बर्खामा मौसमको भर पर्नै गाह्रो। घाम लाग्लाजस्तो देखिए पनि पानी परिहाल्ने। कहिले धुम्म भएर छिनभरमै उघ्रिने।
गत साउन २० गते (शनिबार) को मौसमसँग पनि मलाई अघिल्लै दिनदेखि औधि डर थियो। सकेसम्म पानी नपरिदिए हुन्थ्यो भन्ने थियो। किनकि एक साताअघि देखि नै यो दिन एड्भेन्चरस् र रोमान्चक जिपलाइन खेल्न धुलिखेल जाने योजना बनेको थियो।
बिहानै पाँच बजे आँखा उघ्रिए। उठेर हतारै झ्यालबाट आकाश चिहाएँ। पातलो बादल उडिरहेको थियो। पानी परिहाल्ने जस्तो छाँट देखिएन। मन फुरूङ्ग भइगयो।
हुन त जिपलाइन मेरा लागि नौलो थिएन। गत वर्ष यस्तै समयमा मैले धुलिखेलमै साहसिक खेल जिपलाइन अनुभव लिइसकेकी थिएँ। क्लिकमाण्डूकर्मी साथी विजया बास्कोटा र मैले सँगै क्लासिक खेलेका थियौं। पहिलो पटक जिपलाइन अनुभव लिन लाग्दा उत्सुकतासँगै डर मिसिएको थियो। सँगै पुगेका अरू साथीहरू डराएको देख्दा मुटुको धड्कन बेस्सरी बढेको थियो।
सहजकर्ताले कम्मरमा आर्नेस फिट गरिदिएपछि धड्कन अझै बढ्यो। डरैडर बोकेर उडान सुरू भयो। हातमा बोकेको स्टिक क्यामरा पनि डरले खसाउँछु होला जस्तो लागेको थियो। तर त्यस्तो भएन। आकाशमा उड्दा क्या मज्जा। डर आफैं भाग्यो। हामीले पखेंटाझैं हात फैलायौं। चिच्याएर उड्यौं। चराजस्तै अनुभव गर्दागर्दै फेदीमा पुगियो। हावामा बत्तिँदै आकाशमा घण्टौं उडिरहन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै खेल सकियो।
‘आहा क्या रमाइलो, अर्को पटक त म एक्लै खेल्छु,’ भन्दै विजया उत्रिइन्। मैले पनि अर्को पटक सुपर म्यान फ्लाइङ गर्ने सोच बनाएँ। त्यसपछि धुलिखेल धेरै पटक पुगें। व्यस्त सेड्युलका कारण सुपर म्यान खेल्ने मौकै मिलेको थिएन। उनले फेरि सिंगल क्लासिक खेलिन् कि खेलिनन् मैले सोधेको पनि छैन।
मलाई भने यो पटक फेरि जिपलाइनमा छुट्टै अनुभव बटुल्ने मौका जुर्यो। श्रीमानको अंगालोमा बाँधिएर उड्ने मौका। हामीसँगै कान्छी बहिनी पनि जाने पक्का भयो। यो सबै सम्झेर मन आफ्नै रंग बनाएर उड्न थाल्यो।
धुलिखेल १०ः३० बजेसम्म पुगिसक्ने हाम्रो योजना थियो। जिपलाइन खेलेर दोलालघाट जाने सोचेका थियौं। त्यहीअनुसार तयारी भयौं। बिहान ९ः३० बजे गठ्ठाघर चोक पुगेर गाडी कुरेर बस्यौं। एकैछिनमा अरनिको राजमार्ग हुँदै मेलम्ची जाने गाडी आयो। गाडीले ठ्याक्कै जिपलाइनमै पुर्याउने रहेछ। हामी गाडी चढ्यौं। सिट पनि खाली। सोचेजस्तै भयो। गाडी हुइँकियो। ड्राइभर दाइले असाध्यै रमाइला गित बजाइरहेका थिए। चर्को बजेको गीतले पनि त्यति मन तानेको थिएन जति मन जिपलाइनले तानिरहेको थियो।
'जिपलाइनमा कस्तो हुँदो हो है, म त डराउँछु होला नि!' पहिलो पटक भएका कारण पनि मेरो श्रीमानको डर बढिरहेको थियो। कान्छी बहिनी पनि पहिलो पटक नै जिपलाइन अनुभव लिँदै हुनुहुन्थ्यो। तर उहाँमा डरभन्दा पनि उत्साह झाँगिइरहेको थियो। हामी कसरी खेल्ने, जिपलाइन खेल्दा क्यामेरा कसरी समात्ने लगायत कुरा गर्दै अगाडि बढ्यौं।
सार्वजनिक बसको यात्रा आफैंमा एड्भेन्चरस् थियो।
‘यत्तिको यात्रा गर्ने आँट भएकाले जिपलाइनसँग डराउनू पर्दैन है,’ मैले ठट्टा गर्दै भनें। एकैछिन मज्जाले हाँसियो। हुन पनि ठाउँ-ठाउँमा पहिरो खसेर बिग्रिएको सडक एड्भेन्चरस् थियो। हिलो र ढुंगाको थुप्रो छिचोल्दै गाडी तेज गतिमा गुड्यो। ठाउँ-ठाउँमा जाम छिचोल्दै ११ बजे धुलिखेल जिपलाइन भएको ठाउँ थाक्लेडाँडा पुगियो। जे होस् यात्रा रमाइलै भयो।
गाडीबाट झर्ने बित्तिकै फलामे लठ्ठा देखियो। मान्छेहरू त्यही लठ्ठामा जोडिएको घिर्नीमा फितामा बसेर सरर झर्दै थिए। हामीलाई पनि त्यो मज्जा लिन हतार भइसकेको थियो। काउन्टरमा पुगेर फारम भर्यौं र जिपलाइनतर्फ अघि बढ्यौं। बर्खाको समय भएकाले होला भिड खासै थिएन। हाम्रो पालो आइहाल्यो।
सहजकर्ताले कम्मरमा डोरी बाँधिदिए। टाउकोमा हेलमेट पनि कसिदिए। अब हामी जिपलाइन उडानका लागि तयार भइसकेका थियौं। केहीबेर तस्बिरहरू खिच्यौं। क्यामराले तस्बिर कैद गरिरहेको थियो। मन लठ्ठाले तानिरहेको थियो। हामी जिपलाइन सुरू गर्ने स्टेसनतिर उक्लियौं। बहिनी निकै उत्साहित हुनुहुन्थ्यो। उहाँले पहिले उड्ने निधो गर्नुभयो। एउटा हातमा स्टिक क्यामरा बोकेर अर्को हात पखेंटाझैं फैलाएर सरर उड्नु भयो।
अब हाम्रो पालो थियो। मेरो श्रीमानको अनुहारमा डरले छपक्कै छोपेको देखिन्थ्यो। ‘क्यामरा चैं कस्ले बोक्ने हो?,’ त्यतिबेलै सहजकर्ताबाट प्रश्न आयो। मैले आफूले पहिलो पटकको अनुभव सम्झेर हतारै म बोक्छु भनिदिएँ। क्यामरा खसाउँछु कि भन्ने पिर उहाँले लिन परेन। खेलसँगको डर त अनुहारमा देखिएकै थियो।
हामी सँगै बाँधियौं। अनि सुरू भयो उडान। उड्न थालेपछि उहाँको डर पनि भाग्यो। हावाको बेगमा आकाशमा उड्न क्या मज्जा। हरियाली जंगलभन्दा माथिमाथि हामी उडिरहेका थियौं। घण्टौं आकाशमै बिताइदिऊँ जस्तो लागिरहेको थियो। १.१ किलोमिटर लामो जिपलाइन। प्रतिघण्टा ११० किलोमिटर बेगमा एकैछिनमा सकियो। हुन त जिपलाइनको मजा नै यही हो। जति खेले पनि वाक्क नलाग्ने। फेरि फेरि पनि खेलिरहौं जस्तो लाग्ने। फेरि उड्न पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै हामी खावा स्टेशन उत्रियौं। अर्कोपटक चाहिँ सुपरम्यान फ्लाइङ गरौंला भन्दै हामी धुलिखेल जिपलाइन रिसोर्टतर्फ अघि बढ्यौं।
रिसोर्टमा चिया र हलुका नास्ता खाएर दोलालघाट जाने योजना हाम्रो थियो। रिसोर्ट सुनसान थियो। ‘किन कोही मान्छे छैनन,’ भन्दै गेटसम्म पुगियो। रिसोर्ट त बन्द पो रहेछ। अघिल्लो पटक रूखमाथि बसेर आनन्दले चिया पिएको निकै मिस भयो। हामी त्यहाँ पुग्यौं। रित्ता टेबल र कुर्सी मात्रै थिए। सोचेको जस्तो नहुँदा खल्लो लाग्यो।
हामी त्यहाँबाट बगैंचा तिर झर्यौं। बँगैचामा जापानिज हलुवाबेद लटरम्म फलेको थियो। पाकेको भने थिएन। काँचै खाँदा पनि मीठो स्वाद हुने यो हलुवाबेद टिपेर खाइयो। यसले केही क्षण चियाको तलतल बिर्सायो।
हामी फेरि रूखमाथि चढ्यौं। तस्विरहरू खिचेर चित्त बुझाएर फर्कँदै थियौं, बगैंचामा जिपलाइनको टिमसँग टुप्लुक्क भेट भयो। रिसोर्ट फेरि चाँडै सञ्चालनमा आउँदैछ रे। सञ्चालकले लिजमा दिने योजना बनाएका रहेछन्। रूखमाथि बसेर चिया÷नास्ताको मज्जा अर्को पटकलाई थाति राखेर हामी त्यहाँबाट फर्कियौं।