अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल दिउँसोभन्दा साँझ छिप्पिँदै गएपछि खचाखच हुने गर्छ। पहिलो युरोप भम्रणका क्रममा ट्रान्जिट विमान फ्लाई दुबईमा बस्दै गर्दा म जस्तै धेरैजसो नेपालीहरूका बेग्लै सपना र संर्घषका कहानीहरू बुनिरहेका पाउँछौं।
बिहान ३ बजे विमानको खाना खाँदै दुबईको विशाल विमानस्थलमा आकाशमै स्थिर विमानहरू, रनवेमा बेतोडले दौडिरहेका विमानहरू, र हामी जस्तै ट्रान्जिटको सटलपटलका लागि एयरपोर्टमा कुदिरहेका बसहरू टन्नै देखिए।
सुर्योदयको स्वागतसँगै दुबई ट्रान्जिटमा अन्तर्राष्ट्रिय विपद व्यवस्थापन तालिममा सहभागी हुन आएका फिलिपिनी र बंगलादेशी साथीहरूसँग भेट भयो। तत्पश्चात् फ्लाई इमिरेट्सको अत्याधुनिक विमानमा स्टकहोम, स्वीडेनतिरको शानदार यात्रा सुरू गरिएको थियो।
मन्दमन्द झरीसँगै स्वीडेनको सिरेटो महसुस गर्दैगर्दा निश्चित समयमै तालिम संयोजक फयानीको हँसिलो मुस्कान सहितको स्वागतले न्यानोपनको अनुभूति भयो।
एयरपोर्टपछि तालिमस्थलसम्म बसको यात्रामा एउटै क्षेत्रमा चार लेनको व्यवस्था जसमा ट्रेन, बस, रेल अनि साइकल व्यवस्थित रूपमा चलिरहेका देखिन्थे। हरेक लेनको दायाँबायाँ गज्जबको वृक्षरोपण, औद्योगिक क्षेत्रमा चिम्नीबाट प्रशोधित सेतो धुँवा, नदी किनारमा सजिएका सहर, ट्राफिक लाइटसँगै नियमको पूर्ण पालना, शून्य ट्राफिक पुलिस, भौतिक विकास गर्दा प्राकृतिक चट्टानको संरक्षण, साइकलबाजहरूको सहर आदि इत्यादि दृश्यहरू आँखा अनि क्यामेराका लेन्सहरूमा कैद गरिए।
तालिमस्थलमा पुगेको पहिलो रात पटक्कै निद्रा लागेन।
रिसोर्ट बाहिरको मनमोहक दृश्यका लागि झ्यालको पर्दा खुला गर्दा रातिको ९ बजेसम्म उज्यालो अनि बिहान ३ बजे नै सुर्योदयको आभाषले पो हो कि भन्ने मेरो अनुमान थियो। तर पछि साथीलाई सोध्दा जेटल्यागीङ्ख अर्थात टाइम जोन अनुसार लामो यात्रासँगै दिनरातको परिवर्तनले मान्छेको मानसिक र शारीरिक प्रभावले हो भन्ने बुझियो।
ब्रेकफास्ट लिएपछि लगातार प्रतिदिन ८ घन्टाको तालिमका लागि सबै सहभागीहरू तयार हुन्थ्यौं। १ वर्षको अनुबन्धनमा अन्तर्राष्ट्रिय विपद व्यवस्थापन तालिममा भौतिक रूपमै आयोजक राष्ट्र स्वीडेनमा केही हप्ता विविध विषयवस्तुहरूका लागि हामी सहभागी भयौं।
स्टकहोम सहरमा घुमाइसँगै स्वीडिस माछाका स्वादिष्ट खानाहरू बीच म आफूलाई शाकाहारी राख्न सफल भएको थिएँ। तालिम सिकाइका क्रममा तालिम सहजकर्ता स्पाइडर वुम्यानको भएको अनि सहभागीले थाहै नपाई गरेको एक अर्काका लागि मन छुने लाइनहरू सबैका लागि विशेष थिए। पावर प्वाइन्ट बिनाको रोचक प्रस्तुति, रचनात्मक विधिद्वारा निरन्तर समूह कार्यसहित सक्रिय सहभागिता, हरेक विषयमा नाटकीय भूमिका, मनोरञ्जनात्मक खेल, अनौपचारिक तवरले प्रेसर बिनाको तालिम अभ्यासले समय गएको पत्तै नहुने रहेछ।
नेपाली सुर्के थैलीको उपहार अनि सोही गीतमै बेजोड प्रस्तुतिसँगै पस्मिना सललाई उपहारका रूपमा सबै सामु प्रवर्द्धन गर्यौं। विपद व्यवस्थापनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, आ— आफ्नो देशको विशिष्ट परिकार बाँडफाँट, सिकेका कुराहरूलाई सचित्र वर्णन, विपद व्यवस्थापन नमूना अभ्यास, विज्ञ सदस्यका रूपमा नाटकीय नियुक्तिसँगै मेयर सामु रचनात्मक प्रस्तुति तालिमस्थल हलभित्रका सम्झनलायक कुराहरू रहे।
अझ विशेषगरी हाम्रो नेपाल देशको प्रस्तुतिमाथि क्षितिज सर र मेरो रातभरिको तयारी थियो।
अर्को दिन रातो र चन्द्र सूर्य गीतको धुनमा धमाकेदार इन्ट्रीसँगै राष्ट्रिय पोशाक लगाएर प्रस्तुति दिन पाउँदा गौरवको महसुस भयो। नेपालको चिनो ऐतिहासिक चाँगुनारायण मन्दिरको फोटो तथा नगरपालिकाको तर्फबाट मेयरद्वारा आयोजक देश स्वीडेनलाई जुममार्फत् धन्यवाद दिँदै नगरकोटमा स्वागतका लागि निम्तो पनि दिइयो।
तालिम कार्यक्रम व्यवस्थापक ओस्कार सरलाई आफ्नै ढाका टोपी लगाइदिँदाको अनुपम क्षण थियो।
हामी नेपाली पोशाकमा देख्दा अन्य देशका सहभागीहरूले फोटो खिच्न लालायित लाइनले सुनमा सुगन्ध थपेको देखिन्थ्यो।
फिल्ड स्तरमै दिगो विकासको अवधारणा अनुरूप सहरी योजना कस्तो हुन्छ भन्ने कुराको आँखै अगाडि छर्लङ्ग देखिने गरी स्टकहोम सिटी काउन्सिल अन्तर्गतको स्टकहोम रोयल बन्दरगाह पुगियो।
मानव निर्मित सहर र प्राकृतिक वातावरणहरूलाई सन्तुलित रूपमा समेट्दै प्रत्येकको आफ्नै विशेषताका साथ विकास र संरक्षण गरिएको पाइयो। दीर्घकालीन दिगो सहरी विकासका लागि एकै समयमा गतिशील र आकर्षक वातावरण सिर्जना गर्ने आधार कसरी तय गर्न सकिने रहेछ भन्ने कुराको ज्ञात भयो।
उदाहरणका रूपमा नजिकै रहेको निकुञ्ज क्षेत्र, रोयल नेसनल सिटी पार्क र बसाइ क्षेत्रको बीचमा रहेको बफर जोनलाई पर्यापयर्टन र मनोरञ्जनात्मक तवरले व्यवस्थापन गरिएको रहेछ। सहरको बीचमै इकोसिस्टमलाई विचार गर्दै सानो नहरमार्फत् भ्यागुताको समेत संरक्षण अनि त्यो माथि मानिसहरूको आवतजावत गर्न मिल्ने बनाइएको थियो।
विपद तथा फरक क्षमता मैत्री भौतिक पूर्वाधार विकाससँगै त्यहाँ पुरानोले नयाँ सहरलाई भेट्ने र ठूलाठूला भवनहरूले सानासाना बिरूवा र वनस्पतीहरूसँग मिलान गर्ने पद्धति वास्तवमै ओहो विकास त यस्तो पो भन्ने थियो।
आधुनिक सुविधासँगै प्रकृतिको मनोरम वातावरणलाई अनुभूति गर्न मिल्ने रिसोर्टमा हामी पाहुनाको लागि आफै पकाउन मिल्ने भान्साको पनि प्रबन्ध थियो। जहाँ हामी नेपाली सहभागीहरू मिलेर चाउचाउ अनि दालभात पकाएर नेपाली परिकारको न्यास्रो मेट्यौं। कार्यक्रमस्थल बाहिर रात्रिभोजको आयोजना हुँदा सहभागी चार देशहरू नेपाल, बंगलादेश, फिलिपिन्स र स्वीडेन बीचको नाचगानको प्रस्तुतिले आत्मीयता अझ प्रगाढ बनेको थियो।
तालिमबीच बिदाको मौका जुराउँदै नेपाली टिम फिनल्याण्डको राजधानी हेलसिन्कीकीतिर १८ घन्टा क्रुज जहाजको अविस्मरणीय यात्रामा सहभागी भयौं। भूपरिवेष्ठित राष्ट्रको भुइँमान्छे म पहिलोपटक सामुद्रिक यात्रामा रहँदा लाग्यो कि जहाज यात्राको साधन मात्र नभई मनोरञ्जनको गन्तव्यस्थल पनि रहेछ।
बाहिर चारैतिर नीलो पानी नै पानीका बीच जहाजभित्र चाहिँ अर्को संसार थियो। विश्वभरिका मान्छेहरूको जमघटसँगै जहाजको माथिल्लो भागमा जाँदाको त्यो उत्तेजिक पलमा सयौं फोटो अनि भिडिओहरू बारबार खिचियो। वरिपरि देखिने बडेमानका अन्य जहाजहरूसँगै सामुद्रिक मनोरम दृश्यको अनुपम आनन्द अनि समुद्रको चिसो सिरेटोमा आफूलाई केहीबेर हराइयो।
जहाजभित्रको लाइभ कन्सर्टमा टाइटानिकको गीतले सिनोमाटिक अनुभूति पनि भयो। एकातिर सबैखाले पसलहरूको व्यापक बजार र अर्कातिर बाल्टिक समुद्रका छालहरूले आफैलाई पछयाइरहेको पो हो कि भन्ने भान हुन्थ्यो।
सन्तोष, अमित, क्षितिज सरहरूसँगै यो पक्तिंकार जहाजको हरेक क्षेत्रमा पुग्ने प्रयास गरे पनि अझै सकिएन। जहाजभित्र केवल १ घण्टा निदाउँदा भूकम्पको पराकम्प जस्तै बडेमानको जहाजमा छु कि भन्ने लाग्थ्यो।
बिहानै उठ्दा टापुका थुम्काहरू क्यामेरा सटमा कैद गर्दै संसारको सबैभन्दा खुसी देश फिनल्याण्डले हामी खुसी मानिसहरूलाई स्वागत गरिरहेको जस्तो लाग्यो।
संसारकै खुसी देश फिनल्याण्ड पुगेपछि वर्षौंपछि सोनु दिदीसँगको भेटले थप हाँसो अनि खुसी थपिदियो। दिदीसँगको भलाकुसारीसँगै आकर्षक गन्तव्यस्थलको घुम्दै जानकारी पायौं। हेलसिन्कीको माउन्ट एभरेस्टमा रु ४००० नेपाली बराबरको खाना खाँदा ओहो युरोप महँगो रहेछ जस्तो लाग्यो। दिदीको सहयोगमा सेन्ट्रल स्क्वायरतिरको घुमाइ, रिलहरू कैद, हेलसिन्कीको रोडमा मलासी एण्ड को कम्पनीको सिइओ चाखलाग्दा कुरा, हेलसिन्की बोर्ड र पृष्ठभूमिको ठूलो पुस्तकालयले हामीलाई लोभ्याइरह्यो।
फिनल्याण्ड संसद भवनअगाडि यस्तै खुसी अनि सुखी देश कसरी बनाउने कुरामा हाम्रो राम्रै बहस पनि चल्यो। करिब १ घण्टा जति भेष बहादुर थापाको 'राष्ट्र परराष्ट्र' अध्ययन गर्दै गर्दा समृद्ध नेपाल, सुखी नेपालीको नारामा यस्तै संसारको खुसी देशमा हामी नेपाली पनि खुसी नै छौं तर देश अझै समृद्धिको यात्रामा दुखी नै रहेको निष्कर्ष निकालियो।
शारीरिक स्फूर्तिमा धेरै ध्यान दिने युरोपेलीहरूको म्याराथुनमा केहीबेर सहभागी भइयो। बिदाइका क्रममा सोनु दिदीको फिनल्याण्डको मुमिनको कप उपहारले अहिले पनि हेलसिन्की घुमाइको झल्को दिन्छ। फर्किने क्रममा क्षितिज सरसँग गीत गुनगुनाउँदै क्रुजमा नाच्दै रमाइलो गरियो। नर्वेको साथीद्वारा नर्वेमा बनाइएका पहाडी सिँढीहरू नेपालीले बनाउने गरेको अनि अर्को अफ्रिकिन साथी हार्सनलले नेपाल हिमालयको देश हो नि भन्दा गौरव महसुस गरियो।
स्वीडेनमा नेपाली हर्किश सरले स्टकहोमको रोएल प्यालेस, सेन्ट्रल, पुरानो ऐतिहासिक सहर गमलास्थान घुमघामसँगै केही विदेश भम्रणका चिनोहरू किनमेलमा सहयोग भयो। घुम्न भनेपछि मरिहत्ते गर्ने म अनि तुरून्तै तयार हुने सन्तोष र क्षितिज सरहरू बुलेट ट्रेनका नक्साहरू अध्ययन गर्दै मेट्रो रेलमा डेढ घण्टापश्चात् स्वीडेनको अन्तिम बिन्दु नर्सबर्ग पुग्यौं। जँहा युद्धग्रस्त क्षेत्र सिरिया युक्रेन क्षेत्रका बासिन्दाहरूको बसोबास पनि देखियो। विभिन्न देशका पैसाहरूको संकलनमा नेपाली रु पाचको नोट टाँस्दै नेपाली पनि यहाँ पुगेको भनेर अन्यलाई प्रमाण पेश गर्यौं।
तालिमपश्चात् अब हामी स्यानजेन भिसा अवधिभर सकेसम्म युरोपका धेरै क्षेत्रहरू घुम्नमा केन्द्रित भयौं। विदेश भम्रण जानुभन्दा अगाडि स्वीडेन, फिनल्याण्ड त्यसपछि जर्मनी मेरा पूर्व निर्धारित कार्यक्रम थिए। तर घुम्ने चाहनाका अगाडि योजना थपिए। स्वीडेनदेखि जर्मनी नेपाली २५ हजार बराबर पहिल्यै काटिएको हवाई टिकटलाई माया मार्दै हाम्रो नेपाली टोली फिल्कस बसमार्फत् नर्वेतिरको यात्रामा लाग्यौं। विशाल खेत मैदान, रूमालसरी मिलाइएका वन क्षेत्र, उद्योग, कलकारखानाहरूको निश्चित ठाउँ, समुद्र माथिको पुल, फार्म सहितको घोडा पालन अवलोकन गर्दै नर्वेको ओस्लो सहर पुगियो।
सानोमा सामान्य ज्ञानमा कण्ठस्थ पारिएको सूर्य नअस्ताउने देश नर्वेमा रात्रिकालीन घुमघामका लागि हामी तयार भयौं। एकदिन अगाडि मात्र फेसबुकबाट जोडिएका त्यही अध्ययनरत नेपाली ईश्वर भाइले राति १२ बजेसम्म रोयल प्यालेस, नोबेल शान्ति पुरस्कार क्षेत्र, सेन्ट्रम बाघको मूर्ति, ओपेरा हाउस लगायत क्षेत्रतिर फोटो खिच्दा साँचिकै दिउँसो जस्तै भएको भान हुन्थ्यो।
दोस्रो दिन भाग्यवश नर्वेको राष्ट्रिय दिवस हेर्ने अवसर हामीले प्राप्त गर्यौं। हिप हिप हुर्राको नारा गुञ्जिँदै सुनसान देखिने सडकहरू एकाएक राष्ट्रिय पोशाकसहित भरिए। लामबद्ध भएर रोयल प्यालेसतिरको मार्च पास गर्दाको अवस्था, सडक महोत्सव, नाचगानको रमझम विछट्ट रमाइलो थियो। त्यही रमाइलो माझ नेपाली खाना खोज्दै १ घण्टा हिँडेर खाना खाँदा थुप्रै नेपाली साथीहरू भेटिए। देशमा भइरहेको विकास र राजनीतिबारे बाहिरका नेपालीहरूको चासो र चिन्तामा हामी पनि मिसियौं।
नर्वेको यात्रालाई बिट मार्दै रातभर गाडी चढेर बिहान डेनमार्कको कोपेनहेगनमा पुगियो। बिहानै नेपालीसँगको भेटघाट र सामानहरूको व्यवस्थापनपछि कोपेनहेगनमा क्यानल नहरमार्फत् सहर अवलोकनका लागि सानो जहाज चढ्यौं। यात्रा गर्दै, सम्झिएँ काश हाम्रो काठमाडौंको बागमती पनि यस्तै क्यानल नहर यात्रा सम्भव पो हुन्थ्यो कि?
नेपालमा यतिको कथा भनेझैं डेनमार्कमा मर्मेड अर्थात् मत्स्यांगनाको मूर्ति देख्यौ। यो एक काल्पनिक समुद्री प्राणी जहाँ महिलाको शरीर र माछाको पुच्छरको कहानी पनि सुन्यौं। कोपेनहेगनका प्रमुख पर्यटकीय ठाउँहरूको घुमघामपश्चात फेहरम्यान बेल्टमा फिल्कस गाडीसँगै फेरि सामुद्रिक जहाजको घण्टौंको यात्रासँगै सोही बसमार्फत् जर्मनी पुगियो।
रातिको १ बजे बस कुरिरहनुभएका गोविन्द दाइको न्यानो स्वागत थियो। अर्को दिन एकाबिहानै प्रिय किशोर दाइसँग वर्षौंपछि भेट भयो। दिनभर ह्यानओभर जर्मनीको घुमघाम, न्यु टाउन हलका रूपमा नगरपालिका तथा ऐतिहासिक सहरको दृश्यावलोकन, इकोपार्कको गज्जबको व्यवस्थापन देखियो। चिसो मौसमसँगै मन्द झरीमा जर्मनीका सडकमा साइकल यात्रा पनि गरियो। १२ बजेको चरक्क घामजस्तै अनुभव हुने अवस्थामा पनि राति ८ बजेको डिनरसँगै गोविन्द दाइ अनि मधु भाउजूका गफ हाम्रा लागि मीठो मायाका कोसेलीहरू थिए।
सोपश्चात् जर्मनी गोटिङ्खगन तिरको मेट्रो रेलको यात्रामा म र किशोर दाइ निस्कियौं। रेलमा नेटवर्क सम्पर्क नहुँदा पैसा काटे पनि अनलाइन टिकट नआउँदा टिकट जाँचकीबाट बच्न निदाइरहेको मेरो नाटक अनि किशोर दाइको त्यो छटपटी अहिले पनि झलझली याद आउँछ। अकस्मात त्यो ट्रेनको लिक बाटोमै ब्रिगिनु अनि वैकल्पिक व्यवस्थापनका रूपमा नगरका बस तुरून्त आइपुगेका थिए।
ट्रेनभरीका त्यति धेरै मान्छे केही थान बसहरूमा अटाउन खोज्दा काठमाडौं भिडभाडमा नेपाल यातायतको चढेको झल्को दिन्थ्यो।
दाइहरूसँगै बिहानै प्लिस क्यास्टलबाट सहरको पूर्ण अवलोकनले स्वयम्भूको डाँडाबाट काठमाडौं उपत्यका हेरेको जस्तो झझल्को दिन्थ्यो। गोटिङ्खगन सहरको व्यवस्थित भूमि योजना, प्रकृति र विकास बीचको सन्तुलन, वनको वैज्ञानिक व्यवस्थापन, विश्वविद्यालयको विशाल क्षेत्र, सहरको कलाकृति, पुराना भवनहरूको संरक्षण, कंक्रिट पर्खालहरूभन्दा जैविक घेरबारहरूको व्यवस्थापन केही ज्ञानवर्द्धक कुराहरू थिए।
पौडीसँगै सोना बाथले भागदौडवाला विदेश यात्रालाई आराम दिएको थियो। सरस्वती भाउजूले पकाएको मीठो नेपाली खाना खाएर नेपालमा छँदा साना देखेका नानीबाबुहरूले जर्मनी भाषामा फररर बोलेर सहर पनि पूरै घुमाइदिए।
किजे लेकमा पानी खेलहरूको सुन्दर अवलोकन, ड्रोनको प्रविधिद्वारा माछा मार्ने अत्याधुनिक तरिका, हरियो गलैंचाजस्तै देखिने घाँसे मैदानको संरक्षण, फ्रयाङ्खकफर्ट सहरमा ब्याचलरसँगै पढेको सुनिल साथीसँगको भेट जस्ता कुराहरू आनन्दलायक थिए। तर सहरको मध्य भागमा विपिन जोशी लगायत हमासले बेपत्ता बनाइएकाहरूको फोटो देख्दा मन एकतमास पनि भयो।
जर्मनीमा नेपालीहरूसँगको भलाकुसारीले अलग्गै आत्मीयता दिन्थ्यो। विकासका विविध आयामहरूबारे सिकाइ आदानप्रदान हुन्थ्यो। मेलै विदेश भम्रणपश्चात संस्मरणात्मक आलेख लेख्छु है भन्दा उहाँहरूले प्रत्यक्ष देखेका कुराहरूलाई जोड दिनु है भनेर भन्थे।
विदेशिएका व्यक्तिहरूले सामाजिक सञ्जालमा केही कुरा लेख्दा विदेश गएर ठूलो कुरा गर्ने भएछ भन्छन् हामीलाई भन्ने कुरामा उहाँहरूको गुनासो थियो। जर्मनीमै अध्ययनरत किशोर दाइले जोड दिएर भन्थे, 'हेर भाइ, विदेशमा देखेकै ठूला कुरा छौ त अनि के गर्नु?'
समयअनुसारको विकास, प्रणाली र पद्धति नेपालमै हुने हो भने सबै कुराले आनन्द नेपालमै छ नि। हुन पनि हो है, आर्थिक तथा भौतिक विकासमा युरोप अत्याधुनिक देखिए पनि सामाजिक विकासमा हामी नेपाली धेरै धनी छौं। अझ प्रकृतिले दिएको वरदान अनि विदेशीहरूले गर्ने नेपालको बयानले हामी सुसम्पन्न नै छौं।
करिब १ महिनामा ५ वटा युरोपियन देशहरूको भम्रणलाई बिट मार्दै नेपालका लागि फर्किए। विमानमा बसिरहँदा थुप्रै फोटोहरू स्क्रोल गरिरहे। युरोप घुमघाम सपनाझैं पनि लाग्थ्यो तर फेरि पनि दुबई पुगेर फ्लाई दुबईको ट्रान्जिट विमान चढ्दा संर्घषका आकृतिहरू आफ्नै वरिपरि देखिए।
हालको यात्रा पूर्ण विश्राम शाश्वत सत्य पशुपतिनाथका समिपमा आई समाहित भए। अन्तिममा आफैलाई सोधेँ, 'साँच्चिकै अबको मेरो यात्रा सपना होला कि संर्घष? अझै अनुत्तरित छु। सायद यो पंक्तिकारको कर्मअनुसार भगवान, भविष्य र भाग्यले आउँदा दिनमा उत्तर अवश्य दिनेछ।