जानुभयो।'
उनी आफ्नो सामान फिर्ता लिन गौशाला प्रहरी वृत्त गएकी थिइन्। कार्यालय प्रमुखसँग सोध्नुपर्छ भन्दै त्यहाँका कर्मचारीले दुई-तीन घन्टा कुराए। त्यसपछि सामान फिर्ता नगरी उनलाई यत्तिकै फर्काइदिए।
एकचोटि रातको १२ बजेतिर प्रहरीबाट भाग्दै गर्दा उनको थर्मस ठोक्किएर फुट्यो। कतिचोटि त थर्मसको बिर्को मात्रै भए पनि लग्ने गरेको उनले बताइन्।
प्रहरी र काठमाडौं महानगरका नगर प्रहरीले रातको समय चिया बेच्नेहरूलाई पनि किन धरपकड गरेका होलान् भनेर काइँलीले बुझ्न सकेकी छैनन्।
'दिउँसो त लौ बाटो हिँड्नेलाई डिस्टर्ब हुन्छ रे, गाडीको बाटो छेकिन्छ रे, राति चाहिँ हाम्रो कामले कसलाई डिस्टर्ब हुने रहेछ?' उनले भनिन्, 'यी प्रहरीहरूले हामी गरिबले सडकमा चिया बेचेर रोजीरोटी कमाएको पनि किन देखी नसहेका होलान्?'
हामीले काइँलीको यही प्रश्न प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनाललाई सोधेका थियौं।
जबाफमा उनले भने, 'रातको समय चिया खान आउनेमध्ये कति आपसमा झगडा गर्ने र आपराधिक क्रियाकलापमा संलग्न हुन्छन्। कतिले त चक्कु हानाहानसमेत गरेका उदाहरण छन्। त्यसैले हामीले चिया बेच्नेहरूलाई पनि चोक-चोकमा बस्न रोक लगाएका छौं। उहाँहरूकै सुरक्षाका लागि नबस्न भनेका हौं।'
उनका अनुसार रातको १० देखि बिहान ४ बजेसम्म फुटपाथमा चिया-खाजा बेच्न पाइन्न। त्यसरी सामान बेच्नेलाई सम्झाइबुझाई गरेको तर सामान नै खोसेर नलगेको उनले दाबी गरे।
'म यहाँ आएको डेढ महिना भयो। अहिलेसम्म कसैको पनि सम्पत्ति खोसेर ल्याएका छैनौं। बरू उनीहरू नगएसम्म लखेट्न भने लखेट्छौं,' डिएसपी खनालले भने, 'बिहान ४ बजेपछि मर्निङ वाक गर्ने मान्छेहरू आउने भएकाले त्यसपछि प्रहरी डुल्दैन।'
काइँली भने आफूहरू रहरले भन्दा बाध्यताले सडकमा चिया बेच्न बसेको बताउँछिन्।
'पसल थापेर बस्ने हैसियत भइदिएको भए, वा अरू कुनै काम जानेको भए रात-रातभर सडकमा थर्मस बोकेर को बस्थ्यो होला र!' काइँलीले मुख बिगार्दै आफ्नो विवशता पोखिन्।
ओखलढुंगामा जन्मे-हुर्केकी काइँलीले कक्षा १२ सम्म गाउँमै पढिन्। उनका पाँच दिदीबहिनी र दुई जना दाइ छन्। उनीहरूका आमाबा खेतीपाती गर्छन्।
आमाबाको दु:खलाई सुखमा बदल्न उनकी माइली दिदी दुई वर्षअघि काठमाडौं आएकी थिइन्। माइली दिदीले एक वर्ष गार्मेन्ट कारखानामा काम गरिन्। त्यहाँबाट आउने तलबले कोठा भाडा तिर्न र खान खर्च पुर्याउनै धौ-धौ थियो। साँझ-बिहान चाबहिल हुँदै आवतजावत गर्दा उनले चिया बेचेको दृश्य देखिन्। त्यसपछि डेढ वर्षअघि उनी पनि थर्मस बोकेर सडक किनार चिया बेच्न थालिन्। एक सातामै राम्रो कमाइ भएपछि उनले काइँलीलाई पनि सहर बोलाइन्।
'चिया बेचेर गुजारा चलाउन सकिन्छ भन्ने लागेपछि दिदीले मलाई बोलाउनुभयो,' उनले भनिन्, 'गाउँमा केही काम थिएन। पढाइ पनि सकिएकाले म दिदीले बोलाउनेबित्तिकै काठमाडौं आएँ।'
सुरूआती दिनमा काइँलीलाई प्रहरीले सडकमा चिया बेच्न दिँदैन भन्ने थाहा थिएन। एकदिन चुच्चेपाटीमा ड्युटी बसिरहेका प्रहरीलाई नै चिया पिउनुहुन्छ भनेर सोध्न गइछन्। प्रहरीलाई आफ्नो सम्भावित ग्राहक ठान्ने काइँली अहिले तिनै प्रहरीबाट भाग्दै हिँड्छिन्।
सुरू सुरूमा चिया बेच्दै हिँड्न र मान्छेपिच्छे चिया पिउनुहुन्छ भनेर सोध्न निकै धक लाग्ने गरेको पनि उनले बताइन्।
'म त सोध्न अप्ठ्यारो लागेर थर्मसको आधा चिया नबेची फर्कन्थेँ। बाँकी बचेको चिया जम्मै फाल्नुपर्थ्यो। मान्छेले आफूलाई के सोच्लान्, के ठान्लान् भन्ने लाग्थ्यो। अहिले त सबैसँग खुलेर बोल्छु। काम गर्दै जाँदा बोल्न पनि सिकिने रहेछ,' उनले भनिन्, 'मेरो काम नै चिया बेच्ने हो। कसले के सोच्लान् भन्ने कुराले खासै फरक पार्दैन।'
रातभर आँखा झुल्न नदिई चिया बेच्ने काइँली बिहान ५ बजेतिर गोकर्णेश्वरस्थित आफ्नो कोठा फर्कन्छिन् र २-३ बजेसम्म सुत्छिन्। उठेपछि रातका लागि चिया बनाउन सरसामग्री किन्न जान्छिन्। दूध भने बिहान कोठामा जाँदै लिएर गएकी हुन्छिन्। अपराह्न खाना बनाउने र चिया बनाउने काममै व्यस्त हुन्छिन्। मानिसहरू सुत्ने बेला उनको काम सुरू हुन्छ।
'काठमाडौं आएपछि मैले जानेको पहिलो काम नै यही हो। यसैमा रमाइरहेको छु। दुई-चार मिनेटमा कोही न कोही चिया पिउन आइरहनुहुन्छ। उहाँहरूसँग गफ गर्दागर्दै, चिया बेच्दाबेच्दै रात बितेको पत्तो हुन्न,' उनले भनिन्।
हामीसँग कुराकानी गर्दा पनि रातको एक बज्नै लागेको थियो। त्यति बेलासम्म उनले १३-१४ कप चिया र दुई बट्टाजति चुरोट बेचिसकेकी थिइन्।
काइँलीका अनुसार एउटा थर्मसमा तीन लिटर चिया अट्छ। त्यो करिब २३ कप बराबर हुन्छ। कालो चियाको २० र दूध चियाको २५ रूपैयाँ मूल्य तोकेकी छन्। उनी दैनिक चार थर्मस चिया पकाउँछिन्। आफूले बोकेको थर्मस रित्तिनेबित्तिकै चिया लिन कोठातिर कुदिहाल्छिन्। रातमा फुटपाथ वा सडक निर्माणको काम हुँदा उनको चिया छिट्टै सकिन्छ।
'कालोभन्दा दूध चिया छिटो सकिन्छ। धेरैले त्यही मन पराउनुहुन्छ,' उनले भनिन्, 'एकपटक चिया पिएपछि ग्राहकहरू फेरि फेरि आइरहनुहुन्छ।'
काइँलीको चिया बनाउने आफ्नै तरिका छ। दूध चियामा उनी दालचिनी, ल्वाङ, सुकमेल र थोरै मरिच हाल्छिन्। दूध धेरै बेर उमालेर बाक्लो बनाउँछिन्। कालो चिया बनाउँदा धेरै मरिच राख्छिन् र साथमा दालचिनी, ल्वाङ र सुकमेल पनि मिसाउँछिन्। यसरी बनाउँदा चियामा मिठास आउने उनको भनाइ छ।
'गाउँमा हामी दूधको चियामा अदुवा हाल्थ्यौं। त्यसको स्वाद मीठो हुन्थ्यो, यहाँ पकाउदा खासै स्वाद परेन,' उनले भनिन्।
हामीले काइँलीको खर्च र कमाइको कुरा पनि गर्यौं।
दिनमा ९ देखि १२ प्याकेट दूधसँगै चुरोट, चाउचाउ र बिस्कुट किन्दा दैनिक १५ सय रूपैयाँ खर्च हुने उनी बताउँछिन्। कमाइ भने तीन हजारजति हुन्छ। कहिले त्योभन्दा कम हुन्छ। जति कमाइ भए पनि चिया बेच्न गएको दिन आफ्नो खातामा पाँच सय रूपैयाँ जम्मा गर्ने उनको बानी छ।
'चिया भनेको यस्तो चिज हो, जुन गर्मी-जाडो जुनसुकै बेला बिक्छ,' उनले भनिन्, 'गर्मीमा धेरै दूध फाट्छ। त्यही भएर कठ्यांग्रिदो जाडो भए पनि मलाई जाडो महिना नै मनपर्छ।'
चिया बेच्दा काइँलीले प्रशंसा मात्र होइन्, तिता अनुभव पनि संगालेकी छन्। रातमा एक्ली देखेर उनलाई धेरैले प्रश्न गर्छन्, कतिले जिस्क्याउँछन् पनि।
'किन चिया बेच्न बसेकी, यति राम्री मान्छे विवाह गरे हुने, हामीसँग जाने हो भन्ने पुरूष दिनहुँ भेट्छु,' उनले भनिन्, 'पहिला यी प्रश्न सुन्दा ग्राहकसँग नबोली बस्थेँ। अहिले चाहिँ हाँसी हाँसी मेरो काम नै चिया बेच्ने हो भनेर भन्छु।'
यस्तो जबाफ सुनेपछि कति पुरूष गाली गर्न थाल्छन्, कति रिसाएर हिँड्छन्। कतिले भने केही नभन्ने गरेको उनी बताउँछिन्।
'कतिपय मान्छे भने अप्ठ्यारो लाग्ने गरी हेर्छन्। कुनै पुरूषले त शरीर नै बेच्न बसेजस्तो व्यवहार देखाउँछन्,' उनले भनिन्, 'धेरैले चिया त बहाना हो समेत भन्छन्। अरूले जे भने पनि आफ्नो काम के हो भन्ने मलाई राम्रोसँग थाहा छ।'
रक्सी खाएर लठ्ठ परेका अधवैंशेहरू कहिलेकाहीँ जानी-जानी काइँलीको नजिक आएर ठोक्किन खोज्छन्। उनको शरीर छुने प्रयास गर्छन्। त्यस्तो बेला उनी आफै सजग हुन्छिन्। कतिले खुलेआम यौन सम्बन्धको प्रस्ताव राखेका छन्। कहिले प्रहरी त कहिले यस्ता मानिससँग जोगिने चुनौती भए पनि उनी हरेक रात हिम्मतसाथ चिया बेच्न हिँडिहाल्छिन्।
पाँच-छ सय मिटर दुरीमा काइँलीकी दिदी पनि त्यसरी नै चिया बेच्न बसेकी हुन्छिन्। आसपास अरू पनि चिया बिक्रेताहरू हुन्छन्। यसले पनि हिम्मत बढेको उनी बताउँछिन्।
'बत्तीको उज्यालोमा बसे पनि अँध्यारो वा कालो मन लिएर आउनेहरूसँग लड्न म सधैं तयार छु,' उनले भनिन्।
उनी यही कामबाट पैसा जम्मा गरेर आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्छिन्। तत्काल भने घरको जिम्मेवारी र व्यक्तिगत खर्चले पढ्न पाएकी छैनन्।
'अलिअलि पैसा त जम्मा गरेको थिएँ, तर घरमा पठाउँदा र जेठी दिदी बिरामी भएकाले उपचार गर्दैमा सकियो,' उनले भनिन्, 'अब जम्मा गरेँ भने काम गर्दै पढ्ने विचार छ।'
काइँलीको अर्को धोको पनि छ — प्रहरी धरपकडबाट बच्न आफ्नै चिया पसल खोल्ने।
'भोलि कुर्सीमा बसेर चिया बेच्ने दिन सम्झेर अहिले फुटपाथमा उभिएर हाँसी हाँसी चिया बेचिरहेकी छु,' उनले भनिन्।
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी