रहर पनि कस्तो लाग्ने, आधा बाइक र आधा हिँड्दै घुम्नु मन लाग्नेl
यस पटक सोलुखुम्बुस्थित दूधकुण्ड जाँदै थियौंl यात्रामा उहीँ पुराना दुई साथी, म अनि ध्रुव आचार्य दाइl
भाइटिकाको भोलिपल्ट चरिकोटबाट ब्यागप्याक गरी एकाबिहानै निस्किएँl यो पटक यात्रा सगरमाथाको जिरी हुँदै जाने योजना थियोl
नाम्दु पुगेपछि ध्रुव दाइको घरमा एक गिलास तातो चिया, सेल र अनर्सा खाएर हामी जिरी निस्कियौंl जिरी पुग्दा साढे आठ बजेको थियोl त्यहाँबाट कच्ची सडकको यात्रा सुरू भयोl झन्डै साढे दुई घण्टा कच्ची सडकको यात्रा तय गरेपछि रामेछापको बाम्ती भण्डारमा पुग्यौं lत्यसपछि एक घन्टामै किन्जा पुग्यौंl
बाटो ठिकठाक नै थियो l अबको यात्रा कष्टकर हुनेमा निश्चित थिएँl किनकि ३ हजार ५३० मिटर उचाइमा बनेको कच्ची सडक बाइक कुदाउनु थियोl डेढ घण्टाको सफरपछि लाम्जुरा पास पुग्यौंl
३ हजार ५३० मिटर उचाइमा रहेको लाम्जुरा पास हिँडेर सगरमाथा जानेका लागि पैदल मार्ग होl तर पछिलो समय पर्यटकहरू सल्लेरी वा लुक्ला हुँदै सगरमाथा जाने गर्छन्l
जुनबेँसी ननिस्केसम्म यात्रा कष्टकर नै थियोl भर्खर सडक खनेको बाटोमा बाइक चालउनु थियो।
तर सोचेभन्दा धेरै सहज भयो। एक घन्टामै जुनबेँसी पुग्यौंl त्यहाँ पुगेपछि मन लोभिन थाल्योl जताततै खोलानाला, छ्योर्तेन, गुम्बा र मिलनसार व्यक्तिहरूl आहा! यो पो हो त प्राकृतिक सुन्दरताl
आजको हाम्रो यात्रा रिंमो गाउँसम्मको थियोl जुन बेँसीबाट डेढ घन्टामै रिंमो गाउँ पुग्यौंl सनराइज होटेलमा थकान मेट्यौंl एउटा कुरा देख्दा भने खुशी लागेको थियो, अब दोलखाको ठाउँहरू घुमेर सजिलै सोलुखुम्बुको सल्लेरी पुग्न सकिने रहेछl चरिकोटबाट जिरी हुँदै जम्मा १५५ किलोमिटर यात्रा गरेपछि सल्लेरी पुग्न सकियोl
यात्राको दोस्रो दिन थियो।
आजबाट हिँडेरै यात्रा गर्नुपर्थ्योl बिहान छ बजे रिंमो गाउँबाट सहश्रबेनीको लागि हिँड्यौंl रिंमोबाट पदयात्रा सुरू गर्दा कामो डाँडासम्म लौठ सल्लाका बडेमानका अग्ला-मोटा रूख देखिन्थे। त्योसँगै धूपी, लालिगुराँस भएको जंगलको पदयात्रा सुरू भयो। चिसो मौसम थियो, साथमा झ्याउँकिरीको संगीत, तल कतै बगिरहेको खोलाको आवाजले एकैछिन त जीवनका सारा धपेडी बिर्साइदियो।
३ हजार ८३९ मिटर उचाइस्थित रहेको कामोडाँडा पुग्न साढे तीन घण्टा लाग्यो। त्यहाँ भर्खरै बनेको होटलले गर्दा खानबस्नको समस्या थिएन।
कामोडाँडाबाट देखिएको हिमशृंखलाको बयान गर्न त के सकुँला र! आँखै अगाडि देखिएको सगरमाथासँगै अन्य हिमशृंखला, ओहो! कामोडाँडामा खाना खाएर सहस्रबेनीतर्फ लाग्यौंl कामोडाँडाबाट अघि लाग्दा घना जंगल हराए। लालीगुराँसका बोटका उचाइ घटे, धूपीका बोट पनि स-साना देखिन थाले। देख्दा हल्का उकालीओरालीको बाटो हुँदै जम्ले खोला पुग्यौं। त्यहाँबाट सानो बेनी पुग्न लगभग तीन घण्टा लाग्यो, केहीबेरमै सहस्रबेनी पुग्यौं।
सहस्रबेनीको उचाइ ४ हजार ३० मिटर छ। त्यहाँ पनि एक होटल निर्माण भइरहेको थियो। हामी चार बजेतिर सहस्रबेनी पुगेका थियौंl मलाई हल्का लेक लागेका हुँदा सुतेँl
यात्राको तेस्रो दिन थियो।
सहस्रबेनी हुँदै दूधकुण्ड, र फेरि दूधकुण्ड हुँदै रिंमो गाउँसम्म फर्कनु थियोl आजको यात्रा अन्य दिनभन्दा अलि लामो थियो। त्यसैले बिहान पाँच बजे नै दूधकुण्डका लागि हिँड्यौl
सहस्रबेनीबाट लगातार उकालो हिँड्नुपर्ने रहेछ। उचाइ बढ्दै जाँदा यहाँ लेक लाग्ने सम्भावना बढी हुन्थ्यो। करिब दुइ घण्टा हिँडेपछि भूतकुण्ड पुग्यौं। ढुंगैढुंगाले छेकिएको यो तालको पानी कालो र अँध्यारो देखिन्थ्यो। दूधकुण्ड जाँदा मात्र यो कुण्ड हेर्नु, फर्किंदा नहेर्नु भन्ने भनाइ समेत रहेछ।
भूतकुण्डबाट एक घण्टा उकालो लागेपछि दूधकुण्ड पुग्यौं। उत्तरतिर नुम्बुर, खाटाङ र कार्यालुङ हिमालको मनमोहक दृश्य देखिन्थ्यो, ती हिमाल जति हेरेँ पनि हेरिरहुँ झैं लाग्थ्यो।
त्रेता युगमा हनुमानले सञ्जीवनी बुटीको पहाड यहीँबाट लगेको भन्ने जनश्रुति रहेछ। ४ हजार ६ सय मिटर उचाइमा रहेको दूधकुण्ड तुलनात्मक रूपमा दूधजस्तै सेतो पानी देखिन्थ्यो। सायद त्यही भएर होला यस कुण्डलाई दूधकुण्ड भनेको।
कुण्डको सुरू बिन्दुमा बौद्ध र हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने स्थान छ। अर्को केही माथि रहेको भागमा भने महाकुण्ड रहेको छ। त्यसको तल मन्दिर छ। कुण्डलाई परिक्रमा गर्ने देब्रे बाटो भने कठिन थियो।
नुम्बुर, खाटाङ र कार्यालुङ हिमालका हिउँ पग्लेर ताल बनेको दूधकुण्ड नै सोलु खोलाको मूल मुहान हो।
जाँदा १३ घण्टा लागे पनि फर्कंदा भने ९ घण्टामै रिंमो फर्कियौंl रिंमोमा हाम्रो आफ्नै बाइक थियो। त्यसैले १८ किलोमिटर यात्रा तय गरी सल्लेरीस्थित लक्ष्मी होटलमा बास बस्यौंl भोलिपल्ट छठ परेका कारण २२१ किलोमिटर टाढा जनकपुरमा छठ पूजा हेर्ने सल्लाह गरी सुत्यौंl
यात्राको चौथो दिन थियो।
बिहानै सल्लेरीबाट ओखलढुंगा हुँदै घुर्मीमा आएर खाना खायौंl त्यहाँबाट कटारी हुँदै मिर्चैया निस्केर जनकपुर पुग्यौंl जनकपुर पुग्दा तीन बजेको थियोl जनकपुरका तलाउ, पोखरीहरू सजाइएका थिएl पटकाहरू पट्केको आवाज मज्जाले सुनिन्थे।
यसअघि काठमाडौंको रानीपोखरीमा छठ हेरेपनि तराईमा पहिलोपटक छठ पूजा हेर्दा मन नै फुरूंग भयोl हिमालको चिसो खाएर तराइको गर्मीमा न्यानो घाम तापेर छठ पूजा हेर्नुको आनन्द पनि बेग्लै थियो।
छठ पूजा भएर होला त्यहाँ धेरै मानिस थिए। सडक किनारमा ठेला लगाएर मानिसहरू खानेकुरा बेच्दै थिए भने कोही चिटिक्क परी रमाउँदै हिँड्दै थिए।
रातको समयमा घाट र जलाशय झिलिमिली बत्तीसहितका सजावटले झनै चित्ताकर्षक देखिन्थे। गाउँघर, सहर-बजार लगायत गल्लीमा छठपर्वको अनेकौं धुन जनकपुरमा गुञ्जिरहेको थियो। त्यही हामी पनि रमाइरहेका थियौंl
यात्राको पाचौं दिन थियो।
बिहानै ५ बजे उठेर छठ मनाइरहेको जानकी मन्दिर नजिकैको पोखरीमा गयौं l त्यहिँ केहिबेर रमायौं पनिl त्यसपछि जानकी मन्दिर गई दर्शन गरेर चरिकोटतर्फ आफ्नो यात्रा अघि लाग्यौंl
दिउँसो दुई बजे चरिकोट पुगेसँगै यसपटकको बाइक यात्रासहितको पदयात्रालाई टुंग्यायौंl
यो यात्रामा जिरीलाई पुनः एक पटक सोलुसँग जोड्यौंl दूधकुण्डको चिसो पानीले चिसो भएको हात जनकपुरको गंगा सागरको पानीमा न्यानो बनायौंl त्यसैले त भनिएको रहेछ 'हिमाल पहाड तराई, कोहि छैन पराई।'