रोल्पाको पुरानो होलेरी बजारभन्दा ठिक माथि 'जनयुद्ध' स्मारक छ, जसले तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्षको सम्झना ताजा तुल्याउँछ।
त्यसैको ठिकमुनि होलेरीको नयाँ परिचय स्थापित हुँदैछ।
होलेरी बजार पश्चिमतर्फको यो भाग केही समय अघिसम्म खर्कजस्तो मात्रै थियो। वसन्त याममा चरन क्षेत्र र हेमन्त र शिशिर याममा खर काट्ने थलोको परिचय पाएको यो चउर अहिले कृषि हाट बजारका रूपमा गुलजार छ। कृषकहरूको आयआर्जनको दर्बिलो खम्बा बनेको छ।
दक्षिणतर्फ फर्किएको पहारिलो होलेरीको यो भूखण्ड हाट बजारले परिचित होला भनेर सपनामा पनि नचिताएको बताउँछन्, रून्टीगढी-६ का बासिन्दा होमबहादुर थापा।
३४ वर्षदेखि दक्षिणी रोल्पालाई केन्द्र बनाएर तरकारी व्यवसायमा संघर्ष गरिआएका थापासँग होलेरीसँगको सुखदुःखका अनेक साइनो छन्।
'आजभन्दा ३४ वर्षअघि एक त यहाँ उत्पादन सिजनमा मात्रै हुन्थ्यो। अर्को, उत्पादन भए अनाज, तरकारीहरू बेचबिखनमा ठूलै समस्या झेल्नुपर्थ्यो,' थापाले भने, 'कृषकका बारीमा फलेका तरकारी हामी थोकमा लिन्थ्यौं र घोराहीसम्म बोकेरै पुर्याउँथ्यौं।'
अहिले यो दुर्दिनको अन्त्य भएको छ। आँगनमै खुलेको हाटले कृषि उपज खोज्न कृषकको रछ्यान-रछ्यान चहानुपर्ने बाध्यता पनि छैन।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)