(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबैले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
जसको मन नेपालमा छ
राजा वीरेन्द्रको वंशनाश भएको दरबार हत्याकाण्डदेखि एक्काइसौं शताब्दीमा नेपाली माटोमा चर्किएको माओवादी द्वन्द्वबारे रिपोर्टिङ गर्न विदेशी पत्रकारहरू धुइरिएका थिए।
तिनैमध्ये एक थिए, बेलायतका २३ वर्षीय पत्रकार थोमस बेल।
नेपालको द्वन्द्व र तनावपूर्ण घरेलु राजनीतिलाई अन्तर्राष्ट्रिय समाचारको विषय बनाउन २० वर्षअघि उनी पहिलोपटक नेपाल आए।
पत्रकारितामा भविष्य बनाउन आएका थोमसलाई नेपालबारे यत्ति थाहा थियो — यहाँ अक्सर 'क्रेजी' घटनाहरू हुन्छन्!
नेपाल आउनुअघिसम्म थोमसले पत्रकारिताको 'कखरा' जानेका थिएनन्। उनले बेलायतको विश्वविद्यालयबाट इतिहास पढेका थिए। बेलायती भूगोलभन्दा बाहिरको समाज बुझ्ने हुटहुटी उत्पात् थियो। उनी आफूले नचिनेको र कहिल्यै नदेखेको देशमा जीवनको रोमाञ्चक समय बिताउन चाहन्थे। आफ्नो त्यो चाहना पूरा गर्ने बाटो उनले पत्रकारितामा देखे।
सुरूमा उनलाई अफ्रिका जान मन थियो। तर उनले के थाहा पाए भने, बेलायती जनता र बेलायती सञ्चारमाध्यमलाई अफ्रिकाका थोरै मुलुकमा मात्र रूचि र चासो छ। त्यसमाथि अफ्रिकी मुलुकहरूमा रहेका केही पत्रकारले त्यहाँ पहिले नै पकड जमाइसकेका थिए। त्यसैले उनी आफ्नो सोख पूरा गर्न फरक भूगोलको खोजीमा लागे।
त्यही क्रममा उनी पुगे, पाकिस्तान।
तर दुर्भाग्यले पाकिस्तान पुगेको केही समयमै त्यहाँको माहोल तनावपूर्ण बन्यो। विदेशीहरू, खासगरी अमेरिकी र बेलायतीका लागि पाकिस्तान सुरक्षित ठानिएन।
थोमस निराश हुँदै आफ्नो घर न्यू क्यासल फर्किए।
त्यसपछि केही समय कल सेन्टरमा काम गरे। उनलाई किताब पढ्ने अत्यधिक सोख थियो। कामबाट फुर्सद पाउनेबित्तिकै उनी किताब समातिहाल्थे र अक्षरहरूमा हराउन थाल्थे।
उनले यसरी किताब पढेर समय काटेको कल सेन्टरका मालिकलाई मन पर्दैनथ्यो। उनी रिसले मुर्मुरिन्थे र किताब पढेर बसेका थोमसको टेबल बजार्थे।
थोमस डरले झसंग हुन्थे। तै लुकीछिपी पढ्न छाडेनन्।
एकदिन कल सेन्टरका मालिकले थाहा पाए — थोमस पत्रकार बन्न चाहन्छन्। उनलाई जोखिमपूर्ण अवस्थाका मुलुकमा गएर समाचार लेख्न मन छ।
उनले थोमसलाई भने, 'त्यस्तो देशमा जाने भए सबभन्दा पहिला तिमीले आफू कसरी सुरक्षित रहने भन्ने सिक्नुपर्छ।'
थोमसलाई भने आफ्नोभन्दा आफ्नो भविष्यको चिन्ता थियो। जति नै जोखिमपूर्ण भए पनि उनले पत्रकारितामै आफ्नो भविष्य देखेका थिए। पत्रकारिताले नै नबुझेको समाज बुझ्न मद्दत गर्छ र संसार चिनाउँछ भन्ने उनको धारणा थियो। त्यसैलाई साकार पार्न उनी मन हिरिक्क हुने देशको खोजीमा थिए।
एकदिन एक जना साथीले उनलाई सुझाव दिए, 'नेपाल कस्तो होला?'
थोमसले यसअघि पनि नेपालबारे नसोचेका होइनन्। तर केही कारणवश उनले नेपाललाई आफ्नो सूचीबाट हटाइदिएका थिए। साथीको सुझावपछि उनलाई फेरि नेपालले तरंगित पार्न थाल्यो।
उनले नेपालबारे पाएसम्मका सूचना बटुले। यहाँको भूगोल, इतिहास, राजनीतिक अवस्था, दरबार हत्याकाण्ड र सबभन्दा महत्त्वपूर्ण त यहाँ चर्किँदै गएको माओवादी द्वन्द्वबारे पढे। यी सबै पढेपछि उनलाई अन्तर्राष्ट्रिय पत्रकारिताको निम्ति नेपाल नै सबभन्दा उत्तम लाग्यो।
र, पत्रकारिता गर्न नेपाल जाने सबभन्दा उपयुक्त समय अहिले नै हो भन्ने उनले ठम्याए।
मार्च, सन् २००२ — एक स्वतन्त्र अन्तर्राष्ट्रिय पत्रकारका रूपमा थोमसले पहिलोपटक नेपाली भूमि टेके।
न गर्मी थियो, न जाडो। वसन्त ऋतुले भर्खर आफ्नो उपस्थिति जनाउँदै थियो। थोमसलाई यस्तो लाग्यो, मानौं काठमाडौंको मौसम उनको स्वागत गर्न आतुर छ।
उनी केही लत्ताकपडा र आफूले किनेको पहिलो ल्यापटप बोकेर एकतर्फी हवाई टिकटमा नेपाल आएका थिए। कति समय टिक्छु भन्ने उनलाई थाहा थिएन।
काठमाडौंको हावापानी, यहाँको राजनीतिक हलचल र यहाँका गल्लीहरूले यस्तो मोहनी लगायो, उनलाई काठमाडौं छाडेर जान मनै भएन।
पाँच वर्षपछि बेलायती अखबार 'डेली टेलिग्राफ' ले पूर्णकालीन रिपोर्टरका रूपमा बैंकक नपठाउञ्जेल उनी यतै बसे।
तर थोमस र नेपालको सम्बन्ध यतिमै सीमित रहेन; यो अझ लम्बिनेवाला थियो।
पाटन सुन्धाराको जुन घरमा थोमस बस्थे, त्यसको ठिकमुनि मूर्ति पसल थियो।
वरपर पनि मूर्तिका पसल थुप्रै थिए। ती पसलमा ग्राहकहरू फाट्टफुट्ट मूर्ति किन्न आएको उनी देख्थे। ग्राहक नआउँदा पसलेहरू एकअर्कासँग कुराकानी गर्दै र चिया पिउँदै समय काट्थे।
थोमसले पनि पाटनका मूर्ति पसलेहरूसँग खुब कुराकानी गरे। उनीहरूलाई चिने। र, उनीहरूकै माध्यमबाट काठमाडौंको नेवा: संस्कृति चिन्ने मौका पाए।
'मेरो घरधनी करिब ६० वर्षका थिए। उनी दुईपटक मात्र काठमाडौं छाडेर बाहिर गएका थिए। एकचोटि मनकामना दर्शन गर्न, अर्कोचोटि लुम्बिनीमा आयोजित मूर्ति कालिगढहरूको सम्मेलनमा भाग लिन,' थोमसले भने, 'उनी मात्र होइन, यहाँका नेवारहरू सहरबाट बिरलै बाहिर जान्थे। अहिले पनि काठमाडौं सहरभन्दा बाहिरको संसार नदेखेका बूढापाकाहरू थुप्रै छन्।'
काठमाडौं सहरको यो चलन थोमसलाई अचम्मै लाग्यो। उनले सहरको संरचना र यहाँ फस्टाएको संस्कृतिको स्वरूपबारे झन् झन् बढी चासो दिन थाले।
सहर बुझ्ने रनाहामा उनी काठमाडौं उपत्यकाबारे भेटेजति सामग्री बटुल्थे र मिहिन अध्ययन गर्थे। सहरको वास्तु बुझ्ने इच्छाले उनलाई यहाँको परम्परागत मण्डल संरचनाबारे अध्ययन गर्न पनि घच्घच्यायो।
'काठमाडौं बुझ्नुछ भने यहाँको इतिहास बुझ्नुपर्छ। मलाई स्कुले विद्यार्थी हुँदादेखि नै राजनीति, अर्थ, इतिहास लगायतमा रूचि थियो। समाज बुझ्न र संसारमा के भइरहेको छ भन्ने जान्न यी राम्रा माध्यम हुन् भन्ने मलाई लाग्छ,' उनले भने, 'इतिहासको विद्यार्थी भएकाले पनि काठमाडौं सहरको ऐतिहासिक पक्षले मलाई आकर्षित गरेको हुनुपर्छ।'
काठमाडौं सभ्यता बुझ्ने क्रममा थोमसले यहाँका अपत्यारिला किम्बदन्तीहरू सुने। ती किम्बदन्तीभित्र लुकेको इतिहास उधिन्न थाले।
'मान्छेले कथा-किम्बदन्ती यसै बनाएका हुँदैनन्, केही कारण हुन्छन्। गहिरिएर हेर्ने हो भने त्यस्ता कथा किन र कसरी बने थाहा हुन्छ। ती कथाभित्र लुकेका यथार्थ पनि खुल्दै जान्छन्,' उनले भने।
काठमाडौं उपत्यका र यहाँ प्रचलित कथा-किम्बदन्ती सँगसँगै थोमसलाई त्यति बेला जारी माओवादी द्वन्द्व र उतारचढावपूर्ण राजनीतिबारे पनि उत्तिकै चासो थियो। द्वन्द्वको असर सहरभन्दा गाउँमा धेरै थियो। छिटपुट असर सहरमा पनि देखिन थालेका थिए।
एकबिहान पाटनस्थित आफ्नो कोठामा सुतिरहेका बेला थोमस बम पड्किएको आवाजले ब्युँझिए। उनी दौडिँदै घटनास्थल पुगे। प्रहरीले घटनास्थल जान रोक लगायो। थोमसलाई त्यसबारे स्टोरी लेख्नुपर्छ भन्ने लाग्यो। तर के लेख्ने थाहा थिएन।
उनी त्यति बेला बेलायती पत्रिकाहरू डेली टेलिग्राफ, स्कट्सम्यान र इकोनोमिस्टमा समाचार र लेखहरू पठाउँथे। कति छापिन्थे, कति छापिन्थेनन्। उनको पत्रकारिता अभ्यास यसरी नै चल्दै थियो। तिनैमध्ये स्कट्सम्यान पत्रिकाले पाटनको उक्त घटनाबारे चार सय शब्दको समाचार पठाउन भन्यो। उनले लेखेर पठाए पनि, तर छापिएन।
अन्तर्राष्ट्रिय अखबारहरूले भनेअनुसार समाचार पठाउन सूचनामा बलियो पहुँच हुनुपर्छ भन्ने उनले बुझे। यसनिम्ति उनले काठमाडौंका स्थानीय पत्रकार र सम्पादकहरूसँग सम्बन्ध विस्तार गरे। उनीहरूसँगको भेटघाटले यहाँको स्थितिबारे सूचना बटुल्न सहयोग पुग्यो। यति मात्र होइन, माओवादी द्वन्द्वको स्थलगत रिपोर्टिङ अन्तर्राष्ट्रिय पाठकहरूलाई रूचिपूर्ण हुन्छ भनेर उनी समाचार संकलन गर्न बाग्लुङ, सुर्खेत, नेपालगन्ज लगायत मध्य र सुदूरपश्चिमका विभिन्न विकट ठाउँसम्म पुगे। त्यो बेला माओवादीका भूमिगत केन्द्रीय नेताहरूसँग भेट्न गाह्रो भए पनि उनले थुप्रै जिल्लास्तरीय नेताहरूसँग भेटे र तिनै नेतासँग कुराकानी गरेर लडाइँको हालचालबारे स्टोरी लेखे।
'शान्ति वार्तापछि केही भूमिगत माओवादी नेताहरू बाहिर सार्वजनिक भएका थिए। वार्ता असफल हुनेबित्तिकै उनीहरू फेरि भूमिगत जीवनमा फर्के,' थोमसले भने, 'माओवादी द्वन्द्व बेला संसारलाई नै नेपालबारे चासो थियो। एक्काइसौं शताब्दीमा आएर हिमाली भूमिमा चर्किएको कम्युनिस्ट क्रान्तिलाई सारा संसारले कौतूहलतापूर्वक हेरिरहेका थिए। अन्तर्राष्ट्रिय पाठकको त्यही कौतूहलताका कारण मैले माओवादी द्वन्द्वबारे थुप्रै समाचार र फिचर लेख्ने मौका पाएँ।'
'म आफूले स्टोरी लेख्ने विभिन्न पत्रपत्रिकालाई इमेल गर्थेँ र आफ्नो आइडिया बताउँथेँ। चाखलाग्दो विषय छ भने फिचरको आइडिया पनि भन्थेँ,' स्वतन्त्र पत्रकारका हैसियतमा अन्तर्राष्ट्रिय मिडियाका लागि समाचार लेख्ने तरिका बुझाउँदै थोमसले अगाडि भने, 'समाचार लेख्न ठिक्क जानकारी भए पुग्छ। थेसिस लेखेजस्तो धेरै जानकारी बटुल्न पर्दैन। झन् विदेशमा बसेर रिपोर्टिङ गर्ने स्वतन्त्र पत्रकारले त दैनिक लेखहरू लेखिरहन पनि पर्दैन। त्यही भएर मैले आफ्नो रूचिको विषयमा राम्रा राम्रा फिचरहरू लेख्न भरपूर समय पाएँ।'
द्वन्द्व चर्किएको त्यो समय माओवादी प्रभावित विकट क्षेत्रमा गएर स्थलगत रिपोर्टिङ गर्दा सुरू सुरूमा मन आत्तिए पनि ज्यानको डर भने कहिल्यै नलागेको उनी बताउँछन्।
माओवादीहरूलाई आफ्नो क्रान्तिको खबर संसारभर फैलियोस् भन्ने इच्छा भएकाले विदेशी पत्रकारलाई केही गर्दैनन् भन्नेमा उनलाई पूरा विश्वास थियो। यति हुँदाहुँदै स्थलगत रिपोर्टिङ निम्ति माओवादी प्रभावित क्षेत्र जाँदा जिल्लास्तरीय नेताहरूसँग भेटेर अनुमति लिनै पर्थ्यो। यसरी अनुमति पाउन कहिलेकाहीँ महिनौं लाग्थ्यो।
यसरी नै पाँच वर्ष नेपालमा बिताएपछि थोमसलाई डेली टेलिग्राफले पूर्णकालीन रिपोर्टरका रूपमा थाइल्यान्ड जान प्रस्ताव गर्यो।
उनले डेली टेलिग्राफको प्रस्ताव स्वीकार गरे र दक्षिणपूर्वी एसियाली संवाददाताका रूपमा थाइल्यान्ड गए। त्यहाँबाट उनले सिंगापुर, म्यानमार, मलेसिया, भियतनाम, फिलिपिन्स लगायत थुप्रै देशको समाचार संकलन गर्नुपर्थ्यो।
यसले उनको रिपोर्टिङ र लेखन शैली दुवै तिखारियो।
तर उनलाई जति मोहनी नेपालले लगाएको थियो, त्यति मोहनी थाइल्यान्डले लगाउन सकेन। उनी दुई वर्षमै थाइल्यान्ड छाडेर नेपाल फर्किए।
यसरी कम समयमै नेपाल फर्किनुका पछाडि एउटा विशेष कारण थियो — पाँच वर्ष नेपाल बस्दा नेपालकै पत्रकार सुबिना श्रेष्ठसँग उनको प्रेम भएको थियो।
थाइल्यान्डको काम छाडेर फर्किनेबित्तिकै उनले सुबिनासँग विवाह गरे। र, दाम्पत्य जीवनसँगै आफ्नो पहिलो किताब लेख्न थाले।
सन् २००९ मा सुरू गरेको 'काठमाडौं' शीर्षकको किताब सन् २०१४ मा प्रकाशित भयो।
यो किताब थोमसको काठमाडौं बसाइ, पत्रकारिता अभ्यास र नेपालको राजनीति, संस्कृति र इतिहासबारे उनको बुझाइको दस्तावेज हो। यसमा उनले राजनीति र माओवादी द्वन्द्व सँगसँगै काठमाडौंको इतिहास र संस्कृति केलाउने प्रयास गरेका छन्। आफूले देखे-भोगेका र अनुसन्धानबाट प्राप्त जानकारीहरू सूक्ष्म रूपमा प्रस्तुत गरेका छन्।
'सहरको प्रकृति जस्तो हुन्छ, मलाई यो किताब त्यस्तै होस् भन्ने थियो। जसरी सहरमा सबथोक घुलमिल भएर बसेका हुन्छन्, यो किताबमा पनि मैले विभिन्न विषयलाई आपसमा घुलमिल गराउने प्रयास गरेको छु,' थोमसले भने, 'मैले यो किताब लेखेको नै काठमाडौं सहरलाई चिन्न र चिनेको कुरा भन्न हो।'
'पत्रकारका रूपमा मैले यहाँको सांस्कृतिक रिपोर्टिङ निकै कम गरेको छु,' उनले अगाडि भने, 'मैले लेखेका प्रायः समाचार नेपालको अस्थिर राजनीति, माओवादी द्वन्द्व र मानवअधिकारका विषयमा केन्द्रित छन्। एक हिसाबले भन्दा मैले काठमाडौं सहरको संस्कृति र इतिहासका खुराक यही किताबका लागि बचाएर राखेको थिएँ।'
'काठमाडौं' प्रकाशन भएको एक वर्षपछि २०७२ सालमा नेपालमा ठूलो भुइँचालो गयो। यसले धेरै संरचना ढले। काठमाडौंका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू पनि प्रभावित भए। थोमसले देखेको र लेखेको काठमाडौंमा धेरै परिवर्तन आए। तर भुइँचालोको करिब एक दशकमै त्यतिखेर गुमेका धेरै सम्पदा पुरानै स्वरूपमा ब्युँतिएको देखेर थोमस खुसी छन्।
यसबीच थोमस २०७२ को भुइँचालोले क्षति पुर्याएका पहाडी इलाकाको पदयात्रामा निस्के। सडकहरू भत्किएको देखे। घरहरू ढलेको देखे। तर भग्नावशेषबीच पनि मानवीय संवेदना अलिकति पनि नहल्लिएको अनुभूतिले उनलाई नेपाली समाज अझ नजिकबाट चिनायो।
तिनै अनुभूतिहरू बटुलेर थोमसले 'काठमाडौं' प्रकाशन भएको ठ्याक्कै एक दशकपछि दोस्रो किताब लेखेका छन् — ह्युमन नेचर।
केही साताअघि मात्र प्रकाशन भएको यो किताब नेपालको पहाडी जनजीवनमा केन्द्रित छ। किताबको नाममा भने उनले चलाखी गरेजस्तो देखिन्छ। यसले एक हिसाबमा 'मान्छेको स्वभाव' भन्ने अर्थ दिन्छ। तर दुइटा शब्द छुट्याएर हेर्दा 'मानव' र 'प्रकृति' भन्ने अर्थ पनि लाग्छ।
हामीले यसबारे सोध्दा थोमसले भने, 'मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। मानिसले प्रकृतिलाई असर गर्छ, प्रकृतिले मानिसलाई। अर्को हिसाबले भन्ने हो भने मान्छे प्रकृतिकै हिस्सा हो। त्यसैले मानिस र प्रकृतिको सम्बन्ध निरन्तर चलिरहने प्रक्रिया हो।'
उनको पहिलो किताब 'काठमाडौं' अलि बढी सहर वा राजधानी केन्द्रित थियो। पछिल्लो किताब लेख्दा उनी काठमाडौंबाहिर पुगेका छन्। किताबमा वनझाँक्रीदेखि आदिवासी संस्कृति र नेपालको आधुनिक इतिहास सुरू भएको गोर्खादेखि पृथ्वीनारायण शाहसम्मका प्रसंग छन्। डोल्पाको तिब्बती संस्कृतिदेखि सुदूरपश्चिमको जीवनशैलीसम्म किताबमा समेटिएको छ।
यो किताब लेख्न चार फरक मौसममा चार फरक सहयात्रीसँग पूर्वदेखि पश्चिमसम्म घुमेको थोमस बताउँछन्। भ्रमण क्रममा उनले थुप्रै मान्छे भेटे, कुराकानी गरे र स्थानीय रीतिथिति, रहनसहन र भूगोल पर्गेले। प्रकृतिसँग मान्छे र मान्छेसँग प्रकृतिको के-कस्तो सम्बन्ध छ भन्ने पनि केलाए।
'मलाई हिँड्न मनपर्छ। म दिनमा १०-१२ घन्टा पनि हिँड्न सक्छु। काठमाडौं केन्द्रित किताब पहिले नै लेखेकाले मेरो लागि हिँड्ने र हिँडेका ठाउँबारे लेख्ने राम्रो बहाना थियो,' उनले भने, 'यात्रा शैलीमा लेखिएको यो किताबमा मैले मानवशास्त्र, इतिहास, वातावरण र जलवायुको दृष्टिबाट स्थानीय विषयवस्तु हेर्ने प्रयास गरेको छु।'
'त्यसैले सायद यो किताब नियात्रा बन्ने ढोंग गरिरहेको इतिहासको किताब हो,' उनले भने।
यात्राको पहिलो कडीमा सिन्धुपाल्चोकदेखि गोर्खासम्म १०-१२ दिन सँगै हिँडेका पत्रकार तथा लेखक गिरीश गिरीका अनुसार थोमस त्यति बेला भुइँचालोपछि गाउँहरूमा आएको परिवर्तन बुझ्न चाहन्थे। दिनभर यात्रामा भएका गतिविधि राति अबेरसम्म बसेर नोटबुकमा लेख्ने उनको बानी गिरीश सम्झन्छन्।
'म त थाकेर निदाइहाल्थेँ, थोमस भने मध्यरातसम्म लेखिबस्थे,' उनले भने, 'त्यो यात्राबाट फर्किएपछि मैले पनि थुप्रै लेखहरू लेखेँ। थोमसले भने यति राम्रो किताब बनाउन खुराकहरू साँचेर राखेका रहेछन्। उनीसँगको यात्राबाट मैले धेरै सिक्ने मौका पाएँ।'
गिरीशका अनुसार थोमसको हिँडाइको गति निकै छिटो थियो।
'बाटोमा भेटिने मानिसहरू यो चितुवाजस्तो हिँड्ने खैरे कहाँबाट ल्याउनुभयो गाइडसाब भनेर सोध्थे,' गिरीशले हाँस्दै थोमससँगको यात्रा अनुभव सुनाए।
यो किताबका लागि थोमसले धेरैजसो यात्रा सन् २०१६ र २०१८ तिर गरेका हुन्। किताब लेख्न भने आठ वर्ष लाग्यो। अघिल्लो किताब चार-पाँच वर्षमै सकेका उनलाई दोस्रो किताब लेख्न किन यति धेरै समय लाग्यो त?
जबाफमा उनले भने, 'पहिलो किताब लेख्दा मैले सुरूदेखि काम गर्नुपरेको थिएन। म पत्रकार भएकाले मसँग केही स्रोत र तस्बिरहरू पहिल्यै थिए। मैले धेरै कुरा नोटबुकमा टिपेर राखेको थिएँ। यो किताब लेख्दा भने सुरूदेखि काम गर्नुपर्यो। किताबको विषयवस्तु, ठाउँ र पहाडी संस्कृति मेरा लागि नितान्त फरक थियो। किताब लेखनबाहेक अरू काम पनि सँगसँगै गरिराखेकाले बढी समय लागेको हुनसक्छ।'
यो किताब लेख्दाको एउटा रोचक घटना थोमसले सुनाए।
डोल्पामा तेन्जिङ नोर्बु नामका कलाकार छन्, जसले थोमसलाई सोधेका थिए, 'सामान्य मानिसको इतिहास हुन्न?'
तेन्जिङ नोर्बुको त्यही प्रश्नको जबाफ खोज्नु यो किताबको उद्देश्य भएको थोमस बताउँछन्।
'ह्युमन नेचरमा मैले सामान्य मानिसहरूको कथा लेखेको छु। उनीहरूकै आँखाबाट इतिहास उत्खनन् गर्ने प्रयास गरेको छु,' उनले भने, 'जुन कुरा सामान्य हुन्छ, त्यो लेख्ने कुनै कारण नहोला। तर हामीले केही रचनात्मकता प्रयोग गरेर त्यसलाई सजीव रूपमा उतार्न सक्छौं। मानव जीवनको कुनै पनि घटनालाई ठूलो क्यानभासमा उतार्न सकियो भने त्यो चाखलाग्दो र अर्थपूर्ण बन्छ।'
थोमसलाई आफ्नोबारे लेख्न भने खासै रूचि छैन। अघिल्लो किताब 'काठमाडौं' मा धेरैले उनलाई आफ्नोबारे खुलेर नभनेको प्रतिक्रिया दिएका थिए। उनी त्यसलाई खासै वास्ता गर्दैनन्। आफ्नोबारे चाखलाग्दो कुरा त्यति नभएजस्तो उनलाई लाग्छ।
'मलाई त्यस्तो किताब लेख्नुछ, जुन म आफै पढ्न चाहन्छु। त्यो भनेको सामान्य मानिसको जीवन र उनीहरूले भोगेको इतिहासबारे नै हो,' उनले भने।
थोमसका दुई बालबच्चा छन्। उनीहरूले पछिल्लो किताबको नाम 'टकिङ माउन्टेन' राख्न जोडबल गरेका थिए। तर 'ह्युमन नेचर' ले नै किताबको मूल मर्म समेट्छ भन्ने लागेर यही रोजेको थोमस बताउँछन्।
थोमसकी श्रीमती सुबिनाले सन् २०१७ तिर अमेरिकामा फेलोसिप पाएकी थिइन्। उनीसँग अमेरिका बस्दा थोमसले हार्वर्ड विश्वविद्यालयमा 'ल्यान्डस्केप आर्कियोलोजी' पढेका थिए। त्यो पढाइले दोस्रो किताब लेख्न धेरै सघाएको उनको भनाइ छ।
थोमस नेपालको ल्यान्डस्केप अर्थात् भूगोल देखेर सुरू सुरूमा अचम्म परेका थिए। एउटै मुलुकमा हिउँ पर्ने हिमाल, रूखै रूखले ढाकिएको पहाड र समथर तराईको भूभाग छ। हिमाल, पहाड र तराईको आ-आफ्नै संस्कृति र वेशभूषा छ। भाषा र रहनसहनको विविधता छ। यस्तो विविधता उनले आफ्नो देश बेलायतमा देखेका थिएनन्।
'मेरो देशका हिमालहरू एकदमै साना छ। सबभन्दा ठूलो हिमाल नै करिब हजार मिटर होला, जुन काठमाडौं उपत्यकाको उचाइभन्दा कम हो। नेपाल आएपछि मात्र मैले यति अग्ला हिमाल हुन्छन् भनेर थाहा पाएँ,' थोमसले भने, 'मानवीय दृष्टिले हेर्ने हो भने पनि यहाँको विविधता अचम्मैलाग्दो छ। संसारमै विशिष्ट छ। बेलायतमा पछिल्लो ६०-७० वर्षयता थुप्रै देशबाट मानिसहरू बस्न आएका छन्। त्यसले केही हदसम्म बेलायतमा पनि विविधता ल्याएको छ, तर त्यो विविधता हाम्रो मौलिक होइन।'
किताबकै कुरा गर्दा थोमसलाई पहिल्यैदेखि कुनै दिन किताब लेख्छु भन्ने लाग्थ्यो। पत्रकारिता गर्दा सीमित 'स्पेस' मा खुम्चिएर लेख्नुपरेकाले उनी उकुसमुकुस अनुभव गर्थे। त्यही उकुसमुकुसलाई किताब लेखनमा मन खोलेर फुकाउन पाएको उनी बताउँछन्।
'पत्रिकामा लेख्दा म त्यति गहिराइमा जान्न थिएँ। ती विषयहरू मात्र लेख्थेँ, जुन समाचारका लागि काम लाग्थे। बाँकी किताबका लागि साँचेर राख्थेँ। काम नलाग्ने सन्दर्भहरू फ्याकिदिन्थेँ,' उनले भने।
नेपालबारे दुइटा किताब लेखिसक्दा पनि सबै विषयवस्तु समेट्न बाँकी रहेको उनी बताउँछन्। पहिलो किताबमा काठमाडौंको विषयवस्तु समेटेका उनले दोस्रो किताबमा पहाडी र हिमाली जनजीवनबारे लेखेका छन्। यसमा पनि तराईका विषयवस्तु भने अटाएका छैनन्।
उनलाई अब तेस्रो किताब नेपालको तराई भूभागमा केन्द्रित भएर लेख्न मन छ। तर यसमा तत्काल काम सुरू गरिहाल्नेबारे उनले सोचेका छैनन्।
'अर्को किताब लेख्छु वा लेख्दिनँ मलाई थाहा छैन,' उनले भने, 'केही समयका लागि यो नै मेरो अन्तिम किताब हो। म केही समय यसैमा रमाउन चाहन्छु। यसपछि लेखेँ भने नेपालको तराई जीवनबारे लेख्न मन छ।'
पछिल्लो समय उनी पत्रकारितामा पनि त्यति सक्रिय छैनन्। उनले सामाजिक सञ्जाल छाडेको धेरै समय भयो। नेपाल र नेपालको राजनीतिबारे भने उत्तिकै जानकार रहेको उनी बताउँछन्। पहिले सूचनाका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन प्रयोग गर्ने उनी अचेल पोडकास्ट सुन्न रूचाउँछन्।
उनमा आएको अर्को परिवर्तन पत्रकारितालाई हेर्ने दृष्टि पनि हो। कुनै बेला पत्रकार बन्छु भनेर लागिपरेका थोमसलाई यति बेला पत्रकारितामा खासै चासो छैन। भन्छन्, 'अहिलेको समय मिडियाका लागि त्यति राम्रो छैन। अहिले मजस्तै जवान पत्रकार नेपाल आएको भए त्यसरी नै पत्रकारिता गर्न सक्दैनथ्यो होला। नेपालमा पहिलेजस्तो द्वन्द्व छैन र अन्तर्राष्ट्रिय पत्रिकालाई चासो हुने समाचार पनि कम छन्। म अहिले पत्रकार भएको भए पनि रिपोर्टिङका लागि अर्कै देश जान्थेँ होला।'
थोमसले नेपाल चिनेको दुई दशक भयो। यो दुई दशकमा उनले केही परिवर्तन प्रस्ट देखेका छन्।
'सहर त्यति परिवर्तन भएको छैन, ठूलो भने भएको छ। पहिले यहाँ सडकहरू धेरै थिएनन्। कागजमा केही धर्सा तान्दा नेपालका सडकको नक्सा तयार हुन्थ्यो। अहिले जताततै सडक बनेका छन्। पहिले तिहारमा दियो बालिन्थ्यो, जुन एकदम सुन्दर देखिन्थ्यो। अहिले जताजतै झिलिमिली बत्ती छन्। यसले नेपालमा भित्रिएको आधुनिकतालाई संकेत गर्छ,' उनले भने, 'मानिसको जीवनस्तर पनि उकासिएको छ। शान्ति सम्झौता भएयता नेपालमा 'क्रेजी' घटना खासै छैनन्। देशमा शान्ति र स्थिरता छ।'
थोमस सन् २००९ मा नेपाल आएर विवाह गरेयता कोरोना महामारीको समयसम्मै यहीँ बसेका थिए। करिब ११ वर्षको नेपाल बसाइपछि चार वर्षयता उनी र उनको परिवार बेलायतमा बसिरहेको छ। त्यहाँ उनी वरपर हिँडडुल गर्छन् र बाँकी समय घरमै किताब पढेर बिताउँछन्। त्यो काम उनलाई निरश र पट्यारलाग्दो लाग्छ। त्यही भएर बेलायत बसे पनि केही न केही बहाना बनाएर उनी नेपाल आइरहन्छन्।
यो वर्ष मात्र तीनपटक नेपाल आएका ५१ वर्षीय थोमसले भने, 'म बेलायतमा जन्मिएको भए पनि मलाई नेपालमै रमाइलो लाग्छ। बेलायतको जनजीवन एकदम निरश र उराठलाग्दो छ। त्यहाँ मैले चिन्ने धेरै मान्छे छैनन्। बरू नेपालमै मैले चिन्ने धेरै साथीहरू छन्।'
उनले अगाडि भने, 'बेलायतमा हरेक दिन उस्तै लाग्छ। यहाँ हरेक दिन केही न केही नयाँ भइरहेको हुन्छ।'
***