(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले नि:शुल्क पढ्न मिल्ने गरी हामीले यो स्टोरी खुला गरेका छौं।)
छ महिनाअघि तीनकुनेको काठ उद्योगमा चार जनाको सामूहिक हत्या भयो। अनुसन्धान गर्न प्रहरी टोलीसहित 'रोज' पनि घटनास्थल पुगेको थियो।
घटनास्थल निरीक्षणपछि प्रहरीले अनुमान लगाए — हत्याराले आफ्नो रगत लतपतिएको हात धुन घटनास्थलमा रहेको चापाकल प्रयोग गरेका हुन सक्छन्! उनको हातको निसान र शरीरको गन्ध चापाकलको ह्यान्डलमा रहेको हुन सक्छ!
यही अनुमानका आधारमा प्रहरीले रोजलाई चापाकल नजिक लगे।
यहाँबाट सुरू भयो, रोजको खोज।
उसले चापाकलको ह्यान्डल सुँघ्यो। त्यसपछि ऊ घटनास्थलबाट तीनकुनेको खाली जग्गातिर गयो। त्यहाँबाट गोरेटो बाटो हुँदै कोटेश्वर पुग्यो।
कोटेश्वरमा पनि ऊ रोकिएन।
ऊ अगाडि बढ्दै जडिबुटी चोकसम्म पुग्यो र त्यहीँ थामियो।
रोज जुन बाटो हिँड्दै जडिबुटी चोक पुगेको थियो, त्यो हत्यारा हिँडेको बाटो थियो।
यति आधार फेला परेपछि प्रहरीले घटनास्थलदेखि जडिबुटीसम्मको सिसिटिभी फुटेज ट्रयाक गरे। त्यसमा देखिएका विभिन्न अनुहारको आवागमन पछ्याए।
उनीहरूले एउटा शंकास्पद अनुहार देखे, जसको आवागमन रोजले खुट्टयाएको बाटोसँग दुरूस्तै मिल्थ्यो। शरीरको हाउभाउ पनि भिन्न थियो।
प्रहरीले खोजी तीव्र पारे।
आखिरमा रोजको खोज सही ठहरियो।
उसैको सहयोगमा तीनकुने सामूहिक हत्याकाण्डका फरार अभियुक्त पक्राउ परे।
यसरी प्रहरी अनुसन्धानमा खटिएर अपराधी पक्रन सघाउने रोज बेल्जियन सेफर्ड कुकुर हो। ऊ आफ्नो रसिलो, चुच्चो नाकको मद्दतले घटनास्थलका विभिन्न कुना सुँघ्छ र त्यसै आधारमा अपराधीको गन्ध पत्ता लगाउँछ। त्यो गन्ध जता जता पुग्यो, ऊ त्यतै त्यतै दौडिन्छ।
यस्तो काम गर्ने रोज एक्लो होइन। रोय र जम्बोले पनि लामो समयदेखि अपराध अनुसन्धानमा प्रहरीलाई सघाउँदै आएका छन्।
यो तिनै अनुसन्धानकर्ता कुकुरहरूको कथा हो।
प्रहरी टोलीमा सामेल कुकुरहरूले हत्यारा हिँडेको बाटो कसरी पत्ता लगाउँछन्? अन्य अपराधमा संलग्न व्यक्तिहरू लुकेको ठाउँसम्म उनीहरू कसरी पुग्छन्? कसैले लागुऔषध लुकाएर ल्याएका छन् कि छैनन् भन्ने कसरी थाहा पाउँछन्? कोही व्यक्ति हराएको छ भने, हराएको व्यक्तिलाई कुकुरहरूले कसरी खोज्छन्? हत्यारा लगायतका अपराधीले आफू हिँडेको बाटोमा त्यस्तो के छाडेका हुन्छन्, जसका आधारमा कुकुरहरू उनीहरू भएको ठाउँसम्म पुग्छन्?
यो स्टोरीमा हामी यिनै विषयमा चर्चा गर्नेछौं।
यसबाहेक कुकुरहरूको स्वभाव, मनोविज्ञान र उनीहरूलाई कसरी तालिम दिइन्छ, त्यसबारे पनि बताउने छौं।
माघको आखिरीतिर हामी अनुसन्धानकर्ता कुकुरबारे बुझ्न प्रहरी तालिम केन्द्र महाराजगन्ज गएका थियौं। त्यहाँ उनीहरूको रेखदेख निम्ति केनाइन कार्यालय छ। उनीहरू त्यहीँ बस्छन्।
केही बेरको पर्खाइपछि एउटा कुकुर आफ्नो 'ह्यान्डलर' (पहरेदार) लाई पछ्याउँदै लुखुर लुखुर आइरहेको देखियो।
ऊ रोय हो। उसका पहरेदार प्रहरी नायब निरीक्षक (सई) बद्रीप्रसाद पौडेल हुन्।
'भर्खर डुलाएर ल्याएकाले रोय चलखेलकै मुडमा छ,' पौडेलले हामीसँग भने, 'हेर्नूस् त, अझै कस्तरी जिस्किरहेको छ!'
रोय साँच्चि नै मुडमा देखिन्थ्यो। ऊ आफ्नो घाँटीमा बाँधिएको बेल्टसहित बुरूक बुरूक उफ्रिँदै थियो।
रोय साढे दुई वर्षको भयो। ऊ पनि बेल्जियन सेफर्ड जातको कुकुर हो। ऊ प्रहरी टोलीमा भर्ती भएको छ महिना भयो। अहिले रोय बम तथा विस्फोटन पदार्थ अनुसन्धान समूहमा छ।
पौडेलका अनुसार रोय सानैदेखि सक्रिय र चञ्चल थियो। उसको सुँघ्ने क्षमता अरू कुकुरभन्दा एकदमै बलियो छ। प्रहरीले उसलाई किनेर ल्याउनुको एउटा मुख्य कारण यही हो।
महाराजगन्ज ल्याएदेखि रोयको रेखदेख र तालिमको जिम्मा सम्हाल्दै आएका पौडेलले उसको एक एक स्वभाव मिहिन नियालेका छन्।
सुरूआती दिनमा रोयसँग दोस्ती गर्न पौडेलले दिनकै सात-आठ घन्टा बिताए। उनी रोयसँगै खेल्थे। रोयको कपाल कोरिदिन्थे। नङ काटिदिन्थे। रोयको घाँटी र ढाड सुमसुम्याउँथे।
बिस्तारै रोय आफ्ना पहरेदारसँग झ्याम्मिन थाल्यो। ऊ पौडेलको हात चाट्थ्यो। लुगा टोक्थ्यो। पौडेलकै वरिपरि फनफनी घुम्थ्यो। पौडेल जता दौडियो, उतै दौडिन्थ्यो।
'जति धेरै घुलमिल भयो, कुकुरले उति धेरै विश्वास गर्छ। जति विश्वास गर्यो, उति भनेको मान्छ,' पौडेलले भने, 'विदेशतिर त कुकुरसँग सम्बन्ध सुमधुर बनाउन सुरूका २१ दिन केनलमा सँगसँगै सुत्नुपर्ने नियम छ। नेपालमा भने त्यस्तो नियम छैन।'
यसरी घुलमिल भइसकेपछि बिस्तारै कुकुरलाई तालिम दिन सुरू गरिन्छ। पहिलो चरणमा दिसा-पिसाब कहाँ गर्ने, कहाँ गएर खाना खाने, कहाँ सुत्ने, कति बेला सुत्ने लगायतका दैनिक काम सिकाइन्छ। यसलाई 'हाउस म्यानर' भनिन्छ।
'यस्ता कुरा कसरी सिकाउनुहुन्छ?'
हाम्रो यो प्रश्नमा पौडेलले दिसा-पिसाब गर्ने तालिमको उदाहरण दिए।
'जुन ठाउँमा गर्ने हो, त्यहाँ दुई-चारचोटि डोर्याएर लैजान्छौं। डुलाउँदा पनि त्यहीँ आसपास लग्छौं,' उनले भने, 'यसो गर्दा कुकुरले आफ्नो दिसा-पिसाबको गन्ध थाहा पाउँछ र पछि पछि पनि त्यहीँ जान थाल्छ।'
कुनै निश्चित ठाउँमा शौच गर्ने बानी पार्न दुईदेखि तीन साता लाग्छ।
हाउस म्यानर तालिमपछि ह्यान्डलरको आज्ञा मान्न सिकाइन्छ। यसमा ह्यान्डलरले बोलाउँदा दौडिँदै आउने, जा भन्दा जाने, भनेको काम गर्ने, ह्यान्डलरले दिएको मात्र खाने लगायत पर्छन्। यो तालिम पाएका कुकुरले ह्यान्डलरले खा नभनेसम्म केही खाँदैन। जतिसुकै मनपर्ने चिज भए पनि ह्यान्डलरको अनुमतिबिना छुँदै छुँदैन।
पौडेलका अनुसार यस्ता तालिमप्राप्त कुकुरले आदेश मान्ने भनेको मान्छेको भाषा बुझेर होइन। कुकुरहरू मान्छेको भाषा होइन, बोल्ने तरिका र लवज बुझ्छन्। त्यसैले कुकुरलाई माया गर्दा, गाली गर्दा वा स्याबास भन्दै तारिफ गर्दा फरक फरक लवजमा बोल्नुपर्ने पौडेल बताउँछन्।
'आदेश मान्ने पनि हाम्रो लवजकै आधारमा हो,' उनले भने, 'कुन काम गर्ने र कसरी गर्ने भनेर निश्चित लवजमा आदेश दिनुपर्छ। कुकुरहरू मान्छेको त्यही लवज पछ्याउँछन्।'
आदेश पालन तालिमपछि पालो आउँछ, कुकुरहरूको काम निर्धारण गर्ने।
यसको निम्ति कुकुरको क्षमता, सिकाइ र व्यवहार हेरेर कुन काममा संलग्न गराउने भन्ने निर्णय हुन्छ र त्यसैअनुसार थप तालिम दिइन्छ।
नेपाल प्रहरीले चारथरीका काममा कुकुर प्रयोग गर्दै आएको छ — ट्रयाकर (सर्च एन्ड रेस्क्यू), लागुऔषध खोजी, विस्फोटक पदार्थ पहिचान र मान्छेको खोजी तथा उद्धार। यीमध्ये सुँघ्ने क्षमता बलियो भएको कुकुरलाई विस्फोटक पदार्थ खोज्न प्रयोग गरिन्छ। रोय यसको उदाहरण हो।
यी प्रत्येक कामका लागि फरक फरक वस्तु सुँघ्न सिकाइन्छ।
उदाहरणका लागि — रोयजस्तो विस्फोटक पदार्थ पहिचान गर्ने कुकुरलाई बम र गोलाबारूदको गन्ध सुँघाइन्छ। लागुऔषध खोज्नेलाई विभिन्न किसिमका लागुऔषधको गन्धसँग अभ्यस्त गराइन्छ। त्यस्तै, रोजजस्तो अपराधी पत्ता लगाउने कुकुरलाई गन्धका आधारमा मान्छे पहिचान गर्ने तालिम दिइन्छ।
सबै तालिम पूरा गर्न सात-आठ महिना लाग्छ, पौडेलले भने, 'लगभग आठ महिनाको तालिमपछि उनीहरूको ड्युटी सुरू हुन्छ।'
उनका अनुसार अहिलेको समय रोय सबभन्दा व्यस्त अनुसन्धानकर्ता कुकुर हो। काठमाडौं उपत्यकाभित्र अतिविशिष्ट व्यक्तिहरूको सवारी हुँदा सबभन्दा पहिला रोय त्यहाँ पुग्छ। उसले त्यो ठाउँको कुनाकाप्चा सुँघ्छ र विस्फोटक पदार्थ भए-नभएको यकिन गर्छ। रोयले 'ग्रीन सिग्नल' दिएपछि मात्र अतिविशिष्ट व्यक्तिको सवारी चल्छ।
रोयले कुनै विस्फोटक पदार्थको गन्ध सुँघ्यो भने जुन ठाउँबाट गन्ध आएको हो, ऊ त्यहीँ चुपचाप बस्छ। यो उसको संकेत हो।
संकेत गर्ने तरिका फरक फरक हुन्छ। ह्यान्डलरले जसरी सिकायो, त्यसरी नै संकेत गर्छ। कुन संकेतको अर्थ के हो भन्ने सम्बन्धित ह्यान्डलरबाहेक अरूले बुझ्दैन।
पौडेलले हामीलाई नमूना परीक्षण गरेर देखाए —
उनले कार्यालयभित्र रहेको खुला चउरमा केही ढुंगा र ब्लक थुपारे। ब्लकको बीचमा केही विस्फोटक पदार्थ लुकाएर राखे।
त्यसपछि रोयको घाँटीमा बाँधिएको बेल्ट खोलिदिए।
रोय चउर वरिपरि घुम्यो। प्रत्येक ढुंगा र प्रत्येक ब्लकमा आफ्नो चुच्चो नाक घुसाउँदै गन्ध सुँघ्यो।
एकाध मिनेटमै रोय एउटा ब्लकछेउ चुपचाप बस्यो। त्यसपछि उसले त्यहाँका अरू कुनै ढुंगा र ब्लक सुँघेन।
पौडेलले उसलाई हातको इसाराले आफू नजिक डाके र फेरि खोज्न आदेश दिए।
यसपालि पनि रोय त्यही ब्लकछेउ गएर चुपचाप बस्यो, जहाँ ऊ अघिल्लोचोटि बसेको थियो।
हामी पौडेललाई पछ्याउँदै ढुंगा र ब्लकको थुप्रो नजिक गयौं।
रोयले जुन ब्लक संकेत गरेको थियो, पौडेलले ठ्याक्कै त्यस मुनिबाट विस्फोटक पदार्थ निकालेर हामीलाई देखाए।
विस्फोटक पदार्थ मात्र होइन, रोयले लागुऔषध पत्ता लगाउने तालिम पनि पाएको छ। उसले विमानस्थलमा धेरैचोटि लागुऔषध ओसारपसार गर्नेलाई आच्छु आच्छु पारेको छ।
कुकुरहरूलाई यसरी आफ्नो इसारामा नचाउने खुबी पौडेलमा त्यसै आएको होइन। उनले २०७० सालमा भारत गएर कुकुरलाई कसरी तालिम दिने भनी तालिम लिएका थिए।
त्यहाँ 'ओप्रा' नामको जर्मन सेफर्ड उनको जिम्मामा थियो। सुरूआतमा ओप्रासँग घुलमिल गराउन पौडेललाई २१ दिन कुकुर सुत्ने केनलमै सुताइयो। यसले मानिस र कुकुरबीच छिटो सुमधुर सम्बन्ध कायम हुन्छ भन्ने मान्यता छ। कुकुरलाई दिसा-पिसाब लाग्दा प्रत्येकचोटि ह्यान्डलरले डोर्याएर बाहिर निकाल्छ।
'यसबाट कुकुरमा यो मान्छेबिना म केही गर्न सक्दिनँ, यो मान्छे नै मेरो सबथोक हो भन्ने भावना विकास हुन्छ,' पौडेलले भने, 'सुरूमा कुकुरसँगै सुत्न मलाई केही असहज लागेको थियो, तर दुई-चार दिनमै बानी पर्यो।'
तालिम सकेपछि उनले ओप्रालाई आफूसँगै लिएर आए।
पौडेलले ओप्रासँग करिब नौ वर्ष काम गरे। लागुऔषध पत्ता लगाउनमा ओप्रालाई टक्कर दिने कुकुर उनले अहिलेसम्म देखेका छैनन्। ओप्राले विमानस्थल लगायत विभिन्न ठाउँमा लागुऔषध ओसारपसार गर्नेहरूलाई धेरैचोटि पक्राउ गरेको उनी बताउँछन्।
'ओप्रा मेरो जिन्दगीको पहिलो कुकुर साथी हो। म ऊसँग भावनात्मक रूपले यति निकट थिएँ, धेरै समय अरू कुकुरलाई पनि ओप्रा नै भनेर बोलाउँथेँ,' उनले अगाडि भने, 'पछि ओप्राको मृत्यु हुँदा मलाई आफ्नै परिवारको सदस्य गुमाएझैं भयो।'
ओप्रापछि उनको जिन्दगीमा आयो — सोल्ड।
यो २०७३ सालतिरको कुरा हो, जब उनी दोस्रोपटक तालिम लिन अमेरिका गएका थिए। त्यहाँ ५२ दिन तालिम लिएपछि उनले डच सेफर्ड जातको सोल्डलाई आफूसँगै लिएर आए।
सोल्ड प्रहरीको विस्फोटक पदार्थ खोज्ने टिममा सामेल भयो। पौडेलले सोल्डसँग सात वर्ष काम गरे। त्यसपछि उसलाई अमेरिकाले फिर्ता लग्यो।
ओप्रा र सोल्डपछि पौडेलको जिन्दगीमा आएको तेस्रो कुकुर रोय नै हो।
उनले अहिलेसम्म धेरै प्रजातिका कुकुरलाई तालिम दिइसकेका छन्। तीमध्ये बेल्जियन सेफर्ड जातको कुकुर अलि छिटो सिक्ने उनको अनुभव छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ का ४१ वर्षीय बद्री पौडेलले आफ्नो १८ वर्षको प्रहरी सेवामा १० वर्ष कुकुरसँग बिताइसके। उनले २०७० बाट कुकुरलाई तालिम दिन सुरू गरेका हुन्। अचेल उनको दिनको सुरूआत नै कुकुरहरूलाई डुलाएर हुन्छ। साँझ जब कुकुरहरू केनलमा सुत्न जान्छन्, तब उनको दिन सकिन्छ।
दस वर्षको आफ्नो अनुभवका आधारमा पौडेलले कुकुरका केही आनीबानी र हाउभाउको पनि हामीसँग चर्चा गरे।
जस्तो —
कुकुरले मान्छेलाई देखेर होइन, सुँघेर चिन्छ। एकै जनालाई दिनहुँ देखिरहँदा अनुहार पनि थोरै थोरै चिन्न सक्छ, तर धेरैजसो उसले मान्छे चिन्ने सुँघेरै हो।
प्रत्येक मान्छेको गन्ध फरक हुन्छ। एउटाको गन्ध अर्कोसँग मिल्दैन, पौडेलले भने, 'वरिपरि सधैं आइराख्ने गन्धबाहेक फरक गन्ध आउनेबित्तिकै कुकुरले फरक व्यवहार देखाउँछ।'
कुकुर सामान्य स्वरमा भुकिरहेको छ र भुक्दाभुक्दै दायाँ-बायाँ उफ्रिरहेको छ भने ऊ खुसी भएको संकेत हो। आफूले चिनेका मान्छेको गन्ध पाएर खुसी हुँदा ऊ प्रायः यस्तै संकेत देखाउँछ। यसको अर्थ ऊ त्यो मान्छेसँग घुलमिल हुन वा खेल्न चाहिरहेको छ भन्ने बुझ्नुपर्छ।
कुकुरले पुच्छर ठाडो पारेको छ, शरीरका भुत्ला ठाडा भएका छन् र असाधारण तरिकाले उफ्रिरहेको छ भने ऊ रिसाइरहेको छ भन्ने बुझिन्छ।
ठाडो कान भएका कुकुरले यदि आफ्नो कान भुइँतिर झुकाएको छ र पुच्छर टाङमुनि छिराएको छ भने ऊ आसपासका केही चिजसँग डराएको थाहा हुन्छ।
एउटा स्वस्थ कुकुर आफ्नो ह्यान्डलरलाई देख्नासाथ साधारण तरिकाले दायाँ-बायाँ उफ्रिन्छ। दिसापिसाब लागे चुइँचुइँ कराउँछ। धेरै डर लागेको छ भने हुँ हुँ गर्छ। कुकुर यसरी हुँ हुँ गरेर कराउँदा अशुभ भयो भन्ने चलन छ। तर त्यो भनेको कुकुर डरले भुकेको संकेत हो।
'कुकुरको आदिम पुर्खा ब्वाँसो हो। त्यसैले जब कुकुर डराउँछ, उसको स्वरमा आदिम पुर्खाको झलक सुनिन्छ,' पौडेलले भने, 'ऊ ब्वाँसोझैं हुँ हुँ गर्छ।'
कहिलेकाहीँ कुनै कुकुर मोटरसाइकल वा गाडीको पछाडि बेस्सरी दौडिएको देखिन्छ। यसका पछाडि दुइटा कारण हुन सक्छन् — उसले कुनै बेला त्यो मोटरसाइकल वा गाडीमा पिसाब फेरेको हुन सक्छ; वा आफ्नो इलाकामा फरक गन्ध आएकाले ऊ भुकेको हुन सक्छ!
कतिपय अवस्थामा गाडीको ठूलो आवाजले असुरक्षित महसुस गरेर पनि ऊ भुकेको वा बेस्सरी पछाडि दौडिएको हुन सक्ने पौडेल बताउँछन्।
'त्यस्तो अवस्थामा आफ्नो सवारीको स्पिड घटाइहाल्नुपर्छ,' उनले भने, 'स्पिड बढायो भने कुकुर झन् बेस्कन दौडिएर पछ्याउन आउँछ।'
रोय र उसका ह्यान्डलर बद्रीप्रसाद पौडेलपछि हामी कुरा गरौं, जम्बो र उसका ह्यान्डलर वरिष्ठ हवल्दार कृष्ण सिंहको।
जर्मन सेफर्ड जातको जम्बो नेपाल प्रहरीको ट्रयाकर (सर्च एन्ड रेस्क्यू) टिममा छ। यो टिममा रहेर जम्बोले पाँच वर्षदेखि विभिन्न घटनामा अपराधी पत्ता लगाउन मद्दत गर्दै आएको छ।
कुनै पनि ठाउँमा आपराधिक घटना हुनेबित्तिकै जम्बोलाई घटनास्थल लगिन्छ। त्यहाँ पुगेपछि उसले कुनाकाप्चा चहारेर अपराधीको गन्ध पत्ता लगाउँछ र त्यही गन्ध पछ्याउँदै प्रहरी टोलीलाई अपराधी लुकेको ठाउँसम्म पुर्याउँछ।
जम्बोको खुबी भनेको उसले जमिनको सतहबाट ६ मिटर मुनिसम्मको गन्ध थाहा पाउँछ। उसको रेखदेख गर्दै आएका वरिष्ठ हवल्दार कृष्ण सिंहले हाम्रो आँखैअगाडि जम्बोको खुबी परीक्षण गरेर देखाए —
उनले एक जना प्रहरीलाई कार्यालय कम्पाउन्डमा खनिएको खाल्डोभित्र लुक्न लगाए। त्यसपछि जम्बोलाई ती प्रहरीले प्रयोग गर्ने सामानको गन्ध सुँघाए र खोज्न लगाए।
जम्बो प्रहरी कार्यालयको कम्पाउन्ड वरिपरि घुम्यो। आखिरमा ती प्रहरी लुकेको खाल्डो नजिकै गएर भुक्न थाल्यो।
वरिष्ठ हवल्दार सिंहले उनलाई आफू नजिकै डाके र दोस्रोचोटि पनि खोज्न लगाए।
दोस्रोपटकमा जम्बो सिधै त्यही खाल्डो नजिक गएर भुक्यो।
नमूना परीक्षण गरेर देखाएपछि सिंहले जम्बोबाट फत्ते भएका केही चर्चित अपरेसनबारे विस्तार लगाए —
२०७८ सालको कुरा हो। ललितपुरको थेँचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एउटा शव फेला पर्यो। करिब पाँच फिट गहिरो खाल्डोमा गाडिएको उक्त शव जम्बोले संकेत गरेको ठाउँमै फेला परेको थियो।
'उसले त्यो ठाउँ पत्ता लगाउँदा झमझम पानी परिरहेको थियो,' सिंहले भने, 'पानी परिरहेकै अवस्थामा पनि जम्बोले सही गन्ध थाहा पायो।'
अर्को घटना २०७७ मंसिर २७ को हो। कपिलवस्तु नगरपालिका-५ की मकबुल मियाको घरमा डेरा बस्ने ५९ वर्षीया सुशीला खड्काको हत्या भयो। घटनास्थलमा इँटाका केही टुक्रा र लोहोरो फेला परे। त्यसैको गन्ध सुँघेर जम्बोले अपराधी पक्राउ गरायो। सुशीलालाई उनीसँगै बस्ने २३ वर्षीय भतिज तोरणबहादुर खड्काले हत्या गरेका रहेछन्। उनले प्रहरीसँगको बयानमा फुपूलाई मारेको स्वीकार गरे।
त्यस्तै, २०७० सालमा रसुवाको चिलिमे जलविद्युत आयोजना नजिकै बाटो सर्वेक्षण गर्ने क्रममा केही व्यक्ति पहिरोले पुरिएर बेपत्ता भएका थिए। जम्बोले संकेत गरेको ठाउँमा खोज्दै जाँदा दुई जनाको लास भेटियो।
जम्बोजस्ता अनुसन्धानकर्ता कुकुरले गन्धका आधारमा कसरी मान्छे पहिचान गर्छ त?
जबाफमा सिंहले भने, 'हाम्रो शरीरको बाहिरी छालाको बाहिरी तहमा रहने इपिडर्मिस कोषको आयु करिब २ देखि ४ साता हुन्छ। आयु पूरा भएपछि कोष मर्छ। यसरी मरेको कोष प्रतिमिनेट ४० हजारका दरले हाम्रो शरीरबाट झर्छ।'
'हामी हिँड्दा पनि मृत कोषहरू भुइँमा झरिरहेका हुन्छन्,' उनले अगाडि भने, 'त्यस्ता मृत कोषले हामी हिँडेको बाटोमा अदृश्य काल्पनिक रेखा खिच्छ, जसलाई ट्रेल भनिन्छ। मान्छेको शरीरको गन्ध र त्यस्ता मृत कोषको गन्ध समान हुन्छ। तालिमप्राप्त कुकुर त्यही गन्ध पछ्याउँदै अपराधीसम्म पुग्छ।'
अपराधीले घटनास्थलमा कुनै सामान छाडेको छ वा त्यहाँबाट भाग्नुअघि कुनै सामान छोएको छ भने उसको शरीरको गन्ध त्यसमा टाँसिएको हुन्छ। त्यही गन्धका आधारमा कुकुरले अपराधी हिँडेको बाटोमा झरेका मृत कोषहरू पछ्याउँदै उसको ट्रेल पत्ता लगाउँछ र मान्छे पहिचान गर्छ।
तालिमप्राप्त कुकुरले सामान्यतया २४ घन्टासम्म त्यस्ता मृत कोषको गन्ध थाहा पाउँछ। त्यसपछि चाहिँ ऊ अलमलिन सक्छ। यो अवस्थामा राम्रो नतिजा नआउन सक्छ। केही जातका कुकुरमा यो क्षमता धेरै हुन्छ। जस्तो — ब्लड हाउन्ड जातको कुकुरले ९६ घन्टासम्म मृत कोषको गन्ध पछ्याउन सक्छ।
गन्ध मिलेको व्यक्ति वा ऊ रहेको ठाउँ भेट्नेबित्तिकै कुकुरले भुकेर, टोकेर वा थपक्क बसेर संकेत दिने सिंह बताउँछन्।
'ह्यान्डलरले जसरी सिकाएको छ, उसले त्यसरी नै संकेत गर्छ,' उनले भने, 'जम्बोले सिधै हात वा खुट्टामा समात्छ। माटोमुनि गाडिएको छ भने त्यो ठाउँमा गएर भुक्ने वा खोतल्ने गर्छ।'
सिंहले जम्बोको जिम्मा सम्हालेको छ वर्ष हुन लाग्यो। यो अवधिमा जम्बोले आफ्नो काम गर्न अटेर गरेको उनलाई हेक्का छैन। बरू कुनै कुनै घटनामा सबुत-प्रमाण फेला नपर्दा ऊ अलमलिएको भने छ। सबुत-प्रमाण फेला नपर्ने अवस्था विभिन्न हुन सक्छ। जस्तो — अरू कसैले प्रमाण छुने वा चलाउने गर्दा, घटना भएको २४ घन्टाभन्दा बढी भइसक्दा, घटनापछि ठूलो हावाहुरी चल्दा वा पानी पर्दा।
यस्ता अवस्थामा जबर्जस्ती काम गरायो भने जस्तोसुकै तालिमप्राप्त कुकुरले पनि सही अपराधी पहिचान गर्न नसक्ने सिंह बताउँछन्।
गुल्मीको मदाने गाउँपालिका-५ का ३५ वर्षीय सिंह २०६४ सालमा प्रहरीमा भर्ती भएका हुन्। उनले कुकुरलाई तालिम दिन थालेको १५ वर्ष भइसकेको छ। यसबीच जम्बोसहित तीनवटा कुकुरको जिम्मेवारी सम्हालिसके।
उनले पहिलोपल्ट तालिम दिएको कुकुर डोर्वरमेन्ट पिन्चर जातकी 'जिनर्ट' थिई।
जिनर्ट शिकारी स्वभावकी थिई। छ महिनाको तालिमपछि उसलाई 'सर्च एन्ड रेस्क्यू' टिममा राखिएको थियो। उसले करिब पाँच वर्ष अपराधी पक्रिन मद्दत गरी।
'भालेभन्दा पोथी कुकुर बढी अनुशासित हुन्छ,' सिंहले भने, 'पोथीलाई अलि बढी स्याहार चाहिन्छ। उनीहरू ६ महिनामा एकपल्ट महिनावारी हुन्छन्। महिनावारी २१ दिनसम्म चल्छ। त्यो बेला उनीहरू सक्रिय भएर काम गर्न सक्दैनन्।'
जिनर्टपछि उनले जर्मन सेफर्ड जातको 'विकु' सम्हालेका थिए। विकु सर्च एन्ड रेस्क्यू टिममै थियो। विकुसँग उनले दुई वर्ष मात्र काम गरे।
विकुपछि उनको जिन्दगीमा जम्बो आयो। अहिले जम्बो नै उनको सबभन्दा मिल्ने साथी हो।
'कुकुरको आनीबानी र भावना बुझ्नसके मान्छेभन्दा धेरै मिल्ने साथी बन्छ,' उनले भने।
उनी जम्बोलाई साताको दुई-तीनपटक नुहाइदिन्छन्। कपाल कोरिदिन्छन्। नङ काटिदिन्छन्। बेला बेला कपाल काटेर तेल पनि लगाइदिन्छन्।
'यसलाई मायाले मात्र काम गराउन सकिन्छ। कुटपिट गर्यो भने काम लगाउन निकै गाह्रो हुन्छ,' उनले भने, 'ह्यान्डलर एक्लै भएको बेला त कुटाइको डरले मान्छ पनि, तर अरू कोही सँगै छ भने गर्दै गर्दैन। अरू मान्छेको अगाडि कुटाइ खानुपर्दैन भन्ने उसले बुझेको छ।'
'मान्छेसँग बस्दा बस्दा कुकुरको स्वभाव पनि मान्छेको जस्तै भइसक्यो,' उनले थपे, 'कुटेर त मान्छेबाट पनि काम लिन सकिँदैन नि, हैन!'
रोय र जम्बो; र उनीहरूका ह्यान्डलरलाई भेटेपछि हामीले प्रहरी केनाइन सेवाका प्रहरी उपरीक्षक (एसपी) रामचन्द्र सत्यालसँग कुराकानी गर्यौं।
उनले कुकुरको सहयोगमा अपराधी पत्ता लागेका केही घटना सुनाए —
पहिलो घटना २०७८ सालको हो।
कैलालीको टिकापुर नगरपालिका- १ बस्ने दिलिप विष्टका तीन वर्षीय छोरा विवेक आफ्नै घर नजिकको बाटोबाट हराए। अनुसन्धानमा खटिएको जर्मन सेफर्ड जातको 'तुफान' भन्ने कुकुरलाई बच्चा सुत्ने डसना सुँघाएर छाडियो। ऊ डसनाको गन्ध पछ्याउँदै जमरा नालाको किनारसम्म पुगेर रोकियो। तुफान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट खटिएको थियो।
'सर्च एन्ड रेस्क्यू' टिममा संलग्न तुफानले दिएको संकेतका आधारमा बच्चा ढलमा खसेको अनुमान गरियो। खोज्दै जाँदा पाँच किलोमिटर तल बच्चाको शव फेला पर्यो।
अर्को घटना काठमाडौंको हो।
२०७७ साउन २५ गते टोखा नगरपालिका- १० मा एउटा सुटकेसभित्र टाउको र खुट्टाबिनाको लास फेला परेको थियो। घटनास्थलमा लास बोक्न प्रयोग गरिएको नाम्लो पनि थियो। अनुसन्धान क्रममा ब्लड हाउन्ड जातको 'जोजो' भन्ने कुकुरलाई उक्त नाम्लो सुँघाएर छाडियो। सर्च एन्ड रेस्क्यू तालिमप्राप्त त्यो कुकुरले घटनास्थलबाट अन्दाजी दुई सय मिटर पर खाली जग्गामा जेब्रा झोला फेला पार्यो, जसमा पुरूषको काटिएको टाउको थियो।
यो घटनामा फरक फरक ठाउँमा रहेका शरीरका अंग फेला पारेर अनुसन्धान अघि बढाउन कुकुरले सहयोग पुर्याएको एसपी सत्यालले बताए।
तेस्रो घटना पनि काठमाडौंकै हो।
२०७८ चैत १२ गते शंकरापुर नगरपालिका-९ का हरिबहादुर श्रेष्ठ घरबाट हराएका थिए। उनको खोजी गर्न प्रहरीले जर्मन सेफर्ड जातको 'पप्पी' लाई खटायो। सबभन्दा पहिला उसलाई श्रेष्ठले प्रयोग गर्ने कपडा सुँघाइयो। कपडा सुँघेपछि ऊ घरको पछाडिको बाटो हुँदै शालिनदी किनारसम्म पुग्यो।
नदी किनारको एउटा ढुंगामा रगतजस्तो देखिने पदार्थ लागेको थियो। पप्पीले दिएको यही संकेतका आधारमा खोजतलास गर्दा शालिनदीमै डुबेको अवस्थामा श्रेष्ठको शव फेला पर्यो।
चौथो घटना सर्लाहीको हो।
२०७९ वैशाख १७ गते हरिपुर नगरपालिका-१ डाँफे जंगलमा ३१ वर्षीय विष्णु घिसिङको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। रौतहटको मुजरा नगरपालिका-५ का घिसिङको हत्या अनुसन्धानमा जर्मन सेफर्ड जातको 'जंगे' लाई घटनास्थलमा खटाइयो।
जंगे घटनास्थलमा फेला परेको धारिलो खुँडा सुँघेर त्यहाँबाट दक्षिण पश्चिमतर्फ बढ्यो। ऊ करिब साढे दुई किलोमिटर बाटो ट्रयाक गरेर जुन ठाउँसम्म पुग्यो, त्यही ठाउँमा हत्यारा लुकेर बसेको पाइयो। पक्राउपछि ती व्यक्तिले अपराध कबुल गरे।
पाँचौं घटना रौतहटमा २०८० असार २९ गते भएको हो।
दावाही गोनाही नगरपालिका- ६ कर्कच बस्ने जगरनाथ साहको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। हत्यारा पत्ता लगाउन वीरगन्जको केनाइन शाखाबाट 'रियो' नामको कुकुर परिचालन गरियो।
घटनास्थलमा महिलाले कपालमा लगाउने क्लिप फेला परेको थियो। रियोलाई उक्त क्लिप सुँघाएर छोड्दा उसले हत्यारा पहिचान गर्यो।
रियोले पहिचान गरेको व्यक्ति अरू कोही होइन, साहकै श्रीमती थिइन्। केरकार गर्दा उनले हत्या गरेको सकारिन्।
'अपराध अनुसन्धानका घटना खोतल्ने हो भने कुकुरको सहयोगमा अपराधी पत्ता लागेका उदाहरण कति छन् कति!' एसपी सत्यालले भने।
उनका अनुसार रोय, जम्बो र रोजजस्ता तालिमप्राप्त र तालिमरत समेत २८ वटा कुकुर अहिले केनाइन केन्द्रीय कार्यालयमा छन्। देशभरिमा ६८ तालिमप्राप्त र २२ तालिमरत गरी ९० वटा कुकुर प्रहरी सेवामा कार्यरत छन्।
प्रहरी सेवामा संलग्न यी कुकुरलाई दैनिक ६ सय ग्राम 'डग फुड' खुवाउने गरिन्छ। ह्यान्डलरले तालिमअनुसार खानेकुरा थपघट गर्न सक्छन्।
पहिले पहिले यिनलाई मासुभात नै खुवाइन्थ्यो। पछिल्लो समय तयारी खानेकुरा खुवाउने गरिएको छ। यसमा कुकुरलाई चाहिने सबै पोषक तत्त्व र आवश्यक क्यालोरी हुने सत्याल बताउँछन्।
नेपालमा कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गरिएको २०२६ सालबाट हो। त्यति बेला पाँच जना प्रहरीलाई कुकुरसम्बन्धी तालिम लिन मलेसिया पठाइएको थियो। उनीहरूले फर्केर आउँदा जर्मन सेफर्ड जातका दुइटा तालिमप्राप्त कुकुर ल्याएका थिए — रिवल र होस्का। नेपालको प्रहरी सेवामा संलग्न भई सबभन्दा पहिला अपराध अनुसन्धानमा काम गरेका कुकुरहरू यिनै हुन्। त्यसपछि 'सागर' र 'धौला' नामका थप दुइटा कुकुर किनेर ल्याइएको सत्यालले जानकारी दिए। ती पनि जर्मन सेफर्ड जातकै थिए।
संसारभरिमा करिब साढे चार सय प्रजातिका कुकुर पाइएका छन्। तीमध्ये १२-१३ प्रजातिका कुकुरलाई मात्र अपराध अनुसन्धानमा प्रयोग गरिन्छ।
नेपाल प्रहरीले अहिले ६ जातका कुकुर प्रयोग गर्दै आएको छ। तिनमा ल्याब्रोडोर रिट्रिभ, क्रोकर स्पानियल, गोल्डेन रिट्रिभर, बिगल, जर्मन सेफर्ड र बेल्जियन सेफर्ड छन्। सबभन्दा महँगो बेल्जियन सेफर्ड हो। यसको मूल्य पाँच लाख रूपैयाँ पर्ने एसपी सत्यालले बताए।
विगतमा प्रहरीले ८ जातका कुकुर प्रयोग गरेको थियो। तिनमा सबभन्दा महँगो ब्लड हाउन्ड जातको थियो। यसको मूल्य ८ लाख रूपैयाँ पर्थ्यो। प्रहरीले अहिलेसम्म किनेका कुकुरमध्ये सबभन्दा महँगो यही हो।
सुँघ्ने क्षमताका आधारमा कुकुरको दाम फरक पर्छ। मान्छेको दाँजोमा कुकुरको सुँघ्ने क्षमता ५० गुणा बढी हुने सत्याल बताउँछन्।
'हामी सुपको गन्ध थाहा पाउन सक्छौं, तर कुकुरले सुपमा मिसाइएको एक-एक थोकको गन्ध छुट्ट्याउन सक्छ,' उनले भने, 'कुकुरले राम्रो-नराम्रो छुट्ट्याउन सक्दैन। त्यो पनि छुट्ट्याउन सक्थ्यो भने हामी कुकुरलाई नियन्त्रणमा राख्न सक्दैन थियौं होला।'
तर उसको यही कमजोरी अपराध अनुसन्धानमा फलदायी साबित हुन्छ। किनभने, आफूले अनुसन्धान गरेको आपराधिक घटनामा आफ्नै ह्यान्डलर वा घरको सदस्य संलग्न छ भने पनि कुकुरले छोड्दैन।
आफ्नो स्वार्थका आधारमा अपराधी लुकाउने-छिपाउने काम कुकुरबाट कहिल्यै हुँदैन, त्यो मान्छेले मात्र गर्छ।
'त्यसैले अपराधी पत्ता लगाउनमा कुकुर जत्तिको भरपर्दो र विश्वासिलो मान्छे पनि छैन,' सत्यालले भने।
***
तालिमका केही झलक (सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी)