हप्ता हप्तामा घुम्ने लत बसेको छ मलाई। शनिबार र बिदाको दिनमा मात्र होइन, रहर र इच्छा लागेको ठाउँमा हिँडिहाल्छु। अझ केही केही ठाउँमा त नाम सुन्नेबित्तिकै हिँडिहाल्छु। त्यसमध्ये घुम्नै लायकको ठाउँ हो जिरी।
अहिले जिरी घुम्नका लागि मात्र होइन हप्तौं दिनसम्म अध्ययन, अनुसन्धान गर्ने थलो बनेको छ। अहिले जिरी पुगेका जोकोही पर्यटकको लागि स्टोन पार्क गतिलो गन्तव्य बनेको छ। एक पटक पुगेपछि झन् पटक पटक जाने रहर जाग्छ।
सदरमुकाम चरिकोटबाट ८० किलोमिटर र जिरीबाट २५ किलोमिटर टाढा पर्ने भएकाले अधिकांश पर्यटकहरू बिहान आएर बेलुकी फर्किने गर्छन्।
बालबालिका, युवा र धार्मिक व्यक्तित्वहरूलाई लक्षित गरी निर्माण गरिएको यस पार्कमा शिव र गुरुरेम्पोछेको मूर्ति निर्माण गरिएको छ।
सबै धर्म, जातजातिको लागि यस स्थल उपयुक्त र प्रभावकारी बन्दै गरेको छ। म निर्माणधीन अवस्थादेखि अहिलेसम्म ३ पटक पुगिसकेँ तर पनि नयाँ के भयो होला भन्ने लाग्छ र पटक पटक जान मन लाग्छ। यसपटक मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, हरि ओली, उद्धव पोखरेल लगायतको टिम स्टोन पार्क पुग्यो। २ वर्षअघि पुगेको भन्दा केही फरक पाएँ। हरियाली मौसमले प्रकृतिप्रेमी धेरैको मन तान्छ नै।
यस स्टोनपार्कबाट पाँचपोखरी, ढुंगे गुम्बामा पुग्न सकिन्छ। साथै श्यामाका शेर्पाहरूको बस्ती रहेकाले प्रत्येक शेर्पा टोलमा गुम्बा निर्माण गरेका छन्। कतिपय बौद्धधर्मावलम्बीहरू गुम्बा दर्शनको लागि आउने र स्टोनपार्क पनि घुम्ने गर्छन्। जिरी नगरपालिकाले निर्माण गरेको स्टोन पार्क नयाँ र फरक देखिन्छ।
जिरी नगरपालिका–१, श्यामामा निर्मित स्टोन पार्कमा अहिले पर्यटकहरू पिकनिक खाने, सभा सम्मेलन गर्ने, पारिवारिक घुमघामको लागि उत्कृष्ट मानिन्छ। पार्कमा सभाहल, मिनी कार्यक्रम हल र स्वीमिङ पुलको पनि व्यवस्था गरिएको छ।
अहिले यस पार्कमा दोलखाका मात्र नभई रामेछाप, सिन्धुली, महोत्तरी, जनकपुर, सर्लाही लगायत तराई क्षेत्रबाट घुम्न आउने गरेका छन्। पर्यटकहरूलाई बस्नको लागि नजिकै स्टोनपार्क रिभरसाइड होमस्टेको समेत व्यवस्था छ। सूर्य बहादुर बस्नेतले पर्यटकको इच्छा चाहना अनुसार अर्गानिक खाना, खाजाको व्यवस्था गर्ने गरेका छन्।
तस्बिरहरू:
(जीवन लामाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)